पोखरा: पोखरा महानगरपालिका वडा न ३० स्थित पशु तथा कृषि सेवा केन्द्रको सभाहलमा जगत कल्याण दुग्ध प्रशोधन केन्द्र सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक सुनुवाईसँगै जगत कल्याण दुग्ध प्रशोधन केन्द्रको उत्पादित बस्तु बजारमा पनि आएका छन् । सार्वजनिक सुनुवाइ कार्यक्रममा कृषक, महिला,स्थानीय ब्यक्ति,पत्रकार तथा शेयरसदस्यहरुलाई दुग्ध प्रशोधन केन्द्रमा जडित यन्त्र तथा उपकरण,चारपांग्रे सबारी साधन लगायत केन्द्र परिसरको भौतिक संरचनाहरुको आयोजनाको उप आयोजना संचालन मार्गदर्शन अनुसार खरिद गरी जडित आधुनिक प्लान्टहरु द्वारा उत्पादित दुग्धजन्य पदार्थहरुको गठबन्दन बजारीकरण मार्फत स्थानीय उपभोक्ता तथा तनहुँ, लम्जुंग लगायतका जिल्लाहरुमा कल्याण ब्रान्डका दुग्ध पदार्थहरु बिक्रीवितरण गरिएको जानकारी दिएका थिए । वडा न.३० का वडाध्यक्ष दुर्गा प्रसाद सुबेदीले असल कर्मले मानिसलाई र समाजलाई अग्रगतीमा लैजाने प्रेरणा दिने बताए । उनले उपभोक्ताहरुको मागलाई ध्यान दिएर सम्बोधन गर्नुपर्ने बताए । महानगर कृषि समितिका अध्यक्ष संयोजक रबि रमण तिवारीले दूग्ध पदार्थ बजारीकरण गर्न आफ्नो ठाउँ बाट सहयोग गर्ने बताउदै सहकरिसंगा सहकार्य गर्न उत्सुक रहेको बताए । उनले गौसेवा मानब सेवा नै समाज सेवा भएकोले कसैले संस्थामा रहेर स्वार्थ लिन खोज्ने मान्छेसँग बच्नुपर्ने बताए । अध्यक्ष कलाधर ओझाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव कृष्ण प्रसाद ओझाले आयोजनासँग सहकार्य गरी दुग्ध प्रशोधन केन्द्रद्धारा स्थानिय जनशक्तिलाई रोजगार दिनुको साथै आयोजना सम्झौतामा उल्लेख भए बमोजिमका मेसिन उपकरण तथा सवारी साधनको बिधि र प्रक्रिया पु¥याएर खरिद गरिएको र उत्पादन गर्दा चाहिने कच्चा पदार्थहरुको खरिद उप समितिद्धारा वस्तुको आपुर्ति गरी कास्की, तनहुँ र लम्जुङमा सेवा विस्तार गरिएको जानकारी सहित लागत र खर्चका विवरणहरु प्रस्तुत गरेका थिए । कोषाध्यक्ष शिब भुजेलले संस्थाका गतिविधि तथा आयोजना सञ्चालन सम्वन्धि जानकारी गराएका थिए । पशु तथा कृषि सेवा केन्द्रको सभाहलमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित कृषक शेयरधनी, महिलाहरुले उठाएका जिज्ञासाहरुको व्यवस्थापक, सचिव र कोषाध्यक्षले प्रष्ट पारेका थिए । लाइभस्टक इन्नोभेसन आयोजना विकेन्द्रीकरण सहयोग एकाईका वगिरथी कार्र्की , लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष भरतराज ओझा , शेयरसदस्य रामजी प्रसाद न्यौपाने लगाएतले स्थनीय किसानबाट संकलन गरिएको दूधलाई आफ्नै प्रसोधन केन्द्रमा अत्याधुनिक मेसिन उपकरणहरु ल्याएर प्रसोधन गरी आम उपभोक्ताहरुको मागलाई सम्बोधन गर्नुको साथै मौलिक उत्पादनले किसानको हौशला समेत बढाउने बताएका थिए ।
पोखरा: पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौडास्थित स्कुल टोल विकास संस्थाको २१ औं साधारणसभा एवम् १० औं अधिवेशन एक कार्यक्रमका बीच आज सम्पन्न भएको छ । कार्यक्रमको पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा वडा अध्यक्ष कार्कीले समाजका हरेक गतिविधिमा सबैको साथ र सहयोग आवश्यक रहनेमा जोड दिनुभयो । संस्थाका अध्यक्ष इन्दबहादुर खत्रीले सबैको साथ र सहयोगमा टोलका विभिन्न सामाजिक गतिविधि बढाइएको भन्दै सहयोगी प्रति आभार व्यक्त गर्नुभयो । नेपाली काँग्रेसका नेता तथा समाजसेवी खेमराज अधिकारी, गणेशबहादुर खत्री लगायतले समाजमा यो वा त्यो रुपमा कसैप्रति विभेद नगरी एकतावद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । अधिवेशनले समितिको आगामी कार्यकालका लागि बलराम केसीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । समितिका उपाध्यक्षमा अप्सरा घिमिरे, सचिवमा विद्या अधिकारी, कोषाध्यक्षमा लिला पराजुली, सह सचिवमा केशकुमारी थापा(ख) रहनुभएको छ । त्यस्तै सदस्यहरूमा नारायणी थापा, लक्ष्मी केसी, निला गुरुङ, संगिता ढकाल र मनिता केसी रहनुभएको छ । अधिवेशनका लागि खेमराज अधिकारीको संयोजकत्वमा गणेश केसी र पार्वती बस्नेत रहनुभएको निर्वाचन समिति गठन गरिएको थियो । नव निर्वाचित अध्यक्ष केसीले सबैको साथ र सहयोगमा टोलका विकास निर्माण लगायतका सामाजिक गतिवधि बढाउने विश्वास व्यक्त गर्नुभयो ।
काठमाडौं: सहरी विकास मन्त्री मेटमणि चौधरीले निर्माणधिन सरकारी संरचनामा भइरहेको ढिलाइप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । शनिबार भैंसेपाटीमा निर्माणाधीन संघीय मन्त्री, सभामुख, मुख्यमन्त्री तथा प्रदेश प्रमुखका निवासहरुको स्थलगत निरिक्षण लगत्तै मन्त्री चौधरीले सम्बन्धित विभाग, ठेकेदार कम्पनीसँग छलफल गरेका छन् । ‘काममा किन ढिलाइ भइरहेको छ ? पाँच महिना पछि आउँदा पनि अवस्था किन उस्तै छ ? ढिलाइ गर्दा कमिसन बढ्छ ?’ मन्त्रीको प्रश्न सुनेर मुखामुख गरेका कर्मचारीले कोभिडका कारण ढिलाइ भएको बताएका थिए । ‘कोभिड त सकिएन र ?’ लगत्तै मन्त्रीले प्रश्न गरे । ‘स्थानीयले दुःख दिँदा काम गर्न सकिएन हजुर ।’ ‘के उपाय गरेर हुन्छ, काम छिटो सक्नुस् । मैले के गर्नु पर्यो मलाई भन्नुस् ।’ मन्त्रीको जवाफ थियो । त्यस लगत्तै सहरी मन्त्री चौधरी भैंसेपाटीबाट सिधै राजदरबार परिसरभित्र रहेको गणतन्त्र स्मारकको निरीक्षणमा हानिए । त्यहाँ पनि सोचे अनुरूप प्रगति नदेख्दा मन्त्री चौधरी थप असन्तुष्ट बने । सम्बन्धित पक्षलाई उनले छलफलका लागि आइतबार मन्त्रालयमा आउन निर्देशन समेत दिए ।
काठमाडौं: काठमाडौंको कीर्तिपुरमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालक सशस्त्र प्रहरी जवान रतलाको मृत्यु भएको छ। आइतबार बिहान ९ बजे चोभार गेटनजिकै बसले सरकारी मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरी जवानको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। दुर्घटनामा एपिएफ मुख्यालय हेडक्वार्टरमा कार्यरत जवान सुवास चन्द्र रतलाको मृत्यु भएको हो। मोर्डन इन्डियन स्कुलको ना १ क १६१२ नम्बरको स्कुल बसले बागमती एएए २९०८ नम्बरको सरकारी मोटरसाइकललाई ठक्कर दिएको थियो। उनी निलबाराही गणमा जाँदै थिए। ठक्करपछि घाइते भएका रतलालाई उपचारको लागि बल्खुस्थित बयोधा अस्पताल लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको हो। बस र चालकलाई कीर्तिपुर प्रहरी वृत्तले नियन्त्रणमा लिएको छ। प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।
काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको क्षमता विकास गर्नक्षमता विकास गर्न रहेको बताएका छन् । यस कार्यमा सहजीकरण गर्न गाउँपालिका राष्ट्रिय महासंघलाई उनले आग्रहसमेत गरे । गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो आग्रह गरेका हुन् । उनले हरेक स्थानीय तहमा दिगो विकास लक्ष्यअनुसार योजना तर्जुमालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । सहजरुपमा शिक्षा स्वास्थ्यको ग्यारेन्टी, रोजगारी सिर्जना, लैंगिक हिंसा अन्त्य लगायतमा काम गर्न जनप्रतिनिधि र स्थानीयबीच बहस, छलफल तथा अन्तर्क्रिया हुन आवश्यक रहेको पनि प्रधानमन्त्री देउवाले बताए । उनले सार्वजनिक प्रशासनलाई चुस्त बनाएर भ्रष्टाचारमा शून्य सहनशीलता अवलम्बन गर्नुपर्नेमा जोड दिए ।
काठमाडौं: नेपालका ६ खेलाडी एसियन टेबलटेनिस च्याम्पियनसिप छनोटमा सहभागी हुने भएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी साउथ एसियन रिजनल च्याम्पियनसिप २०२२ को शीर्ष १६ वरियतामा स्थान बनाउँदै ६ खेलाडीले एसियन टेबल टेनिस च्याम्पियनसिप छनोट खेल्ने पक्का गरेका हुन् । पुरुषतर्फ पाँच खेलाडी छनोट हुँदा महिलातर्फ एक खेलाडी छनोट भइन् । पुरुषतर्फ नेपालबाट सहभागी भएका संयोग कपाली, रुविन महर्जन, बिनेश खनिया, शिव सुन्दर गोथे र प्रदीप रोक्का गरि पाँचै खेलाडी छनोट भए । महिलातर्फ नेपाल वरीयता एककी नविता श्रेष्ठ मात्रै सफल भइन् । नेपालकी एलिना महर्जन, इभाना थापा, रविना महर्जन, सिक्का सुवाल श्रेष्ठ भने १६ वरियतामा पर्न असफल भए । शुक्रबार भएको समूह चरणमा विजयीहुँदै संयोग, रुविन, बिनेश र नविता छनोट भइसकेका थिए । शनिबार भएको खेलमा पराजित भएपनि शिव र प्रदीप शीर्ष १६ वरियतामा स्थान बनाउँदै छनोट हुन सफल भएका छन् । अन्तिम खेलमा शिव पाकिस्तानका हसिव ख्वाजासँग सोझो सेटमा हार्न पुगे । आइतबार शिवले नवौं वरियताको लागि बंगलादेशका नाफिज इक्वालसँग प्रतिस्पर्धा गर्नेछन् । यसैगरी प्रदीप बंगलादेशका रामहिमलियान वानसँग ३–२ सेटमा पराजित भएपनि १६ औं वरियतामा रहन सफल भए । पुरुषतर्फ नेपालका पाँच खेलाडी छनोटहुँदा पाकिस्तानका चार, बंगलादेश, भारत र श्रीलंकाका दुई–दुई खेलाडी छनोट हुँदा माल्दिभ्सका एक खेलाडी छनोट भए । महिलातर्फ शीर्ष वरीयतामा भारत र श्रीलंकाका पाँच–पाँच खेलाडी छनोट हुँदा पाकिस्तान तीन र माल्दिभ्स, नेपाल र बंगलादेशका समान एक खेलाडी छनोट भएका छन् । एसियन च्याम्पियनसिप छनोटमा यस प्रतियोगिताबाट महिला र पुरुष समान १६ खेलाडी छनोट भएका छन् । एसियन च्याम्पियनसिप सन् २०२३ को ७ देखि १३ जनवरीसम्म कतारको दोहामा आयोजना हुनेछ ।
काठमाडौं: केही दिनदेखि लगातार बढिरहेको सुनको मूल्यले आइतबार पनि निरन्तरता पाएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ बढेको हो। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार सुन तोलामा छ सय रुपैयाँ बढेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
काठमाडौं: फ्रान्स फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार अल बेयत रंगशालामा भएको अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २–१ ले हराउँदै फ्रान्सले अन्तिम चारमा स्थान पक्का गर्यो । औरेलिएन चुआमेनीले फ्रान्सलाई सुन्दर गोलमार्फत अग्रता दिलाए । इंग्ल्यान्डले पहिलो हाफमा गोल गर्ने अवसर सिर्जना गरेपनि गोलरक्षक लोरिसले केहि सुन्दर बचाउ गरे । पहिलो हाफमा फ्रान्सले अग्रता जोगाउन सफल भयो । दोस्रो हाफको सुरुवातमै इंग्ल्यान्ड पेनाल्टीमा गोल गर्दै खेलमा फर्कियो । तर जिरुडले हेडरमार्फत गोल गर्दै फ्रान्सलाई पुनःअग्रतामा लगे । इंग्ल्यान्डले ६ मिनेट समय बाँकी रहँदा पुनः पेनाल्टीमार्फत बराबरी गर्ने अवसर पाएको थियो । तर केनले त्यसको सदुपयोग गर्न नसक्दा टोली खेलमा फर्कन सकेन । खेलको १७ औं मिनेटमा चुआमेनीको गोलमा फ्रान्सले अग्रता लिएको थियो । चुआमेनीले झन्डै ३० यार्ड टाढाबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो । एन्टोइन ग्रिजमनले दिएको पासलाई चुआमेनीले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गर्दा इंग्लिस डिफेन्स लाइन र गोलरक्षक जोर्डन पिकफर्ड बिट भएका थिए । फ्रान्सले अग्रता लिएको ५ मिनेटपछि इंग्ल्यान्डले बराबर गर्ने अवसर पायो । तर इंग्लिस कप्तान ह्यारी केनको प्रहारलाई विपक्षी कप्तान ह्युगो लोरिसले विफल पारे । केनले पेनाल्टी क्षेत्रभित्र डिफेन्डर डायोट उपामेकानो बिट गरेपछि वन भर्सेस वनको स्थितिमा लोरिसले अघि बढ्दै बचाउ गरे । २९ औं मिनेटमा लोरिस पुनः बाधक बने । केनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई लोरिसले डाइभ दिँदै बाहिर पठाए । केनविरुद्ध पेनाल्टी क्षेत्रको ठिक बाहिर उपामेकानोले फल गर्दा भिडियो असिस्टेन्ट रेफ्रीले पेनाल्टी दिएन । दोस्रो हाफको सुरुवातदेखि नै इंग्ल्यान्डले खेलमा पकड जमायो । ५४ औं मिनेटमा इंग्ल्यान्ड पेनाल्टीमार्फत खेलमा फर्कियो पनि । ह्यारी केनले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । पेनाल्टी क्षेत्रभित्र चुआमेनीले बुकायो साकालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । ७८ औं मिनेटमा फ्रान्सले पुनः अग्रता लियो । ओलिभिएर जिरुडले हेडरमार्फत गोल गर्दै साविक विजेतालाई अघि बढाए । उनले एन्टोइन ग्रिजमनको क्रसमा गरेको हेडर डिफेन्डर ह्यारी मगाएरलाई लाग्दै गोल भएको थियो । ८४ औं मिनेटमा इंग्ल्यान्डले खेल बराबरी गर्ने सुवर्ण अवसर खेर फाल्यो । थीओ हर्नान्डेजले मेसन माउन्टलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै पेनाल्टी दिए । दोस्रो पेनाल्टी अवसरमा भने कप्तान केन चुके । उनको प्रहार क्रसबारबाट माथि गएको थियो । फ्रान्सले अब सेमिफाइनलमा मोरक्कोको सामना गर्नेछ । मोरक्कोले आजै भएको तेस्रो क्वाटरफाइनलमा पोर्चुगललाई १–० ले पराजित गरेको थियो । प्रतियोगिताको अर्को सेमिफाइनलमा क्रोएसिया र अर्जेन्टिना भिड्नेछन् ।
पोखराः गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन मानवअधिकार मैत्री नभएको एक कार्यक्रमका वक्ताले बताएका छन्। ७४ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा गैरसरकारी संस्था महासंघ नेपाल गण्डकी प्रदेश समिति , जिल्ला शाखा कास्की तथा मानवअधिकार एलाइन्स गण्डकी प्रदेश समिति , जिल्ला शाखा कास्कीको संयुक्त आयोजनामा भएको मानव अधिकारको दृष्टिकोणमा आम निर्वाचन २०७९ बिषक कार्यक्रम वक्ताले उक्त कुरा बताएका हुन्। सयपत्री समाज कास्की कार्यकारी निदेर्शक गिरिधारी सुवेदीले देशका बिभिन्न ठाउँमा भएका घटनाले त्यो पुष्टी गरे । उनले स्याङजा,वाजुरा र दोलखा जिल्लाहरुमा मतदानको क्रममा भएका बुथ कव्जाले निर्वाचन मानव अधिकार मैत्री नभएको दावी गरे । प्रदेश निर्वाचन गण्डकीका हुमनाथ पराजुलीले विगत भन्दा अहिलेको निर्वाचन मानव अधिकारमैत्री भएको बताए । इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले इन्सेकले निर्वाचन पुर्व, निर्वाचनको बेलामा अनुगमन गरेको बताए । यस्तै उनले निर्वाचनमा राजनितिक दलहरुले चार सय ३ ओटा ठाउँमा आचारसंहिता उल्लघन गरेको जनाए । खकुरेलले भए रहित वातावरणमा मतदान गर्न पाउने अधिकार बाट केहि बञ्चित हुन पुगेको बताए । नेकपा एमाले जिल्ला कमिटि कास्कीका कार्यवहाक अध्यक्ष तेजनारायण अधिकारीले निर्वाचनामा राज्य सत्ताको चरम दुरुपयोग भएको बताए । कार्यक्रममा मानव अधिकार एलाइन्सका केन्दीय उपमहासचिव तिलोत्तम पौडेल,केन्द्रीय सचिव रामचन्द्र पौडेल,जन– आन्दोलन घाइते समन्वयन समितिक कास्कीका अध्यक्ष शेखर गौतम, गैसस महासंघ नेपाल कास्कीका अध्यक्ष बुद्धिबहादुर थापा, गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका सदश्य दिलु पौडेल लगाएले बोलेका थिए । मानवअधिकार रक्षक जोखिममा मानवअधिकार रक्षकनै जोखिमा रहेको एक तथ्य बाहिर आएको छ । मानवअधिकार रक्षक र उनीहरुको अधिकार सम्बन्धी एक कार्यक्रम बाट उक्त तथ्य बाहिर आएको हो । इन्सेक ,जागृती बाल तथा युवा सरोकार नेपाल ,मानव अधिकार आयोग,गैसस महासघ,महिला मानव अधिकार रक्षक सजाल,एडभोकेसि फोरम,कोपिला नेपाल लगायत को आयोजनामा पोखरामा शुक्रवार आयोजना भएको कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत टङ्क खनालले मानव अधिकार रक्षक सम्बन्धी दस्तावेजहरु माथि प्रस्ट पारे । उनले मानवअधिकार रक्षकको अवस्थाको वारेमा बताए । खनालले सञ्चारकर्मीहरु लाई बढि जोखिम रहेको बताए। इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले इन्सेकले स्थलगत रुपमा बिभिन्न ठाउँहरुमा पुगेर तथ्याङ संकलन गरेको बताए । उनले मानवअधिकार रक्षक केहि अवस्थामा जोखिममा रहेको जनाए । यस्तै उनले २८ जना मानवअधिकार रक्षक पिडित रहेको बताए । खकुरेलले मानव अधिकार सम्वन्धी एन आवश्यक रहेकोमा जोड दिए । एड्भोकेसी फोरमकी संयोजक कुञ्जनी परियार प्यासीले मनाव अधिकार रक्षकको अवस्थाको बारेमा प्रष्ट पारेकी थिइन् । कार्यक्रममा मानवअधिकार एलाइन्सका रामचन्द्र पौडेल, गैसस महासंघ कास्कीका अध्यक्ष बुद्धिबहादुर थापा, जगृति वाल तथा युवा सरोकार केन्द्र नेपालका अध्यक्ष त्रिलोत्तम पौडेल लगाएतले मानवअधिकार रक्षक र उनिहरुको अधिकारको बारेमा बोलेका थिए ।कार्यक्रम अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर गरिएको थियो ।

