पोखराः गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसबाट संसदीय दलको नेता चुनिएपछि सांसद सुरेन्द्र पाण्डेले अब सशक्त प्रतिपक्षको भूमिका निभाउने बताएका छन् । दलको नेतामा विजयी भएपछि सुनगाभा न्यूजसँग प्रतिक्रिया दिँदै नेता पाण्डेले पछिल्लो राजनीतिक घटनाक्रम प्रतिकुल भएपछि कांग्रेस प्रतिपक्षको भूमिका निभाउन तयार रहेको टिप्पणी गरे । उनले सरकारले अब ल्याउने नीति कार्यक्रमबाट प्रतिपक्षलाई गर्ने व्यवहारबाट प्रतिपक्षको भूमिका निभाउने बताए । ‘सरकारले अब ल्याउने नीति कार्यक्रमले संविधानको रक्षा, लोकतन्त्र, गणतन्त्र, संघियताको रक्षा र कार्यान्वयन, गण्डकी प्रदेशको विकास निर्माण, आर्थिक समृद्धिका लागि कस्तो खालको नीति ल्याउँछ र प्रतिपक्षसँग कस्तो खालको सहकार्य गर्छ, त्यसलाई हेरेर गुण र दोषको आधारमा समर्थन र प्रतिपक्षको भूमिका निर्वाह गर्छ ।’ नेता पाण्डेले भने । नेता पाण्डेले गण्डकी प्रदेशमा कसैसँग पनि स्पष्ट बहुमत नभएकाले यसको सरकार बन्छ भनेर भन्न नसक्ने प्रतिक्रिया दिए । ‘गण्डकी प्रदेशमा कांग्रेस पहिलो दल हो, कांग्रेसँग माओवादी र एमाले मिल्दा सजिलै सरकार बन्न सक्छ, उनले भने, ‘एमाले, माओवादी, राप्रपा र स्वतन्त्र सांसद तथा एकिकृत समाजवादी पार्टी प्रवेश सांसद मिल्न सके मात्र स्पष्ट बहुमतसहित सरकार बन्न सक्छ त्यसैले कसको सरकार बन्छ भनेर भन्न सकिदैन ।’ गण्डकी प्रदेश सभामा कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा ९ सिट गरि कुल २७ ल्याएर गण्डकी प्रदेशको ठुलो दल बनेको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले २२ सिटसहित दोस्रो दलको भूमिकामा छ । एमालेले प्रत्यक्षमा १२ र समानुपातिकमा १० सिट जितेको छ । यस्तै माओवादी केन्द्रले प्रत्यक्षमा ५ र समानुपातिकमा ३ सिट गरि ८ सिटसहित तेस्रो दल बनेको छ । २ सिटसहित गण्डकी प्रदेशमा चौथो दलको हैसियतमा देखिएको राष्ट्रिय प्रजातन्त्र (राप्रपा) पहिलो पटक संसद प्रवेश गर्नेछ । भने नेकपा एकीकृत समाजवादीले स्वतन्त्र निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) लाई पार्टी प्रवेश गराएसँगै १ सिटमा उपस्थिति जनाउनेछ ।
हेटौंडा: नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुरसिंह लामा विजयी हुनुभएको छ । कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका लामा २१ मत ल्याउँदै निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले १६ मत पाउनुभयो । यसअघि दलको नेता बनिसकेका बानियाँ ५ मतान्तरले पराजित हुनुभयो। लामा र बानियाँ दुवै सस्थापन पक्षका हुन् । सर्वसम्मत रुपमा दलको नेता चयन गर्न दुवै सहमत नहुदा निर्वाचन भएको थियो । ३७ प्रदेशसभा सदस्य रहेको कांग्रेस बागमती प्रदेशसभाको सबैभन्दा ठूलो दल हो ।
पोखरा: नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजय भएका छन । आज भएको मतदानमा भोजबहादुर अर्याललाई पराजित गर्दै संसदीयदलको नेतामा सुरेन्द्र पाण्डे विजयी भएका छन। पाण्डेले १८ मत पाए त्यस्तै अर्यालले ८ मत पाए भने १ मत बदर भएको छ । संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे र भोजबहादुर अर्यालले उम्मेदवारी दिएका थिए । संस्थापन पक्षबाट विन्दुकमार थापाको प्रस्तावक र टकराज गुरुङको समर्थनमा सुरेन्द्र पाण्डेले संसदीय दलको नेतामा उम्मेदवारी दिएका थिए भने, संस्थापन इतरपक्षबाट महेन्द्र ध्वज जिसीको प्रस्तावक र पार्वती तामाङको समर्थनमा संसदीय दलको नेतामा उम्मेदवारी दिए । गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिक तर्फ ९ गरी २७ सिट जितेको छ । २७ सदस्यले निर्वाचनमा मतदान गरेका छन
काठमाडौं: नेकपा माओवादी केन्द्रले प्रदेश १ मा सरकारको नेतृत्वमा दावी गरेको छ । बुधबार बसेको प्रदेश १ समितिको पदाधिकारी बैठकले सरकारको नेतृत्वमा दावी गर्ने र त्यसका लागि अन्य दलहरुसँग छलफल अघि बढाउने निर्णय गरेको प्रदेश समितिका अध्यक्ष हर्कबहादुर नेम्वाङले जानकारी दिए । सरकार गठन र अन्य दलसँगको सहकार्यका लागि ३ सदस्यीय वार्ता टोली गठन गरेको छ । पार्टीका सचिव राम कार्कीको संयोजकत्वमा रहेको वार्ता टोलीमा इन्द्रबहादुर आङ्बो र हर्कबहादुर नेम्वाङ सदस्य छन् ।
सुर्खेत: कर्णाली प्रदेशसभा एमाले संसदीय दलको नेतामा यामलाल कँडेल सर्वसम्मत चयन भएका छन् । कँडेल एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश इन्चार्ज समेत हुन् । संसदीय दलको नेतामा प्रदेश कमिटीका अध्यक्ष समेत रहेका विनोदकुमार शाहले पनि दावी गर्दै आएका थिए । अन्तिम सयममा शाह पछि हटेपछि कँडेल सर्वसम्मत रुपमा दल नेतामा चयन भएका हुन् । ४० सदस्यीय प्रदेशसभामा एमाले १० सिटसहित तेस्रो दल हो । संसदीय दलको बैठकले पहिलो चरणमै एमालेको नेतृत्वमा सरकार गठनका लागि पहल गर्न समेत आग्रह गरेको कँडेलले जानकारी दिए । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रको पनि दाबी छ । यद्यपि एमालेले पाउने सम्भावना रहेको नेताहरु बताउँछन् ।
पोखराः नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेताका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । आज हुने संसदीय दलको नेताको निर्वाचनका लागि सुरेन्द्र पाण्डे र भोजबहादुर अर्यालले उम्मेदवारी दर्ता गराएका हुन् । संस्थापन पक्षबाट विन्दुकमार थापाको प्रस्तावक र टकराज गुरुङको समर्थनमा सुरेन्द्र पाण्डेले संसदीय दलको नेतामा उम्मेदवारी दिएका छन् भने, संस्थापन इतरपक्षबाट महेन्द्र ध्वज जिसीको प्रस्तावक र पार्वती तामाङको समर्थनमा संसदीय दलको नेतामा उम्मेदवारी दिएका हुन् । गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिक तर्फ ९ गरी २७ सिट जितेको छ । २७ सदस्यले निर्वाचनमा मतदान गर्न पाउनेछन् ।
काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुई वर्षपछि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुग्नुभएको छ । प्रचण्डलाई भेट्न अध्यक्ष ओली एक्लै खुमलटार पुग्नुभएको हो । उहाँहरुबीच अहिले कुराकानी भैरहेको छ । यसअघि आज बिहान प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँग सरकारमा सहभागिताबारे छलफल गर्नुभएको थियो । नेपाल र यादवसँगको छलफलपछि प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट भएको हो । यसअघि प्रचण्ड प्रधानमन्त्रीमा दाबी पेस गर्ने दिन दिउँसो ओली निवास भक्तपुरको बालकोट पुग्नुभएको थियो ।
काठमाडौंः निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन कार्यतालिका पुस महिनाभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगले राष्ट्रपति निर्वाचित भएपछि मात्रै उपराष्ट्रपतिको चयनका लागि प्रकृया सुरु हुने समेत जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रपतिको पदावधि पूरा हुनुभन्दा एक महिनाअघि नै चुनावको मिति तोक्नुपर्ने कानुनी व्यवस्था अनुसार मिति तोकेर पुस महिनाभित्र निर्वाचन कार्यक्रम सार्वजनिक गरिने जानकारी दिनुभयो । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी गएको २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा चयन हुनुभएको थियो । नेपालको संविधान अनुसार राष्ट्रपतिको पदावधि पाँच वर्षको हुन्छ । त्यसअनुसार फागुन २९ गते भित्रै राष्ट्रपति निर्वाचित भइसक्नुपर्ने हुन्छ । सङ्घीय संसद्को सदस्य हुन योग्य भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको र कुनै पनि कानुनले अयोग्य नभएका व्यक्ति राष्ट्रपतिका लागि उम्मेदवार हुन योग्य हुनेछन् । संविधानले राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्ग वा समुदायको हुनुपर्ने व्यवस्था समेत गरेको छ । राष्ट्रपतिको निर्वाचनका लागि राष्ट्रिय सभाका ५९, प्रतिनिधि सभाका २ सय ७५ र प्रदेश सभाका ५ सय ५० गरी कुल ८ सय ८४ जना मतदान गर्न योग्य हुनेछन् । बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था रहेको छ ।
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन् । प्रचण्डलाई भेट्न अध्यक्ष ओली एक्लै पुगेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । अहिले उनीहरूबीच वार्ता चलिरहेको छ । ओली दुई वर्षपछि प्रचण्ड निवास पुगेका हुन् । यसअघि बिहान प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए । नेपाल र यादवसँगको छलफलपछि प्रचण्डले एमाले अध्यक्ष ओलीसँग वार्ता गर्न लागेका हुन् ।

