गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिकाको सर्वाङ्गिण विकासका लागि ख्याल गर्नुपर्ने बताउनुभएको छ ।   उहाँले सानै उमेरमा उनीहरुमा अन्तरनिहित प्रतिभाको पहिचान गरी प्रेरित गर्न जरुरी रहेको उल्लेख...

स्याङ्जा:  स्याङ्जा प्रशासनले जिल्लाका ४ वटा बालुवा प्रशोधन केन्द्र तथा क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको छ। स्याङ्जा स्थित सर्वदलीय बैठकले नवीकरण नगरी सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको हो। प्राकृतिक स्रोत साधनको दोहन नियन्त्रण गर्ने उद्देश्यले गृह मन्त्रालयद्वारा जारी निर्देशन अनुरुप जिल्ला स्थित सबै राजनीतिक दलहरुको संयुक्त बैठ बसी सो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गंगााबहादुर क्षेत्रीले जानकारी दिए।  बन्द गरिनेमा भीरकोटका २ वटा, गल्याङ् र गल्याङ्मा संचालित एक(एक वटा क्रसर उद्योग रहेका छन्। भीरकोट स्थित छाङ्छाङदी र खिलुङ्कालिका, गल्याङ् स्थित गह्रौंकालिका र वालिङ् स्थित आँधीखोला क्रसर उद्योग बन्द गरिएका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए।  स्याङ्जाका १० वटा क्रसर उद्योगमध्ये हाल ४ वटा बन्द गर्ने निर्णय भएको र यसअघि नै २ वटा उद्योग संचालनमा नरहेको प्रजिअ क्षेत्रीले जानकारी दिए। 

म्याग्दी:  राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम –कोरला सडकअन्तर्गत पुल र सडक निर्माणको ठेक्का सम्झौता गरी निर्माण अलपत्र पारेर सम्पर्कविहीन भएका निर्माण व्यवसायी (ठेकेदार) काममा फर्कन थालेका छन्।  पुसको पहिलो हप्ता आयोजनाले पुल र सडक निर्माणको ठेक्का लिएर लामो समय योजना अलपत्र पार्ने आठवटा निर्माण कम्पनीलाई तत्काल काममा नफर्किए ठेक्का तोडेर कालोसूचीमा राख्ने चेतावनीसहित सार्वजनिक सूचना जारी गरेको थियो। सो सूचना जारी भएसँगै ती निर्माण कम्पनीका सञ्चालकले कार्यस्थलमा फर्किएर काम थालेको आयोजनाले जनाएको छ। निर्माण व्यवसायीहरू आयोजनाको सम्पर्कमा आएर सम्झौताअनुसार काम गर्ने प्रतिबद्धता जनाएको आयोजनाका प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो।  “आयोजना निर्माणमा ढिलासुस्ती गर्ने र अलपत्र पार्ने निर्माण कम्पनीलाई ठेक्का तोडेर कालोसूचीमा राख्नेसम्मको चेतावनीसहितको सार्वजनिक सूचना जारी गरेका थियौँ,” आयोजना प्रमुख प्रजापतिले भन्नुभयो,” “सूचना जारी भएपछि सम्पर्कमा आएका छन्। कतिपयले काम पनि थालिसकेका छन्। मुस्ताङको माथिल्लो भेगमा अत्यधिक चिसो भएकाले माघको दोस्रो हप्तादेखि काममा फर्किने प्रतिबद्धता जनाएका छन्।” आयोजनाको सम्पर्कमा आएका निर्माण व्यवसायीलाई अन्तिम पटक लिखित प्रतिबद्धतासमेत गराइएको उहाँले बताउनुभयो। जोमसोम–कागबेनी सडक कालोपत्रे योजनाका ठेकेदारले काम थालेको उहाँले बताउनुभयो। १३ किमि अस्फाल्ट प्रविधिको कालोपत्रे सडक निर्माणको ठेक्का लिएको निर्माण व्यवसायी रौताहा आत्रेय सारस जेभीले मजदुर र उपकरण परिचालन गरी काम थालेको उहाँले बताउनुभयो।  यसैगरी बेनी–जोमसोम सडकको खण्ड–२ र ३ को जिम्मा पाएको शर्मा गजुरमुखी जेभी, लार्जुङ र कैकु खोला पुलको ठेक्का लिएको गणपति ग्रुप अफ कन्स्ट्रक्सन पनि सम्पर्कमा आएको उहाँले बताउनुभयो। मार्फा, छुसाङ र घमी पुलको जिम्मा लिएको हिमढुङ ठोक्कर इमोटल जेभी, चराङ पुलको सम्झौता गरेको काष्ठमण्डप कन्स्ट्रक्सन र कागबेनी पुलको कन्स्ट्रक्सन गल्वा रफिना जेभीलाई तत्काल काममा फर्किन आयोजनाले सार्वजनिक सूचना जारी गरेको थियो।    

पोखराः   गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले  पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुुरुङबाट सपथग्रहणपछि अधिकारीले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि बोल्दै मुख्यमन्त्री अधिकारीले प्रदेशको विकास र समृद्धिको लागि काम गर्ने बताए ।    पदभार ग्रहण पछि बसेको पहिलो बैठकले तीनवटा निर्णय पारित गरेको गण्डकी प्रदेशका प्रवक्ता सीता सुन्दासले बताईन् ।  उनका अनुसार विभिन्न आन्दोलनमा शहिद भएका ज्ञातअज्ञात शहिद प्रति श्रद्धाञ्जली अर्पण गरेको छ । ‘लोकतन्त्र प्राप्तिका लागि विभिन्न आन्दोलनमा शहिद हुनुभएका ज्ञातअज्ञात शहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै, ०७९ को प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा सहयोग गर्नुहुने सम्पूर्ण राष्ट्रसेवकसँगै मतदातालाई धन्यवाद दिएका छौं, सुन्दासले भनिन्, ‘ प्रदेशको शासकीय क्षमता अभिवृद्धिका लागि सुशासन कामय गर्न, सेवा प्रवाहमा सुझाव पेश गर्न मुख्यमन्त्री तथा प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरेका छौं ।’  बैठकले प्रदेश मातहत ११ वटै जिल्लामा डायलिसिर्स सेवा प्रवाह गर्न निर्देशन समेत दिएको प्रवक्ता सुन्दासले बताईन् । ‘प्रदेशमा डायलिसिसका बिरामीहरुलाई मध्यनजर गर्दै छिटोछरिटो सेवा प्रदान गर्न प्रदेश मातहतका ११ वटै जिल्लामा डायलिसिस सेवा विस्तार गर्ने निर्णय गरेका छौं ।’    गण्डकीमा कुनै पनि राजनीतिक दलको बहुमत नआएपछि नेकपा एमाले, नेकपा माओवादी, राप्रपा र स्वतन्त्र निर्वाचन भएका र अहिले नेकपा  एकिकृत समाजवादी प्रवेश गरेका दीपक मनाङ्गेसहितको समर्थनमा अधिकारी मुख्यमन्त्रीमा दावी पेश गरेका थिए ।  कुनै पनि राजनीतिक दलको बहुमत नआएपछि प्रदेश प्रमुख गुरुङले संविधानको धारा १७५ को उपधारा (२) बमोजिम अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । उपधारा (२) २ वा सोभन्दा बढी दल मिलेर सरकार बनाउँछन् ।   प्रदेश प्रमुख गुरुङले गण्डकी सरकार बनाउन राजनीतिक दललाई आज (पुस २५ ) सम्मको मिति दिएका थिए । 

पोखराः    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।  अधिकारीले ३ जनालाई मन्त्रीमा पनि नियुक्त गरेका छन् ।   राप्रपाबाट पञ्चराम गुरुङ, नेकपा माओवादी केन्द्रबाट हरिबहादुर चुमान र एमालेबाट सीता सुन्दास मन्त्री नियुक्त भएका छन्  । विना विभागीय मन्त्री बनेका उनीहरुले  मुख्यमन्त्री अधिकारीपछी प्रदेश प्रमुख गुरुङबाट  शपथ लिएका छन् ।   

पोखराः   गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशमा ९ मन्त्रालयमात्रै ठिक हुने बताएका छन् ।    मुख्यमन्त्री पोखरेलले पदमुक्त हुनु अघि आज (सोमबार) पत्रकार सम्मेलन गर्दै उक्त धारणा राखेका हुन् । ‘अब बन्ने नयाँ सरकारले प्रदेशको विकास र समुन्नतको लागि हेरेर मन्त्रालय बनाउनुपर्छ, पोखरेलले भने, ‘विषम परिस्थितिमा आउँदा मन्त्रालय बढी भएको अनुभुति भएको हो, अब आउने नयाँ सरकारले प्रदेशले धान्न सक्ने मन्त्रालय निर्माण गर्नुपर्छ ।’   उनले आफु आउन भन्दा अगाडी नै ११ मन्त्रालय भएको भन्दै १ वटा मन्त्रालय थपेको बताए ।    पार्टीले यो चुनावमा आफुलाई टिकट नदिएपनि पार्टीको राजनीतिमा सक्रियरुपमा लाग्ने मुख्यमन्त्री पोखरेलको भनाई छ ।    उनले कार्यअवधिमा आफुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।   

कास्की- गण्डकी प्रदेशमा आज नयाँ सरकार गठनको तैयारी भैरहेको छ । गण्डकीमा पनि एमालेका खगराज अधिकारीको नेतृत्वमा नयाँ सरकार बन्ने तैयारी भैरहेको छ, यद्यपी अझै अन्तिम टुङ्गो भने लागिसकेको छैन ।   मुख्यमन्त्रीका लागि माओवादीका हरि बहादुर चुमानले पनि दावी पेश गरेपछि अन्तिम टुङ्गो नलागेपनि सदस्य संख्याका हिसाबले हेर्दा सभामुखसहित थप ३ मन्त्रालय माओवादीलाई र १ मन्त्रालय राप्रपाको भागमा पर्ने र मुख्य मन्त्री र उपसभामुखसहित अन्य मन्त्रालय एमालेमा रहने गरी मन्त्रालय गठन हुने बताइएको छ ।   गण्डकी प्रदेश प्रमुख पृथ्विमान गुरङ्गद्वारा गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको सर्मथनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई गण्डकी प्रदेशको मुख्य मन्त्री नियुक्ती गर्नका लागी आज चार बजे भित्र दावी पेश गर्न आव्हान गर्नु भएको छ ।   गण्डकी प्रदेशमा ६० सदस्यीय प्रदेश सभामा ३६ प्रत्यक्ष र ३४ समानुपातिक प्रणालीमार्फत निर्वाचित सदस्यहरु छन् । जसमध्ये मतभारका आधारमा सबै भन्दा बढी समानुपातिक साँसद एमाले १०, नेपाली काँग्रेस ९ र नेकपा माओवादी केन्द्रका ३ र राप्रपाका २ सदस्य छन् ।   प्रत्यक्ष तथा समानुपातिक गरी काँग्रेसको कुल २७ साँसद छन भने एमालेबाट प्रत्यक्ष र समानुपातिक गरी २२ जना साँसद सदस्य छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रबाट प्रत्यक्ष तर्फ ५ जना र समानुपातिक ३ गरी ८ जना सदस्य रहेका छन् ।   मनाङ्ग क्षेत्रनं. २ बाट राजीव गुरुङ्ग स्वतन्त्रबाट निर्वाचित भएपनि यसपटक उहाँ एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ ।

बागलुङ:  बागलुङको जैमिनी नगरपालिकाका तीनवटा वडाको संगमस्थल माईकोस्थान मन्दिर क्षेत्र हो। जैमिनी नगरपालिका वडा नं.–१० राङखानी, वडा नं.–४ सर्कुवा र वडा नं.–७ जैदीको माथिल्लो भागमा अवस्थित माईकोस्थान मन्दिर क्षेत्र धार्मिक आस्था र विश्वासले मात्रै होइन, ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण छ।  माईकोस्थान मन्दिरदेखि करिब दुई किलोमिटर दूरीमा रहेको ऐतिहासिक कोत तथा गढी भवन संरक्षणको अभावमा भताभुङ्ग भएको छ। तत्कालीन भुरेटाकुरे राजाले आफ्नो सुरक्षाका लागि तयार गरेको गढी क्षेत्रको संरक्षण नहुँदा भग्नावशेषको रूपमा परिणत भएको हो।  तत्कालीन राजाले आफ्नो दरबार, हतियार भण्डारण, विश्राम स्थल, रानीको शयन कक्ष तथा पूजास्थल, चौपारी, सेनाले पहरादिने संरचना कतै पूर्ण रूपले भत्किएको तथा कतै आधा पुरिँदा पहिचान गर्न नसक्ने अवस्थामा पुगेको सर्कुवाका स्थानीय नरवीर थापाले बताउनुभयो।  त्यो समयमा सत्रु पक्षबाट बच्नका लागि सेनाले प्रयोग गरेको एक थान तोपको अवशेष मात्र कोत मन्दिरमा सुरक्षित गरेर राखिएको छ। तोपको नाल र पछाडिको भागलाई मन्दिर निर्माण गरी सुरक्षा गरेको कोत मन्दिर व्यवस्थापन समितिका सचिव प्रेम थापाले जानकारी दिनुभयो। माईकोस्थान क्षेत्रको डोका, देउराली, गुरुङकोट क्षेत्रमा तत्कालीन सेनाले निर्माण गरेका बङ्करहरू केही पुरिएको तथा केही आधा पुरिएको अवस्थामा छन्। सेनाले ओतका लागि निर्माण गरेका सत्तलको भग्नावशेष देख्न सकिने सचिव थापाको भनाइ छ। ऐतिहासिक गढी क्षेत्रको संरक्षणमा राज्यले चासो नदिँदा प्राचीनकालका मौलिक सामग्रीहरू मासिँदै गएका छन्। हातहतियार चोरी भएको छ। “कोत क्षेत्र ऐतिहासिक स्थल हो,” सचिव थापाले भन्नुभयो, “अहिले एउटा तोप मात्रै बाँकी छ। तोप संरक्षण पनि चुनौती पूर्ण भयो।” तोपको पाङ्ग्रा र त्यसलाई बाँधिने साङ्लाहरू छैनन्। बाहिर प्रदर्शन गरेर राख्दा चोरी हुने डर भएपछि मन्दिर बनाएर राखिएको सचिव थापाको भनाइ छ। राजाले दरबार वरिपरि खेती गर्दै आएको जग्गामा कालोपाती, ऐँसेलुलगायतका बिरुवाको झाडी बनेको छ। दरबार, चौपारी जीर्ण भएका छन्।  सो दरबार क्षेत्रदेखि करिब एक सय मिटर पूर्वपट्टी रानीले घाम ताप्दै कपाल कोर्न निर्माण गरेको सत्तल जसलाई स्थानीय रानीले कपाल कोर्ने ढुङ्गाको नामले पहिचान गर्छन् त्यो संरचना पनि आधा भत्किएको थापाले बताउनुभयो।  उक्त ढुङ्गामा करिब पाँच जना आरामसँग बस्न मिल्ने छ। आफ्नो क्षेत्रमा अतिनै महìवपूर्ण ऐतिहासिक पूर्वाधार भए पनि त्यसको संरक्षण र प्रचारप्रसार अभावले गर्दा ओझेलमा परेको थापाको भनाइ छ। राज्यले ऐतिहासिक गढीको संरक्षण गरेर पर्यटन विकासमा ध्यान दिनुपर्ने थापाको जोड छ।  तीन वर्षअघि गण्डकी प्रदेश सरकारले साढे छ लाख रुपियाँ र वडा कार्यालयको दुई लाख रुपियाँ सहयोगमा सडक मार्गदेखि कोत भवन पुग्ने पक्की पदमार्ग र कोत क्षेत्रको तारबार गरेको थियो। कोतमा बडादशैँ र चैतदशैँमा विशेप पूजा हुन्छ।  अझै पनि खानेपानी, तारबार, झाडी सफा, पहुँचमार्ग विस्तार, ऐतिहासिक गढी संरचनाको पुनर्निर्माण तथा उत्थानको काम बाँकी छन्। गढी क्षेत्रको संरक्षण, पुनर्निर्माण, उत्थानका लागि राज्यले विशेष ध्यान दिन सके पर्यटन विकास हुनुका साथै इतिहासको अध्ययन स्थलका रूपमा विकास हुने स्थानीय जनप्रतिनिधि चक्रबहादुर थापाले बताउनुभयो।    

म्याग्दी:  म्याग्दीको रघुगंगा गाउँपालिकाको माथिल्लो भेग हुँदै बग्ने राहु घाट नदीमा  निर्माणाधीन दुई जलविद्युत आयोजनाको निर्माण तीव्र पारिएको छ । तुण्डी पावर कम्पनीले दुई वर्षअघि ३७.५ मेगावाट क्षमताको राहु घाट मंगले र यसैको क्यसकेट आयोजना ४८.५ मेगावाट क्षमताको अपर राहु घाट जलविद्युत आयोजनाको निर्माण थालेको थियो । दुवै आयोजना निर्माणलाई कम्पनीले एकसाथ अगाडी बढाएको छ ।  आयोजना स्थल भौगोलिक रूपमा विकट मानिएको रघुगंगा गाउँपालिका ७ चिम खोलामा पर्दछ । भीर पहरा फुटालेर आयोजना स्थलसम्म पहुँच मार्ग निर्माण पश्चात् दुवै आयोजनाको काम धमाधम अघि बढेको छ ।   कम्पनीले आयोजनाको सुरुङ,बाँध स्थलमा हेडवक्र्सका संरचना र विद्युत गृहको निर्माणलाई तीव्रता दिएको तुण्डी पावर कम्पनीका इन्जिनियर इन्द्र ढकालले जानकारी दिनुभयो । दुवै आयोजनामा एक हजार जना दक्ष जनशक्ति र उपकरणहरू परिचालन गरेर निर्माण कार्यलाई अगाडि बढाइएको उहाँले बताउनुभयो । भौगोलिक रूपमा विकट क्षेत्रमा आयोजना निर्माण गर्दा समस्या र चुनौती भए पनि लक्ष्य अनुसार निर्माण कार्य सन्तोषजनक रहेको उहाँको भनाई छ ।  राहु घाट मङ्गलेको पाँच हजार तिन सय मिटर सुरुङ मध्य अहिले सम्म दुई हजार चार सय मिटर सुरुङ खन्ने काम सकिएको छ । ‘दुई वटा अडिटबाट सुरुङ खन्ने काम भएको छ,कम्पनीका इन्जिनियर ढकालले भन्नुभयो ‘अबको ११ महिनाभित्र सुरुङ ब्रेकथ्रु गर्ने लक्ष्य राखेका छौँ ।’ वडा नम्बर ८ कुइनेमंगले र ७ नम्बर वडा चिम खोलाको सिमाना बन्दी घाटमा आयोजनाको बाँध स्थल रहेको छ ।  चिम खोलाको बगर खोलाको दोभान मलाङमा रहेको विद्युतगृहको निर्माणका लागि जग खन्ने काम थालिएको आयोजनाले जनाएको छ । समग्र रूपमा आयोजनाको अहिलेसम्म ४४ प्रतिशत भौतिक प्रगति भएको आयोजनाका इन्जिनियर ढकालले बताउनुभयो । आगामी ३० महिनाभित्र आयोजना सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको उहाँको भनाई छ ।  यसैको क्यसकेट आयोजना ४८.५ मेगावाट क्षमताको अपर राहु घाट जलविद्युत आयोजनाको निर्माणलाई  पनि सँगसँगै अगाडि बढाइएको उहाँको भनाई छ । ६ हजार तिन सय मिटर लामो सुरुङ मध्य तिन हजार एक सय मिटर सुरुङ खन्ने काम सकिएको हाई हिमालय कन्स्ट्रक्सन इन्जिनियर जीवन लामाले बताउनुभयो । दुई वटा अडिटबाट सुरुङ खन्ने काम भइरहेको उहाँको भनाई छ । राहु घाट मङ्गलेको विद्युतगृहबाट निस्केको पानीलाई सिधै यो आयोजनाको सुरुङमा हालेर दग्नामको पुछारमा रहेको विद्युतगृहमा  पानीलाई ३६२ मिटर उचाइबाट खसालेर विद्युत् निकालिने छ ।  दग्नामको पुछारमा रहेको विद्युतगृह निर्माणका लागि कात्तिक देखि पहरा कटान थालिएको छ । आगामी दुई महिना भित्रमा पहरा कटान सकेपछि विद्युतगृहका संरचना निर्माण थालिने निर्माण कम्पनी हाइ हिमालय कन्स्ट्रक्सन साइड इन्चार्ज भुवनाथ अधिकारीले बताउनुभयो ।  विद्युतगृह निर्माणका लागि क्रसर प्लान्ट निर्माण,दुई वटा एक्स्काभेटर लगायतका उपकरण र जनशक्ति परिचालन गरिएको छ । यो आयोजनाको अहिले सम्म ३७ प्रतिशत भौतिक प्रगति भएको तुण्डी पावर कम्पनीका इन्जिनियर ढकालले बताउनुभयो । आगामी तिन वर्ष भित्र आयोजना निर्माण सम्पन्न गर्ने  कम्पनीले लक्ष्य राखेको छ ।  दुवै आयोजना निर्माणका लागि आयोजना प्रवर्द्धक कम्पनीले रामेछाप शेर्पा कन्स्ट्रक्सन,हाई हिमालय हाइड्रो कम्पनी र साउथ एसियन  इन्फास्ट्रक्चरसँग ठेक्का सम्झौता गरेको छ । दुवै आयोजनाको अनुमानित कुल लागत करिब ७ अर्ब रहेको छ ।  आयोजनाबाट उत्पादन हुने विद्युत् २२० केभीए क्षमताको दाना–खुर्कोट प्रसारण लाइनबाट केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ ।  आयोजनाले मौवा फाँट–दग्नाम–दर्मीजा–चिम खोला हुँदै बाँध निर्माण स्थलसम्म दुई वर्ष अघि पहुँच मार्ग निर्माण गरेको थियो ।

वालिङ:  वडा प्रहरी कार्यालय वालिङबाट सोमबार भागेका बलात्कारका आरोपि एकलाई प्रहरीले पक्राउ गरेको छ ।   जबरजस्ती करणी मुद्दामा हिरासतमा रहेका हरिनास गाउँपालिका– ७ का २४ वर्षीय रमेश क्षेत्री प्रहरीलाई लडाएर भागेका थिए ।  क्षेत्रीलाई वालिङ नगरपालिका –४ को जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएकोे वडा प्रहरी कार्यालय वालिङका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । क्षेत्रीलाई स्याङ्जाका एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पुस ११ गते पक्राउ गरेको थियो ।  जबरजस्ती करणी मुद्दामा हिरासतमा रहेका क्षेत्रीलाई जिल्ला अदालतबाट म्याद थप गरी वडा प्रहरी कार्यालय वालिङ लैजाने क्रममा कार्यालयको पर्खाल नाघेर भागेका थिए । क्षेत्रीलाई समात्ने क्रममा प्रहरी हवलदार वीरबहादुर सुनार लडेर घाइते हुनुभएको थियो ।