पोखरा: गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ । पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदेश प्रमुख भट्टले जन्मदिन मनाउनुभएको हो । प्रदेश प्रमुख भट्टले नेपाली सामाजिक मनोविज्ञान वृद्धाश्रमप्रति सकारात्मक नदेखिएपनि विभिन्न कारणले परिवारबाट परित्यक्त वृद्धवृद्धाहरूको सुरक्षाका लागि वृद्धाश्रमको आवश्यकता अपरिहार्य रहेको बताउनुभयो । सन्तानको समयअभाव वा तिरस्कृत भएर घरमै बसेर बेसहारा तथा असुरक्षित जीवनयापन गर्नुभन्दा वृद्धाश्रममा बसेर सुरक्षित र सहज जीवनयापन गर्नुलाई बुद्धिमानी ठान्नुपर्ने उहाँको भनाई छ । उहाँले वर्षौंदेखि वृद्धाश्रम सञ्चालन गरेर समाजसेवामा सक्रिय पराजुली परिवार र सहयोगी शुभेच्छुकप्रति आभार व्यक्त गर्नुभयो । ‘सामाजिक र आर्थिक दृष्टिकोणले पनि ज्येष्ठ नागरिकहरूको जीवनयापन असुरक्षित र असहज बन्दै जाँदा यस्ता वृद्धाश्रम सञ्चालन गरेर ठूलो सामाजिक कर्म गर्नुभएको छ ।’ भट्टले भन्नुभयो । वृद्धवृद्धाहरूको दैनिकी र उनीहरूको चाहना र आवश्यकताअनुरूपको सेवा तथा सुविधाको प्रबन्ध हुनसक्यो भने उनीहरूका लागि वृद्धाश्रम घरभन्दा पनि सुरक्षित र आरामदायी आश्रयस्थल बन्नसक्ने प्रदेश प्रमुख भट्टले बताउनुभयो । ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र सीपलाई उपयोग गर्ने नीति बनाएर काम गर्ने हो भने वृद्धाश्रमलाई केही हदसम्म सिर्जनात्मक र आयमूलक क्रियाकलापको थलो पनि बनाउन सकिने र यसबाट वृद्धाश्रमलाई आर्थिक टेवा पनि पुग्ने उहाँको भनाई छ । वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष कुशुमकेशव पराजुलीले जन्मदिनको पावन अवसरमा ज्येष्ठ नागरिकलाई स्मरण गरी सम्मान व्यक्त गर्नुभएकोमा खुशी व्यक्त गर्नुभयो ।
काठमाडौं: कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने चीन भ्रमणका लागि प्रस्थान गरेकोपछि सिंहलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो । सिंह ओली नेतृत्वको सरकारमा दोस्रो वरियतामा हुनुहुन्छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा सिंहलाई कार्यवाहक प्रधानमन्त्री तोक्नुभएको हो ।
पोखरा: कपडाको थोक पसल चलाइरहेकी भगवती बानियाँ केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि लेकसाइडको आफ्नै जमिनमा होटल खोलिन् । विमानस्थल सञ्चालनमा आए पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेन । अपेक्षा अनुरुप पाहुना नआउँदा व्यवसाय धरासायी भएको पीडालाई उनले मंगलबार तीज भाकामार्फत प्रस्तुत गरिन् । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले लेकसाइडको बाराहीघाटमा भदौ १० र ११ मा आयोजना गरेको तेस्रो तीज सांस्कृतिक महोत्सवअन्तर्गत तीज गीत प्रतियोगितामा उनी अध्यक्ष रहेको सञ्जिवनी नारी समूह सहभागी थियो । उनले पर्यटन व्यवसायीको पीडालाई समेटेर गीत लेखिन् । त्यही शब्दलाई लेकसाइडकै समूहले तीज गीत, नृत्य र अभिनयमार्फत प्रस्तुत ग¥यो । ‘अन्तर्राष्ट्रिय विमानस्थल खर्च भा’छ खरबौं पोखरेलीले लगानी गरे अरबौं अरबौंका लगानीका बने होटल रिसोर्ट जहाज चल्न सकेन भयो विजोग’ उनले अहिले अपेक्षाअनुसार पर्यटक नआउँदा कपडा पसलको आम्दानीले होटलका कर्मचारीको तलब दिइरहेको सुनाइन् । उनले गीतको शब्द मात्रै लेखिनन्, गीति नाटककै परिकल्पना गरिन् । पर्यटन व्यवसायी, संघ, प्रदेश र स्थानीय सरकार, कर्मचारी, बैंकर, पर्यटक, प्रहरी लगायतको भूमिकामा समूहका सदस्य प्रस्तुत भए । गायन, नृत्य र अभिनयमा २६ कलाकार सहभागी भए । समूहले आर्थिक मन्दीका कारण लगानी डुबेको व्यवसायीले आत्मदाह गरेको र सरकारले टुलुटुलु हेरेर बसिरहेको दृश्य गीत, नृत्य र अभिनयमार्फत प्रस्तुत ग¥यो । ‘आर्थिक मन्दी व्याप्त भा’को बैंक सहकारी उडेको टुलुटुलु हेर्छ सरकार जनता डुबेको सम्पदामा सूचीकृत फूलबारी रिसोर्टको यो त एउटा उदाहरण हो चरम विजोगको’ समूहकी अध्यक्ष केसीको होटल नजिकै अर्को होटलले ऋण तिर्न नसक्दा एक महिना अघि बैंकले चाबी लगाइदिएको दृश्यले उनको मन अमिलो भयो । ‘हाम्रै समूहकी सदस्यको होटलमा त्यसरी चाबी लगाउँदा पनि केही गर्न सकेनौं,’ उनले भनिन्, ‘त्यही दिनदेखि मेरो पनि मनमा डर पस्यो ।’ मंगलबारको तीज गीतमा उनले आफ्नै अनुभवलाई पनि समेटिन् । ‘करोडौंका व्यवसाय बैंकले चाबी लाइदियो धितो भा’को घरबारी नि सबै खाइदियो नाम चलेका व्यवसायी सडकमा आइसके युवाशक्ति विदेश पलायन भइसके पोखरा भ्रमण वर्ष २०२५ घोषणा भए पनि व्यवसायीलाई त्यसको आभाष नभएको उनले सुनाइन् । ‘बाटोघाटो उस्तै छ, पर्यटक थपिएका छैनन्,’ उनले भनिन्, ‘भ्रमण वर्षमा व्यवसायीलाई कर छुट पनि छैन ।’ उनको समूहले पर्यटनलाई महत्त्व दिन सरकारलाई गीतमार्फत ध्यानाकर्षण गरायो । ‘व्यवसाय गर्नेमाथि सरकारको ध्यान गैदियोस् देशमा सरकार छ भन्ने आभाष भैदियोस् एकद्वार प्रणाली, करमा छुट भैदियोस् पर्यटनमा सरकारको चासो रैदियोस्’ उनको समूह गत वर्ष दोस्रो तीज सांस्कतिक महोत्सवमा पहिलो भएको थियो । गत वर्ष तीनवटा तीज गीत प्रतियोगितामा सहभागी भएको समूह तीनवटामै पुरस्कृत भएको थियो । उनले भनिन्, ‘समूहका सबै पदाधिकारी र सदस्यको सक्रियताले सम्भव भयो ।’ यसपल्ट भने उनको समूहले सान्त्वना पुरस्कार पायो । प्रतियोगितामा सहभागी अधिकांश महिला समूहले पर्यटनसँग जोडेर तीज गीत प्रस्तुत गरे । पोखराको फेवा ताल संरक्षण, पर्यटकीयस्थलको प्रवद्र्धन, पर्यटनमा महिला सहभागिता लगायत विषय प्रतियोगी समूहले उठान गीतमार्फत उठान गरेका थिए । प्रतियोगितामा कमलजैसी आमा समूह पहिलो, धारापानी आमा समूह दोस्रो र खहरे आमा समूह तेस्रो भए । उनीहरुले क्रमशः ३५ हजार, २५ हजार र २० हजार रुपैयाँ प्राप्त गरे । सान्त्वना हुने १० समूहले १०–१० हजार रुपैयाँ प्राप्त गरे । बुधबार रस्साकसी, घैंटो फुटाउने, साडी दौड जस्ता रमाइला खेलकुद प्रतियोगिता भएका थिए । महिला सशक्तीकरण सम्बन्धी दुईवटा ‘टक सो’ (संवाद कार्यक्रम) सम्पन्न भए । पर्यटन नीतिमा स्थानीय तहको भूमिका, महिला उद्यमशिलता र महिला सशक्तीकरणका विषयमा पत्रकार प्रकाश ढकालले गाउँपालिका महासंघ नेपालकी अध्यक्ष एवं हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेसँग संवाद गरे । ‘पर्वतारोहण, पत्रकारिता र समाज परिवर्तनमा नारी’ विषयमा कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनसँग पत्रकार प्रतीक्षा काफ्लेले सहजीकरण गरिन् । २५ देखि ३५ वर्ष उमेर समूहको साडी दौड प्रतियोगितामा आरती खत्री पहिलो, सावित्रा अधिकारी दोस्रो, उर्मिला अधिकारी र सम्झना अधिकारी तेस्रो भए । ३५ वर्षमाथिको उमेर समूहमा निलम प्रधान पहिलो, टीकादेवी न्यौपाने दोस्रो र शान्ति पहारी तेस्रो भए । रस्साकस्सीमा टुनार दिदी बहिनी समूह पलिहो र महिला क्लब पोखरा–७ दोस्रो भए । प्रतियोगितामा विदेशी महिला पर्यटक पनि सहभागी थिए । सेलरोटी बनाउने प्रतियोगितामा तेर्सापट्टीको कुमारी समूह पहिलो, सञ्जिवनी श्रेष्ठ समूह दोस्रो, दिदी बहिनी समूह तेस्रो, गीता जुम्बा, नेपाल गृहश्रमिक संघ र उद्यमशिलता दिदी बहिनी समूह तेस्रो भए । विजेता समूह र खेलाडीलाई पुरस्कार प्रदान गरिएको थियो । दुई दिनसम्म चलेको महोत्सवमा झण्डै २० हजार दर्शकले अवलोन गरेको टेवानकी अध्यक्ष शोभा न्यौपाने पाण्डेले जानकारी दिइन् ।
पोखरा: पोखराको हेमजामा रहेको मानव सेवा आश्रममा नेपाल शैक्षिक परामर्श संघ ९इक्यान० २९ औं स्थापना दिवस ‘इक्यान डे’ मनाइएको छ । इक्यान कास्कीले शुक्रबार आश्रममा आश्रित वृद्धवृद्धालाई खाना खुवाएर स्थापना दिवस मनाएको हो । २९ वर्षअघि भदौ १३ मा औपचारिक रुपमा इक्यानको सुरुआत भएको थियो । कार्यक्रमकी प्रमुख अतिथि इक्यानकी केन्द्रीय उपाध्यक्ष गीता शिवाकोटीले देशैभरका शाखाले शुक्रबार विविध कार्यक्रम गरी स्थापना दिवस मनाएको बताइन् । उनले यसपल्ट मानव सेवा आश्रममा आश्रय लिइरहेका वृद्धवृद्धाबीच स्थापना दिवस मनाउन पाएकोमा खुसी व्यक्त गरिन् । इक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैह्रेले संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्न विभिन्न सामाजिक काम गरिरहेको बताए । उनले इक्यान कास्कीको आयोजना र टाइम्स एजुकेसनल कन्सल्टेन्सीको प्रस्तुतिमा भदौ २० र २१ गते पोखरामा हुने आठौं इक्यान एजुकेसन फेयरको तयारी द्रूत गतिमा चलिरहेको जानकारी दिए । कार्यक्रममा इक्यान कास्कीका निवर्तमान अध्यक्ष रमेश थापा, उपाध्यक्ष सन्तोष शाही, कार्यसमिति सदस्य विक्रम बस्नेत लगायतले स्थापना दिवसको शुझकामना दिएका थिए ।
काठमाडौं: मनाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ‘ख’ मा आउँदो कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । आज बसेको निर्वाचन आयोगको बैठकले मनाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा रिक्त गण्डकी प्रदेशको प्रदेश सभा सदस्य पदको लागि निर्वाचनको मिति तोक्ने निर्णय भएको आयोगले जनाएको छ । सर्वोच्च अदालतको फैसलाबाट विक्रम संवत २०७९ मंसिर ४ गते भएको निर्वाचनबाट निर्वाचित हुनुभएका दिपक मनाङगेका नामले समेत चिनिने राजीव गुरुङको सदस्यता खारेज भएको थियो । आयोगले रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ मा पनि प्रतिनिधि सभा सदस्यका लागि कात्तिक १७ गते निर्वाचन हुने गरी यस अघि नै मिति तोकिसकेको छ ।
काठमाडौं: हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई र पहाडी भू–भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ । सबै प्रदेशका पहाडी भू–भागका केही स्थानहरू र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीनको तियान्जिनतर्फ प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा तथा मुख्यसचिव एकनारायण अर्यालले बिदाइ गर्नुभयो । प्रधानमन्त्रीको बिदाइका लागि नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि विमानस्थल पुग्नुभएको थियो । त्यसअघि नेपाली सेनाको एक टुकडीले उहाँको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो । प्रधानमन्त्री ओलीले सेप्टेम्बर ३ मा बेइजिङमा आयोजना हुने ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रममा सहभागिता जनाउनुहुने भ्रमणको कार्यतालिकामा उल्लेख छ । प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियान्जिनमा भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले सेप्टेम्बर १ मा तियान्जिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ । नेपाल सन् २०१६ देखि सो सङ्गठनको संवाद साझेदार रहँदै आएको छ । सन् २००१ मा स्थापना गरिएको एससिओ सङ्गठन विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय सङ्गठनमध्ये एकका रूपमा विकसित भइसकेको छ । चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू हुन् । अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्रहरू हुन् । नेपालसहित टर्की, श्रीलङ्का, अजरवैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स सङ्गठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी केही विश्व नेताहरूसँग समेत भेटवार्ता गर्नुहुनेछ । त्यसैगरी, प्रधानमन्त्री ओलीले सेप्टेम्बर २ मा बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नुहुनेछ । शिखर सम्मेलनका क्रममा विभिन्न मित्रराष्ट्रहरूका राष्ट्र तथा सरकार प्रमुखहरूसँग प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । ती भेटघाटमा नेपाल र ती मुलुकबीचका द्विपक्षीय एवं अन्य प्राथमिकताका विषयमा छलफल हुनेछ । हालसम्म रूसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता तय भएको प्रधानमन्त्री ओलीले हिजै सदनलाई जानकारी गराई सक्नुभएको छ । प्रधानमन्त्री ओलीसँग उहाँका धर्मपत्नी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारीहरू रहने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्कनुहुनेछ ।
पोखरा: स्वतन्त्र विद्यार्थी युनियन पृथ्वीनारायण क्याम्पसको आयोजनामा भोलिदेखि हुने अन्तर क्याम्पसस्तरीय फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । स्वतन्त्र विद्यार्थी युनियन पृथ्वीनारायण क्याम्पस समितिले आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । स्ववियु पिएन क्याम्पसका अध्यक्ष विष्णु पोखरेलले क्याम्पसको ६६ औं वार्षिकोत्सवको अवसर पारेर क्याम्पसस्तरीय छात्रा÷छात्र फुटबल प्रतियोगिता आयोजना गरिएको बताए । ‘पिएन क्याम्पसमा स्ववियु निर्वाचनबाट हामी निर्वाचित भएर आइसकेपछि हामीले खेलकुदको विधामा विभिन्न कार्यक्रमहरु आयोजना गरेर सम्पन्न गरिसकेका छौं, अध्यक्ष पोखरेलले भने, ‘क्याम्पसस्तरीय फुटबल प्रतियोगिता पिएन क्याम्पसको ६६ औं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेका हौं ।’ उनले यस प्रतियोगिताबाट विद्यार्थीहरुलाई राष्ट्रिय स्तरको प्रतियोगिताको अनुभव गर्न, आत्मविश्वास बढाउन, मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्न र क्याम्पसबीच शैक्षिक , सांस्कृतिक सम्बन्धलाई मजुबट बनाउन सहयोग पुग्ने अपेक्षा लिएको बताए । स्ववियु पिएन क्याम्पसका उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक विक्रम क्षेत्रीले छात्र फुटबल प्रतियोगितामा आयोजकको २ टिम गरी ९ समूह र सेभेन ए साइड छात्रा फुटबलतर्फ आयोजकको २ टिम गरी ८ समूहको सहभागिता रहेको बताए । उनका अनुसार प्रतियोगितामा कास्की, बागलुङ, म्याग्दी, चितवन, काठमाडौं, भक्तपुर जिल्लाका त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसले सहभागिता जनाएका छन् । प्रतियोगिताको छात्रतर्फको विजेताले १ लाख ११ हजार १ सय ११ र उपविजेताले ७१ हजार १ सय ११ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै छात्रातर्फको विजेताले ७१ हजार १ सय ११ र उपविजेताले ४१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त कोषाध्यक्ष सन्दिका गुरुङले जानकारी दिईन । प्रतियोगिता पृथ्वीनारायण क्याम्पसको अन्नपूर्ण रंगशालामा हुनेछ । भदौ १४ देखि १७ गतेसम्म हुने प्रतियोगितामा दैनिक तीन खेल हुने स्ववियुले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्र्रमुख डिल्लीराज भट्टले जलवायु परिवर्तनबाट नेपालजस्ता विकासोन्मुख मुलुक बढी प्रभावित भएको बताउनुभएको छ । मौसम तथा जलवायु परिवर्तन र विश्व उष्णीकरणको मारमा दक्षिण एशियाली राष्ट्र परेको उहाँको भनाई छ । कानुनी युवा मञ्च (फ्लाई) ले आयोजना गरेको ‘दक्षिण एशियाली जलवायु न्याय फेलोशिप तथा क्याम्प २०२५’ मा बोल्दै उहाँले जलवायु परिवर्तनका असरहरुबारे विभिन्न कार्यक्रम गरेर विश्व समुदायलाई सचेत गराएपनि सोचेअनुसारको प्रगति गर्न नसकिरहेको उल्लेख गर्नुभयो । ‘जलवायु परिवर्तनको मूल कारक नेपाल जस्ता विकासोन्मुख मुलुक होइनन् तर खासगरी जलवायु परिवर्तनको प्रभाव बढी पर्ने हाम्रोजस्तै विकासोन्मुख मुलुकमा हो ।’ उहाँले भन्नुभयो – ‘हाम्रा हिमालहरुमाथि सोझो चोट परेको छ । हिमताल जोखिममा छन् । वर्षा अनियमित मात्रामा भइदिनाले पहाडमा बाढी पहिरोबाट ठूलो मात्रामा जनधनको क्षति व्यहोर्नुपरेको छ । तराई डुब्दा खाद्य सङ्कट उत्पन्न भइरहेको छ ।’ अब ढिला नगरी जलवायु परिवर्तनबाट प्रमुख मार खेप्नुपरेका विकासोन्मुख मुलुकहरुले न्यूनीकरणका लागि पहल कदमीहरु चाल्नु जरुरी भइसकेको उहाँको भनाई छ । वातावरणीय प्रभाव मूल्यांकनको सीमामा रहेर दीगो विकासको अवधारणा अवलम्वन गर्न आवश्यक रहेको उहाँको भनाई छ । ‘हामी विकास र समृद्धिको युगमा छौँ । औद्योगिक विकासका कारण हरितगृह ग्यॉस उत्सर्जन बढ्न गई पृथ्वीको औषत तापक्रम वृद्धि भएर वातावरणीय अवस्थामा असन्तुलन परिवर्तन आएको छ ।’ उहाँले थप्नुभयो – ‘सन् २०३० सम्म नेपालको तापक्रम १।७ डिग्री सेल्सियले बढ्ने अनुमान गरिएको छ । हामीले समयमै सजगता नअपनाउने हो भने ठूलो वातावरणीय समस्या निम्तिन सक्छ ।’ यो क्याम्प नेपालका लागि मात्र नभई दक्षिण एशियामा नै जलवायु परिवर्तनका कारण र असर र समाधानका लागि फलदायी बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । जलवायु न्यायको अवधारणा अन्वेषण, क्षेत्रीय असमानता र संवेदनशीलता, सीमा–पार जलवायु प्रभाव र साझा चुनौती, न्याय प्रवद्र्धनमा युवाको भूमिका, न्यायपूर्ण जलवायु रुपान्तरण र वित्तीय पारदर्शिता लगायतका विषय निकै महत्वपूर्ण रहेको उहाँको भनाई छ । कार्यक्रममा दक्षिण एशियाका ७ राष्ट्रका ४५ जना युवाहरुलाई जलवायु न्यायको पक्षमा सशक्त बनाउन विशेष छलफल र गतिविधिहरू सञ्चालन हुने भएकाले युवाहरुलाई उप्रेरित गर्न आफू उपस्थित भएको प्रदेश प्र्रमुख भट्टको भनाई छ । यस्ता क्याम्पहरु छलफल गर्ने मञ्च मात्र होइन, नीति निर्माण गर्ने र यसलाई आकार दिने अवसर पनि रहेको उहाँले बताउनुभयो । यो क्याम्पमा दक्षिण एसियाका युवाहरुबीच जलवायु न्यायका लागि सीमा–पार युवा एकता, आदिवासी तथा उपेक्षित आवाजलाई जलवायु शासनमा समावेश गर्ने गरी राष्ट्रिय नीति संवादमा एकीकृत गर्ने, जलवायु सम्बन्धी समसामयिक चुनौती र दक्षिण एसियाली विकल्पहरुमा युवाको ज्ञान बलियो लिने लक्ष्य लिइएको आयोजक संस्थाका चेतन जेठाराले जानकारी दिनुभयो ।

