पोखराः नेपाली कांग्रेसका ‘वागी’ महादेव गुरुङले आसन्न प्रतिनिधिसभा निर्वाचनमा कास्की २ बाट १ हजार ३४० मत प्राप्त गरेका छन् । समानुपातिकको बन्द सूचीमा परेपनि अन्तिममा नाम काटिएपछि गुरुङले स्वतन्त्र उम्मेदवारी थिए । गुरुङले प्राप्त गरेको मतानुसार उनी पाँचौ स्थानमा छन् । गुरुङले स्वतन्त्र उम्मेदवारी दिएपछि नाम फिर्ता लिन कांग्रेस र गठबन्धनका नेताहरुले फिर्ता लिन गरेको आग्रह उनले अस्वीकार गरेका थिए । त्यसपश्चात्, उनलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिसकेको छ ।
मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेकी गिता नाथले जम्मा ४ मत प्राप्त गरेकी छिन् । प्राप्त मतानुसार नाथ उम्मेदवार तालिकाको पुछारमा रहेकी छिन् । कूल १४ उम्मेदवारध्ये नाथले दुई अंकमा मत प्राप्त गर्न सकिन् । स्वतन्त्र उम्मेदवारी दिएकी ३५ वर्षीया नाथको चुनाव चिन्ह ‘खरायो’ रहेको थियो । नाथभन्दा माथिल्लो क्रममा जमुना शर्मा रहेकी छिन् । शर्माले १२ मत प्राप्त गरिन् ।
पोखराः कास्की क्षेत्र नम्बर १ (क) मा नेकपा एमालेका उम्मेदवार खगराज अधिकारीले मतान्तरको अग्रता कायमै राखेका छन् । उम्मेदवार अधिकारीले सत्ता गठबन्धनका उम्मेदवार दीपक कोइरालालाई १ हजार ४ सय ६ मतले पछि पारेका छन् । उनले ६ हजार ३ सय २२ मत पाउँदा उनका निकटम प्रतिद्धन्दी सत्ता गठबन्धन तथा नेकपा माओवादी केन्द्रका उम्मेदवार दीपक कोइरालाले ४ हजार ९ सय १६ मत प्राप्त गरेका छन् । अहिले मतगणना भइरहेको छ ।
पोखराः कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकी शिरिष गुरुङले नयाँ अनुभव लिने अवसर मिलेको धारणा व्यक्त गरेकी छिन् । कास्की २ बाट राजनीति पार्टीसँगै स्वतन्त्र उम्मेदवारी दिएकी गुरुङले बिहिबार फेसबुकमा स्टाटस लेख्दै स्वतन्त्र उम्मेदवारीबाट निर्वाचनमा होमिदा नयाँ अनुभव र शिक्षा लिने अवसर पाएको बताएकी छिन् । ‘यो निर्वाचनमा प्रतिस्पर्धा हुँदैगर्दा मैले नयाँ अनुभव बटुल्ने र शिक्षा लिने अवसर प्राप्त गरे, उनले लेखेकी छिन्, ‘यस क्षेत्रबाट प्रतिनिधि सभातर्फ महिला नेतृ विद्या भट्टराई विजयी हुनुभएको छ । नेतृत्वमा महिला उम्मेदवार विजयी हुँदा गर्वावानवित भएको छु । महिलाको समस्या र उत्पीडनको बारेमा सदनमा विशेष आवाज उठाउनु हुन्छ भन्ने आशा गरेको छु ।’ निर्वाचनको अभियानका दौरान अहोरात्र स्वतन्त्र रुपमा खट्नुहने समस्त साथीहरु र आम मतदाताहरुलाई धन्यवादसहित आभार प्रकट गरेकी छिन् । सो क्षेत्रबाट विद्या भट्टराई निर्वाचित भएकी छिन् भने गुरुङ सातौ स्थानमा सिमित भइन् ।
पोखरा: गत मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको अन्तिम मतपरिणाम देशका विभिन्न स्थानमा धामाधम घोषणा भइरहेको छ । यसैबीच कास्कीको क्षेत्र नम्बर १ (ख) र ३ (क) को मतगणना जारी छ । यद्यपी क्षेत्र नम्बर २ को र १(क) तथा ३(ख) को सार्वजनिक भइसकेको छ । कास्की २ (क) मा सोही नेकपा एमालेका भीमबहादुर कार्की र २ (ख) मा नेपाली कांग्रेसका विन्दु थापा दोस्रो पटक निर्वाचित भएका छन् भने प्रतिनिधि सभा तर्फ कास्की २ बाट नेकपा एमालेकी विद्या भट्टराई यसपटक पनि निर्वाचित भएकी छिन् । स्वर्गीय रवीन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा राजनीतिमा कमब्याक गरेकी भट्टराई दोस्रो पटक चुनावी मैदानमा उभिएकै कारण यस क्षेत्र विशेष चाँसोको क्षेत्र बनेको थियो । उनले निकटतम प्रतिद्वन्दी राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेललाई ४ हजार ५ सय ३ मतान्तरले पराजित गर्दै पतिको विरासतलाई मात्रै जोगाइनन् आफ्नै इतिहास् कोर्न सफल रहिन् । विद्याले दोस्रोपटक जीत हाँसिल गर्नु उनका स्वर्गीय पति मात्रै कारण होइन । उनको योग्यता, लोकप्रियता, क्षमता, इमान्दारिता, व्यवहारिक घोषणापत्र र गत कार्यकालको कार्यसम्पादन हो । भट्टराईले उपनिर्वाचानबाट आफूलाई जनप्रतिनिधिका रुपमा स्थापित गराई पुनः दोस्रो पटक चुनाव जित्नुले साँच्चिकै जनताको मन रिझाउन अब्बल रहेको पुष्टि गर्छ । यस पटकको चुनावमा पाँच दलीय गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवाराई पराजित गर्दै दोस्रो पटक सांसद बन्ने उनको लक्ष्य पुरा भएको छ । अब जनतमाझ व्यक्त गरेका प्रतिवद्धतालाई उनले पूर्ण रुपमा कार्यान्वयन गर्नैपर्ने देखिन्छ । अन्यथा उनको सांसदमा ह्याट्रिक हान्ने रहर तुहिन सक्छ । त्यसैले उनले काममार्फत जनतालाई फकाउन सक्नैपर्छ । विद्याको कमब्याक उदीयमान महिला नेतृको रुपमा देखिएकी भट्टराई विद्यार्थीकालदेखि नै वाम राजनीतिमा सक्रिय थिइन् । उनी पद्मकन्या क्याम्पसमा अध्ययनरत रहँदा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व सम्हालेकी थिइन् । शालिन व्यवहार, मेहनती स्वभाव, अध्ययनमा रुचि, नरम बोली, अति मिलनसार र कसैसँग पनि वैरभाव नगर्ने चरित्रले विद्यार्थी कालमा सबैमाझ वाहवाही थिइन् । यतिमात्र नभएर त्यहीसमयदेखि उनको भाषणकला पनि उत्तिकै राम्रो थियो । यही स्वभाव र क्षमताकै कारण नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रिय नेतृत्व पङ्तिमा पुग्न सफल भइन् । सोही समयमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेपछि उनको भूमिका बद्लियो । त्यही समयको अन्तरालमा अर्का बहुचर्चित नेता स्वर्गीय रवीन्द्र अधिकारीसँग उनको दाम्पत्य जीवन गाँसियो । विवाह पश्चात् उनले सफल गृहिणीको रुपमा र वैचारिक परामर्शसहित रवीन्द्रको पूर्णकालीन राजनीतिलाई सघाइन् । र सोही समयमै त्रिभुवन विश्वविद्यालयको प्राध्यापन सेवामा प्रवेश गरि रत्नराज्य क्याम्पसमा शिक्षाको ज्याति फैलाइन् । अध्ययन, अध्यापन र अनुसन्धानात्मक कार्यलाई अगाडि बढाउँदै जादाँ समय र परिस्थितिले बाटो फेर्याे र भूमिका बद्लियो र राजनीतिमा फेरि कमब्याक भइन् । त्यसपछि उनका स्वर्गीय पति रवीन्द्रको राजनीतिक उत्तराधिकार उनीमाथि सर्यो । नेकपा एमालेले रवीन्द्रको अप्रत्यासित र असामयिक निधनले सिर्जना गरेको रिक्तताकाबीचमा उनलाई उपनिर्वाचनमा उतार्ने निर्णय गर्याे । त्यसपछि शोकलाई शक्तिमा बदलेर २०७६ सालमा उनी कास्की २ बाट उपनिर्वाचन जितेर पहिलो पटक संसदमा प्रवेश गरिन् । उनले स्वर्गीय रवीन्द्रको विरासत मात्र जोगाइनन् आफ्नो बौद्धिक र रचनात्मक क्षमता प्रदर्शन गर्दै अहिलेको निर्वाचनमा विजयी हुदैछुट्टै छबी बनाएकी छिन् । निर्वाचित भएपछि भट्टराईले दोस्रो पटक मतदाताले दिएको अवसरलाई पूर्णरुपमा सदुपयोग गर्ने बताइन् । उनले घोषणा पत्रमा उल्लेख गरेका जनमुखी कार्यक्रमलाई कार्यान्वयन गर्ने बताइन् । उनले संसदमा आवजविहिनको आवाजलाई बलियो रुपमा प्रस्तुत गर्ने, युवा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको पक्षमा काम गर्ने जनएकी छिन् ।
पोखराः कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बरालले विद्या भट्टराईलाई बधाई ज्ञापन गरेका छन् । सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका बरालले सूनगाभा न्युजसँग धारणा राख्दै मतपरिमाणको समिक्षा गरेर मात्र आफ्नो विस्तृत धारणा प्रस्तुत गर्ने बताए । ‘मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष रुपमा मतदान गर्नुहुने सबै मतदातामा हार्दिक आभार, उनले भने, ‘मत सोचेजस्तो मेरो पक्षमा आएन, किन आएन भनेर मैले समिक्षा गर्न बाँकी छ । समिक्षा गरेर पुनः आफ्नो धारणा राख्नेछु ।’ विजयी उम्मेदवार विद्या भट्टराईलाई शुभकामना व्यक्त गर्दै बरालले जनताको जनअपेक्षा अनुसार काम गर्न आग्रह गरे । कास्की २ बाट उम्मेदवार बनेका बरालले ९ हजार ६ सय ५९ मत प्राप्त गरेका थिए । विजयी भएका भट्टराईले १६ हजार ९ सय ९८ मत प्राप्त गरिन भने राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ४ सय ९५ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका थिए ।
पोखरा: कास्की क्षेत्र नम्बर २ (ख) का नेकपा एमालेकी उम्मेदवार मिना गुरुङले नयाँ अनुभव बटुल्न अवसर मिलेको बताएकी छिन् । मतपरिणाम सार्वजनिक भएपछि सुनगाभा न्यूजसँग कुरा गर्दै गुरुङले भनिन्, ‘निर्वाचन भनेको हार र जीत नै हुन्छ । यसले गर्दा खेरी ठुलो आशा भनेको जित्ने नै हुन्छ तर हार भनेको सेकेन्ड अप्सन हो । त्यसलाई पनि स्वीकार्नुपर्छ । र आगामी दिनमा कसरी काम गर्नुपर्ने रहेछ भनेर नयाँ अनुभव बटुलेको छु ।’ उनले आफु जनप्रतिनिधिको रुपमा निर्वाचित नभएतापनि सदैब आम नागरिक, महिला तथा युवाको पक्षमा काम गर्ने बताइन् । ‘त्यो ठाउँ कानून बनाउने र विकासको काम गर्ने ठाउँ हो । त्यहाँ नभएपनि पहिले जस्तै सामाजिक अभियन्ताको रुपमा काम गर्नेछु, उनले भनिन् ‘महिला तथा युवाहरुको व्यक्तित्व विकास, सीप तथा रोजगारको व्यवस्था र हक अधिकारको क्षेत्रमा काम गर्दै आएको मान्छे हुँ । त्यसैले त्यही भूमीकाबाट सशक्त रुपमा अगाडि बढ्छु भन्ने मेरो आफ्नो संकल्प र प्रतिज्ञा छ ।’ उनले मतदाताहरुप्रति आभार प्रकट गर्दै निर्वाचित विन्दु थापालाई व्यक्तिगत स्वार्थमा लिप्त नभइकन राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा काम गर्न आग्रह गरिन् । ‘मेरो प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार विन्दु थापा ज्यूलाई विजेता हुनुभएकोमा हार्दिक बधाई छ । जनप्रतिनिधि भएपछि कुनै पार्टीको भइदैन, उनले भनिन्, ‘त्यसैले शुद्ध जनप्रतिनिधिका रुपमा इमान्दार भएर मेरो र अर्काको नभइकन । कसैको स्वार्थमा लिप्त नभई राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा आफ्नो भूमिका निर्वाह गरिदिनुहुन अनुरोध छ ।’ निर्वाचन आयोगको तथ्याङ्क अनुसार गुरुङले ७ हजार ९ सय ७१ मत प्राप्त गरेकी थिइन् भने निर्वाचित भएका नेपाली कांग्रेसका उम्मेदवार विन्दु थापाले ९ हजार २ सय ८० मत प्राप्त गरेका थिए । मिना गुरुङ गण्डकी प्रदेश सभाको संस्थापक सदस्य हुन् ।
रौतहट: रौतहटबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । उनले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गरेका हुन् । नेपालले ३३ हजार ५२२ मत प्राप्त गर्दा एमालेका अजयले २६ हजार ५२२ मत प्राप्त गरेका छन् ।
चितवन: चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् । लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याए । श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत ल्याउँदै तेस्रो स्थानमा रहे । २०७४ सालको निर्वाचनमा चितवन २ बाट एमालेका कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए ।

