मकवानपुर: राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति राजकुमार न्यौपानेलाई जिम्मेवारीबाट हटाउन माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दिइएको छ। सभापति न्यौपानेलाई जिम्मेवारीबाट हटाउन माग गर्दै मकवानपुरका करिब ५० जनाले नेता, कार्यकर्ताले मंसिर १२ गते केन्द्रीय कार्यालयमा निवेदन दिएका हुन्। जिल्ला सभापति न्यौपानेले चुनावका बेला पार्टीका समानुपातिक तर्फका उम्मेदवार नुरमान प्रजालाई अन्य पार्टीका उम्मेदवारसँग भेटाएको आरोप छ। न्यौपानेले अरू पार्टीका उम्मेदवारसँग समानुपातिक उम्मेदवार प्रजालाई भेटाएर आफूहरूको भोट नोक्सान गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूको आरोप थियो। विवाद भएपछि आइतबार रास्वपाको जिल्ला कार्यसमिति बैठक बोलाइएको छ। आज अपरान्ह ४ बजे जिल्ला कार्यसमिति बैठक बस्ने सचिव रामप्रसाद आचार्य सुमनले जानकारी दिए। ‘सानोतिनो विवाद देखा परेको छ। आज बैठक बसेर मिलाउँछौं,’ सचिव आचार्यले भने। मकवानपुर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट टाकाराज थापा र मकवानपुर २ मा भरत पराजुली प्रतिनिधि सभा सदस्य उम्मेदवार थिए।
दोलखा: दोलखाको प्रदेश सभा दुईमा नेकपा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका अनुसार केसी १९ हजार ४१४ मत प्राप्त गरी प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् । उनका निकटत प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत पाए । नेपाली कांग्रेस दोलखाका सभापति समेत रहेका लामाले मतगणना सकिनु अघि नै हार स्वीकार गदै केसीलाई बधाई दिएका थिए । ’ लामाले कांग्रेसकै कारण आफूले चुनाव हारेको समेत बताए । उनले फेसबुकमा लेखेका छन्, ‘सूर्यमुखी कांग्रेसहरु जसले जित्दा जित्दैको निर्वाचन हराउन सफल हुनु भयो त्यसता नेता तथा कार्यकर्ता र पत्रकार जीहरुलाई समेत बधाई एवं शुभयात्रा भन्न चाहान्छु ।’ लामाको प्रदेश सभामा यो दोस्रो हार हो । यसअघि २०७४ सालको चुनावमा उनी नेकपा माओवादी केन्द्रका विशाल खड्कासँग पराजित भएका थिए । प्रदेश सभामा निर्वाचित भरत केसी भने भिमेश्वर नगरपालिकाका पूर्व मेयर हुन् ।
बाजुरा: बाजुराको प्रतिनिधि सभा सदस्यमा नेपाली काङ्ग्रेसका उम्मेदवार बद्री पाण्डे विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापाको भन्दा पाँच हजार ५४१ मत ल्याएर विजयी हुनु भएको हो । पाण्डेको ३१ हजार ७८९ मत छ , भने उहाँका निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवार कर्णबहादुर थापाको २६ हजार २४८ मत रहेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताउनुभयो ।
पोखराः नेकपा (एमाले)की केन्द्रीय सचिव पद्मा अर्याललाई पराजित गर्दै स्याङ्जा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ विजयी भएका छन् । ५ हजार ६ सय २७ मतान्तरमा अर्याललाई हराउँदै गुरुङले जित हासिल गरेका हुन् । गुरुङले ३१ हजार ४ सय ६६ मत प्राप्त गर्दा सचीव अर्यालले भने २५ हजार ८ सय ३९ मत ल्याएकी थिइन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका टीकराज गुरुङले ८ हजार १ सय १३ मत ल्याएका छन् । निर्वाचन अधिकृतको कार्यालयबाट घोषण भने गर्न बाँकी छ । समानुपातिकबाट सांसद बनेका गुरुङ पहिलोपटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । उपसभापति पदमा निर्वाचित भएपछि उनलाई स्याङ्जामा प्रत्यक्ष चुनाव लड्न पार्टीले सिफारिस गरेको थियो ।
पोखराः प्रतिनिधि सभातर्फ मतगणना भैरहेका तीन क्षेत्रमध्ये स्याङ्जा र बाजुरामा नेपाली कांग्रेस तथा दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायमै राखेका छन् । मतगणनाको पछिल्लो विवरण अनुसार स्याङ्जा–२ मा कांग्रेसका उम्मेदवार धनराज गुरुङले झण्डै ६ हजार मतले अग्रता कायम गरेका छन् । गुरुङले २८ हजार ४ सय २६ मत प्राप्त गरेका छन् भने गुुरुङका निकटतम प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार पद्मा अर्यालले २२ हजार ६ सय ५४ मत प्राप्त गरेकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ६९४ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् । यस्तै बाजुरामा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले शुरुवातदेखिको अग्रता कायमै राखेका छन् । पाण्डेले १४ हजार १ सय ५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापाले १२ हजार ११४ मत प्राप्त गरेका छन् । दोलखामा भने गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गंगा कार्कीले मतान्तर बढाएका छन् । कार्कीले १० हजार ६२ मत प्राीत गर्दा एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले आठ हजार ८८९ मत प्राप्त गरेका छन् ।
पोखराः नेकपा एमालेका उपमहासचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सङ्घ र सात वटै प्रदेशमा एमाले सरकार बनाउन सक्ने हैसियतमा रहेको दाबी गर्नुभएको छ । । लमजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकोमा बधाई दिन प्रेस चौतारी नेपालले आज (शुक्रवार) काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्दै गुरुङले संघ र सात वटै प्रदेशमा एमाले सरकार बनाउन सक्ने हैसियत रहेको दाबी गरेका हुन् । तर त्यसका लागि पार्टीले दिनरात खटेर पहलकदमी लिनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । उहाँले नेकपाको एकतालाई जोगाउन नसकिएकै कारण आफ्नो पार्टीले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा अपेक्षित परिणाम ल्याउन नसकेको बताउनुभयो । आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने काममा लाग्नुपर्ने बताउनुभएको छ । सत्तारूढ गठबन्धनलाई तोडेर वामपन्थी शक्तिहरूलाई एकजुट बनाउँदै एमालेले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउनका लागि पहलकदमी लिनुपर्ने उहाँको भनाइ थियो । यस्तै उपमहासचिव गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमै सरकार बन्ने प्रचारलाई तोडेर एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि पहलकदमी लिनुपर्ने बताउनुभयो । देशमा प्राप्त उपलब्धिलाई रक्षा गर्नका लागि, देशको स्वाधीनतामाथि धावा बोल्ने कामलाई रोक्नका लागि एमाले नेतृत्वमा सरकार बन्नुपर्ने उहाँको तर्क थियो । उहाँले भन्नुभयो, ‘म फेरि पनि भन्छु– नेकपा एमाले नेतृत्वको सरकार बनाउने काममा हामी लाग्नुपर्छ । अब शेरबहादुर नै प्रधानमन्त्री भनेर जोडतोडले दुष्प्रचार भइराखेको छ, कुप्रचार भएको छ । प्रधानमन्त्री को होला, त्यो बेग्लै कुरा हो । तर हामीले सकारात्मक सोच भएका शक्तिहरूबीच सरकार बनाउनुपर्छ । यो दक्षिणपन्थी गठबन्धनलाई तोडिएन भने देशमाथि आइरहेका जोखिमका कुराहरू, राष्ट्रिय स्वाधीनतामाथि धावा बोलिरहेको स्थितिलाई हामीले अन्त्य गर्न सक्दैनौँ । नेकपा एमालेको नेतृत्वमा अबको सरकार बन्नुपर्छ । अबको पावर शेयरिङमा एमालेको महत्त्वपूर्ण भूमिका हुनुपर्छ ।’
स्याङ्जाः स्याङ्जा निर्वाचन क्षेत्र नं.२ (क) मा नेपाली काँग्रेसका भोजराज अर्याल निर्वाचित हुनु भएको छ । अर्यालले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का मोहन प्रसाद रेग्मीलाई दुई हजार ७३० मतान्तरले पछि पार्दै निर्वाचित हुनु भएको हो । अर्यालले १५ हजार १६१ मत ल्याउनु भयो भने रेग्मीले १२ हजार ४३१ मत ल्याउनु भयो । रेग्मी गण्डकी प्रदेशसभाका निवर्तमान सदस्य समेत रहनु भएको छ । रेग्मीले २०७४ सालमा सोही क्षेत्रबाट ३ हजार बढी मतान्तरले विजयी हुनु भएको थियो । विवादका कारण मतदान भएको १० दिन पछि यो क्षेत्रका मतगणना भएको हो ।
स्याङ्जाः स्याङ्जा निर्वाचन क्षेत्र नं. २ को पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन् । गुरुङले नेकपा नेकपा (एमाले) का उम्मेदवार पद्मा कुमारी अर्याललाई दुई हजार ४१८ मतले पछि पारेका हुन्। काँग्रेसका गुरुङले ११ हजार ९२० मत पाएका छन् भने एमालेकी अर्यालले नौ हजार ५०२ मत प्राप्त गरकी छिन् । स्याङ्जा २ को (क) अन्तर्गत गल्याङ नगरपालिकाको वडा नम्बर ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नम्बर ५, ६, ७,८र ९ वालिङको १,२,५,६,७,८,९,१०,११,१२ र१३ नम्बर वडाको मत गणना भइसकेको छ । अव वडा नं १४ मात्र बाँकी रहेको छ । यस्तै स्याङ्जा २ मा स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले पाँच हजार १९२ मत प्राप्त गरेका छन् । प्रतिनिधि सभा तर्फ अहिले सम्म २८ हजार ५६० मत गणना भएको मा एक हजार ८५ मत बदर भएको छ । स्याङ्जा २ मा एक लाख १६ हजार सात सय ७८ मतदाता मध्ये ७० हजार एक सय ९१ मत खसेको थियो । यसैबिच प्रदेश सभा (क) मा काँग्रेसका भोजराज अर्याल दुई हजार ६५२ मतान्तरले अग्रता लिएका छन् । भोजराज अर्याल १३ हजार ८४७ मत ल्याउँदा एमालेका मोहन रेग्मीले ११ हजार १९५ मत प्राप्त गरेका छन् । सो प्रदेशमा अव वडा नं. १४ को दुई हजार ८३८ मत मात्र गणना बाँकी रहेको छ ।
पोखराः प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत स्याङ्जाको क्षेत्र नं २ बाट नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन् । गुरुङले ९ हजार ६१३ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेकी पद्माकुमारी अर्याल ७ हजार ४६ मत ल्याई दोस्रो स्थानमा छिन् । उनलाई २ हजार ८८२ मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले पछ्याइरहेका छन् । गुरुङ २ हजार ५६७ मतको अन्तरले पहिलो स्थानमा छन् । त्यस्तै स्याङ्जाबाट प्रदेशसभातर्फको निर्वाचन क्षेत्र नम्बर २ (१) मा १०,०२४ मतका साथ नेपाली कांग्रेसका भोजराज अर्याल अग्रस्थानमा छन् । उनका प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का मोहनप्रसाद रेग्मीले भने ७ हजार २८६ मत पाएका छन् ।

