काभ्रेपलाञ्चोक: पनौतीमा रहेको सामुदायिक सहकारी संस्थामा चोरी गरी फरार रहेका मकवानपुरका दुई जनालाई प्रहरीले आज मङ्गलवार पक्राउ गरेको छ । पनौती नगरपालिका–७ मा रहेको पनौती सामुदायिक सहकारी संस्थामा चोरी गरी ३३ लाख रुपैयाँ लिएर फरार भएकालाई मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरीले जनकारी दिएका छन् । वैशाख १७ गते सहकारीबाट पैसा चोरी गरी फरार भएका मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ का ३० वर्षीय अशोक रुम्बा र ३५ वर्षीय अकवर लामालाई विशेष सूचनाका आधारमा पक्राउ गरेको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिएका थिए । उनीहरूको साथबाट पाँच लाख ४५ हजार रुपैयाँ, एक नाले भरुवा बन्दुक र रडसमेत बरामद गरिएको कार्कीले बताए ।
काठमाडौं: नेपाल चिकित्सक सङ्घ र एसोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ । सङ्घका महासचिव डा. सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको तुलनामा १४ प्रतिशत बढाइएको जानकारी दिनुभयो । सङ्घले चिकित्सकको परामर्श शुल्क दुई वर्षपछि बढाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तर्फबाट शुल्क पुनरावलोकन तथा निर्धारण नहुञ्जेलसम्मका लागि बहिरङ्ग सेवा शुल्क (ओपीडी) शुल्क बढाइएको हो । सरोकारवाला निकायको परामर्शका आधारमा शुल्क तोक्न सक्ने अख्तियारीलाई मुख्य आधार बनाइ नेपाल राष्ट्र बैंकको मुद्रास्फीति तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा शुल्क बढाइएको उहाँले बताउनुभयो । महासचिव तिवारीले चिकित्सकको नयाँ परामर्श शुल्क चार सय २० देखि नौ सय ४० रुपैयाँसम्म तोकिएको बताउनुभयो । नयाँ शुल्कअनुसार पाँच वर्षभन्दा कम अनुभव भएका एमबीबीएस तथा बीडीएस तहका चिकित्सकको शुल्क चार सय २० र पाँच वर्षभन्दा बढी अनुभव भएकाको पाँच सय १५ रुपैयाँ परामर्श शुल्क तोकिएको छ । यस्तै अब पाँच वर्षसम्म अनुभव भएका डिप्लोमा तहका चिकित्सकको पाँच सय ९० र त्योभन्दा बढी छ भने छ सय ७० रुपैयाँ तथा पाँच वर्षसम्मको अनुभव भएका एमडी, एमएस, एमडीएस तहका चिकित्सकले सात सय ५० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले आठ सय रुपैयाँ परामर्श शुल्क लिन पाउने गरी तोकिएको छ । डीएमरएमसीएच चिकित्सकको हकमा पाँच वर्षभन्दा कम अनुभव भए आठ सय ८०, पाँच वर्षदेखि १० वर्षसम्मको अनुभव भए नौ ४० र १० वर्षभन्दा माथि अनुभव भएका चिकित्सकका लागि नौ सय ४० रुपैयाँ परामर्श शुल्क तोकिएको छ । साथै एमडीरएमएसरएमडीएसका हकमा भने पाँच वर्षभन्दा कम अनुभव भएकाले ७ सय ५०, पाँचदेखि १० वर्षसम्म अनुभव भएकाको हकमा आठ सय र १० वर्षभन्दा बढी अनुभव भएकाको हकमा नौ सय ४० रुपैयाँ शुल्क तोकिएको छ ।
काठमाडौँ: नेपाल आयल निगमले तोकिएभन्दा बढी पेट्रोल ढुवानी गर्ने ट्याङ्कर चालकलाई पेट्रोलियम पदार्थ ढुवानीमा रोक लगाएको छ । निगमबाट २० हजार लिटर पेट्रोलको खरिद आदेश लिएको सो ट्याङ्करले इण्डियन आयल कर्पोरेसन आइओसी बाट तोकिएको परिमाणभन्दा बढी पेट्रोल ल्याएको पाइएपछि निगमले ट्याङ्करका चालक र सहचालकलाई निगमको सम्पूर्ण डिपोमा सधैँका लागि पेट्रोलियम पदार्थ ढुवानीमा बन्देज लगाइएको हो । रुपन्देहीस्थित श्री एक्सप्रेस परिवहन सेवा प्रालिले सञ्चालनमा ल्याएको उक्त ट्याङ्करलाई तीन महिनाका लागि निलम्बन गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिएका छन् । लु२ख ४८३९ नम्बरको सो ट्याङ्करले निगमसँग सम्झौता गरी बेतलापुर–भैरहवा रुटमा पेट्रोल ढुवानी गर्ने गरेको थियो । आइओसीबाट पेट्रोल ल्याउने क्रममा भैरहवा भन्सार कार्यालयमा जाँच गर्दा आइओसीबाट जारी भएको खरिद बिलमा उल्लेखित परिमाणभन्दा तीन हजार लिटर बढी पेट्रोल ढुवानी गरेको पाइएको थियो । तोकिएभन्दा बढी पेट्रोल ढुवानी गरेको भेटिएसँगै उक्त ट्याङ्करलाई भन्सार कार्यालयले नियन्त्रणमा लिई पेट्रोल चोरीपैठारी कसुरमा कारबाही अगाडि बढाएको छ । रासस
तनहुँ: पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ सिर्दीमा आज बिहान बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । काठमाडौं पोखराका लागि छुटेको ग १ ख ९६३५ नम्बरको बस अनियन्त्रित भइ सडकबाट ५० मिटर तल खसेको हो । दुर्घटनामा घाइते भएका सबैको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्टले जानकारी दिएका छन् । घाइतेमध्ये नौ जनालाई थप उपचारका लागि पोखरा ‘रेफर’ गरिएको उहाँले बताउनु भयो र अन्य घाइतेको भने दमौलीको अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।
गोरखा: जीप दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । ५ जना घाइते भएका छन् । काठमाडौंबाट गोरखाका लागि छुटेको बा ०१–०२५ च ६२०४ नम्बरको जीप गण्डकी गाउँपालिका ६, घौचुरको कच्ची सडकमा गएराति दुर्घटना भएको हो । दुर्घटनामा जीपमा रहेकी त्यही ठाउँकी ७८ वर्षकी किरमाया आलेको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा गण्डकी गाउँपालिका ६ कै ७७ वर्षकी कनमाया आले, ७८ वर्षका धनबहादुर आले, ८१ वर्षका तीर्थबहादुर आले, ७२ वर्षका पूर्णबहादुर थापा र ६५ वर्षकी गंगामाया थापा घाइते भएका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक डीएसपी लिलाराज लामिछानेले बताएका छन् र घाइतेहरुको चितवन भरतपुर स्थित मेडिकल कलेजमा उपचार भइरहेको जानकारी दिए । जीपका चालक गण्डकी गाउँपालिका ६ का केहरसिंह थापालाई प्रहरीले पक्राउ गरेको छ । हावाहुरीले सडकमा ढालेको रुखलाई छल्ने क्रममा दुर्घटना भएको हुन सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वेदनाथ भण्डारीले बताएका छन् । काठमाडौं पेन्सनपट्टा सम्बन्धी काम सकेर घर फर्कँदै गरेकाहरु दुर्घटनामा परेका हुन् ।
काठमाडौं: भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७७ माथि दफवार छलफल संसदीय विषयगत समितिमा हुने भएको छ । सोमबार बस्ने प्रतिनिधि सभाको बैठकले यो विधेयकलाई सम्बन्धित समितिमा पठाउने सम्भावित कार्यसूची छ । यो विधेयकमा मुख्यतः सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि निश्चित अवधिभित्र मात्रै मुद्दा चलाउनुपर्ने व्यवस्था रहेको छ । विधेयकमा भएको व्यवस्था अनुसार, निश्चित अवधिभित्र अनुसन्धान नभए उनीहरुमाथि मुद्दा चल्नेछैन । विधेयकमा सार्वजनिक सम्पत्ति हानीनोक्सानीको भ्रष्टाचारमा भने हदम्याद नलाग्ने व्यवस्था छ । भ्रष्टाचार निवारणसम्बन्धी विधेयकको दफा १६ मा मुद्दा चलाउने अवधिसम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘भ्रष्टाचारजन्य कसुरमा मुद्दा चलाउने हदम्याद थाहा पाएको मितिले पाँच वर्ष हुनेछ ।’
पोखरा: नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीलाई सुप्रेम शारदा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल प्रेस युनियन कास्की शाखाले संचालन गरेको सो पुरस्कार पहिलो पटक भण्डारीलाई प्रदान गर्न लागिएको हो । पुरस्कार राशि ५१ हजार रुपैया नगद र सम्मान पत्र रहेको छ । नेपाल पत्रकार महासघं कास्कीका पूर्व अध्यक्ष रवीन्द्र बास्तोला संयोजक रहेको प्रतिभा छनौट समितिको सिफारिसमा नेपाल प्रेस युनियन कास्कीकोे बैठकले भण्डारीलाई पुरस्कृत गर्ने निर्णय भएको युनियनका कार्यवाहक अध्यक्ष रवीना आलेले जानकारी दिइन् । पोखरामा रहेर २ दशकदेखि पत्रकारितामा सक्रिय भण्डारीले विभिन्न संचार माध्यममा काम गरेकी छन् । उनले विशेष गरि महिला सशक्तिकरणका क्षेत्रमा आवाज उठाउदै आएकी छन् । भण्डारी यसअघि राष्टपतिबाट जनसेवाश्री विभूषणसहित विभिन्न पुरस्कारबाट पुरस्कृत एवम् सम्मानित भइसकेकी छन् । संविधान सभा सदस्य, नेपाली कांगे्रसका तत्कालिन आमन्त्रित सदस्य, वरिष्ठ उद्योगपति सूर्यबहादुर केसीले वि.सं.२०७६ सालमा प्रेस यूनियनले संचालन गर्ने गरि आफ्नी वहिनी शारदा केसीको स्मृतिमा ६ लाखको अक्षयकोष स्थापना गरेका थिए । उक्त पुरस्कार नेपाली प्रेस युनियन कास्कीको १०औं अधिवेशनको अवसरमा जेठ ७ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख अतिथ्यतामा वितरण गरिने कावा अध्यक्ष आलेले बताइन् । सोही कार्यक्रममा युनियनका निवर्तमान अध्यक्ष नवीन सिग्देललाई शान्ति पत्रकारिता पुरस्कार, प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ यनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल र २०७९ नेपाल पत्रकार महासघं कास्कीका पूर्व अध्यक्ष रवीन्द्र बास्तोलालाई प्रदान गरिने युनियनका सहसचिब ज्योति हमालले जानकारी दिइन् ।
काभ्रे: काभ्रेको रोशी गाउँपालिका वडा नं ९ चिउरीखोलामा बाढीले बगाएर ल्याएको लेदोले एक घर र ४ वटा गाडी पुरिएको छ । बाढीले बगाएर ल्याएको लेदोले रोशी गाउँपालिका वडा नं ९ का क्षेत्र बहादुर तामाङको घर पुरिएको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ । कार्यालयका अनुसार, आइतबार साँझ ९ बजेको समयमा बाढीले बगाएर ल्याएको लेदोले घर पुरिंदा कुनै मानवीय क्षति भने भएको छैन । घरमा भएका दुई वटा खसी, तीनवटा बाख्रा, अन्नपात र भाँडाकुडा पुरिएको छ । सोही बाढीले बगाएर ल्याएको लेदोले चारवटा गाडी पुरिएको थियो । लेदोले पुरिएको दुईवटा हायस र दुईवटा जिपमा पनि कुनै मानविय क्षति भएको छैन । लेदोले पुरिएका चारवटा गाडीमध्ये एउटा मात्रै निकालिएको र बाँकी तीन वटा गाडी निकाल्ने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ । बाढीले बगाएर ल्याएको लेदोले अबरुद्ध भएको बि।पी राजमार्ग एकतर्फी सुचारु भएको प्रहरीले जनाएको छ ।
तनहुँ: इनारमा डुबेर तनहुँमा एक युवकको मृत्यु भएको छ । इनार सफा गर्ने क्रममा व्यास नगरपालिका-१३ पोखरीभञ्ज्याङमा काम गर्ने २७ वर्षीय विपिन भन्ने छत्रबहादुर आलेको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँमा सुमन एन्ड सचिन पोल्ट्री फार्ममा काम गर्दै आएका ऋषिङ गाउँपालिका-७ निवासी आलेको इनार सफा गर्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मानबहादुर आलेले सञ्चालन गरेको सो फार्ममा डोरीको सहायतामा इनारभित्र पसी सफा गर्ने क्रममा अक्सिजनको कमीले गर्दा आलेको मृत्यु भएको हो । अक्सिजनको कमीले अचेत भएपछि उपचारको दमौली अस्पतालमा लगिएकोमा त्यहाँ चिकित्सकले आइतबार मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

