लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आयोजनामा नेपाल मै पहिलो पटक गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ आजबाट सुरु हुदैंछ । आज र भोलि पोखरा रंगशालामा हुने प्रतियोगितामा नेपालका १६ जना राष्ट्रिय स्तरका ब...

पोखरा:    पृथ्वीनारायण क्याम्पसको पछाडीतर्फ रहेको खाली चौरमा २ जना महिलाहरुलाई कुटपिट गरी उनीहरको मोबाइल चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।  क्याम्पसको पछाडीतर्फ रहेको खाली चौरमा महिलालाई कुटपिट गरी उनीहरुको मोबाइल चोरी गरेको आरोपमा प्रहरीले सोमबार २ जनालाई पक्राउ गरेको हो ।  आइतबार क्याम्पसको पछाडीतर्फ खाली चौरमा २ जना महिलालाई अपरिचित व्यक्तिहरुले लछारपछार गरी खुकुरी समेत प्रहार गरी घाइते बनाएर उनीहरुको मोबाइल चोरी गरेको आरोपमा पोखराका २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक अविनाश दिप जिसीले जानकारी दिए ।  उनका अनुसार चोरी भएको मोबाइलसहित पोखरा महानगरपालिका–११ फुलबारी बस्ने ३२ वर्षीय सागर नेपाली र २१ वर्षीय सुजित नेपाली रहेका छन् ।  पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्ध कसूरमा ८ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ ।   

पोखरा:   दिव्यज्योति क्लबको आयोजनामा भोलि (बिहीबार) देखि सुरु हुने पहिलो संस्करणको फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ ।   पोखरा महानगरपालिका १५ भित्रका क्ललाई लक्षित गर्दै ३१ र ३२ गते न्यू एयरपोर्ट फुटसल खेल मैदानमा हुने सो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सह–संयोजक शैलेस गुरुङले जानकारी दिए ।    उनका अनुसार सो प्रतियोगिताको उद्घाटन खेल (बिहान ९ बजे) मा  रेन्बो स्कुल र नयाँगाउँ एफसी भिड्नेछन् ।   उक्त प्रतियोगिताको उद्घाटन पोखरा १५ का वडाध्यक्ष तोरण बाँनियाले उद्घाटन गर्रे सह–संयोजक गुरुङले बताए ।    सो प्रतियोगितामा पोखरा १५ भित्रका कुल २१ टिमको सहभागिता रहेको बताउदै विजतालाई नगद रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने बताए । यस्तै उपविजेताले नगद रु २० हजार, शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

पोखरा:    ढुङ्गा, गिटी, बालुवा  तथा नदी तथा खानिजन्य  पदार्थको अनुगमन समिति कास्कीको  बैठक आज (बुधबार) सम्पन्न भएको छ ।   बै​ठकबाट कास्कीमा तीन महिना (असार, साउन र भदौ) नदीजन्य र खानिजन्य  पदार्थको उत्खनन बन्द गर्ने निर्णय गरेको छ । ढुङ्गा, गिटी, बालुवा  तथा नदि तथा खानिजन्य  पदार्थको संचालन मापदण्ड २०७७ ले व्यवस्था गरे अनुसार  सो निर्णय गरिएको हो ।     सो संचालन मापदण्ड अनुसार   असार, साउन र भदौ महिनामा नदी तथा खानीजन्य पदार्थको उत्खनन  गर्न नपाइने व्यवस्था अनुसार  उक्त निर्णय गरीएको  अनुगमन समितिका संयोजकसमेत रहेका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिए ।   उनले  विकास निर्माणका काममा बाधा नपुग्ने गरि विद्यमान कानुन  र मापदण्डको पालना गर्नुको विकल्प नरहेको भन्दै कडाइका साथ निर्णय  कार्यान्वयन  गर्न सरोकारवाला सरकारी निकायहरू र स्थानिय तहहरूलाइ आग्रह गरे ।   दर्ता नगरी अवैधरूपले मापदण्ड विपरित  संचालित क्रसर उद्योगहरूका कारण वातावरणीय र पर्यावरणीय संरचनामा प्रतिकुल असर पारेको गुनासो अत्याधिक बढेको कारण त्यस्ता  उद्योगलाई समेत  तत्काल बन्द गर्न पौडेलले आग्रह गरे ।   उनले सबै पालिकाहरूमार्फत उद्योगहरूले जेठ मसान्तभित्र  स्रोत खुलाएर  स्टक प्रमाणिकरण गरेका सामाग्री यो  अवधिमा पिक्रीवितरण र उपभोगमा कुनै बाधा नपर्ने सुनाए ।   नियमको पालना गर्ने सबालमा कोहि पनि कुनै  प्रकारको प्रभाव र दबाबमा नपर्न आग्रह गर्दै अवैध उत्खनन कार्य भएको पाइएमा तत्काल  जिल्ला समन्वय ,प्रशासन र प्रहरीलाई सूचना दिन पौडेको आग्रह छ ।   कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, जिल्ला समन्वय समिति  कास्कीका उप– प्रमुख सरिता माल, माछापुच्छ्रे गाउँपालिकाका प्रमुख मीनबहादुर गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, रूपा गाउँपालिकाका प्रमुख नवराज ओझा,  कास्कीका  प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समितिका सह– संयोजक भरतमणी पाण्डे, कास्कीका प्रहरी प्रमुख मोहन कुमार थापा, सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनका प्रमुख अरूण शर्मा, क्रसर व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष लिलाधर बराल,कास्कीस्थित पालिकाका  प्रमुख कार्यकारी अधिकृतहरू, अनुगमन समितिका सदस्यहरू  सहित विभिन्न सरोकारवाला व्यक्तिहरूले ढुङ्गा, गिटी, बालुवा, नदी तथा खानीजन्य  पदार्थको उत्खनन, ओसार पसार र विक्रीवितरण र उपभोगमा  देखिएका समस्या, चुनौती र निराकरणका सम्बन्धमा  आ –आफ्नो धारणा व्यक्त गरेका थिए ।  

पोखरा:   रङ्गशालामा आजबाट सुरु भएको ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ अन्र्तगत बास्केटवल खेल समेत सुरु भएको छ ।   आज भएको छात्रा तर्फको पहिलो खेलमा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ ।   आजको खेलमा गण्डकीले लुम्बिनी प्रदेशलाई ६ को बिरुद्ध फराकिलो २३ स्कोरको अन्तरले पराजित गरेको हो । गण्डकीको जितमा जेनियम श्रेष्ठले ६ स्कोर गर्नु भएको थियो । त्यसै गरी आज भएको छात्र तर्फको खेलमा गण्डकीले जित हासिल गरेको छ ।   गण्डकीले लुम्बिनी प्रदेशलाई ४५–२७ को स्कोरले पराजित गरेको हो । गण्डकीको जितमा सौभाग्य पुनले १९ स्कोरको योगदान दिए ।   दोश्रो खेलमा कर्णाली प्रदेशले मधेष प्रदेशलाई १९–४ को स्कोरले जित निकाल्यो । कर्णालीको जितमा सृजना बडुवालले १५ स्कोरको योगदान दिनु भयो । छात्र तर्फ भएको खेलमा प्रिन्स कुसुवाको १८ स्कोरको मद्धतले मधेश प्रदेशले कर्णाली प्रदेशलाई ३१–२९ स्कोरले पराजित गरेको छ ।   आज लिग चरणका खेलहरु पोखरा रंगशालाको बास्केटवल कोर्ट र पोखरा रामघाटमा रहेको पुन समाज पोखराको बास्केटवल कोर्टमा जारी रहेका छन् । प्रतियोगितामा छात्रा तर्फ सुदुर पश्चिम प्रदेश बाहेक अन्य ६ प्रदेश र छात्र तर्फ ७ प्रदेशको सहभागिता रहेको छ ।    बिहान ७ः०० बजे देखि खेल सुरु हुने भनिए पनि प्राविधिक कारणवश करिब साँढे २ घण्टा पछि मात्र खेलहरु सुरु भएको थियो ।

पोखरा:    पृथ्वी राजमार्ग अन्तर्गत निर्माणाधिन पोखरा–मुग्लिन (पश्चिम खण्ड)को कोत्रेदेखि भत्केको चौकीसम्मको राजमार्गको दायाँ बायाँ शाखा बाटो निर्माणका लागि स्थानीयले माग गरेका छन् ।   पोखरा महानगरपालिका वडा ३२ खण्डमा पर्ने यस क्षेत्रमा राजमार्ग निर्माणको काम भैरहँदा शाखा बाटोहरू बन्नेतर्फ कुनै चासो नदेखिएको भन्दै स्थानीयले यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।   तल्लो गगनगौंडा बजार व्यवस्थापन समितिको संयोजनमा आज स्थानीयबासी एवम् सरोकारवाला निकायको प्रतिनिधिसहितको भेलामा यस खण्डमा शाखा बाटो, ढल निकास, लिंक रोड लगायतका विषयमा स्थानीयले ध्यानाकर्षण गराए ।   कोत्रे–भत्केको चौकी खण्डमा तल्लो गगनगौंडा लगायतका स्थानमा बजारीकरण बढीरहेपनि राजमार्ग निर्माण भैरहँदा शाखाबाटो निर्माणतर्फ सम्बन्धित निकायको ध्यान पुग्न नसकेको तल्लो गगनगौंडा बजार व्यवस्थापन समितिका अध्यक्ष भुवानीप्रसाद पौडेलले बताए  ।    विद्यमान समस्याहरूको समाधानका लागि सहयोग समिति गठन गरी त्यसमार्फत आवश्यक पहलहरू अघि बढाउने भेलामा छलफल भएको उनले बताए ।   उनका अनुसार सडकको दायाँबायाँ तत्कालै आवतजावत सहज बनाउने उद्देश्यले त्यहाँ भैरहेको खेतीपाती, अन्य संरचना तथा टहरालाई १५ दिन भित्रमा हटाउनका लागि सूचनासमेत गरिएको छ ।   पोखरा महानगरपालिका ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले सडक निर्माणकै क्रममा रहेका कारण आत्तिनुपर्ने अवस्था नभएको बताए । उनले आवश्यक कुराहरूलाई सबैको साथ सहयोग एवम् संयुक्त प्रयासमा समाधान गर्न सकिने धारणा राखे ।   तल्लो गगनगौडा बजार व्यवस्थापन समितिका अध्यक्ष भुवानी प्रसाद पौडेलको अध्यक्षतामा एवम् नमुना शान्ति मार्गका सचिव राजन खनालले सञ्चालन गर्नुभएको कार्यक्रममा ज्ञानज्योति विद्याकुञ्जका प्राचार्य अर्जुप्रसाद अधिकारी, तल्लो गगनगौंडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष भरत थापा, समाजसेवीहरू खेम पुन, प्रकाशचन्द्र पागल, शिबबहादुर थापा, मोहनप्रताप खाँण, विष्णुबहादुर बस्नेत, हरिष्चन्द्र अधिकारी, मित्रबहादुर खत्री, भोजराज खनाल, टंकप्रसाद पौडेल लगायतले बोलेका थिए ।  

पोखरा:   पोखरा रङ्गशालामा आज (बुधबार) बाट सुरु भएको यु–१५ विद्यालय खेलकुद प्रतियोगितामा  मापसे (मादक पदार्थ सेवन) गरेर कोर्टमा पुगेपछि बास्केटबल खेलका संयोजकलाई  मैदान प्रवेशमा रोक लगाएको छ ।   मापेस गरेको प्रमाणित भएसँगै नेपाल बास्केटबल संघका कार्यालय सचिव तथा बास्केटबल खेल संयोजक रमेश खड्कालाई उनलाई बाहिर पठाइएको हो ।   खड्काले पोखरा रंगशालास्थित कोर्टमा बास्केटबल संघ गण्डकीको बोर्ड हटाउनु पर्छ भन्दै निहुँ खोजेपछि प्रदेश र संघका प्रतिनिधिहरुबबी केही समय विवाद भएको थियो ।   त्यही विवादकै कारण बिहान ७ बजे हुने भनिएको खेल करिब साढे ३ घण्टा पछि धकलिएको थियो ।   प्रतियोगितामा एथलेटिक्स, बास्केटबल, रग्बी, टेबलटेनिस, ब्याडमिन्टन र बुद्धिचाल गरी ६ खेलमा छात्र र छात्राहरुको छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ ।   उनीहरुले ३८ स्वर्ण, ३८ रजत र ४६ कास्य पदकका लागि भिड्नेछन् ।  

पोखरा:  गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।   प्रदेश प्रमुख डिल्लीराज भट्टले मंगलबार प्रदेशसभाको छैटौं अधिवेशनको आठौं बैठकमा प्रदेशसरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।    नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई प्राथमिकता दिइएको छ ।   पर्यटनको राजधानी पोखरालाई प्रवर्धन गर्न ‘पोखरा जाऔं, प्रकृति र संस्कृतिसँग रमाऔं’ कार्यक्रम चलाइने भएको छ । सरकारले पर्यटन राजधानीको अवधारणालाई साकार पार्न नीतिगत सुधार र पर्यटनमैत्री वातावरण निर्माण गर्न पहल गर्ने भएको छ ।   आगामी वर्ष बाटो नपुगेका ठाउँमा कृषि उपज र कृषि सामग्री ओसारपसारका लागि ग्राभिटी रोपवे सञ्चालन गर्ने सरकारको योजना छ । ‘एक निर्वाचन क्षेत्र, एक प्रविधिमैत्री स्मार्ट कृषि फार्म’ सञ्चालन गरी त्यसमार्फत सामूहिक एकीकृत कृषि विकास कार्यक्रम गर्न लक्ष्य लिइएको छ । बाँझो जग्गालाई उपयोग गर्न ‘प्रदेश सरकारको साझेदारीः बाँझो रहन्न खेतबारी’ भन्ने अभियान चलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।   बाँझो जग्गामा खाद्यान्न, फलफूल, तरकारी, घाँसेबाली, गाँजा आदि उत्पादनलाई प्रोत्साहन गरिनेछ । त्यहाँबाट उब्जिने कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोकी कृषि बजारको सुनिश्चितताका लागि बहुसरोकारवालासँग सहकार्य गर्ने योजना छ ।   पूर्णपाठ हेर्नुहोस्-  

पाेखरा:   जथाभावी सवारीसाधन पार्किङ र यात्रु चढाउने/ओराल्ने गर्दा पोखराको पृथ्वीचोक क्षेत्र पुनः अस्तव्यस्त बनेको छ ।   गत साउनदेखि पृथ्वीचोक–सेतीपुल सडकको दुवैतर्फ पार्किङ निषेध गरिएकामा वर्षदिन नपुग्दै उक्त नियम उल्लंघन भएको हो ।   पर्यटकीय राजधानीसमेत रहेको पोखराको अतिव्यवस्त पृथ्वीचोकलाई व्यवस्थित बनाउन जिल्ला सुरक्षा समितिको बैठकले पार्किङ निषेधको घोषणा गरेको थियो ।    पार्किङ हटेपछि केही समय सो क्षेत्र शान्त र खुला देखिएको थियो । लामो दूरीका सवारीसाधन पृथ्वीचोकको भित्रपट्टि रहेको बसपार्कबाट छु्ट्न थालेका थिए । नगर बसलगायत छोटो दूरीका सवारीसाधनले पनि धेरैबेर नरोकी तोकेको स्थानमा यात्रु चढाउने र ओराल्ने गर्थे ।   पैदल यात्रुलाई पनि आउजाउ गर्न सहज बनेको थियो । तर अहिले हिजोकै अवस्थामा पृथ्वीचोक पुगेको छ ।    काठमाडौँलगायत लामो दूरीमा चल्ने बसले पनि सडक किनाराबाटै यात्रु चढाउन थालेका छन् । बसपार्क हुँदाहुँदै सडकबाटै यात्रु चढाउने र ओराल्ने गर्दा सवारी जामको समस्या देखिन थालेको छ ।   माइक्रो, ट्याक्सीलगायत सवारीसाधन लामो समय रोकिराख्दा पृथ्वीचोक दुवैतर्फको सडक अस्तव्यस्त बनेको छ । ट्राफिक प्रहरीले पनि सवारीसाधन व्यवस्थानमा कडाइ गर्न छाडेको छ ।    पोखराबाट देशका विभिन्न ठाउँमा पुग्ने सवारीसाधन पृथ्वीचोकबाटै छुटने र मृख्य राजमार्ग पनि भएकाले त्यहाँ सवारीसाधनको अत्यधिक चाप हुने गर्छ ।   बसपार्क, होटल, वित्तीय संस्था, अस्पताल तरकारी बजार, मासु पसललगायत व्यवसाय तथा सरकारी सेवा दिने यातायात व्यवस्था कार्यालयलगायत अड्डा पनि सोही क्षेत्रमा रहेकाले पृथ्वीचोकमा मानिसको भीडभाड भइरहन्छ ।    जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका वरिष्ठ प्रहरी हवल्दार आशिष क्षेत्रीले सवारीसाधनको बढ्दो चापका कारण पोखरामा पार्किङको समस्या देखिएको बताए ।   “पृथ्वीचोक क्षेत्रमा अहिले पनि पार्किङ त निषेध नै छ, यात्रु चढाउने र ओराल्न मात्र दिने गरेका छौँ,” उनले भने, “सबैतिरका गाडी पृथ्वीचोक भएर गुड्ने भएकाले ट्राफिक व्यवस्थापन चुनौती भने छ, यसमा यातायात व्यवसायी र स्थानीयबासीको साथ चाहिन्छ ।”   सडक फराकिलो र व्यवस्थित बनाउन पोखरा महानगरपालिकाले सो क्षेत्रमा रहेका अस्थायी संरचनासमेत हटाएको थियो । जीर्ण अवस्थामा रहेको बसपार्कको मर्मतसुधारको काम महानगर र प्रदेश सरकारले मिलेर गरेका थिए । यातायात व्यवसायीहरूले बसपार्क व्यवस्थित नहुँदा पार्किङको समस्या भइरहेको बताउँदै आएका छन् ।   पोखरा ४८ वर्षदेखि आधुनिक र व्यवस्थित बसपार्कको पर्खाइमा छ । बसपार्क बनाउन वि.सं. २०३२ मा अधिग्रहण गरिएको जग्गा अतिक्रमणमा परेर खुम्चदैँ गएको छ ।

पोखरा:  जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले गणेशमान पालिखे विचारमा प्रजातन्त्रवादी र कामले क्रान्तिकारी भएको बताए ।    मानित विश्वविद्यालय उन्मुख जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको १९ औं स्मृति दिवसका सन्दर्भमा बोल्दै विजुक्छेले भने, २०३९ सालमा पृथ्वीनारायण क्याम्पसमा म उहाँको चेला थिएँ, २०४८ सालमा जनप्रिय क्याम्पस स्थापना भएपछि साथी भएँ । पारिवारिक रूपमा नातेदार र आफ्ना राजनीतिक गुरु भए पनि उहाँ क्याम्पस प्रमुख र म जनप्रतिनिधि हुँदा भवन निर्माणका क्रममा सँगै मुद्धा खेपेका छौं । क्याम्पस कै लागि ज्यानको आहुति दिएका पालिखे शिक्षा मै सहादत पाएका क्रान्तिकारी व्यक्तित्व थिए ।    सिर्जना विकास केन्द्रका अध्यक्ष एवम् सञ्चालक समितिका सदस्य विष्णुप्रसाद बरालले क्याम्पस स्थापना गर्दा अमेरिकाबाट उच्चशिक्षा लिएका स्व.प्रेमनारायण बराल संस्थापक अध्यक्ष र जर्मनीबाट व्यवस्थापन विषयमा उच्चशिक्षा लिएका स्व. गणेशमान पालिखे संस्थापक क्याम्पस प्रमुख पाउँदा नै क्याम्पसले गतिलिएको बताए ।   बरालले शिक्षक कर्मचारी संस्था र समाज केन्द्रित भए व्यक्तिगत समस्या नरहने हुँदा क्याम्पसको हितमा काम गर्न आग्रह गरे ।      पूर्व क्याम्पस प्रमुख माधवप्रसाद घिमिरेले गणेशमान पालिखेको जीवनी व्यक्तित्वमाथि प्रकाश पार्दै पालिखेले नेपालभरि कै शिक्षा क्षेत्रमा व्यवस्थापन सङ्कायको खाँचो पुष्टि गर्दै काठमाडौं बाहिर पहिलो पटक पोखरामा बिबिए कार्यक्रम ल्याएको स्मरण गरे ।   पब्लिक क्याम्पस सङ्घको संस्थापक अध्यक्ष भएर मुलुकभरिका सामुदायिक क्याम्पसको स्थापना र सञ्चालनमा पालिखेले गरेको योगदान संझनालायक भएको बताए ।    सल्लाहकार डा.वीरबहादुर कार्की, निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्का, सहायक क्याम्पस प्रमुख मेखराज पौडेल, प्रशासक एकनारायण अर्याल, पब्लिक क्याम्पस प्राध्यापक सङ्घ जनप्रिय एकाइका अध्यक्ष विकास थापामगर, कर्मचारी सङ्घ जनप्रिय एकाइका अध्यक्ष देवी पनेरु लगायतका वक्ताले क्याम्पसलाई मानित विश्वविद्यालय बनाउनका निम्ति संस्थापक क्याम्पस प्रमुख पालिखेले जस्तै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर कार्यसम्पादन गर्दा गन्तव्यमा पुगिने विचार राखे ।    स्वर्गीय पालिखेको संझनामा बिबिए तथा पुस्तकालय भवनलाई गणेशमान पालिखे स्मृति भवन नामाकरण गरिएको छ । पालिखेकी धर्मपत्नी गङ्गादेवी पालिखेले पति गणेशमानको संझनामा परिवारका तर्फबाट ४ लाख रूपैयाँको अक्षयकोष स्थापनाको गरेकी छन् ।   उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक र कर्मचारीलाई पुरस्कृत गर्ने उद्धेश्यले कोष स्थापना भएको जानकारी सहायक प्रशासक महादेवकुमार पालिखेले जानकारी दिए ।    समुदायले स्थापना गरेको क्याम्पसमा समुदायले दिएको जिम्मेवारी पालिखेले आफ्नो भौतिक शरीर रहँदासम्म इमान्दारितापूर्वक बहन गरे । उनमा नेतृत्व क्षमता र कार्य दक्षता थियो भन्ने पुष्टि गरेका थिए ।   विश्वविद्यालय अनुदान आयोगबाट दुई पटकसम्म गुणमापन तथा प्रत्ययानको प्रमाणपत्र पाउन र शिक्षा मन्त्रालयबाट दुई पटक मुलुकभरिका सामुदायिक क्याम्पस मध्ये उत्कृष्ट पुरस्कार प्राप्त गर्न सफल क्याम्पसको मेरुदण्डका रूपमा पालिखेले खेलेको भूमिका स्मरण गर्न लायक छ ।    २०६२ जेठ २९ गते तत्कालीन विद्रोही समूहले गणेशमान पालिखेलाई उनकै निवास अगाडि नागढुङ्मा गोली हानी हत्या गरेको थियो । शिक्षामै सहादत प्राप्त गरेका कारण सरकारले उनलाई शैक्षिक सहिद घोषणा गरेको हो ।   कास्की जिल्लाबाट २०२२ सालमा एम.कम. पास गर्ने उनी पहिलो व्यक्ति हुन । २०२३ सालमा पश्चिम जर्मनीबाट औद्योगिक व्यवस्थापनमा स्नातक गरेका पालिखेले २०३० देखि २०३२ सालमा पृथ्वीनारायण क्याम्पसको प्रमुख भएर काम गरेका थिए ।   २०४६ सालमा स्वेच्छिक अवकाश लिएपछि उद्योगमा होमिएका पालिखेलाई जनस्तरबाट स्थापित जनप्रिय बहुमुखी क्याम्पसको संस्थापक क्याम्पस प्रमुखका लागि प्रस्ताव गरेपछि १४ वर्ष निरन्तर क्याम्पस हाँकेका थिए ।