पोखरा:   पोेखराको संस्कृत माध्यमिक विद्यालय परिसरमा निर्माण गरिएको जलाशय भित्र निर्माण गरिएको भगवान शंकरको जटाबाट निस्कने जलधाराको केदारेश्वर महादेव मणी मन्दीरका पीठाधिस चिद्घन चैतन्यजी महाराजले आज एक सम...

पोखरा:  ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । पर्यटन क्षेत्रको विकास र व्यवसायको दीर्घकालीन प्रवद्र्धनका लागि टान गण्डकीले अध्यक्ष दाहाललाई १२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।  ध्यानाकर्षणपत्र बुझ्दै अध्यक्ष दाहालले प्रदेशको पर्यटन विकासको लागि टान गण्डकीसँग सहकार्य गरेर अगाडी बढ्ने बताए । उनले पर्यटन क्षेत्रमा देखिएका समस्याहरू समाधानका लागि सरकार र सरोकारवाला निकाय एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । “पर्यटन व्यवसायीले कति कमाउँछ भन्नेमा चासो जति छ,त्यति नै पोखरामा पर्यटन कति आए र यसलाई अझ कसरी बढाउन सकिन्छ भन्ने विषयमा विशेष ध्यान दिन जरुरी छ । उनले थपे ‘पर्यटन क्षेत्रमा आर्थिक कारण र चेतनाका कारण देखिएका समस्या समाधानमा ध्यान दिनु अत्यावश्यक छ ।’ उनले अन्तर्राष्ट्रिय विमानस्थल उडानको ढिलाइको विषयमा सरकारको सिस्टममा कमजोरी भएको स्वीकार गरे ।  अध्यक्ष दाहालले चेतनाको कमीले यी समस्याहरू उत्पन्न भएको बताउँदै अन्तर्राष्ट्रिय उडानको लागि पहल गरिरहने बताए ।  यसअघि टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले रोजगारको ठूलो सम्भावना भएको पदयात्रा पर्यटनमा समन्वय र सहकार्यको खाँचो देखाउँदै टान गण्डकी सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका थिए ।  नेपालको पदयात्रा पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै आएको बताउँदै आचार्यले पर्यटन व्यवसायमा देखिएका समस्या समाधानका लागि तत्काल पहल गर्न अध्यक्ष दाहाल आग्रह गरेका थिए । टान गण्डकीले बुझाएको १२ बुँदे ध्यानाकर्षण पत्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यथाशीघ्र अन्तर्राष्ट्रिय उडान गर्न, काठमाडौँ–पोखरा जोड्ने पृथ्वी राजमार्गको तत्काल स्तरोन्नति गर्न, जथाभाबी मोटरबाटो निर्माणका कारण पदयात्रा क्षेत्रमा असर परेकोले विश्वप्रसिद्ध पदमार्गहरू लोप हुँदै जानु र पदयात्रा पर्यटनमा कमजोरी ल्याउन थालेको भन्दै नयाँ पदमार्गको खोज, प्रवद्र्धन तथा संरक्षणमा सरकारले ध्यान पु¥याईदिन उल्लेख गरिएको छ ।  यसका साथै, निषेधित क्षेत्रमा १ जनाले पनि यात्रा गर्न मिल्ने व्यवस्था गर्न, स्थानीय निकायले पालिका प्रवेश गर्दा विदेशी र आन्तरिक पर्यटकबाट शुल्क लिने निर्णय रोक्न, अवैध रूपमा सञ्चालन हुने पदयात्रा रोकेर कडा कारवाही गर्न, टिम्स चेकपोस्ट पुनः सञ्चालन गर्न, र पर्यटन क्षेत्रमा प्रभावकारी रूपमा गाइड वा सहयोगी नपरी यात्रा गर्न नपाउने नीतिलाई पनि थप मजबुतीकरण गर्नुपर्नेमा टानको आग्रह छ । संघीय संरचनामा समन्वयको अभावलाई सम्बोधन गर्न एकद्वार प्रणाली लागू गर्न, पर्यटन नीति तथा कानुनलाई समयसापेक्ष परिमार्जन गर्न र गण्डकी प्रदेशमै कम्पनी रजिष्ट्रारको कार्यालय स्थापना गरेर दर्ता प्रक्रिया सहज बनाउन समेत टानले ध्यानाकर्षण पत्रमार्फत जानकारी गराएको छ । धवलागिरी क्षेत्रलाई संरक्षित क्षेत्रको रूपमा घोषणा गर्दै क्याम्पिङ ट्रेकिङको  प्रवद्र्धन गर्न समेत टानको जोेड छ । 

पोखरा:  आगामी पुषको २५ देखि माघको ७ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने तेह्रौं संस्करणको पोखरा महोत्सवमा बैंकिङ पार्टनरको रुपमा रहेर ग्रीन डेभलपमेन्ट बैंकले सहकार्य गर्ने भएको छ ।    तेह्रौं संस्करणको पोखरा महोत्सवलाई पोखराको न्यूरोडमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंकले महोत्सवको बैंकिङ पार्टनरमा रहेर सहकार्य गरेको हो ।   महोत्सव आयोजक युनाईटेड क्लब पोखराका अध्यक्ष लोकबहादुर थापा र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।   सो अवसरमा बोल्दै ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकीले युनाईटेड क्लब संग अघिल्लो संस्करणका पोखरा महोत्सवहरुमा समेत सहकार्य गर्दै आइरहदा तेह्रौं संस्करणको पोखरा महोत्सवमासमेत महोत्सवको बैंकिङ पार्टनरको रुपमा रहेर सहकार्य गर्न पाउदा खुसी लागेको बताए ।    युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी महोत्सवको आम्दानीको बचत रकमबाट आयोजना गर्ने सामाजिक कामबाट आफु प्रभावित भएकाले सहकार्यलाई निरन्तरता दिएको उनको भनाइ रहेको थियो ।   यस्तै क्लबका अध्यक्ष लोक बहादुर थापाले युनाईटेड क्लबले आयोजना गर्ने पोखरा महोत्सव विशुद्ध सामाजिक कामका लागि भएकाले सम्पूर्णको साथ र सहयोगलेनै पोखरा महोत्सव तेह्रौं संस्करणसम्म आइपुगेको बताए ।   अघिल्लो संस्करणहरुमा जस्तै तेह्रौं संस्करणमा समेत ग्रीन डेभलपमेन्ट बैंक संग सहकार्य गर्न पाउदा आफुहरुलाई अझै हौसला प्रदान भएको थापाको भनाई थियो ।   उक्त अवसरमा युनाईटेड क्लब पोखराका संस्थापक अध्यक्ष हिमालय बख्रेल, क्लबका द्धितिय उपाध्यक्ष सूर्य बहादुर बानियाँ, , क्लबका कोषाध्यक्ष जयराम आचार्य, क्लबका कार्यसमिति सदस्य पूर्ण कुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।    महोत्सवको मिति नजिकिदै गर्दा महोत्सको तयारी तीब्र रुपमा अगाडी वढिरहेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । 

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ । हाल कालोपत्रका लागि पूर्वाधार तयारीको काम पूरा भएको छ ।   करिब दुई हजार दुई सय मिटर दूरीको उक्त सडक समयमा कालोपत्र नहुँदा जनगुनासो बढेको थियो ।   पर्वतस्थित लोकमार्ग आयोजना कार्यालयका इन्जिनियर किरण सुवेदीले जनगुनासो सम्बोधनका लागि स्तरोन्नतिका काम धमाधम अगाडि बढाइएको र अब कालोपत्रका लागि ‘प्लान्ट’ राख्ने काम भइरहेको बताए ।   उनका अनुसार आगामी माघभित्र सडक कालोपत्रको काम सम्पन्न हुने गरी प्रक्रिया अगाडि बढेको छ भने नाली, पर्खाल, कल्भर्टलगायत काम करिब छन् ।   विसं २०७९ साउनमा दुई वर्षमा सक्ने गरी ठेक्का दिइएको यस खण्डमा निर्माण कम्पनीको ढिलासुस्तीका कारण काम सम्पन्न हुन सकेको थिएन ।   समयमा काम नभएपछि आउँदो चैतसम्मलाई म्याद थप गरिएको छ । आयोजना कार्यालयले ठेक्का तोड्ने चेतावनी दिएपछि निर्माण कम्पनीले काम तीव्रगति अगाडि बढाएका जनाइएको छ ।   यो प्रदेश राजधानी पोखरा जोड्ने मुख्य सडक हो । पर्यटकीय राजधानीसमेत रहेको पोखरा प्रवेश गर्ने मुख्य सडकमार्गमा धुलो र हिलोको समस्या हुँदा समस्या भएको भन्दै स्थानीय आक्रोशित छन् ।   त्यसैले छिटो सडक स्तरोन्नतिको माग गर्दै स्थानीयले पटकपटक दबाबमूलक कार्यक्रम गर्दै आएका थिए ।   इन्जिनियर सुवेदीले कालोपत्रका लागि अन्तिम तयारी भइरहेकाले अब उक्त समस्या सधैँका लागि अन्त्य हुने बताए ।   पोखराको जिरो किमीदेखि हरिचोक र याम्दीदेखि फेदीसम्मको सडक तीन वर्षअघि नै कालोपत्र गरिएको थियो ।   पश्चिमतर्फ पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पूर्वलगायत जिल्लाबाट लोकमार्ग हुँदै दैनिक सयौँ सवारीसाधन पोखरा आउजाउ गर्छन् ।  रासस

पोखरा:    पर्यटकीय शहर पोखराबाट जापानिज प्रविधिको फुजी ब्राण्डको एलिभेटर (लिफ्ट) बिक्री बितरण हुने भएको छ । जापानिज प्रविधि र चीनमा कोलाब्रेट गरिएको फुजी ब्राण्डको एलिभेटर र एक्सेलेटरका लागि पोखरामा एलिभेटर टेक नेपाल पोखराले पोखराको चाउथेबाट बिक्री शुरु गरेको हो । फुजी ब्राण्डको एलिभेटर र एक्सेलेटरको लागि नेपालको आधिकारीक बिक्रेता एलिभेटर टेक नेपालको शुरुवात गर्दै मणिपाल शिक्षण अस्पतालका सञ्चालक आनन्द बतासले नेपालमा एलिभेटर खरिद गर्दा विभिन्न समस्याहरु उत्पन्न भरहदा फुजी ब्राण्डले पोखरामानै नेपालको लागि आधिकारीक डिलर सञ्चालन गरेकोमा खुसी ब्यक्त गरे ।  ग्राहकलाई सामाग्री बिक्री गर्नुभन्दा पनि त्यसको सामाग्री र सर्भिसका लागि ध्यान दिन आवश्यक रहेको वताउदै बतासले फुजी ब्राण्डको एलिभेटर र एक्सेलेटरले पोखरेलीको मन जित्ने गरी काम गर्नेमा आफु ढुक्क रहेको समेत बताए । त्यस्तै वरिष्ठ समाजसेवी रामजी बास्तोलाले पोखरामा लिफ्ट (एलिभेटर) किन्नका लागि काठमाण्डौ धाउनुपर्ने बाध्यता हटेको भएतापनि यसको सर्भिसिङ र सामाग्रीका लागि समेत फुजीको डिलरले ध्यान दिन आवश्यक रहेको बताए । त्यस्तै एलिभेटर टेक नेपालका टेक्निकल डिपार्ट हेड रमेशराज अधिकारीले फुजी ब्राण्डको एलिभेटर र एक्सेलेटरका लागि नेपालका लागि आफुहरु आधिकारीक बिक्रेता भएकाले यसमा कुनैपनि समस्या आएमा पोखराबाटै सर्भिसको ब्यवस्था भएकाले अन्य कम्पनीहरुमा जस्तो समस्या नहुने बताए । एलिभेटर टेक नेपालका सञ्चालक मोहन प्रसाद ढकालले नेपालमा गुणस्तरीय प्रविधीका एलिभेटरहरु भित्रयाउन आफुहरु लागि परेको बताए । फुजी कम्पनीले विश्वभरनै उच्च स्तरका एलिभेटरहरु बिक्री वितरण गर्दै आइरहेकाले आफुहरुले समेत त्यसलाई नेपालमा भित्रयाउने गरी एलिभेटर टेक सञ्चालनमा ल्याएको ढकालको भनाइ रहेको थियो । एलिभेटर संगै आगामी दिनमा फुजी एयर कन्डिसन एसि हरु समेत बिक्री वितरण गर्ने लक्ष्य रहेको ढकालले बताए । सो अवसरमा फुजी कम्पनीका प्रमुख पेङ र कम्पनीका बिक्री प्रमुख मेलिसाले फुजी कम्पनीका नयाँ एलिभेटरहरुको बारेमा जानकारी गराएका थिए ।

पोखरा:   मादी गाउँपालिकाका जेहेन्दार विद्यार्थीलाई ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’ ले विभिन्न २ विद्यालयका जेहेन्दार विद्यार्थीलाई लत्ताकपडा सहयोग गरेको छ ।   गत असोजमा ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’ मा सम्पन्न सांगीतिक कार्यक्रममार्फत संकलित रकममध्ये केही रकमको लत्ताकपडा मादी गाउँपालिका ७ को बाल पदम र मादी ६ को शिव शक्ति प्राविका ४३ जना विद्यार्थीलाई टोपी र स्वेटर सहयोग गरेको हो ।   उक्त समाग्री विद्यालय व्यस्थापन समितिका अध्यक्ष बोधराज बराल र प्रध्यानाध्यापक कलाधर सापकोटा र पदम सापकोटालाई द ट्रान्सिट रिसोर्टका सञ्चालक नर गुरुङ, आशिष गुरुङ र सुवास गुरुङले सँयुक्त रुपमा हस्तान्तरण गरे ।    सो अवसरमा बोल्दै विद्यालय परिवारले आभार प्रकट गर्दै आगामी दिनमासमेत समाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए ।   मादी गाउँपालिका ३ ज्याम्दु (तानतिङ जाने रुट) मा नर गुरुङ, आशिष गुरुङ र सुवास गुरुङले ‘द ट्रान्जिट रिसोर्ट’ सञ्चालन गर्दै आएका छन् । उक्त रिसोर्ट क्याम्पिङका लागि लोकप्रिय छ ।     व्यवसायीक लाभसँगै सामाजिक कार्य गर्ने उद्देश्यसहित ‘द ट्रान्सिट फायर एण्ड क्याम्प’ को सञ्चालक टिमले सहयोगको अभियान चलाएको युवा व्यवसायी नर गुरुङ बताए ।   ‘हामीले व्यावसायीक लाभ मात्रै होइन । समाजिक क्रियाकलापमा पनि प्रत्यक्ष सहयोग र योगदान पुर्याउने भनेर नै यो अभियान चलाएका हौं ।’ गुरुङले भने ।   उनका अनुसार पहिलो चरणमा मादी गाउँपालिका ७ को श्री बाल पदम र मादी ६ को श्री शिव शक्ति प्राविका ४३ जना विद्यार्थीलाई टोपी र स्वेटर प्रदान गरिएको हो ।   अब अर्काे चरणमा बाँकी अन्य विद्यालयमा सहयोग गने योजना रहेको उनले बताए ।         

पोखरा:    पोखरामा दोस्रो संस्करणको नेपाल चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिता २०८१ को तयारी थालिएको छ ।  यही पौष १३ देखि १५ (डिसेम्बर २८–३०) सम्म पोखराको फेवातालमा महोत्सवका रूपमा सञ्चालन गर्न लागिएको उक्त प्रतियोगितामा नेपालका ११, मित्रराष्ट्र चीनका ८ र मित्रराष्ट्र सिङ्गापुरको १ गरी कुल २० समूहको सहभागिता रहनेछ। गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल स्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सह आयोजनामा हुने प्रतियोगिताको विजेताले नगद रु.५ हजार डलर (नेपाली करिब ६ लाख  ७९ हजार रुपैयाँ), उपविजेताले नगद रु.२ हजार डलर (नेपाली करिब २ लाख ७१ हजार रुपैयाँ), तृतीय हुनेले नगद रु.१ हजार २ सय डलर (नेपाली करिब १ लाख ६३ हजार रुपैयाँ) र प्रतियोगितामा सहभागी बाँकी १७ वटा समूहलाई नगद रु।५ सय डलर (नेपाली करिब ६८ हजार रुपैयाँ) पुरस्कार पाउनेछन्। मित्र राष्ट्र चीनमा अत्यन्त लोकप्रिय रहेको ऐतिहासिक ड्रागन बोर्ड रेस प्रतियोगिता गत वर्ष देखि पोखरामा औपचारिक प्रतियोगिताका रूपमा पोखराको फेवा र वेगनासतालमा सञ्चालन गरिँदै आइरहेको छ ।  दर्जनौँ राष्ट्रिय र अन्तर्राष्ट्रिय समूहहरूले सहभागिता जनाउने यस प्रतियोगिता पोखरामा पनि लोकप्रिय बन्दै गइरहेको छ । यस वर्ष प्रतियोगिताको दोस्रो संस्करण यही पौष १३ देखि १५ (डिसेम्बर २८–३०) सम्म पोखराको फेवातालमा महोत्सवका रूपमा सञ्चालन हुन गइरहेको छ। गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल स्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सह आयोजनामा हुन लागेको यस प्रतियोगितामा नेपालका ११, मित्रराष्ट्र चीनका ८ र मित्रराष्ट्र सिङ्गापुरको १ गरी कुल २० समूहको सहभागिता रहनेछ।  प्रतियोगिताले नेपाल चिन दुईपक्षिय सम्बन्धमा नयाँ आयाम थप्ने, पोखरामा वाटर स्पोर्टसका नयाँ सम्भावनाहरूको खोजीमा सहयोग गर्ने, पोखराका तालहरूलाई आकर्षणको केन्द्रका रूपमा विकास गर्ने, पोखरा र आसपासको पर्यटन विकासमा टेवा पुराउन महत्त्वपूर्ण सहयोग पुग्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विश्वास व्यक्त गर्नुभयो । चिनियाँ राजदूतावासका डिसिएम वाङ् सिले आफूहरू पोखराको अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार र पोखराको पर्यटन प्रवर्द्धनका लागि विभिन्न खाले कार्यक्रमहरूमा सहकार्य गर्न तत्पर रहेको बताउनुभयो ।  नेपाल चिन सम्बन्धको लामो इतिहास रहेको उल्लेख गर्दै वाङले पर्यटन, संस्कृति र भौतिक विकासका सन्दर्भमा सहकार्य गर्दै जाने आफूहरूको चाहाना रहेको उल्लेख गर्नुभयो ।

पोखरा: पोखरा महानगरपालिका वडा नं ६ बैदाममा मुख्य कार्यालय रहेको सुनौलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।      साधारणसभाको एक कार्यक्रमका बीच पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि रविरमण तिवारी उद्घाटन गर्नुभएको थियो ।      सहकारी क्षेत्र चलायमान नभएसम्म देशको अर्थतन्त्र सुधार हुन नसक्ने बताउँदै उहाँले केही सहकारीमा समस्या भएपनि वित्तीय अनुशासनमा चलिरहेका सहकारीहरूमा बाहिर प्रचार भए जस्तो समस्या नरहेको उल्लेख गर्नुभयो ।      समुदायमा आधारित सहकारीमा तरलता बढी भएकोले सोतर्फ पनि सचेत रहन उहाँले सुझाव दिनुभयो ।       कार्यक्रममा उत्कृष्ट सदस्यहरू कृशु पौडेल, शुसिल गुरुङ, बुद्धिनाथ पाण्डे, भिमबहादुर खड्का, दावा छिरिङ् शेर्पालाई सम्मानपत्रबाट सम्मान गरिएको थियो ।      त्यस्तै सुनौलो शैक्षिक पुरस्कार अन्र्तगत आधारभुत तहमा शिक्षा समितिको सिफारिसमा सिष्मा गुरुङ र माध्यामिक तहमा ऐश्वर्या अधिकारीलाई नगद तथा प्रमाणपत्रबाट सम्मान तथा पुरस्कृत गरिएको थियो ।       संस्थाका अध्यक्ष टिकाराम सापकोटाको अध्यक्षता एवम् सचिव सोमबहादुर थापाद्वारा सञ्चालित कार्यक्रममा संस्थाका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक भोजकुमार श्रेष्ठले स्वागत तथा सहकारीका सात सिद्धान्त वाचन गर्नुभएको थियो ।      संस्थाका अध्यक्ष सापकोटाले आगामी दिनहरूमा पनि सदस्यहरूको सान्र्दभिक साथ र सहयोग पाउने विश्वास व्यक्त गर्दै सबैको साथ र सहयोगमा यसको महिमा र गरिमालाई उचो बनाउने बताउनुभयो ।      सचिव थापाका अनुुसार हाल संस्थामा एक हजार ९२९ जना शेयर सदस्य एवम् शेयर पुजीँ छ करोड एक लाख रुपैयाँ रहेको छ । संस्थाको कुल वासलत २७ करोड ४५ लाख रुपैयाँ रहेको र संस्थाले १८ करोड ८५ लाख निक्षेप संकलन गरी १८ करोड ३१ लाख ऋण परिचालन गरेको उहाँले जानकारी दिनुुभयो । सहकारीलाई प्रविधिमैत्री बनाउँदै यसको सञ्चालनका लागी आवश्यक नीति तथा कार्यबिधिहरू निर्माण गरि सहकारीका मूल्य र मान्यता अनुरुप सञ्चालन गर्ने उहाँले स्पष्ट पार्नुभयो ।      साधारणसभाले सचिव थापाद्वारा प्रस्तुत सचिवको प्रतिवेदन, लेखा सुपरिवेक्षण समिति संयोजक ईश्वरीप्रसाद पौडेलद्वारा प्रस्तुत लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, लेखा परीक्षणको प्रतिवेदन र कोषाध्यक्ष लिला भट्टराईद्वारा प्रस्तुत वार्षिक बजेट प्रस्ताव पारित गरेको छ । कार्यसमिति सदस्य एवम् विनियम उपसमिति संयोजक रामचन्द्र शर्माले संस्थाका विभिन्न विनियम निर्माणका लागि प्रस्ताव प्रस्तुत गर्नुभएकोमा साधारणसभाले सर्वसम्मत पारित गरेको छ ।      उक्त अवसरमा ऋण उप समिति संयोजक जीवनराज सापकोटाले ऋण लगानी र असुलीको बारेमा सदस्यहरूलाई प्रष्ट पार्नुभएको थियो ।           कार्यक्रममा संस्थाका सल्लाहकारहरू डम्बरबहादुर के.सी., गणेशबहादुर भट्टराई, बिष्णुबहादुर गुरुङ, कानुनी सल्लाहकार दामोदर अधिकारी, जिल्ला सहकारी संघका प्रतिनिधि मैना देबी रावतले बोल्नुुभएको थियो । 

पोखरा:   नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीमा नयाँ नेतृत्व चयन भएकाे छ ।   शाखाको १३ औँ साधारण सभा तथा सातौं अधिवेशनबाट ओमप्रकाश गैरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।   इक्यानको सातौं अधिवेशनबाट पदाधिकारीसहित ८ जनाको नयाँ नेतृत्व चयन भएको संघका सचिव सुरेन्द्र बरालले जानकारी दिए ।   अधिवेशनबाट उपाध्यक्षमा धनबहादुर शाही (सन्तोष) पुन: दोहोरिए । यस्तै सचिवमा सुरेन्द्र बराल, कोषाध्यक्षमा देवबहादुर क्षेत्री निर्वाचित भए ।   उपाध्यक्ष बाहेकका पदाधिकारीका लागि सहमति नभएपछि मतदान प्रकृयाबाट नेतृत्व चयन गरिएको उपाध्यक्ष धनबहादुर शाहीले बताए ।   अध्यक्षमा विश्वकल्याण अधिकारीलाई पराजित गदै गैरे निर्वाचित भएका हुन् । सचिवमा गणेश कार्कीलाई पराजित गदैँ बराल निर्वाचित भएका हुन् । भने, कोषाध्यक्षमा रुद्र गिरीलाई पराजित गदैँ क्षेत्री निर्वाचित भए ।   यस्तै सदस्यहरुमा डम्बरबहादुर जिसी, विक्रम बहादुर बस्नेत, राजन पन्थी र टंकराज बराल सर्वसम्वत चयन भए । निर्वतमान अध्यक्ष कार्यसमितिमा स्वत: चयन हुने व्यवस्था अनुसार रमेशकुमार थापासहित ९ सदस्यीस नयाँ समिति बनेको छ ।  निर्वाचित नयाँ समितिको कार्यकाल दुइ वर्षको हुनेछ ।   इक्यानले संघको अधिवेशनका लागि पुष्पराज भट्टराईलाई प्रतिनिधि खटाएको थियो ।   इक्यानका अध्यक्ष शेषराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इक्यानका पूर्वअध्यक्ष विष्णुहरी पाण्डे, इक्यान उपाध्यक्ष भुवन क्षेत्री, इक्यान कास्कीका पूर्वअध्यक्ष इवेन्द्रराज तिवारी र सल्लाहकार महेश पौडेलले बोलेका थिए । साधारण सभाले सचिवको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष गणेशबहादुर कार्कीको आर्थिक प्रतिवेदन पास गरेको छ । संघमा ५० संस्था आवद्ध छन् । 

पोखरा:   इलाका प्रशासन कार्यालय लेखनाथमा सामी परियोजना अन्तर्गत आप्रवासी स्रोत उपकेन्द्र स्थापना गरिएको छ ।   श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी र पोखरा महानगरपालिकाको सहकार्यमा उक्त उपकेन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल लगायतले शुभारम्भ गरे ।    अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा पोखरा महानगरपालिकाका वडा नं २६ देखि ३३ सम्म र रुपा गाउँपालिकाका बासिन्दाहरूले समेत सेवा लिन सक्ने गरी लेखनाथमा उक्त उपकेन्द्र सञ्चालनमा ल्याइएको हो ।   केन्द्रले वैदेशिक रोजगारीमा जान चाहने र वैदेशिक रोजगारीमा रहेकाहरूका लागि समेत आवश्यक परामर्श सेवा दिने गर्दछ । वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने सन्दर्भमा सामी परियोजना मार्फत सरकारले प्रभावकारी कार्यहरू गर्दै आइरहेको छ ।    नगर प्रमुख आचार्यले महानगरपालिकाले स्वदेश मै रोजगारी सृजना गरी उद्यमशीलताको प्रवर्द्धनमा लागिरहेको उल्लेख गर्दै वैदेशिक रोजगारीमा जानेहरूका लागि समेत आवश्यक तालिम र परामर्शका कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको बताए ।   विभिन्न अवधिका तालिमका कक्षाहरू सञ्चालन गरिरहेको महानगरपालिकाले सीप विकासमा जोड दिइरहेको उनले बताए ।   वैदेशिक रोजगारीका सम्बन्धमा आइपर्ने कुनै पनि प्रकारका समस्याहरूको समाधानका लागि महानगरपालिका आवश्यक समन्वय र सहकार्यका लागि प्रतिबद्ध रहेको नगर प्रमुख आचार्यले बताए ।   सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले वैदेशिक रोजगारीका सवालमा दैनिक रूपमा आउने समस्या र गुनासाको सुनुवाइ विलम्ब नगरी गर्ने गरिएको बताए ।   वैदेशिक रोजगारीलाई सुरक्षित र विश्वासिलो बनाउने कार्यमा आफूहरू लागिरहेको उनले बताए ।   सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकीका उपसचिव प्रकाशचन्द्र ढुङ्गानाले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन आवश्यक रहेको बताए ।   सामी परियोजनाकी प्रदेश स्तरीय कार्यक्रम व्यवस्थापक उमाकला शर्माले वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेको उल्लेख गर्दै यसको निराकरणका लागि चेतना र वैदेशिक रोजगारीमा आत्मसम्मानको आवश्यकतामा जोड िदए । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.२७ का वडाध्यक्ष पूर्ण कुमार गुरुङ, वडा नं.३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदी र पोखरा महानगरपालिकाका रोजगार संयोजक तथा सामी कार्यक्रमका फोकल पर्सन विष्णुप्रसाद दाहाल लगायतले बोल्नुभएको थियो । कार्यक्रमका सहभागीहरूले वैदेशिक रोजगारीका सम्बन्धमा भोग्न परेका समस्याहरूका बारेमा जिज्ञासा राखेका थिए ।