काठमाडौं:  गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ ।  मन्त्रालयले आज विज्ञप्ति जारी गरी भनेको छ, &l...

पोखरा:  पहिलो पाइला नेपाल पोखरा शाखाको आयोजना र धौलागिरि सम्पर्क समाज पोखरा विश्वविद्यालय सहयोगि संस्थाको भुमिकामा रहेर आयोजना भएको ‘चिया पिउँदै समाजसेवा’अभियान बिहिबार पोखरा विश्वविद्यालयमा संपन्न भएको छ।  पहिलो पाइला नेपालका कार्य समिति सदस्य साथसाथै धौलागिरि सम्पर्क समाजका सचिव विकास जंग कुवरले कार्यक्रममा पोखरा विश्वविद्यालय विद्यार्थीहरुको भव्य उपस्थिति रहेको जनाउदैँ  कार्यक्रमलाइ सफलताका साथ सम्पन्न गर्न साथ दिने सम्पूर्णलाइ आभार व्यक्त गरे।  कार्य्रक्रममै कुवरले अभियानबाट पहिलो पाइलाका संयोजक समियुन निशालाई उठेको कुल रकम २३,८४० हस्तान्तरण गरेका थिए ।  ‘यस अभियान बाट उठेको  रकम गरिब तथा विपन्न वर्गका बालबालिकालाइ जाडोमा न्यानो कपडा वितरणमा,बालबालिकालाई र क्यान्सर पीडित हिमा कुमारी आलेलाई सहयोग गरिने’ निशाले बताइन ।

काठमाडौं:   काठमाडौंको सिनामंगलमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–९ सिनामंगल कार्गो गेट अगाडि बा ५ ख ५६२२नम्बरको बसको ठक्करबाट काभ्रे घर भई काठमाडौंको सिनामंगल बस्ने बस्ने ४२ वर्षीय रामकृष्ण रञ्जितकारको मृत्यु भएको प्रहरीले जनाएको छ । गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।

काठमाडौं:  महिला राष्ट्रिय टिमका ३ जना फुटबलर आई लिग खेल्न भारत प्रस्थान गरेका छन् । राष्ट्रिय महिला टोलीकी गोलकिपर एन्जिला तुम्बापो सुब्बा, फरवार्ड सावित्रा भण्डारी साम्बा र डिफेन्डर गिता राना भारतीय लिग (आई लिग) खेल्न बिहीबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् । सावित्रो गोकुलम केरेला एफसीमा अनुबन्ध छिन् भने एन्जिला र गिताले सेथु एफसीबाट खेल्नेछन् । आइ लिग माघ १ गतेदेखि फागुन ३ गतेसम्म भारतको केरेलामा हुनेछ । गोकुलमबाट सावित्राले दोस्रो पटक पनि मौका पाएकी हुन् । गत वर्ष भने उनी घुँडाको चोटका कारण फुटबलबाट टाढा रहेकी थिइन् । दुई वर्षअघि गोलकुलम आई लिग च्याम्पियन बन्दा सावित्रा सर्वाधिक गोलकर्ता बनेकी थिइन् । त्यसअघि उनी आबद्ध सेथु पनि आई लिग च्याम्पियन बनेको थियो । एन्जिला र गिताले भने पहिलो पटक भारतीय लिगमा खेल्न लागेका हुन् ।

काठमाडौं:  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नागरिकस्तरसम्म विकासको अनुभूति गराउन प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । उनले प्रदेश सरकारसँगसँगै स्थानीय तहलाई हिँडाउनुपर्ने समेत जोड दिएका छन् । मङ्सिर २८ गते बेलायती सरकारको सहयोगमा निर्मित ६७ किलोमिटर मुगु गमगढी–हुम्ला चङ्खेली गाउँपालिकाको देउलीसम्मको ग्रामीण सडक अवलोकनमा मुगु पुगेका मुख्यमन्त्री शाहीले जनताको चुल्हो नजिकको स्थानीय तह र आँगन नजिकको प्रदेश सरकारको समन्वय र सहकार्यबाट मात्र जनताको आवश्यकता अनुरुपको विकास हुने उनले बताए । “हामीले यो तीन दिनसम्म मुगुका ४५ वडाअध्यक्षलाई राखेर सुशासनसम्बन्धी कार्यक्रम गरेका छौँ”, मुख्यमन्त्री शाहीले भने, “त्यसमा प्रदेश सरकारले गरेका विशेष कार्यक्रमका विषयमा पनि आवश्यक छलफल भएको छ ।” स्थानीय सरकारलाई साथमै लिएर मात्र प्रदेश सरकारका कार्यक्रमहरूलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने उनले बताए । उनका अनुसार नेपालकै आकर्षक पर्यटकीय गन्तव्यस्थल राराको साइकल ट्रेलको अनुगमन भएको र तत्काल काम अगाडि बढाउने निर्देशन दिइएको छ । त्यस्तै, प्रदेश सरकार अन्तर्गत सञ्चालन भएका विभिन्न योजना तथा कार्यक्रमको निरीक्षण गरिएको बताउँदै उनले कार्यालय प्रमुखलाई बेलैमा योजना सम्पन्न गर्ने गरी काम गर्न निर्देशन दिइएको बताए ।

पोखरा:   पोखरा महानगरपालिका वडा नं –१५ र आई एनएफ नेपाल बिच थप ‘स्वास्थ्य सेवा’ विस्तारका लागि सहमति भएको छ । पोखरा –१५ को वडा कार्यालयबाट अतिरिक्त स्वास्थ्य सेवा दिँदै आइरहेको स्वास्थ्य केन्द्रको थप सेवा बिस्तारका लागि वडा अध्यक्ष तोरण बहादुर बानियाँ र आई एनएफ नेपालका कार्यकारी निर्देशक कृष्ण बहादुर अधिकारी बिच सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमति अनुसार आई एनएफले प्रदान गर्ने ३ लाख ६० हजार रुपैयाँ उक्त स्वास्थ्य सेवा केन्द्रको स्वास्थ्य सम्बन्धी उपकरण, भौतिक संरचना तथा औषधी खरिदका लागि खर्च हुनेछ । सहमति पत्र बुझ्दै वडा अध्यक्ष बानियाँले स्वास्थ्य केन्द्रको सेवा विस्तारका लागि वडाले सहयोगको माग गरेको र आफूहरूको मागलाई सहर्ष स्वीकार गरी आई एनएफले सहयोगका लागि अग्रसरता देखाएकोमा खुसी व्यक्त गरे । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिचित वडा नं –१५ को ठुलो एरियामा फैलिएर नागरिकलाई विगत ७० वर्ष देखि विशिष्ट सेवा दिँदै आइरहेको उक्त संस्था अवस्थित वडाको जनप्रतिनिधि भएर सहकार्य गर्दै अगाडी बढ्न पाउँदा गौरवान्वित भएको प्रतिक्रिया दिए । उनले वडा नं –१५ लाई भवनमा बस्ने तथा करोडौँका गाडी चढ्ने व्यक्ति र झुपडीमा बस्ने व्यक्तिले पनि स्थानीय सरकारको अनुभूति गरोस् भन्ने हिसाबले हाल वडाले मानवीय विकासमा प्रत्यक्ष असर गर्ने खालका कार्यक्रमहरू ल्याएको बताउँदै यहाँका सङ्घ संस्था स्थानीय लगायत सबैको समन्वय र सहकार्यमा ती कार्यक्रमहरूलाई पूरा गर्न कोसिसमा लागिरहेको बताए । आई एनएफ नेपालका कार्यकारी निर्देशक कृष्ण बहादुर अधिकारीले नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि अहिलेको माहौल हेर्दा फरक अनुभव गरेको प्रतिक्रिया दिए। उनले वडाले प्रस्तुत गरेका परिकल्पना र पछिल्ला सकारात्मक गतिविधिलाई असल नेतृत्वकोको संज्ञा दिँदै वडा नं –१५ को दिगो सोचलाई अगाडी बढाउनका लागि सहकार्य गर्न तयार रहेको बताए । यस्तै, आई एनएफ नेपालका मेडिकल सर्भिसेस तथा निर्देशक डा. अरुण कुमार बुढाले हरियो खर्क अस्पताल कुनै समय नेपालमै नभएको विशेषज्ञता भएको अस्पताल रहेको भन्दै यसलाई समय अनुसार अझ विस्तारित गर्दै लगिने बताए । उनले अहिलेको ठुलो समस्या भनेको नसर्ने रोगको समस्या रहेको र शहर गाउँ भन्दा नसर्ने रोगको ठुलो समस्या बोकेको ठाउँ भएको कारण यहाँको वडा, विद्यालय, सहरी स्वास्थ्य कार्यालय तथा यहाँका सबै पक्षहरूसँग मिलेर आगामी कार्यक्रमहरू अगाडी बढाउने बताए । कार्यक्रममा आई एनएफ नेपालका मानव संसाधन विकास व्यवस्थापक लेखनाथ केसी, प्रशासन तथा सम्पर्क सहायक चूडामणि पौडेल, वडा सदस्य बलराम पौडेल, वडा सचिव आविष्कार पौडेल, विष्णु प्रसाद लामिछाने लगायतको उपस्थिति रहेको थियो भन,े सहरी स्वास्थ्य केन्द्रका प्रमुख कृष्ण बास्तोलाले केन्द्रले दिँदै आइरहेको सेवा तथा समस्याका बारेमा बोलेका थिए । स्वास्थ्य केन्द्रले हाल बहिरंग, खोप सेवा, गर्भवती महिलाको जाँच, ल्याब, क्षयरोगको औषधी लगायतका सेवाहरू दिइरहेको छ । यसअघि पनि संस्थालाई आई एनएफ, हेप्पी होम, अनुग्रह लगायतका सङ्घ संस्थाले सहयोग गरेका थिए ।

पोखरा:  पोखरा ११ काँहुडाडालाई पर्यटकिय केन्द्र बनाउने योजनासहित गठित धर्मकाया बुद्धमण्डला विकास तथा व्यवस्थापन समितिको सातौं वार्षिक साधारणसभा बिहिबार पोखरामा सम्पन्न भएको छ । पोखरा ३ नदिपुरस्थित धर्मशिला बुद्ध बिहारमा आयोजित साधारणसभाको प्रमुख अतिथि समितिका सल्लाहकार शंकर गुरुङले दीप प्रज्जलन र विहारका भिक्षु धजवन्तले मन्त्रोबाचन गरी उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि शंकर गुरुङ, सल्लाहकारहरु तिथ श्रेष्ठ, बिलबहादुर गुरुङ र कर्णेल राजकाजी गुरुङले शुभकामना व्यक्त गर्नुभएको थियो। समितिका सचिव पुर्ण लामा र कोषाध्यक्ष श्याम शाक्यले प्रस्तुत गर्नुभएको वार्षिक र आर्थिक प्रतिवेदन साधारणसभाले पारित गरेको थियो। धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिका अध्यक्ष रुद्रकुमारी(मैना) गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रबाट सम्मानित र निर्वाचित समितिका पदाधिकारी एवम सदस्यहरुलाई बधाई ज्ञापन गरिएको थियो भने उपाध्यक्ष भरतराज शाक्यले स्वागत र सचिव पुर्ण लामाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

काठमाडौं:  आम निर्वाचन ०७९ अन्तर्गत प्रतिनिधिसभातर्फ समानुपातिकमा ४० वटा राजनीतिक दलको जमानत जफत भएको छ । समानुपातिकतर्फ कम्तीमा एक सिट जित्न नसकेका दलहरूको जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ । यसपटक प्रतिनिधिसभामा ४७ दल सहभागी थिए ।  राजनीतिक दलसम्बन्धी ऐन, ०७३ को दफा ५२ मा प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने व्यवस्था बमोजिम यस निर्वाचनबाट सात वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका छन् ।

काठमाडौं:  साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार १४.४८ अंकले घटेको बजार १८८२.६० बिन्दुमा झरेको हो । बिहीबार २५४ धितोपत्रको २२ हजार ३७४ कारोबारबाट ४८ लाख ४ हजार २७९ हजार कित्ता सेयर किनबेच भएको छ । बिहीबार १ अर्ब १९ करोड २६ लाख १६ हजार १८७ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार सबै उपसूचकहरु घटे । सबैभन्दा धेरै वित्त उपसूचकको सेयर मूल्य घटेको छ । बिहीबार रुरु जलविद्युत परियोजनाको मूल्य ९.९९ प्रतिशतले बढेर ८१७.१० रुपैयाँ कायम भएको छ । इस्टर्न हाइड्रोपावरको ९.९७, माउन्टेन इनर्जीको ७.६१ प्रतिशतले मूल्य बढेको छ । बिहीबार पिपुल्स हाइड्रोको मूल्यमा नकारात्मक सर्किट लाग्यो । नबिल ब्यालेन्स्ड फण्ड २ को ७.२३, लक्ष्मी इक्विटी फण्डको मूल्य ५.६५ प्रतिशतले घटेको छ । यो साताभर बजारमा उतारचढाव देखिएको छ ।

गण्डकी: सामुदायिक वनको दिगो विकाससंगै मुलुकको समृद्धिको आधार बनाउनु पर्नेमा आज पोखरामा आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपालद्धारा आयोजित दिगो वनको निती व्यवस्थापनमा स्थानीय, उद्यम र  विकास सम्वन्धी अन्तर सम्वाद कार्यक्रमकका बक्ताहरुले प्राकृति श्रोतलाई आयआर्जन र रोजगारसंग जोड्दै गरिबी न्यूनिकरणमा जुट्नु पर्नेमा जोड दिएका हुन ।  अप्ठेरो सरकारी नितीका कारण अमुल्य वन पैदावार उपयोग विहिन हुने र वर्षेनी विदेशी काठ आयातमा अरवौ रुपैया वाहिरिने अवस्थाको अन्त्य हुनु पर्नेमा जोड दिंदै बक्ताहरुले यसका लागि तीनै तहका सरकार र सामुदायिक वन समुह बीच सहकार्यको खाँचो औल्याए । वनको संरक्षण सम्वद्र्धन र उपयोग गर्दै आएका उपभोक्तालाई सर्वसुलभ तरिकाले वनपैदावारको प्रयोग र विक्री वितरणमा समेत सहज वातावरण तयार गरेर वनमा आधारित उद्योग स्थापना गर्नु पर्नेमा सहभागिले सामुहिक प्रतिवद्धता व्यक्त गरेका थिए ।  सामुदायिक वन उपभोक्ता महासंघ नेपालका महासचिव बिर्खबहादुर शाहीले सरकारीतर्फबाट संरक्षण गर्न नसकेपछि उपभोक्तालाई हस्तान्तरण गरिएका सामुदायिक वनहरु यतिखेर हराभरा भएको उल्लेख गर्दै अव यसलाई आयआर्जनको माध्यम बनाउनुको विकल्प नभएको बताउनुभयो । काठजन्य वस्तु, जडिवुटी, कार्वन व्यापार, इको टुरिजम, आर्थिक सामाजिक र वन्यजन्तु व्यवस्थापनमा आजको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि सवैको साथ र सहयोगको खाँचो औल्याउनुभयो । कार्यक्रममा महासंघका सचिव ठाकुर भण्डारीले संँघीय वन नियमावलीले सामुदायिक वनको पैदावार उपयोग र उद्यम सञ्चालनमा अप्ठेरो परिस्थिति सिर्जना भएको बताउँदै प्राकृति श्रोतलाई समृद्धिसंग जोडन सर्वसुलव कानूनी व्यवस्था हुनुपर्ने आवश्यकता औल्याउनुभयो । कार्यक्रममा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका सदस्य सचिव डा. सिन्दु ढुंगानाले दिगो वन व्यवस्थापन र अन्तराष्ट्रिय वन विज्ञ डा. गंगाराम दाहालले वन र भूमि स्वामित्वका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष घनश्याम पाण्डे,महासंघ गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदी लगायतले प्राकृतिक श्रोतको भण्डार वन श्रोतलाई भरपुर उपयोग गर्दै समाजका आदिवासी जनजाति तथा स्थानीय उपभोक्ताको जिविकोपार्जनको माध्येमकारुपमा विकास गरिनु पर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका तीनै तहका पदाधिकारी तथा प्रतिनिधि, प्रदेश अन्तर्गत विभिन्न जिल्लाका डिभिजन बन कार्यालयका अधिकृत, आदिवासी जनजाति महासंघ लगायतको सहभागिता रहेको थियो ।