काठमाडौं: २ सय ५० करोड रूपैयाँ भन्दा बढी रकम हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका तत्कालिन सञ्चालक÷प्रमुख कार्यकारी अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँके नेपालगंज उपमहानगरपालिका–२० बस्ने सल्यान घर भएका ६५ वर्षीय राजेन्द्र वीर राय रहेका छन् । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष÷प्रमुख कार्यकारी अधिकृत एवम् पटक पटक सञ्चालक समिति अध्यक्ष पदमा रहि उक्त बैंकमा संकलन भएको बचत कर्ताहरूको २ सय ५० करोड रूपैयाँ भन्दा बढी रकम हिनामिना गरी फरार रहेका राजेन्द्रलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले रूपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट पक्राउ गरेको हो । उनीविरुद्ध बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा प्रहरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमार्फत सबै प्रकारका सुन तथा सुनका गहनामा लागू गरिएको विलासिता कर र हिरा–जवाहरात जडित गहनामा लागू गरिएको मूल्य अभिवृद्धि कर तत्काल पुनर्विचार गरी खारेज गर्न सुनचाँदी व्यवसायी महासंघहरुले माग गरेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ तथा नेपाल सुनचाँदी व्यवसायी महासंघले सँयुक्त रुपमा अर्थ मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको हो । सो अवसरमा बोल्दै विलासिता करका साथै हिरा–जवाहरात जडित गहनामा लागू गरिएको मूल्य अभिवृद्धि कर तत्काल पुनर्विचार गरी खारेज गर्नुपर्ने नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष किसान सुनाले बताए । उनका अनुसार महासंघहरुले सुनचाँदीको कारोबारलाई दीर्घकालीन रूपमा प्रोत्साहित गर्न चाँडोभन्दा चाँडो ऐन, नियम तथा नीतिहरू निर्माण गरिनुपर्ने, कर संरचना परिवर्तन गर्नु पूर्व मौजुदा व्यवसाय, रोजगारी तथा बजारमा पर्ने दूरगामी प्रभावहरूको विस्तृत अध्ययन गरिनुपर्ने, विश्व बजारको मान्यता अनुसार गुणस्तर प्रमाणिकरणको लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त ल्यावको व्यवस्था गरिनुपर्ने माग राखिएको छ । यो पनि पढ्नुहोस सुनचाँदी व्यवसायमा भएको कर वृद्धिप्रति महासंघको आपत्ति ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्रलयका राजस्व महाशाखा प्रमूख उत्तर खत्रीले व्यवसायीहरुको मागहरु प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै माग सम्बोधन गर्न सक्दो पहल गर्ने आश्वासन दिए । सो कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका कार्यबहाक अध्यक्ष तथा प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य, महासचिव किरणभाई बज्राचार्य र महानिर्देशक शिव दुवाडी तथा नेपाल सुनचाँदी रत्न तथा आभुषणको तर्फबाट अध्यक्ष किसान सुनारका साथै महासचिव निर बहादुर विक लगायतको सहभागिता रहेको थियो । यसअघि आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमार्फत सुनचाँदी क्षेत्रका वृद्धि गरेको करकोविरुद्धमा तीनवटा महासंघहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको थियो ।
पोखरा: गत १५ गतदेखि आन्दोलनरत यातायात व्यवसायीले गण्डकी प्रदेशभित्र अनिश्चितकालिन बन्द गरेका छन् । गण्डकी प्रदेश सरकारले गत वैशाख ३० गते राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमन तथा व्यवस्थापनसम्बन्धी नियमावली जारी गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा सार्वजनिक सवारी साधन घर तथा ग्यारेजमा राखेका हुन् । त्यही आन्दोलनलाई आज (मंगलबार) पनि यथावत राखिएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष तथा सँयुक्त संघर्ष समितिका प्रवक्ता योगेन्द्र केसीले बताए । उनले उक्त आन्दोलन अनिश्चितकालिन भएको स्पष्ट पारे । ‘गण्डकीमा हाम्रो आन्दोलन जारी छ । यो कहिलेसम्म हुन्छ भन्न सकिन्न, उनले भने, ‘केन्द्रमा सहमति भएको भनिएपनि स्थगन भन्ने शब्द स्वीकार्य छैन । त्यसैले हाम्रो आन्दोलन निरन्तर छ ।’ सरकारले राइड सेयरिङ रातो प्लेट नभई कालो प्लेट नै प्रदान गर्ने व्यवस्था ल्याए वार्तामा आउन सकिने केसीले बताए । ‘हामीले त खारेजै भनेका छौ । यदी राइड सेयरिङलाई पनि रातो प्लेट नभई कालो प्लेट नै दिने भए हामी वार्तामा जान सक्छौ,’ उनले भने । गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको नियमावली पूर्ण रूपमा खारेज, सार्वजनिक सवारी सञ्चालन विधि, आयात नीतिलगायत सम्बन्धमा प्रदेश सरकारको लिखित नीति ठोस हुनुपर्ने र सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागू गर्नुपर्ने यातायात व्यवसायीहरुको माग छ ।
काठमाडौँ: यातायात व्यवसायीले आज (सोमबार) देखि देशभर अनिश्चितकालीन सार्वजनिक यातायात बन्द गरेका छन् । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर आन्दोलनमा उत्रेका हुन् । उनीहरूकाे गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग छ । यसबारे सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाइ यथाशीघ्र समस्या समाधान गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि सोमबारदेखि सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिन परेकाे व्यवसायीहरूकाे भनाइ छ । यसअघि गण्डकी प्रदेशमा गत १५ गतेदेखिनै सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा छन् । यो पनि पढ्नुहोस बन्दको मारमा यात्रु: स्कर्टिङबाटै गन्तव्यमा पुर्याइँदै पोखरामा इन ड्राइभ राईडर कमाउ धन्दा: बढी भाडा असुल्ने ८ जनालाई कारबाही
पोखरामा बढी भाडा असुल्ने ८ जना इन ड्राइभ राईडरहरू कारबाहीमा परेका छन् । आइतबार राति करिब ८ बजेको समयमा इन ड्राइभ राईडरहरूले बढी भाडादर लिएको भन्ने गुनासो प्राप्त भएपश्चात जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई कारबाही गरेको हो । पोखराका विभिन्न स्थानहरुबाट इन ड्राइभ राईडरहरूलाई चेकजाँच गर्दा बढी भाडा लिएको पाइएपछि ८ वटा सवारी साधन सहित नियन्त्रणमा लिई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरी छाडिएको प्रहरीले जनाएको छ।
पोखरा: गत १५ गतेदेखि सार्वजनिक यातायात बन्द गरिएपछि अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पुर्याउनका लागि आज (साेमबार) पनि स्कर्टिङ गरिएको छ । सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले १६ जेठदेखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेपछि पोखरामा अलपत्र परेका यात्रुलाई साेमबार बिहान १० बजेदेखि १७ वटा पर्यटक बसलाई स्कर्टिङ गरेर गन्तव्यमा पुर्याउन लागिएको हो । कास्की प्रहरीका डिएसपी हरिबहादुर बस्नेतको कमाण्डमा अपलत्र परेका करिब ५ सय बढी यात्रुलाई काठमाडाैं र चितवन पठाइएकाे कास्की प्रहरीले जनाएको छ । गण्डकी प्रदेश सरकारले गत वैशाख ३० गते राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमन तथा व्यवस्थापनसम्बन्धी नियमावली जारी गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा सार्वजनिक सवारी साधन घर तथा ग्यारेजमा राखेका हुन् । आजदेखि देशभर यात्रुबहाक र मालबहाक सार्वजनिक सवारी साधन ठप्प पारेका छन् ।
काठमाडौं: नेपाल सरकारले आर्थिक वर्ष २०८२÷०८३ मा सुनचाँदी तथा हिरा–पत्थरका गरगहनाको व्यवसायमा कर वृद्धि गर्ने प्रक्रिया थालेपछि व्यवसायी महासंघले आपत्ती जनाएको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष किसान सुनार, नेपाल सुनचाँदी व्यवसायी महासंघका कार्यवहाक अध्यक्ष दियेशरत्न शाक्य र नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यले सँयुक्त रुपमा आज विज्ञप्ती जारी गर्दै खारेजीको मागसहित गम्भीर आपत्ति जनाएको हो । उक्त विज्ञप्तीमा भनिएको छ, ‘व्यवसायीको विरोधका बावजुद पनि अघिल्लो वर्ष १० लाखभन्दा माथिका गरगहनामा मात्र लागू हुँदै आएको विलासिता कर यस वर्षदेखि सीमा नतोकी सम्पूर्ण गहनामा लागू गरिएको २ प्रतिशत विलासिता कर र हिरा–तथा बहुमुल्य पत्थर जडित गहनामा लागू गरिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (VAT) प्रति हाम्रो गहिरो आपत्ति रहेको छ ।’ महासंघले सुनचाँदीका गरगहना नेपालमा विलासिताको वस्तु नभएको उल्लेख गर्दै भनेको छ, ‘बरु जन्म देखि मृत्युसम्म कुनै न कुनै रुपमा आफ्नो गच्छे अनुसार उपभोग गरिने संस्कृति, परम्परा र सामाजिक रीतिरिवाजको अभिन्न हिस्सा हुन् । विवाह, पूजाआजा, संस्कारदेखि आम सर्वसाधारणले बुझ्ने बचत र लगानीको एक माध्यमको रूपमा पनि सुनका गरगहनाको महत्वपूर्ण स्थान रहँदै आएको छ । सरकारले लागू गर्न खोजेको नयाँ कर संरचनाले उपभोक्तामाथि २ प्रतिशत देखि १३ प्रतिशत सम्मको प्रत्यक्ष आर्थिक भार थप्ने निश्चित छ, जसले बजारमा महँगी थप्नेछ । साथै, छिमेकी देशको बजारमा भन्दा अत्याधिक मुल्य बृद्धि भई यसले चोरीपैठारी तथा अवैध कारोबारलाईसमेत प्रोत्साहन गर्ने खतरा रहेको छ ।’ विज्ञप्तीमार्फत तिन महासंघले निर्यातमा २ दशमलव ५ प्रतिशत टिडिएस लाग्ने व्यवस्था खारेज गर्नुपर्ने मागसमेत राखेको छ । सरकारका अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेट वक्तव्य व्यवसायीमैत्री नभएको भन्दै लाखौं व्यवसायी, कालीगढ र मजदुरको रोजगारी र जीविकोपार्जन धरासायी हुने खतरा महासंघको ठहर छ । यस्ता छन्, तिन महासंघको मागहरु:- हाल सबै प्रकारका सुन तथा सुनका गहनामा लागू गरिएको विलासिता कर र हिरा–जवाहरात जडित गहनामा लागू गरिएको मूल्य अभिवृद्धि कर (VAT) तत्काल पुनर्विचार गरी खारेज गरियोस् । सुनचाँदीको कारोबारलाई दीर्घकालीन रूपमा प्रोत्साहित गर्न चाँडोभन्दा चाँडो ऐन, नियम तथा नीतिहरू निर्माण गरियोस् । कर संरचना परिवर्तन गर्नु पूर्व मौजुदा व्यवसाय, रोजगारी तथा बजारमा पर्ने दूरगामी प्रभावहरूको विस्तृत अध्ययन गरियोस र त्यसबिना करको दायरा नबढाइयोस् । विश्व बजारको मान्यता अनुसार गुणस्तर प्रमाणिकरणको लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त Accredited Lab को व्यवस्था गरियोस् । नेपाल राष्ट्र बैंकवाट जारी गरिएको परिपत्र अनुसार बैंकहरुवाट निकासी गर्ने साना उद्योगका लागि १०० तथा २०० ग्रामको सुन आपूर्ति नगरिएको हुँदा सानो–सानो परिमाणमा सुनका गरगहना निकासी गर्न नसकीएकोले यसतर्फ ध्यान दिइयोस् । निर्यातमा २ दशमलव ५ प्रतिशत टिडिएस लाग्ने व्यवस्था खारेज गरियोस् ।
पोखरा: हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरि आफ्नो १६ औं स्थापना दिवस मनाउँदैछ । स्थापना दिवसको अवसरमा आयोजित सहकारी संचालकस्तरीय मैत्रीपूर्ण फुटसल प्रतियोगितामा सजिलो बचत तथा ऋण सहकारी संस्था च्याम्पियन बनेको छ । एक्स आर्मी फुटसल जोनमा भएको फाइनल खेलमा आयोजक हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थालाई ४–३ गोलको अन्तरले पराजित गर्दै सजिलो सहकारी च्याम्पियन बनेको कार्यक्रम संयोजक श्रीजन श्रेष्ठले बताए । यसअघि सजिलो बचत तथा ऋण सहकारी संस्थाले मानषा बहुउदेश्यीय सहकारीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । भने, आयोजक हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले हाम्रो बहुउदेश्यीय सहकारी संस्थालाई हराउँदै फाइनलमा सजिलो सहकारीसँगको भेट पक्का गरेको थियो । सो प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई यही २० गते मुल समारोह कार्यक्रमको दिन पुरस्कार वितरण गरिने संस्थाका अध्यक्ष कृष्णप्रसाद तिमिल्सीनो बताए । सो प्रतियोगितामा पोखराका कुल ८ टिमको सहभागिता रहेको सञ्चालक समितिका सचिव मनोज विश्वकर्माले जानकारी दिए । यसअघि फाइनलमा रेफ्रिलाई बल हस्तान्तरण गर्दै संस्थाका पूर्वअध्यक्ष तथा युवा व्यवसायी किसान सुनारले खेलकुदले नागरिकलाई स्वस्थ्य र अनुसाशित हुन प्रेरित गर्ने धारणा राखे । वित्तिय क्षेत्रमा सेवारत सहकारीले स्थापना दिवसको पूर्वसन्ध्यामा आयोजना गरेका फुटसलले एक आपसमा भाइचारको सम्बन्ध मजबुद गर्न मद्दत पुग्ने व्यक्त गरेका थिए । २० गते मुल समारोहसहित खुला रक्तदान आयोजना हुने संस्थाको १६ औँ वार्षिककोत्सवको मुल समारोह यही २० गते विविध कार्यक्रमसहित आयोजना हुँदैछ । उक्त दिन संस्थाले खुला रक्तदान, निशुल्क रक्त परिक्षण स्कीन टेष्ट लगायतका कार्यक्रहरु आयोजना गर्ने तयारी रहेको संस्थाका व्यवस्थापक जिबन अधिकारीले जानकारी दिए । उनका अनुसार सो कार्यक्रम पोखरा महानगरपालिका १४ चाउँथेमा आयोजना हुनेछ । कुल ८ करोड शेयर पुँजी रहेको संस्थाले हाल पृथ्वीचोक र चाउँथे गरी एकसाथ २ स्थानबाट आफ्ना सदस्यहरुलाई वित्तिय सेवा प्रदान गर्दै आएको छ । संस्थामा हाल १ हजार ३ सय ६४ जना शेयर सदस्य आबद्ध रहेका छन् ।
पोखरामा एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीप शुरु भएको छ । पोखरा महानगर क्रिकेट संघको आयोजना तथा एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजको मुख्य प्रायोजनमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको शनिबार भएको उद्घाटन खेलमा मदरल्याण्ड सेकेण्डरी स्कुलले बिजयी शुरुवात गरेको छ । लेखनाथस्थित ईडेन गार्डेन क्रिकेट मैदानमा वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा मदरल्याण्डले वाराही माविलाई ९ रनले पराजित गर्दै बिजयी शुरुवात गरेको हो । वाराहीले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङमा आएको मदरल्याण्डले निर्धारित १५ ओभरमा ७ विकेटको नोक्सानीमा ८७ रन बनाएको थियो । मदरल्याण्डका लागि विप्लव मल्लले २८ बलमा ३१ रन, अविक कर्णले १२ बलमा १६ रन तथा किरण पौडेलले १७ बलमा १४ रन बनाए । मदरल्याण्डलाई ठूलो स्कोर बनाउनबाट रोक्ने क्रममा वाराही माविका अभिषेक एडिकेले ३ ओभरमा ५ रन खर्चेर २ विकेट र विजेश भट्टराईले २ ओभरमा ७ रन खर्चेर २ विकेट नै हत्याए । ८८ रनको बिजय लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको वाराही मावि पूरै ओभर खेल्दै ८ विकेट गुमाएर ७८ रनमा सिमित भएपछि मदरल्याण्ड बिजयी भएको थियो । वाराही माविका अभिषेक एडिकेले २१ बलमा २२ रन, विजेश भट्टराईले २० बलमा १७ रन तथा सुमन श्रेष्ठले १६ बलमा ११ रन बनाएपनि टिमलाई जिताउन सकेनन् । वाराहीलाई सस्तैमा समेट्न मदरल्याण्डका विप्लव मल्लले ३ ओभरमा ४ रन खर्चेर २ विकेट तथा किरण पौडेलले ३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिएका थिए । उद्घाटन खेलका प्लेयर अफ दी म्याच मदरल्याण्डका अलराउण्डर विप्लव मल्ल घोषित भए । यसअघि प्रतियोगिताको उद्घाटन पूर्व राष्ट्रिय खेलाडी राजकुमार छन्त्याल, जिल्ला स्तरीय खेलाडी प्रदीप तामाङ, मदरल्याण्डका शिक्षक बिनोद तिमिल्सिना, स्याङ्जाका अफिसियल अम्पायर द्वय प्रदीप गुरुङ र टोपबहादुर राना, क्यानका अफिसियल पिच क्यूरेटर राजन कुँवरले संयुक्त रुपमा उद्घाटन गरेका थिए । सो अवसरमा पूर्व राष्ट्रिय खेलाडी राजकुमार छन्त्यालले प्रतियोगिताका अफिसियलहरुलाई एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजको तर्फबाट टिसर्ट हस्तान्तरण गरेका थिए । जेठ २४ गतेसम्म हुने च्याम्पीयनसीपमा त्रिवेणी पव्लिक स्कुल, मदरल्याण्ड सेकेण्डेरी स्कुल, वराही मावि, एसओएस, रत्नज्योति सेकेण्डरी स्कुल, डायमण्ड सेकेण्डरी स्कुल, प्रतिभा मावि, जुनियर सिटिजन एकेडेमी, कुमुदिनी होम्स, न्यू लाईट सेकेण्डरी स्कुल, सृजना मावि र अमरसिंह मावि सहभागि छन् । देशका विभिन्न पालिकाहरुले आफ्नो क्षेत्रको खेलकुदलाई चलायमान बनाउनका लागि विभिन्न प्रतियोगिताहरु गरिरहँदा पोखरामा भने क्रिकेटका गतिविधिहरु न्युन मात्रामा भएकाले प्रतियोगिता आयोजना गरिएको पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले बताए । कुनैपनि खेलको विकासका लागि पहिले त्यसको ग्राउण्ड लेभलबाटै विकास हुन जरुरी छ,उनले भने,‘त्यसैले हामीले ग्राउण्ड लेभल बलियो बनाउन प्रतियोगिता आयोजना गरेका हौं । यसमा एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेज मुख्य प्रायोजन गरेर सहयोग गरेको छ ।’ प्रतियोगिताको बिजेता र उपबिजेतालाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्लेयर अफ दी सिरिज, बेष्ट ब्याटर र बेष्ट बलरलाई रत्नश्री जिमको तर्फबाट एक महिनाका लागि निःशुल्क जिमको प्याकेज प्रदान गर्ने अध्यक्ष पुनले बताए । त्यस्तै, मुख्य प्रायोजक एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजको तर्फबाट छक्का गएको बल एक हातले समात्ने दर्शकलाई प्रत्येक पटक एक हजार रुपैयाँ दिईने एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजका विष्णु गौतमले जानकारी दिए ।

