निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

दोलखाः   दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ ।  मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो । उक्त मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका उहाँले जानकारी दिनुभयो । निर्वाचन आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख तथा तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात मतदान केन्द्रमा आज  मतदान गर्ने निर्णय गरेको थियो ।  त्यस्तै, वैत्यश्वर वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख र ग मतदान केन्द्रमा मतदान सुरू भएको छ । निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न भएकोे निर्वाचनलाई रद्द गरी सोही ठाउँमा पुनः मतदान गर्ने निर्णय गरेको हो ।  

स्याङ्जाः   निर्वाचन सकिएको दश दिनपछि स्याङ्जा निर्वाचन क्षेत्र नं २ को मतगणना हुने भएको छ । स्याङ्जा क्षेत्र नं २ मा मतगणनाको विषयलाई लिएर विवाद भएसँगै रोकिएको मतगणना निर्वाचन आयोगको निर्णयसँगै आज राति ९ बजेदेखि गणना हुने भएको हो । मतगणनाको विषयलाई लिएर अहिले वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसिरहेको निर्वाचन अधिकृत रामचन्द्र शर्माले बताउनुभयो । सर्वदलीय बैठकले मतगणनाका विषयमा छलफल जारी राखे पनि राति ९ बजेदेखि सुरु गर्ने सहमति भइसकेको उहाँले बताउनुभयो । निर्वाचन आयोगले स्याङ्जा २ को मतगणना सुरु गर्न निर्देशन दिएसँगै मतगणनाका लागि प्रक्रिया थालिएको हो । दिउँसो ४ बजेदेखि सर्वदलीय बैठक जारी रहेको छ । यही मङ्सिर ४ गते निर्वाचन सम्पन्न भए पनि गणना हुन सकेको थिएन । चापाकोट नगरपालिकाका ३, ४ र ५ का चार वटा बुथमा नेपाली कांग्रेसले बुथ कब्जा गरी एकलौटी मतदान गरेको आरोप लगाउँदै नेकपा ९एमाले०ले पुनः मतदानको माग गर्दै आइरहेको थियो । कांग्रेसले भने जनताको अभिमतको सम्मान गर्दै छिटोभन्दा छिटो मतगणना गर्नुपर्ने अडान राख्दै आएको थियो । दुवै दलले आआफ्ना माग पूरा गर्न माग गर्दै वालिङमा विगत दश दिनदेखि निरन्तर धर्ना तथा दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेका थिए ।  यसबीचमा निर्वाचन आयोगले सम्बन्धित क्षेत्रमा तीन सदस्यीय टोली स्थलगत अध्ययन अवलोकनका लागि पठाएको थियो । क्षेत्र नं २ मा कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ र एमाले केन्द्रीय सचिव पद्माकुमारी अर्याल मुख्य प्रतिस्पर्धामा हुनुहुन्छ ।

पोखराः   मतदान भएको १० दिन बितिसक्दासमेत मतगणना हुन नसकेको स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । आज बसेको बैठकले मतगणना सुरु गर्न निर्देशन दिएको हो । गठबन्धनले स्याङ्जाको चापाकोट नगरपालिका लगायतको बुथ कब्जा गरेको भन्दै नेकपा एमालले पुनःमतदानको माग गर्दै मतगणना रोकेको थियो । यसैगरि आयोगले बाजुरामा पनि रोकिएको मतगणना सुरू गर्न निर्देशन दिएको छ ।

स्याङ्जाः   नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नं २ र बाजुराको मतगणना चाँडो गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, केन्द्रीय सदस्य प्रदीप पौडेललगायतका नेताले आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरुलाई भेटेर स्याङ्जा–२ र बाजुराको मतगणना चाँडो सम्पन्न गर्न आग्रह गर्नुभएको हो । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस वरिष्ठ नेता पौडेलले मतगणना चाँडो सुरु गर्न आग्रह गरिएको जानकारी दिनुभयो । स्याङ्जा र बाजुरामा विधिवत्रुपमा निर्वाचन सम्पन्न भएको भन्दै मतगणना रोक्नु आवश्यक नभएको उहाँको भनाइ थियो ।  पार्टीका उपसभापति एवं स्याङ्जा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार धनराज गुरुङले निर्वाचन अधिकृतले समेत निर्वाचनमा धाँधली नभएको र कुनै पनि बुथ कब्जा नभएको राय दिइसकेकाले निर्वाचन आयोगले मतगणना सुरु गर्नुपर्ने बताउनुभयो । स्याङ्जा क्षेत्र नं २ मा शान्तिपूर्णरुपमा मतदान भएको उहाँको भनाइ छ । उपसभापति गुरुङले निर्वाचन आयोगले निर्वाचन अधिकृतलाई मतगणना गर्न चाँडो निर्देशन दिने विश्वाससमेत व्यक्त गर्नुभयो । 

उदयपुर:   निर्वाचन आयोगले उदयपुर–१ मा स्थगित मतगणनालाई निरन्तरता दिन आदेश दिएको छ ।  मतगणना पूर्व भएको सहमतिका आधारमा मतगणनालाई निरन्तरता दिन हिजो मुख्य निर्वाचन अधिकृत कार्यालयलाई आयोगले निर्देशन दिएको हो ।

मकवानपुर:    यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मकवानपुरमा ३१ हजार चार सय ७४ मत बदर भएको छ ।   बागमती प्रदेश निर्वाचन कार्यालय मकवानपुरका अनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नं १ मा ९१ हजार चार सय ८९ मत खसेकोमा चार हजार ५८ मत बदर भएको छ । यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा ४६ हजार दुई सय ३० मत खसेकोमा एक हजार छ सय ६३ मत बदर भएको छ भने प्रदेशसभा २ मा ४५ हजार ८० मत खसेकामा पाँच सय चार मत बदर भएको आयोगको भनाइ छ ।  निर्वाचन क्षेत्र नं २ मा ८६ हजार तीन सय एक मत खसेकोमा चार हजार एक सय दुई मत बदर भएको छ । यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा ४५ हजार आठ सय ५३ मत खसेकामा एक हजार पाँच सय ९९ मत बदर भएको छ भने प्रदेशसभा २ मा ४३ हजार तीन सय २९ मत खसेकामा एक हजार चार सय ९४ मत बदर भएको छ ।  प्रतिनिधिसभाको समानुपातिकतर्फ क्षेत्र नं १ प्रदेशसभा १ मा  ४५ हजार ७५ मत खसेकामा एक हजार छ सय ९८ मत बदर भएको छ भने प्रदेशसभा २ मा ४६ हजार १२ मत खसेकामा दुई हजार तीन सय ९५ मत बदर भएको छ । त्यसैगरी क्षेत्र नं २ मा ८६ हजार तीन सय ३८ मत खसेकामा चार हजार एक सय १४ मत बदर भएको छ भने प्रदेशसभाका लागि ८६ हजार ३३ मत खसेकामा पाँच हजार दुई सय ६६ मत बदर भएको छ ।  मकवानपुरमा यसपटकको निर्वाचनमा तीन लाख सात सय ३३ मतदातामध्ये एक लाख ७८ हजार दुई सय ८२ जनाले मात्र मतदान गरेका थिए ।  कार्यालयका प्रमुख लुम्वनाथ पोखरेलले मतदाता शिक्षा सञ्चालन भए पनि यति धेरै सङ्ख्यामा मत बदर हुनु आश्चर्यजनक भएको बताउनुभयो । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा यसभन्दा कम मत बदर भएको उहाँको भनाइ छ । कार्यालयले निर्वाचनमा जिल्लाका १० वटा स्थानीय तहका एक सय २ वटा वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो ।

नेकपा एमालेका स्याङ्जा प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणप्रसाद मरासिनीले चुनाव हारेपछि जिल्लामा रहेको दुई खेमा सतहमा देखिएको छ ।    जसको असर शनिबार देखियो । जहाँ मरासिनी पक्षधरले पुतलीबजार १३ का इन्चार्ज लक्ष्मीपति सुवेदीलाई घरमै गएर कुटपिट गरे । कुटपिटपछि सुवेदीले नामै किटेर मरासिनी समर्थित युवाहरु डोलबहादुर मल्ल, विष्णुबहादुर थापा र सुनिल गिरी लगायतले आक्रमण गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।    उजुरी परेपनि स्याङ्जा प्रहरीले पुष्टी गर्न मानिरहेको छैन भने सुवेदीले किटान गरेका युवाहरु पक्राउ पनि परेका छैनन् ।    यस विषयमा मरासिनी पक्षधर केही समर्थकले भने अन्तर्घात भएको जनाएका छन् । लामो समयदेखि मरासिनीलाई सघाउँदै आएका एक कार्यकर्ता भन्छन्, ‘घात–अन्तर्घात कतैकतै सामान्य भएपनि यहाँ २ सय प्रतिशत अन्तर्घात भएको छ ।’   उनका अनुसार मरासिनी हराउने अनुहारहरु तिनै हुन्, जो उनकै प्रचारमा हिँडेका थिए, तर बाह्यरुपमा खटेजस्तो गरेर ठूलै घात गरे ।    चुनावमा पराजय र शनिबार भएको तनावपछि सम्पर्कमा आउन नचाहेका मरासिनीले आज भने धारणा राखेका छन् । उनले भने, ‘चुनाव हारिसकियो, मैले केही बोल्न आवश्यक छैन, नो कमेन्ट प्लीज ।’   ‘तपाइमाथि अन्तर्घात भयो, समर्थकले कुटपिट गरे तपाइ किन बोल्न चाहनुहुन्न ?’ भन्ने प्रश्नमा मरासिनी भन्छन्, ‘नो कमेन्ट प्लीज, अन्तर्घात भयो÷भएन भन्ने विश्लेषण गर्ने तपाइ (मिडिया)हरुको काम हो ।’   यद्यपि, मरासिनी हारका विभिन्न प्राविधिक कारण भएपनि मुख्य कारण भने राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारी भएको अर्का समर्थक बताउँछन् । ‘घन्टीलाई आएको ६ हजारमध्ये करिब ६० प्रतिशत भोट  एमालेको हो’ उनले भने ‘मरासिनीमाथि घात गर्ने समूह निस्कँदा घन्टी प्लस र मरासिनी माइनस हुन पुगे ।’   त्यस्तै, ‘प्राविधिक कारण’लाई धेरै कोणबाट बुझ्न उनले अनुरोध गरे ।    जिल्लाका एमाले कार्यकर्ताका अनुसार यस चुुनावमा पद्याकुमारी अर्याल र मरासिनीबीच आ–आफ्नो गुट बनाउँदाको परिणाम नेपाली कांग्रेसले बाजी मार्ने मौका पाएको छ ।    मरासिनी कांग्रेसका राजु थापासँग पराजित भएका हुन् । थापाले ३१ हजार ९९९ मत ल्याउँदा मरासिनीले २८ हजार ७४४ मत प्राप्त गरे ।    ०७४ को निर्वाचनमा थापालाई मरासिनीले १० हजार ५६४ मतले हराएका थिए ।  

काठमाडौं:    प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल ९३ लाख पाँच हजार सात सय ६६ मत गणना गरिएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ । निर्वाचन आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार नेकपा(एमाले)ले २५ लाख ३४ हजार तीन सय २३ मत प्राप्त गरेको छ ।  नेपाली कांग्रेसले २३ लाख ९९ हजार आठ सय ३१, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६३ हजार सात सय १८, नेकपा(माओवादी केन्द्र)ले १० लाख ६२ हजार सात सय ४७ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ४५ हजार छ सय ५६, जनता समाजवादी पार्टीले तीन लाख २६ हजार तीन सय ७२ मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन् ।  थ्रेस होल्ड कटाउनका लागि सङ्घर्षरत दलमा नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टी छन् । आयोगको विवरणअनुसार जनमत पार्टीले दुई लाख ६२ हजार आठ सय २६ मत प्राप्त गरेको छ भने एकीकृत समाजवादीले दुई लाख ५२ हजार २७ मत प्राप्त गरेको छ । बाँकी रहेको मतगणनामा ती दलले थ्रेस होल्ड कटाउने अपेक्षा राखेका छन् ।  आयोगका अनुसार नागरिक उन्मुक्ति पार्टीले दुई लाख ३७ हजार नौ सय ६२, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख २७ हजार नौ सय १८, नेपाल मजदूर किसान पार्टीले ७२ हजार आठ सय, हाम्रो नेपाली पार्टीले ५२ हजार आठ सय ४३ मत, मंगोल नेशनल अर्गनाइजेशनले ४५ हजार छ सय ६३, राष्ट्रिय जनमोर्चाले ४४ हजार आठ सय ७३, नेपाल सङ्घीय समाजवादी पार्टीले ३१ हजार दुई सय २९ र नेकपा९माले०ले २६ हजार नौ सय ७१ मत प्राप्त गरेका छन् ।  समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत कूल ४७ दलले निर्वाचन प्रक्रियामा भाग लिएका थिए । त्यसमध्ये सबैभन्दा अन्तिममा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार छ सय ९४ मत प्राप्त गरेको छ ।  त्यस्तै आयोगले प्रदेशतर्फको पनि समानुपातिकतर्फको मतगणना जारी राखेको छ । प्रदेश नं १ मा १५ लाख ८४ हजार आठ सय ६९ मतगणना भइसकेको छ । मधेश प्रदेशमा १६ लाख २५ हजार सात सय ५८, वाग्मती प्रदेशमा १५ लाख ९८ हजार चार सय ३४, गण्डकी प्रदेशमा नौ लाख १८ हजार आठ सय ३९, लुम्बिनी प्रदेशमा १८ लाख ५९ हजार ६२, कर्णाली प्रदेशमा पाँच लाख ७७ हजार आठ सय २९ र सुदूरपश्चिम प्रदेशमा आठ लाख सात हजार एक सय ३८ मत गणना भइसकेको छ । 

धनुषा:   यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा  निर्वाचन अन्तर्गत  धनुषा– ४ मा  मतगणना जारी रहेको छ ।   मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लानुभएको छ ।  मतगणनाको  सुरुदेखि नै नेकपा (एमाले)रघुवीर महासेठले अग्रता लिनुभएको थियो ।  मतगणनाको पछिल्ला विवरण  अनुसार यादवले छ सय ८६ मतले अग्रता लिनुभएको छ । उहाँले २७ हजार दुई सय छ मतप्राप्त गर्नुभएको छ   भने महासेठले २६ हजार पाँच सय २० मत प्राप्त गर्नुभएको मतदान अधिकृत सुदीप दङ्गालले जानकारी दिनुभयो ।