पोखरा: नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति नजिकिँदै गर्दा अवार्डलाई सहयोग आउने क्रम जारी रहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बैशाखमा हुने अवार्डलाई बुधबार एक कार्यक्रमका बिच जिल्ला एथ्लेटिक्स संघ कास्कीले सहयोग गर्ने घोषणा गरेको छ । एथ्लेटिक्स संघ कास्कीका अध्यक्ष गजबहादुर गुरुङले अवार्ड सम्पन्न गर्न ११ हजार १ सय ११ रुपैयाँ सहयोगको घोषणा गरेको हो । पोखरा स्पोर्टस् अवार्डले खेलाडीको मनोवल उच्च राख्न योगदान पुराएको र समग्र खेल क्षेत्र तथा खेलाडीको लागि आयोजना हुने अवार्डलाई सदैव संघको साथ रहेको जिल्ला एथ्लेटिक्स संघ कास्कीका अध्यक्ष गजबहादुर गुरुङले बताए । खेलप्रेमी तथा खेल संघसंस्थाको साथ सहयोगले नै स्पोर्टस् अवार्ड यो उचाईसम्म पुगेको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबि आस्था मगरले बताए । यस पटकको अवार्डमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको विशेष सहयोग रहेको छभने उदीयमान खेलाडी विधाको लागि सहारा क्लब पोखराले प्रायोजन गरिसकेको छ । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोट्र्स अवार्ड गर्दै आइरहेको छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चका सचिव राजु गिरीले जानकारी दिएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको थियो । देश संघीयतामा गएसँगै यसलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको छ । हाल ७४ जना पत्रकार मञ्चमा आवद्ध छन् ।
महोत्तरी: महोत्तरीका वनक्षेत्रमा अहिले जताततै डढेलो छ । पूर्वपश्चिम राजमार्ग दायाँबायाँमात्र नभएर चुरे पर्वत श्रेणीका वनक्षेत्र र विपी राजमार्गको दायाँबायाँ क्षेत्रमा पनि डढेलोले वन सखाप पारेको छ । जता हे¥यो डढेका ठुटा र खरानी मात्र देखिन्छ । दिनहुँको डढेलोले दुई÷तीन वर्षयताका नयाँ बिरुवा देखिँदैनन् । डढेलोले वयस्क र पुराना रुख पनि मरेका छन् । वनक्षेत्रका सुकेका रुख समयमा कटान व्यवस्थापन हुन नसक्दा ती पनि डढेर ठुटा बनेका छन् । बर्दिवास र गौशाला नगरपालिकामा पर्ने राष्ट्रिय वन (सामुदायिक वन), साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनाका प्लटमा डढेलोले रुख, बुटा खरानीमा परिणत भएका छन् । डढेलोले साखु र अन्य संरक्षित जातिका नयाँ बिरुवा डढेर खरानी हुने तथा वयस्क रुख आगो लागेर सुक्दै गएपछि वन क्षेत्र उजाड हुने क्रम बढेको हो । “अहिले रुख बिरुवाले पालुवा फेर्न झारेका पुराना पात सुकेर खङ्रङ्ग भएका बेला वनमा लाग्ने डढेलोले आगो चाँडै फैलने गर्छ”, विपी राजमार्गसँगैको बर्दिबास–३ पाटुका सामाजिक कार्यकर्ता होमबहादुर खड्का भन्नुहुन्छ, “वनक्षेत्रमा दिनदिनै बढेको डढेलोले रुखबिरुवा सखाप हुनसँगै नजिकका बस्ती पनि आगलागीको उच्च जोखिममा छन् ।” चुरे पहाडी क्षेत्र सबै बर्दिबास नगरपालिका क्षेत्रमा मात्र पर्छ । सागरनाथ वन विकास परियोजनाका प्लट भने बर्दिबासभन्दा गौशाला नगरक्षेत्रमा बढी छ । पूर्वपश्चिम राजमार्ग उत्तर सामुदायिक ९राष्ट्रिय० वन र दक्षिणमा धेरैजसो परियोजनाका प्लट छन् । अभिलेखमा करिब २४ हजार हेक्टर वन क्षेत्रफल उल्लेख रहे पनि विभिन्न समयमा भएका फडानी र अतिक्रमणले १६ हजार हेक्टरमा खुम्चीएको छ । बाँकी रहेको वन पनि बर्सेनिको डढेलो र चोरी कटानले अब काटिएका र डढेलोले डढाएका रुखका ठुटा बढी देखिन्छन् । डढेलोले दुई÷तीन वर्षयताका बिरुवा डढेपछि पुराना रुख धोद्रिउर बुढिदै जाने र नयाँ बढ्न नपाएपछि वन पातलिँदै गएको वनक्षेत्र नजिकको बर्दिबास–५ चेरु बस्तीका ८० वर्षीय भोगेन्द्रराज पौडेल बताउनुहुन्छ । चुरे आसपासका २० भन्दा बढी र सागरनाथ वन विकास परियोजनासँग जोडिएका पनि करिब यतिकै सङ्ख्याका बस्ती छन् । “वनकै छेउको बसाइँ छ, डढेलोले बस्ती भेट्टाउने चिन्ताले सुत्न सकिँदैन”, वनसँगै जोडिएको बर्दिबास–१० खयरमाराका प्रेमध्वज लामा भन्नुहुन्छ, “बर्सेनि फागुन लागेपछि डढेलोको चिन्ताले कहिल्यै छाडेन ।” वनका पतिङ्गर खङ्रेर एकैछिनमा डढेलो बढ्ने गरेको लामा बताउनुहुन्छ । हिउँदे वर्षाले रुखबिरुवाले झारेका पातपतिङ्गर भिजाउँदा आगो ढिलो फैलने विगत अनुभव सम्झदै वनक्षेत्र नजिकका बासिन्दा यसपालि भने डढेलोले विकराल रुप लिएको बताउँछन् । पूर्वमा धनुषासँगको सीमा रातुपुलदेखि पश्चिममा सर्लाहीसँगको बााकेपुलसम्म करिब १८ किलोमिटर लम्बाइको छ । यसभित्र चारवटा सवडिभिजन वन कार्यालय, सशस्त्र वन सुरक्षा बेस र १० ठाउँ जति वन सुरक्षा पोष्ट रहे पनि यो जनशक्ति डढेलो नियन्त्रणमा भने उदासिन देखिएको सर्वसाधारणको गुनासो छ । सागरनाथ वन विकास परियोजना प्लटसँगै जोडिएको हात्तीलेटका बासिन्दा राधाकृष्ण शर्मा भन्नुहुन्छ, “वनक्षेत्रमा लाग्ने डढेलो कममात्र प्राकृतिक कारणले लाग्छ, धेरैजसो बदमासले आगो झोसेरै लगाउने गरेका छन् ।” बर्सेनि लाग्ने डढेलो रोक्न पूर्वतयारी कहिल्यै नदेखिएको र डढेलो लगाउने पक्राउ परेर कारबाही भएको आफूलाई सम्झना नभएको शर्माको भनाइ छ । फागुनदेखि नै डढेलो देखिन थाल्छ । ठूलठूला रुखको घर्षणले यदाकदा वनमा आगो सल्के पनि खासमा चाँही घाँसे, दाउरे र गोठालाहरुले डढेलो लगाउने गरेका वनसम्बद्ध सरकारी सेवाबाट अवकाश लिएका हाल बर्दिबास–१ कै बासिन्दा चन्देश्वर यादव बताउनुहुन्छ । फागुन-चैतमा वनमा डढेलो लगाए त्यसपछि हुने वर्षासँगै नयाँ घाँस पलाउने विश्वासले वन क्षेत्र नजिककै पशुपालकले डढेलो लगाउने गरेका सहायक वन अधिकृतको सेवाबाट अवकाश लिनुभएका यादवको अनुभव छ । जिल्लामा सामुदायिक, धार्मिक र सागरनाथ वन विकास परियोजनाको समेत गरी २४ हजार ४६५ हेक्टर क्षेत्रफलमा वन रहेको डिभिजन वन कार्यालयको अभिलेखमा उल्लेख छ । अतिक्रमण गरेर घर ठड्याउने र खानजोत गर्नेलाई राजनीतिक संरक्षण मिल्ने हुँदा वन सुरक्षाको कुरा निकै चुनौतीपूर्ण बनेको नाम नबताउने वनसम्बद्ध कर्मचारी बताउँछन् । वन क्षेत्रको सुरक्षा र व्यवस्थापनको मुख्य जिम्मेवारी रहेको डिभिजन वन कार्यालयले पर्याप्त सुरक्षाकर्मी नहुँदा सबैक्षेत्रमा सघन गस्ती गराउन नसकिएको स्वीकार गरेको छ । वन क्षेत्रको सुरक्षा र प्रवद्र्धनको कार्य वन क्षेत्रसँग जोडिएका बस्तीका बासिन्दाको सहयोग र समन्वय आवश्यक हुने डिभिजन वन कार्यालयका प्रमुख सुभासचन्द्र दास बताउनुहुन्छ । “हामीसँग भएको जनशक्ति परिचालन गरिरहेका छौँ, तर डढेलो नियन्त्रण स्थानीय बासिन्दाको सहयोगबिना सम्भव छैन”, उहाँ भन्नुहुन्छ, “वन क्षेत्रसम्बद्ध स्थानीयतहका जनप्रतिनिधि, सामाजिक सङ्घसंस्था र स्थानीय बासिन्दाको पहलकदमी हुनसके डढेलो नियन्त्रणमा सफलता पाउन सकिन्छ ।” यसका लागि कार्यालयले आवश्यक समन्वय गरिरहेको प्रमुख दासले बताउनुभयो ।
अर्घाखाँची: प्रधानमन्त्री केपी शर्मा ओलीले महर्षि पाणिनिको जन्मभूमि अर्घाखाँची ज्ञान, ध्यान र देवभूमि भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले अर्घाखाँचीमा आयोजित ‘पाणिनी तपोभूमि सम्मेलन’को उद्घाटन गर्दै पाणिनिको जन्मस्थल अर्घाखाँची विश्वव्यापी रुपमा ज्ञानको सुरुआत भएको पुण्यभूमि रहेको बताउनुभयो । “विश्वव्यापी रुपमा स्थापित व्याकरणका पिता महर्षि पाणिनिको जन्मभूमि रहेको यो स्थान पवित्र छ, पुण्य छ, देवभूमि हो, यहाँबाटै ज्ञानको सुरुआत भएको हो । अरु सबै व्याकरणहरुमा पाणिनिको सूत्रलाई आधार मानिएको छ”, प्रधानमन्त्रीले भन्नुभयो, “पाणिनिको व्याकरणपछि भाषा सरल बन्दै गयो, छन्दको सुरुआतसँगै सङ्गीत र लयको विकास भएको हो ।” उहाँले पाणिनिको योगदान असाधारण रहेको चर्चा गर्दै अष्टाध्यायीमार्फत संस्कृत व्याकरणको तीन हजार नौ सय ५९ सूत्र निर्माण गरिएको र ती सूत्रहरू आजको आधुनिक प्रविधि, विशेषगरी कृत्रिम बौद्धिकता ९एआई० विकासमा समेत प्रयोग भइरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले पाणिनिले मात्र नभई शिव, ऋषि, पतञ्जलि, र अन्य महर्षिहरूको तप, साधना, योग, आयुर्वेद र ज्ञान साधनाको केन्द्र भएको यस भूमिको समुचित प्रचारप्रसार गरी धार्मिक तथा पर्यटकीयस्थलको रूपमा विकास गर्ने जिम्मा सरकारले लिने स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले आजभन्दा करिब २५ सय वर्ष पहिले पाणिनि ऋषिले तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेको यस पुण्यभूमिको विकासमा नेपाल सरकारले प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसैक्रममा सम्मेलन उद्घाटन गर्न आएको स्पष्ट गर्नुभयो । दुईदिने सो सम्मेलनमा लुुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारी र पुष्पा भुसाल तथा लुम्बिनी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपाने, धर्म गुरु तथा संस्कृत भाषाका विद्वान् ज्ञानानन्द सरस्वतीलगायत भाषाविद्हरुको उपस्थिति रहेको छ । लुम्बिनी प्रदेश सरकारको उद्योग पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद्, पाणिनि गाउँपालिका र पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको संयुक्त आयोजनामा सम्मेलन भएको हो । अर्घाखाँचीको पूर्वी सिमानामा रहेको पाणिनि क्षेत्रबाट उत्तरतर्फ हिमशृङ्खला, दक्षिणतर्फ तराईका फाँटसहित भारतीय भूमि गोरखपुरसम्म देख्न पाइन्छ । गुराँसका रुखहरु तथा विभिन्न जडीबुटी पाइने यस क्षेत्र प्राकृतिक रुपमा सुन्दर देखिन्छ । पाल्पा जिल्लाको तीनधारेबाट केही मिनेट उकालो हिँडेपछि अर्घाखाँचीको पाणिनि क्षेत्र पुग्न सकिन्छ भने अहिले पक्की सडकबाटेको सुविधा समेत रहेको छ ।
मुस्ताङ: मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ कागबेनी गाउँभित्र भग्नावशेष अवस्थामा बाह्र सय वर्ष पुरानो ऐतिहासिक दरबार छ । पूरै सख्खर माटोले निर्माण भएको सात तलाको यो दरबार अहिले चार तलामा परिणत भएको छ । मुस्ताङको कागबेनीस्थित यस दरबारमा बसेर त्यसबेलाका राजाले शासन चलाउने गर्दथे । तत्कालीन समयमा दरबारमा बसेर जुम्लाबाट आएका राजाले राजकाज गरेको इतिहास रहेको स्थानीयवासी बताउँछन् । यस दरबार र यहाँ बसेर शासन गर्ने राजाको पर्याप्त सूचना भने अझै अनुसन्धानका क्रममा रहेको कागबेनीका स्थानीयको भनाइ छ । कागबेनी गाउँको गुजमुच्च एकापसमा ढुङ्गा र माटोले निर्मित पुराना घरको बीचमा ऐतिहासिक कागबेनी दरबार अवस्थित छ । यही दरबारमा बसेर त्यस समय जुम्लाबाट आएका राजाले लोमान्थाङका राजालाई चुनौती दिने गरेको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका पूर्वअध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले उल्लेख गर्नुभयो । मुस्ताङी राजाबाट पराजित भएपछि त्यसबेलाका राजाले दरबार छोेडेको भन्ने भनाइ रहेको उहाँले सुनाउनुभयो । पूर्वअध्यक्ष गुरुङका अनुसार जुम्लाबाट आएर शासन चलाएका त्यसबेलाका राजाले मुस्ताङको पान्डाखोलाबाट उपल्लो मुस्ताङको घिलिङसम्म शासन गरेका इतिहास छन् । त्यसबेलाका राजाले कागबेनीसहित फल्याक, धाकार्जुङ, पाक्लिङ, तिरी, पुराङ, झोङ, मुक्तिनाथ, छुसाङ, तेताङ, चैले, समर र घिलिङ गाउँसम्म आधिपत्य जमाएर शासन गरेका अभिलेखहरू रहेका उहाँले उल्लेख गर्नुभयो । “तत्कालीन राजाले कागबेनी दरबारमा बसेर प्रजाहरूसँग अत्याचार र दमन गर्दथे । हालको बारागुङ मुक्तिक्षेत्रलाई ९ङ्ज्याप बारागुङ० भन्ने गरिन्थ्यो र राजाले प्रजालाई खाना दिएर काममा लगाउथे । राजाको आदेश पालना नगरेमा राजाले जनतालाई शारीरिक यातना दिएर सजाय पनि दिने गर्दथे भन्ने कुरा अनुसन्धानबाट पत्ता लागेको छ”, पूर्वअध्यक्ष गुरुङले भन्नुभयो । उहाँले कागबेनीमा जुम्लाबाट आएका कुन राजाले शासन गरेका थिए भन्ने अहिलेसम्म खुल्न नसकेको बताउनुभयो । “हामीले यसको अभिलेख खोज्दैछौँ, धेरै विषयबा बारेमा स्रोत सङ्कलनको क्रममा छ”, पूर्वअध्यक्ष गुरुङले भन्नुभयो, “यो ऐतिहासिक दरबारलाई सङ्ग्रहालयको रूपमा विकास गर्ने उद्देश्य छ । तर, गाउँपालिका र स्थानीयवासीबाट यसमा पर्याप्त सहयोग हुन सकिरहेको छैन ।” करिब बाह्रसय वर्षअघि कागबेनी गाउँमा दूधको कुण्ड थियो । त्यही दूधकुण्ड मासेर त्यसबेलाका राजाले यहाँ एक सय आठ कोठा भएको साततले दरबार निर्माण गरेका कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मी गुरुङले उल्लेख गर्नुभयो । पूरै सख्खर माटोले निर्माण भएको उक्त दरबार हावाहुरी र घामपानीले जीर्ण बन्दै जाँदा ढलेर चार तला मात्रै बाँकी रहेको उहाँको भनाइ छ । तत्कालीन समयमा निर्मित दरबारको जग करिब दुई मिटर बढी रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । राजाको दरबार बनाउँदा जगलाई याकले थिचेर निर्माण गरिएको भन्ने कथनहरू रहेका उहाँले बताउनुभयो । बारागुङ मुक्तिक्षेत्रमा महत्त्वपूर्ण सांस्कृतिक पर्व यार्तुङमा गीत गाउँदा यही दरबार हुँदा सुरु भएको भातिन गीत अझै प्रचलनमा रहेको अध्यक्ष गुरुङले बताउनुभयो । मुस्ताङमा यो गीत कागबेनीका स्थानीयले मात्रै यार्तुङ पर्वमा गाउने गरेका भन्दै त्यसबाहेक अन्य गाउँमा भने प्रचलनमा नरहेको उहाँले जानकारी दिनुभयो । “यार्तुङ पर्वमा कागबेनीका स्थानीयले गाउने यो गीतमा कागबेनी दरबारलाई सम्मान गरेर दरबार निर्माणका विषयवस्तु समेटिएका हुन्छन्”, उहाँले भन्नुभयो । कागबेनी भग्नावशेष दरबारभित्र माटोबाट बनाइएका गुरु रिन्पोर्छे र अन्य देवीदेवताका मूर्तिहरूसँगै भत्किएका दरबारको झ्याल ढोकाहरू दरबारभित्रै अझै सुरक्षित राखिएका छन् । दरबारको बाँकी तलामा स्थानीय कामदार बस्ने गरेका छन् भने भित्र पशुचौपायाको खोरजस्तो बनेको छ । प्रसिद्ध धार्मिकस्थलका रूपमा रहेको मुस्ताङको कागबेनीमा अवस्थित यो दरबारका बारेमा अधिकांश पर्यटक बेखबर छन् । ऐतिहासिकता झल्किने कागबेनी दरबारलाई उचित संरक्षण नहुँदा जीर्ण अवस्थामा पुगेको छ । साततले राजाको पुरानो दरबारमाथिको तीन तलाको केही भाग ठिङ्ग उभिएको छ । बाँकी चार तला पनि जीर्ण अवस्थामा छ । कागबेनी दरबार अहिले संरक्षणको पर्खाइमा छ । पुरानो दरबारलाई खोज तथा अनुसन्धान गरेर संरक्षण गर्नसकेमा यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने स्थानीय बताउँछन् ।
बागलुङ: बागलुङको ताराखोला गाउँपालिका–३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत फेला परेका छन् । वडाध्यक्ष भण्डारी आफ्नै गोठमा झुण्डिएको अवस्थामा मृत फेला परेको ताराखोला गाउँपालिका–२ का वडाध्यक्ष एवम् प्रवक्ता भद्रबहादुर घर्तीले जानकारी दिए । ‘वडाध्यक्ष भण्डारी आज बिहान आफ्नै गोठमा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ’, वडाध्यक्ष घर्तीले भने, ‘अहिले घटनास्थलमा प्रहरी आइपुगेका छन्, थप विवरण पछि नै आउँला ।’ गत स्थानीय तहको निर्वाचनमा भण्डारी नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
बलेवा: बागलुङ कालिका मन्दिरमा चैतेदसैँमा मात्रै रु ४२ लाख भेटी सङ्कलन भएको छ । गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको मन्दिरमा चैत्राष्टमीको नवदुर्गामा दर्शनका लागि आएका दर्शनार्थीले उक्त भेटी चढाएका हुन् । कालिका मन्दिरमा यस पटकको चैतेदसैँ (नवरात्रि)को अवसरमा रु ४२ लाख ६३ हजार १५५ भेटी सङ्कलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । उहाँले यस वर्ष चैतेदसैँको दिन (अष्टमी)मा सबैभन्दा बढी भेटी सङ्कलन भएको बताउनुभयो । उक्त दिन रु ११ लाख ८१ हजार ५९० सङ्कलन भएको छ । खड्काले गतवर्ष चैतेदसैँको तुलनामा यस वर्ष रु एक लाख ९० हजार ५९७ बढी भेटी सङ्कलन भएको बताउनुभयो । गत वर्षको चैतेदसैँको अवसरमा मन्दिरमा रु ४० लाख ७२ हजार ५५८ भेटी सङ्कलन भएको थियो । मन्दिर दर्शन गर्ने भक्तजनले भेटी, नगद सहयोग र बलिलगायतबाट उक्त भेटी चढाएका हुन् । कालिका मन्दिरमा बडादसैँ र चैतेदसैँमा सबैभन्दा बढी भेटी सङ्कलन हुँदै आएको छ । चैतेदसैँ अवधिभर छ लाख बढी दर्शनार्थीले कालिका मन्दिरको दर्शन गरेको अध्यक्ष खड्काको भनाइ छ । उहाँले गत वर्षको चैतेदसैँमा भन्दा अहिले बढी दर्शनार्थीले मन्दिरको दर्शन गर्दा भेटी सङ्कलनमा वृद्धि भएको बताउनुभयो । अष्टमीका दिनमा मात्र रु तीन लाख भक्तजनले मन्दिरको दर्शन गरेको अध्यक्ष खड्काको भनाइ छ । चैतेदसैँमा बागलुङ कालिका मन्दिर परिसरमा यस वर्ष धार्मिक सम्मेलन र मेलाको आयोजना गरिएको थियो । अध्यक्ष खड्काले धार्मिक सम्मेलनले भक्तजनको वृद्धिमा सहयोग पुगेको बताउनुभयो । यस्तै मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई प्रसादका रुपमा खिर वितरण गरेको थियो । अध्यक्ष खड्काले दैनिक १०० देखि २०० लिटर दूध खपत गरिएको बताउनुभयो । “मन्दिरमा उपस्थित हुने भक्तजनलाई प्रसादको रुपमा खिर उपलब्ध गराएका थियौँ”, उहाँले भन्नुभयो, “प्रसाद वितरणमा रु पाँच लाख खर्च भएको छ ।” चैतेदसैँमा भक्तजनलाई सहजरुपमा पूजाआजाका लागि तीन वटा लाइनको व्यवस्था गरिएको थियो । “मन्दिरमा अघिपछि एक ढोकाबाट पूजाअर्चना गर्ने व्यवस्था हुन्छ”, उहाँले भन्नुभयो, “चैतेदसैँमा भक्तजनको भीड हुने हुँदा तीनवटै ढोकाबाट पूजा गर्न खुला गरिएको थियो ।” अध्यक्ष खड्काले मन्दिरमा नियमित २५ जना कर्मचारी भए पनि चैत्राष्टमीमा भक्तजनको सहजताका लागि २२ जना कर्मचारी थप गरेको बताउनुभयो । कालिका मन्दिर दर्शनको लागि काठमाडौँ, पोखरा, पर्वत, म्याग्दी, चितवनलगायत देशभरबाट भक्तजन आएका थिए । पछिल्लो समय चैतेदसैँका बेला १०–१५ प्रतिशत भारतीय भक्तजन पनि वृद्धि भएको अध्यक्ष खड्काले बताउनुभयो ।
काठमाडौं: छायाङ्कन सुरु भएको ३९ औँ दिनमा चलचित्र ‘कुस्ती’ को छायाङ्कन सकिएको छ । काठमाडौँ तथा आसपासका क्षेत्रमा छायाङ्कन गरिएको चलचित्रमा प्रेमसँगै स्वभाव भिन्नताले एकसाथ जीविकोपार्जन गर्न सङ्घर्ष गर्न बाध्य जोडीको कथालाई देखाइने निर्माता तथा निर्देशक अनिल योञ्जनले जानकारी दिनुभयो । “कलाकार र प्राविधिकको मेहनतका कारण हामीले निर्धारित समयमा छायाङ्कन सम्पन्न गर्न सफल भयौँ । एक अर्कासँग छुट्टिएर बस्न नसक्ने र सँगै रहन पनि नसक्ने भावनाको मधुर यात्रालाई यस चलचित्रमा समेटेका छौँ । भावनात्मकतासँगै हाँस्यरसले भरिएको प्रेम कथानक चलचित्र तयार गरेका छौँ”, उहाँले भन्नुभयो । चलचित्रमा मिरुना मगर, धीरज मगर, पुस्कर गुरुङ, भोलाराज सापकोटा, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापालगायत कलाकारले अभिनय गर्नुभएको छ । अभिनेत्री मगरले लेखिएको कथालाई चलचित्रको पर्दामा उतार्न कुनै कसर बाँकी नराखिएको बताउनुभयो । “सहरको एक आधुनिक जोडीको कथालाई चलचित्रमा दर्शकले हेर्न पाउनु हुनेछ । बाहिरबाट हेर्दा सामान्य देखिने विषयले एउटा दम्पतिको जीवनमा पार्ने असरलाई हामीले प्रस्तुत गर्नेछौँ”, उहाँले भन्नुभयो । उहाँले चलचित्र आगामी वर्ष विसं २०८२ को भदौमा प्रदर्शन हुने बताउनुभयो । चलचित्रमा उमङ्ग शाहीले छायाङ्कन, मित्रदेव गुरुङले सम्पादन, दीपक शर्मा, अनिल योञ्जन, कल्याण सिंहले सङ्गीत सिर्जना, शिशिर खातीले नृत्य निर्देशन गर्नुभएको छ ।
नेपालका लागि जापानका राजदूत माएदा तोरुले आज वीरगञ्जको धार्मिकस्थलको भ्रमण गर्नुभएको छ । राजदूत तोरुले आज सिमरा विमानस्थलबाट सिधै वीरगञ्जका ऐतिहासिक तथा धार्मिकस्थलको भ्रमण गर्नुभएको हो । राजदूत तोरुले बिहान वीरगञ्जको चर्चित गहवामाई मन्दिरको दर्शन गर्नुभएको छ । दूतावासका प्रतिनिधिसहित वीरगञ्ज आउनुभएका राजदूतले घडीअर्वा पोखरी र वीरगञ्जको मर्मतसम्भार गरिएको घण्टाघरको समेत अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले राजदूत तोरु आफ्नो काम विशेषले वीरगञ्ज आउनुभएको जानकारी दिनुभयो । “उहाँ वीरगञ्ज महानगरपालिकासँग सम्बन्धित काम र वीरगञ्जका विभिन्न धार्मिकस्थलको अवलोकन गरेको जानकारी पाएका छौँ”, उहाँले भन्नुभयो ।
अछाम: बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मंगलबार राति भएको आगलागीमा २७ वटा घर जलेका छन् । आगोबाट सात करोड रुपैयाँभन्दा बढीको धनमाल नष्ट भएको छ । मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आईएमई केन्द्रको सिलिन्डर विस्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको हो । जलेका २७ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए । अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले आगलागीबाट सात करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको जानकारी दिँदै पीडितहरुबाट क्षतिको विवरण यथाशीघ्र संकलन गरिने बताए ।