काठमाडौं: काठमाडौं महागनरपालिकाका मेयर बालेन्द्र शाहले पदबाट राजीनामा दिएका छन्।  आइतबार शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन्।  स्थानीय तहका प्रमुखले उपप्रमुखलाई र उपप्र...

सुनसरी:   सुनसरी क्षेत्र नं ४ को मतगणना शनिबार साँझदेखि स्थगित भएको छ । यहाँका राजनीतिक दलबीच सहमति कायम हुन नसक्दा अहिलेसम्म पनि मतगणा हुन नसकेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिनुभयो ।  हिजो मतगणनाका क्रममा आयोगले नै छ सय छ मत एमालेतर्फ जोडेको आरोप सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीको छ । त्यसपछि विवाद उत्पन्न भएको र अपराह्न सर्वदलीय बैठक बसेको थियो । सो बैठकमा सर्वदलीय सहमति हुन नसकेपछि साँझदेखि नै मतगणना स्थगित हुन पुगेको थियो ।  लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कार्कीले एमाले पक्षले मतगणनामा धाँधली गरेको र आयोगकै मिलेमतोमा छ सय छ मत एमाले उम्मेदवारका पक्षमा जोडेको बताउनुभएको छ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका कार्कीले सो आरोप लगाउँदै सुरुदेखि नै पुनः मतगणना गर्न माग राख्नुभएको छ । उहाँले आयोगकै मिलेमतोमा मत हिनामिना भएको सूचना आफूले पाएको बताउनुभयो । आज बिहान पनि सर्वदलीय बैठक बसेको छ तर कांग्रेसका कार्यकर्ताले पुनःमतगणना गर्नुपर्ने माग दोहोर्याएपछि अहिलेसम्म गणना स्थगित छ ।  उम्मेदवार कार्कीले २३ हजार चार सय ३९ मत प्राप्त गर्नुभएको छ भने एमाले उम्मेदवार जगदीशप्रसाद कुसियतले २३ हजार तीन सय ४१ मत पाउनुभएको छ । कार्की कुसियतभन्दा ९८ मत अगाडि हुनुहुन्छ । यस क्षेत्रमा जम्मा ८१ हजार दुई सय ३३ मत खसेको छ ।

काठमाडौं:   अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट मात्रै जितेको कांग्रेस सुदूरपश्चिममा अहिले बढी सिट जितेर पहिलो दल बनेको छ । विसं २०७४ को निर्वाचनमा १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा डडेल्धुरामा मात्रै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक सिट जिते पनि बाँकी आठ जिल्लामा कांग्रेस पराजित भएको थियो । नेपाली कांग्रेसले कैलाली र कञ्चनपुरमा दुई/दुई, डडेल्धुरा, दार्चुला र अछाममा एक/एक गरी सात सिट प्रतिनिधिसभामा जितिसकेको छ । बाजुरामा विवादका कारण मतगणनाको काम भएको छैन । त्यसैगरी सत्ता गठबन्धनमा बैतडी र कञ्चनपुर निर्वाचन क्षेत्र नं १ भाग परेको नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिममा शून्य हुन पुगेको छ । प्रतिनिधिसभाका दुई सिट पाएको माओवादीबाट बैतडीमा नरेन्द्र कुँवर र कञ्चनपुर–१ मा पूर्वमन्त्री बीना मगर पराजित हुनुभयो । गठबन्धनकै साथमा नेकपा (एकीकृत समाजवादी)ले पनि तीन सिट जितेको छ । यहाँ समाजवादीले अछाम–१, बझाङ र डोटीमा गरी तीन सिट जितेको हो । अछाममा समाजवादीबाट श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवर र डोटीमा पूर्वमन्त्री प्रेम आले र बझाङमा समाजवादीका नेता एवं पूर्वमन्त्री भानुभक्त जोशी निर्वाचित हुनुभयो । पन्ध्र सिटमा उम्मेदवारी दिएको नेकपा (एमाले) सुदूरपश्चिममा दुई सिट जित्न सफल भएको छ । एमालेले डडेल्धुरामा भने नेपाली कांग्रेसका उम्मेदवार कर्ण मल्ललाई समर्थन गरेको थियो । एमालेका लागि बैतडीमा पूर्वराज्यमन्त्री दामोदर भण्डारी र कञ्चनपुर–१ मा प्रदेश सरकारका पूर्वमन्त्री तारा लामा तामाङले जित दिलाउनुभयो । त्यसैगरी पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभाका तीन सिट जितेर कैलालीमा आफ्नो बर्चश्व प्रस्तुत गरेको छ । यहाँ सत्ता गठबन्धन र प्रतिपक्षी दल एमालेका उम्मेदवारलाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टीले कैलाली निर्वाचन क्षेत्र नं १, २ र ३ मा जितेको हो । यहाँ निर्वाचन क्षेत्र नं १ मा उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ, २ मा अरुण चौधरी र ३ मा गङ्गाराम चौधरी निर्वाचित हुनुभयो ।  यसपटकको निर्वाचनमा सुदूरपश्चिममा सबैभन्दा खराब नतिजा माओवादीले पाएको छ । सत्ता गठबन्धनमा भागबण्डा गर्दा माओवादीले बैतडी, कञ्चनपुर–१ र कैलालीमा निर्वाचन क्षेत्र नं २ र ३ पाएको थियो । प्रतिनिधिसभामा शून्य भएको माओवादी प्रदेशसभामा भने आठ सिट जितेर दोस्रो ठूलो दल बनेको छ । अघिल्लो निर्वाचनमा ११ सिट जितेको एमाले अहिले दुई सिटमा खुम्चिनुमा पार्टी फुट र गठबन्धनको असर रहेको एमाले नेताहरुको भनाइ छ । नेपाली कांग्रेसमा डडेल्धुराबाट प्रधानमन्त्री देउवा, कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य नारायणप्रकाश साउद, कञ्चनपुर ३ मा पुर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक निर्वाचित हुनुभएको छ । ग्रेसबाट कैलाली ४ मा पूर्वमन्त्री वीरबहादुर बलायर, कैलाली ५ मा कांग्रेस नेता डिल्लीराज पन्त, अछाम २ मा कांग्रेस नेता पुष्पबहादुर शाह निर्वाचित हुनुभयो । त्यसैगरी सत्ता गठबन्धनका उम्मेदवार एवं कांग्रेस नेता तथा हालका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू दार्चुलाबाट निर्वाचित हुनुभयो । हाल मतगणना अनिश्चित रहेको बाजुरामा कांग्रेसबाट सहमहामन्त्री बद्री पाण्डे र नेकपा (एमाले)बाट पूर्वमन्त्री कर्ण थापाबीच चुनावी प्रतिस्पर्धा छ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सहमहामन्त्री चिन्तामणि भट्टले कांग्रेसले सोचेअनुसार नतिजा आएको बताउनुभयो । “समानुपातिकको गणना सकिएपछि बैठक हुन्छ, समीक्षा हुन्छ”, उहाँले भन्नुभयो, “ त्यसपछि प्रदेश सरकार बनाउने गृहकार्य सुरु हुन्छ ।” त्यसैगरी नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशका सह–इञ्चार्ज राजेन्द्रसिंह रावलले सत्ता गठबन्धनका बाबजुद पनि एमालेले जनताको स्नेह पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि सुदूरपश्चिममा समानुपातिकतर्फ एमालेले लिड गरिरहेको छ ।”

भैरहवा:  गृहमन्त्री बालकृष्ण खाणले अब पाँच दलीय गठबन्धनको सरकार बन्ने बताएका छन् । रुपन्देहीको भैरहवामा आइतबार बिहान भएको पाँच दलीय गठबन्धनको बैठकमा उनले भने, ‘पाँच दलीय गठबन्धनको सरकार बन्छ र पाँच दलीय गठबन्धन पाँच वर्षसम्म रहन्छ ।’ रुपन्देही ३ मा राप्रपाका उम्मेदवार दीपक बोहोरासँग पराजित भएका खाणले प्रधानमन्त्री को बन्ने भन्ने पाँच दलका शीर्ष नेता बसेर टुंग्याउने बताए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बसेर प्रधानमन्त्री टुंग्याउने उनको भनाइ छ । उनले आफूले निर्वाचनको नतिजालाई सहजतापूर्वक लिएको बताउनु भयो । ‘निर्वाचनमा पराजयलाई सहजतापूवक लिन गाह्रो हुन्छ । तर, म कृष्णप्रसाद भट्टराईको स्कुलिङमा हुर्केको हुँ । तसर्थ जनताको अभिमतलाई सहर्ष स्वीकार गर्छु,’ गृहमन्त्री खाणले भने । उनले प्रतिनिधि सभारप्रदेशसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित तरिकाले शान्तिपूर्ण रुपमा एकै चरणमा सम्पन्न गर्ने मुख्य भूमिका पूरा गर्न पाएकोमा आफूलाई खुसी लागेको उनले बताए ।

रामेछाप:   रामेछापबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् । नेकपा एमालेका कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ को फराकिलो मतान्तरले पराजित गर्दै कान्छाराम विजयी भएका हुन् । एक लाख ८० हजार १०६ मतदाता रहेको रामेछापमा ८८ हजार ६८० मत खसेको थियो । त्यसमध्ये ८३ हजार ८९९ मत सदर भएकोमा कान्छारामले ४७ हजार ९९ मत ल्याए भने एमालेका ढुङ्गेलले ३० हजार ७ सय ३० मत पाए । यस्तै, प्रदेश सभा (१) मा माओवादी केन्द्रका उमेदवार तारानारायण श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले १७ हजार १४८ मत प्राप्त गरे ।उनका प्रतिद्वन्द्वी एमालेका शान्ति पौडेललाई १५ हजार १५७ मत पाए । श्रेष्ठले पौडेललाई १ हजार ९९१ मतान्तरले मतले पराजित गरेका हुन् । प्रदेश सभा (२) मा पनि माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज चौलागाईंले एमालेमा मिलनकुमार घिसिङलाई पराजित गरेका हुन् । चौलागाईंले २१ हजार २३९ मत प्राप्त गर्दा घिसिङले १७ हजार ४१३ मत पाए । यसपटक रामेछापमा खसेको मतको चार हजार ७८१ मत बदर भएको छ ।

कालीकोट:    पछिल्लो ३१ वर्षमा मुलुकमा सात वटा निर्वाचन भए । यसअघिका छ वटा निर्वाचनमा कालीकोटमा नेपाली कांग्रेसले एकपटक मात्रै जीत हासिल गरेको थियो ।  विसं २०४८ सालमा कांग्रेसका तिलकप्रसाद न्यौपानेले विजयी भएपछि यस क्षेत्रमा कांग्रेसले जीत हासिल गर्न सकेको थिएन । तर रोचक कुरा त के छ भने २०४८ सालमा कांग्रेस उम्मेदवार न्यौपानेसँग पराजित हुनुभएका हिक्मतबहादुर बिस्टले ३० वर्षपछि कालीकोटमा कांग्रेसलाई जीत दिलाउन सफल हुनुभएको छ ।  तत्कालीन समयमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार बिस्ट कांग्रेसका न्यौपानेबाट २८६ मतले पराजित हुनुभएको थियो । न्यौपानेले आठ हजार आठ मत ल्याउँदा विष्टले सात हजार सात सय १७ मत ल्याउनु भएको थियो ।  यही मङ्सिर ४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा विष्टले कालीकोट प्रदेशसभा २ सदस्यमा १३ हजार ७८३ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का बीरेन्द्रबहादुर बोगटी पाँच हजार ८३८ मत प्राप्त गर्नुभयो । विसं २०५१ सालको मध्यावधि निर्वाचनमा कांग्रेस उम्मेदवार तिलकप्र्रसाद न्यौपाने एमालेका यज्ञराज न्यौपाने पराजित गर्नुभएको थियो भने २०५६ सालको निर्वाचनमा एमाले उम्मेदवार प्रेमबहादुर सिंहले कांग्रेसका नेत्रबहादुर शाहीलाई पराजित गर्नुभएको थियो । साथै, २०६४ सालको संविधानसभा निर्वाचनमा विष्टलाई नै माओवादीका खड्बहादुर विश्वकर्माले पराजित गर्नुभएको थियो ।  विसं २०७० को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका भुपेन्द्रजङ्ग शाहीलाई माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका भुपेन्द्रजङ्ग शाहीलाई माओवादी केन्द्रका दुर्गबहादुर रावतले पराजित गर्नुभएको थियो । तर २०७९ सालको प्रदेशसभामा भने कांग्रेसले कालीकोटमा एक सिट सुरक्षित गर्न सफल भएको छ ।  “प्रदेशसभा सदस्यमा कांग्रेसले जीत निकाल्न सफल भएको छ”, कांग्रेस जिल्ला सभापति अम्मबहादुर शाहीले भन्नुभयो, “३१ वर्षपछि कालीकोटमा कांग्रेसको जीतले निकै खुसी बनाएको छ ।” वाम लोकतान्त्रिक गठबन्धनका कारण कांग्रेसले लामो समयपछि कालीकोटमा जीत निकालेको कांग्रेस महासमिति सदस्य नारायण प्रसाद भट्टराईले बताउनुभयो ।

पाल्पाः   यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाल्पामा समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा रहेको छ । एमालेले जिल्लामा सबैभन्दा धेरै मत ल्याएर पहिलो भएको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य रहेको पाल्पामा ५० हजार एक सय २३ मत ल्याएर एमाले समानुपातिकमा पहिलो स्थान ओगटेको छ । कांग्रेसले ३७ हजार नौ सय ७९ मत ल्याएर दोस्रो स्थानमा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सात हजार आठ सय १३, नेकपा (माओवादी केन्द्र)ले पाँच हजार सात सय ९१, मङ्गोल नेशनल अर्गनाइजेशनले तीन हजार एक सय ९८, नेकपा (एकीकृत समाजवादी)ले एक हजार छ सय ९९, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार पाँच सय ४२, राष्ट्रिय जनमोर्चाले छ सय ३२, राष्ट्रिय जनमुक्ति पार्टीले पाँच सय ४०, जनमत पार्टीले एक सय ३० मत प्राप्त गरेको छ ।    प्रदेशसभातर्फ पनि ५५ हजार तीन सय छ मत ल्याएर एमाले नै समानुपातिकमा पहिलो बनेको छ । कांग्रेसले ३९ हजार आठ सय ६८ मत पाएको छ । माओवादी केन्द्रले आठ हजार दुई सय १६, मङ्गोल नेशनल अर्गनाइजेशनको तीन हजार नौ सय पाँच, एकीकृत समाजवादीले तीन हजार सात सय ४०, राप्रपाले तीन हजार १५, राष्ट्रिय जनमोर्चाले एक हजार ३३, राष्ट्रिय जनमुक्ति पार्टीले सात सय ४८, हाम्रो नेपाली पार्टीको चार सय ९४, जनमत पार्टीले दुई सय ४९, जनता समाजवादी पार्टीले दुई सय ४२, नेपाल आमा पार्टीले एक सय ७७, नेकपा माक्र्सवादी लेलिनवादीले एक सय ४८, जनसमाजवादी पार्टीले एक सय छ मत प्राप्त गरेको छ । जिल्लामा दुई लाख एक हजार तीन सय २६ मतदाता रहेकामा प्रतिनिधिसभातर्पm एक लाख २१ हजार पाँच सय ९७ मत खसेको थियो भने तीन हजार पाँच सय ४५ मत बदर भएको छ । प्रदेशतर्फ एक लाख २२ हजार चार सय ४२ मत खसेको थियो । यसअन्तर्गत चार हजार ९४ मत बदर भई जिल्लामा कुल आठ हजार दुई सय ३९ मत बदर हुन पुगेको छ ।

दमौलीः   तनहुँ जिल्लामा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो भएको छ । जिल्लाका दुवै प्रतिनिधिसभा सदस्यतर्फ समानुपातिकमा धेरै मत प्राप्त गरी कांग्रेसले अग्रता लिएको  हो । तनहुँ–१ र २ तर्फ कांग्रेसले ४२ हजार तीन सय ५२ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा (एमाले)ले ३९ हजार चार सय ४७, राष्ट्रिय स्वतन्त्र पार्टीले २२ हजार आठ सय ६८, नेकपा (माओवादी) केन्द्रले १२ हजार पाँच सय ५७ र नेकपा (एकीकृत समाजवादी)ले एक हजार तीन सय ९० मत प्राप्त गरेको छ । तनहुँ–१ तर्फ कांग्रेसले २० हजार ८९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिनुभयो । एमालेले १६ हजार छ सय ४३, राष्ट्रिय स्वतन्त्र पार्टीले १२ हजार सात सय ३९, माओवादी केन्द्रले सात हजार तीन सय १०, राप्रपाले तीन हजार पाँच सय ३९, एकीकृत समाजवादीले नौ सय ४६, मङ्गोल नेशनल अर्गनाइजेशनले चार सय ५६, राष्ट्रिय जनमुक्ति पार्टीले तीन सय ६१, जनता समाजवादी पार्टी नेपालले तीन सय २२, हाम्रो नेपाली पार्टीले दुई सय २३, नेकपा (माले)ले दुई सय १२, जनमत पार्टीले एक सय ६३, मौलिक जरोकिलो पार्टीले ६२ मत प्राप्त गरेको छ ।  तनहुँ–२ को प्रतिनिधिसभामा भने एमाले पहिलो बनेको निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिनुभयो । एमालेले २२ हजार आठ सय चार, कांग्रेसले २२ हजार दुई सय ६३, राष्ट्रिय स्वतन्त्र पार्टीले १० हजार एक सय २९, माओवादी केन्द्रले पाँच हजार दुई सय ४७, राप्रपाले एक हजार सात सय ३४, मङ्गोल नेशनल अर्गनाइजेशनले छ सय २५, एकीकृत समाजवादीले चार सय ४४, राष्ट्रिय जनमुक्ति पार्टीले चार सय २९, हाम्रो नेपाली पार्टीले चार सय १७, नेकपा ९माले०ले एक सय ३४, जनता समाजवादी पार्टीले एक सय एक, जनमत पार्टीले ८५ मत प्राप्त गरेको छ ।  कांग्रेसले तनहुँ–१ र २ को प्रतिनिधिसभामा विजय हासिल गरेको छ । त्यस्तै तनहुँ–१ (१) र तनहुँ–२ (२)को प्रदेशसभामा विजय हासिल गरेको छ । एमालेले तनहुँ–२ (१) र माओवादी केन्द्रले तनहुँ–१ (२) को प्रदेशसभामा विजय हासिल गरेको छ । 

काठमाडौंः   प्रदेशसभा समानुपातिकतर्फ नेकपा (एमाले) छ प्रदेशमा पहिलो भएको छ । प्रदेशसभा सदस्य समानुपातिकमा निर्वाचन आयोगले आज साँझ ८ बजेसम्म अद्यावधिक गरेको मतपरिणामअनुसार प्रदेश नं १ मा (एमाले) ले तीन लाख ४६ हजार दुई सय ४४ मत प्राप्त गरेको छ ।  त्यसैगरी कांग्रेसले तीन लाख छ सय ४९ र नेकपा (माओवादी केन्द्र)ले एक लाख एक हजार तीन सय ७२ मत पाएको छ । यस प्रदेशमा जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलगायत पार्टीले एक लाख पु¥याउन सकेका छैनन् ।  मधेस प्रदेशमा भने कांग्रेस समानुपातिकमा एक लाख ८० हजार आठ सय १६ मत पाएको छ भने (एमाले ले एक लाख ५४ हजार सात सय ९२ हजार मत प्राप्त गरी दोस्रो स्थान रहेको छ । जसपा नेपालले एक लाख २६ हजार तीन सय ८६ र जनमत पार्टीले एक लाख दुई हजार आठ सय ४४ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले ७० हजार पाँच सय ६२ मत प्राप्त गरी पाँचौँ स्थानमा छ ।  बागमती प्रदेशमा एमालेले तीन लाख ८४ हजार चार सय ८३ मत ल्याएको छ । कांग्रेसले तीन लाख ३६ हजार ८४, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख एक हजार तीन सय ९३, माओवादी केन्द्रले एक लाख ८७ हजार एक र नेपाल मजदुर किसान पार्टीले ६१ हजार ५६६ मत पाएको छ ।  गण्डकी प्रदेशमा एमालेले तीन लाख ११ हजार तीन सय ८९, कांग्रेसले दुई लाख ८८ हजार तीन सय ७३, माओवादी केन्द्रले एक लाख १२ हजार दुई सय २१ र राप्रपाले ५४ हजार सात सय ३६ मत पाएको छ । लुम्बिनी प्रदेशमा एमालेले तीन लाख ९३ हजार नौ सय, कांग्रेसले तीन लाख ६२ हजार, ३२, माओवादी केन्द्रले एक लाख ३९ हजार चार सय ७४ र राप्रपाले ९७ हजार सात सय एक मत पाएको छ ।  त्यसैगरी कर्णाली प्रदेशमा एमालेले एक लाख ४६ हजार आठ सय २०, कांग्रेसले एक लाख ३० हजार ६६, माओवादी केन्द्रले एक लाख १७ हजार ६२ र एकीकृत समाजवादीले २९ हजार ५१ मत प्राप्त गरेको छ । सुदूरपश्चिम प्रदेशमा एमालेले दुई लाख १० हजार ५६, कांग्रेसले एक लाख ९७ हजार नौ सय १०, माओवादी केन्द्र ले ९२ हजार सात सय ९५ मत प्राप्त गरी तेस्रो स्थानमा रहेको छ । 

रुपन्देहीः   मङ्सिर ४ गते सम्पन्न रुपन्देही क्षेत्र नं ३ को प्रतिनिधिसभा निर्वाचनमा बिजयी राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) बरिष्ठ नेता दीपक बोहरा निर्वाचन अवधिभरि चुनावी अभियानका क्रममा मौन जस्तै रहनुभयो ।  ‘पोस्ट कोभिड’ समस्याका कारण भ्वाइस रेष्टमा रहनु परेकाले बोहरा जनताका बीचमा पुगेर सम्बोधन गरेर आफ्ना ऐजेण्डा राख्न नपाएपनि निर्वाचनमा भने जित हासिल गर्नुभएको छ । उहाँले निकै प्रतिस्पर्धा रहेको प्रतिनिधिसभाको निर्वाचन २०७९ अन्तर्गत गृहमन्त्री सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाणलाई दुइहजार छ सय ८१ मत अन्तरले पराजित गर्नुभएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । बोहोराले ३६ हजार सात सय १७ मत ल्याउँदा गृहमन्त्री खाणले ३४ हजार ३६ मत प्राप्त गर्नुभएको क्षेत्र नं ३ का सहायक निर्वाचन अधिकृत शोभाखर खरेलले जानकारी दिनुभयो ।  राप्रपाका नेता बोहरा घाँटीमा समस्या भएका कारण कुनै पनि औपचारिक कार्यक्रममा सम्बोधन गर्नु पाउनुभएन । हाल चिकित्सकको सल्लाहअनुसार नै उहाँले ‘स्पीच थेरापी’ गरिरहनुभएको छ । सभा समारोहमा उपस्थित भए पनि उम्मेदवार बोहराले कहीँ पनि मन्तब्य राख्नुभएन । उहाँका तर्फबाट पूर्वगृहमन्त्री निरञ्जन थापा, लुम्बिनी प्रदेश संयोजक प्रदीप उदय लगायतले सभा भेलामा मन्तव्य राख्ने गर्नुभएको थियो ।   बोहरा कोरोना महामारीको दोस्रो लहरमा चलेका बेला २०७७ जेठमा सङ्क्रमित हुनुभएको थियो । त्यतिबेला उहालाई खासै समस्या देखिएको थिएन । “उहाँलाई त्यतिबेला ज्वरो, खोकीलगायतका सामान्य लक्षण मात्रै देखिएका थिए । घरमै बसेर आराम गर्दा ठीक भएको थियो”, राप्रपा नेता स्वाती थापाले भन्नुभयो । निर्वाचन अवधिभर बोहरा बिहान ६ बजेदेखि राति ११ बजेसम्म घरदैलो, कोणसभामा सहभागी हुनुभयो तर, कतै बोल्नुभएन । स्वातीका अनुसार बोहराले नै तीन दलीय नेताहरुलाई क्षेत्रभरि आफैँ परिचालन गर्ने, दैनिक योजना बनाउने, हरेक दिन संयन्त्रको छलफल गर्ने र कार्यक्रममा सहभागी भइरहने काम गर्नुभयो । चुनावी प्रचारको सुरुआतमा आफ्ना कुरा कागजमा लेखेर अरुलाई बोल्न लगाउने गरिए पनि पछि त्यो झन्झट भएपछि पार्टीका नेताहरुले नै सम्बोधनमार्फत बोहराका प्रतिबद्धता राखिदिने गर्नुभएको थियो । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता खाण र राप्रपाका नेता दीपक बोहरा अघिल्लो आम निर्वाचनमा सहयात्री हुनुहन्थ्यो । विसं २०७४ को निर्वाचनमा कांग्रेस र राप्रपाबीच गठबन्धन थियो भने राप्रपाका बोहरा कांग्रेसको समर्थनमा निर्वाचन लड्नुभएको थियो । त्यसबेला बोहरालाई जिताउन हलो चिन्हमा मत माग्दै हिँड्नुभएका गृहमन्त्री खाण अहिले प्रतिस्पर्धी हुनुभयो ।  विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन २ नम्बर क्षेत्र (हाल ३) मा कांग्रेसका रामकृष्ण ताम्राकारलाई पराजित गर्दै विजयी हुनुभएका नेता बोहोरा २०७४ मा रुपन्देही–३ मा एमालेका घनश्याम भुसालसँग पराजित हुनुभएको थियो ।  राजनीतिमा चार दशकदेखि क्रियाशील नेता बोहराको संसदीय यात्रा २०३६ सालदेखि सुरु भएको थियो ।  त्यसअघि २०३८ र २०४० मा पर्यटन राज्यमन्त्री बन्नुभएका राप्रपा नेता बोहरा २०५७ मा बैंक अफ काठमाडौँको अध्यक्ष बन्न्नुभएको थियो । बोहरा २०६७ मा वन तथा भूसंरक्षण मन्त्री बन्नुभएको थियो । विस २०७० सालमा रुपन्देही क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएका बोहोरा २०७२ मा श्रम तथा रोजगारमन्त्री, २०७३ मा आपूर्तिमन्त्री र २०७४ मा स्वास्थ्यमन्त्री बन्ने अवसर पाउनुभयो । जिल्लाको सिद्धार्थनगर नगरपालिका–३ खजहाना निवासी बोहरा २००७ साल चैत १८ गते पाल्पामा बुवा प्रतिमानचन्द्र र आमा निमा बोहराको कोखबाट जन्मिनुभएको हो । बोहरा राजनीतिशास्त्रमा स्नातक हुनुहन्छ ।