नेपालको पर्यटन राजधानी पोखरा शिक्षाको हब बन्दै गएको छ ।   कास्कीले शिक्षा विकासको लामो इतिहास बोकेको काछ । पछिल्लो समय पोखरा शैक्षिक गन्तव्यका रुपमा पनि चिनीन थालेको छ ।   पोखरा र यस आ...

पोखरा:     पोखरा महानगरपालिका वडा नं.२५ मा सञ्चालित वडा नागरिक आरोग्य कार्यक्रमको पहिलो चरण समापन भएको छ । ३० वैशाख २०८१ देखि जेठ १२ गतेसम्म सञ्चालन गरिएको उक्त कार्यक्रमको पहिलो चरण समापन गरिएको वडा अध्यक्ष मोतीलाल तिम्सिनाले जानकारी दिनुभयो ।  पहिलो चरणमा १ हजार १८४ ज्येष्ठ नागरिक, अशक्त र दिर्घरोगीहरुको स्वास्थ्य परीक्षण गरिएको अध्यक्ष तिम्सिनाले बताउनुभयो । ‘हामीले पहिलो चरणमा ज्येष्ठ नागरिक, अशक्त र दिर्घरोगीहरुको स्वास्थ्य परीक्षण गरेका छौँ, अध्यक्ष तिम्सिनाले भन्नुभयो, यस क्रममा वडामा रहेका यी वर्गहरूको वास्तविक स्वास्थ्य अवस्था बुझ्ने अवसर मिलेको छ, हामी आगामी दिनमा थप तयारीका साथ प्रभावकारी ढङ्गले कार्यक्रमको दोस्रो चरण सञ्चालन गर्नेछौँ ।’  अभियानका क्रममा ज्येष्ठ नागरिकहरूको ब्लड प्रेसर, सुगर, अक्जिनको मात्रा, शारीरिक तथा मानसिक अवस्था, औषधी सेवन गरिरहेकाहरूको हकमा औषधीको मात्रा र नियमितता लगायत विषयहरूमा चासोका साथ परीक्षण गरिएको उहाँले बताउनुभयो । अभियानको समापन गर्दै पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवि गुरुङले कार्यक्रम निकै प्रभावकारी भएको बताउनुभयो । कार्यक्रमको प्रभावकारिताले आफूहरूलाई यस प्रकारका लोककल्याणकारी कार्यक्रमहरू सञ्चालनमा थप हौसला मिल्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमलाई महानगरभरि नै विस्तार गरी सबै नागरिकहरूको पहुँचमा विस्तार गर्ने उहाँले विश्वास समेत दिलाउनुभयो ।  पोखरा महानगरपालिका वडा नं.२ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले नागरिकहरूको स्वास्थ्य प्रति जनप्रतिनिधिहरू संवेदनशील रहेको बताउनुभयो । पोखरा १७ की वडा अध्यक्ष राधिका कुमारी शाही योगीले उमेर र अवस्थाका कारण अस्पतालसम्म पुगेर उपचार गर्न नसक्नेहरूका लागि यस प्रकारको कार्यक्रम निकै फलदायी र प्रभावकारी हुने बताउनुभयो । पोखरा १ का वडा अध्यक्ष साहारा प्रधानले एउटा आवश्यकताको सुरुवात पोखरा २५ ले गरेको भन्दै यसलाई शिक्षाको रूपमा लिनु पर्ने बताउनुभयो ।  पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले स्वास्थ्य सम्बन्धी जागरण नागरिक स्तरमा आवश्यक रहेको बताउनुभयो । स्वास्थ्यकर्मीहरूको एकल प्रयासले मात्र नागरिक सचेतना अभिवृद्धि सम्भव नरहेको उल्लेख गर्दै उहाँले आमसरोकारवालाहरु हातेमालो गरेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । स्वस्थ महानगर निर्माणका लागि सबै नागरिकहरूमा स्वास्थ्य सचेतना र सेवाको पहुँच आवश्यक रहेको उहाँले बताउनुभयो ।   दीर्घ रोगी र ज्येष्ठ नागरिकहरूलाई घर मै स्वास्थ्य सेवाको पहुँच, उनीहरूको जीवनलाई सुखी र खुसी सहित तनावमुक्त बनाई थप उपचारको आवश्यकता देखिएका ज्येष्ठ नागरिकहरूलाई सुविधा सम्पन्न सेवा क्षेत्रमा प्रेषण गर्ने उद्देश्यले यस प्रकारको कार्यक्रम गरिएको हेमजा स्वास्थ्य चौकीका प्रमुख सिनियर अहेव कुश्मराज सुवेदीले बताउनुभयो । मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नारालाई सार्थक बनाउन प्रभावकारी कदमहरू चाल्न आवश्यक रहेको उहाँले बताउनुभयो  । वडा कार्यालयको अभियान प्रति ज्येष्ठ नागरिक समाजले खुसी व्यक्त गरेको छ ।  कार्यक्रम सञ्चालन पूर्व घरधुरी सर्वेक्षण गरिएको थियो । दीर्घ रोगी तथा ज्येष्ठ नागरिकहरूको अवस्था, उनीहरूको स्वास्थ्य, औषधी सेवनमा नियमितता लगायतका विषयहरूमा वडाबाट खटिएका स्वास्थ्यकर्मीहरुद्धारा जानकारी लिने र आवश्यक परामर्श दिइएको वडा कार्यालयले जनाएको छ । उनीहरूलाई एक महिनाका लागि आवश्यक पर्ने औषधी समेत निःशुल्क प्रदान गरिएको थियो । तीन वटा क्लस्टर बनाएर सञ्चालन गरिएको कार्यक्रम प्रत्येक तीन तीन महिनामा अभियानका रूपमा सञ्चालन गर्ने तयारी वडा कार्यालयको छ ।  यसअघि २०८१ वैशाख ३० मा अभियानको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पाइलट प्रोजेक्टको रूपमा वडा नं।२५ बाट सुरु गरिएको कार्यक्रमलाई क्रमशः महानगरका अन्य वडाहरूमा समेत विस्तार गर्दै लैजाने बताउनुभएको थियो । ‘हामी आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेटको तयारीमा छौँ, स्वास्थ्य महानगरको पहिलो प्राथमिकतामा छ ।’ उहाँले भन्नुभयो । 

पोखरा:    कास्कीको माछापुच्छ्रे गाउँपालिका ९ सैतीघट्टामा मंगलबार स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।  रेष्टुरेन्ट एण्ड वार एशोसियसन (रेवान)पोखराको आयोजनामा सैतीघट्टा स्थित गोरीशंकर मनिलाल माविमा भएको स्वास्थ्य शिविरमा  ५ सय भन्दा बढीले स्वास्थ्य चेकजाँच गराएको रेवानका अध्यक्ष नरेश भट्टराईले जानकारी दिए । शिविरमा स्वाथ्य जाँच गराएपछि औषधी पनि उपलब्ध गराइएको थियो ।  स्वाथ्य शिविरमा नाक, कान, घाँटी, आँखा, महिला तथा प्रस्तुति रोग, छाला तथा यौन रोग, हाडजोर्नी तथा नशा रोग, बाल रोग, जनरल मेडिसिन सेवा उपलब्ध गराइएको थियो ।  प्रत्येक वर्ष कास्कीका दुर्गम गाउँका नागरिकलाई सेवा दिन स्वास्थ्य शिविर गर्दै आएको आयोजक संस्थाका रेवानका अध्यक्ष भट्टराईले जानकारी दिए । न्युन आए भएकाहरुलाई उपचारको क्रममा जटील समस्या रहेको पाइएमा मनिपाल शिक्षण अस्पताल संग सहकार्य गरेर थप उपचारमा सहयोग गर्ने पनि उनले अध्यक्ष भट्टराईले बताए ।  रेवान पोखराले अंग्रेजी नयाँ वर्षको अवसरमा प्रत्येक वर्ष सडक महोत्सव आयोजना गर्दै आएको छ । महोत्सवमा वचत भएको केही रकम र संस्थाका सदस्यहरु समेतको आर्थिक सहयोगमा सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर गर्दै आएको रेवान पोखराका महासचिव भिष्मराज पोडेलले बताए । स्वास्थ्य शिविरमा मनिपाल अस्पताल पोखराका चिकित्सकहरुले बिभिन्न रोगको चेकजाँच गरेका थिए ।  रेवान पोखराका सचिव विकास भट्टराईले दुर्गम गाउँमा प्रत्येक वर्ष निरन्तर रुपमा स्वास्थ्य शिविरको आयोजना गर्ने बताए । पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष गणेश बहादुर भट्टराईले पोखराको खानेपानीको मुख्य स्रोत मर्दीखोलाको मुहान क्षेत्रका स्थानीय माझ स्वास्थ्य शिविर आयोजना गरेर स्वास्थ्य चेकजाँच हुनु प्रशंसा योग्य काम भएको बताउँदै निरन्तरता दिनु पर्ने बताए । आर्थिक अभावका कारण थप उपचारमा समस्या आए रेवानले उपचारमा सघाउने पनि उनले बताए ।  माछापुच्छ्रे गाउँपालिका ९ का वडा अध्यक्ष हरिबहादुर क्षेत्रीले दुर्गम गाउँमा स्वास्थ्य शिविर आयोजना गरेर स्थानीय जनताले स्वास्थ्य लाभ लिन पाएको बताए । दुर्गम गाउँका स्थानीय नियमीत स्वास्थ्य जाँच गराउन सहर जान नसक्ने भएकोले यस्ता कार्यक्रम निरन्तर दिन पनि उनले सुझाए ।     कास्कीको सिदीङबाट ३ घण्टा हिडेर आएका ७७ वर्षीय हरिलाल अधिकारीले गाउँमा स्वास्थ्य सेवा दिएकोले उपचारकालागि सहर जान नपर्दा खुशी लागेको सुनाए । आँखा कम देख्ने र घुँडाको समस्या भएकोले स्वास्थ्य शिविर हुँदै छ भन्ने थाहा पाएर बिहानै हिडेर उपचारकालागि आएको पनि उनले बताए ।  सैतीघट्टाकी सिता गुरुङ पाठेघरको समस्या,मसिना अक्षर नदेख्ने गरी आँखाको समस्या भएकोले स्वास्थ्य शिविरमा उपचार गराउन गएको सुनाइन् । आँखाको चेकजाँचपछि शिविरमा चस्मपनि उपलब्ध गराएको सुनाइन् । स्थानीय तथा गोरीशंकर मनिलाल माविका शिक्षक भोलानाथ अधिकारीले विकट गाउँमा स्वास्थ्य शिविर आयोजना गरेर स्वास्थ्य सेवा उपलब्ध गराएकोमा धेरै खुशी लागेको बताए ।  स्वास्थ्य उपचार आएकहरु मध्ये ४० वर्ष भन्दा कम उमेरका मान्छेहरुमा पनि चिनीरोग, उच्चरक्तचाप, मृगौला रोग र मुटु रोग देखिएको मनिपाल शिक्षण अस्पतालका फिजिसीयन डाक्टर अनमोल पौडेलले बताए ।  यस्ता रोगहरु आहारबिहारमा ध्यान नदिदा हुने उनले बताए । यस्तो समस्या देखिएका बिरामीले आफ्नो आहारविहारमा विशेष ध्यान दिनु पर्ने उनले सुझाए ।  खानामा नुनको मात्र कम्तीमा तीन ग्राम भन्दा कम, रातो मासुको मात्र कम, प्रशस्तमात्रामा शारिरिक व्यायम नियमीत रुपमा गर्न डा पौडेलले सुझाए ।  कार्यक्रममा स्थानीय समाजसेवी टेकबहादुर श्रेष्ठले उपचार खर्चको अभावमा उपचार गर्न सहर जान नसक्ने अवस्था समेत रहेको गाउँमा स्वास्थ्य शिविर आयोजना गरेर रेवान पोखराले धेरै सहयोग गरेको बताए । मनिपाल शिक्षण अस्पताल पोखराका लियाजेन अफिसर कृष्णमोहन श्रेष्ठले अस्पतालले स्वास्थ्य शिविरमा उपचार गराउनु भएका स्थानीयलाई अस्पतालले बिभिन्न उपचारमा छुटको व्यवस्था गर्ने पनि बताए ।   

पोखराः    पोखरामा सम्पन्न दोहोरी साँझस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि निरमाया दोहोरी साँझले जितेको छ ।   पोखरा कलाकार खेलकुद संघको आयोजनामा फुलबारीस्थित ग्रीन गार्डन स्पोर्टस् हबमा भएको फाइनल खेलमा बाराही दोहोरी साँझलाई हराउदै निरमायाले उपाधि जितेको हो ।   उपाधिसँगै निरमायाले पुरस्कार स्वरुप खसी प्राप्त गर्याे । सो प्रतियोगितामा आयोजक संस्था तेस्रो बन्यो ।  प्रतियोगिताबाट निरमाया दोहोरीकै सीता काउचा मगर उत्कृष्ट खेलाडी घोषित हुँदै नगद पुरस्कारसहित भलिबल हात पारिन् ।   भलिबलसँगै रस्साकस्सी र म्युजिकल चियर (निरुता थापामगर) प्रतियोगितामासमेत निरमाया साँझले नै  जितेको थियो ।   विजेता बनेको निरमायाको भलिबल टिममा सिता मगर, इन्दिरा पुन मगर, निरुता थापा मगर, माया पुन मगर, एलिना पुन मगर, सुष्मा पुन मगर, सुनिमा गुरुङ, लक्ष्मी गुरुङ थिए ।    उक्त प्रतियोगितामा पोखरामा संचालित ८ वटा महिला समुहको सहभागिता रहेको थियो ।   प्रतियोगिताको समापन समारोहमा बोल्दै पोखरा दोहोरी साँझ रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष तथा निरमाया दोहोरी साँझका संचालकसमेत रहेका जीवन गुरुङले सो प्रतियोगिताले भाइचाराको सम्बन्ध स्थापित गर्न सहयोग पुगेको बताए ।   उनले आगामी दिनमासमेत विभिन्न खालका खेलकुद तथा रचनात्मक प्रतियोगिताहरु निरन्तर हुनुपर्ने धारणा राखेका थिए । यस्तै निरमाया दोहोरी साँझका अर्का संचालक सुरेन्द्र गुरुङले दोहोरीका कलाकार खेलमासमेत उत्कृष्ट भएको देख्न पाउँदा खुशी लागेको उल्लेख गरे ।   उनले निरमाया दोहोरी साँझ पारिवारिकमैत्री दोहोरी साँझ भएकाले लोक संस्कृतिको जगेर्ना गर्र्दै आएको बताएका थिए ।   विगत २१ वर्षदेखि पारिवारिकमैत्री वातावारणमा लोक संस्कृतिको क्षेत्रमा योगदान र सेवा दिदैं आएको निरमाया दोहोरी साँझ रुपाहिल दोहोरी साँझले बिफिट फुटसल जोनमा आयोजना गरेको फुटसल प्रतियोगितामा पनि च्याम्पियन बनेको थियो ।  

पोखरा:     पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । महानगर क्षेत्रमा रहेका जन्मदेखि ५९ महिनासम्मका २९ हजार ३११ बालबालिकालाई घर मै पुगेर पूर्ण खोप लगाएको सुनिश्चित गरेपछि नगरप्रमुख धनराज आचार्यले मङ्गलवार एक कार्यक्रमका बिच उक्त घोषणा गर्नुभएको हो ।   स्वास्थ्य सेवा विभाग अन्तरगतको स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीका अनुसार पोखरा महानगरपालिका भित्रका जन्मदेखि ११ महिनासम्ममा ५ हजार ९१३ बालबालिकाहरूलाई पेन्टा पहिलो र ९५ प्रतिशत बालबालिकाले दादुरा रुवेला दोस्रो खोप प्राप्त गरेका छन् । जन्मदेखि ५९ महिनासम्मका २९ हजार ३११ बालबालिकालाई घर मै पुगेर पूर्ण खोप लगाएको सुनिश्चित गरिएको छ ।  यस क्रममा खोपको कुनै पनि मात्रा प्राप्त नगरेका ४ जना र १३२ जना आंशिक खोप प्राप्त गरेका बालबालिकाहरू समेत नियमित खोप सेसन र आकस्मिक खोप सेसनमा समावेश गरी पूर्ण खोप प्रदान गरिएको छ ।  पोखरा महानगरपालिकालाई पूर्ण खोप घोषणा गर्नु अघि ३३ वटै वडामा पूर्ण खोप सुनिश्चितता गरिएको थियो । ८९० जना स्वास्थ्यकर्मी र ६५२ जना महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुलाई घरधुरी सर्वेक्षण देखी खोप लगाउने कार्यसम्म परिचालन गरिएको स्वास्थ्य महाशाखाले जनाएको छ । घोषणा सभामा नगर प्रमुख आचार्यले बालबालिकाहरूको स्वास्थ्यका लागि खोप आवश्यक रहेको तथ्यलाई मनन गर्न जरुरी रहेको बताउनुभयो । ‘आफ्ना बालबालिबाहरुलाई लगाउनु पर्ने सबै प्रकारका खोपहरू नियमित लगाउने विषयमा सबै जनाकार हुन जरुरी छ, प्रमुख आचार्यले भन्नुभयो, खोप केवल औपचारिकता मात्र नभई यो बालबालिकाको सुरक्षित भविष्यसँग जोडिएको विषय हो ।’ खोपले बालबालिकाहरूलाई शारीरिक र मानसिक रूपमा तन्दुरुस्ती प्रदान गर्ने र भविष्यमा आउन सक्ने स्वास्थ्य जटिलताबाट जोगाउने उहाँले बताउनुभयो । पोखरा महानगरपालिका बालबालिकाहरूलाई आवश्यक सबै खोपहरू प्रदान गर्ने कार्यमा प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताउनुभयो । एक जना बालबालिकालाई १३ प्रकारका खोपहरू प्रदान गर्दा ६० हजार बराबर लगानी हुने गरेको उल्लेख गर्दै उहाँले यसको महत्वलाई बुझ्न आवश्यक रहेको बताउनुभयो ।  उहाँले खोप लगाउन छुटेका बालबालिकाहरूलाई पत्ता लगाउने स्वास्थ्यकर्मी र स्वयमसेविकाहरुलाई प्रति बच्चा रु।२ हजार पुरस्कार दिने घोषणा समेत गर्नुभयो । खोप अभियानका क्रममा अहोरात्र खटिएर महत्त्वपूर्ण योगदान पुर्‍याउनु भएका स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुको समस्या प्रति आफू जानकार रहेको उहाँले बताउनुभयो । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले पूर्वाधार जत्तिकै गुणस्तरीय शिक्षा र स्वास्थ्यको विकास पनि वास्तविक विकास हुने भन्दै विकास प्रतिको दृष्टिकोणमा व्यापकता आवश्यक रहेको बताउनुभयो । मानव स्वास्थ्य र संसाधन दुवै सामाजिक विकासका आधार स्तम्भहरू भएको उहाँले बताउनुभयो । सरकारका विभिन्न आवधिक योजनाहरूमा यसलाई महत्वका साथ उल्लेख गरेको पाइए पनि स्रोत र साधनको अभावमा कार्यान्वयनको पाटो कमजोर देखिएको उहाँले बताउनुभयो ।  पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले पुर्णखोप सुनिश्चितता स्वास्थ्य सम्बन्धी बालबालिकाहरूको संवैधानिक अधिकारको प्रत्याभूति भएको उल्लेख गर्नुभयो । महानगरका सबै बालबालिकाहरूलाई खोप प्रदान गर्नु आफूहरूको जिम्मेवारी रहेको बताउँदै उहाँले यसका लागि महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।  पोखरा महानगरपालिका वडा नं.२ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले बालबालिकाहरूलाई खोप लगाउने अभियानमा हातेमालो गर्न आह्वान गर्नुभयो ।  स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खिम बहादुर खड्का, स्वास्थ्य कार्यालय कास्कीका प्रमुख राम बहादुर नेपाली, महिला स्वास्थ्य स्वयंसेविका सञ्जाल पोखराकी संयोजक भीमा पौडेल, महानगरपालिकाका जनस्वास्थ्य अधिकृत फुलदेव तिमिल्सीना र जनस्वास्थ्य निरीक्षक एवं खोप अधिकृत तेजाखर लम्साल लगायतले बाल स्वास्थ्य र खोपको प्रभावकारिताका विषयमा बोल्नु भएको थियो ।

पोखरा:     पोखरा महानगरपालिका–८ जाल्पा रोडमा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ ।    कास्की प्रहरीका अनुसार सोमबार मन्ध्यान्ह करिब पौने १ बजे  नारायण पौडेलको घरको ढोकामा नवजात शिशु भेटिएको हो ।   घटनाबारे प्रहरीलाई सूचना प्राप्त भएपछि नवजात शिशु (बालक)को उद्धारपश्चात उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल ) राखिएको छ ।   नवजात शिशुलाई बेवारिसे अवस्थामा कसले छाड्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।   

पाेखरा:   गण्डकी प्रदेशको राजधानी पोखरामा पनि गणतन्त्र दिवस मनाइएको छ ।   गण्डकी प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको विशेष समारोहका प्रमुख अतिथि उहाँले संविधान अनुरुप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन भए मात्र यसको औचित्य स्थापित हुने उल्लेख गर्नुभयो ।   लोकतान्तिक गणतन्त्र स्थापना भएको १७ औं वर्ष प्रवेशको अवसरमा प्रदेशबासीमा हार्दिक शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख भट्टले गणतन्त्र जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल रहेको बताउनुुभयो ।     सुदृढ राष्ट्रिय एकताले मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुने भन्दै उहाँले गणतन्त्र दिवसले मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै न्यायमा आधारित आर्थिक समृद्धि हासिल गरी सभ्य, सुसंस्कृत तथा समुन्नत समाज निर्माणको बाटोमा अघि बढ्न हामी सबैमा उत्साह प्रदान गर्ने अपेक्षा गर्नुभयो ।   समारोहअघि प्रदेश प्रमुख भट्टले नेपाल प्रहरीबाट अर्पण सलामी ग्रहण गर्नुभयो ।   उहाँले गणतन्त्र दिवस समारोहमा गण्डकी प्रदेश सरकारबाट पुरस्कृत तथा सम्मानित नमुना कार्यालयहरु, राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई कदर पत्र प्रदान गर्नुभयो ।   तस्बिरहरु:-                    

पोखरा:      बङ्गुरपालनको पकेट क्षेत्र पोखरा–२७ जलजलेमा अफ्रिकन स्वाइन फ्लुका कारण बङ्गुर नष्ट भएपनि पकेट क्षेत्रलाई पुरानै लयमा फर्काउनका लागि पोखरा महानगर कृषि तथा पशु बिकास महाशाखाले पहलकदमी थालेको छ ।  महाशाखाले बङ्गुरपालन कृषकहरुलाई लक्षित गरी जलजले बङ्गुर ब्रिडर कृषक समुहलाई ८० वटा बंगुरका पाठा वितरण गरेको छ । गत वर्ष अफ्रिकन स्वाइन फ्लुबाट ४ हजार बढी बङ्गुर मरेर क्षती पुगेको जलजले बंगुर ब्रिडर कृषक समुहलाई बङ्गुरको पाठा वितरण गरेको हो ।  बङ्गुर पाठा वितरण कार्यक्रममा बोल्दै पोखरा २७ का कार्यबाहक अध्यक्ष जितेन्द्र क्षेत्रीले अघिल्लो वर्ष महामारीको रुपमा फैलिएको अफ्रिकन स्वाइन फ्लुका कारण ब्यवसायीहरुको खोर रित्तिएको अवस्थामा पोखरा महानगर कृषि तथा पशु बिकास महाशाखाबाट बंगुरको पाठा वितरण गरी कृषकलाई राहत प्रदान गरेको बताउदै वडाले पनि जलजलेका कृषकलाई राहत प्रदान गर्ने गरी काम गर्न प्रतिवद्ध रहेको समेत बताए  पोखरा महानगरपालिका कृषि तथा पशु बिकास महाशाखाका प्रमुख मनहर कडरियाले बङ्गुरको पकेट क्षेत्रको रुपमा रहेको जलजले बंगुर ब्रिडर कृषक समुहमा आवद्ध ब्यवशायीहरुलाई राहत पुगोस भन्ने उद्देश्यले बंगुरको पाठा वितरण गरिएको बताए ।  कडरियाका अनुसार गत वर्ष फैलिएको अफ्रिकन स्वाइन फ्लुका कारण जलजले बङ्गुर ब्रिडर कृषक समुहमा आवद्ध १९ वटा फर्मका बंगुरहरु मरेर नष्ट भएको र अघिल्लो वर्षनै महानगरले बंगुरको पाठाहरु बितरण गरेको र अहिलेपनि त्यसको फ्लो अप स्वरुप पचास प्रतिशत सझेदारीमा पुनः बङ्गुरको पाठा बितरण गरिएको हो । बायो सेक्रेटरीलाई ध्यान दिन नसक्दा विभिन्न रोगहरु लाग्ने बताउदै त्यसतर्फ महानगरले सहयोग गर्ने र कृषकहरुपनि त्यस तर्फ सचेत हुनुपर्ने उनको भनाइ रहेको थियो ।  जलजले बंगुर ब्रिडर कृषक समुहका अध्यक्ष पदम बहादुर थापाले कोरोनाको मार खेपेको कृषकले अफ्रिकन स्वाइन फ्लुका कारण खोर नै रित्तिदा कतिपयले ब्यवसायनै छाडेको बताउदै आफुहरुलाई महानगरले गरेको सहयोगका कारण ब्यवसायलाई निरन्तरता दिन सहज भएको बताए ।  स्वाइन फ्लुका कारण समुहमा ४ हजार बङ्गुर नष्ट भएको बेला महानगरले पाठा वितरण गरेर ब्यवशायलाई निरन्तरता दिन सहयोग गरेर अगाडी वढिरहदा फेरिपनि पाठा वितरण गरेर जलजलेका कृषकलाई गुन लगाएकोमा महानगरप्रति थापाले आभार प्रकट गरे ।  उक्त कार्यक्रममा पोखरा महानगरपालिका कृषि तथा पशु बिकास महाशाखाका नवराज अधिकारी, राजेन्द्र लामिछाने लगायतको सहभागीता रहेको थियो । ३५ को हाराहारीमा फर्म रहेको जलजलेमा हाल १९ वटा फर्म हरु संस्थामा आवद्ध रहेका छन ।   

पोखरा;    अन्नपूर्ण संरक्षण क्षेत्र भित्रबाट अवैध रुपमा नदीजन्य  पदार्थ चोरी निकासी गरेको आरोपमा प्रहरीले तीन वटा टिप्पर नियन्त्रणमा लिएको छ ।  अवैध रुपमा संरक्षण क्षेत्रबाट ढुङ्गा, गिट्टी र बालुवा लोड गरी पोखरा महानगर–१९ तितेपानी, भुर्जुङखोलाबाट पोखरातर्फ आउँदै गरेको तीन वटा टिप्पर प्रहरीले आज नियन्त्रणमा लिएको हो ।  कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ लोड गरी पोखरा आउँदै गरेको ग १ क ५०४०, ग १ क ५५१२ र ग १ क ५५९८ नम्बरको टिप्पर नियन्त्रणमा लिएर अनुसन्धानका लागि अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)को कार्यालय हरियाखर्कमा बुझाएको कास्की प्रहरीले जनाएको छ । 

पोखरा:  मर्दी खोलामा पौडी खेल्न गएका शिव थापा मगरको डुबेर मृत्यु भएको छ। आइतबार दिउँसो मर्दी खोलामा पौडी खेल्ने क्रममा थापामगरको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  कास्कीको माछापूच्छ«े गाउँपालिका–५ रिभानस्थित आनन्द ठाँटी बस्ने ४९ वर्षीय थापामगरको शान्तिघाट नजिक मर्दी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।  पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएका थापामगरको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा ल्याइएको कास्की प्रहरीले जनाएको छ ।