काठमाडौंः कांग्रेसको संसदीय दलको नेताका लागि मतदान सुरु भएको छ । बिहान ८ बजेदेखि नै मतदान सुरु गर्ने भनिए पनि केहीबेर ढिलो गरी सुरु भएको छ । बिहान १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान हुनेछ । मतदान प्रक्रियाका लागि संसदीय दलको कार्यालय परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । संसदीय दलको चुनावमा संस्थापन पक्षबाट प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा र इतर समूहबाट महामन्त्री गगन थापा उम्मेदवार हुनुहुन्छ । देउवा दलको नेता हुँदै पाँचपटक प्रधानमन्त्री बनिसक्नु भएको छ । थापा पहिलोपटक दलको नेतामा प्रतिस्पर्धामा हुनुहुन्छ । कांग्रेस विधानमा दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्ने व्यवस्था रहेकाले चुनावलाई महत्वका साथ लिइएको छ । यस्तै, अहिले यो चुनावले नै भावी सरकार गठनसहित समग्र राष्ट्रिय राजनीतिक जोडिएकाले पनि अन्य राजनीतिक पार्टी र नेताहरुले पनि चासोका साथ हेरेका छन् । कांग्रेसमा दलको नेता निर्वाचित हुनु भावी प्रधानमन्त्रीको सबैभन्दा बलियो दाबेदार हुनु हो । यस्तै, कांग्रेस सभापति देउवाले दलको नेताको चुनावपछि शक्ति बाँडफाँडको विषयमा छलफल गर्ने बताएका कारण सत्तागठबन्धनमा रहेका दलले चासो दिएका छन् । अहिले कांग्रेसको संसदीय दलमा ८९ सांसद रहेकाले बहुमतका लागि ४५ मत चाहिन्छ । विधानमा ५० प्रतिशत मत पाएपछि मात्रै दलको नेता चयन हुने व्यवस्था छ । अंकगणितअनुसार संस्थापन पक्षसँग सुविधाजनक बहुमत देखिन्छ । तर, दुवै पक्ष एक–अर्को समूहमा रहेका सांसदको समर्थन जुटाउने र मत बढाउने रणनीतिमा केन्द्रित छन् । ८९ मतदातामा संस्थापनमा ५४ र इतर समूहमा ३५ सांसद देखिन्छन् । महाधिवेशनमा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका विश्वप्रकाश शर्मा र देउवा प्यानलबाट महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलसमेतको समर्थनमा थापा दलको नेताको उम्मेदवार बनेपछि सभापति देउवामाथि चुनौती थपिएको छ । देउवालाई रामचन्द्र पौडेल, प्रकाशमान सिंह र पूर्वमहामन्त्री शशांक कोइरालालगायतका नेताको समर्थन छ । संसदीय दलको नेतामा गगन थापाको उम्मेदवारीलाई राजनीतिमा रूपान्तरणको सन्देशका रुपमा पनि लिइएको छ ।
काठमाडौं: नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली निर्विरोध चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले ओलीलाई निर्विरोध दलको नेता चयन गरेको सांसद ठाकुर गैरेले बताए । उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओली दलको नेता चयन भएका हुन् । दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने अर्को बैठकबाट चयन हुने अध्यक्ष ओलीले सांसदहरुलाई जानकारी दिएका छन् ।
काठमाडौं: राप्रपाको संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन्। पार्टी प्रवक्ता मोहन श्रेष्ठ अध्यक्ष लिङ्देन सर्वसम्मत रूपमा पार्टी संसदीय दलको नेता चयन भएको जानकारी दिए। दल नेता चयन गर्न आज राप्रपाले संसदीय दलको बैठक राखेको थियो। राप्रपाबाट प्रतिनिधि सभामा १४ जना सांसद छन्।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ३ बुँदे सहमति कार्यान्वयन गर्न ल्याइएको अध्यादेश रोक्ने षडयन्त्र विरुद्ध आन्दोलनरत छ । पुस १ गतेदेखि सुरु गरेको देशव्यापी विरोधअन्तरगत नेकपा कास्कीले आज पोखराको उत्तरी क्षेत्रमा पर्ने पोखरा–बाग्लुङ राजमार्गमा चक्काजाम गरेको छ । नेकपाले उक्त राजमार्गअन्तरगत याम्दीपुलमा बिहान १० बजेदेखि १ घण्टा चक्काजाम गरेको कास्की सेक्रेटरी काजी गुरुङले जनाए । चक्काजामको निर्धारित समय सकिन लाग्दा नेपाल प्रहरी पुगेपनि कुनै बल प्रयोग र धरपकड नभएको भन्दै उनले शान्तिपूर्णरुपमा कार्यक्रम सफल भएको जानकारी दिए । आन्दोलनअन्तरगत हिजो साँझ अमरसिंह क्षेत्रमा मशाल जलुुस निकालेको थियो भने अघिल्लो दिनमा नगरक्षेत्रमा प्रदर्शन गरेको थियो । आन्दोलनका निर्धारित कार्यक्रम सकिएपछि आगामी दिनमा हुने कार्यक्रमबारे केन्द्रमा छलफल हुने सेक्रेटरी गुरुङ्ले जनाए ।
काठमाडौंः नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका छन्। देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्तावक गरेका छन् भने उपसभापति पूर्णबहादुर खड्काले समर्थन जनाएका छन्। संसदीय दलको नेताका उम्मेदवारले दरखास्त दिने समय मंगलबार दिउँसो २ देखि ३ बजेसम्म तोकिएको छ। उम्मेदवारको अन्तिम नामावली आज नै प्रकाशन गर्ने कार्यक्रम छ। उम्मेदवारीका साथ बुझाउनुपर्ने शुल्क समितिले ५१ हजार रुपैयाँ रहेको निर्वाचन समितिले जनाएको छ। कांग्रेस संसदीय दलको उम्मेदवारी दरखास्त दिन आज दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ मा हुँदैछ । मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।
काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका छन् । थापाको प्रस्तावकमा शेखर कोइरला छन् भने समर्थमकमा धनराज गुरुङ रहेका छन्। थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले समर्थन गरेका छन्। कांग्रेस संसदीय दलको नेताका लागि मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।
काठमाडौं: नेपाली कांग्रेसको संस्थानइतर पक्षको बैठकमा पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा पनि पुगेका छन् । अनामनगरस्थित होटल बसेरामा इतर पक्षको बैठक जारी रहेको छ । शर्मा बैठक हलमा प्रवेश गर्दा सहभागीहरुले ताली बजाएर स्वागत गरेका थिए । नेता अर्जुननरसिंह केसी बैठक हल बाहिर गएर विश्वप्रकाशको हात समातेर बैठक कक्षमा प्रवेश गराएका थिए । बैठकले पार्टी संसदीय दलको नेताको उम्मेदवार गगन थापालाई बनाउने निर्णय गरेको छ । थापाको प्रस्तावकमा नेता डा. शेखर कोइराला र प्रस्तावकमा धनराज गुरुङ रहनेछन् । महामन्त्री शर्माले पनि संसदीय दलको नेतामा थापालाई समर्थन गर्दै आइरहेका छन् ।
काठमाडौं: नेपाली कांग्रेसमा प्रधानमन्त्रीको रेशबाट वरिष्ठ नेता रामचन्द्र पौडेल आउट भएका छन् । यसअघि उनी सभापति देउवासँगै पौडेल र महामन्त्री गगन थापाले प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्ने बताउँदै आएका थिए । त्यसका लागि उनले पछिल्लो समय राजनीतिक भेटवार्ता र संवादलाई तीव्रता दिएका थिए । नेताहरुबीच भएको पछिल्लो सहमति अनुसार कांग्रेस संसदीय दलको नेताका लागि नै पौडेल प्रतिस्पर्धामा नआउने भएपछि उनी प्रधानमन्त्रीको रेशबाट पनि आउट भएका हुन् । कांग्रेसमा दलको विधान अनुसार दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था छ । दलको नेताका लागि कांग्रेसमा पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि नेता शेखर कोइरालाले समेत संसदीय दलको नेता बन्ने चाहना राखेका थिए । तर सोमबार र मंगलबार दुई दिन भएको थापा र कोइराला समूहको बैठकले थापालाई दलको नेतामा अघि सार्ने सहमति गरेका छन् । नेता शेखर कोइराला र गगन थापा समूहको बैठकले थापालाई कांग्रेसको देउवा इतर समूहबाट संसदीय दलको नेतामा उम्मेदवार उठाउने सहमति भएसँगै देउवा र थापाबीच प्रतिस्पर्धा हुने भएको हो ।
काठमाडौं: नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् । डा. शेखर कोइरालासँग सोमबार र मंगलबार दुई दिन भएको छलफलमा गगनले देउवाविरुद्ध उम्मेदवारी दिने सहमति जुटेको हो । सोमबारको छलफल टुंगोमा नपुगेपछि आज बिहान पुनः कोइराला र थापा पक्षबीच छलफल भएको थियो । सो छलफलमा थापा संसदीय दलको नेताको उम्मेदवार बन्ने र कोइराला प्रस्तावक बन्ने सहमति भएको छलफलमा सहभागी एक नेताले जानकारी दिए । कांग्रेस संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । बुधबार बिहान ८ बजेदेखि निर्वाचन हुनेछ । गगन थापाको उम्मेदवारी दर्ताको तयारी गर्न कोइराला र थापा होटेल बसेरामा पुनः बस्ने नेताहरुले बताएका छन् । त्यसअघि आज बिहान साढे ८ बजेदेखि लाजिम्पाटस्थित होटल एम्बास्डरमा कोइराला र थापासहितका नेताहरुले छलफल गरेका थिए । छलफलमा नेता अर्जुन नरसिंह केसीलगायतका नेताहरु सहभागी थिए । सोही होटलको एउटा छुट्टै कोठामा थापा, कोइराला, सञ्जय गौतम, रामनाथ अधिकारी लगायतले पनि छलफल गरेका थिए । थापाले निर्वाचन अगाडि नै आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका थिए । निर्वाचन लगत्तै उनले संसदीय दलको निर्वाचनको तयारी थालेका थिए । तर कोइरालाले पनि दलको नेताको आकांक्षा देखाउँदै आफूलाई सघाउन थापालाई आग्रह गरेपछि उनीहरुबीच समझदारी जुट्न सकेको थिएन । संसदीय दलको नेता पार्टीको तर्फबाट प्रधानमन्त्री बन्ने भएकाले कांग्रेस नेताहरु रस्साकस्सीमा छन् । देउवा समूहबाट पार्टी सभापति एवम् हालका प्रधानमन्त्री शेरबहादुर देउवा आफैं दलको नेताको उम्मेदवार बन्ने निश्चित छ ।

