पोखरा:   गण्डकी प्रदेश सभाले सातै वटै प्रदेशमध्ये पहिलो पटक “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सर्वसम्मतिले पारित गरेको छ ।  मिति २०८१ चैत २६ गते साम...

चितवन:   नयाँ शैक्षिकसत्र सुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको छ ।   कार्यालय प्रमुख धनबहादुर केसीका अनुसार कक्षा ३ देखि १२ सम्मका ३१ लाख ३४ हजार १०८ थान पुस्तक मौज्दात छन् ।   केन्द्रबाट चितवनसहित छ जिल्लामा पुस्तक जाने गरेको छ । केन्द्रले पूर्वी तनहुँ (देवघाट र खैरहनी गाउँपालिका), रौतहट, बारा, पर्सा मकवानपुर, नवलपरासी (वर्दघाट सुस्तापूर्व) र चितवनमा बिक्री गर्दै आएको छ ।   प्रमुख केसीले भने, “शैक्षिकसत्र सुरु हुनुअघि नै पाठ्यपुस्तक विद्यार्थीको हातहातमा पुर्याउने गरी बिक्री सुरु भएको छ ।” गत वर्ष १४ लाख ७६ हजार ३५९ थान पुस्तक बिक्री भएका थिए ।   गत वर्ष कक्षा ३, ४ र ५ को पाठ्यपुस्तक निजी क्षेत्रले पनि बिक्री गरेका थिए । यो वर्ष कक्षा ३ देखि नै केन्द्रले पाठ्यपुस्तक बिक्री गरेको छ ।

ढोरपाटन:    बागलुङको निसीखोला गाउँपालिका–७ स्थित पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्ने पदमार्ग निर्माण गरिएको छ ।   बुर्तिवाङ बजारसँग नरसिंहकोटलाई जोड्ने गरी रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई सहज रुपमा नरसिंहकोट पुर्‍याउनका लागि पदमार्ग निर्माण गरिएको जनाइएको छ ।   पर्यटन तथा उद्योग कार्यालय बागलुङमार्फत पदमार्ग निर्माण भएको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु १० लाख बजेटमा पदमार्ग निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका योजना अधिकृत नारायणप्रसाद रिजाले जानकारी दिए ।   उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण गरिएको हो । ढोरपाटन नगरपालिका–२ सेरादेखि करिब दुई सय ५० पक्की रेलिङसहित पदर्माण सम्पन्न भएको रिजालले बताए ।   बाइसे चौबिसे राज्यका बेला भूरे राजाले शासन गरेको नरसिंहकोटमा पछिल्लो समय आन्तरिक पर्यटको आकर्षण बढ्दो छ ।   नरसिंहकोटमा पूर्वधार बन्दै गएपछि आन्तरिक पर्यटक बढ्दै गएको निसीखोला गाउँपालिका–७ अध्यक्ष दीपक कुँवरले बताए ।   बुर्तिबाङ बजार नजिकै भए पनि नरसिंहकोटमा पुग्न अब सहज भएको उनको भनाइ छ । पदमार्गसँगै गाउँपालिकाले यस क्षेत्रमा रु २० लाखमा कालिका मन्दिर, खानेपानी, शौचालय, विश्रामस्थललगायतका संरचना निर्माण गरेको अध्यक्ष कुँवरले जानकारी दिए ।   उनका अनुसार उक्त स्थानमा खेलमैदान निर्माणाधीन अवस्थामा छ । नरसिंहकोटमा पुग्नका लागि बुर्तिबाङ बजारबाट गाडीमा एक घण्टा र पैदल यात्रामा साढे एक घण्टामा पुग्न सकिन्छ ।   त्यहाँसम्म पुग्ने सडक सालझण्डी–ढोरपाटन सडकबाहेक अर्को वैकल्पिक सडक नहुँदा सवारीसाधनमा जाँदा लामो बाटो पर्ने उनी बताउँछन् ।

पर्सा:   जग्गासम्बन्धी विवादमा छिमेकीको हत्या गरी नक्कली साधु बनेका पर्साको विन्दवासिनी गाउँपालिका–२ का ६२ वर्षीय लोकनाथ साह तेली १७ वर्षपछि पक्राउ परेका छन् ।   उनलाई नेपाल आएको मौका पारी केन्द्रीय अनुसन्धान ब्यूरोका टोलीले सोमबार पर्साको वीरगन्जबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।   हत्यापश्चात फरार भएका निज लोकनाथलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले २०६९ कात्तिक २४ गते सर्वस्वसहित जन्मकैद ठहर गरेको थियो ।   छिमेकी ढोडा मुखिया विनको विसं २०६४ वैशाख २५ गते गोली प्रहारबाट हत्या गरी फरार भएका उनलाई भारतस्थित चम्पारण पिरियामा रहेको रामजानकी मन्दिरमा पूजारीको रुपमा १० वर्षदेखि साधुको भेषधारणा गरी लुकिछिपी रहेका थिए ।   निजलाई फैसला कार्यान्वयनका लागि मंगलबारै जिल्ला अदालत पर्सामा पेस गरिएको व्यूरोका प्रहरी उपरीक्षक सुधिरराज शाहीले बताए ।

पोखरा:   भूतपूर्व खेलाडी मञ्चको आयोजनामा सम्पन्न १९ औँ पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट १२ लाख भन्दा बढी बचत भएको छ ।   गत फागुन ३ मा सम्पन्न म्याराथनमा १२ लाख २९ हजार ५११ रुपैयाँ बचत भएको हाे ।   प्रतियोगिताबाट ९३ लाख ७० हजार ६८९ रुपैयाँ आम्दानी भएको र ८१ लाख ४१ हजार १७७ रुपैयाँ खर्च भएको मञ्चका कोषाध्यक्ष हरिबहादुर बरुवालले जानकारी दिए ।   यो रकम हालसम्मकै उच्च बचत रहेको बरुवालको भनाई छ । उक्त रकम मञ्चको अक्षयकोषमा जम्मा गरिएको छ ।   म्याराथनको प्रवर्धन, मासिक तथा साप्ताहिक दौड प्रतियोगिता र स्थानीय तहबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले अक्षयकोष सञ्चालन गरिएको छ ।   कोषमा हालसम्म ३१ लाख ५४ हजार २५६ रुपैयाँ जम्मा भएको अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए । 

पोखरा:   नवौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डको उत्कृष्ट प्रशिक्षक विधाको पुरस्कार प्रायोजन टाइगर ग्रुप अफ पोखरा नेपालले गर्ने भएको छ ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खेलकुदको क्षेत्रमा पदक ल्याउँदै योगदान दिने खेलाडी, प्रशिक्षक, सङ्घ संस्था, पत्रकार, खेलकर्मीलाई वर्षेनी सम्मान गर्दै आइरहेको छ ।   आगामी बैशाखमा हुने अवार्डको तयारीमा जुटेको मञ्चलाई टाइगर ग्रुपले वर्ष उत्कृष्ट प्रशिक्षक विधा प्रयोजन गर्ने सम्झौता भएको हो ।    टाइगर ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले गण्डकी प्रदेशको खेलकुदलाई उचाइमा पुर्‍याउन स्पोर्ट्स अवार्डले महत्वपूर्ण कदम चालेको बताए ।   उनले खेलाडीलाई खेल खेलेपछि पाउने भनेकै सम्मान रहेको र यस्ता किसिमका अवार्डहरूले थप उर्जा मिल्नेमा आशावादी रहेको बताए ।   मञ्चका अध्यक्ष एमबी आस्था मगरले अवार्डलाई सम्पन्न गर्न टाइगर ग्रुपको साथ अमूल्य रहेको सुनाए । टाइगर ग्रुपले गर्दै आइरहेको टाइगर कपले अन्तर्राष्ट्रिय स्तरमै ख्याति प्राप्त गरेको र यसले भलिबललाई उकास्न थप मद्दत गरेको सुनाउँदै गण्डकी प्रदेश भित्र रहेका प्रतिभावान् खेलाडीसँगै प्रशिक्षक, खेल सङ्घ वा क्लब, खेलकर्मी तथा पत्रकारलाई समेत हौसला प्रदान गर्नका लागि अवार्ड प्रदान गर्दै आइरहेको सुनाए ।    आफूहरू अवार्डको तयारीमा जुटिरहेको आगामी दिनमा समेत दुई संस्थाबीचमा भाइचाराको सम्बन्ध प्रगाढ रहने सुनाए ।   अवार्डका लागि सहारा क्लब पोखराले उदीयमान खेलाडी विधा यस अघि नै प्रायोजन गरिसकेको छ भने अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले विशेष सहयोग रहने छ । --

१३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरुवातीसँगै त्यहाँ आलुको पहाडसँगै तस्बिर खिचाउनेहरुको बाक्लो उपस्थिती देखिएको छ ।   कतिपय सेल्फीमा रमाएको भेटिन्छ भने कतिपयलाई आलुको पहाडसँग माया साट्दै तस्बिर कैद गर्न भ्याइनभ्याई छ ।   यतिसम्मकी महोत्सवमा पुग्ने प्राय सबैले आलुको पहाडसँगै आ–आफ्नो तस्विर खिच्ने गर्नुभएको छ र सामाजिक संजालमा राख्ने पनि ।   यहि चैत २४ गतेबाट सुरु १३ औं महोत्सव वैशाख ३ गतेसम्म चल्नेछ ।यतिवेला महोत्सवको मुख्य आकर्षणका रुपमा आलुको पहाडसँगै तस्विर खिच्ने कार्य हुन पुगेको महशसु गर्न सकिन्छ ।   तस्विर खिच्न बुढा, पाका देखि अनुज एवम् तन्नेरी पुस्ता समेत हैसिएको भेटिन्छ ।   सम्झना पनि हुन्छ, कृषि उपजका नाममा महोत्सव हुनु आफैमा महत्वपूर्ण पनि छ, हेमजा कृषिका लागि उर्वर भूमि हो मंगलबार आज आलुको पहाडसँगै तस्विर कैद गर्दै गरेकी स्याङजा सेतीदोभान हाल छोरेपाटन निवासी जानुका ढकालले बताइन् ।   मंगलबारसम्म २५ हजार दर्शक बढीले आलु महोत्सव अवलोकन गरेकोमा ४ सय ५०  घरपरिवारले आलु खरिद गरी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिम्सिनाले जानकारी दिए । उनले हालसम्म ५ लाख बढीको आलु कारोवार भएको पनि सुनाए ।   महोत्सव अन्तर्गत मंगलबार आज रत्यौली गीत प्रतियोगिता सुरु गरिनुका साथै कलाकारहरु खुमन अधिकारी, जीवन दाहाल, नविन पौडेल, नविना सुवेदी, अमर धिताल, परशुराम अधिकारी, शान्ता बर्देवा, हास्य कलाकार दिपक थापाका प्रस्तुतिहरु रहे ।त्यस्तै भोली बुधबार कलाकारहरु ज्योति मगर, जीवन दाहाल, रामजी पौडेल, तुलसा क्षत्री, सुमन खड्का, परशुराम अधिकारी, दुर्गा क्षत्री तथा हास्य कलाकारहरु युवराज भण्डारी र राजेन्द्र नेपालीका प्रस्तुतिहरु रहने मूल आयोजक समितिका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।   महोत्सवमा आलु लगायत अन्य सामग्री समेत गरी आज मंगलबारसम्म करिव २५ लाखको कारोवार भएको पनि श्रेष्ठले बताए ।   महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्।   त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि रहेका छन् ।

पोखरामा डिजी स्कुल गण्डकी प्रदेशको आयोजना तथा तेजारथ ग्रुपको समन्वयमा आइटीको विकसित पाठ्यक्रमबारे छलफल सम्पन्न भएको छ  ।   बेलायतको एनसिसी एजुकेशनसँगको सहकार्यमा नेपाल भित्रिएको आइटीको विकसित पाठ्यक्रमको बारेमा गण्डकी प्रदेशका विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरुसँग छलफल सम्पन्न भएको हो ।   सो छलफलका क्रममा डिजी स्कुलले ल्याएको आइटीसम्बन्धी पाठ्यक्रम र यसको उपयाेगिताको बारेमा डिजी स्कुलका सिइओ राजु बानियाँले प्रष्ट पारे ।   उनले पछिल्लो समय सूचना प्रविधिको युग भएकाले स्कुल लेभलमा आइटी कोर्सको जरुरी रहेको उल्लेख गरे । उनले सोही प्रकारको आवश्यकता महसुस गरेर आइटीको विकसित र विस्तृत पाठ्यक्रम नेपाल भित्राइएको बताए ।      यस्तै सफ्टेड गु्रपका अध्यक्ष विज्ञान श्रेष्ठले नेपालमा ल्याइएको आइटी कोर्स व्यापारिक प्रयोजनका लाग नभई शैक्षिक अभियान भएको बताए ।   ‘अहिलेको युग आइटीको युग हो । त्यसैले हामीले ल्याएको करिकुलम विकसित र विस्तृत छ, उनले भने, ‘यो व्यापारिक प्रयोजन नभएर शैक्षिक अभियानका रुपमा अघि सारेका हौं ।’    कार्यक्रममा सफ्टेडका डाइरेक्टर प्रमोद पौडेलले आइटीको महत्वबारे प्रकाश पार्दै अहिलेको शैक्षिक संस्थाहरुमा उक्त आइटी कोर्स अतिआवश्यक रहेको बताए ।    डिजी गु्रपका स्ट्राटिजी हेड सुमन बस्यालले डिजीस्कुलले ल्याएको उक्त पाठ्यक्रमको महत्व, प्रयोग, र उपयोगिताबारे विस्तृत कार्यपत्र प्रस्तुत गरे ।   कार्यक्रममा सफ्टेड ग्रुपका डाइरेक्टर अमृत थापा, करिब ३ भन्दा बढी स्कुलका प्रतिनिधिहरु लगायतको सहभागिता थियो ।   डिजी स्कुलले सन् २०१९ मा बेलायतको एनसिसी एजुकेशनको सहकार्यमा सो आइटी कोर्स नेपाल भित्राएको थियो ।    उक्त पाठ्यक्रम स्कुलले लिन चाहेमा प्रत्येक विद्यार्थीबापत प्रतिवर्ष नेपाली ३ हजार ५ सय रुपैयाँ शुल्क लाग्ने डिजी स्कुलले जनाएको छ ।    डिजी स्कुलका गण्डकी प्रतिनिधि तेजारथ ग्रुपका किसान सुनारको अध्यक्षतामा भएको कनेक्ट एण्ड लिड कार्यक्रमको सञ्चालन प्रशंसा अर्यालले गरेकी थिइन् ।      

आज काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन हुने भएको छ । मङ्गलबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल शिक्षक महासंघ र सहकारी तथा लघुवित्त पीडितले काठमाडौंका तीन स्थानमा प्रदर्शन गर्ने भएका हुन् ।   राप्रपले बल्खुमा विरोध कार्यक्रम गर्दै छ भने नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा र सहकारी तथा लघुवित्तपीडितले शान्तिवाटिकामा प्रदर्शन गर्दैछन् ।   यसैबिच, नेपाल प्रहरीले सूचना जारी गर्दै सवारी आवागमनलाई सहज बनाउन सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाएको जनाएको छ ।   मङ्गलबार बिहान एक सूचना जारी गर्दै नेपाल प्रहरीले सवारी साधन डाइभर्सन गरिने मुख्य स्थानहरुबो जानकारी दिएको छ ।   खसिबजार – मकालु – कलङ्की चोक– बाफल बल्खु चोक– कुलेश्वर– कालीमाटी चोक– टेकु कीर्तिपुर– सुन्दरीघाट– सानेपा– एकान्तकुना आवश्यक परेमा थप गरिने डाइभर्सन प्वाइन्टहरू त्रिपुरेश्वर, बालाजु, हलचोक, नैकाप, सीतापाइला, चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर ।   कार्यक्रम हुने स्थान हुँदै चल्ने सवारी साधनका चालकले अन्य वैकल्पिक मार्गको प्रयोग गर्न समेत आग्रह गरिएको छ ।  

 नेपालमा सङ्कलित कवाडजन्य वस्तु अवैध रूपमा भारत निकासी हुँदा यहाँ सञ्चालित अण्डा क्यारेट र प्लाष्टिक उद्योगले कच्चा पदार्थको अभाव झेल्नुपरेको छ ।   करको दायरामा नपर्न व्यवसायीले कवाड (प्रयोग भएका कापी किताब, फलाम, टिन, प्लास्टिक, सिसीलगायतका वस्तु) सङ्कलन गरी अवैध रूपमा भारत निकासी गर्ने गरेकाले नेपाली उद्योग कच्चा पदार्थको अभावमा धरासायी बन्दै गएको बाँकेको बैजनाथ गाउँपालिका–१ मा सञ्चालित पश्चिमाञ्चल एग क्यारेट एण्ड फुड उद्योगका सञ्चालक पुनित शाहले बताए ।   “उद्योगलाई आवश्यक कच्चा पदार्थ भारत तस्करी भएपछि उद्योग सञ्चालन गर्न नसक्ने अवस्था सृजना भएको छ, कच्चा पदार्थ अवैध रूपमा भारत गइरहे पनि नियामक निकायले चासो दिएको पाइएको छैन”, उनले भने, “कच्चा पदार्थको अभावमा उद्योग पूर्ण रूपमा सञ्चालन हुन नसक्दा मजदुरले काम पाएका छैनन, उद्योग धरासायी बन्दै गएको छ ।”   रु पाँचदेखि रु १० प्रतिकेजी भन्सारदर रहेको कवाडजन्य वस्तु दैनिक अवैध रूपमा भारततर्फ निकासी हुँदा सम्बन्धित निकायले एकअर्कालाई देखाउँदै नियमनबाट पन्छिँदा त्यसको असर नेपाली उद्योगलाई परिरहेको उनको भनाइ छ ।   “मेरो उद्योगलाई महिनामा १२० टन कच्चा पदार्थ चाहिन्छ तर अहिले त्यसको आधामात्रै पाउने गरेको छु, त्यसैले उद्योगलाई पूर्ण रूपमा सञ्चालन गर्ने वातावरण हुनसकेको छैन”, सञ्चालक शाहले भने, “यो क्षेत्रमा सङ्कलन हुने कवाडजन्य वस्तु अवैध रूपमा भारत निर्यात नभए कच्चा पदार्थ पर्याप्त रूपमा उपलब्ध हुन्छ, तर यसमा राज्यका निकायले बेवास्ता गर्दै आएका छन् ।”   बाँकेलगायत जिल्लामा सङ्कलित कवाड वस्तु खरिद गरी राज्यलाई कर तिर्नुका साथै रोजगारीसमेत सृजना गरेका बाँकेलगायत विभिन्न जिल्लामा सञ्चालित उद्योग कच्चा पदार्थका रूपमा प्रयोग हुने कवाड सामान खरिद गर्न नपाएपछि बन्द गर्नुपर्ने अवस्थामा पुगेको उनको गुनासो छ ।   प्रयोग भइसकेको कवाड फलाम नेपालमा नै खरिद हुने भए पनि अन्य कागजन्य कापीकिताब, डप्टी, प्लाष्टिकजन्य वस्तु, व्याट्री, आल्मुनियमलगायत वस्तु भारत तस्करी हुँदै आएको छ ।   कवाड वस्तु निकासीमा प्रतिकेजी रु १० भन्सार राजस्व शुल्क भए पनि व्यवसायीले भन्सार छलेर अवैध रूपमा भारततर्फ निकासी गर्ने गरेको पाइएको छ ।   भारतीय उद्योगीले कवाड वस्तु केही महँगो दरमा खरिद गर्ने भएकाले नेपाली कवाड व्यवसायीले भन्सार छलेर अवैध रूपमा भारत निकासी गर्ने गरेका छन् ।   दैनिक साइकलबाट कवाडजन्य वस्तु भारत निकासी हुने गरेको छ । सङ्कलित कवाडको ठूलो अंश बाहिरिने भएकाले यहाँका उद्योगले पुनः त्यही कवाड दोब्बर मूल्यमा आयात गर्नुपर्ने बाध्यता रहेको शाहको भनाइ छ । कवाडसम्बन्धी वस्तुलाई कच्चा पदार्थका रूपमा प्रयोग गर्ने उद्योग भैरहवादेखि धनगढीसम्म सय बढी छन् ।   बाँकेमा २० को हाराहारीमा कवाड व्यवसायी रहेका छन् । उनीहरूमध्ये कतिपयले बाँकेसँगै अन्य जिल्लाबाट कवाड सङ्कलन गरी भण्डारण गरेर भारत पठाउन थालेपछि कवाडसँग सम्बन्धित उद्योगले कच्चा पदार्थ पाउन छाडेको कवाड व्यवसायी सङ्घ बाँकेका अध्यक्ष मोहम्मद उमर हलवाईले बताए ।