पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ ।    कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...

ढोरपाटन:   एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालनमा आएको छ । काठेखोला गाउँपालिका–७ रेशका तीर्थ गौतम र तारा शर्माले पछिल्लो दुई वर्षदेखि कालिका सबुन उत्पादन गर्दै आउनुभएको हो । उहाँहरु दुवै स्नाकोत्तर उत्तीर्ण हुनुहुन्छ ।  उहाँहरुलाई समकालीन साथीहरू विदेशिँदा तिमीहरू पनि विदेश जाऊ भनेर सल्लाह दिनेहरू नभेटिएका होइनन् । परिवारकै सदस्यले पनि विदेश जानुको विकल्प देखिँदैन भन्थे । तर तीर्थ र ताराले विदेशको विकल्प रोज्ने होइन, नेपालमै उद्यमी बन्ने सपना देखे । यतिबेला उनीहरू दुई वर्षको छोरासँगै आफ्नो उद्योगलाई हुर्काइरहेका छन् । स्वदेशमै स्वरोजगार सृजना गरेका तीर्थ र ताराको उद्योगमा अहिले छ जनाले रोजगारी पाएका छन् । बागलुङ बजारको हल्लनचोक नजिकै रहेको टिएण्डटी म्यानुफ्याक्चरिङ उद्योगबाट तीर्थ र ताराले भाँडा र कपडा धुने साबुन उत्पादन गरेर बागलुङको गलकोट, बुर्तिबाङ, कुश्मिसेरा, बरेङ र म्याग्दी र पर्वत जिल्लाका मुख्य सहरमा बिक्री गर्दै आउनुभएको छ । विसं २०७८ मा पर्यटन तथा उद्योग कार्यालय र बागलुङ नगरपालिकामा उद्योग दर्ता गरेका तीर्थ र ताराले २०८० सालबाट साबुन उत्पादन गरेर बिक्री गर्न थाल्नुभएको हो । रु ५० लाख लगानी गरेर सुरु गरेको उद्योगमा रु एक करोडभन्दा बढी लगानी पुगेको छ । निकट भविष्यमा सरफ, हार्पिक र कुलिनसमेत उत्पादन गर्ने लक्ष्य रहेको ताराले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले विदेश जाने लहर चलेको छ, तर हामीहरूले यही नै केही गर्नुपर्छ भन्ने सोच बनायौँ र साबुन उद्योग सुरु गरेका हाँै, नयाँ कामको सुरुआत आफैँबाट थालनी गर्नुपर्छ भन्ने मान्यता राख्छौँ, यहाँ साबुन उद्योग सञ्चालन हुँदा गाउँठाउँकै स्थानीयले नै रोजगार पाउँछन् ।” साबुन उत्पादनका लागि अधिकांश कच्चा पदार्थ भारत र केही काठमाडौँबाट खरिद गर्ने तीर्थले बताउनुभयो । आफूहरूले वार्षिक रु ५० लाख बराबरको कारोबार गर्ने उहाँको भनाइ छ ।  दुई सय ग्रामको कपडा धुने कालिका साबुनलाई रु ५० मा बिक्री गर्दै आएको उहाँ बताउनुहुन्छ । उत्पादनमा मात्र नभएर उत्पादित साबुनको गुणस्तरमा समेत ध्यान दिने गरेको उहाँले सुनाउनुभयो ।

इलाम:   जिल्लाको पयर्टन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल सुनसान बनेको छ ।  आर्थिक वर्ष २०८१/८२ मा ३३ उडान भरेको यो विमानस्थल अहिले जहाज उडानको पर्खाइमा छ । इलाम नगरपालिका–९ स्थित यो विमानस्थलमा उडान नियमित रुपमा गर्न जिल्लावासीले माग गरेका छन् । विसं २०७५ जेठ २१ गते तारा एयरको ट्वीनअटर जाहाजले पहिलो परीक्षण उडान सफल गरेको थियो । यहाँका जनताले नियमित रुपमा जहाड उडानको आश गरेका थिए । त्यसपछि नेपाल एयरलाइन्सले पनि २०७८ माघ २६ गते सफल परीक्षण उडान गरेको थियो । नियमित उडान नुहँदा इलामसहित पूर्वी पहाडी क्षेत्रका नागरिक अझै पनि झापा वा विराटनगर धाउन बाध्य छन् ।  यस विमानस्थलबाट गत जेठयता कुनै पनि उडान हुन सकेको छैन । सुरुआतमा तारा एयरको जहाजले बुधबार र शनिबार गरी सातामा दुईपटक उडान भरेको थियो ।  नगरपालिकाले इलामबाट काठमाडौँ फर्कँदा जहाजको सिट खाली भए त्यसको भाडा पुर्ताल गर्ने सम्झौता गरेको थियो । सो सम्झौता सकिएपछि पुनः नगरपालिकाले नेपाल एयरलायन्ससँग सम्झौता गरी २०७९ साल माघ १ गतेदेखि सोही तालिकामा इलाम–काठमाडौँ उडान गरेको थियो । तर त्यसपछिका वर्षमा नगरपालिकाले कुनै एयरलाइन्ससँग सम्झौता नगरेको प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले बताउनुभयो ।  “पहिला केही वर्ष नगरपालिकाले केही रकम व्यहोर्नेगरी तारा एयर र नेपाल एयलायन्ससँग सम्झौता गरी उडान हुँदै आएको रहेछ”, प्रमुख प्रशासकीय अधिकृत खड्काले भन्नुभयो, “अहिले त्यस्तो कुनै सम्झौता छैन, हामीले कुनै दायित्व व्यहोर्नुपर्ने छैन ।”  नगरपालिकासँगको सम्झौता सकिएपछि पनि नेपाल एयरलाइन्सले सातामा शनिबार एक दिन उडान भर्दै आएको थियो । तर एयरलायन्सले मौसमका कारण २०८२ जेठ १४ गतेदेखि उडान भर्न नसकेको विमानस्थल इलामका स्टेशन इन्चार्ज दिनेश सुन्दासले बताउनुभयो । तीन महिनायता सो विमानस्थल सुनसान बनेको छ । इलाम नगरपालिका–९ का वडाध्यक्ष गोपाल चौहानले विमानस्थल नियमित सञ्चालन गर्नुपर्नेमा आफूहरू लागिपरेको बताउनुभयो । “नगर कार्यपालिकाको बैठकमा पटकपटक कुरा उठाएर विमानस्थल सञ्चालनका लागि पहल भइरहेको छ”, उहाँले भन्नुभयो, “तर कहिले विमान बिग्रिएको त कहिले मौसमको कारण देखाउँदै विमानस्थल नियमित सञ्चालनको दीर्घकालीन समाधान हुनसकिरहेको छैन ।”  तीन सय २८ रोपनी क्षेत्रमा निर्माण भएको विमानस्थलका लागि २०५८ सालमा प्रक्रिया सुरु भएको थियो । विमानस्थलको छ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र भएको छ । तर स्थायी टर्मिनल भवन, पक्की पहुँचमार्ग, सुरक्षित तारबारलगायत संरचना अझै अधुरै छन् ।  स्थानीयबाट करिब रु चार करोडसहित अहिलेसम्म विमानस्थलका लागि रु २८ करोड बढी खर्च भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थल निर्माण हुने भएपछि स्थानीयले प्रतिव्यक्ति एकदेखि ४२ रोपनीसम्म जग्गा दिएका थिए ।  विसं २०६७ चैत १३ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गर्नुभएको विमानस्थलको २०७८ साल फागुन १ गते खनालले नै उद्घाटन गर्नुभएको थियो ।

काठमाडौं:  हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदरभन्दा दक्षिणतिर अवस्थित रहेको छ ।  सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा पर्ने देखिएको जल तथा मौसम विज्ञान विभाग पूर्वानमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार दिउँसो देशका पहाडी भागमा साधारणतया बदली तगा बाँकी भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भागका केही स्थान र बाँकी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । त्यसैगरी, आज राति कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली र बाँकी भागमा आंशिक बदली रहनेछ । कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान र बाँकी पहाड र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका तराई भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठसुला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

काठमाडौं: दोस्रो संस्करणको नेपाल पियिमर लिग (एनपिएल) को ट्रफी टुर पूर्वको विराटनगर शहरबाट सुरु हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबारदेखि ट्रफी टुर औपचारिक रूपमा सुरु हुने जानकारी दिएको हो । क्यानका सचिव पारस खड्काले ट्रफी टुर मेचीदेखि महाकालीसम्म पुग्ने बताए ।  ट्रफीलाई एनपिएलको आठवटै फ्रेन्चाइज टोलीले प्रतिनिधित्व गर्ने सहरमा लगिने छ । जसको सुरुवात शनिबार कोशी प्रदेशको विराटनगर किङ्ग्सबाट हुँदैछ । त्यसपछि साविक विजेता जनकपुर बोल्ट्सको प्रदेश मधेश प्रदेश, चितवन राइनोजको चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली हुँदै अन्तिममा सुदूरपश्चिम पुगेर ट्रफी टुर सकिने छ । क्यानले देशभर क्रिकेटको माहोल बनाउन ट्रफी टुर आयोजना गरेको हो । शुक्रबार आयोजित कार्यक्रमबिच ट्रफीको कीर्तिमानी पर्वतारोहीहरू फुन्जु जाङ्मी, मिङ्गमा ग्याल्जे शेर्पा र मिङ्गमा डेबिट शेर्पाले सार्वजनिक गरे । यसपटकको ट्रफी टुरलाई क्यानले ग्लोबल वार्मिङ र वतावरण संरक्षणको जनचेतनासँग जोडेको छ । एनपिएल मङ्सिर १ गतेदेति त्रिवि मैदान कीर्तिपुरमा सुरु हुनेछ । 

काठमाडौं:  नेपाल र बङ्गलादेशबिचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोल रहित बराबरीमा सकिएको छ ।  दशरथ रङ्गशालामा शनिबार साँझ भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने केही राम्रा अवसर गुमाएका थिए ।  मैत्रीपूर्ण खेलको नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले रेफ्रीलाई बल प्रदान गरी उद्घाटन गरेका थिए ।  यस खेल विश्व फुटबल महासङ्घ (फिफा) विन्डो अन्तर्गत आयोजना भएको हो । दुई टोलीबिचको दोस्रो खेल मङ्गलबार हुनेछ । 

ललितपुर:  नेपाल कम्युनिस्ट पार्टी (एमाले)को विधान महाविधेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र सकिएको छ। ललितपुर, गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हिजोदेखि जारी दोस्रो महाधिवेशनमा आज प्रस्तुत गरिएका सात वटा प्रतिवेदनमाथि समूहगत छलफल सम्पन्न भएसँगै आजको बन्दसत्र सकिएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। महाधिवेशनमा सहभागी प्रतिनिधिलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाएर १० वटा समूहमा विभाजन गरी छलफल गरिएको थियो। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आधारित प्रतिनिधिहरूले छुट्टाछुट्टै छलफल गरेका थिए। यस्तै, उपत्यका विशेष प्रदेश, विभिन्न जनसङ्गठन, सम्पर्क समन्वय समिति र प्रवास तथा केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचना तथा केन्द्रीय निकायले प्रतिवेदनमाथि छलफल गरेका थिए। प्रचार विभाग प्रमुख गौतमले आइतबार बिहान ८ बजेबाट सुरु हुने महाधिवेशनमा आज प्रतिवेदनमाथि छलफल गरेका समूहका टोली नेताले आआफ्नो समूहका तर्फबाट प्रतिवेदनमाथि सुझाव दिने कार्यक्रम रहेको जानकारी गराउनुभयो। उहाँले भन्नुभयो, “त्यसरी आएका सुझावका आधारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यसूची छ। भोलि नै समसामयिक प्रस्ताव पारित गर्दै महाधिवेशन सम्पन्न हुनेछ। ” महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।  यस्तै, केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा विजय सुब्बा आआफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मतसम्बन्धी प्रस्तावमा पनि समूहगत छलफल गरिएको थियो। महाधिवेशनमा भोलि केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गर्ने कार्यसूची रहेको एमाले प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो। ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प ‘समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासहित हिजोदेखि सुरु भएको महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा तीन सय १५ जना थप गरी दुई हजार ३४१ जनाको सहभागिता रहेको छ।  

भक्तपुर:   सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ ।  शनिबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले नेपालमै पहिलोपटक एकै व्यक्तिमा तेस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेर इतिहास रच्ने काम भएको बताए।  तेस्रोपटक  प्रत्यारोपण निकै जटिल रहने भए पनि सफल भएकाले अब मिर्गौला प्रत्यारोपणका लागि नेपालमै सम्भव छ भन्ने उदाहरण स्थापित भएको उनले बताए। यही भदौ ९ गते सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा माननीय लक्ष्मीकिशोर चौधरीको तेस्रोपटक मिर्गौला प्रत्यारोपण सम्पन्न गरी उनलाई शिनबार ‘डिस्चार्ज’ गरिएको डा श्रेष्ठले जानकारी दिए । ‘सामान्यतया मिर्गौला प्रत्यारोपण एकपटक सफल भएपछि लामो समयसम्म प्रत्यारोपित मिर्गौलाले काम गर्ने गर्दछ, तर इम्युनोलोजिकल अस्वीकार, सङ्क्रमण, क्रोनिक अलोग्राफ्ट, नेफ्रोप्याथीलगायत विविध समस्याले मिर्गौला असफल हुन सक्ने सम्भावना रहन्छ । यस्तो अवस्थामा दोस्रो प्रत्यारोपण गरिन्छ, तर तेस्रोपटक प्रत्यारोपण गर्नुपर्ने अवस्था भने अत्यन्तै दुर्लभ हुन्छ’, उनले भने, ‘प्राविधिक जटिलता, औषधीय चुनौती तथा दाता पाउन कठिनाइ हुने र जोखिम झनै बढी हुने हुँदा तेस्रो प्रत्यारोपण संसारमै सीमित मात्रामा हुने गरेको छ । मैले बेलायतमा यस्तो जोखिमपूर्ण प्रत्यारोपण गरेको अनुभव भएकाले नेपालमा  सम्भव भएको हो । अब हामी जटिल प्रत्यारोपणका लागि सक्षम छौँ ।’ चौधरीको पहिलो मिर्गौला प्रत्यारोपण भारतको लखनउमा गरिएको थियो भने विसं २०७२ मा दोस्रो र हाल तेस्रो प्रत्यारोपण सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डा। पुकारचन्द्र श्रेष्ठकै नेतृत्वमा गरिएको हो । चौधरीको तेस्रो प्रत्यारोपण ‘पेयर एक्सचेन्ज’ प्रणालीअन्तर्गत गैरनातेदारबीच अङ्ग साटासाट गरी गरिएको उनले जानकारी दिए। नेपालमा एकै व्यक्तिमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण वीर अस्पतालमा डा। श्रेष्ठकै नेतृत्वमा सन् २०१० मै सुरु भएको र तेस्रो प्रत्यारोपण भने अत्यन्तै दुर्लभ उपलब्धि भएको केन्द्रले जनाएको छ । प्रत्यारोपण केन्द्रले स्थापनाको १३ वर्षमा एक हजार ५०२ जनाको सफल मिर्गौला प्रत्यारोपण तथा ३५ जनामा कलेजो प्रत्यारोपण सम्पन्न गरिसकेको जनाएको छ ।

पोखरा:   एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा मधेश युनाइटेडले पोखरा निन्जाजमाथी सहज जित निकालेको छ ।  पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको तेस्रो खेलमा मधेशले पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । मधेशले पहिलो र दोस्रो सेट समान २५–१९ र तेस्रो सेट २५–२३ ले जित निकाल्यो । मधेशको यो पहिलो जित हो भने पोखराको दोस्रो हार हो ।  आजै भएको पहिलो खेलमा ललितपर क्विन्सले काठमाडौं स्पाईकर्सलाई ३–० सोझो सेटमा पराजित गरेको थियो । आजको दोस्रो खेलमा कर्णाली यशविशले लुम्बिनी लाभाजलाई ३–१ को सेटले हराएको थियो । लिगको तेस्रो दिन आइतबार दुई खेल हुनेछ । पहिलो खेल मधेश युनाइटेड र काठमाडौं स्पाईकर्सबिच दिउँसो २ बजेबाट सुरु हुनेछ ।  भोलिको दोस्रो खेल पोखरा निन्जाज र लुम्बिनी लाभाजबिचको खेल ४ बजेबाट सुरु हुनेछ । इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग भदौं २८ गतेसम्म चल्नेछ ।

पोखरा: खौलालाँकुरी पोखरा सम्पर्क समाजले शनिवार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ४८ युनिट रगत संकलन भएको छ ।  समाजले गत वर्षदेखि रक्तदान कार्यक्रम सुरु गरेको छ । सोही कार्यक्रमलाई निरन्तरता दिदै यसवर्ष पनि रक्तदानको आयोजना गरेको हो । समाज पर्वतको कुश्मा नगरपालिका–१३ खौलालाँकुरीमा जन्मेर पोखरा आई बसेकाहरुको एउटा साझा संस्था हो ।  रक्तदान कार्यक्रमको पोखरा महानगरपालिका–८ का वडाध्यक्ष रुद्रनाथ बरालले पहिलो रक्तदाता समाजका संस्थापक सहसचिव प्रकाश सुवेदीलाई ब्लड बैंक हस्तान्तरण गरी सुभारम्भ गर्दै समाजले सामाजिक क्षेत्रमा गर्दै आएको कामको प्रशंसा गरे ।  साथै सामाजिक कामलाई निरन्तरता दिनुपर्नेमाम जोड पनि उनले दिए । ‘रक्तदान जस्तो जीवन दानको अभियान सञ्चालन गर्नु ठूलो पुण्यको काम हो’, वडाध्यक्ष बरालले भने, ‘यस्ता सामाजिक कामहरुलाई समाजले निरन्तरता दिइरहोस् । मेरो सधै साथसहयोग रहनेछ ।’  समाजका अध्यक्ष पिताम्बर पौडेलले सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे ।  मन, वचन र कर्मले सहयोग गरेमा सामाजिक कामले सार्थकता पाउने भन्दै उनले समाज निरन्तर रुपमा सामाजिक गतिवविधिमा सक्रिय भएको र समाजका सदस्यहरुको सहयोगले सबै कार्यक्रमहरु सफल हुँदै गएको बताए ।   समाजका वरिष्ठ उपाध्यक्ष एवं रक्तदान कार्यक्रमका संयोजक लालप्रसाद शर्माले स्वागत गर्दै संस्थाको परिचय दिएका थिए ।  उनले समाजले आगामी वर्षहरुमा पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिइने बताए ।  समाजका संस्थापक अध्यक्ष टंकबहादुर कार्की क्षेत्रीले समाज स्थापना भएको छोटो अवधिमै विभिन्न सामाजिक काम गर्दै अगाडि बढ्न सकेकोमा खुशी व्यक्त गरे । सल्लाहकार दुर्गाराज सुवेदीले समाजले सराहनीय कार्यहरु गर्दै आएको भन्दै सबै साथसहयोगले नै यो संभव भएको बताए ।  कार्यक्रममा स्केटीङका राष्ट्रिय खेलाडी आशिष श्रेष्ठलगायतले रक्तदान गरेका थिए । कार्यक्रमको सञ्चालन समाजका सचिव प्रेम सुवेदीले गरेका थिए ।