लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आयोजनामा नेपाल मै पहिलो पटक गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ आजबाट सुरु हुदैंछ । आज र भोलि पोखरा रंगशालामा हुने प्रतियोगितामा नेपालका १६ जना राष्ट्रिय स्तरका ब...

पोखरा:  कास्की प्रहरीले सुनसहित करिब ९६ लाखको समाग्री चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।   वडा प्रहरी कार्यालय बैदामले आज (सोमबार) पोखरा महानगरपालिका २२ घर भई पोखरा १३ मियाँपाटन बस्ने २१ वर्षीय नवीन नेपाली र गोरखाको अजिरकोट गाउँपालिका २ घर भई पोखरा ४ गैह्रापाटन बस्ने २९ वर्षीय सुवास थापामगर भनिने राजकुमार नेपालीलाई चोरी सार्वजनिक गरेको हो ।   नवीन नेपालीलाई मियाँपाटनको आफ्नै डेराबाट र थापामगरलाई लेखनाथको शुन्दरबजारबाट गत शुक्रबार पक्राउ गरिएको वडा प्रहरी वैदामका प्रहरी प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठले बताए ।     उनका अनुसार १० महिना अघि मात्रै चोरी मुद्धामा कैद भुक्तान गरेर जेलमुक्त भएका थिए ।    डिएसपी श्रेष्ठले उनीहरुको साथबाट ३४ तोलाबढि सुन, विभिन्न कम्पनीका १५ थान ल्यापटप, २ थान ड्रोन, क्यानन कम्पनीका ४ थान र सोनी कम्पनीको ५ थान डिएसएलआर क्यामेरा, नगद रु ११ हजार ५ सय ६८, २ थान स्यामसुङ कम्पनीको टिभी, चरेस तथा तामाका ४६ वटा भाडाकुडा, कफि मेसिन २ थान, ११ थान घडि लगायतका समाग्रीहरु बरामद गरेको बताए ।   उनका अनुसार उक्त समाग्रीको हालको बजार मूल्य ९६ लाख ४० हजार ५ सय ६८ रुपैयाँ रहेको उनले बताए ।   पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धि कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।                  

पोखरा:   जनप्रिय बहुमुखी क्याम्पसले पोखरालाई पर्यटनको राजधानी घोषण गरेपछि अब के ? भन्ने विषयमा पर्यटन उद्यमीसँग शैक्षिक सम्वाद कार्यक्रम सम्पन्न गरेको छ ।     क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवम् प्रमुख अतिथि वीरेन्द्रनारायण विजुक्छेले प्राकृतिक, साँस्कृतिक र भौलिक रूपले विश्वसामु चिनिएको पोखराले पर्यटकलाई अधिकतम सेवा दिएर सिटी कर लगाउन सुझाब दिदै सहरी सरसफाइ, अनुशासन, सडक सुरक्षा र तथ्याङ्क राख्न पर्यटन व्यवसायीलाई आग्रह गरे ।     गण्डकी प्रदेश नीति तथा योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. श्रीकान्त शर्मा खतिवडाले राजधानी घोषणपछि पोखराको ब्रान्डिङ र प्रमोसनमा सहयोग पुग्ने हुँदा तीन तहका सरकार, नागरिक समाज र उद्यमी व्यवसायीले समन्वयात्मक भूमिका निर्वाह गर्न जोड दिए ।   खतिवडाले  दीगो पर्यटनका लागि स्थानीय उत्पादन बढाउने, जनशक्ति मुलुकभित्रै टिकाउने, मुग्लिन, राम्दी र एयरपोर्टमा तथ्याङ्क सङ्कलन केन्द्र राख्नुपर्ने बताए ।     पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरालाई पर्यटनको राजधानी घोषणा गरेर मात्रै उपलब्धि हासिल हुँदैन्, नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले ठोस योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।   सुवेदीले पर्यटन व्यवसायी एक दशकसम्म द्वन्द्वमारमा, त्यसपछि महाभूकम्प, नाकाबन्दी , कोभिड–१९ को महामारी र आर्थिक मन्दीजस्ता समस्याले शिथिल भएको जनाए ।    पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने आधारका बारेमा पर्यटनविद् डा. रामजी शर्माले गण्डकी प्रदेश नेचर, कल्चर र एड्भेन्चरमा अगाडि रहेकाले २० वटा सूचाङ्कमा सुझाव दिएको बताए ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निमित्त प्रमुख नवीन पोखरेले पोखरालाई सस्तो गन्तव्य बनाउनु्भन्दा गुणस्तरीय सेवा दिएर खर्च गर्ने पर्यटक आमन्त्रण गरी डाटा सिस्टममा जान पर्यटन व्यवसायीलाई आग्रह गरे ।   पर्यटन व्यवसायी दोर्जे लामाले आफ्नो ४ दशक लामो अनुभव सुनाउँदै राजधानी घोषणासँगै सरसफाइ र सुरक्षित आवागमनसँगै व्यवहारिक अभ्यास गर्न सुझाए ।    विश्वविद्यालय अनुदान आयोगको सहयोगमा जनप्रिय बहुमुखी क्याम्पसको स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापन र एमविए इन हस्पिटालिटी म्यानेजमेन्टको आयोजनामा पर्यटन उद्यमीसँग शैक्षिक सम्वाद कार्यक्रम गरिएको हो । समूह छलफलको सहजीकरण दिपेन्द्र पहारीले गरेका थिए ।   निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काको अध्यक्षामा भएको कार्यक्रममा स्वायत्त कार्यक्रम संयोजक दिव्यलक्ष्मी चालिसेले स्वागत मन्तव्य राखेकी थिइन भने विष्णु तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।   

पोखरा:  पोखराको जिरो किलोमिटरदेखि हल्नचोकसम्म पुग्दा सडकको बीचको डिभाइडरमा हरिया धुपि र फुल ढकमक्क फुलेको भेटिन्छ । यो हरीयाली र फुलहरुले लेकसाइड जाने पर्यटक र स्वदेशीको ध्यान तान्ने गरेको छ ।   यसलाई रेखदेख गर्न बेलाबेलामा यहाँका स्थानीय लागि रहन्छन् । यता रेखदेखको सिप बोकेर उनीहरु पोखरा २५ हेम्जाको अन्तर्गतको राजमार्ग सडक डिभाइडरमा पुगेको छन् ।   ठेकेदारले रोपेका बिरुवाहरु मर्दै गएपछि सडकलाई हरियाली बनान उपयुक्त फुलका बिरुवा बोकेर पोखरा ६ र ७ का अगुवाहरु रोप्न पुगेका हुन् ।   वातावरण संरक्षणका अभियान्ताहरु जगन्नाथ तिमिल्सिना, होमनाथ पहारी (माइला बा), राम बहादुर लामिछाने, ठाकुर बराल, सन्जय पौडेल, दामु बराल, राजेन्द्रराज रेग्मी, गंगाप्रसाद तिवारी पुगेका छन् । उनीहरुले लेकसाइडको डिभाइडरबाट फुलका कटिङहरु लगेर सारेका हुन् ।   अहिले सम्म १ हजार कर्बिर फुलका विरुवा सारी सकेको अभियानका सदस्य दामु बरालले बताए । उनले अझै १ हजार भन्दा बढि कर्बिर फुलका विरुवा रोप्ने तयार पारेको बताए ।   विरुवा सार्नका लागि सहयोग गर्न हेम्जा बासिलाई बरालले अनुरोध गरे । कर्बिरका दुई थरी रातो र सेतो फुल्ने फुल सारेको उनले बताए ।   पोखरा २५ का वडा अध्यक्ष मोती तिमिल्सिनाले उनीहरुको कामलाई धन्यवाद दिदै फेसबुकमा अन्यलाई पनि सहयोग गर्न आग्रह गरेका छन् ।   फुल हुर्काउन निकै मेहनत गर्नु पर्ने अभियानका सदस्य जगन्नाथ तिमिल्सिनाले बताए । उनकै नेतृत्वमा विरुवा सार्ने काम भएको छ । यो बिरुवा हरियालि र सौन्दर्यकरणका लागि उपयुक्त भएको उनले बताए । 

पोखरा:    पोखरा महानगरका न्यायिक समितिले नागरिक, श्रमिक, विद्यार्थीहरुलाईन्यायिक समितिका बारेमा जानकारी गराउने उद्देश्यले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ ।   पोखरा महानगरपालिकाको न्यायिक समितिको संवैधानिक व्यवस्था, गठन प्रक्रिया र अधिकार क्षेत्रका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।    महानगरले विभिन्न संघसंस्थाहरुसंग मिलेर कार्यक्रम सञ्चालन गरिहेको छ ।   'न्यायिक समितिसंग विद्यार्थी' कार्यक्रम अन्र्तगत आइतबार महानगर न्यायिक समितिको सहयोगमा प्रेस क्लब गण्डकीको आयोजनामा पोखराको सिमलचौरमा रहेका जनप्रिय  बहुुमुखी क्याम्पसमा अध्ययनरत छात्राहरुलाई न्यायिक समितिको बारेमा जानकारी गराइएको छ । स्थानीय सरकारको न्यायपालिकाको रुपमा रहेको न्यायिक समितिको व्यवस्था र यसले निरुपण गर्ने विवादका विषयमा सचेतना जगाउने उद्देश्यले वार्षिक कार्यक्रममा समावेश गरिएको पोखरा महानगरका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले बताइन्।    गुरुङले स्थानीय तहका विवाद स्थानीय तहबाटै समाधान गर्ने उद्देश्यले न्यायिक समितिको परिकल्पना संविधानमा गरिएकाले नागरिकलाई  यसको बारेमा जानकारी गराउन वार्षिक कार्यक्रममा  समावेश गरेर सञ्चालन गरिएको सुनाइन् ।   स्थानीय तहमा सृजना भएका विवादलाई स्थानीय स्तरमा समाधानका लागि न्यायिक समिति गठन गरिएको बताइन् ।   'स्थानीय विवादहरु अदालत पुुग्ने अवस्थाले समय र पैशा दुवै खर्च हुने भएकाले सहज रुपमा न्याय पाउने उद्देश्यले उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समितिको व्यवस्था गरिएको हो,' उनले भनिन् ।  

पोखरा:   पोखरामा गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष र महिला क्रिकेट प्रतियोगिता हुने भएको छ ।   प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पुरुष र महिलाको दुई छुट्टा–छुट्टै टि–२० क्रिकेट प्रतियोगिता हुने भएको हो ।   प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलका अनुसार पुरुष टि–२० क्रिकेट प्रतियोगिता यहि जेठ ३२ गतेबाट असार ६ गते सम्म पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा सञ्चालन हुनेछ भने महिलातर्फ हुने प्रतियोगिता असार ७ देखि १० गते सम्म सञ्चालन हुनेछ ।   दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनौट समेत रहेको प्रतियोगितामा विजेता टिमलाई नगद पुरस्कार १ लाख र उपविजेता टिमलाई नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रादन गरिने अध्यक्ष सिग्देलले जानकारी दिए ।   प्रतियोगितामा ८ जिल्लाको सहभागिता हुने गण्डकी प्रादेशिक क्रिकेट संघले जनाएको छ । 

पोखरा:   कास्की बचत तथा ऋण सहकारी संस्थाले वार्षिक नीति तथा बजेट निर्माणसम्बन्धि दुई दिने तालिम सम्पन्न गरेको छ ।   तालिममा कास्की बचत तथा ऋण सहकारीमा आवद्ध कास्की जिल्ला विभिन्न सहकारीबाट सञ्चालक, कार्यकारी प्रमुख तथा व्यवस्थापक गरी ४९ जनाको सहभागिता रहेको कार्यक्रम संयोजक तथा संस्थाका कोषाध्यक्ष केशवशरण पौडेलले जानकारी दिए । उनका अनुसार तालिममा नेफ्स्कुन पूर्व कार्यकारी प्रमुख कुवेर निरौलाले सहजिकरण गरेका थिए ।   सो अवसरमा बोल्दै प्रमुख अतिथी पोखरा महानगर पालिका सहकारी महाशाखाका अध्यक्ष रविरमण तिवारीले सहारीको ऐन नियम र कानुनको उल्लङ्घन गर्ने छुट कसैलाई नभएको बताए ।   यस्तै कास्की बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार सुदिप ढकालले सदस्य केन्द्रीय भएर संस्था सञ्चालन गरेको बताउदैसहकारी समस्यामा नपर्ने बताए ।   कास्की बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शेरबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा निर्वतमान अध्यक्ष भेषराज बराल, सहभागि डम्वरसिंह वस्नेत, शान्ती अधिकारी संस्थाका उपाध्यक्ष ईश्वर प्रसाद सुवेदी र सचिव मिनराज तिमिल्सिना लगायतले बोलेका थिए ।    

पोखरा:    न्यू ग्यालेक्सी हाइयर सेकेण्डरी स्कूलमा एसइइका विद्यार्थीलाई लक्षित गरेर विविध कार्यक्रम सम्पन्न भएको छ ।   विद्यालयले एसइइ दिएर बसेका विद्यार्थीहरुलाई लक्षित फुटसल, बास्केटबल अनलाइन प्रश्नोत्तर तथा विविध कार्यक्रम आयोजना गरेको हो ।   फुटसलतर्फ बिटी ट्रेनी सेन्टर प्रथम भए । यस्तै रतुवा एफसी द्धितीय भएका थिए ।   प्रथम बनेको बिटीले नगद ३० हजारसहित ट्रफि र मेडल प्राप्त गर्याे ।   यस्तै  दोस्रो बनेको रतुवालाई  १५ हजार नगदसहित ट्रफि र मेडल प्रदान गरिएको प्राध्यापक डा. रामजी शर्माले जानकारी दिए ।   उनका अनुसार छात्र बास्केटबलतर्फ कोटगाउन म्याग्दी प्रथम र मेसा दोस्रो भए । प्रथम र द्धित्तिय बनेका टिमले क्रमश २० हजार र १० हजारसहित ट्रफि मेडल प्राप्त गरे ।   छात्रा बास्केटबलतर्फ मर्दि हिमाल प्रथम हुदै नगद रु ८ हजारसहित ट्रफि र मेडल हात पार्याे भने दोस्रो भएको पश्चिमाञ्चलले नगद रु ५ हजारसहित ट्रफि र मेडल प्राप्त गर्याे ।   यसैगरी अनलाइन प्रश्नोत्तरतर्फ प्रथम हुने अनुसा श्रेष्ठ, द्धितीय हुने दिपिका थापा र तृतीय हुने विपिन अधिकारीलाई नगद १५ हजार, ८ हजार र ५ हजार प्रदान गरिएको विद्यालयका प्रिन्सिपल डा. रामजी शर्माले बताए ।   विजेता तथा उपविजेताहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेकी गण्डकी प्रदेश सभाकी उपसभामुख विना कुमारी थापाले शिक्षामा निजी क्षेत्रले गरेको लगानी अतुलनीय रहेको धारणा राखेकी थिइन् ।   न्यू ग्यालेक्सी हाइयर सेकेण्डरी स्कूलका निर्देशक राजु कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, नेपाल ओलम्पिक कमिटी स्पोर्टस फर अल कमिशन गण्डकी प्रदेशका अध्यक्ष खड्गबहादुर रानाभाट विद्यार्थी संयोजक धनप्रसाद श्रेष्ठ, मिस एसइइ गण्डकीका निर्देशक सुरज मगरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  

पोखरा:  गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज दिउँसो ३ बजे प्रदेश सभा बैठकमार्फत विश्वासको मत लिँदैछन् ।    उनले आफुलाई विश्वासको मत दिन गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नेसपा र स्वतन्त्र सांसद राजीव गुरुङलाई पत्र लेखेका छन् ।     यद्यपी प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र माओवादी केन्द्र सकरात्मक देखिएको छैन । तर राप्रपाले भने कांग्रेको हकमा लचिलो बन्ने बताउदै आएको छ । स्वतन्त्र सांसदको हैसियतमा रहेका राजीव गुरुङले पनि बहुमत पुर्याउन सकेको खण्डमा दिन सक्ने अभिव्यक्ति दिदैं आएका छन् ।    संविधानको धारा १६८ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका उनलाई बहुमत पुर्याउन ३१ प्रदेशसभा सदस्यको साथ चाहिन्छ ।   यद्यपि उनले बहुमत जुटाउन नसक्ने प्रमुख प्रतिपक्ष दल एमाले र माओवादी केन्द्रको दाबी छ ।   ६० सदस्ययीय प्रदेशसभामा अहिले कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका सभामुखसहित ८ राष्ट्रिय प्रजातन्त्र पार्टीका २  र एक स्वतन्त्र सांसदको हैसियतमा राजीव गरुङ छन् ।  

पोखरा:   पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगितामा कास्की र तनहुँ उपाधिका भिड्ने भएका छन् । पोखरा रंगशालामा आइतबार सम्पन्न दुई छुट्टा–छुट्टै सेमिफाइनलबाट उपाधिका लागि भिडन्त हुने टिमको टुङ्गो लागेको हो ।   पहिलो सेमीफाइनलमा तनहुँले बागलुङलाई २–१ गोलले पराजित गरी फाइनलमा पुगेको हो ।   बागलुङका राजीव श्रीषले ११ औं मिनेटमा गोलको खाता खोल्दै टिमलाई अग्रता दिए पनि तनहुँले २२ औं मिनेटमा बराबरी गोल फर्कायो । तनहुँका सान्त बहादुर गुरुङले टिमका लागि गोल गरे भने ३५ औं मिनेटमा दिपेश आलेले तनहुँका लागि अर्को गोल थप्दै विजयी बने ।   उक्त खेलमा तनहुँका लक्ष्मण थापा म्यान अफ दि म्याच घोषित भए ।   यस्तै अर्को सेमीफाइनलमा कास्कीले म्याग्दीलाई ४–१ ले पराजित गर्दै फाइलनमा तनहुँसँगको भेट पक्का गर्याे। कास्कीका लागि किशोर गुरुङ र राज कुमार कुंवरले समान २–२ गोल गरे ।   किशोरले ४१ र ५९ औं टिमका लागि गोल गरे भने राज कुमारले ४४ र ४७ औं मिनेटमा गोल गरेका थिए ।   सो खेलमा कास्कीका राजकुमार म्यान अफ दि म्याच बने ।   फाइनल खेल आज दिउसो १ बजे सञ्चालन हुने गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङले जानकारी दिए ।   उनका अनुसार विजेता टिमले नगद २ लाख र उपविजेता हुने टिमले नगद १ लाखका साथमा ट्रफी र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट हुनेछन् ।