धनुषा: मधेश प्रदेशका प्रदेशसभा सदस्यहरुले शुक्रबार प्रदेशसभामा शपथ लिनु भएको छ । प्रदेशसभा सचिवालय मधेश प्रदेशले प्रदेशसभाको हलमा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा प्रदेशसभाका जेष्ठ सदस्य ७१ वर्षीय गोबिन्दबहादुर न्यौपानेले उहाँहरुलाई शपथ ग्रहण गराउनु भयो । १०७ सदस्यीय रहेको मधेश प्रदेशसभा मा १०४ जना सदस्यले आज शपथ ग्रहण गरेको प्रदेशसभा सचिवालयका निमित सचिव रंजित यादवले जानकारी दिनुभयो । १०४ जनामध्ये ४९ जना सदस्यले आफनो मातृभाषामा र ५५ जना सदस्यले नेपाली भाषामा शपथ ग्रहण गर्नुभएको प्रदेशसभा सचिवालयले जनाएको छ । मैथली, भोजपुरी, थारु, उर्दुसहितको मातृभाषामा सांसदहरुले शपथ लिनुभयो । नेकपा ९माओवादी केन्द्र० का दुई जना प्रदेशसभा सदस्य माला कर्ण र रैजी हैदरको विषयमा अदालतमा मुद्दा दायर गरिएकाले शपथ ग्रहण कार्यक्रममा सहभागी नगराइएको यादवले जानकारी दिनुभयो । शपथग्रहणपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै सांसदहरुले अबको पाँच वर्षमा संविधान र संघीयताको सफल कार्यान्वयन र जनताको समस्या सम्बोधनमा ध्यान दिने बताउनुभयो । प्रदेशसभाको पहिलो वैठक पुष १८ गते १ वजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
काठमाडौं: नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । राजदूत श्रीवास्तवले शुक्रबार प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाउनुभएको बधाई पत्र प्रधानमन्त्री दाहालसमक्ष हस्तान्तरण गरेका थिए । भेटमा नेपाल भारत बीचको सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको थियो ।
काठमाडौंः स्वतन्त्र सांसद प्रभु साहको नेतृत्वमा आम जनता पार्टीको स्थापना भएको छ। माओवादी, एमाले हुँदै स्वतन्त्र बनेका साहको नेतृत्वमा ५१ सदस्यीय तदर्थ समिति गठन भएको हो। स्वतन्त्र उम्मेदवार जिताउ अभियानलाई पार्टीमा रुपान्तरण गरिएको साहले बताए। नवगठित पार्टीले प्रदेश अध्यक्ष, इन्चार्ज र जनवर्गीय संगठनको जिम्मेवारीसमेत तोकेको छ। जसअनुसार प्रदेशको अध्यक्षमा हरिप्रसाद पोखरेल र इन्चार्जमा रामप्रित राम, मधेसको अध्यक्षमा श्रीचन मुखिया र इन्चार्जमा उपेन्द्र साह, बागमतीको अध्यक्षमा नाम्गेल मोक्तान र इन्चार्जमा बद्रीप्रसाद न्यौपाने, गण्डकीको अध्यक्षमा राजन यादव ुमनोजु र इन्चार्जमा ब्रदीप्रसाद न्यौपाने, लुम्बिनीको अध्यक्षमा परमानन्द वर्मा र इन्चार्जमा रिता देवी यादव, कर्णालीको अध्यक्षमा सियाराम कुश्वाहा र इन्चार्जमा उपेन्द्र साह र सुदूरपश्चिममा केशवराय चौधरी अध्यक्ष र इन्चार्जमा कुन्दन कुश्वाहालाई जिम्मेवारी तोकेको छ। त्यस्तै जनवर्गीय संगठनतर्फ आइटी आर्मीको अध्यक्षमा चन्द्र भुषण साह, इन्चार्ज प्रभु साह, आम दलित मोर्चामा चन्देश्वर बैठा र इन्चार्जमा रामप्रित राम, आम महिला मोर्चाको अध्यक्षमा कान्ति महतो र इन्चार्जमा करिमा बेगम, आम विद्यार्थी मोर्चाको अध्यक्षमा विवेक साह र इन्चार्जमा उमेश कुश्वाहा र आम किसान मोर्चाको अध्यक्षमा किताब तामाङ र इन्चार्जमा कुन्दन कुश्वाहालाई जिम्मेवारी तोकेको छ।
पाेखरा: गण्डकी प्रदेशसभामा आज आयोजित सपथ ग्रहण समारोहमा ३ जना सभासद्ले मातृभाषामा सपथ लिएका छन् । मातृभाषामा सपथ लिनेहरुमा पार्वती तामाङ र सरस्वती गुरुङ नेपाली कांग्रेसका सभासद हुन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका पन्चराम गुरुङ्ले पनि मातृभाषामा सपथ लिएका हुन् । उल्लेखित ३ सहित ५६ जनालाई प्रदेशका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् । प्रदेशमा कूल ६० सभासद् रहेका छन् । जेष्ठ सदस्य बस्यालले बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट सपथ लिएका थिए ।
पोखरा: कास्की–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित नेकपा एमालेका दामोदर पौडेल बैरागीले संसदमा जनताका समस्याबारे सक्रिय भएर आवाज उठाउने प्रतिबद्धता जनाएका छन् । एमालेनिकट पत्रकारहरुको संस्था प्रेस चौतारीमा आवद्ध पत्रकारसँग बुधबार भएको भेटमा उनले जनताका समस्या समाधान गर्न आफू सधैँ तत्पर रहेको बताए । ‘म सांसद नहुँदा पनि पार्टीकै विभिन्न कमिटीमा बसेर जनतासँगै थिएँ । अब जनप्रतिनिधि भएर एउटा भूमिका थपिएको छ । संसदमा कास्कीका समस्या जोड्दार ढंगले उठाउँछु,’ उनले भने । उनले चुनावमा केही विकास निर्माणका काम गर्ने प्रतिबद्धता जनाएकाले ती काम सम्पन्न गर्न सक्रिय भएर लाग्ने बताए । आफ्नो पाँच वर्षे कार्यकालमा वडा कार्यालय पुग्ने बाटो पक्की बनाउने योजना सांसद बैरागीले सुनाए । आफ्नो निर्वाचन क्षेत्र ग्रामीण भूभाग बढी भएको र सडकको पहुँच नपुगेकाले त्यसतर्फ आफ्नो ध्यान जाने सांसद बैरागीको भनाइ थियो । ‘हाम्रोमा सबै गाउँले भेग छ । ती ठाउँबाट वडा कार्यालयमा पुग्न पाँच वर्षभित्र पक्की बाटो हुनपर्छ भन्ने भिजन छ । कति वडा, कति प्रदेश, कति संघले सक्छ त्यहीअनुसार गर्छौं,’ उनले भने । सांसद बैरागीले ठूलो भूगोल भए पनि स्वास्थ्य सेवाको पहुँच निकै कम भएकाले एक पालिका एक अस्पताल योजनालाई अघि बढाउने सुनाए । ‘म निर्वाचित भएको क्षेत्रमा राम्रो सरकारी अस्पताल बनाउन चाहन्छौँ । ४ वटा अस्पताल र एउटा राजमार्ग अस्पताल बनाउन पहल गर्ने छु,’ उनले भने । खानेपानीका योजनाको निर्माण सक्ने गरी आफूले सम्बन्धित निकायसँग सहकार्य गर्ने सांसद बैरागीले बताए । कास्की–३ मा घान्द्रुक, ल्वाङ, लान्द्रुक, अन्नपूर्ण पदमार्ग, मर्दी हिमाल पदमार्ग पर्छन् । तर, सबै उत्पादन बजारकै खुवाइने गरेकोमा चिन्ता व्यक्त गरे । यो समस्या समाधान गरेर गाउँमा गाउँकै उत्पादन खुवाउने गरी ‘इको रिसोर्ट’बनाउने योजनाअनुसार अघि बढ्ने सुनाए । अन्न, तरकारी, फलफूल, मासु र दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बनाउने महत्वाकांक्षा बोकेर योजना निर्माणमा खटिने सांसद बैरागीले बताए ।
काठमाडौँ: निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा सुरु गरेको छ । प्रदेश र जिल्लास्तरीय समीक्षाअघि आयोगले आन्तरिक समीक्षा सुरु गरेको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विगतमा देखिएका त्रुटि सुधार्दै अपनाउनुपर्ने अन्य उपायबारे आन्तरिक समीक्षा भइरहेको जानकारी दिनुभयो । भक्तपुरको नगरकोटमा दुई दिनसम्म चल्ने समीक्षामा आयोग मातहतका सातवटा महाशाखा तथा शाखाले अलग–अलग कार्यपत्र प्रस्तुत गरेपछि छलफल हुने उहाँले बताउनुभयो । समीक्षाको उद्घाटन सत्रमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कमीकमजोरी राम्ररी केलाउन र विगतमा देखिएका त्रुटि सुधार गर्न वस्तुनिष्ठ विश्लेषण गर्न निर्देशन दिनुभयो । उहाँले विगतको समीक्षाबाट आएका निष्कर्षको के कति कार्यान्वयन भयो र आगामी निर्वाचनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन समीक्षा केन्द्रित हुनुपर्ने बताउनुभयो । सहायक प्रवक्ता अर्यालका अनुसार निर्वाचन सामग्रीको मितव्यायी उपयोग र व्यवस्थापन हुन सक्ने सामग्रीको स्थानीयस्तरमै खरिद गर्ने, कर्मचारी परिचालनलगायतका विषयमा समीक्षा हुने बताउनुभयो । उक्त कार्यक्रममा निर्वाचन आयुक्तहरू, आयोगका सचिव, सहसचिवसहित शाखा प्रमुखहरूको सहभागिता छ ।
हेटौंडा: नेकपा एमालेले आज बिहीबार बागमती प्रदेशको संसदीय दलको नेता चयन गर्दैछ । संसदीय दलको नेता चुन्नका लागि अहिले ११ बजे बैठक बोलाइएको प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले जानकारी दिए । एमाले संसदीय दलको बैठकबाट सर्वसम्मत रूपमा संसदीय दलको नेता छान्न प्रयास हुने उनले बताए । संसदीय दलको नेतामा पार्टीका केन्द्रीय सदस्य जेएन थपलिया सर्वसम्मत चयन हुने एमालेका नेताहरूले बताएका छन् । नेता थपलियाले १२ बजे भित्रमा संसदीय दलको नेताको विषयमा निर्णय आइसक्ने बताए । उनले भने, ‘संसदीय दलको नेतामा मेरो पनि इच्छा हो । बैठक अगाडि म नैं नेता हुन्छु भनेर कसरी भनुँ । बैठकको निर्णय कुरिदिनुहोला ।’
काठमाडौं: मधेस प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुने भएको छ । संसदीय दलको नेतामा मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव र पूर्वमन्त्री रामसरोज यादव उम्मेदवार छन् । दुवैले उम्मेदवारी दर्ता गराइसकेको र मतदान दिउँसो ३ बजेपछि हुने कांग्रेस मधेश प्रदेश प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए । कृष्ण पार्टी सभापति देउवा पक्षधर हुन् रामसरोज विमलेन्द्र निधि निकट हुन् । अघिल्लो प्रदेश सभामा रामसरोज दलको नेता थिए ।
काठमाडौँ: सत्ता साझेदार दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा सरकारलाई समर्थन गरेका राजनीतिक दलका शीर्ष नेताहरू सहितको बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकले मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटको टुङ्गो लगाउने जनाएको छ । प्रदेश सरकार गठनको विषयमा समेत बैठकमा छलफल हुने नेताहरूले जनाएका छन् । बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी), जनता समाजवादी पार्टी, जनमत पार्टीका प्रतिनिधि लगायत स्वतन्त्र संसदहरुको उपस्थिति रहेको छ ।

