काठमाडौं: रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको आवासीय बैठक भोलिसम्म चल्ने भएको छ । सोमबार बिहानदेखि बुढानीलकण्ठको होटल पबेरामा राखिएको बैठक बुधबारसम्म चल्ने भएको हो । अध्यक्ष लामिछानेसहित निर्वाचित सांसद र केन्द्रीय सदस्य समेतलाई राखेर बैठक चलिरहेको एक केन्द्रीय सदस्यले बताए । लामिछाने नेतृत्वको पार्टीको आवासीय बैठकमा संसदीय प्रक्रिया, संसदको भुमिका, संविधान र कानुन, पार्टीले लिने लाइन र योजनाका विषयमा समेत छलफल हुने भएको छ ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाने विषयमा रिजिट भएर बस्न मिल्ने बताएका छन् । संसदीय दलको नेता चयन गर्ने बैठकमा बुढानिलकण्ठमा बोल्दै लामिछानेले परिस्थिति हेरेर सरकारमा जाने विषयमा निर्णय गरिने बताए । ‘हामी सरकारमा जाँदै जाँदैनौं वा जान हुँदैन भनेर रिजिट भएर बस्न हुँदैन । त्यो फेरि सरासर गलत हुन्छ’ लामिछानेको भनाई उदृढ गर्दै एक सांसदले भने,‘अहिलेको व्यवस्था र संसदीय अंकगणितमा हाम्रो पार्टी निर्णाक छ । हाम्रा कारणले सरकार नबन्ने स्थिति भएमा समर्थन गरेर सरकारमा जाने हुन सक्छ ।’ अहिलेको संसदलाई पुरा कार्यकाल चल्नेगरी पार्टीको तर्फबाट सरकारमा जानु परेमा जान सकिने लामिछानेले बताए । सरकारमा जान वा नजाने पुराना दलको निर्णयमा भर पर्ने बताए । यदि हामी सरकारमा गएमा निर्सत नजाने उनले स्पष्ट पारेका थिए ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका छन् । सोमबार पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका हुन् । उनले आफूहरूले सरकारमा नजाने भनेर कसम पनि नखाएको भन्दै आगामी दिनमा के गर्दा आफ्नो मान्यताहरु स्थापित हुन्छन् सोही गर्ने बताए । उनले आफूहरू मन्त्री खानको लागि कसैको घर नधाउने स्पष्ट पारे । अध्यक्ष लिङदेनले राप्रपा कुनै दलको पुच्छर नबन्ने पनि बताए । उनले सरकारमा जानुपरेमा वा कसैलाई समर्थन गर्नुपरेमा कारणसहित गर्ने उल्लेख गरे । अध्यक्ष लिङ्देनले राप्रपाको उकालो यात्रा शुरु भएको बताए । उनले आगामी दिनमा सतर्कतापूर्वक अगाडि बढ्दै पार्टीलाई पहिलो बनाउने बताए । उनले पार्टीले अझै मत ल्याउनुपर्ने भन्दै प्राप्त भएको मत परिणाम बाट आफू सन्तुष्ट नभएको उल्लेख गरे । पार्टीलाई ठिक ढंगले परिचालन गर्न नसक्दा प्राविधिक रुपमा धेरै मत नआएको भन्दै उनले जनताको मन भने जितेको बताए । लिङ्देनले राप्रपा सुध्रिएको हो कि होइन भनेर जनताले परीक्षण गर्नका लागि यसपटक यति मत दिएका उल्लेख गरे । अध्यक्ष लिङदेनले नवनिर्वाचित सांसदहरुलाई विदेशी दुतावासहरुले कार्यक्रमहरुमा बोलाएमा पार्टीको अनुमति बिना नजान निर्देशन दिए । दुतावासले बोलाएर रक्सीमासु खुवाउने भन्दै उनले त्यस्तो नगर्न आग्रह गरे । उनले सांसदहरुलाई अनुशासन र मर्यादामा बस्न दिर्नेशन दिए । उनले पार्टीमा योगदान गरेका र क्षमता र सम्भावना भएका नयाँ व्यक्तिहरुलाई सांसद बनाइएको बताए । पार्टीमा नयाँ मानिसहरुलाई पनि अवसर दिनुपर्ने र फराकिलो दृष्टिकोण राख्नुपर्ने उनको भनाई छ । पार्टी सदस्यहरुले पनि कडाइपूर्वक पार्टी अनुशासनको पालना गर्नुपर्ने उनले बताए ।
काठमाडौं: संघीय संसद सचिवालयले सांसदहरुको शपथ ग्रहण कार्यक्रम ७ पुसमा राखेको छ । सोमबार दिउँसो संसद सचिवालयले ७ पुसको दिउँसो १ बजे सांसदहरुको शपथ ग्रहण आयोजना गर्ने निर्णय गरेको हो । सांसदहरुले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यबाट शपथ लिनेछन् । त्यसअघि ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिनेछन् । निर्वाचन आयायेगले संसद सचिवालयलाई निर्वाचित सांसदहरुको उमेर (जन्ममिति) समेतको विवरण उपलब्ध गराएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको सांसदहरुको विवरणलाई मात्रै आधार नमानेर संसद सचिवालयले सम्भावित ज्येष्ठ सदस्यहरुको नागरिकता नै मगाएर अध्ययन गरिरहेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे बताउँछन् । सांसदहरुको शपथ भने नयाँ वानेश्नर स्थित संसद भवनमै हुनेछ । शपथ लिएपछि सांसदहरुले सांसद भएवापत प्राप्त गर्ने सेवा सुविधा पाउनेछन् । हेर्नुहोस् संघीय संसद सचिवालयको सूचना:
काठमाडौं: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रधानमन्त्रीका लागि सबै चीज दाउमा कहिल्यै नलगाएको बताएका छन् । प्रधानमन्त्रीका लागि नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन छाडेर नेकपा एमालेसँग गठबन्धन गर्नका लागि माओवादी केन्द्र संवादमा रहेको चर्चा चलिरहेका बेला प्रचण्डले यस्तो बताएका हुन् । नयाँ सरकार गठनका लागि शीर्ष नेताहरुबीच छलफल चलिरहेका प्रचण्ड चितवन पुगेका छन् । चितवनमा पत्रकाहरुसँग कुरा गर्दै प्रचण्डले सत्ता गठबन्धनकै बीचमा छलफल चलिरहेको र सत्ता गठबन्धनबाटै सरकार बन्ने विश्वास व्यक्त गरे । एमाले नेताहरुसँग संवाद भइरहेको स्वीकारेका प्रचण्डले एमालेसहितका दलहरुसँग चुनावी परिणामपछि भएको भेट र संवादलाई स्वभाविक रुपमा लिन आग्रह गरे । चर्चा गरिए जस्तो एमालेसँग गठबन्धन गर्ने विषयमा छलफल केन्द्रित नभएको उनको दाबी छ । चितवनमा पत्रकारहरुसँग प्रचण्डले गरेको कुराकानीको सम्पादित अंश: सत्ता गठबन्धनबाट प्रधानमन्त्री को हो ? यो विषयमा राजनीतिक दलहरुका बीचमा छलफल चलिराखेको छ । ७ दिनको समय राष्ट्रपतिबाट प्राप्त भएको छ । हामी गठबन्धन बस्छौं रगठबन्धनबाट सजिलै निर्णय हुन्छ । अहिले टुंगो लागेको छैन् । प्रधानमन्त्रीका लागि तपाईंले दाबी गर्नु भएको कुरा आएको सुनिएको छ नि ? मैले देशको नेतृत्व गर्ने अवसर पाएँ भने जिम्मेवारी लिने कुरा त गरेको छु । तर, तपाईंहरुले सुने जस्तो गठबन्धनभित्र औपचारिक दाबी भएको छैन । मिलेसम्म गठबन्धन, नभए एमालेसँग मिलेर भए पनि तपाईं प्रधानमन्त्री बन्ने भन्ने हो ? यो कुरा जसरी जसरी बाहिर प्रचार भएको छ । त्यस्तो स्थिति होइन । स्वभावैले निर्वाचनपछि सबै राजनीतिक दलहरुको बीचमा, नेताहरुको बीचमा छलफल चलेको छ । नयाँ आएका पार्टीहरुसँग पनि छलफल चलेको छ । तर, मैले सँधै भन्ने गरेको छु – प्रधानमन्त्रीका लागि सबै चीज दाउमा लगाउने काम मैले कहिल्यै पनि गरेको छैन् । गठबन्धनको निम्ति, संविधानको निम्ति वा निर्वाचनको निम्ति मैले धेरै नेताहरुलाई प्रधानमन्त्री प्रस्ताव चाहीँ गरेको छु । आफैँ प्रधानमन्त्री भनेको होइन । जिम्मेवारी आयो भने जिम्मेवारी लिने हो । एमालेसँग सहकार्यबारे? एमालेसँग कुराकानी सबैको भइराखेको छ । गठबन्धनका सबै दलहरुको कुराकानी भइराखेको छ । कांग्रेस र एमालेको पनि कुरा भएको छ । अरु पार्टीहरुसँग पनि कुरा भइराखेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि कुरा भइराखेको छ । यहाँलाई पाँच वर्ष प्रधानमन्त्री दिएर पार्टी एकतासम्मको कुरा बाहिर आएको छ नि ? बाहिर जसरी आएको छ, त्यसरी हाम्रो औपचारिक र आधिकारिक रुपमा कुरा भएको छैन् । सरकार गठन हुनु अगाडि नै गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा आएको छ । यो कुरा कसरी आयो ? यो कुरा बास्तवमा कतिपय व्यक्तिहरुले, खासगरि बुद्धिजिवीहरुबाट त्यस्तो कुनै व्यक्तित्व भयो भने राष्ट्रपति बनाउँदा ठिक हुन्छ भन्ने सुझाव आएको हो । हामीले गठबन्धनभित्र या राजनीतिक दलहरु कसैसँग पनि यो बिषयमा चर्चा भएको पनि होइन । र, त्यो अहिले सम्भव पनि छैन । ‘पावर सेयरिङ’ कसरी गर्दै हुनुहुन्छ ? पावर सेयरिङ मिलाउने कुरामा चाहिँ खासगरि राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री, सभामु र उपसभामुख तत्काल टुंग्याउनुपर्ने यसमा छ। हामीले गठबन्धनभित्र यी सबैलाई ‘प्याकेज’मै टुंगो लगाउने समझदारी बनाएका छौं । राष्ट्रपतिले सात दिनको समय दिनु भएको छ, त्यो समयभित्रै यी सबै टुंगिन्छ ? त्यो ७ दिनभित्र नै यो कुरा हुन्छ । ७ दिनमा तपाईंको बटमलाइन म प्रधानमन्त्री बन्छु भन्ने हो ? माओवादी केन्द्रले बटमलाइन भनेर केही पनि कुरा भनेको छैन । सहमति र सझदारीबाट गर्ने कुरा गरेको छ । समझदारीबाट जिम्मेवारी आयो भने लने हुन्छ । अरु नै भयो भने अरु नै हुन सक्छ । निर्वाचनमा जानुअघि यो प्रधानमन्त्री बन्ने भनेर केही सहमति भएको थियो ? त्यो पनि लिखित, औपचारिक केही पनि भएको थिएन । छलफल पक्कै पनि थियो । हामीले गठबन्धन गर्दा आलोपालो गर्ने हो भन्ने कुरा चाहिँ भएकै हो । त्यो सहमति भएको हो ? त्यो करिब करिब भएको समझदारी हो । अहिले पनि छ । नागरिक उन्मुक्ति पार्टीहरु खोज्दै हिड्ने तर, राष्ट्रिय स्वतन्त्र पार्टीलाई वास्तै गर्नु भएको छैन् भन्ने छ नि ? यो कुरा गलत हो । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसँग यो बीचमा मेरो दुईरतीन पटक कुराकानी भैसक्या छ । छलफल चलिराख्या छ । सिके राउतको पार्टीसँग पनि कुरा भइराखया छ । रवि लामिछानेसँग पनि कुरा भइराखेकै छ । अझ मैले त अझ डिलीबजार कारागारमै गएर रेशम चौधरीलाई पनि भेटेको हो । कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पनि आफैंले राख्न खोज्यो भन्ने आइरहेको छ । यसबारे तपाईंको भनाइ के छ ? बाहिर आएको कुरा सत्य होइन । राष्ट्रपति र प्रधानमन्त्री दुवै भनेर कांग्रेसले भनेको पनि मलाई थाहा छैन । प्रधानमन्त्रीजीसँग पनि लगातार भेट भइरहेको छ । यदि त्यो परिस्थिति आयो भने के हुन्छ ? त्यस्तो हुँदैन मेरो विचारमा । गठबन्धनभित्र सहमति हुन्छ । हिजो नेपाली कांग्रेसको तर्फबाट तपाईंहरुले थाहा पाउनु भएकै छ, केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर नेपाली कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने भनेर उहाँहरुले निर्णय गर्नु भएको छ। औपचारिकरुपमा भनेको त्यति मात्रै छ । तर, उहाँहरुले त्यसरी भन्दै गर्दा गठबन्धनभित्र सहमति गर्नुपर्छ पनि भन्नु भएको छ। अध्यादेशको कुरामा तपाईंको पनि सहमति हो ? त्यसको बारेमा कुरा के हो भने नेपाल सरकारले विगतमा मधेश केन्द्रित दलहरुसँग पनि, विप्लव नेतृत्वको पार्टीसँग पनि, अरु दलहरुसँग पनि, थारु कल्याणकारिणीसँग पनि सहमति गरेको छ । ती सबै सहमतिलाई सम्बोधन गर्ने गरि सरकारले अध्यादेश ल्याएको हो । त्यो सामान्य प्रक्रिया हो ।
काठमाडौं: नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । सत्तासमीकरण, संसदीय दलको नेता र भावी रणनीति तय गर्न बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो । नयाँ सरकार गठनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कसरत गरिरहेका बेला माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाइएको हो । शनिबार प्रचण्डले बालुवाटार पुगेर आफूलाई प्रधानमन्त्री बनाउन कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गरेका थिए । सत्तासमीकरण निर्माणबारे एमालेसँग समेत समानान्तर वार्तामा माओवादी केन्द्रका दोस्रो तहका नेताहरु रहेको समयमा अध्यक्ष प्रचण्डले देउवालाई भेटेर आफूलाई प्रधानमन्त्री बनाउन औपचारिक प्रस्ताव गरेका हुन्। निर्वाचन अगाडिको एक भेटमा प्रधानमन्त्री देउवाले प्रचण्डलाई निर्वाचनपछिको प्रधानमन्त्री बनाउने आश्वासन दिएका थिए। निर्वाचनपछि तेस्रो दलमा खुम्चिए पनि निर्वाचन अघि देउवाले दिएको आश्वसनको बलमा शनिबार भेटेर प्रचण्डले आफूलाई प्रधानमन्त्री वातावरण मिलाउन देउवासमक्ष आग्रह गरेका हुन्। प्रचण्ड वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग शनिबार बिहान आन्तरिक छलफल गरेपछि प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगेका थिए ।
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोक तेमाल गाउँपालिकाका तल्कालीन अध्यक्षसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिंह लामा,प्रमुख प्रशासकीय अधिकृत शर्मिला लामिछाने,कन्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका संचालकसहित ७ जनाविरुद्ध आइतबार भ्रष्टाचार मु्द्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डाले जानकारी दिएका छन्। प्रवक्ता भण्डारीका अनुसार उनीहरुले व्यवसायीसँगको मिलेमतोमा नदीजन्य पदार्थ उत्खनन्सम्बन्धी ठेक्कामा कबोल अंक र सम्झौता अंक फरक पारी राजश्व चुहावट गरेको अनुसन्धानबाट खुलेकाले सातैजनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
काठमाडौंः निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम आज दिउँसो एकैसाथ सातवटै प्रदेशका प्रदेश प्रमुखसमक्ष बुझाएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सहसचिवसहितको टोलीले सबै प्रदेशका सदरमुकामस्थित प्रदेशप्रमुखको कार्यालयमा अलगअलग रूपमा प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझाउन प्रदेश नं १ मा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, गण्डकी प्रदेशमा आयुक्त ईश्वरीप्रसाद पौड्याल, लुम्बिनी प्रदेशमा आयुक्त रामप्रसाद भण्डारी, सुदूरपश्चिम प्रदेशमा आयुक्त डा जानकीकुमारी तुलाधर, मधेस प्रदेशमा आयुक्त सुगनशमशेर जबरा, बागमती प्रदेशमा सचिव गोकर्णमणि दुवाडी र कर्णाली प्रदेशमा सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा आयोगको टोली पुगेको थियो । ती टोलीबाट प्रदेशगत निर्वाचनको विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिनुभयो । प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ मा आयोगले प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र प्रदेशप्रमुखसमक्ष पठाउनुपर्ने व्यवस्था छ । आयोगले गत मङ्सिर २९ गते राष्ट्रपतिसमक्ष समग्र निर्वाचनको प्रतिवेदन पेस गरेको थियो ।
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशका प्रवक्ता बोधराज रेग्मीले अबको राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई चुक्ने छुट नभएको बताएका छन् । पोखरामा संचारकर्मीहरुसंगको भेटघाट कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गएपनि वा प्रतिपक्षमा बसेपनि संसद पुगेका २० जना माननीयहरुले जनमतको कदर गर्दै देश र जनताका पक्षमा काम गर्नुहुनेछ । हामी देश र जनताकै निम्ति राजनीतिमा होमिएका हौँ ।हामीलाई चुक्ने छुट छैन ।’ गण्डकी प्रदेशबाट प्रत्यक्षमा सिट प्राप्त नगरेपनि समानुपातिक बाट २ सिट पाएको र उहाँहरू गण्डकी प्रदेश केन्द्रीत रहने उनको भनाइ थियो । आगामी दिनमा गण्डकी प्रदेश समितिले छिटै नै गण्डकी प्रदेशका ११ वटै जिल्लामा वडा तहसम्म तहगत समिति निर्माण गर्ने , जनताका गुनासा हरेक पार्टी कार्यालयमा टिपाउन सकिने, सरकारी कार्यालयहरुमा नियमित रुपमा अनुगमन हुने, जनताका स–साना मुद्दालाई समेत समाधान गर्ने लगायतका कामहरू गरिने प्रवक्ता रेग्मीले जानकारी दिए ।

