पोखराः गण्डकी प्रदेशमा जम्मा ७ मन्त्रालय बनाउने सहमति भएको नेकपा एमाले स्रोतले बताएको छ । जसअनुसार एमालेले ४, नेकपा माओवादी केन्द्रले २ र राप्रपाले १ मन्त्रालय पाउनेछन् । सुन्दा विश्वास नलागे पनि सात मन्त्रालयमात्रै हुने टुंगो लागेको गण्डकी प्रदेशका प्रवक्ता तथा मन्त्री सिता सुन्दासले संकेत गरेकी छिन् । ‘मिलाएर बुझ्नुहोस्, लगभग त्यही सहमति हो’ प्रवक्ता सुन्दास भन्छिन् ‘भोलीसम्म कुन पार्टीलाई कुन मन्त्रालयको जिम्मेवारी दिने फाइनल हुन्छ ।’ सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रापबिच भएको आजको बैठकले मन्त्रालय बाँडफाँडको अन्तिम टुङ्गो लागेको हो । एमालेको भागमा परेको ४ मन्त्रालयमा मुख्यमन्त्रीसमेत पर्दछ । अब नेकपा एमालेबाट थप २ मन्त्री हुनेछन् भने माओवादीले एक मन्त्रालय पाउनेछ । राप्रपाबाट भने एक मन्त्रीले सपथ लिइसकेका छन् । पुस २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्री चयन भएका खगराज अधिकारीले ३ जना बिना बिभागीय मन्त्री चयन गरेका थिए ।
पोखरा: गण्डकी प्रदेशमा ७ मन्त्रालय बनाउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । आइतबार सत्ता साझेदार दलको बैठकले गण्डकी प्रदेशमा ७ मन्त्रालय बनाउने अनौपचारिक सहमति भएको थियो । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकीमा १२ बाट घटाएर ७ मन्त्रालय बनाउने निर्णय गरेको सरकारकी प्रवक्ता समेत रहेकी विना विभागीय मन्त्री सिता सुन्दासले बताइन् । यी हुन् गण्डकीमा सात मन्त्रालयः
पोखराः गण्डकी विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबीच एमओयु सम्झौता भएको छ । खानी इन्जिनियरिङ सञ्चालनका लागि काठमाडौंले गण्डकी विश्वविद्यालयलाई सघाउने गरी आइतबार एमओयु सम्झौता भएको हो । खानी इन्जिनियरिङको उच्चस्तरीय पठनपाठन सञ्चालन गर्नलाई एकापसमा सहयोग आदानप्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । गण्डकी विश्वविद्यालयमा आयोजित कार्यक्रममा गण्डकीका कुलपति प्राडा गणेशमान गुरुङ र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । ५ वर्षसम्म कायम हुने शर्तसहित गरिएको सम्झौता पत्रमा उच्च शिक्षाका हर पक्षमा आवश्यक विकास, प्रोत्साहन र समृद्धिमा सहकार्य गर्ने उल्लेख छ । ‘दुवै विश्वविद्यालयले आ– आफ्ना स्नातक, स्नातकोत्तर र विद्यावारीधी अध्ययनरत विद्यार्थीको आवश्यकता अनुसार पठनपाठनमा पूर्ण सहयोग गरिनेछ’, सम्झौता पत्रमा भनिएको छ । खानी इन्जिनियरिङसम्बन्धी उच्चस्तरीय पठनपाठन सञ्चालन गर्न एकापसमा सहकार्य गर्ने २ विश्वविद्यालयबीच सम्झौता छ । जसका लागि कमिटी नै गठन गरिनेछ । दुवै विश्वविद्यालयले आवश्यकताका आधारमा आफ्ना शिक्षक तथा कर्मचारीलाई अर्का विश्वविद्यालयमा काजमा खटाउन सक्ने व्यवस्था मिलाइने बताइएको छ । विश्व बजारमा माइनिङ इन्जिनियरिङको माग भएकाले काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरेरअगाडि बढ्न लागेको गण्डकीका कुलपति प्राध्यापक डाक्टर गुरुङले बताए । ‘गण्डकी प्रदेशको विश्वविद्यालय किन चाहियो भनेर प्रश्न उठिरहेको बेला छ । गण्डकी प्रदेश खानीहरुले भरिपूर्ण छ । त्यसका लागि जनशक्ति उत्पादन गर्न सक्यौ ं भने हामी सफल हुन्छौ ं’, उनले भने । गण्डकी विश्वविद्यालयले फरक विषय पठनपाठनलाई जोड दिएको उनको भनाइ छ । काठमाडौ ं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले तामा, फलामसँगै ढुंगा, गिट्टी, बालुवालाई सदुपयोग गर्न खानी इन्जिनियरिङ पढाइ आवश्यक रहेको बताए । ‘सरकारले गर्न नभ्याएको क्षेत्रमा युवाले पढ्न चाहेको पाठ्यक्रम बनाएर रोजगारमूलक शिक्षा दिएका छौ ं’, उनले भने । सम्झौता पत्र आदानप्रदान कार्यक्रममा पुगेकी गण्डकी प्रदेशकी प्रवक्ता सीता सुन्दासले गण्डकी प्रदेश खानीले भरिपूर्ण भएकाले यो विषयको पढाइले उत्खननमा सघाउ पुग्ने अपेक्षा गरिन् । फलाम, तामा खानी भएर पनि उत्खनन् हुन सकिएको छैन । खानीको उत्खनन् गर्न सके विकास सम्भव छ’, उनले भनिन् । उनले राज्यको ध्यान पुग्न नसकेको क्षेत्रमा प्राज्ञिक क्षेत्रले सुझाव दिन आवश्यक रहेको बताइन ।
पोखराः गण्डकी प्रदेशमा ७ वटा मन्त्रालय बनाउने सहमति भएको छ । गण्डकी प्रदेशका प्रवक्ता तथा मन्त्री सीता सुन्दासले गण्डकीमा ७ वटा मन्त्रालय बनाउने सहमति भएको जानकारी दिइन् । ‘आइतबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाबीच गण्डकी प्रदेशको मन्त्रालयलाई पूर्णता दिन छलफल गरेको थियौं, प्रवक्ता सुन्दासले भनिन्, ‘गण्डकीमा ७ वटा मन्त्रालय बनाउने सहमति भएको छ, भोलि पुनः बैठक बस्दै छौं सकेसम्म बेलुकासम्म प्रदेशमा मन्त्रालयले पूर्णता पाउँन सक्छ ।’ गण्डकीमा ७ वटा मन्त्रालय बनाउने सहमति भएसँगै कसले कति मन्त्रालय लिने भन्ने भोलिको बैठकले टुङ्गो लाग्ने प्रवक्ता सुन्दासले जानकारी दिइन् । पुस २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका खगराज अधिकारीले २९ गते नै विश्वासको मत लिइसकका छन् । मुख्यमन्त्री नियुक्तसँगै एमालेबाट सीता सुन्दास, माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान र राप्रपा संसदीय दलका नेता पञ्चराम तमु बिना विभागीय मन्त्री भैसकेका छन् । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ मन्त्रालय बनाएपनि नेकपा दुईतिर हुँदा ११ मन्त्रालय बनाएका थिए भने नेकपा दुईतिर हुँदा गण्डकीका मुख्यमन्त्री भएका नेपाली कांग्रेसका कृष्णचन्द्र पोखरेल नेपालीले १२ मन्त्रालय बनाएका थिए ।
पोखराः वरिष्ठ अधिवक्ता श्रीकान्त बराल गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त भएका छन् । बरालललाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा उच्च अदालतका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यले शनिबार पद तथा गोपनीयताको शपथ गराएका छन् । यसअघि गण्डकी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा रोहितराज बास्तोला थिए । सरकार परिवर्तनसँगै उनले राजीनामा दिएका थिए ।
म्याग्दी: म्याग्दीको बेनीमा आयोजना भएको खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिकाले हात पारेको छ । शुक्रबार बेनीको खुल्ला मञ्चमा भएको फाइनल खेलमा धवलागिरी गाउँपालिकालाई सोजो ३ सेट पराजित गर्दै अन्नपूर्ण गाउँपालिकाले महिला भलिबलको उपाधि जितेको हो । प्रतियोगितामा धवलागिरी गाउँपालिकालार्ई २५–२२, १७–२५ र १०–२५ को सेटमा पराजित गर्दै अन्नपूर्ण गाउँपालिका प्रथम हुन सफल भएको हो जिल्ला भलिबल सङ्घ म्याग्दी अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो । महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५५५ रुपियाँ र दोस्रो हुनेले ३३ हजार ३३३ रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, ब्लकर, सर्भर, डिफेन्डर र सेटरलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । सातौं म्याग्दी महोत्सव एवम् माघेसङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७९ को अवसरमा खुल्ला महिला भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।
पोखारः माघ १ मा पोखरामा भएको यती एयरको विमान दुर्घटनाले देश नै शोकमा डुबेको गण्डकी प्रदेशका मन्त्री पञ्चराम गुरुङले बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी पोखरा महानगर समितिले पोखराको पृथ्वीचोकमा आयोजना गरेको दिप प्रज्वलन कार्यक्रममा बोल्दै दुखद घटना भएको बताए । यस्ता दुर्घटना न्युनिकरण गर्नको लागि राज्यले आवश्यक पहल गर्नुपर्ने गुरुङको भनाइ छ । माघ १ गते कालो दिन भएको बताउदै मन्त्री देश नै आँसुमा डुवेको बताए । पोखरा १५ मा विमान दुर्घटनामा चालक दल सहित ७२ जना परेका थिए । ति मध्य ७० जनाको शव भेटिएको छ । २ जनाको खोजी कार्य भइरहेको छ ।
पोखराः नेकपा एमालेकी विनाकुमारी थापामगर गण्डकी प्रदेशको उपसभामुखमा निर्वाचित भएकी छिन् । आज भएको प्रदेशसभामा सत्ता गठबन्धननका तर्फबाट उम्मेदवार बनेकी थापामगरले ३२ मत ल्याउँदै निर्वाचित भएकी हुन् । सत्ता गठबन्धनको नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राप्राको संयुक्त गठबन्धनक थापाले ३२ मत ल्याएकी हुन् । कांग्रेसको तर्फबाट उमेदवार बनेकी पार्वती तामाङले भने २६ मत पाइन् । २७ सांसद रहेको कांग्रेसबाट टिकाकुमारी बस्याल भने अनुपस्थित थिइन् । गण्डकीमा एमाले २२, माओवादी केन्द्र ७ (सभामुख बाहेक) र राप्रपाका दुई सांसद छन् । स्वतन्त्र निर्वाचित दिपक मनाङेले पनि उपसभामुखमा एमालेकै उमेदवारलाई मत हाले । गत शनिबार गण्डकीको सभामुखमा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका थिए ।
पोखराः युवा विकास तथा खेलकदु समन्वय समिति माछापुच्छ्रे ८ ठाँटी ल्वाङघलेलमा गण्डकी प्रदेश अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ स्थित ल्वाङ घलेलमा गण्डकी प्रदेश अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको पोखरामा आज (आइतबार) पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । गण्डकी प्रदेशका ८५ वटा पालिकाकामा इमेलमार्फत सूचना गरिएको युवा विकास तथा खेलकुद समन्वय समितिका ल्वाङ घलेलका अध्यक्ष गणेश विकले बताए । ‘३ पटकसम्म माछापुच्छ्रे गाउँपालिका ८ स्तरीय वडाध्यक्ष रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरिसकेका छौं, विकले भने, ‘प्रतियोगिताको लागि गण्डकी प्रदेशका ८५ पालिकाकामा खबर गरेका छौं, प्रदेशको ७५९ वडामा खबर पु¥याउन इमेलमार्फत पालिकामा सूचना पठाएका छौं ।’ प्रतियोगिता आगामी माघ १८ देखि २१ सम्म सञ्चालन हुने अध्यक्ष विकले बताए । उनका अनुसार गण्डकी प्रदेश पालिका वडास्तरीय पुरुष भलिबल प्रतियोगिता र महिला भलिबल प्रतियोगिता आयोजना भएको हो । पुरुष तर्फ प्रथम हुने समूहले १ लाख ११ हजार १ सय ११, दोस्रो हुने समूहले २२ हजार ५ सय ५५ र सेमिफाइनलमा पराजित हुने दुई समूहलाई क्रमशः २२ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा सहभागिता जनाउन ५ हजार रुपैया टिम दर्ता शुल्क कायम गरिएको छ । यस्तै महिलातर्फ माछापुच्छ्रे गाउँपालिका ८ अन्तर गाउँ स्तरीय प्रतियोगिता सञ्चालन आयोजना गरिएको छ । प्रतियोगितामा प्रथम हुने समूहले २५ हजार, दोस्रो हुने समूहले १५ हजार र सेमिफाइनलमा पराजित हुने दुई समूहले क्रमशः ८ पुरस्कार पाउनेछन्, भने प्रतियोगितामा निशुल्क सहभागिता जनाउने पाउनेछन् । महिला पुरुष दुवै समूहका विजेताले नगदसहित शिल्ड,मेडल, प्रमाणपत्र र विधागत तर्फ पुरस्कार पाउनेछन् । खेलकुद प्रतियोगितामा ७ लाख ५० हजार आम्दानी र ७ लाख ४० हजार ६ सय १० रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै माछापुच्छ्रे गाउँपालिका ८ का वडाध्यक्ष राम गुरुङले प्रदेश अन्तर वडास्तरीय प्रतियोगिताले दक्ष खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउने बताए । ‘प्रतियोगिताको मुख्य उद्देश्य दक्ष खेलाडी उत्पादन गर्नु हो, गुरुङले भने, ‘उत्कृष्ट खेलाडीहरुलाई जिल्ला, प्रदेशस्तरीय कार्यक्रममा अगाडी बढाउन वडामा प्रतियोगिता आयोजना गरिएको हो ।’ उनका अनुसार प्रतियोगितामा सहभागिता जनाउन आउने समूहलाई घरबाँस (होमस्टे) र स्थानीय होटलमा सुपथ मूल्यमा व्यवस्थापन गरिने आयोजकले जनाएको छ । घरबाँस (होमस्टे) मा प्याकेजमा १ हजार १ सय ५० भएपनि खेलाडीहरुलाई १ हजारमा प्याकेजमा व्यवस्थापन गरिने उल्लेख गरेको छ । विभिन्न जातजातिको बसोबास रहेको ठाँटी ल्वाङ घलेलमा सामुदायिक घरबाँस (होमस्टे) मर्दी हिमाल पैदल मार्ग, चिया बगान, क्यानोनिङ, अर्गानिक कृषि उपजलगायत आकर्षण रहेका छन् ।

