पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ ।    कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...

पोखरा:  पोखरामा आर्म रेस्लिङ्ग प्रतियोगिता हुने भएको छ । आर्म रेस्लिङ्ग संघ, कास्कीले प्रतियोगिताको आयोजना गर्न लागेको हो ।  पोखरामा पहिलो पटक प्रथम पोखरा राष्ट्रिय आर्म रेस्लिङ्ग प्रतियोगिता–२०८२ गर्न लागिएको आर्म रेस्लिङ्ग संघ कास्कीका अध्यक्ष नविन गुरुङले जानकारी दिए ।  यही भदौँ २० र २१ गते प्रतियोगिता संचालन हुने छ । पोखरा महानगरपालिका वडनम्बर ६ लेकसाइडमा रहेको आइभिवाई क्लबमा प्रतियोगिता संचालन गरिने प्रतियोगिताका संयोजक खली थापाले जानकारी दिए ।  तौल समूह अनुसार चार विधामा प्रतिष्प्रर्धा गराइने छ । ६० केजी मुनि, ७० केजी मुनि, ८० केजी मुनि र ८० केजी माथी तौल समूहमा प्रतिष्प्रधा हुने छ ।  चार विधामा नै समान पुरस्कार राशी राखिएको आर्म रेस्लिङ्ग संघ, कास्कीका प्रथम उपाध्यक्ष एवं प्रतियोगिताका व्यवस्थापक रत्न बहादुर आलेले जानकारी दिए । प्रथम, द्धितिय र तृतीय हुनेले क्रमस ५० हजार, २५ हजार र १० हजार नगद,  मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने च्याम्पिन अफ च्याम्पिनले नगद एक लाख र प्रमाणपत्र प्राप्त गर्नेछ ।  यो नै अहिलेसम्मको सबैभन्दा ठुलो पुरस्कार राशी रहेको आयोजकको दावी छ । पुरस्कार राशीमा मात्रै ४ लाख ५० हजार माथि खर्च रहेको अध्यक्ष गुरुङले बताए । प्रतियोगिता सम्पन्न गर्न २३ लाख १९ हजार खर्च लाग्ने आयोजकको अनुमान  छ ।  प्रतियोगितामा सहभागि हुन देशभरबाट करिब एक सय ५० बढि खेलाडी पोखरा आउने अनुमान गरिएको छ । प्रतियोगितामा सहभागि हुन चाहने खेलाडीलाई यही भदौँ १८ गतेसम्म आवेदन दिने समय रहेको आयोजकले जनाएको छ ।   

काठमाडौं:   अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काभ्रेपलाञ्चोकको धुलिखेल मालपोत कार्यालयका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई दुई लाख रुपियाँ घुससहित नियन्त्रणमा लिएको छ । आयोगका अनुसार भण्डारीले साविक दोलालघाट गाविस–७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएका जग्गा धनीको नाममा छुट दर्ता गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा टोली खटाइएको थियो । भण्डारीलाई सेवाग्राहीसँग दुई लाख रुपियाँ घुस लिइसकेको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।  आयोगले भण्डारीसहित बरामद गरिएको नगद र एक थान मोबाइल डिभाइस पनि नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

काठमाडौं:  सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्दा नेपाली भाषामा राख्न भाषा आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले हिजो प्रेस विज्ञप्ति जारी गर्दै सरकारले भाषाको प्रयोग गर्दा भाषा आयोगको सिफारिस बमोजिम गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको कुराको स्मरण गराएको छ । आयोगका अध्यक्ष गोपाल ठाकुरले प्रेस विज्ञप्ति जारी गर्दै इम्बोस्ड नम्बर प्लेटहरु नेपाली भाषामै राख्‍न सरकारलाई यसअघि नै सिफारिस गरिएको र हिजोआज अंग्रेजी भाषा राख्‍ने कुरा सार्वजनिक भएकोमा आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ ।

मुस्ताङ:  जोमसोमस्थित कारागारमा कैदीबन्दी र सुरक्षाकर्मी एउटै भवनमा बस्न बाध्य छन् । कारागार भवनको दुई कोठामा कैदीबन्दी र अन्य तीन वटा कोठामा त्यहाँ कार्यरत सुरक्षाकर्मी बस्ने गरेका छन् । एउटै कारागार भवनमा कैदीबन्दी र सुरक्षाकर्मीको निवास हुँदा विभिन्न खालका समस्या तथा चुनौती देखा पर्ने गरेका छन् । आधा शताब्दीभन्दा धेरै पुरानो यहाँको कारागार भवन ढुङ्गा र माटोले बनेको छ । भवनको छत यहाँको सक्खर माटो बिच्छ्याएको छ । एउटै भवनमा कैदीबन्दी र सुरक्षाकर्मीको आवास स्थान रहेकाले त्यहाँका सुरक्षाकर्मीलाई निकै समस्या पर्ने गरेको पाइएको छ ।  विसं २०३७ मा स्थापना भएको मुस्ताङ कारागार भवनको आवश्यक भौतिक संरचना निर्माण नहुँदा त्यहाँ बस्ने कैदीबन्दी र सुरक्षाकर्मीले सास्ती भोग्न बाध्य छन् ।  हाल कारगार भवनमा पानी चुहिन थालेपछि जस्ताले छाइएको छ । त्यही कारागार भवनमा सुरक्षाकर्मी मात्रै होइन त्यहाँका प्रशासनिक कर्मचारीसमेत बस्ने गरेका छन् ।  धेरै पहिला बनेको ढुङ्गा र माटोले निर्मित कारागारको जीर्ण भवन स्तरोन्नति नहुँदा कैदीबन्दी, सुरक्षाकर्मी र त्यहाँका काम गर्ने कर्मचारीलाई समस्या पर्ने गरेको छ । पछिल्लो समय मुस्ताङमा समेत वर्षा हुने क्रम बढेकाले त्यहाँको कारागार भवन पछिल्लो समय असुरक्षित महसुस गरिएको बताइएको छ ।  कारागारमा आठ कर्मचारीको दरबन्दी छ । यहाँ एक जना कारागार प्रशासक, एक जना सहलेखापाल, एक स्वास्थ्यकर्मी, एक खरिदार, एक जना सहायक कम्प्युटर अपरेटर र तीन कार्यालय सहयोगीको दरबन्दी छ ।  यहाँका कुल दरबन्दीमध्ये कारागार प्रशासक, स्वास्थ्यकर्मी, खरिदार र एक कार्यालय सहयोगीको पद रिक्त छ । यहाँ कार्यरत सहायक कम्प्युटर अपरेटरको पनि सरुवा भइसकेकाले सो पद पनि रिक्त हुँदैछ । यहाँको कारागारमा कारागार व्यवस्थापन विभागले दरबन्दीअनुसार प्रशासनिक कर्मचारी पदपूर्ति गर्न नसक्दा कारागार व्यवस्थापनमा समस्या भइरहेको छ । यसैगरी कारागारमा एक प्रहरी वरिष्ठ नायब निरीक्षकको कमाण्डमा ११ सुरक्षाकर्मी खटाइएको छ । यहाँको कारागारमा कुल कैदीबन्दीको क्षमता १५ जनाको रहेको छ । हाल यस कारागारमा २२ वर्षदेखि ६८ वर्ष उमेर समूहका १२ कैदीबन्दी रहेको कारागारका निमित्त प्रशासक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । कारागार निमित्त प्रमुख तिमिल्सिनाका अनुसार कारागारमा सुरक्षाकर्मीको बेग्लै आवास भवन नरहेको, कारागारमा चाहिने सवारी साधन नभएको, खानेपानीको समस्या रहेको, कारागारको पर्खाल मजबुत नभएको, कारागारमा पानी चुहिने समस्या रहेको र कैदीबन्दीलाई स्वास्थ्योपचार तथा अदालतमा म्याद थप गर्न लैजाँदा समस्या पर्ने गरेको छ ।

काठमाडौं:  अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु। दुई लाख सात हजार ९०० कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । मङ्गलबार प्रतितोला सुन रु. दुई लाख पाँच हजार ९०० मा कारोबार भएकोमा आज प्रतितोला रु। दुई हजार बढेको हो । चाँदीको मूल्य प्रतितोला रु। पाँचले घटेर रु। दुई हजार ४८० कायम भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

पोखरा: नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले पोखरा सहित गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनका लागि आजदेखि अन्तरप्रदेश प्रवद्र्धनात्मक भ्रमण सुरु गरेको छ ।      नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहाल नेतृत्वको १८ सदस्यीय टोलीले लुम्बिनी प्रदेशको नेपालगञ्ज, भैरहवा लगायत क्षेत्रमा पर्यटन सम्बद्ध अधिकारी एवम् व्यवसायीसँग छलफल एवम् अन्तरक्रिया सहित प्रवद्धनका विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको हो । मंगलबार पोखरादेखि त्यसतर्फ लागेको टोलीले १९ गते नेपालगञ्ज र २० गते भैरहवामा त्यहाँका पर्यटन सम्वद्ध अधिकारी र व्यवसायीसँग पर्यटकीय साझेदारी अभिबृद्धि लगायतका विषयमा छलफल गर्ने कार्यक्रम संयोजक नाट्टा गण्डकी प्रदेशका द्वितीय उपाध्यक्ष राजेश पहारीले जानकारी दिनुुभयो ।      टोलीलाई पोखराबाट पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नाट्टा गण्डकी प्रदेश पूर्व अध्यक्ष परिषद्का संयोजक वासुत्रिपाठी, सहसंयोजक सन्तोष पोखरेल, निवर्तमान अध्यक्ष हरिराम अधिकारी लगायतले विदाइ गर्नुुभएको थियो ।      अन्तरप्रदेश प्रवद्र्धनात्मक भ्रमणले पर्यटन प्रवद्र्धनसँगै पर्यटकीय साझोदारी लगायतका महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास लिइएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालले बताउनुुभयो ।      टोली प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न गर्दै भदौ २१ गते पोखरा फर्कने जनाइएको छ ।   

काठमाडौंः   नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार यही भदौ १९ गते (बिहीबार) अपराह्न ३ बजे सचिवालय बैठक बोलाइएको जानकारी दिनुभयो। उहाँका अनुसार बैठकमा एमालेको दोस्रो विधान महाधिवेशन प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ। उहाँले बैठकमा तीन वटै प्रतिवेदन छलफल गरेर पारित गरेपछि विधान महाधिवेसन प्रस्तुत गरिने बताउनुभयो। महाधिवेशनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गर्नुहुनेछ। एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सन्राइज सम्मेलन केन्द्रमा यही भदौ २० देखि २२ गतेसम्म हुनेछ। एमाले महाधिवेशनमा दुई हजार ३३ जना प्रतिनिधि र ३१७ जना अन्य गरीसहित दुई हजार ३५० जना सहभागी हुँदैछन्। 

पोखरा:  नेपाल परिवार नियोजन संघ कास्की शाखाले मंगलबार देखि किशोर किशोरीहरुलाई लक्षित गरी यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान शुरु गरेको छ । पोखरा महानगरपालिका वडा नं. २५ कार्यालय हेमजाको सहयोग तथा समन्वयमा हेमजास्थित गौरीशंकर माध्यामिक विद्यालयबाट यो अभिायन शुरु गरेको हो ।   अभियान कास्कीका ४ वटा गाउँपालिका २÷२ विद्यालय तथा कलेज गरी ८ र महानगरका १६ गरी २४ वटा विद्यालय तथा कलेजमा यो अभिायन सञ्चालन गरिने नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नविन सिग्देलले जानकारी दिए । ‘यो अभियान स्थानीय सरकार तथा स्वास्थ्यसँग सम्बन्धित संस्थाहरुसँग मिलेर गर्ने हामीले लक्ष्य लिएका छौ’ सिग्देलले भने, ‘किशोर किशोरीहरुको यौन तथा प्रजनन् स्वास्थ्यका सवालमा यो अभियान सञ्चालन गरिएकोले पनि यो अभियानमा सवैलाई हातेमालो गर्न हामी आग्रह गर्दछौ।’   अभियानको पोखरामहानगर पालिकाका प्रवत्ता तथा वडा नं. २५ का वडा अध्यक्ष मोतिलाल तिम्सीनाले शुभारम्भ गरेका हुन् । कार्यक्रममा बोल्दै तिम्सिनाले यौन तथा प्रजनन् स्वास्थ्यका वारेमा किशोर किशोरीहरुले खुलेर जानकारी लिने थलो यो अभियान हुने बताए । ‘किशोर किशोरीहरुका यौन तथा प्रजनन् स्वास्थ्यका सावलमा स्थानीय सरकार पनि गभ्भिर भएर लागेको छ’ उनले भने, ‘यो अभियानमा पनि स्थानीय सरकार समन्वय गरेर अगाडि बढ्न सधै तयार छ ।’ पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख भरतराज पौडेलले चासो र जिज्ञासा भएमा स्रोत अभाव नहुने बताउदै अभियानमा स्वास्थ्य महाशाखा हातेमालो गरेर जाने उल्लेख गरे ।   प्रदेश जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख राम बहादुर नेपालीले यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा खुलेर कुरा राख्न नसक्दा कतिपय किशोर किशोरीहरु मानसिक रोगको शिकार हुने गरेको बताउँदै यस्ता खालका अभियान अहिलेको आवश्यकता भएको बताए ।  कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका शाखाका कोषाध्यक्ष विष्णु प्रसाद दाहाल ‘आभाष’ र वरिष्ठ शाखा प्रबन्धक नबराज तिवारीले सहजिकरण गरेका थिए । सचेतना मुलक कार्यक्रममा गौरीशंकर माविका करिव १ सय विद्यार्थीको सहभागिता रहेको थियो । नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नविन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस पोखरा –२५ हेमजाका सभापति मधुसुदन त्रिपाठी, गौरीशंकर माविका सहायक प्रध्यानाध्यापक मानबहादुर कार्की, नेपाल परिवार नियोजन संघ कास्कीका शाखाका वरिष्ठ शाखा प्रबन्धक नबराज तिवारीले बोलेका थिए ।

पोखरा:  पोखरा रंगशालामा जारी विद्यालयस्तरीय यु १४ फुटबल प्रतियोगिताको छात्रतर्फ प्रिक्वाटर फाइनलका खेल सम्पन्न भएका छन् ।  कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी विद्यालयस्तरीय यु १४ छात्र तथा छात्रा फुटबलमा छात्र तर्फ प्रिक्वाटर सकिँदा छात्रातर्फ लिग चरण सुरु भएको छ ।  मंगलबार भएको छात्रतर्फको पहिलो प्रिक्वाटरको पोल ए तर्फ फिस्टेल एकेडेमीले शिशु कल्याण बोर्डिङ स्कुललाई २–१ गोलले हरायो । दोस्रो खेलमा कालिका माविले भद्रकालीलाई १–० ले हरायो । पोल बि तर्फ भएको खेलमा हेमजा बोर्डिङले बालोदयलाई २–० ले हराउँदा बालकल्याणले गुरुकुललाइ ३–१ ले हराउँदै अन्तिम आठमा स्थान बनाएको छ ।  अब क्वाटरफाइनलमा शिशुकल्याण बोर्डिङले शिशुकल्याण मावि र कालिकाले सैनिक आवासियको सामना गर्नेछ भने हेमजाले गण्डकी बोर्डिङ र बालकल्याणले सोसल पब्लिकको सामना गर्नेछ ।  त्यसअघि छात्रातर्फ मंगलबार विहान भएको खेलमा त्रिभुनव शान्ति माविले सेन्ट मेरिजलाई ३–१ ले हराएको छ । यस्तै दोस्रो खेलमा सैनिकले वेशलाइन एकेडेमीलाई ७–० को फाराकिलो गोलअन्तरले हराएको छ ।    प्रतियोगितामा छात्रा तर्फ ६ र छात्र तर्फ २४ विद्यालयले सहभागिता जनाएका छन् । भदौ १२ गतेदेखि सुरु प्रतियोगिता २० गतेसम्म सञ्चालन हुनेछ ।  प्रतियोगितामा छात्र तर्फ विजेताले नगद ५० हजार, उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने कास्की जिल्ला फुटबल संघले जनाएको छ । छात्रा तर्फको विजेताले नगद २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने संघले जनाएको छ ।  प्रतियोगितालाई बंगलादेशीय फुड उत्पादक कम्पनी प्रान, सहारा क्लब पोखराले नगद एक लाख रुपैयाँ, एबीज इन्जिनियरिङले ५० हजार रुपैयाँ लगायत अन्य संघसंस्थाले  सहयोग गरेको छ । पोखरा महानगरपालिका प्रवद्र्धक, प्रदेश खेलकुद परिषद गण्डकीले विशेष सहयोगी भूमिका खेलेको छ ।