पोखरा:  अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) पोखराका प्रमुख डा. रविन कडरियाले घान्द्रुक पदमार्गको हब बन्न सक्ने बताएका छन् ।    कास्कीको अन्नपूर्ण गाउँपालिका–१०/११ स्थित घान्द्रुक पर्यटन व्यवस्थ...

पोखरा:  राष्ट्रिय भूमिअधिकार मञ्च नेपाल गण्डकी प्रदेश मञ्चको बैठक एवम् अभिमूखिकरण कार्यक्रम विभिन्न महत्वपूर्ण विषयमा समिक्षा गरी  कास्कीमा सम्पन्न भएकाे छ ।   बैठकमा मञ्चका राष्ट्रिय अध्यक्ष ल्याम बहादुर दर्जी र केन्द्रिय सदस्य निर्मल नेपालीले अभिमुखिकरणको सहजीकरण गरेका थिए भने नवलपुर, गोर्खा, तनुहँ, कास्की, पर्वत र बाग्लुङ जिल्लाका ३६ जना अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।   सो अवसरमा जिल्लागत समिक्षा, प्रदेश मञ्चको साङ्गठनिक प्रतिवेदन, राष्ट्रिय मञ्चको साङ्गठनिक प्रगति प्रतिवेदनमाथि छलफल गर्नुका साथै वार्षिक योजना सम्बन्धि निर्णय गरेको थियो ।   साथै गत जेठ २० गते दाङ जिल्लामा भएको गुठी आन्दोलनमा घाइते मञ्चका सदस्यहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथैै घाइतेको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्नु पर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो ।   बैठकमा देशभर भइरहेको भूमिहिन दलित, भूमिहिन सुकुम्बारी तथा अव्यवस्थित वस्तीहरु उठिबास, वेदखली, भूमि आयोग विगटन, गुठी आन्दोलनहरुबारे समिक्षा गर्नुका साथै समसामयिक विषयमा गहन छलफल गरेको गण्डकी प्रदेश मञ्चका अध्यक्ष रामबहादुर लामिछानेले बताए ।   सो अवसरमा गण्डकी प्रदेशका कोषाध्यक्ष धनकुमारी गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन बैठकले सर्वसम्मत पास गरेको थियो ।   कार्यक्रममा राष्ट्रिय भूमि आयोग कास्कीका निवर्तमान प्रवक्ता आसबहादुर गुरुङ, मञ्चका केन्द्रिय सदस्य मनरुपा कुमाललगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।   मञ्चको गण्डकी प्रदेश अध्यक्ष रामबहादुर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश उपसचिव मोहन प्रसाद गुरुङले स्वागत र संचालन कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङले गरेका थिए ।                                                      

पोखरा:    यू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशस्तरीय छनौट प्रतियोगिता पोखरामा सम्पन्न भएको छ ।   प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा सम्पन्न प्रतियोगितामा विभिन्न खेलका ७६ जना खेलाडीहरु छनौट भएका हुन् ।   राष्ट्रियस्तरको यू–१५ विद्यालय खेलकुद प्रतियोगिता यहि जेठ ३० र ३१ गते पोखरामा आयोजना हुँदैछ । एथलेटिक्सतर्फ १०० मि, २०० मि, ४०० मि, ८०० मिटर दौड, सटपुट, लङ्गजम्प, र रिले दौडका लागि ६ छात्र र ६ जना छात्रा गरी १२ खेलाडी छनौट भएका छन् ।   छनौट भएका एथलेटिक्स खेलाडीहरुमा राज गुरुङ (लमजुङ), स्पिन पौडेल (पर्वत), गणेश श्रेष्ठ (पर्वत), अभिशेष थनेट (नवलपुर), अंकित रानाभाट (तनहुँ) र सुशन बोटे (नवलपुर) रहेका छन् ।   त्यसै गरी छात्रातर्फ कन्चन भण्डारी (म्याग्दी), सुजाता कुमाल कास्की, जुना सरु मगर (स्याङजा), अञ्जली अधिकारी (कास्की), अनुस्का अधिकारी (कास्की) र आरती बिक (नवलपुर) रहेका छन् ।   बास्केटबल छात्र/छात्रा   राष्ट्रिय यू–१५ विद्यालयस्तरीय प्रतियोगिताका लागि छात्रतर्फ १० र छात्रातर्फ १० गरी २० खेलाडी छनौट भएका छन् ।   छनौट भएका छात्रतर्फ हिराजङ घले, अविनाश पुर्जा, सुयोग बाँनिया, रिदम खाँड, प्रशान्त तिमिल्सिना, शौभाग्य पुन, विजन घले, आशिष पुन, सज्जन तिलिजा र लेनिश मल्ल रहेका छन् ।   त्यसै गरी छात्रातर्फ  सरगम केसी, जेनिशा पाण्डे, जेनियम श्रेष्ठ, आवृती बराल, क्यारोल श्रेष्ठ, इशिता श्रेष्ठ, आकृती गुरुङ, रिमा सिञ्जाली मगर, स्नेहा श्रेष्ठ र एलिशा गुरुङ रहेका छन् ।   ब्याडमिन्टन छात्र/छात्रा   प्रतियोगिता अन्तर्गत नै भएको ब्याडमिन्टन छात्र÷छात्रातर्फ ४–४ जना गरी कुल ८ खेलाडी छनौट भएका छन् ।   छात्र व्यामिन्टनतर्फ सफल श्रेष्ठ (तनहुँ), अमृत थापा (कास्की), गेजराज कार्की (कास्की) र नेल्सन गुरुङ (तनहुँ) रहेका छन् भने बैकल्पिक खेलाडीमा सक्षम गुरुङ (लमजुङ) रहेका छन् ।   त्यसै गरी छात्रातर्फ दिलाशा राना (तनहुँ), शेरेन प्रधानाङ्ग (कास्की), खुसी दाहाल (कास्की), समृद्धि श्रेष्ठ (गोरखा) र बैकल्पिक खेलाडीमा प्रतिक्षा शर्मा (कास्की) रहेका छन् ।     बुद्धिचाल छात्र/छात्रा   राष्ट्रिय यू–१५ विद्यालयस्तरीय प्रतियोगिताका लागि छात्रतर्फ ४ र छात्रातर्फ ४ गरी कुल ८ खेलाडी छनौट भएका छन् ।   छनौट भएका खेलाडी छात्रतर्फ विद्यान श्रेष्ठ (स्याङजा), सवृश श्रेष्ठ (तनहुँ), खुसीराज सिउथाना (कास्की) र कुशल रम्तेल (गोरखा) रहेका छन् भने छात्रातर्फ खसी आचार्य (कास्की), उज्विनी कँडेल (नवलपुर), आयूषा क्षेत्री (स्याङजा) र विनिता गुरुङ (कास्की) रहेका छन् । सम्पन्न विभिन्न प्रतियोगिताका बिजेता खेलाडीहरुलाई परिषदका सदस्य सचिव श्रीधर शर्मा, कार्यकारी सदस्य दिल बहादुर गुरुङ, कार्यकारी सदस्य ऋषीराम गौतम, परिषदका सदस्य केशव पाठक, विनय थापालगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।   प्रतियोगिता सम्पन्न गर्न परिषदले विभिन्न ६ खेलका खेल संघहरुलाई व्यवस्थापनको जिम्मेवारी दिएको थियो ।   छनौट खेलमा ४ सय १६ खेलाडी र टिम प्रशिक्षक हरु गरी ४ सय ८७ जनाको सहभागिता रहेको थियो ।   पहिलो पटक आयोजना हुन लागेको विद्यालय यू–१५ प्रतियोगिताको उद्घाटन जेठ ३० गते हुनेछ । प्रतियोगिता अन्तर्गत हुने सबै खेलहरु पोखरा रंगशाला परिशरमा नै सञ्चालन हुनेछन् । यू–१५ विद्यालय प्रतियोगितामा सात प्रदेशका विभिन्न ६ खेलका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी ६ सय ३० जनाको सहभागिता हुनेछ ।

पोखरा:   रोटरी क्लब अफ पोखरा अन्नपूर्णले पोखरा–३३, बागमारा र पोखरा–२१, निर्मलपोखरीमा रहेको विद्यालयलाई साइन्स ल्याबका समाग्री, स्टेशनरी तथा खेलकुद सामाग्री सहयोग गरेको छ ।    सन् नेपाल लाइफ इन्स्योरेन्स कं.को प्रायोजन रहेको उक्त कार्यक्रममा बागमाराको श्री सत्यसाई विद्याश्रमलाई साइन्स ल्याब समाग्री तथा निर्मल पोखरीको जनचेतन माविका विद्यार्थीहरुलाई स्टेशनरी तथा खेलकुद सामाग्रीहरु सहयोग गरेको हो ।   विज्ञान प्रयोगशालाका लागि १२० थान साइन्स ल्याब समाग्री र जनचेतन माविका १५० भन्दा बढि विद्यार्थीहरुलाई स्टेशनरी तथा खेलकुद सामाग्री गरी दुई वटा स्कुललाई करिब १ लाख ५० हजारको सहयोग प्रदान गरिएको क्लबका अध्यक्ष तोयबहादुर भट्टराईले बताए ।   रोटरी क्लबका संस्थापक अध्यक्ष देवराज चालिसेले रोटरी क्लबले विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको बताउँदै सुखमा हुर्केका विद्यार्थीहरु भन्दा दुखमा हुर्केका विद्यार्थीहरु पढाईमा तेज हुने भन्दै श्रोत साधन भएन भनेर निरास हुन नहुने बताए ।  बागमारामा भएको कार्यक्रममा विद्याश्रमका प्रधानाध्यापक विश्व खनाल, सन नेपाल लाइफ इन्स्योरेन्स कं.का गण्डकी प्रदेश कार्यालय प्रमुख बाबुराम पौडेल, युवा उद्यमी किरण केसीलगाएतले बोलेका थिए ।   त्यसै गरी निर्मलपोखरीमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अर्जुन पौडल, विव्यस अध्यक्ष दुर्योधन गिरी भूपू विद्यार्थी मञ्चका अध्यक्ष केबल गिरी लगाएतले क्लबलाई धन्यवाद दिएका थिए ।   क्लबका अध्यक्ष तोय बहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव निकेशप्रसाद कर्माचार्यले गरेका थिए ।

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका–१ नौडाँडामा ट्रकले ठक्कर दिँदा पैदल यात्रु मृत्यु भएको छ ।  नौडाँडामा ट्रक अनलोड गरी ब्याक गर्ने क्रममा पैदल यात्रुलाई ठक्कर दिँदा ७० वर्षीय दुर्गा प्रसाद दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  बिहिबार दिउँसो ट्रक अनलोड गरी ब्याक गर्ने क्रममा ग १ क २६२५ नम्बरको ट्रकले पैदल यात्रु दाहाललाई ठक्कर दिएको थियो । ट्रकले ठक्कर दिँदा गम्भिर घाइते भएका दाहालको पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।  दुर्घटनापछि ट्रक  र चालक लेख बहादुर श्रेष्ठलाई वडा प्रहरी कार्यालय बगरले नियन्त्रणमा लिएको  छ ।   

पोखरा:    ताल तथा जलाधारको क्षेत्रमा काम गर्ने सरकारी कार्यालयहरुले पोखराको फेवाताल खपौदी क्षेत्रमा सरसफाइ गरी विश्व वातावरण दिवस मनाएका छन ।  गण्डकी प्रदेश सरकार ताल संरक्षण तथा बिकास प्राधिकरण पोखरा, नेपाल सरकार बन तथा वातावरण मन्त्रालय र बृहत जलाधार ब्यवस्थापन केन्द्र पोखराको संयुक्त आयोजनामा फेवाताल किनार खपौदी क्षेत्रमा सरसफाइ गरेका हुन । फेवाताल सरसफाइलाई जलारी समुदायको अर्थ उपार्जनमा जोड दिदै उनीहरुले जलारीको बस्ती रहेको खपौदीमा सरसफाइ गरेका हुन । सो अवसरमा बोल्दै गण्डकी प्रदेश उद्योग वन तथा वातावरण मन्त्रालयका महाशाखा प्रमुख पुणेश्वर सुवेदीले मानविय क्रियाकलापले वातावरणमा परेको असरलाई न्युनीकरण गर्नका लागि आफुहरुले वातावरण दिवसको सन्दर्भमा फेवातालमा आश्रित जलारी समुदायहरुलाई फेवाताल सरसफाईमा प्रेरित गराउन फेवा किनारको खपौदीमा ताल क्षेत्र सरसफाइ गरिएको बताए । तालको संरक्षण गरी यसबाट हुने फाइदालाई बांडफांड गर्ने उद्देश्य भएतापनि मानविय हितको लागि सोच्ने र प्रकृतिको बारेमा नसोच्ने गरेकै कारण ताल वर्षेनी पुरिदै गएको बताउदै त्यसबारेमा सचेतना जोगाउनका लागी जलारी समुदाय संग मिलेर फेवाताल सरसफाइ गरिएको उनको भनाइ रहेको थियो । ताल संरक्षण तथा बिकास प्राधिकरणका कार्यालय प्रमुख शम्भु कुमार मिश्रले वातावरण दिवसमा ताललाई केन्द्रित गरी ताल सरसफाइ गरिएको बताए । पोखरामा रहेका नौ वटै तालको अवस्था जीर्ण रहेको बताउदै उनले जनतालाई सुसुचित गराउनका लागि आवश्यक रहेको बताए ।  वर्षेनी सडक निर्माणका कारण खोलाहरुबाट गेग्रनहरु तालमा आउने, ताल घुम्न आउनेहरुले ताल किनारमा फोहोर फाल्ने गरेकै कारण ताल खुम्चिदै गएका बताउदै मिश्रले तालका छेउछाउमा बस्नेले मात्र नभइ तालकै कारण ब्यवशाय चलायमान गर्ने होटल, पर्यटन ब्यवशायीहरुले पनि तालको संरक्षणमा लाग्नुपर्ने बताए ।    बृहत जलाधार केन्द्रका निमित्त प्रमुख अमर अधिकारीले पोखरा १८ मा रहेको खपौदीमा रहेका जलारी समुदाय र नागरिक समाज संग मिलेर जलारी समुदायको भुमि र भविष्य भनेकै फेवाताल रहेको र फेवातालको क्षेत्रफल घट्दै जाँदा जलारी समुदायलाई प्रत्यक्ष असर परेकाले त्यसबारेमा सचेतना फैल्याउने कार्यक्रम सहित सरसफाइ कार्यक्रमलाई जोड दिएको बताए । सो अवसरमा बोल्दै जलारी समाजका अध्यक्ष ज्ञान बहादुर जलारीेले जलारी समुदायले मासिक रुपमा फेवा किनारमा सरसफाइ गर्ने गरेको भएतापनि घुम्न आउनेहरुले फेवातालके छेउछाउमा फोहोर फाल्ने गरेकै कारण फेवाताल सरसफाइमा चुनौती थपिएको बताए । नागरिक समाज कास्कीका राम बहादुर पौडेलले टोल बिकास संस्थाहरु गठन भएको भएतापनि उनीहरुले काम नगरेकै कारण फेवाताल सरसफाइले सोचेजस्तो रिजल्ट नआएको वताए । सरसफाइ कार्यक्रम मार्फत जलारी समुदायलाई अर्थ उपार्जनमा जोड्ने उद्देश्य रहेके छ । 

पोखरा:    पोखरा महानगरपालिका १३ मा भएको ‘कृषि जैविक विविधता प्रदर्शनी मेला –२०८१’ मा सकिएको छ ।    ४३ औँ विश्व वातावरण दिवसको अवसरमा पोखरा–१३ को कृषि सञ्जाल, पोखरा महानगरको कृषि महाशाखा, नमुना प्राङ्गारिक कृषि सहकारी संस्था आर्वा र जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि–बर्ड) को संयुक्त आयोजनामा मेला भएको थियो ।    मेलामा रहेका १० स्टलमा पोखरा १३ मा पाइने रैथाने बालीहरु राखिएको थियो । नयाँ पुस्तालाई कृषि जैविक विविधतासँगै वातावरणको महत्व बुझाउनका लागि मेला आयोजना गरिएको लि–बर्डका कार्यक्रम अधिकृत तथा मेला संयोजक विष्णु भषालले बताए ।    मेलामा कृषि जैविक विविधतामा सहयोग गर्ने गित प्रतियोगिता, बीउ साटासाट, माटो शिविरको कार्यक्रम राखेको उनले जानकारी दिए ।    पोखरा १३ का वडाध्यक्ष किरण बरालले आफ्नो वडामा भएको कृषि जैविकता संरक्षणका लागि विभिन्न कार्यक्रम गरिरहेको बताए ।   सोही अनुसार वडामा कृषि जैविक विविधता प्रदर्शनी मेला आयोजना गरिएको उनले सुनाए ।    ‘आज वातावरण दिवस केही न केही कार्यक्रम गर्नुपर्छ भन्ने थियो । त्यसका लागि हामीले हाम्रो क्षेत्रमा भइरहेका जैविक विविधतालाई संरक्षण गर्ने गरी यो दिवस मनाउनुपर्छ भन्ने लाग्यो । अनि कृषि महाशाखा, लिबर्ड र नमुना प्राङ्गारिक कृषि सहकारीको सहकार्यमा यो मेला गरेका हौं,’ उनले भने, ‘जैविकता जोगाउन सकियो भने वातावरण जोगिन्छ भनेर गरिएको कार्यक्रमले कृषकलाई राहत मिल्नेछ भन्नेमा ढुक्क छु ।’   यसका लागि कृषकलाई आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको उनले प्रतिवद्धता जनाए ।   कृषि जैविक विविधता गित प्रतियोगितामा नमुना प्रथम   मेलामा आयोजना गरिएको कृषि जैविक विविधता गित प्रतियोगितामा नमुना प्राङ्गारिक कृषक समुह प्रथम भएको छ ।    प्रथम भएको समुहले नगद ६ हजार रुपैयाँ पुरस्कार प्राप्त ग¥यो । भने, द्वितिय भएको मणिदिप कृषक समुहले नगद ५ हजार रुपैयाँ पायो । यस्तै तृतिय भएको पिपलडाली काफलबारी कृषक समुह बन्यो । तृतिय भएको   समुहले ४ हजार पुरस्कार पाएको थियो भने प्रतियोगितामा सहभागी भएको अन्य ७ समुहलाई प्रोत्साहन स्वरुप ३/३ हजार दिइएको कृषि सञ्जाल पोखरा १३ का अध्यक्ष टेकनाथ बरालले जानकारी दिए ।    प्रतियोगितामा भाग लिएको विद्यालयको समुहलाई पनि प्रति विद्यालय २५÷२५ सय रुपैयाँ प्रोत्साहन पुरस्कार दिइएको उनले बताए । भने, सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो । 

पोखरा:   विश्व वातावरण दिवसका अवसरमा पोखराको कोमागाने पार्क र बसुन्धारा पार्कमा साकुरा प्रजातिको फूल लगाइएको छ ।   पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रमुख प्रसाकीय अधिकृत श्यामकृष्ण थापा, इन्स्टिच्युट अफ हिमालयन कन्जरभेसन (आइएचसी) र क्युटो युनिभर्सिटी जापानका प्रोफेसर पाक्या शुमा लगायतले पोखरा–जापानमैत्री पार्क ‘कोमागाने’मा २३ वटा साकुरा लगाउनुभएको हो ।   उता पोखरा वडा नं.६ र मितेरी आमा समूहको सक्रियतामा बसुन्धारा पार्कमा २५ वटा साकुरा लगाइएको छ ।    पोखरा जापान सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यले पोखरा–जापान मैत्रीपार्क ‘कोमागाने’ मा जापानी राष्ट्रिय फूल ‘साकुरा’ लगाइएको नगरप्रमुख आचार्यले बताउनुभयो । पोखराको हावापानीमा साकुरा फुल्ने प्राविधिक तथा वातावरणीय अध्ययन पश्चात् जापानबाट यो फुल ल्याइएको उहाँले बताउनुभयो । फुल्दा असाध्यै सुन्दर देखिने साकुरा पोखरा–जापानको साइनोलाई थप मजबुत बनाउने सेतुका रूपमा आफूले लिइएको उहाँले बताउनुभयो ।   प्रमुख आचार्यले साकुरा रोपणसँगै पोखरामा २ लाख २६ हजार बिरुवा रोप्ने ग्रिन पोखरा, क्लिन पोखराको मेगा प्रोजेक्ट सुरु भएको घोषणा समेत गर्नुभयो ।   यस परियोजनाको शुभारम्भ सुखद भएको उल्लेख गर्दै उहाँले महानगर क्षेत्रमा सार्वजनिक स्थल, खुल्लाचौर तथा पाखा पखेरा, नदी तथा राजमार्ग किनार लगायत क्षेत्रमा विभिन्न प्रजातिका २ लाख २६ हजार बढी बिरुवाहरू लगाइने उहाँले बताउनुभयो ।    प्रोफेसर शुमाले साकुरा हिमालयको काखमा फुल्ने सयौँ प्रजाति भएको सुन्दर फुलका रूपमा चित्रण गर्दै हिमालयको देश नेपालमा यसको विकास हुनु साकुरा आफ्नो घर फर्किएको रूपमा लिनु पर्ने बताउनुभयो ।   साकुराका लागि पोखरामा उत्तम वातावरण रहेको उहाँले बताउनुभयो । अब यसलाई पार्कमा मात्र होइन अन्य क्षेत्रमा पनि विस्तार गर्दै लैजाने उहाँले बताउनुभयो ।    जापानबाट १०० साकुराका बिरुवाहरू पोखरा ल्याइएको छ । केही बिरुवाहरू रोप्न बाँकी रहेको र उपयुक्त स्थानमा ती बिरुवाहरू लगाइने सहरी विकास, पर्यटन तथा वातावरण महाशाखा प्रमुख भरतराज पौडेलले बताउनुभयो ।   साकुरालाई शान्तिको प्रतीक मानिन्छ । विश्वमा शान्ति, भ्रातृत्व र समृद्धिको सन्देश प्रवाह गर्न जापानले २३ देशका ३५ सहरमा साकुरा रोप्दै आएको छ ।   नेपालका गाउँ गाउँमा साकुरा रोपेर दुई देशबिचको सम्बन्धलाई थप प्रगाढ बनाउने चाहना उसको छ । नेपालमा पनि साकुरा हुर्कन सक्ने वातावरण भएकाले शान्तिको सन्देश फैलाउने उद्देश्य लिइएको हो । 

आजको तस्बिरमा बागलुङको निसीखोला गाउँपालिका- ६ स्थित रिग ताल।   समुन्द्री सतहदेखि तीन हजार २०० मिटरको उचाइमा रहेको यो ताल पछिल्लो समय पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ। तस्बिरः डम्मर बुढामगर/रासस

पोखरा:    यू–१५ विद्यालय खेलकुद प्रतियोगिता २०८० को तयारी पोखरामा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनमा यहि जेठ ३० र ३१ गते हुने प्रतियोगिताको तयारी सुरु भएको हो । तयारी स्वरुप गण्डकी प्रदेशको छनौट खेल बिहिबार पोखरामा हुने भएको छ । विद्यालय यू–१५ प्रतियोगिता अन्तर्गत विभिन्न ६ खेलहरुको छनौट खेल बिहिबार पोखरा रंगशालामा सम्पन्न गर्ने गरी तयारी गरिएको प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिएका छन् । प्रतियोगिता अन्तर्गत छात्ररछात्रा बास्केटबल, रग्बी, ब्याडमिन्टन, एथलेटिक्स, टेबुल टेनिस र बुद्धिचाल खेलका गण्डकी प्रदेशका ११ जिल्लाका ४१६ जना खेलाडी र ७१ जना प्रशिक्षक गरी ४८७ जना बुधबार पोखरा आइपुग्ने परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले बताए । बुधबार सञ्चालन हुने छनौटबाट विभिन्न ६ खेलका ७६ जना खेलाडी छनौट हुनेछन् । जस अन्तर्गत एथलेटिक्सतर्फ १०० मि, २०० मि, ४०० मि, ८०० मिटर दौड, सटपुट, लङ्गजम्प, र रिले दौडका लागि ६ छात्र र ६ जना छात्रा गरी १२ खेलाडी छनौट हुनेछन् । त्यसै गरी टेबुल टेनिसका लागि छात्ररछात्रा ४–४ जना गरी ८ खेलाडी छनौट हुनेछन् । जस अन्तर्गत छनौट भएका खेलाडीहरुले सिंगल्स, डबल्स, मिक्स डबल्समा प्रतिस्पर्धा गर्नेछन् । यस्तै व्याडमिन्टनका लागि ४–४ जना गरी ८ जना खेलाडीको छनौट हुनेछन् । ब्याडमिन्टनतर्फ सिंगल्स, डबल्स, मिक्स डबल्समा प्रतिस्पर्धा हुनेछ भने बुद्धिचालतर्फ सिंगल्स र टिम इभेन्टमा प्रतिस्पर्धा हुनेछ । बुद्धिचालतर्फ पनि छात्ररछात्रा गरी ८ खेलाडी छनौट हुनेछन् । त्यसै गरी रग्वी छात्ररछात्रातर्फ १०–१० जना र बास्केटबलतर्फ १०–१० खेलाडी छनौट हुने आयोजकले जनाएको छ । परिषदले छनौट हुने कुल ७६ जना खेलाडीहरुलाई २५ देखि २९ गते सम्म पोखरामा बन्द प्रशिक्षणमा राख्ने तयारी समेत गरेको छ । पहिलो पटक आयोजना हुन लागेको राष्ट्रिय यू–१५ प्रतियोगिताको उद्घाटन जेठ ३० गते हुनेछ । प्रतियोगिता अन्तर्गत हुने सबै खेलहरु पोखरा रंगशाला परिसरमा नै सञ्चालन हुने गरी तयारी भइरहेको परिषदले जनाएको छ । विद्यालय यू–१५ राष्ट्रिय प्रतियोगितामा सात प्रदेशका विभिन्न ६ खेलका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी ६३० जनाको सहभागिता हुनेछ ।