काठमाडौं:  गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ ।  मन्त्रालयले आज विज्ञप्ति जारी गरी भनेको छ, &l...

पोखरा:  पोखरामा आयोजना हुने दशौं संस्करणको नेपाल लिटरेचर फेस्टिभलमा यस वर्ष कांग्रेस महामन्त्री गगन थापा आउने भएका छन् । फेस्टिभलका दुई सत्रमा उनी वक्ताका रुपमा रहने आयोजक बुकवर्म फाउन्डेसनले जनाएको छ ।  महामन्त्री थापाले ‘काठमान्डु कथा’ शीर्षक सत्रमा लेखक बुद्धिसागरसँग संवाद गर्नेछन् । यस सत्रमा बाहिरी जिल्लाबाट काठमाडौं गएका र काठमाडौंमै बसेका व्यक्तिले भोगेको काठमाडौंको समाज एवं यहाँको जनजीवनबारे छलफल हुने फाउन्डेसनले बताएको छ ।  साथै ‘समाजअनुसारका नेता कि नेताअनुसारको समाज ?’ शीर्षक सत्रमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र थापासँग लेखक एवं पत्रकार बसन्त बस्नेतले संवाद गर्ने पनि फाउन्डेसनको भनाइ छ ।  फेस्टिभलमै नेकपा एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि आउनेछन् । उनले आफ्नो गैरराजनीतिक जीवनबारे पत्रकार अखण्ड भण्डारीसँग चर्चा गर्नेछन् । पुस ६ देखि ११ सम्म पोखराको बाराहीघाट, लेकसाइडमा फेस्टिभल आयोजना हुँदै छ ।   

काठमाडौं:   निर्वाचन आयोगले निर्वाचन अन्तिम परिणामको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज बुझाउने भएको छ।  प्रमुख आयुक्त दिनेश कुमार थपलियाले  प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन  परिणामको अन्तिम प्रतिवेदन आज राष्ट्रपतिसमक्ष पेश गर्ने बताएका हुन् ।  आयोगका पदाधिकारीले राष्ट्रपति भण्डारीलाई आज बिहान १० बजे भेटेर प्रतिवेदन बुझाउन लागेको हो। बुधबार पत्रकार सम्मेलनमा थपलियाले भने, ‘आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष र प्रदेशसभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधानबमोजिम २०७९ मंसिर २९ गते सम्माननीय राष्ट्रपतिज्यूसमक्ष प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। ’ निर्वाचन आयोगले निर्वाचनको अन्तिम नतिजाको परिणाम राष्ट्रपतिसमक्ष बुझाएपछि नयाँ सरकार गठनको बाटो खुल्नेछ। यसैगरी पुस २ गते प्रदेशसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउने कार्यक्रम छ। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ को प्रतिवेदन पठाइसकेपछि निर्वाचित सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिने आयोगले जनाएको छ।  प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा ८ सय २५ जना निर्वाचित भएका छन्।  निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको अन्तिम परिणामअनुसार प्रतिनिधिसभातर्फ २ सय ७५ र प्रदेशसभातर्फ ५ सय ५० जना उम्मेदवार निर्वाचित भएका हुन्।   प्रतिनिधिसभातर्फ पुरुष १ सय ८४ र महिला ९१ जना निर्वाचित भए।  प्रतिशतका आधारमा यो पुरुष ६६.९० र महिला ३३.१० प्रतिशत हो।  प्रदेशसभातर्फ भने पुरुष ३ सय ५० र महिला २ सय जना निर्वाचित भएको आयोगको तथ्यांकमा उल्लेख छ।

जुम्ला:  बजारीकरण नहुँदा जुम्ली स्याउले उचित मूल्य पाउन सकेको छैन । अधिकांश स्याउ किसानले भदौ, असोज महिनामै बजारमा स्याउ बिक्रीका लागि लिने गरेका छन् । केही किसानले उचित मूल्य पाइने आशामा मङ्सिर र पुससम्म पनि स्याउ भण्डारण गरी राख्ने गरेका छन् ।  सिञ्जा गाउँपालिका–५ का रामसिंह रावलले दसैँमा नेपालगञ्ज लैजान टिपेर कार्टुनमा राखेका स्याउ ढुवानी गर्ने गाडी नपाउँदा बिक्री गर्न पाउनुभएको छैन । उनले भने, “वर्षाले कर्णाली राजमार्ग बन्द भएपछि जुम्ला बजार ल्याउँदा पनि स्याउ बिक्री हुन सकेन ।” बजारीकरण गर्न नसक्दा नोक्सान बेहोर्नुपरेको रावलको भनाइ छ ।  जुम्ला विमानस्थलमा स्याउ बेच्न आएकी गेठीचौर गाउँपालिका–३ की उमादेवी अधिकारी बिक्री नहुँदा समस्या भएको बताउँछिन्। उनले भनिन्, “स्याउ खरिद गर्नेको सङ्ख्या कम छ । घरबाट दुई घण्टा हिँडेर बजारमा स्याउ ल्याए पनि बिक्री नहुँदा फेरि भारी बाकेर फर्किन निकै कठिन हुन्छ ।”  स्याउ उत्पादन बढ्यो जुम्लामा यो वर्ष स्याउ उत्पादन बढेको छ । जिल्ला कृषि कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले चालू आर्थिक वर्षमा १८ हजार मेट्रिक टन स्याउ उत्पादन भएको जानकारी दिए । गत आवमा १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो । स्याउ उत्पादन बढे पनि किसानले उचित मूल्य नपाउँदा चिन्तित बनेका छन् । हाल उत्पादित १८ हजार मेट्रिक टनमध्ये नौ हजार मेट्रिक टन स्याउ नेपालगञ्जलगायतका बजारमा पठाइएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । यसअघि व्यवसायीले प्रतिकिलो रु ५० देखि रु ५५ मा स्याउ खरिद गरी रु ६७ देखि रु ७० मा बिक्री गर्दै आएका थिए । तर अहिले किसान त्योभन्दा निकै कम मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएको चन्दननाथ नगरपालिका–८ का स्याउ व्यापारी धर्मसिंह कठायतले बताए ।  जुम्लाको अर्गानिक स्याउ सुर्खेत, नेपालगञ्ज, दाङ, बुटवल, नारायणगढ र काठमाडौँसम्म पुगे पनि जुम्लीले उचित बजार मूल्य नपाएको यहाँका स्याउ किसानको गुनासो रहेको छ । “मैले प्रतिकिलो रु ५० मा स्याउ किनेर ढुवानी खर्चसहित रु ६० मा नेपालगञ्ज पुर्याए । तर प्रतिकिलो रु ३० मा बिक्री गर्न बाध्य भएँ ।” कोहलपुरमा शीतभण्डार नहुँदा स्याउ सस्तो बेच्नुपर्ने बाध्यता आइलागेको कठायतको भनाइ छ ।

 पोखरा: विद्यार्थीहरुका लागि नोवेल पुरस्कार मानिने हल्ट प्राइज यस वर्ष पनि पोखरा विश्वविद्यालयमा बृहत रुपले आयोजना हुने भएको छ ।  हल्ट प्राइज पोखरा विश्वविद्यालयले आज (बुधबार) पत्रकार सम्मेलन गदैैँ सो जानकारी दिएको हो ।  सम्मेलनमा बोल्दैँ क्याम्पस निर्देशक सूरज राज केशरीले हल्ट प्राइज विद्यार्थीहरुको लागि सामाजिक उद्यमशीलत प्रतियोगिता भएको  बताए । हल्ट प्राइज प्रतियोगिताले विद्यार्थीमा लुकेको क्षमतालाई प्रस्फुटज गर्ने कार्य गर्दछ । केशरीले भने, ‘रिजनल्स सम्म पुगेर बाहिरिएका विद्यार्थीहरुको लागि नेपालमै विजनेस अफर समेत आउने गर्दछ ।’ २०२२/२३ को हल्ट प्राइज च्यालेन्ज ‘रिडिजाइनिङ्ग फेसन’ रहेको छ । जसमा विद्यार्थीहरुले फेसन र कपडा उद्योगमा नाफाको लागि सामाजिक उद्यम सिर्जना गर्नुपर्ने हुन्छ ।  हरेका वर्ष वोस्टन हेडक्वाटर अवस्थित द इन्टरनेशनल हल्ट कम्यूनिटेले नयाँ च्यालेन्ज प्रदान गर्ने गर्दछ र विश्वभरिका विद्यार्थीहरुले त्यस च्यालेन्जमा रहेर आफ्नो विचार राख्नुपर्दछ । हल्ट प्राइजको यात्रा अन क्याम्पस कार्यक्रममा विजेता भएकाले आफ्नो ठाउँ रिजनल्समा पार्दै विजेता भएमा याक्सलेरेटरमा पुग्ने र विश्वभरीबाट शीर्ष ६ टोलीहरु ग्लोबलमा १० लाख अमेरिकी डलरको लागि प्रतिस्पर्धा गर्ने गर्दछन् ।  सात वर्ष देखि नेपालका विश्वविद्यालयहरुले सहभागिता जनाउन थालेको यस प्रतियोगितामा यस वर्ष ३५ भन्दा बढि विश्वविद्यालय र आङ्गिक विद्यालयहरुले सहभागिता जनाएका छन् । साथै यस प्रतियोगिताको लागि पोखरा विश्वविद्यायले सम्बन्धित विद्यालय र  कलेजको स्नातक , स्नातकोत्तर, एमफिल र पीएचडी विद्यार्थीहरुको लागि फाराम खुलाएको छ ।

पोखरा:  एघारौ पोखरा महोत्सवको बैङकिङ पार्टनरमा रहेर ग्रीन डेभलपमेन्ट बैंकले साथ दिने भएको छ । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि नयां गन्तब्य चिडियाखानाको निर्माणमा पहलकदमी संगैै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाईटेड क्लव पोखराले आगामी पुषको २७ देखी माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना गर्ने एघारौं संस्करणको पोखरा महोत्सवमा केन्द्रीय कार्यालय पोखराको सभागृह चोकमा रहेको ग्रीन डेभलपमेन्ट बैंकले बैङ्किङ पार्टनरमा रहेर साथ दिने भएको हो  । हालै एक कार्यक्रमका बीच महोत्सव आयोजक युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठ र ग्रीन डेभलपमेन्ट बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकी बिच सम्झौता पत्रमा हस्ताक्षर गरी एक  अर्कालाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । सो अवसरमा वोल्दै ग्रीन डेभलपमेन्ट बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकी गण्डकी प्रदेशमा पोखरामा प्रधान कार्यालय रहेको एकमात्र प्रदेश स्तरको ग्रीन डेभलपमेन्ट बैंकले सामाजिक क्षेत्रमा अग्रणी स्थानमा रहेको युनाईटेड क्लव संगको सहकार्यले आफुहरु निकै उत्साहित भएको वताउदै युनाईटेड क्लवको सामाजिक काममा सहकार्य गरेर आफुहरु अगाडि वढ्ने प्रतिवद्धता ब्यक्त गरे । त्यस्तै क्ल्वका अध्यक्ष राजु श्रेष्ठले युनाईटेड क्लवले पोखरामा रहेको विभिन्न संघ संस्थाहरुको सहकार्य र सहयोगकै कारण पोखरा महोत्सव सफल भएको वताउदै युनाईटेडको सामाजिक अभियानमा सम्पूर्ण पोखरेलीको साथ र सहयोग आवश्यक रहेको वताए । युनाईटेड क्लवले आयोजना गर्ने पोखरा महोत्सव युनाईटेड क्लवको मात्र नभइ सम्पूर्ण पोखरेलीको महोत्सव भएको र महोत्सवको आम्दनीबाट युनाईटेड क्लवले सामाजिक क्षेत्रमा खर्च गर्ने भएकाले महोत्सवमा सहकार्य गर्ने सम्पूर्णको योगदान महत्वपूर्ण रहेको वताए । त्यसैगरी एघारौं पोखरा महोत्सवको अफिसियल वाटरमा अक्वा रिउसले साथ दिने भएको छ । एक समारोहका बीच एघारौं पोखरा महोत्सव खानेपानी ब्यवस्थापन संयोजक शिव थापा र अक्वा रिउस प्रोसेस पानीका संचालक धिरज गुरुङ बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा वोल्दै अक्वा रिउस प्रोसेस पानीका संचालक धिरज गुरुङले सामाजिक क्षेत्रमा अब्बल युनाईटेड क्लव संगको सहकार्यले आफ्नो ब्यवशाय प्रवद्र्धन संगै सामाजिक काममा अगाडि वढ्न पाउदा आफुहरुमा उत्साह थपिएको वताए । महोत्सवको तयारी तीब्र रुपमा अगाडि वढिरहेको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । जस अनुरुप महोत्सवका ९० प्रतिशत स्टल बुकिङ सम्पन्न भएको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

पोखरा: डेभिजफल्स ड्राइभिङ स्कुल एण्ड प्रिटेष्ट प्रालिले कास्की क्षेत्र नम्बर ३ ख बाट विजयी प्रकाश बराललाई बधाइ तथा सम्मान गरेको छ ।    ड्राइभिङ स्कुलका सल्लाहकार समेत रहेका बराललाई आज एक कार्यक्रमका बीच सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि नन्द प्रसाद आचार्य, ड्राइभिङका कानुनी सल्लाहकार खगराज आचार्ज, ड्राइभिङ स्कुलका अध्यक्ष तुल बहादुर ठकुरी लगायतले अबिर, खादा र सम्मान पत्र सहित सम्मान गर्नुभएको थियो । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नन्द प्रसाद आचार्यले जनताको मतको कदर गरी समग्र गण्डकी प्रदेशको बिकास निर्माणमा अगाडि बढ्न नव निर्वाचित सांसद बराललाई आग्रह गर्नुभयो ।  त्यस्तै सम्मानित व्यक्तित्व कास्की क्षेत्र नम्बर ३ ख का बिजयी सांसद प्रकाश बरालले आफुहरु प्रदेशको निती निर्माणको तहमा पुगेपनि निति निर्माण संगै आफ्नो निर्वाचन क्षेत्रको समग्र बिकासको पक्षमा लाग्ने ताउनुभयो । आफ्नो निर्वाचन क्षेत्र पोखरा महानगरपलिकाको वडा नम्बर ५ देखि कास्कीको माछापुछ्रे हिमालको फेदी सम्म पर्ने भएकाले निर्वाचनका बेला जनताको घरमा पुगेर दिएको आश्वसनलाई ब्यवहारमा लागु गर्ने र अहिले निर्वाचित भएर बधाइ थाप्ने र अवको पांच बर्ष जनताले सम्मान गर्ने गरी काम गर्ने बताउनुभयो । अहिले गाउका दुर दराजमा सडक, खानेपानी जस्ता विकासका कामहरु भइरहेको भएतापनि अझैपनि नितिगत रुपमा समग्र क्षेत्रको विकास हुन नसक्दा जनताले जहा तही समस्या झेल्नुपरेको आफुले नजिकबाट नियालेका आगामी ५ वर्षमा नितिगत रुपमै जनताले सुख अनुभुति हुने गरी काम गरेर देखाउने उहाँको भनाइ रहेको थियो । कानुनी सल्लाहकार खगराज आचार्यले जनताको सामु गरेका बाचालाई पुरा गर्ने गरी र राजनैतिक स्वार्थभन्दा माथी रहेर कास्की क्षेत्र नम्बर ३ को जनताको पक्षमा काम गर्न आग्रह गर्नुभयो । सो अवसरमा वोल्दै डेभिजफल्स ड्राइभिङ स्कुल तथा प्रिटेस्ट सेन्टरका अध्यक्ष तुल बहादुर ठकुरीले नव निर्वाचित प्रदेश सभा सदस्य प्रकाश बरालको उज्जवल भविष्यको कामना गर्दै जनताको सुख दुखमा हातमा हात साथमा साथ दिएर काम गर्न आग्रह गर्नुभयो । ड्राइभिङ स्कुलका सचिव दिपेन्द्र बहादुर आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा तीर्थराज आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो ।

 काठमाडौंँ:  जाजरकोटमा सोमबार भएको जीप दुर्घटनामा अभिभावक गुमाएका पाँच बालिकाको शिक्षाको जिम्मा माइती नेपालले लिने भएको छ। जाजरकोट (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित राजीव बिक्रम शाहको पहलमा माइती नेपालले उनीहरूको शिक्षाको जिम्मा लिने भएको हो।  १६ वर्षभन्दा मुनिका बालिकालाई अध्ययन र शैक्षिक सहयोग तथा १६ वर्षभन्दा माथिका बालिकालाई सिपमुलक तालिम एवं प्राविधिक शिक्षाको माइती नेपालले जिम्मा लिने प्रदेश सभा सदस्य शाहले बताए।  आफ्नो अनुरोधलाई स्वीकार गरेर आफन्त गुमाएका बालिकाको शिक्षादिक्षाको जिम्मा लिन सहमत भएकोमा शाहले माइती नेपाललाई धन्यवाद समेत दिए। माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले बुधबार बिहान शाहलाई फोन गरेर पाँच बालिकाको शिक्षादिक्षाको जिमा लिन आफूहरू तयार रहेको जानकारी दिएकी थिइन्। अभिभावक गुमाएका बालिकाहरूको विवरण शाहसँग माग गरिएको र उपलब्ध भएपछि बाँकी प्रक्रिया अघि बढ्ने माइती नेपालले जनाएको छ। स्थानीय तहसँग समन्वय गरेर छिट्टै माइती नेपाललाई विवरण उपलब्ध गराउने, बाँकी बालबालिका र पीडित परिवारलाई आफूले समेत सक्दो सहयोग गर्ने शाहको भनाइ छ।  सोमबार जाजरकोटको छेडागाड नगरपालिका ४ मा भएको जीप दुर्घटनामा छेडागाडका नौ र दैलेखको भगवतीमाई गाउँपालिकाका तीन जनाको मृत्यु भएको थियो।

कालिकोट:  कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका १ स्थित कर्णाली नदीमा फुकोट जलविद्युत आयोजनाको जेसीबी दुर्घटना हुँदा बेपत्ता भएका तीन जना मध्ये दुई जनाको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ ।  बेपत्ता भएका मध्ये सोही गाउँपालिका १ बस्ने २० वर्षिय उमेश गिरीको शव सोमबार र कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका ४ बस्ने २३ वर्षिय जेसीबीका चालक मंगल चुडारीको शव मंगलबार फेला परेको हो ।  सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालिकोट र नम्बर ४२ रिजर्भ गण बाँकेबाट गएको गोताखोरले गिरी र चुडारीको शव फेला पारेकोे हो । उनीसँगै दुर्घटनामा परी हराईरहेका सोही गाँउपालिकाका १९ वर्षिय रक्तिम सार्कीकोे खोजीकार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।  मंसिर २४ गते सो आयोजनाको सुरुङ्गभित्र पानी हेरी फर्कदै गरेको प्रदेश नं.३ –०१–००३ क ६७७४ नम्बरको जेसीबी कर्णाली करिडोरबाट अन्दाजी ८० मिटर तल कर्णाली नदीमा खसेको थियो । दुर्घटनामा घटनास्थलमै २ जनाको मृत्यु भएको थियो । यससँगै मृतकको संख्या ५ पुगेको छ ।   

काठमाडौं: मंसिर ४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबाट जनता समाजवादी पार्टी नेपाल (जसपा) मा ३२ जना निर्वाचित भएका छन् । प्रतिनिधिसभातर्फ ७ जना प्रत्यक्षमा निर्वाचित भएका छन् भने समानुपातिकबाट ५ जनाको नाम सिफारिस भएको जसपाले जनाएको छ ।  यस्तै प्रदेश १ बाट समनुपातिकतर्फ १ जना चयन भएका छन् भने मधेस प्रदेशमा ७ जना चयन भएका छन् । यस्तै मधेस प्रदेशमा प्रत्यक्षबाट ९ जना निर्वाचित भएका छन् । यसैगरी लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ २ जना निर्वाचित हुँदा समानुपातिकबाट १ जना चयन भएको केन्द्रीय सूचना, सञ्चार प्रकाशन तथा प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।  पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरु  १. अशोककुमार राई, सुनसरी १ २. राजकिशोर यादव, सिराहा २ ३. रामसहायप्रसाद यादव, बारा २ ४. नवलकिशोर साह, सप्तरी १ ५. विरेन्द्र महतो, सिराहा ४ ६. दीपक कार्की, धनुषा १  ७. प्रदीप यादव, पर्सा १  समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरु   १. प्रकाश अधिकारी (सिराहा) २. सुशिला श्रेष्ठ (उदयपुर) ३. रेखा यादव थापा (मोरङ) ४. रञ्जु कुमारी झा (सप्तरी)  ५. सहनाज रहमान (झापा) प्रदेश नं १ समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्य १. निर्मला लिम्बु (ताप्लेजुङ) मधेश प्रदेश  पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्यहरु  १. मो. लालबाबु राउत, पर्सा १ (ख) २. सरोजकुमार यादव, बारा १(ख) ३. राजकुमार गुप्ता, सिराहा १(ख) ४. सरोजकुमार सिंह महोत्तरी ४ (ख) ५. राम आशिष यादव, धनुषा २ (ख) ६. बच्चा राउत अहिर, बारा २ (ख)  ७. सञ्जय कुमार यादव, सर्लाही ३ (ख) ८. सिहासन सा कलवार, पर्सा ४ (क) ९. शेख अबुलकलाम आजाद, रौतहट ४ (ख) मधेश प्रदेश समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्यहरु ​ १. मनिस कुमार सुमन (सप्तरी)  २. विन्दुकुमारी यादव (सर्लाही) ३. किरणकुमारी साह (सप्तरी) ४. शोभा देवी (रौतहट) ५. ललिता दास (सिराहा) ६. साहिदा खातुन (सिराहा) ७. ममता देवी मण्डल (धनुषा) लुम्बिनी प्रदेश  पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्यहरु १. आदेशकुमार अग्रवाल, बाँके २ (क) २. भण्डारीलाल अहिर, बाँके २ (ख) लुम्बिनी प्रदेश  समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्य १. अम्बीका काफ्ले(बर्दिया)