काठमाडौं: थाइल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२७ बालुवा घर भई हाल काठमाडौं टोखा नगरपालिका–९ म्याग्दी चोक बस्ने ३१ वर्षीय नन्दलाल महतो रहेका छन् । महातो विरुद्ध वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले टोखा नगरपालिका–९ म्याग्दी चोकबाट बुधबार पक्राउ गरेको हो । उनले वैदेशिक रोजगारका लागि थाइल्याण्ड पठाउछु भन्दै विभिन्न प्रलोभनमा पारी पटकपटक गरी ३ लाख ५० हजार गरेको बताइएको छ । उनले थाइल्याण्डको प्रतिष्ठित कम्पनीमा काम लगाउने र मासिक १ लाख रूपैयाँ भन्दा बढी तलबमा हुने भन्दै पीडितहरुसँग रकम असुल्दै आएको प्रहरीले जनाएको छ । पक्राउ परेका महतोलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।
काठमाडौँ: इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमले बुद्धगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गरे । बुद्धत्व प्राप्त गरेपछि नै उनलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो । गौतम बुद्धलाई एसियाका ताराका रुपमा पनि चिनिन्छ । दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाएका ज्ञान हुन् । सम्यक् संकल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि यी आठ मार्ग हुन् भनी उनले ज्ञान बाँडेका थिए । यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुलाई प्रवचन (धर्मदेशना) का माध्यमबाट बाँडेका थिए । झण्डै ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उनले महापरिनिर्वाण (मृत्यु) प्राप्त गरे । विश्व जगतमा शान्तिका अग्रदूत र एसियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिए । यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रुप धारण गरेको हो । विसंं २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो । विसं २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो । विश्वशान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसंघीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ । हालसम्म विश्वका प्रकाशनमध्ये बुद्धसम्बन्धी सबैभन्दा बढी पुस्तक प्रकाशित भएको बताइन्छ । यिनमा बेलायतबाट प्रकाशित डेली टेलिग्राफका सम्पादक सर एडविन आर्नोल्डको ‘एसियाको ज्योति (१८७९)’ तत्कालीन भारतीय संविधान मस्यौदा समितिका अध्यक्ष डा.बाबा साहेब अम्बेडकरको ‘बुद्ध र उनको धम्म (१९५७)’ र सन् १९४६ मा साहित्यमा नोबेल पुरस्कार प्राप्त जर्मन उपन्यासकार हेर्मन हेस्सेको ‘सिद्धार्थ (१९२२)’ प्रसिद्ध छन् । यसैगरी जर्मनीका माथेरा न्यानातिलोकाले ‘बुद्धिस्ट डिक्सनरी’ (१९५०), ‘विश्वमा बुद्ध’ (१९०६), फ्रान्सका डा.वाल्पोला राहुलको ‘बुद्धको विचार’ (१९५९), इटलीका जिसेप्पे टिउचिलेको ‘मुस्ताङको भ्रमण’ (१९६९) आदि पुस्तकले बुद्धलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । विश्वका अति प्रसिद्ध अक्सफोर्ड, क्याम्ब्रिज, हार्वर्ड आदि विश्वविद्यालयमा बौद्ध अध्ययन हुँदै आएको छ । यसैगरी त्रिभुवन, नेपाल संस्कृत, लुम्बिनी बौद्ध विश्वविद्यालयलगायतले पनि बौद्ध दर्शनमा स्नातकोत्तर (एमए)को अध्ययन अध्यापन गर्दै आएका छन् । बुद्धले आफ्नो ८० वर्षे जीवनकालमा ८४ हजार पटक प्रवचन दिएको जुन ‘विनय’, ‘सुत्त’, ‘अभिधम्म’, ‘त्रिपिटक’ आदि पुस्तकमा सङ्ग्रहित छन् । सम्राट् अशोकले इ पू २४९ मा ‘हित बुद्ध जातेती लुम्बिनी ग्रामे’ भनी ब्राह्मी लिपिमा पाली भाषामा लेखेको अशोक स्तम्भ पत्ता लागेको एक शताब्दी पूरा भइसकेको छ । तत्कालीन वेस्टर्न कमान्डर जनरल खड्गशम्शेर राणाले शिकार खेल्न जाँदा सन् १८९६ मा लुम्बिनीमा उक्त स्तम्भ देखी पुरातत्व विशेषज्ञ डा.फुररको सहयोगमा स्तम्भ संरक्षण गरिएको थियो । सन् १९५६ मा चौथो विश्व बौद्ध मातृत्व सम्मेलन नेपालमा आयोजना गरिएको थियो । सन् १९६७ मा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उ थान्तको नेपाल आगमनबाट लुम्बिनी विकासको बृहत्तर योजना आरम्भ भएको हो । बुद्ध जन्मिएको नेपाललाई विश्वमा चिनाउन २०७० सालको अन्तिमतिर अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन गएका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले नेपालका साथै एसियाका भारत, बर्मा, श्रीलंका, थाइल्यान्ड, हङकङ, मंगोलिया, भुटान, सिंगापुरलगायत देशलाई समेटेर बौद्ध परिपथको प्रस्ताव गरेका थिए । प्रस्तावलाई धेरै देशले समर्थन गरेका थिए । नेपालमा पनि लुम्बिनी, स्वयम्भू, बौद्ध, मणिचुड, नमोबुद्ध, हलेसीलगायत बौद्ध तीर्थस्थललाई समेटेर बौद्ध परिपथको प्रस्ताव गरिएको छ । प्रस्ताव गरिएका यी दुवै परिपथले पूर्णता भने पाउन सकेका छैनन् । बुद्ध जयन्ती वा यस्तै अन्य अवसरमा प्रस्ताव गर्ने तर त्यसको कार्यान्वयनका लागि काम हुन नसकेको टिप्पणी हुने गरेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । “अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो”, यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६७ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्धजयन्ती मनाउन सरकारले आह्वान गरेको छ । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्धजयन्ती मनाउने परम्परा छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने । २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किए । दरबार त्यागेर निस्केपछि नै उनले बुद्धत्व प्राप्त गरेका हुन् । Source: Filed
काठमाडौं: काठमाडौं महानगररपालिकाले कार्यालय समयमा जुवा खेल्ने तीन नगर प्रहरीलाई निलम्बन गर्ने तयारी थालेकाे छ। बुधबार दिउँसो टेकुस्थित नगर प्रहरी बल कार्यालयमा तास खेलेका नगर प्रहरी निरीक्षक निरकुमार बस्नेत, हवल्दार प्रयास घिमिरे र जवान रुपेश बानियाँलाई निलम्बन गर्ने महानगर स्रोतले जनाएको छ। निलम्बनमा पर्न लागेका हवल्दार प्रयास घिमिरे उपमेयर सुनिता डंगोलका पूर्व पिएसओ हुन्। बुधबार दिउँसो टेकुस्थित नगर प्रहरी बल कार्यालयमा तीन जना नगर प्रहरी तास खेलिरहेको अवस्थामा तस्बिर सार्वजनिक भएकाे थियाे ।
पाल्पा: सुख्खा पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ–५, चर्चरे नजिकै सुख्खा पहिरो गएपछि सडक अवरुद्ध बनेको हो । शुक्रवार बिहान ५ बजेतिर सडकमा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सडक बन्द भएपछि पाल्पाबाट बुटवलतर्फ जाने र बुटवलबाट पाल्पातर्फ आउने यात्रु बिच बाटोमै रोकिएका छन् ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले उभौली पर्वले देशको सांस्कृतिक विविधतालाई कायम राख्दै नेपाली नेपालीबीचको एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले उभौली पर्व २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै यस पर्वले सबै समुदायका नेपालीहरूबीच राष्ट्रिय एकता, सहिष्णुता र सांस्कृतिक ऐक्यबद्धताको भावना थप सुदृढ पार्न अभिप्रेरित गर्दै सभ्य, समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ । शुभकामना सन्देशमा भनिएको छ, “किरात समुदायको महान् पर्व उभौलीको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका राई, लिम्बू, याक्खा, सुनुवारलगायत सम्पूर्ण किरात दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।” वसन्त ऋतुको आगमनसँगै बाली लगाउने समय सुरु हुने भएकाले प्रकृति र पितृपूजक किराँत समुदायले बालीनाली राम्रो होस्, प्राकृतिक प्रकोप तथा विपत्तिहरू नआउन् भनेर भूमि, बाली र पितृ पूजा गर्ने गर्दछन् । त्यसका साथै विभिन्न परम्परागत नृत्य गर्दै र मिष्ठान्न परिकार खाएर आपसमा सुख, शान्ति, सुस्वास्थ्यको आदानप्रदान गरी रमाइलोसँग उभौली पर्व मनाउने परम्परा रहेको छ । किराँत समुदायको बाहुल्यता भएको नेपालका पूर्वी जिल्लाहरू र उपत्यकामा बसोबास गर्दै आएका किराँत समुदायहरूमा यो पर्वलाई भव्यरूपमा मनाउने गरिन्छ ।
काठमाडौं: शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण ९मुत्यु० वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् । “अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो”, यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६७औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रूपमा जन्म लिनुभएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बन्नुभयो । उनान्तीस वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्कनुभयो ।
काठमाडौं: प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँधौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्तिकुमार दुमी राईले राससलाई जानकारी दिनुभयो । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँधौली रहेको हो । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेती पाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको उहाँले सुनाउनुभयो । यस पर्वका अवसरमा चण्डी नाच नाचिन्छ । यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ । किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ । राजधानीमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा केही मानिस जम्मा भएर पूजा आराधनाको विधि पूरा गर्ने तयारी किराँत राई यायोक्खाले गरेको छ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका मानिसले भने यो पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरेका छन् । ऐँसेलुखर्कका मानिसले प्रत्येक वर्ष जेठ २२ पछि यो पर्व मनाउने परम्परा छ । किराँत समुदायमा पनि एकथरीले उँधौली पर्व उत्तरायण सुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन् । उँधौली भने दक्षिणायन सुरु हुने दिन पारेर साउन १ गते मनाउँछन् । यस समुदायका धेरै मानिसले उँधौली वैशाख शुक्ल पूर्णिमा र उँधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन् । यो पर्व किराँत राई समुदायको महत्त्वपूर्ण पर्व हो ।
काठमाडौं: सर्वोच्च अदालतले दुई महिनाभित्र भारतलगायत देशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण गरी अदालतमा प्रतिवेदन पेस गर्न परमादेश गरेको छ। न्यायाधीशद्वय शुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले बिहीबार उक्त आदेश गरेको हो। अदालतले उक्त विषयमा चार बुँदे निर्देशनसमेत दिएको छ। “नेपालमा पैठारी हुने तरकारी तथा फलफूलमा प्रयोग हुने सबै किसिमका विषादी(परीक्षण भन्सार बिन्दुमा नै गरेर मात्र पैठारी गर्ने सम्बन्धी मिति २०७६-३-२ को निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा भन्सार विन्दुहरूमा प्रयोगशाला स्थापना गर्नू”, आदेशमा भनिएको छ, “त्यसरी स्थापित प्रयोगशालामा सबै किसिमको विषादी परीक्षण हुनसक्ने अन्तर्राष्ट्रियस्तरको आधुनिक उपकरण र दक्ष जनशक्ति उपलब्ध गराउनू।” उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट विष्णुप्रसाद तिमल्सिनाले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि उक्त आदेश गरेको हो। “विषादीको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून एवं मापदण्डको प्रभावकारी कार्यान्वयन गर्न के(कस्तो योजना बनेको छ रु कुनै योजना बनेको भए सो योजना कार्यान्वयनका लागि के(कस्तो तयारी भएको छ रु”, आदेशमा भनिएको छ, “योजना नबनेको भए आम उपभोक्ताले विषादी परीक्षण नगरी पैठारी गरिएका र अनियन्त्रित मात्रामा विषादी प्रयोग गरिएका तरकारी तथा फलफूल खान बाध्य हुनुपर्ने अवस्थाको अन्त्य गरी जनस्वास्थ्य र वातावरणमा गुणात्मक सुधार ल्याउन गर्नुपर्ने निर्णय तथा क्रियाकलापको सूचीसहित सम्बन्धित जिम्मेवार अधिकारीसमेत तोक्नुपर्ने देखिन्छ।” मानवको जीउ(ज्यान तथा स्वास्थ्य र वातावरणमा हानी पुर्याउने विषादीयुक्त वस्तुको बिक्री वितरणबाट सुरक्षित हुन पाउने नेपाली नागरिकको मौलिक हकको संरक्षणको सुनिश्चितताका लागि नेपालमा पैठारी हुने तरकारी तथा फलफूल विषादी परीक्षण गरेर मात्र पैठारी गर्ने भनी सूचना प्रकाशित भएको झन्डै चार वर्ष पुग्न लागेको छ। आदेशमा भनिएको छ, “यो अवधिमा के(कस्तो योजना तथा मापदण्ड बनी के(कसरी कार्यान्वयन भएको छ रु योजना कार्यान्वयनमा के(कति प्रगति भएको छ, अदालतमा त्यसको जवाफ पेस गर्नू।” स्पष्ट र कार्यान्वयनयोग्य कार्ययोजना बनाई यो आदेश प्राप्त भएको मितिले दुई महिनाभित्र अन्य विपक्षी एवं सरोकारवालाहरूसँग समेत आवश्यक समन्वय गर्नसमेत आदेशमा भनिएको छ। आदेशमा २०७६ साल असार २ को निर्णयबमोजिम पैठारी हुने तरकारी र ताजा फलफूलमा विषादीको अवशेष परीक्षण गरेर मात्र नेपाल भित्र्याइने भनी गरिएको निर्णय के(कति अवधिमा पूर्णरूपमा कार्यान्वयन हुने हो रु भनी सरकारलाई प्रश्न गरिएको छ।
पोखरा: हिमालयन एक्स्ट्राई ट्रायथलनको दोश्रो संस्करण शनिबार पोखरामा हुने भएको छ । हिमालयन एक्स्ट्राई नेपालको आयोजना तथा नेपाल ट्रायथलन संघको प्राविधिक सहयोगमा हुन लागेको उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा सहभागिता जनाउन २२ देशका ३६ खेलाडी र उनीहरुको क्रु-मेम्वर सहित ६५ जना पोखरा आइपुगको हिमालयन एक्स्ट्राई नेपालका रेस डाइरेक्टर रिक्की योन्जनले जनाएका छन् । प्रतियोगितामा बेलायत, अमेरिका, अस्ट्रेलिया, नेदरल्याण्ड, ग्रिस, रसिया, चेक रिपब्लिक, इस्टोनिया, बंगलादेश, भारत लगायतका मुलुकहरुका ५ महिलासहित ३१ जना पुरुष गरी कुल ३६ खेलाडीहरु सहभागिता रहेको योन्जनले जानकारी दिए । “धेरै खेलाडीहरु पहिलो पटक पोखरा आएका छन्” उनले भने–“गत वर्ष तेश्रो स्थान हासिल गरेका एक मात्र खेलाडी दोश्रो पटक सहभागिताका लागि आएका छन् ।” गत वर्ष चेक रिपब्लिकका पिटर भाव्रोशोक तेश्रो स्थान प्राप्त गरेका थिए । प्रतियोगिता शनिबार फेवातालमा पौडीबाट सुरु हुनेछ । बिहान साढे ३ बजे सहभागिहरु ३.८ किमि पौडीको प्रतिस्पर्धा गर्नेछन् । त्यस लगतै १७५ किमि साइकल दौड सुरु हुनेछ । पोखरा लेकसाईडबाट सुरु हुने साइकल दौड सराङकोट-पर्वतको कुस्मा-बागलुङ कालिका हुँदै पुनः फर्किएर कास्कीको काँडेमा पुगेर सम्पन्न हुनेछ । त्यस लगतै ४३ किमि लामो दौड सुरु हुनेछ । उक्त दौड काँडे हुँदै ४ हजार मिटरमा रहेको मर्दी हिमाल भ्यू पोइन्टलाई छुँदै माछापुच्छ्रे गाउँ पालिकाको ल्वाङमा पुगेर सम्पन्न हुने रेस डाइरेक्टर योन्जनले बताए । प्रतियोगिता पुरा गर्न करिव १८ देखि २२ घन्टा लाग्न सक्ने आयोजकले अनुमान गरेको छ । प्रतियोगिता सम्पन्न गर्न करिव १ करोड खर्च लाग्ने रेस डाइरेक्टर योन्जनले जनाएका छन् । प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटि, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिका, सिभिक क्लिनिकलगायतको सहयोग रहेको छ । पोखरालाई खेलकुद मार्फत विश्वमा चिनाउन यो प्रतियोगिताले भूमिका खेल्ने बताउँदै रेस डाइरेक्टर योन्जनले यो वर्ष प्रतियोगितालाई वातावरण मैत्री बनाउने प्रयास गरिएको जनाए ।

