लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आयोजनामा नेपाल मै पहिलो पटक गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ आजबाट सुरु हुदैंछ । आज र भोलि पोखरा रंगशालामा हुने प्रतियोगितामा नेपालका १६ जना राष्ट्रिय स्तरका ब...

पोखरा:     नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित ‘आठौं पोखरा स्पोर्टस् अवार्ड’ मा वर्ष उत्कृष्ट पुरुष तथा महिला खेलाडीहरुलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ ।   अवार्डमा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका आईटिएफ टेक्वान्दोकी सुस्मिता थापा मगर र क्रिकेटका अर्जुन कुमाललाई पुरस्कार स्वरुप टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटरले पुरस्कार प्रदान गरेको हो । क्रिकेटका अर्जुन हाल अभ्यास खेलका लागि भारतमा रहेको हुँदा उनको पुरस्कार गण्डकी प्रादेशिक क्रिकेट संघका सेलेक्टर चन्द्रबहादुर गुरुङ ‘जिम्मी’ले ग्रहण गरे । उनीहरुलाई मञ्चका अध्यक्ष दीननाथ बराल र टेल्जी नेपालका पोखरा शाखा प्रमुख हिरा कोइरालाले संयुक्त रुपमा स्कुटर हस्तान्त्रण गरे । गत वैशाख २८ गते पोखरा सभागृहमा सम्पन्न भएको स्पोर्टस अवार्डको अन्र्तगतको वर्ष उत्कृष्ठ पुरुष तथा महिला विधाको पुरस्कार सम्पूर्ण प्रक्रियागत तरिकाले गर्दा केही समयपछि मंगलबार वितरण गरिएको मञ्चका अध्यक्ष एवं पोखरा स्पोर्टस् अवार्ड मूल आयोजक समितिका संयोजक बरालले जानकारी दिए ।   वार्षिकरुपमा मञ्चले आयोजना गर्ने स्पोर्टस् अवार्डमा विभिन्न सातवटा विधामा उत्कृष्ट अवार्ड वितरण गरेको थियो ।   जसमा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलाडी (पुरुष), वर्ष उत्कृष्ट खेलाडी (महिला), वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ र खेल पत्रकारिता पुरस्कार वितरण गरिएको थियो ।   स्कुटर हस्तान्तरण गर्दै मञ्चका अध्यक्ष दीननाथ बरालले खेलाडीको मनोबल उच्च राख्न खेलप्रतिको आकर्षणलाई थप बलियो बनाउन अवार्डले महत्त्वपूर्ण भूमिका खेलेको बताए । हस्तान्तरण कार्यक्रममा मञ्चका अध्यक्ष दीननाथ बराल, उपाध्यक्ष  सुरज श्रेष्ठ, सचिव शशी कुमार पौडेल, प्रतिभा छनौट समिति संयोजक रोहितराज पराजुली, पूर्व सल्लाहकार सुर्दशन रञ्जित, सदस्य रिसीराम जिसी, अवार्ड प्राप्त गर्ने खेलाडी थापामगर , गण्डकी प्रादेशिक क्रिकेट संघका सेलेक्टर चन्द्रबहादुर गुरुङ ‘जिम्मी’, टेल्जी नेपालका पोखरा शाखा प्रमुख हिरा कोइराला लगायत थिए ।  ञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ ।

पोखरा:   कास्कीका अन्नपूर्ण गाउँपालिका–३ काँडेमा आज दिउँसो कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।  काँडेमा कार दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।   पर्वतको कुश्माबाट पोखरातर्फ आउँदै गरेको ग ३ च ५३६३ नम्बरको कार अनियन्त्रित भई दुर्घटना हुँदा कारमा सवार ६ जना मध्ये चालकसहित ३ जना घाइते भएका हुन् । कार दुर्घटना हुँदा पवर्तको जलजला गाउँपालिका–६ घर भएका चालक ४४ वर्षीय सनम पुन, कुश्मा १२ बस्ने ४२ वर्षीय किशोर सापकोटा र शुशिला पुन घाइते भएको कास्की प्रहरीले जनाएको छ ।    घाइते तीनै जनाको पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।   

पोखरा:     पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । आयोगको टोलीले आज (मंगलबार) महानगर कार्यालयमा छापा हानेको हो । मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । उक्त उजुरीमाथि छानबिन गर्न अख्तियारको टोलीले महानगर कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिएको छ । अख्तियारले कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी अहिलेसम्म भएका निर्णय, राजस्व परामर्श समितिको निर्णय, नक्सापासलगायतका मणिपाल शिक्षणसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको हो ।  

पोखरा:      पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौं सेमेस्टरका विद्यार्थीहरुले आइतबार नमूना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् ।  पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुईवटा सेक्सनका ७२ जना विद्यार्थीहरुले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण गरेका थिए ।  बिबिए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीहरुलाई कार्यक्षेत्रको प्रत्यक्ष अनुभव गराउने सन्दर्भमा यो कार्यक्रम आयोजना गरिएको कलेजका बिबिए कार्यक्रम संयोजक हरी अधिकारीले बताउनुभयो । कार्यक्रममा क्याम्पस प्रमुख लिना श्रेष्ठ नेगीले विद्यार्थीहरुले यस्ता कार्यक्रमबाट आफ्नो व्यवसायीक जीवनमा अत्यन्त काम लाग्ने सीप सिकेकोमा खुसी व्यक्त गर्नुभयो । यस कार्यक्रमबाट कार्यक्षेत्रमा मिडियासँग सम्बन्ध राख्न, पत्रकार सम्मेलन सञ्चालन गर्न तथा प्रेस विज्ञप्ती तयार गर्न सिकेको विषय शिक्षक सुवास मल्लले जानकारी दिनुभयो । कार्यक्रममा पत्रकारहरु भरत कोइराला, शोभाकान्त सिग्देल र फडिन्द्र अकिञ्चनले विद्यार्थीहरुको प्रस्तुतीकरणमा टिप्पणी तथा मूल्यांकन गर्नुभएको थियो ।  सहभागी विद्यार्थी कुसुम गुरुङले नमुना पत्रकार सम्मेलनबाट नयाँ सिकाइको अनुभव लिएको सुनाइन् । उनले भनिन्, ‘पोखराका अग्रज पत्रकारसँग भलाकुसारी गर्न पाउँदा सार्है खुसी लागेको छ र कार्यक्रमले सिकाइमा थप उर्जा दिने आशा लिएकी छु ।’   पोखरा कलेज अफ म्यानेजमेन्टले विगत दुई दशकदेखि पोखरा विश्वविद्यालयबाट सम्बन्धप्राप्त गरी पोखरामा व्यवस्थापन संकायमा अध्ययन अध्यापन गराउँदै आएको छ । हाल कलेजमा दिवा तथा बिहानी सत्रमा ६ सय बढि विद्यार्थीहरु बिबिए र बिसिआईएस (आईटी) कार्यक्रममा अध्ययन गरिरहेका छन् ।

पोखरा:    पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीबाट राष्ट्रिय सेवा दल (एनसिसी) को प्रशिक्षणमा सहभागी विद्यार्थीहरूको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।  विद्यालयको सभाकक्षमा आयोजित एक विशेष समारोहका बीचमा उक्त अभिमुखीकरण कार्यक्रमअन्तर्गतको प्रथम प्रवचन समारोह आयोजना गरिएको हो ।  कार्यक्रममा राष्ट्रिय सेवा दलको सङ्क्षिप्त ऐतिहासिक झलकमाथि प्रकाश पार्दै नेपाली सेनाका सहसेनानी उमङ्ग श्रेष्ठले यसमा सहभागी हुने विद्यार्थीहरूले प्रशिक्षण अवधिभर गर्ने गतिविधिका बारेमा जानकारी गराएका थिए ।  कार्यक्रममा कृष्णदल गणका गणपति प्रमुख सेनानी अमित लामाले विद्यार्थीहरूमा राष्ट्रिय भावनाको विकास गर्दै उनीहरूको समग्र व्यक्तित्व विकासमा समेत प्रशिक्षणले सकारात्मक भूमिका निर्वाह गर्ने उनको धारणा थियो । कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले जीवनमा सीप आर्जन गर्ने धेरै उपायहरू हुने र तीमध्ये एनसिसीमार्फत् हुने प्रशिक्षण कार्यक्रम पनि एक भएको बताउँदै राष्ट्रिय सेवा दलको जुनियर डिभिजन तालिममा सहभागी एसओएसका विद्यार्थीहरूको प्रशिक्षणको पूर्ण सफलताको कामना गरे ।  विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले पूर्ण अनुशासनमा रही आफूमा अन्तर्निहित विभिन्न क्षमता उजागर गर्न विद्यार्थीहरूले एनसिसीको सि सं. ५० प्रशिक्षणलाई भरपुर उपयोग गर्ने विश्वास व्यक्त गरे । राष्ट्रिय सेवा दलको सि सं. ५० अन्तर्गतको प्रशिक्षण कार्यक्रममा एसओएस गण्डकीका तर्फबाट छात्र र छात्रा गरी जम्मा ३६ जना विद्यार्थीहरूको सहभागिता रहनेछ । जम्मा १०० दिने चल्ने उक्त प्रशिक्षणको पहिलो चरणका ७९ दिने कार्यक्रमहरू विद्यालयमै सम्पन्न हुनेछन् भने दोस्रो चरणको कार्यक्रममा प्रशिक्षार्थीहरूलाई २१ दिने विशेष कोर्सका लागि नवलपरासीको हात्तीखोरस्थित राष्ट्रिय सेवा दलको शिविरमा लगिनेछ ।  विद्यार्थीको सर्वाङ्गीण पक्षको मूल्याङ्कन गरी प्रारम्भिक चरणको छनोट गरिने एनसिसीको प्रशिक्षणमा एसओएस गण्डकीका विद्यार्थीहरूले दोस्रो पटक सहभागिता जनाएको विद्यालयका सहप्रधानाध्यापक वीरसिंह बुढाले बताए । यसपूर्व २०७८ सालमा पनि विद्यालयका विद्यार्थीहरूले यस्तै प्रकृतिको प्रशिक्षणमा सहभागिता जनाइसकेको उनले जानकारी दिए ।  

पोखरा:    गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले रैथाने उत्पादनको ब्राण्डिङमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।  साना तथा मझौला व्यवसायी महासंघ नेपाल कास्कीले आयोजना गरेको औद्योगिक मेलामा बोल्दै उहाँले अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न रैथाने उत्पादनलाई ब्राण्डिङ गर्नुुपर्ने बताउनुभएको हो । “गुणस्तरियतामा ख्याल राख्दै रैथाने उत्पादनको बजारीकरण गर्नुपर्ने आवश्यकता देखिन्छ । जसका लागि प्रदेश सरकार यहाँहरु सँगै छ ।”, उहाँले भन्नुभयो ।   मन्त्री थापाले साना तथा मझौला व्यवसायीहरुको आत्मबल बढाउने गरी प्रदेश सरकारले नीतिगत निर्णय गरेको जानकारी गराउनुभयो । सहुलियत ब्याजदरमा बैंकबाट ऋणको व्यवस्था मिलाइएको भनाई उहाँको छ । प्रकृति, संस्कृति, भेषभूषालाई आत्मसात् गर्दै हामीले हाम्रा उत्पादनमा ख्याल गर्नुपर्ने उल्लेख गर्नुभयो । आयत भन्दा पनि निर्यातमुखी बजारीकरणमा ध्यान दिन व्यवसायीलाई उहाँले आग्रह गर्नुभएको छ । सानै भए पनि आफ्नै व्यवसायले खुशी मिल्ने बताउँदै निरन्तरताले नै सफलता मिल्ने भनाई उहाँको छ । कार्यक्रममा साना तथा मझौला व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष हरिभक्त पराजुलीले साना तथा मझौला व्यवसायीको पीरमर्कालाई बुलन्द बनाउने कार्य गर्दै आएको जानकारी गराउनुभयो । गण्डकी प्रदेश अध्यक्ष ढाकाराम पौडेलले साना तथा मझौला व्यवसायी महासंघमा २५ करोड सम्म लगानी गर्ने व्यवसायी संस्थामा आबद्ध भएको उल्लेख गर्नुभयो । उहाँले प्रदेशलाई आर्थिक रुपमा सम्पन्न बनाउन साना तथा मझौला व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । कास्कीकी अध्यक्ष सिर्जना तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य मेला संयोजक भागिरथ शर्माले गर्नुभएको थियो । मेला पोखरा ९ नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा ५ दिनसम्म चलेको थियो ।

पोखरा:    पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा सगरमाथा आरोहणको इतिहास समेटिएको नयाँ डकुमेन्ट्री प्रर्दशन थालिएको छ ।  अल्पाइन क्लबले माउन्ट एभरेष्ट फाउण्डेसनसँगको सहकार्यमा तयार पारेको ‘एभरेष्ट बाइ दोज हु वेयर दियर’ डकुमेन्ट्री प्रदर्शन गरिएको हो ।  संग्रहालयमा आउने पर्यटकलाई यो डकुमेन्ट्री नियमित देखाइने संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानेले बताइन् ।  जोन पोर्टर र डन बुसले निर्माण गरेको डकुमेन्ट्री ३४ मिनेट लामो छ । सगरमाथा आरोहणका निम्ति सन् १९२१, २२ र २४ मा तिब्बततर्फबाट भएका प्रयासबारे डकुमेन्ट्रीमा उतारिएको छ ।  एक सय वर्षअघि सन् १९२४ मा १२ जना बेलायती नागरिक र दार्जिलिङका शेर्पा सहितको आरोहण दलले सगरमाथा चढ्ने प्रयास गरेका थिए । तिनै विषयलाई समेटेको डुकुमेन्ट्री देखाउन सुरु गरेको संग्रहालयले त्यतिबेलाका तस्वीरलाई ‘द फाइट फर एभरेस्ट १९२४’ नाम दिएर पर्यटकलाई प्रस्तुत गरिरहेको छ । तस्बिर जेठ २६ देखि नियमित प्रदर्शनीमा राखिएको हो ।  सोेमबारदेखि नै स्लोभेनियाका नागरिकले नेपालका हिमाल चढ्न थालेको इतिहासबारे जानकारी दिने तस्बिरकोसमेत प्रर्दशनी गरिएको छ । प्रदर्शनीको उच्च अदालत पोखराका न्यायधिश धनसिङ महराले उद्घाटन । सन् १९७५ मा स्लोभेनियाका नागरिकले मकालु हिमालको आरोहण गरि विश्वका १४ वटा हिमाल आरोहण गरेका छन् । साथै पर्वतारोहण संघले संचालन गर्दै आएको मनाङ माउन्टेनेरिङ स्कुलमा पर्वतारोहणको लागि गाईड तालिम लगायतका कामसमेत गरेको छ ।  तीनै फोटाहरु प्रर्दशनीमा छन् । फोटो प्रदर्शनीले पर्वतारोहण संघ र संग्रहालयको सम्बन्धलाई अझै कसिलो बनाउने विश्वास गरिएको छ । ति ऐतिहासिक फोटोलाई अब नियमित प्रदर्शनीमा राखिनेछ ।  कार्यक्रममा उच्च अदालत पोखराका रजिष्ट्रार अच्युत कुँइकेल, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, नाटा गण्डकीका अध्यष हरिराम अधिकारी, टेवान अध्यक्ष कमला गिरी, टान गण्डकीका अध्यक्ष धर्मराज पन्थी, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, पर्यटन विज्ञ डा. रामजी शर्मा, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयका सल्लहाकार हरिध्वज तुलाचन लगायतकोे उपस्थिती रहेको थियो । संग्रहालय हिमाल र हिमाली जनजीवनबारे अध्ययन अनुसन्धान गर्न चाहने पर्यटकको रोजाई बनेको छ । पोखरा महानगरपालिका– १७ रातोपैह्रामा १०० रोपनी क्षेत्रफलमा संग्रहालय छ । २०६० सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले संग्रहालयको उद्घाटन गरेसँगै सञ्चालनमा आएको संग्रहालय नेपाल पर्वतारोहण संघको मातहातमा सञ्चालनमा छ । संग्रहालयमा हिमाल, हिमाली समुदाय, जनजीवन र गतिविधिलाई उतारिएको छ । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा चालु वर्षमा १०५ देशका पर्यटकले भ्रमण गरेका गरेका छन् । सार्कबाहेक ९८ देशका पर्यटकले भ्रमण गरेको संग्रहालयको रेकर्डमा उल्लेख छ ।  

गण्डकी:      पर्यटकीय राजधानी पोखरा केबल मानव समुदाय घुम्ने पर्यटकीय गन्तव्य मात्रै होइन यो त स्वदेश एवं विदेशका चरा पनि घुम्ने र विचरण गर्ने स्थल हो । तालैतालको सहरको उपमा पाएको पोखरामा नौ ताल रामसार सूचीमा समेत सूचीकृत भइसकेका छन् । यिनै तालतलैयाका कारण पोखरा चरा पर्यटनका लागि पनि आकर्षक गन्तव्य बनेको छ । पोखराका तालतलैयामा बर्सेनि झण्डै तीन सय प्रजातिका विदेशी चरा चीन, साइबेरिया लगायतका देशबाट आउने गरेको पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए । प्रत्येक वर्षको हिउँद र वर्षातको समयमा छुट्टाछुट्टै प्रजातिका चरा पोखराका तालतलैयामा देखिने गरेको उनले जानकारी दिए । ‘विशेषगरी हिउँदको समयमा सिकारी प्रजातिका चरा पोखराका तालतलैयामा देख्न सकिन्छ, वर्षात्को समयमा कोइली प्रजातिका चरा देख्न सकिन्छ’, उनले भने, ‘साइवेरियालगायत टाढाटाढा विदेशी मुलुकबाट आएका चरा केही समय बिताएर फर्कने गरेका छन् ।’ पोखराका रामसार सूचीमा सूचीकृत तालमध्येको एक रुपाताल पनि हो । सुन्दा अचम्म लाग्न सक्छ तर, रुपातालले बर्सेनि झण्डै ५० लाख रुपैयाँ बराबरका माछा विदेशी चरालाई खुवाउँदै आएको छ । साविक लेखनाथ नगरपालिका–१०, ११ र १४ का केही भागले छोएको यस तालमा प्रत्येक वर्षको हिउँदमा आउने जलेवालगायत प्रजातिका चराले ५० लाखभन्दा बढीको माछा खाएर जाने गरेको रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्थाका अध्यक्ष शिवप्रसाद अधिकारीले बताए । ‘विशेषगरी पुस माघको समयमा करिब तीन महिना साइबेरियालगायत स्थानबाट रुपातालमा आउने करिब दुई सय ५० सङ्ख्याका जलेवाको आहारा माछा नै हो’, उनले भने, ‘सामान्यतः एउटा जलेवाले दिनभरिमा आधा किलोसम्म माछा खाने गर्दछ ।’ रातको समयमा ताल आसपासको जङ्गलमा बस्ने जलेवा बिहान सूर्योदयदेखि सूर्यास्तसम्म तालमा नै रहने र माछा खाने गरेको उनले जानकारी दिए । विगतमा अतिक्रमणमा पर्दै गएको ताललाई संरक्षण गर्ने उद्देश्यका साथ २०५८ सालदेखि सहकारी स्थापना गरी माछापालन गर्दै आयआर्जनसमेत गरिँदै आइएको उनले जानकारी दिए । सहकारी सञ्चालनमा आएसँगै यसका माध्यमबाट तालको संरक्षण र उपयोगमा जोड दिइएको बताउँदै उनले हाल सहकारीमा एक हजार ३० जना आबद्ध भइसकेको बताए । सहकारीअन्तर्गत माछा मार्न, चौकीदार, बैंकिङ कारोबार आदिका लागि २४ जनालाई रोजगारी दिन सकिएको सहकारीले जनाएको छ । सहकारीले वार्षिक करिब रु दुई करोड बराबरको माछा उत्पादन गर्न सफल बनेको जनाउँदै उहाँले तालमा रहु, नैनी, कमन, सिल्भर कार्प, तिलापियालगायत जातका माछा उत्पादन हुने गरेको बताए । उनका अनुसार तालमा करिब २४÷२५ स्थानीय जातका माछा रहेका छन् । रुपाताल पछिल्लो समयमा जलचर, वन्यजन्तु, पर्यावरण अध्ययन अनुसन्धान गर्ने खुला पाठशाला जस्तै बनेको जनाउँदै उनले वर्षेनी करिब २५ राष्ट्रबाट अध्ययन अनुसन्धानकर्ता आउने गरेको जानकारी दिए । रुपातालमा उत्पादित माछाको बजारका लागि कुनै समस्या नरहेको सहकारीका कर्मचारी रामजी अधिकारीले बताए । रुपातालको माछाको माग बढिरहेको जनाउँदै अधिकारीले मागबमोजिम पुर्‍याउन धौधौ हुने गरेको अनुभव सुनाए । तालको संरक्षण र विकासका लागि रुपाताल संरक्षण एकीकृत विकास परियोजनामार्फत पूर्वाधार विकासका काम भइरहेका छन् । चरणबद्ध अघि बढ्ने परियोजनाको लागत चार अर्ब ५२ करोड ८८ लाख रुपैयाँ रहेको परियोजनाका सूचना अधिकारी इञ्जिनियर कृष्णबहादुर विकले जानकारी दिए । उनका अनुसार परियोजनाअन्तर्गत जग्गा अधिग्रहणका लागि नौ सय ९५ रोपनी जग्गाको सूचना निकालिएकामा हालसम्म नौ सय ८७ रोपनी क्षेत्रको मुआब्जा वितरण गरिसकिएको छ । मुआब्जा वितरणका साथै तालबेंसीको पुल निर्माण भइसकेको छ भने सडक निर्माण पनि सम्पन्न भइसकेको छ । हाल बाँध निर्माणको काम अघि बढेको उनले जानकारी दिए । बाँध निर्माण भएपछि हाल रहेको पानी सतह छ सय २० मिटरबाट बढेर छ सय २४ मिटर हुने र तालको क्षेत्रफल हालको एक सय २२ हेक्टरबाट बढेर एक सय ८३ पुग्ने उनले जानकारी दिए । रुपातालको जलाधार क्षेत्र आसपासका जङ्गललाई समेटेर खुला चिडियाखाना सञ्चालनमा आउनुले पनि यस क्षेत्रको संरक्षण र विकासमा थप योगदान पुग्ने देखिएको छ । पचभैया प्राणी उद्यान केन्द्रका रुपमा सञ्चालित चिडियाखाना बृहत् पोखराको अवधारणाअनुसार यहाँको नयाँ पर्यटकीय आकर्षणका रुपमा साविक लेखनाथ नगरपालिकाका वडा नं ११, १२ र १४ मा रहेका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर बनाइएको हो । यहाँको एक सय ३४ हेक्टर क्षेत्रफललाई समेटेर पूर्वाधार विकासका कार्यक्रम अघि बढाइएको छ । चिडियाखाना परिसर एवं रुपाताल क्षेत्रमा चार सय ५० प्रजातिका जीवजन्तु तथा तीन सय ६१ प्रजातिका वनस्पति, एक सय ७५ प्रजातिका जडीबुटी पाइन्छन् । त्यस्तै रुपातालमा २४ प्रजातिका माछाका साथै विभिन्न ३६ प्रजातिका चराका साथै जङ्गल क्षेत्रमा बाघ, मृग, अजिङ्गरजस्ता जनावर पाइन्छन् । यहाँ आउने पर्यटकले यहाँबाट रुपातालको मनोरम दृश्यसँगै चिडियाखानामा चितुवा, नीलगाई, चित्तल, रतुवा मृग, चरी बाघ, अजिङ्गर, सेतो गिद्ध, हिमाली गिद्ध, कछुवा आदिको अवलोकन गर्न पाउँछन् । रुपा तालमा मोती उत्पादनको पनि सम्भावना देखिएको छ । यसअघि लामो समयको प्रयाससँगै बेगनासस्थित मत्स्य अनुसन्धान केन्द्रले यहाँका तालमा मोती उत्पादनको सम्भावनालाई प्रमाणित गरेसँगै रुपातालमा पनि मोति उत्पादन गर्ने सोच अघि बढाइएको सहकारीका अध्यक्ष अधिकारीले बताए । उक्त विषयलाई हाल परीक्षणका रुपमा अघि बढाइएको बताउँदै उहाँले परीक्षण सफल भएसँगै मोतिखेतीसमेत गरिने जानकारी दिए ।

पोखरा:      पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा बिबिए आठौं सेमेस्टरका विद्यार्थीहरुले आइतबार नमूना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुईवटा सेक्सनका ७२ जना विद्यार्थीहरुले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण गरेका थिए । बिबिए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीहरुलाई कार्यक्षेत्रको प्रत्यक्ष अनुभव गराउने सन्दर्भमा यो कार्यक्रम आयोजना गरिएको कलेजका बीबीए कार्यक्रम संयोजक हरी अधिकारीले बताए । कार्यक्रममा क्याम्पस प्रमुख लिना श्रेष्ठ नेगीले विद्यार्थीहरुले यस्ता कार्यक्रमबाट आफ्नो व्यवसायीक जीवनमा अत्यन्त काम लाग्ने सीप सिकेकोमा खुसी व्यक्त गरिन् । यस कार्यक्रमबाट कार्यक्षेत्रमा मिडियासँग सम्बन्ध राख्न, पत्रकार सम्मेलन सञ्चालन गर्न तथा प्रेस विज्ञप्ती तयार गर्न सिकेको विषय शिक्षक सुवास मल्लले जानकारी दिए । कार्यक्रममा पत्रकारहरु भरत कोइराला, शोभाकान्त सिग्देल र फडिन्द्र अकिञ्चनले विद्यार्थीहरुको प्रस्तुतीकरणमा टिप्पणी तथा मूल्यांकन गरेका थिए । पोखरामा लामो समयदेखि पत्रकारिता गरिरहेका पत्रकारहरुबाट आफ्नो नमूना पत्रकार सम्मेलनमा पृष्ठपोषण पाउँदा वास्तविक सिकाई भएको कार्यक्रममा सहभागी विद्यार्थी रचित पौडेलले बताए । पोखरा कलेज अफ म्यानेजमेन्टले विगत दुई दशकदेखि पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त गरी पोखरामा व्यवस्थापन संकायमा अध्ययन अध्यापन गराउँदै आएको छ । हाल कलेजमा दिवा तथा बिहानी सत्रमा ६ सय बढि विद्यार्थीहरु बिबिए र बिसिआईएस (आईटी) कार्यक्रममा अध्ययन गरिरहेका छन् ।