काठमाडौं: नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद् रह्यो । यस वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा गरेको व्यापार इतिहास बनेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्स अफिस)मा यस चलचित्रले रु ४६ करोड ८० लाख (ग्रस) कारोबार गरेको तथ्याङ्क छ । त्यसले विसं २०८१ मा मात्र नभई नेपाली चलचित्रको इतिहासमै ‘रेकर्ड’ दर्ज गर्यो । यसकारण २०८१ साल चलचित्रका लागि स्मरण गरिने वर्ष बन्ने छ । यसका साथै यस वर्ष चार चलचित्रले रु १० करोडभन्दा बढीको व्यापार ९ग्रस० घरेलु बजारमा गर्न सफल भएका छन् । चलचित्र विकास बोर्डको तथ्याङ्कानुसार यस वर्ष ६० चलचित्र प्रदर्शन भइसकेका छन् भने दुई चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’ यही चैत २९ देखि प्रदर्शन हुँदैछन् । यस वर्ष स्वदेशी चलचित्र ६२ प्रदर्शन हुँदा विदेशी ८५ को हाराहारीमा प्रदर्शन हुने बोर्डले जनाएको छ । विदेशी चलचित्रको नेपाल प्रदर्शन अन्तिम समयमा टुङ्गो लाग्ने गरेकाले अङ्क तलमाथि हुनसक्ने बोर्डको भनाइ छ । ‘पूर्णबहादुरको सारङ्गी’ बाहेक यस वर्ष घरेलु बजारमा रु १० करोड बढीको व्यापार गर्ने चार चलचित्रमा ‘१२ गाउँ’, ‘छक्कापञ्जा ५’ र ‘बोक्सीको घर’ रहेको बक्स अफिसमा तथ्याङ्क छ । यो वर्षको सुरुआती महिना वैशाख १४ मा प्रदर्शन भएको ‘बोक्सीको घर’ले राम्रो व्यापार गर्न सफल भयो । चलचित्रमा समावेश गीत ‘बुझिनँ मैले, बुझाइदेऊ कसैले’ सफल हुँदा त्यसको प्रभाव चलचित्रमा पर्यो । केकी अधिकारीले अभिनय गर्नुभएको र सुलक्षण भारतीले निर्देशन गर्नुभएको चलचित्रलाई प्रदर्शन अगाडि सामान्य रूपमा हेरिएको थियो । यसले अकल्पनीय व्यापार गर्यो । बक्स अफिसको तथ्याङ्कानुसार यस चलचित्रको घरेलु बजारमा रु १० करोड दुई लाखको व्यापार भएको छ । यो चलचित्र सफलताको श्रेय गीतसङ्गीत र विषयलाई जान्छ । त्यसकारण यो वर्ष कलाकारको ‘स्टारडम’ भन्दा ‘कन्टेन्ट’ चलेको वर्षका रूपमा हेर्न सकिन्छ । यसपछि दसैँमा प्रदर्शन भएको ‘१२ गाउँ’ र ‘छक्का पञ्जा–५’ ले दर्शकको राम्रो साथ पायो । बक्स अफिसको तथ्याङ्कानुसार ‘१२ गाउँ’ले रु १९ करोड ९२ लाख र ‘छक्कापञ्जा–५’ ले रु १५ करोड २० लाखको व्यापार गरेको छ । अन्य चलचित्रको व्यापार बढेता पनि शृङ्खलाबद्ध रूपमा आइरहेको ‘छक्का पञ्जा’को व्यापार भने अघिल्लोको तुलनामा घटेको छ । यसले बजारको आकार बढ्न अवरोध गर्ने बुझाई वितरक तथा निर्देशक प्रचण्डमान श्रेष्ठको छ । उहाँले नयाँ दर्शकलाई निरन्तर चलचित्र भवनमा आकर्षित गर्न फरक चलचित्र चाहिने बताउनुभयो । उहाँले भन्नुभयो, “लूट चलचित्र प्रदर्शन भएपछि नेपाली चलचित्रमा नयाँ दर्शक बढ्नुका साथै चलचित्र बन्ने शैलीमा पनि परिवर्तन आयो, त्यस्तै एउटा चलचित्र अहिले चाहिएको छ, जसले नयाँ उचाइ पाओस् र शैलीमा परिवर्तन गर्दै नयाँ पुस्तालाई दर्शक बनाउन सफल होस्, यस्तो नहुँदासम्म बजारको आकार बढ्नेमा म सहमत छैन, किनकि एक–दुई चलचित्रको सफलताभन्दा पनि समग्र वर्षको समीक्षा गरेर हेर्नुपर्छ ।” दसैँपछि तिहारमा प्रदर्शन भएको ‘पूर्णबहादुरको सारङ्गी’ले चलचित्र क्षेत्रलाई चलायमान बनायो । यो चलचित्रको सफलता पुराना निर्मातासँगै नयाँ निर्माता पनि चलचित्र क्षेत्रमा सक्रिय भएको बुझाई निर्देशक पुर्नेन्दु झाको छ । उहाँले कथा बलियो भएमा कलाकारले अभिनय गर्न सके दर्शकले मन पराउने विश्वास चलचित्रकर्मीमा बढेको बताउनुभयो । “निर्माताको समस्या नै चलचित्र निर्माणमा बढेको महँगाइ हो, कलाकारलाई दिने रकमसँगै अन्य प्राविधिक पक्षमा खर्च बढी हुने भएकाले निर्माताले आँट गर्न नसकेको मैले सुनेको छु, तर पूर्णबहादुरको सारङ्गीलाई दर्शकले दिनुभएको मायाले अन्य निर्मातालाई अगाडि बढ्न आँट दिएको छ, त्यसकारण पनि आउँदो वर्ष धेरै चलचित्र प्रदर्शन हुनेछन्”, उहाँले भन्नुभयो । आजसम्मको चलचित्रले घरेलु बजारमा गरेको व्यापारलाई हेर्दा यो ‘अञ्जिला’ पाँचौँ स्थानमा छ । यसले घरेलु बजारमा रु सात करोड ५० लाख व्यापार गरेको छ । उल्लेखित व्यापारमा निर्धारण गरिएको शुल्क घटाएर वितरकमार्फत चलचित्र निर्माताले रकम पाउने गर्छन् । गएको होलीलाई लक्षित गर्दै फागुन २९ मा प्रदर्शन भएको चलचित्र ‘अञ्जिला’ नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । खेलाडीको कथालाई पर्दामा रुचाउनु सुखद् पक्ष रहेको यसका निर्देशक मिलन चाम्सले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा खेलाडीको विषयमा चलचित्र बनाउन व्यावसायिक पक्षले रोकेको पाइएको थियो, व्यापार नभएपछि निर्माताले लगानी गर्दैनन्, तर अञ्जिलाको व्यापारले अन्य खेलाडीको कथालाई पर्दामा ल्याउन चलचित्रकर्मीलाई आँट दिएको छ, आउँदो वर्षमा अन्य खेलाडीको कथालाई पनि पर्दामा हेर्न पाइनेमा म विश्वस्त छु ।” यस वर्ष प्रदर्शन भएको अन्य चलचित्रमा ‘पूजार सार्की’ ले रु सात करोड ३७ लाख, ‘घरज्वाइँ’ले रु पाँच करोड नौ लाख, ‘फर्की फर्की’ले रु चार करोड ८४ लाख, ‘मनसरा’ले रु चार करोड ७८ लाख र ‘लाज शरणम्’ले रु चार करोड ३४ लाखको व्यापार ९ग्रस० गरेको तथ्याङ्क ‘बक्स अफिस’मा छ ।
काठमाडौं: हङकङमा जारी चार देशीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले कुबेतलाई छ विकेटले पराजित गरेको छ । कुबेतले दिएको १८६ रनको लक्ष्य नेपालले १८ दशमलव ५ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जितमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय पारी खेले । भुर्तेलले ५० बल खेल्ने क्रममा छ चौका र छ छक्काको सहयोगमा ८१ रन बनाए भने शेखले ३८ बल खेल्ने क्रममा दुई चौका र चार छक्काको सहयोगमा ५३ रन बनाए । साथै दीपेन्द्र सिंह ऐरीले १२ बल खेल्ने क्रममा तीन छक्का र दुई चौकाको सहयोगमा ३१ रनको महत्वपूर्ण योगदान दिए । कुबेतका लागि यासिन पटेलले दुई विकेट लिए भने मोहम्मद सफिक र मोहम्मद आस्लामले एक÷एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको कुबेतले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १८५ रन बनाएको थियो । उसका लागि ओपनरद्वय क्लिन्टो एन्टोले ४१ र राभिजा सान्दारुवानले २६ रन बनाए । साथै मिट भाबसारले ३५ र बिताल ताहिरले ३२ रन बनाए । नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादवले दुई र ललित राजवंशी तथा कुशल भुर्तेलले एक÷एक विकेट लिए ।
बाँके: गए राति आएको हुरीबतासले बाँकेको कोहलपुरमा ३३ केभी प्रसारण लाइनका तीनवटा पोल ढल्दा जिल्लाका केही ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । राति १०ः०० बजेदेखि अवरुद्ध भएको विद्युत् आपूर्ति व्यवस्था अहिलेसम्म हुन नसकेको नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामछिानेले जानकारी दिनुभयो । उहाँले विद्युत् आपूर्ति हुन अझै केही समय लाग्ने उल्लेख गर्दै मुख्य प्रसारण लाइनको काम सकिएपछि अन्य ठाउँको काम सुरु हुने बताउनुभयो । “सबै ठाउँको विवरण सङ्कलन भइरहेको छ र यसका लागि अझै केही समय लाग्छ”, उहाँले भन्नुभयो । खराब मौसमका कारण ३३ केभी प्रसारण लाइनका ‘टावर’मा असर पर्न गएकाले विद्युत् प्रवाहका लागि काम भइरहेको जानकारी दिँदै लामिछानेले कहाँकहाँ के समस्या आएको भन्ने विषयमा पहिचान हुन बाँकी रहेको बताउनुभयो । उहाँले कतिपय ठाउँमा विद्युत् पोल परिवर्तन गर्न लागिएको र केही ठाउँमा विद्युतीय तार नयाँ जोड्न थालिएको जानकारी दिनुभयो । नेपालगन्ज–२२ नहरपुरवामा समते हावाबतासले विद्युत्को पोल बाङ्गो बनाउनुका साथै तारमा जस्तापाता अड्किएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र नेपालगन्जले जनाएको छ । त्यसैगरी, हुरीले डुडुवास्थित इलाका प्रहरी कार्यालयका वनकट्टीको जस्तापाता उडाइदिएका कारण त्यहाँस्थित प्रहरीहरू अन्य ठाउँमा आश्रय लिएर बसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।
नवलपरासी: पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले सवारीआवतजावत गर्न कठिनाइ भएपछि राजमार्ग अवरुद्ध भएको हो । विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा वर्षाका कारण सडक अवरुद्ध भएको नवलपरासी ९बर्दघाट सुस्तापूर्व० जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो । सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन र यात्रु बीच सडकमा अलपत्र परेका छन् । दाउन्ने क्षेत्रमा बुधबारदेखि आगामी चैत ३१ गतेसम्मका लागि दिनको ११ः०० देखि ३ः०० बजेसम्म आवागमन बन्द गरेर मर्मत सुरु गरिएको थियो । त्यसैगरी, आगामी वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म आवागमन रोकेर विस्तार गरिने तयारी गरिएको छ ।
गोरखा: उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दो क्षेत्रमा भारी हिमपात भएको छ । गए रातिदेखि लगातार हिमपात भइरहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । हिमपातका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । चैतको अन्तिम सातामा परेको हिमपातले चिसो बढेको उहाँले बताउनुभयो । “गए रातिदेखि नै साम्दो र आसपासका क्षेत्रमा परेको हिमपातले घरका छानादेखि जमिनसम्म ढाकिएका छन्, हिमपातले यस क्षेत्रमा चिसो एक्कासी बढेको छ”, उहाँले भन्नुभयो । साम्दोगाउँ समुद्री सतहदेखि करिब तीन हजार ८७७ मिटरको उचाइमा पर्छ । हिमपातका कारण लार्केपास गर्न हिँडेका पर्यटक रोकिएका छन् । स्थानीयवासीलाई घरबाहिर निस्कन कठिन भएको छ । हिमपातसँगै पर्यटक होटलमा आश्रय लिएर बसेको अध्यक्ष लामाले बताउनुभयो । लार्केपास पदमार्ग पूरै हिउँले ढाकेको छ ।
काठमाडौं: नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा रु पाँच हजार ७०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ७५ हजार ४०० मा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला रु एक लाख ८१ हजार १०० कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । साथै चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला रु एक हजार ८३५ रहेको चाँदीको मूल्य आज प्रतितोला रु एक हजार ९०० पुगेको छ ।
तनहुँ: शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा हर्कपुर मोटरमार्गअन्तर्गत बेसारेगौडा खण्डमा ट्रयाक खुलेको ३१ वर्षपछि कालोपत्र गर्न थालिएको छ । शुक्लागण्डकी नगरपालिकाले रु दुई करोड दुई लाख छुट्याएर सडक कालोपत्र गर्न थालेको हो । शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले पहिलो चरणमा आठ सय मिटर कालोपत्र र दुई सय मिटर ढलान गरिने जानकारी दिनुभयो । नगर क्षेत्रका सडक क्रमशः स्तरोन्नति गरिने उहाँले बताउनुभयो ।
काठमाडौं: चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सदस्य सम्मिलित २० सदस्यीय प्रतिनिधिमण्डल चीनको चोङकिङ सहरमा आइपुगेको छ । माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा नेतृत्वको प्रतिनिधिमण्डललाई चोङकिङ नगरमा बुधबार चिनियाँ कम्युनिष्ट पार्टीको चोङकिङ नगरपालिका पार्टी स्कुलका नेता वाङ तियानलियाङले स्वागत गर्नुभयो । प्रतिनिधिमण्डलमा पार्टी केन्द्रीय सदस्यहरु लेखनाथ न्यौपाने, रामदीप आचार्य, माओवादी केन्द्रको अन्तरराष्ट्रिय विभाग, स्कुल विभाग, मजदूर तथा बुद्धिजीवी सङ्गठन, अखिल (क्रान्तिकारी)लगायत विभागका सदस्य सहभागी हुनुहुन्छ । चोङकिङ चीनको महत्वपूर्ण आर्थिक र व्यापारिक केन्द्र हो भने चीनमा केन्द्रीय सरकार मातहत रहेका चार सहरमध्ये एक हो ।
डोटी: डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको चट्याङ लागेर गए राति सायल गाउँपालिका–६ दल्लेखमा एक महिलाको मृत्यु भएको र सात जना घाइते भएका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार स्थानीय लहरी नागरीको घरमा चट्याङ पर्दा उहाँकी श्रीमती ३३ वर्षीया कमला नागरीको मृत्यु भएको हो । मृतक नागरीकी १० वर्षकी छोरी तारा, ८ वर्षका छोरा अविषेक, ६ वर्षका छोरा अवि, तीनमहिने छोरा शङ्कर नागरी घाइते भएका हुन् । यसैगरी, सोही स्थानकी ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाईं र भीम नागरीकी ६ वर्षीया छोरी खुसी नागरी घाइते भएकी प्रहरी उपरीक्षक शर्माले बताउनुभयो ।