पोखरा: ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित पोखराको टुंडिखेलमा जारी प्रतियोगितामा आज ६ खेल सम्पन्न भएका छन् । बगर भाइखलकको आयोजनामा जारी १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगितामा आज पहिलो चरण अन्तर्गतकै खेल भएका हुन् । पोखरा महानगरपालिका १ बगरस्थित पुरानो टुंडिखेलमा आज (बुधबार) भएको पहिलो खेलमा बिबिसी काठमाडौंको अनुपस्थितिमा ताकामी काठमाडौंले वाक ओभरमार्फत विजयी बन्यो । यस्तै दोस्रो खेलमा चितवन भेट्रान्स र सुनाखरी भेट्रान्स ललितपुर बीच भएको खेलमा चितवनका एक खेलाडीको निर्धारित उमेर कम (४० वर्ष मुनीका) खेलाडी खेलाएका प्रोटेस्टको आधारमा ललितपुर विजयी बन्यो । तेस्रो खेलमा गार्डेन एफसी पोखराले एनजेजेभिसी सिमरालाई २–० गोल अन्तरले पराजित गर्याे । यस्तै चौंथो खेलमा चियापप ठमेलको अनुपस्थितिमा ब्रदर्शहुड काठमाडौं वाकओभरमार्फत विजयी बन्यो । पाँचौ खेलमा फ्रिडम फाइटरले र कुपण्डोललाई २–० गोल अन्तरले हराउँदै फाइटर दोस्रो चरणमा प्रवेश गर्याे । आज भएको झम्सीखेल र गण्डकी स्पोर्टस् क्लबबीच भएको अन्तिम खेल –१ गोलको बराबरीमा निर्धारित समयसकिएपछि पेनाल्टी सुटाउटमा झम्सीखेल विजयी बन्यो । भोलि पनि पहिलो चरणकै खेलहरुहुने बगर भाइखलकका अध्यक्ष इश्वरमान गुरुङले जानकारी दिए । शुक्रबारबाट मात्र ५० वर्ष माथी उमेर समूहतर्फको खेल सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा ४० वर्ष उमेर समूहतर्फको विजेताले २ लाख उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सो उमेर समूहको विधागततर्फ सर्वोकृष्ट खेलाडीले नगद १५ हजार, उत्कष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फवार्ड र प्रशिक्षकले नगद ५ र ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै ५० वर्ष उमेर समूहतर्फको विजेताले १ लाख र उपविजेताले ५० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने, ६० वर्ष उमेर समूहतर्फको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा भारतको देहरादुन, काठमाडौं, ललितपुर, चितवन, सिरहा, हेटौंडा, सर्लाही, बुटवल,सिमरा,कैलाली, झापा, बिर्तामोड र पोखराका स्थानीय टिमको सहभागिता रहेको छ ।
पोखरा: ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित बगर भाइखलकको आयोजनामा १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका १ बगरस्थित पुरानो टुंडिखेलमा आज (मंगलबार) देखि १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा संगम भेट्रान्स विजयी बन्यो । लेकसाइडलाई १–० गोल अन्तरले पराजित गर्दै संगम दोस्रो चरणमा प्रवेश गर्याे । संगमको जीतमा दिलिप कुमार गुरुङले निर्णायक गोल गरे । उनै दिलिप म्यान अफ द म्याच घोषित भए । यस्तै अर्काे खेलमा आयोजक भाइखलकले विष्णु पादुका हेमजालाई ३–० गोल अन्तरले हरायो । भाइखलकको जीतमा नरेश केसी र शशी राईले समान १÷१ गोलको योगादन दिए भने, १ गोल हेमजाका गोलरक्षक राजु श्रेष्ठले आत्मघाती गोल गरेका थिए । उक्त खेलबाट बगर भाइखलकका नरेश केसी म्यान अफ द म्याच बने । भोलि (बुधबार) पनि पहिलो चरणकै खेलहरु हुने भाइखलका अध्यक्ष इश्वरमान गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको तिन वटा विधामा (४० वर्ष उमेर पूरा भएको विधामा १९ टिम, ५० वर्ष उमेर समूहतर्फ १४ टिम र ६० वर्ष उमेर पूरा भएका ६ समूह) कुल ३९ टिमको सहभागिता रहेको छ । यसअघि उक्त प्रतियोगिताको उद्घाटन पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी मधुकर सिंह कार्कीले गरे । सो अवसरमा बोल्दै उनले खेलकुदले सबै उमेर समूहलाई एउटै सुत्रमा बाँध्ने धारणा राखे । उनले खेलकुदको माध्यमबाट चौतर्फी विकास हुने बताउदै बगर भाइखलको प्रतियोगिताले आगामी वर्षहरुमा पनि निरन्तरता पाउने विश्वास व्यक्त गरेका थिए । उपाधि राशी २ लाख बगर भाइखलकका महासचिव मनकाजी गुरुङले ४० वर्ष उमेर समूहतर्फको विजेताले २ लाख उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताए । सो उमेर समूहको विधागततर्फ सर्वोकृष्ट खेलाडीलाई नगद १५ हजार, उत्कष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फवार्ड र प्रशिक्षकले नगद ५ र ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै ५० वर्ष उमेर समूहतर्फको विजेताले १ लाख र उपविजेताले ५० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । ६० वर्ष उमेर समूहतर्फको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा भारतको देहरादुन, काठमाडौं, ललितपुर, चितवन, सिरहा, हेटौंडा, सर्लाही, बुटवल,सिमरा,कैलाली, झापा, बिर्तामोड र पोखराका स्थानीय टिमको सहभागिता रहेको छ । १३ औं संस्करणको प्रतियोगितामा ४० वर्ष उमेरसमूहतर्फ जोरपाटी भेट्रान्स काठमाडौं, ५० वर्ष उमेर समुहतर्फ संगम भेट्रान्स पोखरा र ६० वर्ष उमेर समूहतर्फ बगर भाइ खलकले उपाधि जितेको थियो ।
पोखरा: पेशागत महासंघ नेपालसँग आबद्ध नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति कास्कीको १३ औैं जिल्ला अधिवेशनबाट रामचन्द्र पहारी सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्ष रामचन्द्र पहारीको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हाे । संगठनको खुला उपाध्यक्ष हरिप्रसाद रेग्मी, महिला उपाध्यक्ष ऐश्वर्य आचार्य पोखरेल, सचिव शिवप्रसाद पौडेल, सहसचिव नेत्रनारायण सुवेदी र कोषाध्यक्ष केशव ढुंगाना चयन भए । यस्तै कार्यसमिति सदस्य खुलातर्फ बुद्धिप्रसाद अधिकारी, सूर्यप्रसाद पोखरेल, गगन भुषाल र राजेन्द्र लामिछाने चुनिए । महिलातर्फ सरस्वती सापकोटा, नानु दाहाल सिग्देल, वसुन्धरा दवाडी र अस्मिता शर्मा छानिए । श्रेष्णी विहीनबाट कार्यसमितिको सदस्यमा माधव बराल सर्वसम्मत बने । जनजातिबाट रविचन्द्र श्रेष्ठ, युवाबाट विवश बास्तोला, प्रदेशबाट सन्तोष अधिकारी र स्थानीय तहबाट दमयन्ती पराजुली निर्विरोध भएका छन् । लेखा परीक्षण संयोजक मेघबहादुर बस्नेत, सदस्यमा विष्णु अधिकारी र यामप्रसाद पंगेनी सर्वसम्मत भए । अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा कमलबहादुर केसी, राजेन्द्रप्रसाद आचार्य, माधवप्रसाद पौडेल, कमलप्रसाद पनेरु, महिला प्रतिनिधिमा विष्णुदेवी पोखरेल र सहकारी प्रतिनिधिमा तिलकप्रसाद आचार्य चयन भए । प्रदेश प्रतिनिधिमा प्रविण भण्डारी, विष्णु पोखरेल पौडेल, जीवनकुमार तिवारी, गणेशबहादुर कार्की, विष्णुदेवी पोखरेल, नरेन्द्र रेग्मी, बेलकुमारी गुरुङ, महिला प्रतिनिधिमा सुशीला पोखरेल र सहकारी प्रतिनिधिमा गणेश कार्की निर्विरोध भएका छन् ।
पोखरा: पोखरा–१३ माछापोखरी फुटबल मैदानमा लोक कवि अलि मियाँको स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता आज देखि सुरु भएको छ । पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा भएको उद्याटन खेलमा ट्रिकर एफसी काहुँखोलाले जितेको छ । नेपाल मुस्लिम युथ समितिको सी टिमलाई ६–० गोलअन्तरले पराजित गदैँ ट्रिकरले खेल जितेको हो । यस्तै आजै भएको दोस्रो खेलमा एलसी ब्रदर्श लामाचौरले मिक्की एफसी रामबजारलाई २–१ को अन्तरमा जित निकाल्यो । प्रतियोगिता अन्तरगत सोमबार सात खेल हुने आयोजक समितिका सरशुल हकले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ४० हजार र द्धितीय हुने टिमले ८५ हजार पुरस्कार पाउने छन् । यस्तै विधागत तर्फ वेष्ट फरवाड, मिड–फिल्डर, डिफेन्सर, गोलकिपर र हाइस्केररलाई नगद ५÷५ हजारले पुरस्कार पाउने छन् । नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा भएको प्रतियोगिता यही माघ २० गतेसम्म चल्ने छ ।
पोखरा: पोखरा महानगरपालिका वडा नं १२ मा नि:शुल्क प्रजनन् स्वास्थ्य शिविर तथा स्वास्थ्य सचेतना कार्यक्रम भएको छ । नेपाल परिवार नियोजन संघ कास्कीले पोखरा महानगरपालिका वडा नं १२ वडा कार्यालयको सहयोगममा कार्यक्रम गरेको हो । कार्यक्रमबाट शनिवार ५८ जना लाभान्वित भएका छन् । एक सातासम्म वडा कार्यालयको सिफारिसमा संघको कार्यालयमा सम्पर्कमा आउनेलाई सेवा प्रदान गरिने छ । कार्यक्रमक उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले हरेक नागरिक आफ्नो स्वास्थ्य बारे सचेत हुनुपर्ने बताए । उनले काम गर्नका लागि दृढ इच्छा शक्ति आवश्यक भएको उल्लेख गरे । नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले सरकारी तथा गैर सरकारी संस्थासँग सहकार्य गर्दै संघ अघि बढ्न चाहेको उल्लेख गरे । उनले वडा अध्यक्ष बास्तोलाले नागरिकप्रतिको स्वास्थ्यमा गम्भिरता देखाएका कारण नै पोखरा १२ मा कार्यक्रमका गरिएको जानकारी दिए । नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १२ का वडा सदस्य शान्ति कोइराला, नेपाल परिवार नियोजन संघ कास्कीका बरिष्ठ शाखा प्रवन्धक नवराज तिवारी र स्त्री रोग विशेषज्ञ डा कालिका भण्डारी लगायतले बोलेका थिए ।
पोखरा: व्याण्डहरुको राजधानी पोखरामा ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा यहि माघ २६ गते शनिबार साँझ ५ बजेदेखि १० बजेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम गर्न लागेको आयोजकले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । कार्यक्रममा नब्बेको दशकमा उदाएर राष्ट्रिय/अन्र्तराष्ट्रिय ख्याती कमाउन सफल ७ वटा व्याण्डहरुले प्रस्तुती दिने गण्डकी प्रज्ञा प्रष्ठिानका सदस्य सचिव तथा सो कार्यक्रमका संयोजक मनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार कार्यक्रममा कन्दरा (विवेक श्रेष्ठ), डि-मर्चा व्याण्ड (भाष्करध्वज श्रेष्ठ), लेकाली व्याण्ड (नवीन गुरुङ र भाई गुरुङ), देउराली व्याण्ड (शान्त बज्राचार्य), ब्रोसिस व्याण्ड (प्रकाश राना), मध्याह्न व्याण्ड (कर्णदास र कुमार गुरुङ) तथा भेगाबोण्ड व्याण्ड (श्यामसुङ तामाङ)को प्रस्तुती रहनेछ । व्याण्डहरुको राजधानी पोखराको विरासत फर्काउनेगरी कार्यक्रम गर्न लागिएको आयोजक पोखरा सांगीतिक कलाकार संघ, नेपालका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले बताए । कुनैबेला पोखरा व्याण्डहरुको राजधानी थियो । ९० को दशकमा पोखराका व्याण्डहरुले देश, विदेशमा आफ्नो कला र संगीतमार्फत ध्यान तानेको थियो,उनले भने,‘समय अन्तरालमा आ–आफ्नो व्यस्तता र बाध्यताले गाँज्दा यो पहिचान बिस्तारै सुस्ताउँदै गयो । तर फेरी एकपटक जुर्मुराउने बेला आएको अनुभूति भएपछि त्यहि विरासत फर्काउनका लागि यो कार्यक्रम गर्न लागेका हौं ।’ उनले संगीतमार्फत विश्वको ध्यान फेरी एकपटक पोखरामा तान्न कार्यक्रम कोशेढुंगा सावित हुने उनको विश्वास छ । सुसुप्त अवस्थामा रहेका पुराना सांगीतिक व्याण्डहरुको पुर्नजागरण गर्ने र नया पुस्तालाई संगीतमा लागेरपनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिदै यसतर्फ आकर्षित गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको संघका सचिव भाष्करध्वज श्रेष्ठले बताए । पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएपनि व्यवहारिक रुपमा लागु नभइरहेको सन्दर्भमा यस कार्यक्रममार्फत पोखरा पर्यटनको राजधानी हुन डिजर्भ छ भन्ने सन्देश दिनु हो,उनले भने,‘कार्यक्रममार्फत पोखरालाई रिब्राण्डिङ गर्ने, गीत, संगीतको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने, गीत, सङ्गीतमार्फत् निराशाको निवारण र आशाको धुन सञ्चार गर्ने, कुलत र दुव्र्यसनबाट जोगिन युवालाई संगीतको माध्यमबाट सन्देश दिने, राष्ट्रिय एकताको भावनालाई बलियो बनाउँदै सद्भावको पक्षपोषण गर्नुपनि कार्यक्रमको उद्देश्य हो ।’ कार्यक्रममा सहभागिले आफूलाई ९० को दशकमा फर्किएर आफू हुर्किएको समय, परिवेश र माया, पिरती साट्दाको समयसँग रिलेट गर्न सक्ने संघका निवर्तमान अध्यक्ष सुनिल थापाले बताए । उनले भने,‘जसले परिवारसँगको माया थप प्रगाढ बनाउन तथा आफ्नो सन्ततीलाई त्यो समयबारे भन्ने अवसर सिर्जना गर्नेछ ।’ कार्यक्रम सम्पन्न गर्न गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठको संयोजकत्वमा ५०१ सदस्यीय मूल आयोजक समिति गठन भएर तयारी शुरु भइसकेको कार्यक्रमका प्रचारप्रसार संयोजक सन्देश श्रेष्ठले जानकारी दिए ।
पोखरा: पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बरभोटेनीस्थित चण्डी माध्यमिक विद्यालयको ६२ औं वार्षिकोत्सव एवम् ६३ औं अभिभावक दिवश विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । कार्यक्रमको एक समारोहका बीच पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले उद्घाटन गर्नुभयो । कार्यक्रममा वडा अध्यक्ष अधिकारीले शैक्षिक गुणस्तरीयतासँगै विद्यार्थीलाई नैतिकवान बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो । विद्यालयका आवश्यक भौतिक पूर्वाधारका लागि वडाका तर्फबाट सहयोग गर्ने विश्वास व्यक्त गर्दै उहाँले सबैको साथ र सहयोगमा यस क्षेत्रको समग्र विकास गर्न सकिने बताउनुभयो । भरतपोखरी आँफैंमा धेरै सम्भावना बोकेको क्षेत्र भएको बताउँदै उहाँले यहाँ हुने हरेका विकास निर्माण योजनालाई सफल बनाउनका लागि सबैले आ आफ्ना तर्फबाट सहयोग गर्नुपर्ने धारणा राख्नुुभयो । विद्यालयका पूर्व विद्यार्थी एवम् राष्ट्रिय समाचार समिति(रासस) गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेलले धेरै आरोह अवरोह पार गर्दै विद्यालयले यस क्षेत्रको शैक्षिक जागरणमा विशिष्ट भूमिका खेलेको बताउनुभयो । शैक्षिक गुणस्तरीयतासँगै विद्यार्थीलाई नैतिकवान बनाउने गरी विद्यालय परिवार लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । शिक्षासेवी एवम् अक्षयकोषदाता पिताम्बर पौडेलले स्थापनाकालदेखि बर्तमानसम्म यहाँका स्थानीय समाजसेवी, बुद्धिजीविको अथक प्रयासकै कारण विद्यालय यस अवस्थासम्म आइपुुगेको बताउनुुभयो । विद्यालयको वार्षिक प्रतिवेदन पेश गर्दै विद्यालयका प्रधानाध्यापक खिमबहादुर महतले विद्यालयको समग्र आर्थिक, शैक्षिक एवम् भौतिक प्रगति र भावी योजनाबारे जानकारी गराउनुुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुमबहादुर क्षेत्रीले सबैको साथ र सहयोगमा विद्यालयको सर्वाङ्गिण विकास गर्न सकिने बताउँदै सबैको सहयोगको अपेक्षा गर्नुुभयो । अध्यक्ष क्षेत्रीको सभापतित्व एवम् शिक्षकद्वय कमलप्रसाद पौडेल र सन्तोष लामिछानेले सञ्चालन गर्नुुभएको कार्यक्रममा पूर्व शिक्षिका सरस्वती खत्री, अक्षयकोष दाताहरूको सम्मान सँगै कक्षागत रुपमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवम् सल्लाहकार चेतबहादुर महत, शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष कमलप्रसाद पौडेल, नेकपा एमाले पोखरा महानगपालिका वडा नं ३३ का अध्यक्ष टुकराज भण्डारी, विद्यालयकी छात्रा लक्ष्मी केसी, लगायतले बोल्नुुभएको थियो । उक्त अवसरमा अभिभावक खेलसँगै विद्यार्थीहरूले भजन, गीत, नृत्य लगायतका विभिन्न प्रस्तुती देखाएका थिए ।
पोखरा: २४ औं संस्करणको आहा! रारा पोखरा गोल्डकपमा फ्यान अफ दि म्याचलाई पनि पुरस्कार दिइने भएको छ । सोको लागि पुरस्कारवापत् रकम प्रायोजन सहारा यूकेले गरेको हो । सहारा युकेका महासचिव क्या. पिताम्बर गुरुङ र सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङबीच फ्यान अफ द म्याच पुरस्कार प्रायोजनबारे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा सहारा क्लबका निवर्तमान अध्यक्ष हरिराम गुरुङ (सुरज), पूर्व अध्यक्ष विक्रम थकालीलगायतको उपस्थिति थियो । प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले सहारा यूकेका पूर्व अध्यक्ष मीन गुरुङले सहाराको अभियानमा विगतका वर्षमा झैं साथ दिँदै रकम संकलनमा सहयोग गरेकोमा आभार व्यक्त गरे । २४ औं आहा रारा पोखरा गोल्ड कप सहयोग अभियानमा सहभागी हुँदै सहारा क्लब पोखराका मानार्थ सदस्य महेश गुरुङबाट २५ हजार, लोक गुरुङबाट २५ हजार, क्लबका शुभचिन्तक नरजंग गुरुङबाट १५ हजार ५ सय ५५ र राम गुरुङबाट १५ सय १ सय रुपैयाँ सहयोग प्रदान भएको छ । क्लबले यही माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा २४ औं संस्करणको फुटबल प्रतियोगिता गर्दैछ । १२ टिमले भाग लिने प्रतियोगिताको क्लबले तयारी तीव्र पारिएको अध्यक्ष केशवराज बरालले बताए । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउ तथा सहप्रायोजक चितवनको जयश्री फुड्स प्रालि हो । क्लबले पोखरा १७, दोबिल्लामा सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी संचालन गरी हाल ३० जना बालकलाई आश्रय दिएको छ । बर्सेनि प्रतियोगिता आयोजना गरेर बचत रकम क्लबले एकेडेमीमा लगाउने गरेको महासचिव रामजीप्रसाद अधिकारीले बताए ।
पोखरा: पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न भएको छ । पौष २८ गतेदेखि शुभारम्भ भएको नगर सभा सभामा पेस भएका सम्पूर्ण प्रस्तावहरूमाथि छलफल गरी सर्वसम्मतिले पास गर्दै शुक्रवार सम्पन्न भएको हो । सभाले भवन नियमित तथा अभिलेखीकरण कार्यविधि (पहिलो संशोधन) २०८१, आर्थिक ऐन संशोधन २०८१, भवन निर्माण तथा पूर्वाधार (पहिलो संशोधन) २०८१, ४ तलामाथिका भवनहरूको सम्बन्धमा तुलनात्मक अध्ययन प्रतिवेदन तथा कार्यविधि निर्माणका लागि कार्यपालिकालाई दिइने निर्देशन समेत सर्वसम्मतिले पारित भएको छ । विभिन्न योजना तथा कार्यक्रमको बजेट तथा कार्यक्रम संशोधन, परिमार्जन र रकमान्तरका लागि नगर प्रमुखलाई अधिकार प्रत्यायोजन गर्दै नगर सभाले शिशुवा अस्पतालको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ । यसअघि कार्यपालिकाको बैठकले निर्णय गरी नगर सभामा पेस गर्नुपर्ने भनी गरेका सम्पूर्ण निर्णयहरू पनि महानगरपालिकाको १६ औँ नगर सभाले अनुमोदन गरेको छ। नगरसभाले राजश्व बक्यौता असुली कार्य योजना पनि पारित गरेको छ । राजश्व बक्यौता असुलीका लागि महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाको संयोजकत्वमा २ जना नगर सभा सदस्यहरू, लेखा समितिका १ जना सदस्य, वित्त व्यवस्थापन महाशाखा प्रमुख, नगर प्रहरीको तर्फबाट १ जना सदस्य रहने गरी राजश्व महाशाखाका प्रमुख सदस्य सचिव रहेको एक समिति समेत गठन गरेको छ । महानगरपालिकाका विभिन्न क्षेत्रहरूमा हालसाबिकको समस्या रहेकाले त्यसको समाधानका लागि पनि सम्बन्धित निकायहरूमा समन्वय गर्ने प्रस्ताव पनि नगर सभाले पास गरेको छ । नगर सभामा उठेका सबै विषयहरूलाई नगरसभाको अङ्गका रूपमा आत्मसात् गर्दै महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न गरिएको नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । यसअघि नगर सभा सदस्यहरू सुशील बास्तोला, शिवराम भण्डारी, परमेश्वर बहादुर कार्की, विष्णु प्रसाद घिमिरे, सनकमान सिके र रेसम सुवेदी लगायतले छलफलमा भाग लिनुभएको थियो ।

