नेपालको पर्यटन राजधानी पोखरा शिक्षाको हब बन्दै गएको छ ।   कास्कीले शिक्षा विकासको लामो इतिहास बोकेको काछ । पछिल्लो समय पोखरा शैक्षिक गन्तव्यका रुपमा पनि चिनीन थालेको छ ।   पोखरा र यस आ...

पोखरा:   कास्कीको विरौटाबाट नगदसहित सुनका गरगहना चोरी भएको छ ।   कास्की प्रहरीका अनुसार गत शनिबार पोखरा महानगरपालिका १७ विरौटास्थित लक्ष्मीकान्त शर्माको घरबाट सुनका गरगहना ३४ तोला ५५ लाल चोरी भएको हो ।   सुनका गहनासँग नगद रु ३ लाख ७५ हजार, आइफोन, क्यानन क्यामेरा, म्याकबुक (ल्यापटप), आइप्याड, घडी, लगायतका जिन्सी समाग्रीहरु चोरी भएको वडा प्रहरी बैदाममा निवेदन परेको एक प्रहरी अधिकृतले जानकारी दिए ।    शर्माको घरमा डेरागरी बस्ने सूर्यदेवी पौडेलको सुनका गरगहना २ तोला ७० लाल तथा नगद ५ हजार रुपैयाँ र अन्जु क्षेत्रीको नगद १५ हजार तथा विभिन्न जिन्सी सामानहरूसमेत चोरी भएको बताइएको छ ।    प्रारम्भिक अनुसन्धानबाट करिब ७० लाख बढीको चोरी भएको बताइएको छ ।   अहिले घटनाबारे थप अनुसन्धान तथा संलग्न व्यक्तिहरुको खोजी तिब्र पारेको कास्की प्रहरीले जनाएको छ ।

पोखरा:   गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले दुःखको बेलामा मानव अधिकार खोज्ने सुखको बेलामा त्यसको उल्लङ्घन गर्ने चरित्र मानवीय चरित्र नभएको बताउनुभएको छ ।   रााष्ट्रिय मानवअधिकार आयोगको २४ औं वार्षिकोत्सवको अवसरमा आयोगको गण्डकी प्रदेश कार्यालय पोखराले आइतबार गरेको कार्यक्रममा बोल्दै उहाँले मानवअधिकार र मौलिक हकबीचमा अन्योन्याश्रित सम्बन्ध रहेको खुलाउनुभयो ।   ‘मानवअधिकार र मौलिक हक अन्योन्याश्रित रुपमा अन्तरसम्बन्धीत छन् तीनको कार्यान्वयन गर्ने कुरामा हामी उदासिन हुन पाउदैनौ । तीनलाई कसरी व्यस्थित गर्ने गम्भिरता पूृर्वक लागौं’ उहाँको जोड थियो ।   अधिकार खोजेर मात्र नहुने भन्दै नागरिकका कर्तव्यको बारेमा संविधानमा भएका व्यवस्थामा समेत सबैले ध्यान दिनुपर्नेमा उहाँको जोड थियो । ‘हामीलाई सधैंभरी आलोचना सुझाब र टिप्पणी जरुरी छ  । लोकतन्त्रमा त्यो स्वागतयोग्य कुरा हो । तर आलोचना गर्दा नागरिकको कर्तव्यलाई ध्यान दिनुपर्छ’ उहाँले भन्नुभयो ।   नागरिकका अधिकारलाई ध्यान दिँदै संविधान निर्माण गरी विभिन्न कानून बनाएपनि प्रभावकारी कार्यान्वयनमा समस्या देखिएको खुलाउनुभयो ।   ‘हामीले मौलिक हकको व्यवस्था संविधानमा सुन्दर रुपमा गरेका छौं, कानून बनाएका छौ तर कार्यान्वयनमा हामी पछि परेका छौं’ उहाँले भन्नुभयो ।   नेपालमा महिला र उत्पीडित समुदायलाई पूर्ण रुपमा मुल धारमा ल्याउन नसकिएकोमा उहाँको चिन्ता थियो । ‘यी समुदायलाई हामीले मुलधारमा ल्याउन सकेनौ भने अझैपनि धेरैं थिचोमिचो अन्यायका घटनाहरु बेहोर्छौ’ उहाँले भन्नुभयो ।   गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता कृष्ण प्रसाद अधिकारीले मौलिक हकमा भएका व्यवस्था कार्यान्वयन गर्ने काम राज्यको भएको भन्दै प्रभावकारी कार्यान्वयन गर्न नयाँ ढंगले सोच्नुपर्ने बताउनुभयो । गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष रामप्रसाद सुवेदीले मानवअधिकार आयोगले गरेको फैसला १७ प्रतिशत मात्र कार्यान्वयन हुनु दुःखद भएको बताउनुभयो ।   शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराका संयोजक विना सिलवालले छोराछोरीलाई अंशमा समान हक प्रदान गर्नुपर्ने बताउनुभयो ।     रााष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश पोखराको कार्यालय प्रमुख मायादेवी शर्माले हालसम्म आयोगमा १ हजार १ सय ९ वटा मानवअधिकार उल्लङ्घनका घटनामा अनुसन्धान भएकोमा ९ सय ७२ वटा निर्णयको लागि केन्द्रमा पठाइएको र १ सय ३७ वटा कार्यान्वयनमा रहेको खुलाउनुभयो ।   चालु आर्थिक वर्षमा मात्र २४ वटा उजुरीमा अनुसन्धान भएकोमा १३ वटा निर्णयको लागि केन्द्रमा पठाइएको उहाँको भनाई छ । २०५७ साल जेठ १३ गते रााष्ट्रिय मानवअधिकार आयोगको स्थापना भएकोमा पोखरामा २०६२ बैशाख २१ गतेबाट क्षेत्रीय कार्यालय सञ्चालनमा आएको थियो । 

पोखरा:   नेपाल पत्रकार महासंघ कास्कीले महासंघका पूर्व केन्द्रीय अध्यक्ष हरिहर विरहीलाई १ लाख ११ हजार राशिको ‘कृति स्मृति पत्रकारिता वृत्ति सम्मान’ प्रदान गरेको छ ।    महासंघ कास्कीको शनिबार १७ औं साधारणसभा तथा १२ औं अधिवेशनमा उनलाई प्रथम राष्ट्रपति डा. रामवरण यादवले सम्मान गरेका हुन् ।    विरही ४४ वर्षदेखि पत्रकारितामा छन् ।    पूर्व सांसदसमेत रहेका पोखराका वरिष्ठ उद्योगपति एवं समाजसेवी सूर्यबहादुर केसी परिवारबाट सूर्यप्रेम ट्रस्ट स्थापना गरी कृति स्मृति पत्रकारिता वृत्तिका लागि अक्षयकोष स्थापना गरिएमा महासंघ कास्कीले पुरस्कार सञ्चालन गर्दै आएको छ ।    सो अवसरमा पत्रकार श्रीराम सिग्देललाई ‘आर्थिक पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भए । पुरस्कार राशि २० हजार र सम्मानपत्र उनलाई प्रदान गरियो । चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष सिग्देल महासंघका सहसचिवसमेत हुन् ।    सो अवसरमा शिरोमणि बराल, सुरेन्द्र थापामगर, ज्यो.डा. बलराम उपाध्याय रेग्मी र विश्वप्रकाश लामिछानेलाई दीर्घ पत्रकारिता सम्मान प्रदान गरे ।    विमला भण्डारी नेतृत्वको ३ वर्षे कार्यकालमा उत्कृष्ट कार्यसमिति सदस्यबाट सन्तोष बस्याल नगद १० हजारसहित सम्मानित भए ।    पूर्व राष्ट्रपति डा. यादवले संविधान र लोकतन्त्र बचाउने जिम्मा मिडियाको भएको उल्लेख गरे ।  उनले मिडिया राजनीति माथी उठेर काम गर्नुपर्ने बताएका थिए । 

पोखरा:  कास्की प्रहरीले अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने टिप्परलाई नियन्त्रणमा लिएको छ ।   माछापुच्छ्रे गाँउपालिका अन्तर्गत पर्ने अन्नपूर्ण संरक्षण क्षेत्र भित्रबाट नदीजन्य पदार्थहरु अवैध रुपमा चोरी निकासी गरेको भन्दै पोखरा महानगपालिका वडा १९ अकला मन्दिर क्षेत्रबाट पोखरातर्फ आउँदै गरेको ग १ क १५१४ नम्बरको टिप्परलाई नियन्त्रणमा लिएको हो ।   वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उक्त टिप्परमा अवैध रुपमा बालुवा लोड गरेको पाइएकाले थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क पोखरामा पठाइएको कास्की प्रहरीले  जनाएको छ ।   यसअघि पनि कास्की प्रहरीले पोखरा १८ स्थित बाच्छेडडुवाबाट आधा दर्जन बढि ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो ।  

पोखरा:      पोखरा नदीपुरस्थित पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसीएम)मा पिसीएम फेस्टिवल सम्पन्न भएको छ । पढाई सँगसँगै विभिन्न किसिमका उत्प्रेरणात्मक कार्यक्रमबाट विद्यार्थीहरूको मनोबल बढाउने उद्देश्यले कलेजले यो कार्यक्रम आयोजना गरेको आयोजक पिसीएम स्टुडेन्ट क्लबले जनाएको छ । कार्यक्रमको प्रमुख अतिथि कलेजकी प्राचार्य लिना नेगी श्रेष्ठले कलेका सबै विद्यार्थीहरुको मिलनसँगसँगै उनीहरुको प्रतिभा पहिचान र प्रदर्शनीका लागि यो कार्यक्रम फलदायी रहेको बताइन् । ‘कार्यक्रमको मुख्य उद्देश्य भनेको विद्यार्थीहरुमा भएको प्रतिभा प्रस्फूटन र सबै सेमेस्टरमा भएका विद्यार्थीको मिलन पनि हो ।’ – प्राचार्य श्रेष्ठले भनिन्– ‘स्पोर्टस् मीट बाहेक अरु कार्यक्रमले विद्यार्थीहरुलाई मिलन गराउन नसकिरहँदा यो अर्को मीठो अवसर बनेको छ ।’ हरेक बर्ष तालिका नै बनाएर ५ वटा विशेष कार्यक्रम गर्दै आएको पिसीएममा यो वर्षदेखि ुपिसीएम फेस्टिवलु पनि थपिएको छ । यस कार्यक्रममा विद्यार्थीले आर्ट्स, स्टल म्यानेजमेन्ट लगायत गायन तथा नृत्य प्रस्तुति गरेको क्लबका अध्यक्ष मिलन कँडेलले जानकारी दिए । औपचारिक कार्यक्रम पछि व्यान्ड र डिजेले आफ्नो प्रस्तुति राखेका थिए । आर्ट प्रतियोगितामा सविना सुनार सर्वोत्कृष्ट भइन् । शौरभ लामिछाने द्वितीय, ऋसुता हमाल तृतीय तथा स्वर्णिम शाक्य र एसिका गुरूङ तृतीय भए । विजेतालाई नगदसहित पुरस्कृत गरिएको थियो । कार्यक्रमको सञ्चालन एञ्जिला सुवेदी र सम्राट गुरूङले गरेका थिए ।

पोखरा:     पोखरा लेकसाइडस्थित सञ्चालनमा रहेका ३ स्पा (मसाज) सेन्टरबाट ५ जना बालिकाको उद्धार गरिएको छ ।  लेकसाइडमा सञ्चालन रहेका ३ वटा स्पा (मसाज) सेन्टरबाट जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलिले हिजो (शुक्रबार) ५ जना बालिकाको उद्धार गरेको हो । प्रहरीले जेठ २ गतेपनि स्पा (मसाज) सेन्टरबाट ६ बालिकाको उद्धार गरेको थियो ।    यो पनि पढ्नुहोस   लेकसाइडको स्पा (मसाज) सेन्टरबाट ६ जना बालिकाको उद्धार जिल्ला प्रहरी कार्यालय कास्की,पोखरा महानगरपालिका सामाजिक महाशाखा,राष्ट्रिय बाल अधिकार परिषद् र शक्ति समुह नेपाल संस्थाबाट खटिएको अनुगमन टोलिले लेकसाइडमा सञ्चालनमा रहेका १५ वटा स्पा (मसाज) सेन्टर अनुगमन गर्दा ३ वटा स्पाबाट १८ वर्ष भन्दा कम उमेरका ५ जना बालिकाको उद्धार गरेको हो ।  प्रहरीले नेक्टर इको फुट स्पाबाट ३ जना, पञ्चासे स्पा पार्लर र नमस्ते वेलनेस स्पाबाट १÷१ जना बालिकाको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।   

पोखरा:     नेपाल पत्रकार महासंघ कास्कीको पत्रकार पुस्तकालय (ई—लाइब्रेरी) तथा स्रोत केन्द्रको उद्घाटन गरिएको छ ।  नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले उक्त स्रोत केन्द्रको उद्घाटन गरेका हुन् । उनले पोखराको पुस्तकालयको इतिहासमा महासंघले इट्टा थप्ने काम गरेको उल्लेख गरे । पठन संस्कृतिको विकासमा महासंघ कास्कीले स्थापना गरेको पुस्तकालय तथा स्रोत केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने उनले उल्लेख गरे ।  ‘पत्रकार महासंघ कास्कीले स्थापना गरेको पुस्तकालय तथा स्रोत केन्द्रले पत्रकारको क्षमतामा थप टेवा पुग्ने विश्वास छ । आधुनिक तवरले निर्माण गरिएको पुस्तकालय र स्रोत केन्द्र प्रशंसा गर्न लायक बनेको छ । अब यसको सहि सदुपयोगको कामना गर्दछु,’ उनले भने ।  गण्डकी प्रदेश सभाका सांसद एवम् पूर्व कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले पत्रकारका लागि निर्माण गरिएको पुस्तकालय एवम् स्रोत केन्द्रको स्थापनाले अध्ययन शैलीमा परिवर्तन आउने उल्लेख गरे । प्रेस स्वतन्त्रतालाई आत्मसात् गर्दै सामाजिक उत्तरदायित्व बहन गर्न पुस्तकालय महत्वपूर्ण साबित हुने उनले बताए ।  नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश बिष्टले पत्रकार महासंघ कास्की शाखाले केन्द्रले गर्न नसकेको काम गरेको उल्लेख गरे । उनले केन्द्रले पनि पुस्तकालय निर्माण कार्यलाई अगाडि बढाएको तर आर्थिक स्रोतको आभावमा पुरा गर्न नसकेको हुँदा ४० प्रतिशत काम थाती रहेको बताए । विमला भण्डारी नेतृत्वको महासंघ कास्कीले भने समयमा नै पुस्तकालय निर्माण गरेको प्रति उनले खुसी व्यक्त गरे ।  नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले ई—लाइब्रेरी निर्माणले कास्की र गण्डकी प्रदेशका पत्रकारहरुको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने उल्लेख गरिन् । कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेशको ४० लाख र पोखरा महानगरपालिकाको १५ लाखको आर्थिक सहयोगमा पत्रकार महासंघ कास्कीको पत्रकार पुस्तकालय (ई—लाइब्रेरी) र  स्रोत केन्द्रको स्थापना गरिएको उनले जानकारी गराइन् । पोखराको पठन संस्कारमा पत्रकार महासंघ कास्कीमा स्थापना गरिएको पुस्तकालयले सबैलाई फाइदा मिल्ने विश्वास उनको छ ।  पुस्तकालयमा मार्टिन चौतारी, अनौपचारिक सेवा केन्द्र (ईन्सेक), प्रेस काउन्सिल नेपाल, केन्द्रीय पुस्तकालय त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय तथा आवासिय विद्यालय एसोसियसन नेपाल (एनव्याब्सन) लगायतले पुस्तक सहयोग गरेका छन् । 

पोखरा:     गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विद्यार्थीहरूलाई आधारभूत सीप प्रदान गर्न कक्षा ९ र १० को पाठ्यक्रम तयार भएको बताउनुभएको छ ।  नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजनामा शुक्रबार छोरेपाटन माविमा भएको ४१ औैं जुनियर÷युवा तथा ३० औं शिक्षक नायक गोष्ठीको उद्घाटन गर्दै आफूले पहिलोपटक मुख्यमन्त्री हुँदा थालनी गरेको काम अहिले विज्ञ राखेर पुरा गरेको बताउनुभएको हो ।   तयार भएको पाठ्यक्रम मेडिकल इर्मजेन्सी, प्राकृतिक प्रकोप, बाढी नियन्त्रण तथा महिला हिंसा विरुद्धका सीपहरु लिनका निम्ती प्रभावकारी बन्ने विश्वास उहाँको छ ।  ‘९ र १० कक्षाको लागि पाठ्यक्रम बनाउन पहिला मुख्यमन्त्री हुँदा सुरु गरेको थिए, अहिले विज्ञ राखेर त्यसको पाठ्यक्रम तयार भएको छ’ उहाँले भन्नुभयो । पाठ्यक्रमको महत्वपूर्ण पक्ष रेडक्रससँग सम्बन्धित रहेको खुलाउनुभयो ।   कास्की रेडक्रसले गरेका कार्यको प्रंशसा गर्दै विपद्मा रेडक्रस भन्ने कुरा स्थापित गर्न युवा रेडक्रसकर्मीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो  ।   कार्यक्रम मार्फत मुख्यमन्त्री अधिकारीले मानव सेवामा समर्पीत रहदै आपत विपद्को बेलामा साथी बन्ने जुनीयर रेडक्रसका योद्धाहरू तथा उनीहरूलाई सहयोग गर्ने शिक्षक नायकलाई सम्मान गर्नुभयो । उहाँले आफू समेत रेडक्रसको आजीवन सदस्य रहेको भन्दै सोसाइटीले गर्ने गतिविधिमा सदैव साथ रहने प्रतिवद्धता जनाउनुभयो । युवा रेडक्रस सर्कल छोरेपाटन माविको आतिथ्यता तथा व्यवस्थापनमा कार्यक्रम भएको थियो ।

पोखरा:     पोखराको लेकसाइडमा अवस्थित होटल सरोवर र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंकद्वारा आफ्ना कर्मचारी तथा ग्राहकहरू लक्षित गरी उपलब्ध सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। छुट्टाछुट्टै समारोहकाबीच होटल सरोवरको तर्फबाट मुख्य प्रबन्धक प्रतिक पहारी, किङ्गस लाउन्ज पोखराको तर्फबाट सञ्चालन प्रबन्धक अजय नकर्मी र प्रभु बैंकका तर्फबाट प्रमुख प्रदेश अधिकृत गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन्।  सम्झौता अनुसार प्रभु बैंकका ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका परिवारले होटल सरोवरमा उपलब्ध आवास, खाना, मनोरञ्जन सभाहल र पौडी लगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् भने किङ्गस लाउन्ज पोखरामा उपलब्ध सेवाहरू खाना, खाजा, तथा मनोरञ्जन सुविधामा विशेष छुट प्राप्त गर्न सक्नेछन्।  साथै प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने बैंकको भनाइ छ।  बैंकले नेपालभर ३०२ शाखा कार्यलय, २८५ एटिएमका साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत् करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ।