फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

पोखरा:   वैशाख २९ गते शुक्रबारदेखि अल नेपाल रिलिज हुने चलचित्र “हल्कारा” बदल्दिो समयको कथा भएको बताइएको छ । बिहीबार चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मलेनमा निर्देशक विक्रम सापकोटाले “हल्कारा” नेपाली समाजको व्यथा समेटिएको कथा भएको उल्लेख गरे । चलचित्रका लेखक समेत उनै हुन् ।  उनले धैर्यता र आशालाई समेत कथा मार्फत दर्शाउन खोजिएको बताए । घरघरको कथालाई पर्दामा दर्शकले हेर्न पाउने भनाई उनको छ । “देशको अवस्थाले विदेशिनु पर्ने नेपाली समाजको बाध्यतालाई चलचित्रमा प्रस्तुत गर्न खोजेका हौं । टेक्नोलोजीको विकाससँगै सूचना आदानप्रदानमा आएको परिवर्तनको पाटोलाई समेत उल्लेख गरिएको छ ।’, उनले भने ।  सापकोटाले चलचित्रमा ९० प्रतिशत भन्दा बढी साउण्ड ओर्जिनल नै राखिएको बताए । संगीत समेत ओर्जिनल नै हो । साराङ्गी र बाँसुरीलाई बढी प्रयोग गरिएको छ । डिजिटल प्लाटफर्ममा मात्रै चलचित्र निर्माण हुँदा सिनेमेटिक्स एक्सपेरियन्स घट्दै गएको भनाई उनको छ । उनले राम्रो निर्देशकमा सम्पादन गर्ने कला पनि राम्रो हुनुपर्ने बताएका छन् ।  चलचित्रका मुख्य पात्र नायक महेश त्रिपाठीले “हल्कारा” आफ्ना लागि महत्वपूर्ण चलचित्र भएको उल्लेख गरे । हुलाकी भूमिकामा अभिनय गरेका त्रिपाठीले यसै चलचित्रबाट गत वर्ष ५५औं वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका थिए । अफिसियली आफुले लिड क्यारेक्टर गरेको पहिलो चलचित्र भएको उनले बताए ।  “हल्कारा” को स्क्रिप्ट मन परेर नै आफु अभिनयका लागि तयार भएको भनाई उनको छ । हर नेपालीको चलचित्र भएकाले पनि दर्शकको साथ मिल्नेमा उनी आशावादी छन् । चलचित्रमा अहिले सम्म नउठाइएका विषयलाई उठाउन खोजिएको दाबी उनले गरेका छन् ।  चलचित्र पत्रकार संघ नेपालका निवर्तमान उपाध्यक्ष एवम् चलचित्र विकास बोर्डका मिडिया कोर्डिनेटर पत्रकार जीवन पराजुलीले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिए । चलचित्रको छायाँकन, सम्पादन र सिनेमेटोग्राफीलाई दर्शकले मन पराउने उनले बताए । “हल्कारा” हुलाक आउनुभन्दा अगाडिको समयको कथा भएको भनाई उनको छ । हुलाकमा चिठी लेखेर पठाउने मात्रै गरिन्थ्यो तर ‘हल्कारा’ भन्नाले लेखेको चिठी पढने र त्यसको जवाफ समेत फर्काउने भन्ने बुझिने उनले बताए । ५५औं वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा उत्कृष्ट चलचित्र र उत्कृष्ट सिनेमेटोग्राफीको समेत अवार्ड हात पारेको थियो ।  चलचित्र पत्रकार संघ नेपाल, कास्कीका अध्यक्ष प्रभु अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आफ्नो भनाई राख्दै उनले, नेपाली परिवेशमा निर्माण भएको चलचित्रलाई सबैले माया गर्नुपर्नेमा जोड दिए। उनले हल्काराले आफ्नो गाउँ(ठाउको कथा बुनेको बताउदै राम्रो ठेट नेपाली चलचित्रलाई उकास्न सबैले सकारात्मक सहयोग गर्नुपर्ने बताए । पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन चलचित्र पत्रकार संघ नेपाल, कास्कीका सचिव सन्तोष बस्यालले गरेका थिए। यसअघि काठमाडौंमा भएको ग्राण्ड प्रिमियरमा ४ सय जनाको सहभागिता रहेको पराजुलीले जानकारी गराए । उक्त प्रिमियरमा हल्काराले तारिफ पाएको भनाई उनको छ । उक्त शोमा प्रतिनिधि सभा सदस्यहरु रघुजी पन्त, ज्ञानेन्द्र शाही र एमाले नेता प्रदीप ज्ञवाली लगायत चलचित्रकर्मीहरु तथा संचारकर्मीहरु बाक्लो उपस्थिति रहेको उनले उल्लेख गरे ।  हरेक घरको कथा, प्रवासी युवक र उसलाई पर्खेर बस्ने एक नारीको कथा बोल्ने यो चलचित्रले अन्य केही अन्तर्राष्ट्रिय महोत्सवहरुमा समेत सहभागिता जनाएको छ । नेपाल अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा बेस्ट लङ्ग न्यारेटिभ फिल्म बनेको थियो । फ्लिकर रोड आईल्याण्ड इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा सेमी फाईनलसम्म पुगेको थियो । त्यस्तै, युकेको कार्माथान बे फिल्म फेस्टिभल २०२२ मा अफिसियल सेलेक्सन भएको थियो । कालिपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको चलचित्रमा महेश त्रिपाठी र बिनिता थापा मगर,शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी र दीपक क्षेत्री लगायतको अभिनय रहेको छ । चलचित्रलाई कास्कीका केही ठाउँ, तनहुँको बन्दिपुर र काठमाडौंमा छायाँकन गरिएको हो । पाँच वर्ष अगाडि छायाँकन गरिएको चलचित्रमा लगानी अन्य चलचित्र भन्दा कम नै भएको जानकारी गराइएको छ । 

काठमाडौं:    उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’ लाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।   आज बिहीवार आफूसँग भेट गर्न आएका नेकपा ९एकीकृत समाजवादी० का नेता तथा जनवर्गीय सङ्गठनका प्रतिनिधिसँगको छलफलमा उनले दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै पनि हालतमा नफस्ने गरी सरकार अगाडि बढेको बताए । ‘निर्दोष कुनै पनि हालतमा पर्ने छैनन्, दोषी छुट्ने छैनन्’, उनले भने ।   उपप्रधानमन्त्री श्रेष्ठले यस प्रकारको ठगी सामान्य भ्रष्टाचार मात्रै नभएर सङ्गठित अपराध भएको उल्लेख गरे । अझ त्योभन्दा बढी यो राज्यविरुद्धकै अपराध भएको पनि उनको भनाइ छ । ‘यो भ्रष्टाचारमात्रै होइन माथिदेखि तलसम्म मिलेर चलाइएको सङ्गठित अपराध हो । यो यतिमा मात्रै सीमित नभएर आफ्नो देशका नागरिकलाई अनागरिक बनाउने राज्यविरुद्धकै अपराध हो’, उनले भने ।  यस प्रकरणमा आफूलाई कुनै पनि नेताले दबाब नदिएको उल्लेख उल्लेख गर्दै उनले दबाब आए त्यसलाई थेगेरै भए पनि अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पुर्‍याइने दृढता व्यक्त गरे । शरणार्थी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट आफूले दह्रो साथ र आडभरोसा पाएको उनको भनाइ छ । ‘मलाई अहिलेसम्म शीर्ष नेताले यसलाई नपक्रनुस् उसलाई नपक्रनुस् भनेर दबाब दिएका छैनन्। दोषी नफसोस् र निर्दोष नउम्कियोस् भन्ने नै उहाँहरूको कुरा छ’, उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘प्रधानमन्त्रीको निर्देशन र आडभरोसा छ । दोषीलाई कारबाही गरियोस्, निर्दोस नपरुन् भन्ने छ सबैको कुरा ।’ उनले प्रहरीलाई निर्धक्क भएर अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको जानकारी दिए । ‘राजनीतिक दबाबको सामना गर्ने म छु, तपाईँहरू पनि अन्य चलखेलमा नलागी अनुसन्धान गर्नुहोला भनेर प्रहरीलाई भनेको छु’, भने ।  भेटमा एकीकृत समाजवादीका नेताले शरणार्थी प्रकरणमा सरकारले प्रशंसनीय काम गरेको भन्दै बधाई दिएका थिए । यो अनुसन्धान प्रक्रियामा आफूहरूको पनि समर्थन रहने भन्दै उनीहरूले कुनै पनि दबाबको अगाडि नझुक्न उपप्रधानमन्त्री श्रेष्ठलाई सुझाव दिए ।

पोखरा:   पोखराको लेकसाइडमा रहेको ‘रत्नमन्दिर’ (राजपरिवारले विदा मनाउने दरबार) गणतन्त्र दिवसको अवसरमा पर्यटक र सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ ।    पोखरेली पर्यटन व्यवसायीहरुको माग अनुसार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पहलमा आगामी जेठ १५ गतेदेखि रन्तमन्दिर खुला गर्ने तयारी भएको महानगर स्रोतले बतायो ।    नेपाल ट्रष्टको स्वामित्वमा रहेको सो रत्नमन्दिरमा प्रवेश शुल्क लाग्ने वा नलाग्ने बारे अझै टुंगो भने लागेको छैन ।    पोखरामा भ्रमणका क्रममा राजा महेन्द्रले ताल किनारमा बसेको ठाउँ मन परेपछिस्थानीयसँग १११ रोपनी जग्गा किनेर ‘रत्नमन्दिर’ २०१३ मा निर्माण सुरु भएर २०१५ मा रत्न मन्दिरको निर्माण गरेका थिए ।      रत्न मन्दिरको मुख्य भवनमा ११ कोठा छन् । पुरानै अवस्थामा रहेको यसको सरसफाइलगायत रेखदेखमा केही कर्मचारी खटिदै आएका छन् ।   प्रशासनिक भवन, फेवा तालसँगै तालघर, सैनिक बस्ने ३८ कोठे लामो भवनसमेत रहेको छ ।   

पोखरा:  राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कास्कीले विभिन्न विषयलाई लिएर शंख फुक्दै विरोध प्रदर्शन गरेको छ ।   राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृसंगठन राष्ट्रिय प्रजातान्त्रि युवा संगठन कास्कीले आज (बिहीबार) प्रदेश सरकार खारेजीको माग नक्कली भुटानी शरणार्थी प्रकरणसँगै अन्य भ्रष्टाचारका विषयलाई लिएर विरोध प्रदर्शन गरेको हो ।   प्रदर्शन पश्चात सुनगाभा न्यूजसँग बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका कास्कीका अध्यक्ष नारायण गुरुङले देशको अर्थतन्त्र कमजोर बनाउनुमा प्रदेश सरकार र भ्रष्टाचार मुख्य कारण रहेको बताए ।    ‘देशको अर्थतन्त्र कमजोर हुनुमा संघीयता हो यो खारेज हुनुपर्छ, प्रदेश सरकार सेतो हात्ती  जस्तै भएको छ, गुरुङले भने, ‘सेतो हात्ती नपालौ यसले देशको अर्थतन्त्र झन धरापमा राखेको छ ।  त्यसैले प्रदेश खारेज गरिनुपर्छ ।’     उनले नक्कली भुटानी शरणार्थी प्रकरणको विषय जल्दोबल्दो भएकाले दोषी कसैलाई पनि छाड्न नहुने बताए । ‘हामीले हिजोका दिनदेखिनै भन्दै आएका छौ भ्रष्टाचार गर्नु भनेको आमाको दुध खानु जस्तै हो त्यसैले जो कोही पनि भ्रष्टाचार र ठगीमा लिप्त छन भने कारवाही गरिनुपर्छ,’ उनले भने ।    पोखराको लखनचोकमा भएको विरोधमा ¥यालीमा प्रदेश सरकार खारेज गर, भ्रष्टाचारीलाई कारवाही गर, लुडाकुको पैसा कसले खायो, गणतन्त्र चाँहिदैन, देश लुट्न पाइँदैन, ३३ केजी सुन काण्ड कता हरायो लगायतका नारासमेत लगाएका थिए ।   

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि ललितपुरमा सुरु हुँदै छ ।    ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट बैठक सुरु हुने छ । तीन दिनसम्म चल्ने बैठकमा १० वटा कार्यसूचीमा छलफल गरी निर्णय गर्ने तय भएको नेकपा एमालेका केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् । बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरुको प्रतिवेदन, मिसन ग्रासरुट अभियानको प्रतिवेदन, प्रदेशहरुको कार्ययोजना, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पार्टी प्रवेशीहरुको व्यवस्थापनलगायतका १० वटा कार्यसूची रहेका नेता रिजालले जानकारी दिएका हुन् ।   यसअघि एमालेको केन्द्रीय कमिटी बैठक झापामा बस्ने भनिएको थियो ।

काठमाडौं:   रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ आइएफआरसी को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईँ दोस्रो कार्यकालका लागि पुनः चयन भएका छन्  ।    चापागाईँले यसअघि सन् २०२० फेब्रुअरीमा चार वर्षे सो पदको पहिलो कार्यकाल सम्हालेका थिए ।  स्वीट्जरल्याण्डको जेनेभामा गए राति सम्पन्न आइएफआरसीको गभर्निङ बोर्डको बैठकले पहिलो पदावधि समाप्त हुनु एक वर्ष अगाडि नै उनलाई दोस्रो कार्यकालका लागि पुनः चयन गर्ने निर्णय गरेको हो ।      आइएफआरसीमा आबद्ध देशीय रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीका स्वयंसेवक तथा कर्मचारी पछिल्ला वर्षमा कोभिड–१९ महामारीको प्रतिकार्यमा अग्रपङ्क्तिमा जुटेका थिए  । आइएफआरसीले आफ्नो कार्यादेशअनुसार जलवायु परिवर्तनले निम्त्याएका, प्राकृतिक तथा मानव सिर्जित विपद् न्यूनीकरण र पीडितलाई अनवरत रूपमा मानवीय सहयोग  गर्दैआएको छ ।    दोस्रो कार्यकालको पदावधि थपपछि महासचिव चापागाईँले भने, “अइएफआरसीको गभर्निङ बोर्ड र आइएफआरसीका अध्यक्ष फ्रान्सेस्को रोक्काको विश्वास पाउँदा म सम्मानित र गौरवान्वित भएको छु । थुप्रै चुनौतीबीच समाधान खोज्न र हामीले सेवा गर्ने समुदायका बीचमा विश्वास निर्माण गर्न निष्ठाका साथ काम गर्नेछौँ ।”   तीन दशकभन्दा बढी समय मानवीय सेवामा तल्लीन चापागाईँले गत महिना नेपाल भ्रमणका क्रममा नेपाल रेडक्रस सोसाइटीलाई ३० नयाँ र १५  स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण गरेका थिए। युद्ध र युद्धका परिणाम, प्राकृतिक तथा मानवसिर्जित विपद्, विपद्ले सिर्जना गरेका असर, गरिबी, भोकमरी, विषमता न्यूनीकरण, सङ्कटापन्न समुदायलाई उत्थानशील बनाउनेलगायत क्षेत्रमा आइएफआरसीले मानवीय सहायता प्रदान गर्दछ ।    सात लाखभन्दा बढी कर्मचारी र झण्डै दुई करोड स्वयंसेवकको माध्यमबाट करिब एक अर्ब जनसङ्ख्यालाई  आइएफआरसीले बर्सेनि मानवीय सहायता पुर्‍याउने गरेको छ । रासस

पाल्पा:  पाल्पाको चिलाङ्दी –चापपानी –राम्दी सडकखण्ड अन्तरगतको गेझाठाँटी– गरन्डाँडा सडकखण्ड आगामी जेठ २० गतेसम्म बन्द हुने भएको छ ।   सडक पूर्वाधार विकास कार्यालय पाल्पाले एक सूचना जारी गर्दै आजदेखि आगामी जेठ २० गतेसम्म सडक बन्द हुने जनाएको हो ।   सूचनामा भनिएको छ, ‘चिलाङ्दी –चापपानी –राम्दी (गेझाठाँटीदेखि गरन्डाँडा खण्ड) मा बेस बिछ्याउने कार्य भई कालोपत्रे गर्ने तयारीमा रहेकाले मिति वैशाख २८ गतेदेखि जेठ २० गतेसम्मका लागि सडक बन्द रहने सूचना सबैमा जानकारी गराइन्छ । सो अवधिसम्म वैकल्पिक मार्ग प्रयोग गरी निर्माण कार्यमा सहयोग गरिदिनु हुन सबैमा अनुरोध छ ।’  

 जनकपुरधाम:   सर्लाहीमा एक जना भारतीय युवकको हत्या भएको छ ।   सर्लाहीको हरिपुर्वा नगरपालिका १ पथरा पुलनजिक झाडीमा भारत सितामढी ग्रामपञ्चायत सोनबरसा ९ का सिकु भनिने २८ वर्षीय शेखर सुमनको शव फेला परेको हो ।   बुधबार साँझ करिब ६  बजे झाडीमा टाउको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । युवकको टाउको र शरीर २० र २५ मिटरको दूरीमा फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी कैलास राईले जानकारी दएका छन् ।   घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा लगिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी राईले बताए ।  

बाजुरा:    बाजुराको बिछ्या केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रविन्दु भएर आज बिहान ५ बजेर १५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही वैशाख २३ गते ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ ।