वीरगञ्ज: पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) का प्रदीप यादव पुनः निर्वाचित भएका छन् । नेपाली कांग्रेसका बागी उम्मेदवार अजयकुमार द्विवेदीलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । पूर्व वन तथा वातावरणमन्त्री समेत रहेका यादवलाई नेकपा एमालेले समर्थन गरेको थियो । द्विवेदीले भन्दा उनले १ हजार ६ सय २० बढी मत ल्याएका छन् । यादवले २२ हजार ५ सय ३७ मत पाउँदा द्विवेदीले २० हजार ९ सय १७ मत पाए । तेस्रो स्थानमा राप्रपाका किरणमान डंगोलले २ हजार ६ सय ५१ मत ल्याए भने सत्ता गठबन्धनका साझा उम्मेदवार लोकतान्त्रिक समाजवादी लोसपा का नेता लक्ष्मणलाल कर्णले १ हजार १ सय १७ मत मात्रै पाए । २०७४ मा कर्ण पर्सा क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए । २०७४ को निर्वाचनमा यादवले २१ हजार १३२ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका अनिलकुमार रुंगटाले भने १६ हजार ४८१ मत मात्रै पाएका थिए ।
बागलुङ: बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् । नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो पटक सांसद चुनिएका हुन् । २०७४ सालमा २८ हजार ८ सय २७ मत ल्याएर सांसद चुनिएका पौडेलले यसपटक २४ हजार ७७९ मत प्राप्त गरे । उनका प्रतिद्वन्दी नेकपा एमालेका मञ्जु शर्मा चालिसेले २० हजार १८० मत प्राप्त गरेकी छिन् ।
काठमाडौं: सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) विजयी भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मत १८ हजार ६३ मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन् । राउतले ३५ हजा ४२ मत ल्याउँदा यादवले १६ हजार ९६९ मत ल्याए । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याए । अन्य उम्मेदवारले हजार मत पनि कटाउन सकेन ।
पोखरा: बागलुङ १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् । बुधबार विहान सकिएको मतगणनामा केसीले २१ हजार ४५१ मत ल्याएर निर्वाचित भएका हुन् । यसै क्षेत्रबाट २०७४ सालमा निर्वाचित सूर्यप्रसाद पाठक भने १८ हजार ८२५ मत ल्याएर पराजित भए । राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १८१ र राप्रपाका लक्ष्मीप्रसाद सापकोटाले ९०३ मत पाए ।
बर्दिया: बर्दिया क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी हुनुभएको छ । गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सुरेश पन्थलाई एक सय ३६ मतले पछि पार्दै उहाँ विजयी हुनुभएको हो । चौधरीले २६ हजार पाँच सय २० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी माओवादीका पन्थले २६ हजार तीन सय ८४ मत प्राप्त गर्नुभयो । यसैगरी नेकपा (एमाले)का पङ्कजसिँह राठौरले १६ हजार ९० मत प्राप्त गर्नुभयो भने राप्रपाका विनय रावलले १३ हजार दुई सय ९२ मत प्राप्त गर्नुभयो । विजयी चौधरी रेशम चौधरीका बुबा हुनुहुन्छ । रेशमको उम्मेदवारी खारेजी भएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्रमा उम्मेदवारी दिनुभएका लालवीर चौधरीलाई सहयोग गरेको हो । क्षेत्र नं २ मा एक लाख ५२ हजार ६२ मतदाता रहेकामा ९२ हजार एक सय ९९ मत खसेको थियोे भने पाँच हजार तीन सय ८७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
कैलाली: कैलाली ३ को प्रदेश सभातर्फका दुवै सिट नागरिक उन्मुक्ति पार्टीले जितेको छ। प्रतिनिधिसभा सदस्यमा सो पार्टीका गंगाराम चौधरी, प्रदेशसभा १ मा घनश्याम चौधरी र प्रदेशसभा २ मा खुसीराम चौधरीले जितेका हुन्। बुधबार सम्पन्न मत गणनामा प्रदेश १ तर्फ घनश्याम चौधरीले १३ हजार ९ सय २३ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खेमराज डगौथारुले ११ हजार ५ सय ७२ मत ल्याएका हुन्। प्रदेशसभा २ मा विजयी खुसीराम चौधरीले ७ हजार ५ सय ३९ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अमर साउदले ६ हजार ६ सय १९ मत ल्याए। क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभातर्फ मंगलबार नै नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले २३ हजार १ सय २० मत ल्याएर विजयी भएका छन्। निकटतम् प्रतिद्वन्द्वी माओवादीका कृष्णकुमार चौधरीले १७ हजार ७ सय ४९ मत पाए।
कास्की क्षेत्र नम्बर २ ‘क’ बाट नेकपा माआोवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले जनताको मत स्वीकारेको धारणा व्यक्त गरेका छन् । केन्द्रबाट गठबन्धनका साझा उम्मेदवार लामिछानेले नतीजापछि सुनगाभा न्यूजसँग धारणा राख्दै गठबन्धनलाई जनताले नरुचाएको हुनसक्ने टिप्पणी गरे । ‘शायद जनताले हाम्रो गठबन्धनलाई रुचाउनु भएन होला’ लामिछानेले भने ‘र, अर्काे कुरा मतदाताले पनि मलाई राम्रोसँग चिन्नु भएन होला ।’ निर्वाचन प्रचारकाक्रमा गठबन्धनका सबै कार्यकर्ताले आफुलाई उत्तिकै सघाएको उनले स्मरण गरे । लामिछाने भन्छन्, ‘लोकतन्त्रमा जनता सर्वाेपरी हुन्, जनताले नै नरुचाएपछि कसैलाई दोष दिएर म पानीमाथिको ओभानो हुन सक्दिन ।’ चुनावमा हारजीत सामान्य भएको भन्दै उनले लोकतन्त्रको सुन्दर पक्ष नै निर्वाचन भएको जनाए । साथै, विजयी प्रतिद्वन्द्वी नेकपा एमालेका भीम कार्कीलाई बधाई दिँदै लामिछानेले जनअपेक्षा पुरा गर्न शुभकामनासमेत दिए । प्रतिष्पर्धामा तेस्रो स्थान ल्याएका लामिछानेले ५ हजार ५४० मत प्राप्त गरेका छन् । विजयी कार्कीले १० हजार ५३१ मत पाएका थिए । दोस्रो स्थानमा ५ हजार ८९३ मतका साथ राप्रपाका विजयबहादुर भण्डारी रहेका छन् ।
हुम्ला: हिमाली जिल्ला हुम्लामा निर्वाचन सकिएको चार दिनपछि मतपेटिका सदरमुकाम ल्याइएको छ । सर्केगाड गाउँपालिकाको केन्द्रमा थन्किएको १३४ मतपेटिका आज नेपाली सेनाको हेलिकप्टरबाट सदमुकाम सिमकोट पुर्याइएको हो । प्रदेश १ का ३४ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट सदमरमुकाम सिमकोट ल्याइपुर्याएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए । सबै केन्द्रका मतपेटिका संकलन भइसकेकोले आजै दिउँसो सर्वदलीय बैठक बस्ने तयारी गरिएको छ ।
प्रदेशसभा निर्वाचनतर्फ कास्की ३ को (१) बाट निर्वाचित भएपछि नेकपा एमालेका विजयी उम्मेदवार गणेशमान गुरुङले सम्पूर्ण मतदातालाई धन्यवाद दिएका छन् । विजय भएपछि आयोजित ¥यालीपूर्व सुनगाभा न्यूजसँग कुरा गर्दै गुरुङले पहिले नेकपा एमालेले स्वीकारेको र निर्वाचनमा जनताले त्यसलाई अनुमोदन गरेको बताए । जनता समाजवादी पार्टीबाट एमाले प्रवेश गरेका गुरुङले पार्टीले आफुप्रति विश्वास गरेको र त्यसलाई जीतमा बदलेको उल्लेख गरे । ‘पहिले एमालेले विश्वास गरेर टिकट दियो, अहिले जनताले विश्वास गरे’ उनले भने, ‘यो जीत केवल गणेशमान र एमालेकोमात्र हैन यस क्षेत्रमा रहनुभएका सबैको हो ।’ कुराकानीकाक्रममा गुरुङ्ले यस क्षेत्रको समृद्धि र सम्वद्र्धनमा कटिबद्ध भएर लाग्ने प्रण गरेको बताउँदै भोट दिने जनतालाई पछुतो हुन नदिने धारणा राखे । गुरुङ्ले नेकपा माओवादी केन्द्रबाट गठबन्धनका साझा उम्मेदवार दुर्गादत्त भण्डरीलाई पराजित गरेका हुन् । गुरुङले १४ हजार ४७३ मतकासाथ विजयी हुँदा भण्डारीले ९ हजार ६६२ मत प्राप्त गरेका छन् ।

