दैलेख: भरुवा बन्दुकको छर्रा लागेर दैलेखमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा यहाँको महाबु गाउँपालिका–४ काप्रिखोलाका अन्दाजी ३४/३५ वर्षीय पूर्ण बहादुर थापा सलामी मगर रहेका छन् । स्थानीय बतासे जङ्गलमा सिकार खेलेर घर फर्किने क्रममा भरुवा बन्दुकको छर्रा लागेर उनको घटना स्थलमा मृत्यु भएको हो । सिकार खेल्न गई घर फर्किने क्रममा साथमा रहेका सूर्य बहादुर थापा बलामी लड्न गई उनले बोकेको भरुवा बन्दुक पट्किँदा सँगै रहेका पूर्ण बहादुर थापा सलामी मगरको घटना स्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लाल बहादुर सुनारले बताउनुभयो । घटनाका विषयमा खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले सिकार खेल्न गएका अन्य दुई जनालाई भरुवा बन्दुक सहित नियन्त्रणमा लिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा महाबु गाउँपालिका–४ का सूर्य बहादुर थापा बलामी र ओम बहादुर थापा बलामी मगर रहेका छन् ।
सुनसरी: सप्तकोशी नदीमा डुबेर वेपत्ता भएका दुई सशस्त्र प्रहरी जवानमध्ये एक जनाको शव आज बिहान फेला परेको छ । सशस्त्र प्रहरी बल (एपीएफ)का एसपी निर्मल थापाका अनुसार, हराएका जवानहरूको खोजी कार्य आज बिहानैदेखि तीव्र पारिएको थियो । सोही क्रममा सप्तकोशी नदीको कोशी ब्यारेजदेखि करिब तीन किलोमिटर तल सशस्त्र प्रहरी जवान हरदेव राजवंशीको शव फेला परेको हो । गएको दिन, सप्तकोशीमा भइरहेको उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरीका दुई गोताखोर — हरदेव राजवंशी र सुरज साउद डुबेर वेपत्ता भएका थिए । दुवैजना दन्तकाली तालिम केन्द्र, बरमजिया अन्तर्गत कार्यरत थिए । हराइरहेका जवानहरूको खोजी र उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बलको विपद् उद्धार तालिम शिक्षालय, कुरिनटारबाट डिएसपी पुरुषोत्तम भण्डारीको नेतृत्वमा पाँच सदस्यीय विशेष टोली घटनास्थलमा खटिएको छ । सशस्त्र प्रहरी बलका अनुसार दोस्रो वेपत्ता जवान सुरज साउदको खोजी कार्य हाल पनि जारी रहेको छ ।
पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) मा शोभा न्यौपाने पाण्डेको अध्यक्षमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । टेवानको बिहीबार पोखरामा भएको चौंथो अधिवेशनबाट पाण्डेको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको निवर्तमान अध्यक्षमा कमला गिरी, उपाध्यक्षमा अनिता खड्का भट्टराई, महासचिवमा शोभा अधिकारी पौडेल, सचिवमा शान्ता सुवेदी तिमिल्सिना र कोषाध्यक्षमा शारदा लम्साल निर्वाचित भएकी छिन् । संस्थाको वरिष्ठ सदस्यमा कमला गुरुङ, सदस्यहरुमा मिना बराल लामा, विष्णुमाया गुरुङ, ज्ञानु श्रेष्ठ, सुधा सुवेदी बराल र जया कार्की निर्वाचित भएको नि।अध्यक्ष गिरीले जानकारी दिइन् ।
काठमाडौं: नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेलाई दिइएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्न प्रहरी नायब महानिरीक्षक घिमिरेलाई प्रहरी प्रवक्ता तोकिएको सचिवालयले जनाएको छ ।
पोखरा: यस वर्षको ‘हुतराज श्रेष्ठ स्मृति पर्यटन पुरस्कार’ बाट गण्डकीका २ जना पर्यटनकर्मी पुरस्कृत भएका छन् । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन अवसरमा बिहीबार आयोजित समारोहमा अग्रज पर्यटन उद्यमी हरिध्वज तुलाचन र युवा पर्यटनकर्मी उर्मिला गुरुङ पुरस्कृत भएका हुन् । संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उनीहरूलाई नगद १५ हजार ५ सय ५ रुपैयाँसहित सम्मानपत्र र दोसल्लाबाट पुरस्कृत गरे । सो अवसरमा संस्थाको स्मारिका ‘परिकल्पना’ पनि विमोचन गरियो । पोखराका अग्रणी पर्यटन उद्यमी हुतराज श्रेष्ठको स्मृतिमा उनकी श्रीमती तुमला श्रेष्ठले अक्षयकोष स्थापनाका लागि गत वर्ष ५ लाख ५१ हजार १११ प्रदान गरेकी थिइन् । यस वर्ष १ लाख थपेकी छन् । सोही अक्षयकोषबाट बर्सेनि पुरस्कार दिँदै जाने योजनाअनुरुप पहिलोपल्ट सो पुरस्कार तुलाचन र गुरुङलाई दिइएको टेवान अध्यक्ष कमला गिरीले जनाइन् । प्रतिभा छनोटका लागि सञ्जयकान्त सिग्देलको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो । ड्रागन होटलका संचालक ८१ वर्षीय तुलाचन पोखराको पर्यटन, समाजसेवा र सांस्कृतिक क्षेत्रका नक्षत्र हुन् । यस्तै, दक्षिण एशियाकै पहिलो पर्यटन गाउँ सिरुबारीमा नेतृत्वदायी भूमिका निर्वाह गर्दैआएकी ३६ वर्षीया उर्मिला गुरुङ उदाहरणीय युवा हुन् । कार्यक्रममा पर्यटन मन्त्री पाण्डेले टेवानको गतिविधिको प्रशंसा गरे । उनले लगानीका लागि निजी क्षेत्रलाई रातो कार्पेट ओेछ्याएर स्वागत गर्नुपर्ने विचार व्यक्त गरे । उनले होटलको मापदण्ड बनाउनेदेखि लिएर पर्यटन ऐन, नागरिक उड्डयन ऐन बनाउन सरकार लागिपरेको बताए । उनले सातै प्रदेशमा पर्यटन बोर्ड स्थापना गरिने बताए । गण्डकी प्रदेश सभा सदस्यद्वय प्रकाश बराल र सरस्वती गुरुङले पोखराको पर्यटन विकासमा टेवानको महत्वपूर्ण भूमिका रहेको भन्दै सरकारबाट सक्दो सहयोगको प्रतिबद्धता व्यक्त गरे । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पर्यटन संवेदनशील क्षेत्र भएको उल्लेख गर्दै राज्यले पर्यटन विकासमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा कास्की प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, गण्डकीका प्रेस रजिष्ट्रार बिमला भण्डारी, पोखरा भ्रमण वर्ष–२०२५ का संयोजक गोपीबहादुर भट्टराई, नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, प्रतिभा छनोट समिति संयोजक सञ्जयकान्त सिग्देल, सल्लाहकार टीकाराम सापकोटा, बोबरजंग गुरुङ, पुरस्कृत व्यक्तित्व तुलाचन र गुरुङलगायतले मन्तव्य व्यक्त गरेका थिए । विभिन्न गतिविधि गरेर संस्थाको उचाइ माथि पु¥याएकोमा अध्यक्ष कमला गिरीलाई सबै कार्यसमितिका पदाधिकारी र सदस्यले भव्य सम्मान गरेका थिए । यस्तै, अध्यक्ष गिरीले आफ्नो कार्यसमितिका पदाधिकारी, सदस्य तथा सल्लाहकारलाई मायाको चिनोसहित प्रशंसापत्र प्रदान गरिन् । उत्कृष्ट कार्य गरेकोमा कार्यसमिति सचिव शोभा पौडेल अधिकारी, कोषाध्यक्ष कमला गुरुङ, सदस्यद्वय शारदा लम्साल, शान्ता सुवेदी तिमिल्सिनालाई सम्मान गरियो । पत्रकारितामार्फत पर्यटन क्षेत्रको उन्नयनमा योगदान दिएकामा पत्रकार विश्व भण्डारी र विजय नेपाललाई प्रशंसापत्र प्रदान गरियो । संस्था अध्यक्ष कमला गिरीले टेवानले पोखराको पर्यटन प्रवद्र्धनमा विभिन्न खालका गतिविधि गर्दै आएको बताइन् । उनले ‘तीज सांस्कृतिक महोत्सव’ का दुईवटा संस्करण सफलतापूर्वक सम्पन्न गरेर ब्रान्ड बनाएको बताइन् । आफ्नो राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका कार्यक्रम, अन्तरप्रदेश भ्रमण, बिजनेस ब्रान्डका तालिम, डिजिटल साक्षरता एवं कानूनी साक्षरता तालिम, सदस्यको क्षमता अभिवृद्धिलगायत कार्यक्रम गरेको बताइन् । उनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव अनिता खड्का भट्टराई र धन्यवाद ज्ञापन सचिव शोभा पौडेल अधिकारीले गरेका थिए । पोखराका पर्यटन व्यवसायी महिलाहरुको सक्रियता २०७४ सालमा टेवान स्थापना भएको हो । संस्थामा हाल १४० सदस्य छन् ।
पोखरा: ७५ वर्षअधि फ्रान्सेली नागरिकद्वय मौरिस हर्जोग र लुइस लाशनलले पहिलो पटक अन्नपूर्ण प्रथमको सफल आरोहण गरेसँगै विश्वका लागि हिमालको पर्दा उघारिएको थियो । हाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडानम्बर ४ मा पर्ने आधार शिविर नर्थ बाट सन् १९५० जुन थर्डमा मौरिस हर्जोग नेतृत्वले ८०९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेर किर्तिमानी राखेका थिय । उक्त आरोहण नै विश्वमै पहिलो ८ हजार मिटरभन्दा अग्लो हिमाल आरोहणको कीर्तिमानी थियो । नेपाललाई अन्तराष्ट्रिय बजारमा चिनाउन र पर्वतीय पर्यटनको सुरुवात भएको यस क्षेत्रले (नर्थ) यथेष्ट लाभ लिन भने सकेको छैन । पदमार्ग प्रवद्र्धनमा नेपाल पर्यटन बोर्ड र टान नेपाल पर्यटन बोर्डको अगुवाइ र टान गण्डकीको व्यवस्थापनमा अन्नपूर्ण प्रथम हिमाल (नर्थ) पुग्ने पदमार्गको ५ दिने (१७–२१) प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न गरिएको छ । अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष (हिरक महोत्सव)को अवसरमा पदमार्ग प्रवद्र्धनको कार्यक्रम आयोजना गरिएको हो । अन्नपूर्णमा मानव पाइला पुगेको दिनको सम्झनामा हरेक वर्ष जुन ३ लाई ‘अन्नपूर्ण डे’का रुपमा मनाइँदै आइएको छ । पोखराबाट मौरिस हर्जोगका छोरा म्याथिएस इम्यानुएल म्याक्सिमिलेन र नाती सिमोन ज्याक्युस, फ्रान्सेको सांगीतिक टोलीसहित अन्नपूर्ण डे मनाउन नेपाल आएका थिए । फ्रान्सेली टोलीसहित पोखराबाट पर्यटनसम्बद्ध संस्थाका नेतृत्व, संचारकर्मी र हिमाल आरोहीसहितको टोली म्याग्दीको नार्च्याङ्, गुफा फाट, भुस्केट मेला हुदैँ अन्नपूर्ण आधार शिविर (४१९०) पुगेको थियो । अन्नपूर्ण प्रथमको उत्तरीखण्डमा पर्ने यो आधारशिविरमा पहिलोपटक अन्नपूर्ण डे मनाइएको हो । मंगलबार अन्नपूर्ण नर्थ बेसक्याम्प पुगेका हुन् । मौरिसले अन्नपूर्ण आरोहण गर्दा प्रयोग गरेको ‘आइस एक्स’ हार्जाेग परिवारले आधार शिविरमा हस्तान्तरण गरे । स्विजरल्याण्डमा रहेको आइस एक्स नेपालमा रहने गरि हर्जोग परिवारले हस्तान्तरण गरेको हो । हार्जाेगका छोरा माथियसले पञ्चकुण्ड तालको छेउमा बसेर बुवाको स्मरण गदैँ अन्नपूर्णलाई आफ्नो घर जस्तो भने । अनि आइस एक्स नेपाल पर्यटन बोर्डका प्रमुख मणि राज लामिछाने र टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यलाई हस्तान्तरण गरे । सो अवसरमा केक काटेर अन्नपूर्ण डे सेलिब्रेसन गरिएको थियो । यस्तै आधार शिविर (४१९०) मि. अन्नपूर्ण बेसक्याम्पमा मौरिस हर्जोग र लुइस लाशनलल शालिक अनावरण गरिएको छ । उर्जा राज्यमन्त्री खमबहादुर गर्वुजा, नेपालका लागि फ्रान्सेली राजदुतले शालिकको अनावरण गरेका थिए । अन्नपूर्ण हिमाल पहिलो पटक आरोहण गर्ने पहिलो नेपाली महिला पूर्णिमा श्रेष्ठले हर्जोगले प्रयोग गरेको आइस एक्स नेपालमा देख्न र स्पर्स गर्न पाउदा खुशी व्यक्त गरिन् । पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले अन्नपूर्ण हिमालको नर्थलाई प्रवद्र्धन गर्न पदयात्रा कार्यक्रम तय गरिएको बताए । यो पदमार्गलाई अन्तराष्ट्रियकरण गर्नुपर्छ भन्ने उदेश्यले फ्रान्सबाट हर्जोग परिवालाई पदमार्गहुदैँ वेसक्याम्पसम्म यात्रा गराइएको र राष्ट्रिय तथा अन्तराष्ट्रिङय संचार माध्य मार्फत प्रवद्र्धनको प्रयास गरिएको जानकारी दिए । टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले अन्नपूर्ण डे नेपालको लागि ऐतिहासिक दिन रहेको बताए । आचार्यले द अन्नपूर्ण किताब मार्फत मौरिस हर्जोगले नेपालको पर्वतीय पर्यटनमा पुर्याएको योगदानको चर्चा गरे । अन्नपूर्ण क्षेत्रमा पर्यटकको आकर्षण रहे पनि हर्जोगले आरोहणका लागि प्रयोग गरेको पदमार्ग अहिले पनि ओझेलमा परेकाले प्रवद्र्धनात्मक कार्यक्रम गरिएको आचार्यले बताए ।
पोखरा: विश्व वातावरण दिवसको अवसरमा विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलले विविध कार्यक्रम सम्पन्न गरेको छ । विश्व वातावरण दिवसमा प्लाष्टिक प्रदूषण अन्त्य गरौँ भन्ने मूल नाराका साथ विद्यालयका शिक्षक, शिक्षिका र विद्यार्थीहरुको सहभागितामा बिन्ध्यवासिनी मन्दिर परिषरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको हो । साथै, मोहरिया टोल क्षेत्र र विद्यालय परिसरमा पनि सरसफाई तथा फूलका विरुवाहरु रोपिएको प्राचार्य कृष्ण कुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार सोही सन्दर्भमा विद्यार्थीहरुले विभिन्न भनाईहरुसमेत प्रस्तुत गरेका थिए । सोही क्रममा कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरुबीच विश्व वातावरण दिवसको थिममा चित्रकला प्रतियोगिता सम्पन्न भएको थियो । सो प्रतियोगितामा कक्षा ७ की सृष्टिका कोइराला प्रथम , कक्षा ८ का छात्रा उपासना रेग्मी द्वितीय र कक्षा ८ का छात्र नोआ ब्रमशा तृतीय भइन् । उक्त प्रतियोगिताको निर्णायकको भूमिकामा कला शिक्षिका अनिता थापा रहेकी थिइन् । प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई प्राचार्य कृष्णकुमार श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । भने, कार्यक्रम सञ्चालन अतिरिक्त क्रियाकलाप प्रमुख राजु बयलकोटीले गरेका थिए ।
पोखरा: गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ वर्षका नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख डिल्लाराज भट्टले बुधबार प्रदेश सभामा नीति तथा कार्यक्रम वाचन गरे । प्रदेश सरकारको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, रोजगारी सिर्जना, पूर्वाधार विकास र डिजिटल गभर्नेन्सलाई प्राथमिकतामा राखिएको छ। ‘आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासन’ मूल मन्त्रका साथ अघि बढ्ने प्रतिबद्धता गरिएको छ। पूर्णपाठसहित
काठमाडौं: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया र दक्षिण कोरिया पठाइदिने भन्दै १३ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२८ बस्ने ४६ वर्षीय प्रविनकुमार शाह र रोल्पाको त्रिवेणी गाउँपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–११ बस्ने ३२ वर्षीया प्रतिज्ञा बुढामगर रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पक्राउमध्ये प्रविनले अल्बानिया पठाइदिने भन्दै आठ लाख १८ हजार र प्रतिज्ञाले दक्षिण कोरिया पठाउने भन्दै पाँच लाख लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो ।” काठमाडौँका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरी थप आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।

