पोखरा:   उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ । पदयात्रा र धार्मिक हिसावले हि...

गण्डकी:   जब चैतेदसैँ आउँछ अनि सम्झिइन्छ, उही पुरानो गीत ‘आँटेको पु(याइदेउ रेशम बागलुङ कालिका...’, २०५४ सालतिर गायक शुभराम भारी र गायिका बिमाकुमारी दुराले यो गीत गाउनुभएको थियो ।  त्यसयता पनि कालिका भगवतीको महत्व र महिमा उजागर गर्दै कैयन गीत रचिए र गाइए । गीतले भनेझैँ मनले आँटेताकेको पूरा हुने विश्वासमा चैतेदसैँ पारेर यस मन्दिरमा पूजाआजा गर्नेको लर्को लाग्छ ।  गुठी व्यवस्थापन समितिको दाबीअनुसार चैत्राष्टमीका दिन शनिबार मात्रै करिब दुई लाख भक्तजनले बागलुङस्थित प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरको दर्शन गरे ।  आइतबार रामनवमीमा पनि बिहानैदेखि मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्यो । चैतेदसैँको नवरात्रभर विशेष पूजाआज हुने भएकाले टाढाटाढाबाट भक्तजन यस मन्दिरमा आउने गर्छन् । मन्दिर परिसरमा चलिरहेको चैत्राष्टमी मेलाले पनि दर्शकलाई आकर्षित गरिरहेको समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।  उहाँका अनुसार विसं १५९१ मा मन्दिर स्थापना भएपछि चैतेदसैँ मेलाको परम्परा बसेको हो । “चैतेदसैँमा लाग्ने यो देशकै ठूलोमध्येको मेला हो, यो कालिका भगवतीको महिमासँग जोडिएको छ”, अध्यक्ष खड्काले भन्नुभयो, “सदियौँदेखि चल्दै आएको चैतेदसैँ मेलालाई निरन्तरता दिँदै आएका छौँ ।” तत्कालीन पर्वत राज्यका राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरीसँग विवाह गर्ने क्रममा दाइजोस्वरुप ल्याएको माझकी देवीको मूर्तिलाई अहिले कालिका भगवती मन्दिर रहेको ठाउँमा प्रतिस्थापन गरी पूजापाठ सुरु गरिएको किम्वदन्ती छ ।  कालिका भगवतीको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको अध्यक्ष खड्काले बताउनुभयो । स्थानीयवासी भरत खड्काले कालिका भगवती मन्दिर र चैतेदसैँ मेला एकअर्कामा अभिन्न रहेको बताउनुभयो ।  “पाल्पाली राजाले आफूले पूजाआजा गर्दै आएको माझकी देवीको मूर्ति छोरीलाई दाइजो दिएको र सो मूर्तिलाई पर्वत राज्यमा ल्याउने क्रममा यहाँ डोली बिसाएको इतिहासमा उल्लेख छ”, उहाँले भन्नुभयो, “पछि डोली उठाउन खोज्दा कसैले उठाउन नसकेपछि देवीको मूर्तिलाई यहीँ राखेर पूजापाठ सुरु गरिएको किम्वदन्ती छ, तिनै माझकी देवीलाई अहिले कालिका भगवतीका रुपमा पुजिन्छ ।”  सुरुमा खरले छाएको झुप्रोमा मन्दिर रहेको र पछि विभिन्न समयमा पुनःनिर्माण हुँदै मन्दिरले अहिलेको स्वरुप पाएको हो । यहाँ बर्सेनि बडादसैँ र चैतेदसैँमा मन्दिरमा विशेष मेला लाग्ने गरेको छ ।  देशका विभिन्न भूभागदेखि भारतसम्मका धार्मिक पर्यटक कालिका मन्दिर दर्शनका लागि आउने गर्छन् । मन्दिरमा बाह्रै महिना नियमित पूजाआजा हुने समितिका उपाध्यक्ष निशान खड्काले जानकारी दिनुभयो । साउन र पुस महिनामा भने बलि नचढ्ने उहाँको भनाइ छ । “औँशी र एकादशीमा पनि मन्दिरमा बलि चढ्दैन, नियमित पूजाआजा भने दैनिक हुने गर्छ”, उहाँले भन्नुभयो, “मङ्गलबार र शनिबार भक्तजनको बढी भीड हुन्छ ।” मन्दिरमा राँगा, सुँगुर, बोका, कुखुरा, हाँस आदिको बलि दिने चलन छ । इतिहासका अध्येता काजी गाउँले श्रेष्ठले कालिका भगवतीसँग जोडिएको चैतेदसैँ मेलाले लामो इतिहास र परम्परा बोकेको बताउनुभयो । श्रेष्ठले ‘एक पैसा कहिलेलाई बागलुङको चैतेदसैँलाई...’ भन्ने गीत पनि प्राचीनकालीन भएको बताउनुभयो । उहाँका अनुसार पर्वत राज्य नेपाल राज्यमा गाभिएपछि म्याग्दीको बेनीबाट बागलुङ सरेको टक्सारमा धातुका पैसा छापिने गरेको थियो ।   “त्यो बेलामा एक पैसाको पनि ठूलो महत्व थियो, चैतेदसैँ मेलामा किनमेल गर्न जान पैसाको जोहो गर्नुपथ्र्यो”, श्रेष्ठले भन्नुभयो, “गाउँबाट किसानहरु स्थानीय उत्पादन लिएर मेलामा बेच्न आउँथे, भारतीय व्यापारी पनि आउने गर्थे ।”  पहिले भारतदेखि लुगाफाटा, मसला, मिश्री, नरिबललगायतका सामान बेच्न व्यापारी चैतेदसैँ मेलामा आउँथे । स्वतःस्फूर्त रुपमा लाग्ने मेला दुई हप्तासम्म चल्ने गरेको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार माटो, धातु र काठका भाँडाकुँडा बेच्न छुट्टाछुट्टै बिक्रीकक्ष हुन्थे । मेलामा गाउँगाउँबाट झर्ने युवायुवती सात दिन सातरातसम्म दोहोरी (झ्यारे) गाएर बस्ने गर्थे ।  गाउँका व्यापारीले लेकाली भेगमा पाइने निगालाको चोयाबाट बन्ने स्थानीय उत्पादनलाई मेलामा बिक्री गर्दै आएका छन् । मेलामा कला, संस्कृति, खेलकुद, व्यापार र पर्यटन प्रवर्द्धनका विविध गतिविधि समेटिएको समितिका अध्यक्ष एवं मेलाका संयोजक खड्काले बताउनुभयो ।  मेलास्थलमा स्थानीय उत्पादनको बिक्रीकक्षदेखि रमाइलो मेलासम्म राखिएको छ । परम्परागत रुपमा चल्दै आएका लोकदोहोरी, भलिबल, छेलोलगायतका प्रतियोगिताले मेलामा आकर्षण थपेका छन् । 

पोखरामा आगामी २६ गते आइटीको विकसित पाठ्यक्रमबारे छलफल हुँदैछ  ।   बेलायतको एनसिसी एजुकेशनसँगको सहकार्यमा नेपाल भित्रिएको आइटीको विकसित पाठ्यक्रमको बारेमा विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरुसँग छलफल गरिने गण्डकी प्रदेशका प्र्रतिनिधि किसान सुनारले जानकारी दिए  ।   उनका अनुसार गण्डकी प्रदेशको जिम्मेवारी तेजारथ ग्रुपले लिएको छ । उक्त छलफलमा कक्षा १ देखि १२ सम्म सञ्चालन हुने आइटी करिकुलमबारे अन्तरक्रिया हुनेछ ।    डिजी स्कुलका सिइओ राजु बाँनियाले पछिल्लो सयम सूचना र प्रविधिको युग भएकाले आइटीको क्षेत्रमा परिस्कृत पाठ्यक्रम आवश्यक भएको बताउदै उक्त करिकुलम बेलायतको एनसिसीसँग सहकार्य गरेर नेपाल भित्राइएको जानकारी दिए ।    ‘एक्काइसौं शताब्दी सूचना र प्रविधिको युग भएकाले अहिले नेपालमा भएको भन्दा परिस्कृत र विकसित आइटी करिकुलम यहाँ भित्राएका हौं, उनले भने, ‘आजको समयानुसार विद्यार्थीहरु विश्व बजारमा बिक्न सक्ने खालको यो आइटी करिकुलम छ । यसको विविध पक्षबारे कनेक्ट एण्ड लिडमा छलफल हुनेछ ।’      डिजी स्कुलले भित्राएको आइटी करिकुलम अहिले निजी स्कुलहरुमा भएको कम्प्युटर कोर्स भन्दा नितान्त पृथक र विकसित भएको बानियाँले बताए  ।   सो कार्यक्रममा करिकुलमको फाइदा तथा लागत र विविध पक्षहरुका बारेमा गण्डकी प्रदेश तथा आसपासका विद्यालयका प्रतिनिधिहरुसँग वृहत अन्तरक्रिया हुुने बताइएको छ । 

पोखरा:  कास्कीको पर्यटकीय गाउँ ल्वाङमा आजदेखि ऐतिहासिक ३१ औं चैत्र दशैं मेला सुरु भएको छ ।   ग्रिनहिल युवा क्लबको आयोजनमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ ल्वाङमा ‘चैत्र दशैं मेलाको निकाश, पर्यटन संस्कृति र ग्रामिण पर्यटनको विकास’ भन्ने नारासहित मेला सुरु भएको हो ।   मेलाको उद्घाटन गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश बहादुर केसीले गरे ।    सो अवसरमा बोल्दै मन्त्री केसीले ल्वाङगाउँ पुग्ने सडक स्तरोन्नतीका लागि उचित बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए  ।      उनले गण्डकी प्रदेश संस्कृति र प्रकृतिमा धनि रहेको बताउदै प्रवद्र्धनको आवश्यकता रहेको बताए ।    उनले ल्वाङगाउँ आन्तरिक तथ बाह्य पर्यटकको रोजाईको गन्तव्य भएको उल्लेख गर्दै पूर्वाधारको विकास जरुरी देखिएको धारणा राखे ।   कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङ, पूर्वाधार विकास कार्यालयका प्रमुख सोभित खड्का, नेकपा एमाले कास्कीका उपसचिव लाल बहादुर परियार, ल्वाङ समितिका अध्यक्ष हितकाजी गुरुङ, एक्याप ल्वाङ​का प्रमुख लेखनाथ गौतम, स्थानीय समाजसेवी तथा पर्यटन व्यवसायीहरु लगायतले बोलेका थिए ।   सोही मेलाकै अवसरमा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका भौतिकमन्त्री केसीले भौतिक मन्त्रालयबाट विजियोजित ५ करोडको लागतमा निर्मित भाङखोला–ल्वाङको (१ हजार २ सय मिटर ढलान) सडकको उद्घाटनसमेत गरेका थिए ।   क्लबका अध्यक्ष सुजन गुरुङको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा प्रताप गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए । भने, कार्यक्रम सञ्चालन तिर्थ गुरुङले गरेका थिए ।   औपचारिक कार्यक्रमसँगै स्थानीय दुई भेट्रान्स टिमबीच प्रतिस्पर्धा भएको थियो  ।   सोमबारदेखि खेल सञ्चालन हुने   यही २७ गतेसम्म सञ्चालन हुने सो मेलामा भोलि (सोमबार) देखि भलिबल प्रतियोगिता सञ्चालन हुुने खेल संयोजक अनोद गुरुङले बताए ।   उनका अनुसार क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि आज (आइतबार) सम्म टिम दर्ता भइरहेको छ ।   अहिलेसम्म पुरुषतर्फ करिब १० टिमको दर्ता भएको  छ ।    पुरुष भलिबलतर्फको विजेता टिमलाई नगद  १ लाख १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने संयोजक गुरुङले बताए ।   उनका अनुसार उपविजेता टिमलाई नगद रु ६० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । तृतीय स्थान हाँसिल गर्ने टिमले नगद रु २० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । भने, सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु १० हजारले पुरस्कृत गरिनेछ ।   यसैगरी महिलातर्फ प्रथम हुने टिमलाई नगद रु २० हजार, द्वित्तियलाई १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणत्र प्रदान गरिने छ  ।   उनका अनुसार सो मेलामा छेलो हान्ने, रस्साकस्सी, म्युजिकल चियर,बेलुन फुटाउने प्रतियोगिता, विविध साँस्कृतिक कार्यक्रम, लाइभ कन्र्सट, ख्यातीप्राप्त लोक तथा दोहोरी कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ ।

पोखरा महानगर पालिका वडा नं २० मा मासिक/साप्ताहिक दौड अन्तर्गत विद्यालयस्तरीय छात्र/छात्रा ५ र ३ किमि दौड यहि चैत्र २९ गते शनिबार हुने भएको छ ।   नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजना तथा पोखरा महानगर पालिका वडा नं २० को समन्वयमा उक्त दौड आयोजना हुन लागेको मञ्चका अध्यक्ष दिलबहादुर गुरूङले जानकारी दिएका हुन् । सो दौड पोखरा रंगशाला बाहिर पहिलो पटक आयोजना हुन लागेको हो ।   पोखरा महानगर पालिका भित्र रहेका ३३ वटै वडामा मासिक/साप्ताहिक दौड आयोजना गर्ने गरी मञ्चले आफ्नो योजना अघि बढाएको सो कार्यक्रमका संयोजक तेज बहादुर गुरूङले जनाएका छन् ।   उनले भने–“यो हाम्रो मात्रै पहलले हुँदैन यसमा विशेष गरी पोखरा महानगरपालिका, सरोकारवालाहरु, विद्यालयहरु विभिन्न संघ संस्थाहरुको सहकार्य आवश्यक छ । स्वस्थ्य नागरिक उत्पादनका लागि दौड संस्कृतिको विकास र खेलाडी उत्पादन यसमा जोडिएको महत्वपूर्ण विषय हो ।”   मञ्चले पोखरालाई दौडै दौडको शहरमा अघि बढाउन तथा यूवा खेलाडी उत्पादन हेतु विगत तीन महिना देखि निरन्तर विद्यालयस्तरीय छात्र÷छात्रा दौड आयोजना गर्दै आएको छ ।   पोखरा रंगशालामा सम्पन्न तीन संस्करणको दौडमा विभिन्न विद्यालयका करिव ३ हजार भन्दा बढिको सहभागिता भइसकेको छ ।   वडा नं २० भलाममा आयोजना हुने उक्त प्रतियोगिताले त्यस क्षेत्रको पहिचान बनाउन समेत योगदान पुग्ने बताउँदै दर्ता खुल्ला गरिएको मञ्चले जनाएको  छ । 

नवलपुर:  सुस्ता गाउँपालिका- ५ पक्लिहवास्थित नरायणी नदीमाथि निर्माण गरिएको झोलुंगे पुल सञ्चालनमा आएपछि स्थानीय स्वरोजगार बन्दै गएका छन् ।   एक वर्षअघि यहाँ झोलुंगे पुल सञ्चालनमा आएपछि स्थानीयले विभिन्न किसिमका पसलमार्फत रोजगारीका अवसर सिर्जना गर्न थालेका हुन् ।   यहाँ निर्मित झोलुंगे पुल हेर्न जिल्लाका साथै भारतबाट पनि पर्यटक आउन थालेपछि स्थानीयद्वारा सञ्चालित पसलमा व्यापार बढ्न थालेको सुस्ता- ५ का वडाध्यक्ष प्रभुनाथ यादवले बताए ।   ‘यहाँ झोलुंगे पुल सञ्चालनमा आएको एक वर्ष भएको छ । हालसम्म होमस्टे (घारवास) तथा व्यवस्थित सवारी पार्किङस्थल बनाउन सकेका छैनौँ । स्थानीयले स-साना पसल सञ्चालन गरी स्वरोजगार बन्दै गएका छन् । यसले स्थानीयको आर्थिकस्तर सुधार हुँदै गएको छ,’ उनले बताए ।   वडाध्यक्ष यादवले आन्तरिक तथा छिमेकी मुलुक भारतको बिहार, उत्तर प्रदेशलगायत क्षेत्रबाट र न्यून संख्यामा अन्य मुलुकबाट पर्यटक यहाँ आउन थालेको बताए । दैनिकी एक हजारभन्दा बढी पर्यटक झोलुंगे पुल अवलोकन गर्न आउन थालेका जनाउँदै उनले स्वरोजगार बनेसँगै स्थानीयको दैनिकी फेरिन थालेको उल्लेख गरे।   सुस्तामा झोलुंगे पुल निर्माणपछि यो क्षेत्र थप आकर्षित हुनुका साथै पर्यटकीय गतिविधि चलायमान बन्दै गएको गाउँपालिकाका अध्यक्ष टेकनाराण उपाध्यायले बताए । हाल स-साना पसल सञ्चालनमार्फत स्थानीयले आम्दानी गरिरहेकाले आगामी दिनमा घरवास सञ्चालन गरी पर्यटकलाई बस्न, खान सहज व्यवस्थापनसहित रोजगारीका नयाँ अवसर सिर्जना गर्ने योजना पालिकाले बनाएको उनको भनाइ छ ।  

संयुक्त राज्य अमेरिकाको मध्य–पूर्वी क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । राष्ट्रिय मौसम सेवाले शनिबार आँधीको चेतावनी जारी गरेको थियो ।   अर्कान्सासदेखि ओहायोसम्म फैलिएको आँधीबेहरीले भवनहरूमा क्षति पुर्‍याएको, सडकहरू बाढीमय भएको र हालैका दिनहरूमा दर्जनौँ चक्रवात उत्पन्न भएका छन् ।   टेनेसी राज्यको पश्चिमी भागमा १० जनाको मृत्यु भएको राज्यका अधिकारीहरूले बताएका छन् ।   केन्टुकी राज्यका गभर्नर एन्डी बेशियरका अनुसार बाढीका कारण एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।   सामाजिक तथा स्थानीय सञ्चारमाध्यममा शेयर गरिएका तस्वीरमा आँधीका कारण कैयौँ राज्यमा व्यापक क्षति पुगेको, घरहरू भत्किएको, रुखहरु ढलेको, बिजुलीको तार ढलेको र कारहरु पल्टिएको देखिएको छ ।   राष्ट्रिय मौसम सेवा (एनडब्ल्यूएस) ले मध्य–पूर्वी क्षेत्रका केही भागहरूमा आइतबारसम्म ‘व्यापक रूपमा आकस्मिक बाढी” आउन सक्ने चेतावनी दिँदै ‘जनजीवन र भौतिक संरचनामा क्षति हुने ठूलो खतरा रहेको’ चेतावनी दिएको छ ।   आँधीका कारण मिसौरीमा दुई र इन्डियानामा एक जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यम र अधिकारीहरूले जनाएका छन् ।   अर्कान्सास राज्यको लिटिल रकस्थित एक घरमा पाँच वर्षीय एक बालक मृत अवस्थामा फेला परेको राज्यको आपतकालीन व्यवस्थापन निकायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।   केन्टुकीका गभर्नर बेशियरले शनिबार सामाजिक सञ्जालमा लेखेका छन्, “धेरै समुदायमा बाढी रेकर्ड स्तरमा पुगेको छ, राज्यका बासिन्दाहरूलाई ‘यात्रामा ननिस्किन र जल क्षेत्रको नजिक नजान’ आग्रह गरिएको छ ।   अर्कान्सास र टेनेसीमा आइतबार बिहानसम्म एक लाखभन्दा बढी ग्राहक विद्युत्विहीन रहेको ट्र्याकिङ वेबसाइट ‘पावर आउटेज डट कम’ले जनाएको छ ।   एनडब्लुएसले टेनेसी भ्याली र लोअर मिसिसिपी भ्यालीका केही भागमा आइतबार मध्यमदेखि गम्भीर आँधीबेहरी आउन सक्ने जनाएको छ ।  

काभ्रेपलाञ्चोकको कोशीपूर्वका दुई सडक स्तरोन्नति भइरहेका छन्।   अरनिको राजमार्गसँग जोडिएको दोलालघाट–फलाँटे–कोलाँती–पोखरीचौरी–गुराँसे खण्डअन्तर्गत दोलालघाट–फलाँटे–कोलाँती खण्ड र सोही खण्डसँग जोडिएको भुम्लु गाउँपालिकास्थित हबेली–सापिङ–सिम्थली–बेखसिम्ले–वाफल खण्ड स्तरोन्नति भइरहेको हो।   बागमती प्रदेश सरकारको ग्रामीण सडक सञ्जाल सुधार आयोजना (एएफ) आयोजना कार्यान्वयन इकाई भक्तपुरमार्फत ६.५ किलोमिटर सडक विस्तार भइरहेको आयोजना कार्यालयले जनाएको छ।   गत असोजको बाढीपहिरोले करिब १.५ किमी सडक क्षतिग्रस्त बनाएपछि उक्त क्षेत्रमा नयाँ डिजाइन गर्नुपर्ने आयोजना कार्यालयका कार्यक्रम व्यवस्थापक उषेश श्रेष्ठले जानकारी दिए। नयाँ डिजाइन नहुँदासम्म यो क्षेत्रमा काम गर्ने अवस्था नरहेको उनको भनाइ छ।   श्रेष्ठका अनुसार विस्तारित सडकमा हाल नाली, टेवा पर्खाल, ग्याबिन निर्माण अन्तिम चरणमा पुगेको छ। आगामी सातादेखि ग्रेडिङको काम गर्नेगरी निर्माण कम्पनीले तयारी गरिरहेको उनले बताए। एसियाली विकास बैंक (एडिबी)को लगानीमा बन्धन–भगवती निर्माण कम्पनीले २०८० चैत १३ गते दुई वर्षमा सम्पन्न गर्नेगरी रु १२ करोडमा ठेक्का लिएको थियो।   हालसम्म २५ प्रतिशत आर्थिक प्रगति र ४० प्रतिशत भौतिक प्रगति भएको आयोजना कार्यालयले जनाएको छ। चालु आर्थिक वर्षभित्र असपाल्ट प्रविधिबाट कालोपत्र गर्ने तयारी गरिएको निर्माण कम्पनीले जनाएको छ।   यसैबीच, गत साता बागमती प्रदेश सभाका सांसद लक्ष्मण लम्सालले निर्माणाधीन सडक अनुगमन गरी तोकिएको समयभित्रै काम सम्पन्न गर्न आयोजना तथा निर्माण कम्पनीका प्रतिनिधिलाई आग्रह गरेका थिए।   हबेली–सापिङ–सिम्थली–बेखसिम्ले–वाफल सडकअन्तर्गत हबेली–सापिङ खण्डमा कालोपत्र सुरु गरिएको छ। प्रदेश सरकारको बजेटबाट स्तरोन्नति थालिएकामा शुक्रबार ‘प्राइम’ हालेपछि आजदेखि पिच बिछ्याउने काम थालिएको निर्माण कम्पनीका व्यवस्थापक प्रदीप गौतमले जानकारी दिए।   उनका अनुसार पहिलो चरणमा तीन किमी २०० मिटर असपाल्ट प्रविधिबाट कालोपत्र र चार सय मिटर ढलानको काम हुनेछ। र    नौ करोड ३२ लाख ६५ हजार ५०० मा पूर्वाधार विकास कार्यालय धुलिखेलले गत मङ्सिरमा पिएसके–एभरेष्ट जेभीसँग ठेक्का सम्झौता गरेको थियो। उक्त आयोजना आगामी मङ्सिरसम्म सम्पन्न गर्ने समयसीमा तोकिएको छ।

काठमाडौं:  रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका राम मन्दिरमा भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ ।  यस उपलक्ष्यमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिपारिको राम मन्दिर, गोकर्णेश्वर नगरपालिका वडा नं ९ आरुबारीस्थित राम मन्दिर, राजधानी र देशभरका अन्य राम मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । यस अवसरमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर बिहान ४ः०० बजेदेखि नै भक्तजनका लागि खुला गरिएको मन्दिर व्यवस्थापन समितिका कार्यालय सचिव वसन्त खड्काले राससलाई जानकारी दिनुभयो ।  श्रीरामचन्द्र मन्दिर बत्तीसपुतलीमा आज नेपालका चर्चित कलाकारबाट भक्तिसङ्गीत कार्यक्रमको आयोजना पनि गरिएको उहाँले सुनाउनुभयो । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ ।   त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको थियो । त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मिकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ । आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठ बास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ ।  अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसको नास गर्नुभएको थियो ।  ‘लोक रञ्जनात् राजा’ अर्थात् जनतालाई खुसी पार्ने नै राजा हुन् भन्ने शास्त्रीय मान्यतालाई श्रीरामले पूरा गर्नुभएको थियो । यसैले उहाँलाई अहिले पनि आदर्श राजाका रूपमा स्मरण गरिन्छ । रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले यो लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने रामायणलगायत धर्मग्रन्थमा उल्लेख छ । आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिनुभएकाले उहाँको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ । पितृ मातृ भक्त, ठूलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रूपमा रामले अयोध्यामा राज्य गर्नुभएकाले उहाँको शासनकाललाई अहिले पनि रामराज्यका रूपमा स्मरण गरिन्छ । सृष्टिमा दुर्जनको अन्त्य गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुले रामका रूपमा मनुष्यलोकमा जन्म लिनुभएको हो । रामकै जस्तो गुण हामीमा पनि प्राप्त होस् भन्ने कामनाले रामनवमी पर्व मनाउने गरिएको हो ।

अर्घाखाँची: अर्घाखाँचीको मालारानीमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने दुई जना घाइते भएका छन् ।  मालारानी गाउँपालिकाल–३ लुटिपोखरी–खनदह भित्री सडकखण्डमा  लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु२च २९९० नम्बरको जीप (सिङ्गल क्याब) अनियन्त्रित भई आज विहान दुर्घटना भएको हो । दुर्घटनामा मालारानी–४ का जीपचालक २२ वर्षीय दिलीप खनाल र २१ वर्षीय बालकृष्ण रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारीदिनुभयो । दुर्घटनामा मालारानी–४ का अन्दाजी १७ वर्षीय भुवन पोख्रेल र १७ वर्षीय वसन्त पोख्रेल घाइते भएका छन् । ती घाइतेलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ‘रेफर’ गरिएको छ । जीप सडकबाट झन्डै २०० मिटर तल खसेको र घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मल्लले बताउनुभयो  ।