गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

काठमाडौं:   नेपाली कांग्रेसका सांसदहरुले नयाँ सरकार काँग्रेसकै नेतृत्वमा बन्नुपर्ने भन्दै प्रधानमन्त्रीलाई दबाब दिएका छन् । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भएका सांसदहरुले सो दवाव दिएका हुन् । जनतासँग मत माग्न जाँदा देशको नेतृत्व कांग्रेसले नै गर्छ भनेर मत मागेको स्मरण गराउँदै जनतासँगको वाचा पूरा गर्न आगामी नेतृत्व कांग्रेसले नै गर्नुपर्नेमा जोड दिएको सांसदहरुले बताएका छन् । कांग्रेस वर्तमान अवस्थामा देशकै ठूरो राजनीतिक दल भएकाले गठबन्धनभित्र पनि कांग्रेसकै नेतृत्वमा सरकार निर्माण गर्न सुझाव दिएका हुन् ।  प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस सांसद रमा पौडेलले अबको सरकार पनि कांग्रेसकै नेतृत्वमा बनाउन सझाव दिएको बताउनुुभयो । गबठन्धन देशको सुशासन, समृद्धि, स्थायित्वका लागि बनेकाले गठबन्धनमा आवद्ध दलहरुले कांग्रेस नेतृत्वमा सरकार गठन गर्नमा सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।   गठबन्धनले भोलिको लागि भागबण्डा भन्दापनि तत्कालको नेतृत्व नेपाली कांग्रेसलाई दिनुपर्ने आफूहरुले सुझाव दिएको उहाँले बताउनुभयो । सांसद पौडेलले भन्नुभयो, ‘अबको गठबन्धन १० वर्षसम्म जान्छ । यो गबठन्धन देशको सुशासन, समृद्धि, स्थायित्वका लागि हो । आज प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर हामीले त्यही सुझाव दिएका छौं ।’  प्रधानमन्त्री लिएर राष्ट्रपति पद पनि कांग्रेसले छाड्न नहुने सांसदहरुको सुझाव छ । सांसद पौडेलले भन्नुभयो, “कांग्रेसले प्रधानमन्त्री लिएर राष्ट्रपति छोड्नुपर्छ भन्ने होइन,  मुख्यमन्त्री, सभामुख लगायतका पदहरु पनि छन् ।” कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति लिएर बाँकी पदहरु उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, मुख्यमन्त्रीहरुको पदहरुमा गठबन्धनमा आवद्ध दलहरुसँग भागबण्डा हुनसक्ने उहाँले बताउनुभयो ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि भोलि १० गतेसम्मको समय निर्धारण गर्नुभएको छ । सत्ता गठबन्धनका शीर्ष नेताबीच सघन वार्ता भएपनि सहमति बन्न नसकिरहेको अवस्थामा कांग्रेसका सांसदहरु आज प्रधानमन्त्रीलाई भेटेर सुझाव दिन बालुवाटार पुग्नुभएको थियो । 

काठमाडौं:   त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन २८ गते तयारी गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौवटै सङ्कायका डीन र परीक्षा नियन्त्रकसँगको छलफलमा आगामी फागुन २८ गते नै तय गर्ने गरि त्रिवि अगाडि बढेको बताउनुभयो । “हामीले त्रिवि पदाधिकारी, नौवटै सङ्कायका डीन र परीक्षा नियन्त्रकसँग स्ववियु निर्वाचन गर्नका लागि उपयुक्त मितिका लागि छलफल गर्‍यौँ”, उहाँले भन्नुभयो, “परीक्षा र भर्नालगायत सबै प्रक्रिया सकिने भएकाले नै स्ववियु निर्वाचन गर्ने फागुन २८ गते हामीलाई उपयुक्त समय लागेको छ, हामी सोही मितिको प्रस्ताव विद्यार्थी सङ्गठनसँग गर्छौँ ।” स्ववियु निर्वाचनको मिति प्रस्ताव गर्नका लागि यही पुस ११ गते विद्यार्थी सङ्गठनका अध्यक्षको बैठक बोलाइएको छ । निर्देशनालयका निर्देशक अधिकारीले उक्त मितिका लागि त्रिवि पूर्ण तयार भइसकेकोले विद्यार्थी सङ्गठनसँग  छलफल गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थी सङ्गठनले उक्त मितिमा सहमति जनाए हामी निर्वाचनको मिति घोषणा गरेर निर्वाचन प्रक्रियामा जान्छौँ ।” त्रिविले स्ववियु निर्वाचन गर्न पटक पटक पहल गरे पनि हुन सकेको छैन । विद्यार्थी सङ्गठनले फागुन २८ गते सहमति गरे भने विद्यार्थी कल्याण परिषद् बैठकले मिति तोक्नका लागि त्रिवि कार्यकारी परिषदमा सिफारिस गर्नेछ । त्यसपछि त्रिविको कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचनको मिति घोषणा र स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समन्वय समिति बनाउने उहाँले जानकारी दिनुभयो । त्रिविका क्याम्पसमा विगत एक दशकदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । प्रत्येक दुईरदुई वर्षमा हुने निर्वाचन २०६५ साल यता नियमित हुन सकेको छैन । विसं २०६५ चैत ६ गतेपछि एकै पटक आठ वर्षमा विसं २०७३ चैत १५ गते भएको थियो । त्यतिबेला देशभरि त्रिविका ६२ आङ्गिक क्याम्पसमध्ये रत्नराज्य क्याम्पस (आरआर), जनप्रशासन क्याम्पससहित उपत्यकामा नौ आङ्गिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो । यस्तै, उपत्यकाका १३ क्याम्पस र उपत्यका बाहिर २३ आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन् । स्ववियु निर्वाचनमा २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ । पछिल्लो पटक उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि पहिलो पटक २०७३ सालमा आंशिकरुपमा केही क्याम्पसमा मात्र निर्वाचन भएको थियो ।

काठमाडौं:  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले प्रतिगमनलाई पराजित गर्दै जनताको लोकप्रिय पार्टीका रूपमा आफूलाई उभ्याउन सफल भएको बताएका छन् । प्युठान–काठमाडौँ सम्पर्क मञ्चद्वारा राजधानीमा आयोजित प्युठानबाट निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै ओलीले निर्वाचनअघि एमालेविरुद्ध प्रतिगमनको हल्ला चलाइएकोमा पार्टीले त्यसलाई चिर्न सफल भएको बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘अघिल्लो निर्वाचन र स्थानीय तहको निर्वाचनको नतिजाले एमालेले गठबन्धनलाई पराजित गर्ने देखिँदैन थियो । तर हामी जनतामा एकजुट भएर गयौँ भने हामी जित्न सक्छौँ भन्ने दृष्टान्त प्युठानले प्रस्तुत गरेको छ । हामीले प्रतिगामी तत्त्वहरूलाई पराजित गर्यौ । प्रतिक्रियावादीको साँठगाँठलाई र अरूका इसारामा चल्ने शक्तिलाई पराजित गरेका छौँ ।’ उनले एमालेलाई सेटिङमा पार्टी फुटाएर सिध्याउँछु भन्ने षड्यन्त्र भए पनि त्यो विफल भएको दाबी गरे । उनले भने, ‘अदालतले पार्टी फुटाउन भनेको थिएन । नयाँ पार्टी दर्ता गर भनेको थियो । मैले धेरैपटक कोसिस गरेँ । तर पार्टी फुटाउने उद्देश्य लिएकाहरूले नयाँ दल दर्ता गर्न मानेनन् । त्यसैले म भन्छु, अदालतले होइन, पुष्पकमल दाहाल, माधव नेपाल र झलनाथ खनालहरूले पार्टी फुटाएका हुन् ।’  आफ्नै पार्टी अध्यक्ष, दलको नेता र प्रधानमन्त्रीविरूद्ध ल्याइएको १९ पृष्ठ लामो अभियोग पत्रबाट पार्टी विभाजनको षडयन्त्रको खेल सुरु गरिएको उनको भनाई थियो । ‘तर हामीले पार्टीलाई रक्षा मात्र गरेनौँ, हाम्रो पार्टी जनप्रिय पार्टी हो भनेर हामीले प्रमाणित गर्‍यौँ,’ उनले भने । ओलीले विभिन्न ठाउँमा बुथ कब्जा हुँदा पनि निर्वाचन आयोग मूकदर्शक मात्र बनेको आरोपसमेत लगाए ।

काठमाडौं:   कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रैबाट घात हुँदा निर्वाचनको परिणाममा असर परेको  बताएका छन् । काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही व्यक्तिले पार्टीको आन्तरिक विषय र महाधिवेशनको विषयलाई उठाएर निर्वाचन प्रभावित गरेको आरोप लगाए ।  सो क्रममा आफूसहितका केही उम्मेदवारविरुद्ध निरन्तर नकारात्मक सन्देश प्रवाह गरेर हराउने अभियान चलाइएको उनको आरोप छ । ‘भ्रष्टाचारमा प्रकाशमानको केही छैन । चुनावको समयमा पार्टीभित्रको कुरा ल्याएर नकारात्मक प्रचार गरियो । अरु उम्मेदवारको विषयमा पनि यस्तै गरियो । यसको असर निर्वाचन परिणाममा देखियो । जित्ने ठाउँमा पनि कांग्रेसले पराजय भोग्नुपर्यो ।’ नेता सिंहले कांग्रेसमा प्रतिशोध राख्नेहरुका कारण पार्टीको संगठनलाई समेत अविश्वास गर्नुपर्ने अवस्था आएको बताए । ‘पार्टीको संगठनलाई मात्रै निर्भर नपर भन्ने सन्देश यो परिणामले देखायो । यसपटकको तितो पाठ संगठनको मात्रै भर गर्यो भने तेरो हालत यस्तो हुन्छ भन्ने अवस्था देखियो,’ उनले भने।

काठमाडौं:  वर्तमान गठबन्धन टुटे एमाले पनि सरकारमा सामेल हुनसक्ने नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताउनु भएको छ । तर अहिलेको गठबन्धन नटुटेसम्म एमाले सरकार बनाउने खेलमा सहभागी नहुने बताउनु भयो । प्रेस चौतारी नेपाल धनकुटाले शनिबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले अहिलेको गठबन्धन लोकतन्त्र, मुलुकको हितमा नरहेकोले एमाले सरकार बनाउने खेलमा नरहेको प्रस्ट पार्नुभयो । उहाँले भर्खरै सम्पन्न निर्वाचनमा जनताले एमालेलाई सरकारले जाने जनादेश नदिएको र जनताले दिएको जनादेशलाई सम्मानका साथ लिएर अघि बढ्ने बताउनुभयो । तर  गठबन्धन तोडेर कांग्रेस र माओवादी केन्द्र आए छलफल गर्न सकिने उहाँको तर्क छ । गठबन्धन राष्ट्र हितमा छैन यो पहिले तोडिनु पर्छ उहाँले भन्नु भयो ।

मकवानपुर:   बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री पदबाट आजै पेश गर्नुभएको राजीनामा नेपालको संविधानबमोजिम स्वीकृत गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरिएको भए पनि प्रदेशको अर्को सरकार गठन नहुँदासम्म मौजुदा मन्त्रिपरिषद्लाई आफ्नो कार्यभार सम्हालिरहन तोक्नुभएको बागमती प्रदेश प्रमुखको स्वकीय सचिवालयले जनाएको छ । मुख्यमन्त्री पाण्डेले गत मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा धादिङको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित हुनुभई हिजो मात्रै प्रतिनिधिसभा सदस्यको शपथ लिनुभएको थियो ।

काठमाडौं:  बागमती प्रदेश सरकार गठनको प्रक्रिया प्रदेशसभाको पहिलो बैठक पछि मात्र सुरु हुने भएको छ । बागमती प्रदेशसभा सचिवालय हेटौंडामा शुक्रबार बसेको सर्वदलीय बैठकले पुस १७ वा १८ गते प्रदेशसभाको पहिलो बैठक बस्ने निर्णय गरेको र उक्त बैठक पश्चात् मात्र सरकार गठनको प्रक्रिया थाल्ने बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार सरकार गठनका लागि दलहरू तत्काल तयार नभएको र दलहरू संसदीय समिति गठनमा केन्द्रीत रहेकाले संसदको पहिलो बैठक पछि मात्र सरकार गठनको प्रक्रिया सुरु गर्ने सर्वदलीय बैठकले निर्णय गरेको उनले बताए । पछिल्लो समय दोहोरो भूमिकामा देखिनु भयो नि ? अब के राजीनामा दिनु हुन्छ कि ? के छ तयारी ? भन्ने प्रश्नमा मुख्यमन्त्री पाण्डेले नयाँ सरकारलाई आफूले नेतृत्व हस्तान्तरण गर्नुपर्ने र कार्यवाहक दिन नमिल्ने भएकाले संविधानको अधिनमा रहेरै आफूले जिम्मेवारी सम्हालिरहेको बताए । ‘मैले राजीनामा दिइसकेको पनि हुन सक्छु नि ? तपाईँलाई थाहा नभएको पनि हुन सक्छ नि । त्यसैले नयाँ सरकारलाई मैले नेतृत्व हस्तान्तरण गर्ने हो । मैले कसैलाई कार्यवाहक दिन पनि मिल्ने अवस्था होइन । यो जिम्मेवारी संविधानको अधीनमा रहेर नै लिएको हो’ उनले भने । उनले संविधानलाई अक्षरश पालना गर्ने मध्येको आफू एक व्यक्ति भएकाले प्रदेश प्रमुखसँगको छलफलमा काम चलाउ सरकारको नेतृत्व पनि आफैले गर्नुपर्ने अवस्था आउने भएकाले अहिले यही हो भन्न नमिल्ने बताए । ‘म संविधान बनाउने मध्येको एक हो । त्यसको अक्षरसः पालना गर्नेमा म पनि एक हो । संविधानमा कहि कतै यस विषयमा लेखिएको छैन । त्यसैले मैले सरकारको नेतृत्वको विषयमा प्रदेश प्रमुखज्यूसँग पनि सल्लाह गरेको छु । काम चलाउ सरकारको नेतृत्व पनि आफैले गर्नु पर्ने अवस्था रहेको छ । अहिले नै केही भन्न मिल्ने अवस्था छैन’ उनले भने ।

 काठमाडौं:  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेलगत्तै कांग्रेस नेता प्रकाशमान सिंह  बालुवाटार पुगेका छन् ।  आज बिहान खुमलटार पुगेर नेता सिंहले प्रचण्डलाई भेटेका थिए । दुई नेताबीच सरकार गठनको विषयलाई लिएर कुराकानी भएको थियो । सो क्रममा  प्रचण्डले कुनै पनि हालत पहिले आफूले प्रधानमन्त्री पाउनुपर्ने अडान राखेका थिए । कांग्रेसले पनि राष्ट्रपति नछाड्ने बरु प्रधानमन्त्रीमा खुला रहेको विकल्प गठबन्धन दललाई सुनाइसकेको छ । तर पनि देउवाले पहिले प्रधानमन्त्री आफूले पाउनुपर्ने, दुई वर्षपछि प्रचण्ड र तेस्रो कार्यकाल अर्थात् एक वर्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुने विकल्प प्रस्तुत गर्दै आएका छन् ।

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेपछि राजनीतिक दलका नेताहरू निरन्तर छलफलमा छन् । सत्तारुढ गठबन्धन आवद्ध दलहरू औपचारिक तथा अनौपचारिक रुपमा सरकार गठनका विषयमा छलफल गरिरहेका छन् ।  गत आइतबार राष्ट्रपति भण्डारीले १० पुस साँझ ५ बजेभित्र प्रधानमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेकी छन् । जसपा र नागरिक उन्मुक्ति पार्टीबाहेक सबै दलहरूले संसदीय दलको नेता चयन गरिसकेका छन् भने बिहीबार प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण गरिएको थियो ।  सरकार गठनका लागि दलहरू घनिभूत छलफलमा छन् । विशेषगरी बहुमत जुटाउनुपर्ने भएकाले सत्तारुढ गठबन्धनबाट सरकार बन्ने देखिन्छ । गठबन्धनले बनाउन नसके आफू पहल गर्नेमा एमालेको तयारी छ ।  तर, सत्तारुढ गठबन्धनमा प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा सहमति जुटिनसक्दा एमाले नेता गोकुल बाँस्कोटाले भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने सार्वजनिक रुपमा भनेका छन् ।  बाँस्कोटा एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र मानिन्छन् । बाँस्कोटाको उक्त धारणालाई कतिपयले ओलीकै धारणाको रुपमा हेरेका छन् ।  कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि प्रचण्डलाई छोडिदिन बाँस्कोटाले आग्रह गरेका छन् । उनले भनेका छन्, ‘नेपाली राजनीति फेरि पनि च्याखें दाउमै रमाउने देखिँदै छ । विकास, सरल र छरितो सेवा, बेरोजगारी र गरिबीलाई जित्नुपर्ने राजनीतिक दायित्वको जनमतको चाहना केवल सत्ताको छिनाझम्टीमै सकिने भो । अस्थिरता नेपालको अभिशप्त नियति भो । देउवाले प्रचण्डलाई छोडे हुने । गठबन्धन नै गाँठो नपरोस् । शुभकामना ।’