पोखरा: गण्डकी प्रदेश नीति तथा योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले बुधबार पद तथा गोपनीयताको सपथ लिएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं आयोगका अध्यक्ष सुरेन्द्रराज पाण्डेले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समारोहमा आयोगका नवनियुक्त उपाध्यक्ष डा. देवकोटालाई सपथ गराएका हुन् । सपथ लिएलगत्तै डा देवकोटाले आयोगको उपाध्यक्षको पदभार सम्हालेका छन् । सो अवसरमा उनले संविधानले दिएको सीमाभित्र रहेर प्रदेशलाई बलियो र समृद्धशाली बनाउन भूमिका खेल्ने बताए । कृषि, पर्यटन पूर्वाधार, जलस्रोत, गुणस्तरीय शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा प्राथमिकीकरणका आधारमा काम गर्नुपर्ने उनले उल्लेख गरे । प्रदेश सरकारको नीति तथा योजना कार्यान्वयनमा सबै पक्षसँग मिलेर काम गर्ने उनले बताए ।
काठमाडौं: प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी सम्बन्धमा दोषी कोही नछुट्ने र निर्दोष कोही पनि पर्न नहुने बताएका छन् । प्रधानमन्त्री प्रचण्ड, पाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् । छलफल सदनलाई सुचारु गर्ने सन्दर्भमा केन्द्रित भएको बताए । सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्रीले भने, “मिडियामा जसरी तपाईंले प्रचार गर्नुभएको छ, तीन जना नेताको भेट त्यस्तो होइन। हाम्रो भेट सदनलाई कसरी सुचारु रुपमा लैजाने, संसदीय समिति बनाउने, संयुक्त समिति बनाउने विषयमा नै बढी छलफल भएको छ।” यसैगरी, उनले पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरेको सन्दर्भमा यसमा प्रहरीले आफ्नो काम अघि बढाएको र सरकारले पनि ठीक ढंगले काम गरोस् भनेर ‘स्ट्याण्डिङ अर्डर’ दिएको बताए । “आशंका गर्नुपर्ने केही कारण छैन। हामीले विल्कुल क्लियर भाषामा भनेका छौं। दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस्। प्रहरीले आफ्ने काम ठिक ढंगले गरोस् भनेर स्ट्याण्डिङ अर्डर दिएकै छौं। प्रहरीले आफ्नो काम गरेको छ, त्यसकारण यसमा दुविधा, आशंका गर्नुपर्ने केही कारण छैन। जे भएको छ, विधि, विधान, नियम पद्दति अनुसार काम भएको छ। हामी राजनीतिक नेतृत्वले आफ्नो काम गरेका छौं”, उनले भने ।
काठमाडौं: पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई काठमाडौं जिल्ला अदालतले थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ। बुधबार बिहान चाबहिल मैजुबहालबाट पक्राउ परेका पूर्व गृहमन्त्री खाँणलाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट चार दिन म्याद थप गरी हिरासतमा राख्न अनुमति पाएको हो। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार पाँच घण्टा बयान लिएको थियो। बयानपछि प्रहरीले खाँणको स्वास्थ्य परीक्षण गरेको थियो।
पोखरा: पोखरामा म्याद गुज्रेको बियर जिल्ला प्रशासन कार्यालय कास्कीले नष्ट गरेको छ । लाभाजु इन्टरप्राइजेजको स्टोरबाट बरामत गरेको १३ लाख ९८ हजार ५ सय ३० रुपैयाँको म्याद गुज्रेको बियर प्रशासनले पोखरा महानगरपालिका १७ मुस्ताङचोकस्थित गल्फकोर्षको जग्गामा नष्ट गरेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले म्याद गुज्रेका बियर बिक्री गर्ने लाभाजु इन्टरप्राइजेजलाई ३ दिनभित्र बिलबिजकसहित प्रशासनमा उपस्थित हुन सूचना पठाइएको जानकारी दिए । लाभाजुलाई उपभोक्ता संरक्षण ऐन अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी भानुभक्त ढकालले जानकारी दिए । प्रशासनले ६ सय ५० एमएलको ३ सय १३ कार्टुन र ३ सय ३० एमएलको ६ कार्टुन बियर पोखरा महानगरपालिका ५ प्रस्याङ शिवालय मार्गस्थित लाभाजु इन्टरप्राइजेजको स्टोरबाट १३ लाख ९८ हजार ५ सय ३० रुपैयाँ बराबरको बर्डवाइजरको म्याद गुज्रेको बियर बरमत गरेको थियो ।
बाँके: नेपालगंज उपमहानगरपालिका-१२ स्थित किङ क्रस क्लबबाट अटोमेटिक पेस्तोल र १ राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा बर्दिया बाँसगढी नगरपालिका-८ बस्ने २८ वर्षीय सुमन रिजाललाई रहेका छन् । उक्त क्लबमा झगडा भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त क्लबको ट्वाइलेटमा लुकाई राखेको उक्त हतियारसहित फेला पारी उनलाई पक्राउ गरेको थियाे । मंगलबार राती पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
काठमाडौं: भुटानी शरणार्थी प्रकरणमा मुछिएका प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी संघीय संसद् सचिवालयको सम्पर्कमा आएका छन् । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सांसद् रायमाझीले स्वास्थ्यमा समस्या भएर अस्पतालमा रहेको जानकारी गराएका हुन् । उनका अनुसार प्रहरीको फरार सूची रहनुभएका रायमाझीले बिरामी बिदा स्वीकृति गरिदिन निवेदन संघीय संसद् सचिवालयमा पठाएका छन् । रायमाझीविरुद्ध प्रहरीले अघिल्लो बुधबार पक्राउ पूर्जी जारी गरेको थियो। त्यसपछि रायमाझी फरार छन् । नेकपा (एमाले) सचिवसमेत रहेका रायमाझीलाई बुधबार एमालेले निलम्बन गरेको छ।
काठमाडौं: प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौंमा लगेको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पाउने ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले खाँणलाई हिरासतमा राख्न अदालतसँग अनुमति लिन लागेको हो । बुधबार विहान घरबाटै पक्राउ परेका खाँणलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको थियो । दिउँसो ३ बजे उनलाई प्रहरीको भ्यानमा राखेर बबरमहलस्थित जिल्ला अदालत काठमाडौंतर्फ लगेको हो ।
काठमाडौं: नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेले रायमाझीलाई निलम्बन गरेको हो । राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् । रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । उनी फरार छन् । उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।
पोखरा: प्रतिनिधिसभा सभा सदस्य मनबहादुर गुरुङले आगामी आर्थिक वर्ष २०८०÷८१ को विनियोजन विधेयकमा पोखराको सात तालको सिमाना छुट्याएर रोक्का राखिएको जग्गा फुकुवा गर्न प्राथमिकतामा राख्न माग गरेको छन् । प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बौल्दै सांसद गुरुङले पोखरा महानगरपालिका साविकको लेखनाथ नगरपालिकाको सात तालको सिमाना छुट्याएर रोक्का रहेका जग्गा फुकुवा गर्न विनियोजन विधेयकको प्राथमिकतामा राख्न माग गरेका हुन् । ‘पोखरा महानगरपालिकाका साविकको लेखानाथ नगरपालिका आज भन्दा १६ वर्ष अगाडि नेपाल सरकारको स्वीकृत नेपालको कै सात तालको शहर, गार्डेन सिटी अफ लेकका रुपमा गुरुयोजना बनाइएको थियो’, सांसद गुरुङले भने, ‘रुपा ताल बाहेक अन्य तालमा गुरुयोजना अनुसार काम भएको छैन, तालहरुको सिमाना छुट्टाएर रोक्का राखिएको जग्गा फुकुवा गर्न विनियोजन विद्येयकको प्राथमिकतामा राखियोस् ।’ उनले सात ताललाई गार्डेन सिटी अफ लेकको रुपमा गुरुयोजना बनाएर तालको संरक्षण, पर्यटन, विकास,रोजगार सिर्जना गर्ने उद्धेश्य राखेर अगाडि बढेपनि रुपा ताल बाहेरक अन्य तालमा योजना अगाडि बढ्न नसकेको बताए । साविकको लेखनाथ नगरपालिकाभित्रका बेगनास ताल, रुपा ताल, दिपाङ्ग ताल, खाष्टे ताल, न्यूरेनी ताल, गुँदे ताल, मैदी ताललाई गार्डेन सिटी आफ लेकको योजनामा अगाडि बढाइएको सांसद गुरुङको भनाई छ । सांसद गुरुङका अनुसार विज्ञहरुको सुझावमा गुँदे ताललाई ‘बल्जी ताल’, खाष्टे ताललाई ‘चरा हेर्ने ताल’, दिपाङ्ग ताललाई, ‘हनिमुन ताल’, मैदी ताललाई ‘योग गर्ने ताल’, बेगनास ताललाई ‘वाटर स्पोर्टस लेक’ र रुपा ताललाई ‘कायचिङ ताल’ नामाकरण गरेर विकास गर्ने उद्धेश्य रहेको बताएका छन् ।

