चितवनः नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो । आजदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा– मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुनेछ । भौगोलिकरूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्नेलगायतका कामका लागि सवारी आवागमन रोक्न लागिएको कार्कीले बताए । उनका अनुसार सडकखण्डमा १५ पुल निर्माणको काम भइरहेकामा नौ वटाको काम सम्पन्न भइसकेको छ । चारवटा पुल निर्माणका लागि ठाडो कडा पहाड काट्नुपर्ने भएका कारण यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि यातायात बन्द गरेर काम गर्नुपरेको आयोजनाले जनाएको छ । उक्त समयमा वैकल्पिक राजमार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ । नारायणगढतर्फबाट जाने यात्रुबाहक सवारीसाधनलाई पन्ध्रकिलो बजारबाट जुगेडीसम्म बिहान ११ बजे रोकिनेछ भने मालवाहक सवारीसाधनलाई भतेरी जङ्गलबाट रामनगरसम्म बिहान १०ः५० बजेदेखि नै रोकिने छ । काठमाडौँतर्फबाट आउने यात्रुवाहक सवारीलाई मुग्लिन बजारबाट मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुवाहक सवारीसाधनलाई बेनीटारबाट पावर हाउससम्म बिहान १०ः५५ बजे रोकिने छ । काठमाडौँतर्फबाट आउने मालवाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालवाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०ः४५ बजे रोकिने छ । बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकललगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोडिनेछ । नारायणगढ–मुग्लिङ सडकखण्डमा एक अर्ब २५ करोडको लागतमा विश्व बैंकको सहयोगमा पुल निर्माण भइरहेको छ ।
पोखराः सन्देश अधिकारी कास्की पोखरा समाज जापानको ५ औं अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । आइतबार सम्पन्न भएको कास्की पोखरा समाज जापान टोकियोले ५ औं अधिवेशनबाट अधिकारीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा अन्जु भण्डारी, उपाध्यक्षमा सुरेश लामिछाने, कमल वास्तोला, विशु भण्डारी, राजु पौडेल, दीपक सुनार, मनोज तिवारी र भुपेन्द्र पराजुली चयन भएका छन् । समितिको महासचिवमा सरोज कार्की सचिवमा जिवन पोखरेल, कोषाध्यक्षमा तोयानाथ ढकाल, सहकोषाध्यक्षमा सुर्य कँडेल चयन भएका हुन् । समितिको सदस्यमा प्रेम दाहाल, कुमार सापकोटा, तारानाथ बराल, कुल प्रसाद बास्तोला, कुमार सापकोटा, बिजय गुरुङ, रमेश दाहाल, प्रताप सुवेदी र प्रदिप सापकोटा चयन भएको निवर्तमान अध्यक्ष विश्व सुवेदीले जानकारी दिए । सन् २०१४ मा स्थापना भएको कास्की पोखरा समाज जापानको कार्यसमिति सदस्यहरुको संयुक्त बैठकबाट सर्वसम्मत २३ सदस्य कार्यसमिति र २ जना पछि मनोनित गर्ने गरी कार्यसमिति गठन गरेको थियो ।
पोखरा: पोखरामा झव: भ्वय तथा सांस्कृतिक उत्सव हुने भएको छ । नेवा: खल कास्की र नेवा: मिसा पुच: कास्कीको आयोजनामा यही पुस ९ गते तेस्रो संस्करणको उत्सव आयोजना हुन लागेको हो । नेवारी संस्कृति र खानपानको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको नेवा: मिसा पुच: का संस्थापक अध्यक्ष शान्ति उदासले जानकारी दिइन् । पोखरामा पहिलोपटक २०७२ सालमा झव: भ्वयको आयोजना गरिएको थियो । हरेक २/२ बर्षमा आयोजना हुने नेवारी भोज कोरोनाका कारण नियमित हुन नसकेको उनले बताइन् । परम्परादेखि चलिआएको प्रचलनलाई युृवा पुस्ताले बिस्तारै भुल्दै गएकाले नयाँ पुस्तालाई ‘फुड कल्चर’ का बारेमा जानकारी गराउन कार्यक्रमले सघाउ पुग्ने संयोजक मोहिनी श्रेष्ठले बताइन् । कार्यक्रममा नेवारी परिकारका साथै कुमारी नाच, बज्रयोगिनी नाच समेत प्रस्तुत गरिने नेवाः मिसा पुचः का अध्यक्ष मेनुका श्रेष्ठले जानकारी दिइन् । १ हजार २ सय जनालाई भोज खुवाइने अध्यक्ष श्रेष्ठले बताइन् । कार्यक्रम भिमसेनटोलस्थ्ति नेवा: छे: मा आयोजना हुने छ । विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । कार्यक्रम संयोजकमा मोहिनी श्रेष्ठ, अतिथि सत्कारमा शान्ति उदास, आर्थिक व्यवस्थापनमा सोनी ढेवाजु, सांस्कृतिक संयोजकमा रेविका श्रेष्ठ, टिकट व्यवस्थापनमा किरण श्रेष्ठ, प्रचारप्रसार संयोजकमा शान्ति प्रधानाङ्ग, साज सज्जामा देविका श्रेष्ठ तथा व्यानर व्यवस्थापनमा रेखा कर्माचार्य रहेका छन् । कार्यक्रमलाई सुजल फुड्स, फिस्टेल डेरी, वोन्डाइ क्याफे, कृष्ण राइस मिल लगायतका संघ संस्थाले प्रयोजन गरेका छन् भने नेपाल पर्यटन वोर्ड पोखरा प्रवद्र्धकका रुपमा रहेको छ ।
प्यूठान: सामाजिक सञ्जालमा भेलु बाजे भनेर चिनिएका मिनबहादुर बुढा र उनका सहयोगीका गतिविधि नियन्त्रण गर्न प्यूठान प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई ज्ञापन पत्र बुझाइएको छ । भेलुबाजेका हर्कतले बालबालिकालाई समेत नराम्रो असर परेकाले उनलाई नियन्त्रण गर्न माग गर्दै झिमरुक ३ प्युठानका सुवास जिसीले ज्ञापन पत्र बुझाएका हुन् । जिसीले ज्ञापन पत्रमा लेखेका छन्, ‘भेलुबाजेलाई विभिन्न व्यक्ति तथा मिडियाहरुले मदिरा सेवन गराई मात्तिएको अवस्थामा विभिन्न अश्लिल हर्कतहरु गराउने र सामाजिक सञ्जालबाट प्रस्तुत गरी समाजमा फोहोर, अश्लिल, अपाच्य र अमर्यादित शब्दहरु प्रशारण गर्ने गरेको र त्यसको गहिरो गरी बालबालिकाहरुमा समेत प्रभाव परेकाले यथाशिघ्र भेलुबाजे, उनलाई प्रोत्साहन गर्ने मिडिया र व्यक्तिहरुलाई समेत नियन्त्रण गरी सामाजिक अनुशासन र मर्यादा कायम गर्नु अनिवार्य छ ।’ सामाजिक सञ्जालको माध्यमबाट छाडा शब्दहरु बोलेर र बोल्न लगाएर भाइरल हुने र बनाउने खालका अवाञ्छित गतिविधि नरोक्ने हो भने हाम्रा सामाजिक मुल्य र मान्यताहरुको गम्भीर दुर्घटना हुनेतर्फ ज्ञापन पत्रमा सचेत गराइएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी नेपालले त्यसतर्फ आफ्नो ध्यानाकर्षण भएको बताइन् ।
पोखरा: ‘घोडाघोडि सुन चाँदी कारखाना उद्योग’का सञ्चालक विकास सुनार माथि गोलि प्रहार भएको छ । सुदरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित ‘घोडाघोडि सुन चाँदी कारखाना उद्योग’का सञ्चालक सुनारलाई आइतबार साँझ गोलि प्रहार गरिएको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले जनाएको छ । आइतबार साँझ पसलबाट घर फर्कने क्रममा सशस्त्र प्रहरी ब्यारेक र पेट्रोल पम्पको नजिकै दुईजना अपरिचित ब्यक्ति मोटरसाईकलमा आएर एक्कासि गोलि हानेर साथमा रहेको सुनचाँदीका गर–गहनाहरु र नगद भएको झोला लुटेर लगेको पिडित परिवारका एक सदस्यले बताए । व्यवसायी सुनारको हाल धनगढी स्थित माया मेट्रो हस्पिटलमा उपचार भइरहेको र खतरामुक्त रहेको पारिवारिक स्रोतले जनाएको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले सोमबार विज्ञप्ती जारी गर्दै भनेका छन, ‘स्थानीय व्यस्त बजारको प्रमुख चोकमा रहको पसलमा त्यति ठूलो आपराधिक घटना हुनु सुरक्षा संयन्त्र माथि नै चुनौति खडा हुनु हो, तसर्थ घटनालाई तीव्रतका साथ अनुसन्धान गरी अपराधीलाई कानूनको दायरमा ल्याउन र पीडितलाई क्षति पूर्ति र न्यायको लागि आवश्यक पहल गर्र्न सम्बन्धित निकायसंग महासंघ जोडदार माग गर्दछ र सम्पूर्ण व्यवसायीहरुमा सुरक्षा संयन्त्रलाई उक्त घटना छानविन गर्न साथ र सहयोग गर्न हार्दिक अपिल गर्दछ ।’
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाने विषयमा रिजिट भएर बस्न मिल्ने बताएका छन् । संसदीय दलको नेता चयन गर्ने बैठकमा बुढानिलकण्ठमा बोल्दै लामिछानेले परिस्थिति हेरेर सरकारमा जाने विषयमा निर्णय गरिने बताए । ‘हामी सरकारमा जाँदै जाँदैनौं वा जान हुँदैन भनेर रिजिट भएर बस्न हुँदैन । त्यो फेरि सरासर गलत हुन्छ’ लामिछानेको भनाई उदृढ गर्दै एक सांसदले भने,‘अहिलेको व्यवस्था र संसदीय अंकगणितमा हाम्रो पार्टी निर्णाक छ । हाम्रा कारणले सरकार नबन्ने स्थिति भएमा समर्थन गरेर सरकारमा जाने हुन सक्छ ।’ अहिलेको संसदलाई पुरा कार्यकाल चल्नेगरी पार्टीको तर्फबाट सरकारमा जानु परेमा जान सकिने लामिछानेले बताए । सरकारमा जान वा नजाने पुराना दलको निर्णयमा भर पर्ने बताए । यदि हामी सरकारमा गएमा निर्सत नजाने उनले स्पष्ट पारेका थिए ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका छन् । सोमबार पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका हुन् । उनले आफूहरूले सरकारमा नजाने भनेर कसम पनि नखाएको भन्दै आगामी दिनमा के गर्दा आफ्नो मान्यताहरु स्थापित हुन्छन् सोही गर्ने बताए । उनले आफूहरू मन्त्री खानको लागि कसैको घर नधाउने स्पष्ट पारे । अध्यक्ष लिङदेनले राप्रपा कुनै दलको पुच्छर नबन्ने पनि बताए । उनले सरकारमा जानुपरेमा वा कसैलाई समर्थन गर्नुपरेमा कारणसहित गर्ने उल्लेख गरे । अध्यक्ष लिङ्देनले राप्रपाको उकालो यात्रा शुरु भएको बताए । उनले आगामी दिनमा सतर्कतापूर्वक अगाडि बढ्दै पार्टीलाई पहिलो बनाउने बताए । उनले पार्टीले अझै मत ल्याउनुपर्ने भन्दै प्राप्त भएको मत परिणाम बाट आफू सन्तुष्ट नभएको उल्लेख गरे । पार्टीलाई ठिक ढंगले परिचालन गर्न नसक्दा प्राविधिक रुपमा धेरै मत नआएको भन्दै उनले जनताको मन भने जितेको बताए । लिङ्देनले राप्रपा सुध्रिएको हो कि होइन भनेर जनताले परीक्षण गर्नका लागि यसपटक यति मत दिएका उल्लेख गरे । अध्यक्ष लिङदेनले नवनिर्वाचित सांसदहरुलाई विदेशी दुतावासहरुले कार्यक्रमहरुमा बोलाएमा पार्टीको अनुमति बिना नजान निर्देशन दिए । दुतावासले बोलाएर रक्सीमासु खुवाउने भन्दै उनले त्यस्तो नगर्न आग्रह गरे । उनले सांसदहरुलाई अनुशासन र मर्यादामा बस्न दिर्नेशन दिए । उनले पार्टीमा योगदान गरेका र क्षमता र सम्भावना भएका नयाँ व्यक्तिहरुलाई सांसद बनाइएको बताए । पार्टीमा नयाँ मानिसहरुलाई पनि अवसर दिनुपर्ने र फराकिलो दृष्टिकोण राख्नुपर्ने उनको भनाई छ । पार्टी सदस्यहरुले पनि कडाइपूर्वक पार्टी अनुशासनको पालना गर्नुपर्ने उनले बताए ।
उदयपुर: उदयपुरमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका १० मा सोमबार बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका हुन् । दुर्घटनामा गम्भीर घाइते भएका उदयपुरकै ताप्ली गाउँपालिका १ का ६५ वर्षीय मिनबहादुर सार्कीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । अन्य घाइतेहरूलाई उपचारको लागि कटारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । प्रदेश २–०१–००१ च ००५० नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट करिब एकसय मिटर तल खसेको थियो । बोलेरो चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
काठमाडौं: सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से ३.८३ अंक (०.२१ प्रतिशत) ले वृद्धि हुँदा १८५८.८९ अंकमा बन्द भएको छ । आइतबार २७ अंकको उच्च गिरावट भएको बजार परिसूचक नेप्से सोमबार भने उतारचढावका बीच सामान्य वृद्धि भएर बन्द भएको छ । नेप्सेमा सामान्य सुधार भएपनि कारोबार रकम भने घटेको छ । आइतबार नेप्सेमा गिरावटका बाबजुत १ अर्ब १५ करोडको कारोबार भएको बजारमा सोमबार भने कारोबार रकम घटेको हो । सोमबार नेप्सेमा २६ लाख ९९ हजार ३३१ कित्ता सेयर किनबेच हुँदा ८८ करोड ६० लाख ९८ हजारको कारोबार भएको छ । अधिकांश उपसूचकमा वृद्धि भएपनि बजारलाई लिड गर्ने बैंकिङ, हाइड्रोपावर, लघुवित्त र व्यापार उपसूचकमा गिरावट भएको छ । बैंकिङ उपसूचक ०.०३ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.०५ प्रतिशत तथा लघुवित्त उपसूचक ०.३२ प्रतिशत तथा व्यापार उपसूचक ०.०५ प्रतिशतले गिरावट भएको छ । यता अन्य उपसूचक सर्वाधिक १.९५ प्रतिशतले वृद्धि भएको छ । सोमबार बजारमा कारोबार भएकामध्ये प्राइम कमर्सियल बैंकको सर्वाधिक ६ करोड ९३ लाख ४३ हजारको कारोबार हुँदा फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको ५ करोड ४९ लाख ४३ हजार र हिमालयन डिस्टिलरीको ४ करोड २७ लाख ९० हजारको कारोबार भएको छ । सोमबार नेप्सेमा २११ कम्पनीको सेयर कारोबार हुँदा १२५ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ७२ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा १४ कम्पनीको सेयर मूल्य स्थिर छ । सोमबार धौलागिरी लघुवित्तको सेयर मूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा खप्तड लघुवित्तको सेयर मूल्य ६।०८ प्रतिशत र सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य ५।९८ प्रतिशतले वृद्धि भएको छ । यता इस्टन हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ७.९७ प्रतिशतले गिरावट हुँदा ३० प्रतिशत लाभांश प्रस्ताव गरेको फरवार्ड माइक्रोफाइनान्सको सेयर मूल्य ६.७६ प्रतिशतले गिरावट भएको छ । यस्तै ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को इकाइमूल्य ७.७२ प्रतिशतले गिरावट भएको छ ।

