काठमाडौँ: मङ्सिर ४ गते सम्पन्न भएको आमनिर्वाचनमा विवाद भएका क्षेत्रमा अनुसन्धान भइरहेको निर्वाचन आयोगले जनाएको छ । बाजुरा, दोलखा र स्याङ्जा क्षेत्र नं २ मा भएको विवादको छानबिन भइरहेको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । बाजुराको बुढीनन्दा ५ मा मतदानको दिन झडप भएर मतदान स्थगित भएको थियो भने दोलखा र स्याङ्जा २ मा मतदानमा बुथ कब्जा भएको आरोपसहित निर्वाचन आयोगमा निवेदन परेर मतगणना रोकिएको छ । आयोगमा सूचना अधिकारी अर्यालका अनुसार बाजुरामा स्थगन भएको मतदान –भोलि शनिवारलाई तोकिएको छ । मतगणना गणना रोकिएका दुई वटा क्षेत्रको भने अहिले अनुसन्धान भइरहेको अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मतदान स्थगन भएको बाजुरामा भोलि शनिवार मतदानका लागि प्रक्रिया अघि बढेको छ भने मतगणना हुन बाँकी दुई निर्वाचन क्षेत्रको अनुसन्धान भइरहेको छ । अनुसन्धानपश्चात् यसको कारबाही थालिनेछ ।’ दोलखा र स्याङ्जा क्षेत्र नं २ मा गठबन्धन पक्षले बुथ कब्जा गरी मत खसालेको भन्दै प्रतिस्पर्धी उम्मेदवारले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
काठमाडौं: उदयपुर क्षेत्र नम्बर १ को प्रदेशसभा १ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार राजन किराती निर्वाचित भएका छन् । उनले १ हजार २४३ मतान्तरले नेकपा एमालेका कुशलबाबु बस्नतेलाई पराजित गरे । अन्तिम मत परिणाम अनुसार किरातीले १५ हजार ९२ मत ल्याउँदा बस्नतेले १३ हजार ८४९ मत प्राप्त गरे । राप्रपाका सुभाषचन्द्र खड्का २ हजार ६७९ मत पाएर तेस्रो स्थानमा रहे ।
कैलाली: कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका डिल्लीराज पन्त विजयी भएका छन् । नेकपा एमालेका नारदमुनि रानालाई पराजित गर्दै पन्त प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । पन्तले २१ हजार ३९२ मत प्राप्त गर्दै जित निकाल्दा उनका प्रतिद्वन्द्वी एमालेका रानाले २० हजार ३१८ मत पाएका छन् । मतगणनाको सुरूवातदेखि अग्रता लिएका रानालाई पन्तले पछि पारेका थिए । यसअघि यो क्षेत्रबाट कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा उम्मेदवार बन्ने चर्चा थियो तर उनी समानुपातिकमा बसेपछि पन्तले टिकट पाएका हुन् । पन्त सुरुमा प्रदेश सभा (२) बाट सिफारिस भएका थिए । उनी प्रतिनिधि सभाका लागि उम्मेदवार भएपछि प्रकाश देउवालाई उम्मेदवार भए । र, देउवा पनि एमालेका दुर्गाप्रसाद जोशीलाई पराजित गर्दै विजयी भइसकेका छन् । कैलाली ५ मा कांग्रेसका पूर्व नेता पुष्करनाथ ओझाले पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले ८३४९ मत ल्याएका छन् । अर्का स्वतन्त्र उम्मेदवार जगदिश चौधरीले ७४६० मत पाए भने राष्ट्रिय स्वतन्त्र पार्टीकी इश्वरी विष्ट पार्टीले ३४०४ मत ल्याइन् ।
महोत्तरी: प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को जिल्लामा धमाधम मतगणना परिणाम सार्वजनिक हुँदैछन् । जिल्लाका चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्रमध्ये आज बिहानसम्म छ प्रदेशसभा क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । गए राति सम्पन्न महोत्तरी–१ (२) को अन्तिम मतगणना परिणामअनुसार नेकपा (माओवादी केन्द्र)का भरतप्रसाद साह आठ हजार तीन सय ७१ मत प्राप्त गरी प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरले जनाएको छ । साहका निकटतम् प्रतिस्पर्धी जसपा नेपालका रामश्रेष्ठ महतोले पाँच हजार आठ सय ७१ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी महोत्तरी–२ (१) मा लोसपा नेपालका जयनुल राइन ११ हजार चार सय २४ र महोत्तरी–२ (२) मा स्वतन्त्र उम्मेदवार सुरिता साह आठ हजार पाँच सय ६८ मत प्राप्त गरी विजयी हुनुभएको कार्यालयले जनाएको छ । राइनका निकटतम् प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का मञ्जु यादवले छ हजार दुई सय ५१ र साहका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका नागेश्वर यादवले छ हजार आठ सय दुई मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले पुष्टि गर्नुभयो । यस्तै महोत्तरी–४ (१) मा नेकपा (एमाले)का सरोजकुमार यादव १० हजार पाँच सय ३१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी लोसपा नेपालका कौशलकुमार यादवले आठ हजार छ सय ७२ मत प्राप्त गर्नुभएको छ । महोत्तरी–३ (१) र (२) को अन्तिम परिणाम सार्वजनिक भइसकेको हो । दुवैमा लोसपा नेपालका उम्मेदवार क्रमशः अभिराम शर्मा र रानी शर्मा तिवारी विजयी हुनुभएको हो । शर्माका निकटतम् प्रतिस्पर्धी जसपा नेपालका दीपेन्द्र झाले नौ हजार सात सय ७८ र तिवारीका निकटतम् प्रतिस्पर्धी एमालेका रामदयाल मण्डलले चार हजार पाँच सय ६० मत प्राप्त गनुभएको छ । जिल्लामा अब प्रदेशसभातर्फ महोत्तरी–१ (१) र महोत्तरी–४ (२) को मात्र परिणाम सार्वजनिक हुन बाँकी छ । प्रतिनिधिसभातर्फ भने चारै क्षेत्रमा गणना अझै जारी छ ।
पोखराः प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत कास्की क्षेत्र नं ३ को प्रदेशसभा सदस्य (२) बाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाश बराल विजयी हुनुभएको छ । गत आइतबार सम्पन्न निर्वाचनको आज बिहान घोषणा गरिएको अन्तिम मतपरिणामअनुसार कांग्रेसका नेता बराल १२ हजार तीन सय ६७ मत प्राप्त गरी गण्डकी प्रदेशसभामा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्धन्द्वी नेकपा (एमाले)का राजीव पहारीले ११ हजार नौ सय दुई मत प्राप्त गर्नुभयो । बराल र पहारीको मतान्तर चार सय ६५ रहेको छ । पहारी विसं २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित हुुनुभएको थियो । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिराम भण्डारीले दुई हजार पाँच सय ६०, मङ्गोल नेशनल अर्गनाइजेशनका मनतोष घलेले चार सय ७२, जनता समाजवादीका गोरे दमैले दुई सय ९५ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी)का रामवृक्ष धोवीले एक सय १७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो क्षेत्रमा छ जना उम्मेदवार रहेका थिए । कास्की क्षेत्र नं ३(२) मा कुल मतदाता ४८ हजार आठ सय ५३ रहेकामा निर्वाचनमा २८ हजार सात सय ७९ मत खसेको थियो । एक हजार ६६ मत बदर हुँदा सदर मत २७ हजार सात सय १३ रहेको छ ।
पोखराः प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत कास्की क्षेत्र नं ३ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दामोदर पौडेल (बैरागी) विजयी हुनुभएको छ । मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनको मतगणनाको आज बिहान घोषणा गरिएको अन्तिम मतपरिणामअनुसार पौडेलले नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रामजीप्रसाद बराललाई पाँच हजार चार सय ४५ मतान्तरले पराजित गर्नुभएको थियो । पौडेलले २२ हजार नौ सय ८० मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार बरालले १७ हजार पाँच सय ३५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका योगप्रसाद पौडेलले १२ हजार एक सय ८०, राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतप्रसाद सुवेदीले दुई हजार चार सय ४२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १५ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्थ्यो । कास्की क्षेत्र नं ३ मा कुल एक लाख एक हजार सात सय १५ मतदाता रहेकामा ६१ हजार दुई सय ८१ मत खसेको थियो ।
पोखराः नवलपरासी पश्चिम क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार उद्योगपति विनोद चौधरी विजयी भएका छन् । जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई ७ हजार १ सय ८७ मतले पराजित गर्दै चौधरी विजयी भएका हुन् । चौधरीले २९ हजार ४ सय ९५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी त्रिपाठीले २२ हजार ३ सय ८ मत प्राप्त गरेका छन् । चौधरी कांग्रेस नेतृत्वको सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् भने त्रिपाठीलाई नेकपा एमाले र जनता समाजवादी पार्टीले समर्थन गरेको थियो । तेस्रो स्थानमा रहेका नेपाल स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार ४९९ मत पाए ।
पोखराः कास्की कांग्रेसका पूर्व जिल्ला सभापति कृष्ण केसीको घरमा उम्मेदवार किशोरदत्त बराल र दीपक गुरुङका समर्थकले नारावाजी गरेका छन् । मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा कास्की क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरदत्त बराल र प्रदेशसभा सदस्य (ख) का उम्मेदवार दीपक गुरुङ ( माइला) पराजित भएपछि उनीहरुका समर्थकले कास्की कांग्रेसका पूर्वसभापति कृष्ण केसीको घरमा नारावाजी गर्दै तोडफोड गरेका छन् । कृष्ण केसीका समूहले चुनाव हराउन खेल खेलेको भन्दै उम्मेदवारका समर्थकहरुले नारावाजी गर्दै केसीको घरमा तोडफोड गर्दा झ्यालको सिसा फुटेको केसीका छोरा सरोज केसीले जानकारी दिए । नारावाजी र होहल्ला भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलिले भिडलाई तितरबितर पारेको छ ।
काभ्रे: काभ्रे १ (१) को प्रदेशसभामा नेकपा माओवादी केन्द्रका रत्न ढकाल निर्वाचित भएका छन् । ढकालले २० हजार ७२० मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका दिलबहादुर ९दिलिप० तामाङले ११ हजार २७८ मत ल्याए । ढकालले ९ हजार ४४२ मतान्तरले चुनाव जितेका हुन् ।

