पोखरा: सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा लनर्स एकेडेमीले प्लाष्टिक प्रदूषण विरुद्ध ७ दिने अभियान सुरु गरेको छ । जेठ १८ देखि २३ गतेसम्म वातावरण सप्ताह मनाउने अभियान अन्तर्गत कक्षा ६, ७ र ८ कक्षामा अध्ययनरत विद्यार्थीले पोखरा ६ लेकसाइड केदारेश्वर मन्दिर परिसरमा सफाई गर्दैै निरन्तरता दिएको विद्यालयका प्राचार्य विधान गौतमले जानकारी दिए । विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप अन्तर्गत पोखरा ७ स्थित पोखरा लनर्स एकेडेमीले सरसफाइ अभियानलाई तीव्रता दिएको हो । वातावरण सप्ताहको अवसरमा विद्यार्थीहरुले केदारेश्वर मन्दिर परिसरमा सफाइ कार्यक्रम सम्पन्न गर्दै यस वर्षको विश्व वातावरण दिवसलाई सफल बनाउने प्रतिववद्धता जनाएका छन् । प्लाष्टिक प्रदुषण विरुद्ध एकजुट होऔं’ भन्ने नारालाई मनन् गर्दै उनीहरूले प्लाष्टिक र अन्य फोहोर संकलन गरी वातावरण संरक्षणको सन्देश दिएका थिए । सहभागी विद्यार्थीले भने, ‘हामीले प्लाष्टिकले गर्दा हाम्रो ऐतिहासिक मन्दिर र प्राकृतिक सौन्दर्य बिग्रिरहेको महसुस गरेका छौं । त्यसैले हामीले सरसफाइको माध्यमबाट प्लास्टिक प्रदूर्षण विरुद्ध अभियान थालेका छौं ।’ विद्यालयका माध्यमिक तहका संयोजक कृष्णप्रसाद लम्सालले विद्यार्थीहरुको सक्रियता प्रति प्रशंसा गर्दै भने, ‘विद्यार्थीमा वातावरणीय चेतना जगाउनु र प्लास्टिक प्रदूर्षण विरुद्ध व्यवहारिक कदम चाल्न प्रेरित गर्नु हाम्रो मुख्य उद्देश्य हो।‘ यसैक्रममा विभिन्न कक्षाका विद्यार्थीहरूले पोस्टर बनाउने, निबन्ध लेख्ने, वादविवाद प्रतियोगिता जस्ता गतिविधिहरु सञ्चालन गर्दै आएका छन् । प्लाष्टिक प्रदुषण न्यूनीकरणमा आफ्नो योगदान पु¥याउने लक्ष्य लिएको विद्यालयले आगामी दिनहरुमा प्लास्टिकलाई घटाउने, पुनः प्रयोग गर्ने र पुनःप्रशोधन गर्ने अभ्यासलाई प्रोत्साहन गर्ने योजना बनाएको छ । वातावरण सप्ताह अन्त्यमा सरसफाइ कार्यमा सक्रिय सहभागी विद्यार्थीहरुलाई सम्मान र पुरस्कार वितरण तथा आगामी दिनमा रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने विद्यालयका शिक्षक आदर्श घिमिरेले जानकारी दिए ।
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिलाठी कोईलाडी गाउँपालिकाको विभिन्न निर्माणको ठेक्काको विज्ञापन प्रकाशनका सम्बन्धमा अनियमितता गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित विभिन्न विज्ञापन एजेन्सीका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । सो गाउँपालिकको आर्थिक वर्ष २०७९/८० मा विभिन्न चार वटा बोलपत्रको आह्वान र खरिद आशयको सूचना सार्वजनिक खरिद ऐन अनुसार राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने थियो । बोलपत्र आह्वानको सूचना लुकाउने उद्देश्यका साथ सार्वजनिक रुपमा प्रकाशन नगरी बोलपत्र स्वीकृत गर्ने आशयको सूचना एकप्रति मात्रै प्रकाशित गरेको पाइएको आयोगको आरोप छ । आयोगले सो गाउँपालिकका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रकुमार यादव, सहलेखापाल शत्रोहन दास, टाइम्स रिपब्लिक मिडियाका संस्थापक भूषणकुमार सिंह, डच मिडियाका निर्देशक रवि अर्याल, प्रभाव दैनिकका कृष्णबहादुर कार्कीविरुद्ध रु तीन लाख १६ हजार चार सय बराबरको बिगो माग दाबी गरेको छ । आयोगका अनुसार प्रेस काउन्सिल नेपालले २०७९ चैत २३ गतेको पत्र अनुसार उक्त बोलपत्रको सूचना प्रकाशित नभएको पाइएको छ । खरिद आशयको सूचना सार्वजनिक तवरमा वितरण प्रयोजनार्थ प्रकाशित नै नभएको देखिएको छ । पत्रिका व्यवस्थापन प्रणालीको पिडिएफ अभिलेखमा समेत कुनै सूचना प्रकाशित भएको नदेखिएको आयोगको ठहर छ । बोलपत्र आह्वानको सूचना सौर्य दैनिकमा एक–एक प्रति मात्रै प्रकाशन गरे गराएको, प्रेस काउन्सिलमा बुझाइएको विवरणमा समेत उल्लेख नभएको, पिडिएफमा समेत नभेटिएको आयोगको आरोप छ । सार्वजनिक तवरमा वितरण नगर्ने गरी एक–एक प्रति प्रकाशित गरी बदनियत राखेको पाइएको आयोगको ठहर छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले पाँच जनाविरुद्ध कैद र बिगो असुल उपरको माग दाबीका साथ मङ्गलबार विशेष अदालतमा मुद्दा दायर गरिएको जानकारी दिनुभयो ।
पोखरा: नेपाल पत्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा आयोजित ३ दिने फोटो तथा मोबाइल पत्रकारिता तालिम सम्पन्न भएको छ । समापन समारोहमा बोल्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले तालिमले आफ्नो पेशामा निपूर्ण बन्न मदत गर्ने बताए । उनले पत्रकारको कर्मलाई समाजले निगरानी गरिरहेको हुने बताउदै आफ्नो कर्ममा निश्पक्ष भएर समाचार सम्प्रेषण गर्नु पर्ने बताए । सहभागीको तर्फबाट बोल्दै संचारकर्मी रोजी श्रेष्ठ र राजन उपाध्यायले तालिम छोटो समयको भएता पनि प्रभावकारी भएको बताए । आगामी दिनमा अभ्यास सहितको तालिम प्रदान गर्न आयोजकलाई आग्रह गरे । प्रमुख प्रशिक्षक वरिष्ठ फोटो पत्रकार एवं मोवाइल पत्रकारिता विशेषज्ञ विकास कार्कीले फोटो, भिडियोका लागि मोवाइलको उच्चतम प्रयोग गर्न सकिने बारे प्रशिक्षित गरे । वरिष्ठ फोटो पत्रकार राम गुरुङ र कृष्णमणि बरालले पत्रकारितामा फोटो पत्रकारिताको महत्व सहित आफ्नो अनुभव सहित सहजिकरण गरे । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधब बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सह सचिव मधु अधिकारीले गरेका थिए । तीन दिन सम्म संचालन भएको तालिममा विभिन्न संचारमाध्यममा आवद्ध ७० जना पत्रकार एवम संचारकर्मीको सहभागिता थियो ।
पोखरा: गण्डकी प्रदेश सरकारले आज (बुधबार) आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले दिउँसो १ बजे प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। संविधान अनुसार प्रदेश प्रमुखले प्रदेश सरकारको सिफारिसमा नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने प्रावधान छ । नीति तथा कार्यक्रममा आगामी वर्षका लागि प्रदेश सरकारको प्राथमिकता, नीति निर्देशिका, विकास योजनाहरू र कार्यक्रमहरू समावेश गरिनेछ। विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि प्रदेश सभामा छलफल भइसकेको छ । प्रदेशले असार १ गते बजेट ल्याउनुपर्ने प्रावधान छ । यो गण्डकीको आठौं नीति तथा कार्यक्रम हो । प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत भएपछि त्यसमाथि छलफल भएर पारित हुनेछ। त्यसपछि असार १ गते आगामी आर्थिक वर्षको बजेट निर्माण कार्य अगाडि बढ्नेछ।
काठमाडौं: सङ्घीय संसदको दुवै सदनको बैठक बुधबार बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक बर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुनेछ । राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्नेछ । सो बैठकमा पनि अर्थमन्त्री पौडेलले राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने र सो प्रस्तावमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची छ ।
पोखरा: कक्षाकोठालाई सिकाई मैत्री तथा शैक्षिक वातावरणमय बनाउन कक्षागत रुपमा कक्षाकोठा सजावट प्रतियोगिता सम्पन्न गरिएको छ । पोखरा १ मोहरियाटोलमा सञ्चालित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा पाठ्यपुस्तकमा भएका सिकाई क्रियाकलापहरुको विभिन्न सामाग्री निमार्ण गरी कक्षा सजावट प्रतियोगिताको आयोजना गरिएको हो । कक्षा १ देखि कक्षा १० सम्म गरी ३ तहमा वर्गीकरण प्रतियोगिता आयोजना गरिएको प्राचार्य कृष्णकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार कक्षा १ देखि कक्षा ३ सम्मको पहिलो तहतर्फ कक्षा २ प्रथम भबन्यो। यस्तै कक्षा ४ देखि कक्षा ७ सम्मको दोस्रो तहमा कक्षा ६ प्रथम भयो । भने, कक्षा ८ देखि कक्षा १० सम्मको तेस्रो तहमा कक्षा ८ पहिलो बन्यो । उक्त प्रतियोगिताको विजयी कक्षाका विद्यार्थीलाई निर्णायक समितिका सदस्य द्वय होमराज अधिकारी र शान्ति रानाले पुरस्कार वितरण गरेकी थिइन् ।
पोखरा: गण्डकी प्रदेश सरकारले राइड सेयरियङ नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेको छ । सरकार र यातायात व्यवसायीबीच सोमबार मध्यराति भएको सहमति कार्यान्वयन गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङ नियमावली स्थगित गर्न भन्दै पत्र पठाएको थियो । सोही पत्र अनुसार मुख्यमन्त्री कार्यालयमा आजै साँझ मुख्यमन्त्रीसहित सरोकार मन्त्रीहरू सहभागी बैठक बसेको थियो । ‘भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेशबाट गठन भएको वार्ता समितिले सरोकारवाला पक्षलाई वार्ताका लागि पुनः आह्वान गरी वार्ता सम्पन्न गर्न एक महिनाको अवधि तोक्ने र उल्लिखित अवधिभर गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ बमोजिमका राइड सेयरिङ सम्बन्धी प्रावधानको कार्यान्वयन गर्ने कार्य प्रक्रिया स्थगन गर्ने भनी निर्णय भएको व्यहोरा जानकारीका लागि सबैमा अनुरोध छ,’ बैठकपछि मुख्यमन्त्री कार्यालयले सार्वजनिक गरेको निर्णयमा उल्लेख छ ।
म्याग्दी — अन्नपूूर्ण हिमाल आरोहण भएको ७५औँ वार्षिकोत्सवका अवसरमा मंगलबार म्याग्दीमा भएको अन्नपूूर्ण ‘ट्रेल रेड’ दौड प्रतियोगिताको उपाधि अन्नपूूर्ण गाउँपालिका–७ घराम्दीका कुशल पुुर्जाले जितेका छन् । चार हजार ९१ मिटर उचाइको अन्नपूूर्ण आधार शिविरदेखि अन्नपूूर्ण–४ नारच्याङ गाउँसम्म मौरिस हर्जोग पदमार्गमा भएको प्रतियोगितामा दुुई घण्टा ४७ मिनेट ३७ सेकेन्डमा ३६ किलोमिटर दूरी पार गरेर पुुर्जा विजयी भएका हुन् । अन्नपूूर्ण–६ घारका लोकबहादुर बरुवालले दुुई घण्टा ५२ मिनेट ५१ सेकेण्ड र सञ्जयबहादुर बरुवालले तीन घण्टा आठ मिनेट ३७ सेकेन्डमा निर्धारित दूरी पार गरेर दोस्रो र तेस्रो भएको प्रतियोगिताको व्यस्थापन गरेको भूतपूूर्व खेलाडी मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले जानकारी दिए । अन्नपूूर्ण आधार शिविरबाट आज बिहान ६.३० बजे सुरु भएको प्रतियोगितामा म्याग्दीका ४० जना धावकहरूको सहभागिता थियो । विजयी २४ वर्षीय पुर्जा भारतीय गोर्खा सैनिक र उपविजेता २४ वर्षीय बरुवाल नेपाली सेनाका जवान हुन् । विजेता, उपविजेता र तेस्रो हुनेलाई आज दिउँसो नारच्याङ बेँसीमा आयोजना हुने समारोहमा प्रमाणपत्रको साथमा क्रमश नगद रु ५० हजार, ३० हजार र २० हजार पुुरस्कार प्रदान गरिने अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए । अन्नपूूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रर्वद्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए । सन् १९५० जुन ३ का दिन फ्रान्सका मौरिस हर्जोगले पहिलोपटक अन्नपूूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा आज महोत्सव मनाइँदैछ ।
पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीपमा मदरल्याण्ड सेकेण्डरी स्कुल लगातार दुई खेल जित्दै सेमीफाइनलमा प्रवेश गरेको छ । पोखराको लेखनाथस्थित ईडेन गार्डेन क्रिकेट मैदानमा सोमबार भएको दोस्रो खेलमा मदरल्याण्डले त्रिवेणी पब्लिक स्कुलबिरुद्ध ९ विकेटको फराकिलो जित निकाल्दै सेमीफाइनलको यात्रा गर्ने पहिलो टिम बनेको हो । यसअघि मदरल्याण्डले आईतबार वाराही माविलाई ९ रनले पराजित गरेको थियो । सोमबारको खेल जितेर मदरल्याण्ड समूह बिजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको आयोजक पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए । सोमबारको खेलमा त्रिवेणी पव्लिक स्कुलले टस जितेर व्याटिङ रोज्दै १०.४ ओभरमा ९ विकेटको नोक्सानीमा ४८ रन बनाएको थियो । सो स्कुलका क्याप्टेन खुट्टामा चोट लागेर घाईते भएपछि अन्तिम विकेट झर्नुअघि नै रिटायर्ड हर्टहुँदै बाहिरिएका थिए । त्रिवेणीका ऋतिक रोक्काले १५ बलमा १७ रन तथा प्रतीक कँडेलले १९ बलमा १४ रन बनाउनुबाहेक अन्य व्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । त्रिवेणीलाई झिनो स्कोरमा समेट्ने क्रममा गौरव क्षेत्रीले २ ओभरमा ३ रन दिएर २ विकेट लिँदा दर्शन सुवेदीले १.४ ओभरमा ४ रन खर्चेर २ विकेट हत्याएका थिए । ४९ रनको झिनो लक्ष्य पछ्याएको मदरल्याण्डले ५.१ ओभरमै १ विकेटको क्षेतीमा लक्ष्य भेट्टायो । मदरल्याण्डका ग्रेस क्षेत्रीले १५ बलमा २० रन तथा दर्शन सुवेदीले ११ बलमा १६ रनको योगदान दिए । त्रिवेणीका रोमन भाटले २ ओभरमा १३ रन खर्चेर १ विकेट लिनुबाहेक अन्य बलर विकेट लिन असफल रहे । सो खेलमा मदरल्याण्डका गौरव क्षेत्री प्लेयर अफ दी म्याच घोषित भए । सोमबार नै भएको अर्को जुनियर सिटिजन एकेडेमीले कुमुदिनी होम्सलाई १ सय रनको फराकिलो अन्तरले हरायो । यसअघि आईतबार भएको खेलमा प्रतिभा माविसँगपनि एक सय रनले पराजित कुमुदिनी सोमबारपनि उतिनै रनले जुनियर सिटिजन एकेडेमीसँग हारेपछि समूह बिजेता बनेर सेमीफाइनल प्रवेश गर्ने होडबाट बाहिरिएको छ । सोमबारको खेलमा टस जितेर व्याटिङ रोजेको जुनियर सिटीजन एकेडेमीले वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा पूरै ओभर खेल्दै २ विकेटको क्षेतीमा १७३ रनको विशाल योगफल तयार ग¥यो । विशाल योगफल तयार गर्नका लागि जुनियर सिटिजन एकेडेमीका सौरभ शर्माले ४५ बलमा ६९ रन, साहिल कुमारले ४२ बलमा ५९ रन तथा अभिषेक विकले ११ बलमा २२ रनको योगदान दिए । १७४ रनको विशाल लक्ष्य पछ्याएको कुमुदिनी होम्स ११.५ ओभरमा पूरै विकेट गुमाएर ७३ रनमा सिमित भएको थियो । कुमुदिनी होम्सका लागि मोहम्मद अलीले १५ बलमा १४ रन तथा सिद्धार्थ रावतले ९ बलमा ११ रन बनाएपनि अन्यले दोहोरो रन जोड्न सकेनन । जुनियर सिटिजनका नविन श्रेष्ठले २.५ ओभरमा १७ रन खर्चेर ४ विकेट तथा दीपेन सुवेदीले २ ओभरमा ७ रन खर्चेर २ विकेट हत्याए । सो खेलमा जुनियर सिटिजन एकेडेमीका नवीन श्रेष्ठ प्लेयर अफ दी म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत मंगलबार पहिलो खेलमा न्यूलाईट सेकेण्डरीबिरुद्ध अमरसिंह मावि तथा दोश्रो खेलमा एसओएस हर्मन माईनर सेकेण्डरी स्कुलबिरुद्ध रत्नज्योति सेकेण्डरी स्कुल आमनेसामने हुने संघका अध्यक्ष पुनले जानकारी दिए ।

