लोमान्थाङमा पर्यटक सूचना केन्द्र सञ्चालन
म्याग्दी | असोज १२, २०८१
म्याग्दी: मुस्ताङको लोमान्थाङमा पर्यटक सूचना केन्द्र सञ्चालन भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङको कार्यालय भवनमा केन्द्र स्थापना भएको हो ।
लोमान्थाङ भित्र्ने पर्यटकहरूलाई ऐतिहासिक, धार्मिक, पर्यटकीयस्थल, संस्कृति, जैविक विविधता, वन्यजन्तु, पक्षी, भौगोलिक विविधतालगायतका विषयमा जानकारी गराउने उद्देश्यले केन्द्र सञ्चालन गरेको एक्याप लोमान्थाङका रेञ्जर मदन पौडेलले बताउनुभयो ।
“ऐतिहासिक बस्ती लोमान्थाङमा आउने पर्यटकलाई यहाँको विविध पक्षका बारेमा जानकारी लिन सहज होस् भन्ने उद्देश्यले सूचना केन्द्र सञ्चालन गरिएको हो,” उहाँले भन्नुभयो, “केन्द्रबाट पर्यटकहरूलाई गन्तव्य, आवास सुविधाको विषयमा पनि परामर्श र सूचना उपलब्ध गराउँछौँ ।”
एक्यापका कर्मचारी रहने केन्द्रमा लोमान्थाङ र आसपासका ठाउँको भौगोलिक नक्सा, ऐतिहासिक, धार्मिक, पर्यटकीयस्थल, गुफा, गुम्बा, कला, संस्कृति झल्कने तस्बिर, त्यसको महत्त्व, अवस्थिति, पुग्न लाग्ने समय र खानबस्नको सुविधालगायत विषयमा जानकारीमूलक बोर्ड राखिएको छ । कर्मचारीले पर्यटकलाई पदमार्गसम्बन्धी अन्योलमा परामर्श दिने, मद्दत, सहजीकरण तथा समन्वय गर्नेछन् ।
माटोको पर्खालभित्र रहेको ऐतिहासिक बस्ती, दरबार र गुम्बा, सांस्कृतिक राजा, मुखिया परम्परा, तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो संस्कार र जीवनशैली लोमान्थाङको आकर्षण हो । माटोको पर्खालभित्र करिब २०० घरधुरी रहेको यहाँको बस्ती करिब छसय वर्ष पुरानो भएको वडाअध्यक्ष ढुढुके बिष्टले बताउनुभयो ।
मुस्ताङी राजा आमे पालले इस १४४० मा निर्माण गरेको पाँचतले लोमान्थाङ दरबार माटोको पर्खालभित्रै छ । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा सांस्कृतिक राजा अस्तित्वमा छन् ।
१५औँ शताब्दीमा निर्माण भएको थुप्तेन, छयोदेन र झयाम्पाल गुम्बा पनि लोमान्थाङको ऐतिहासिक र धार्मिक सम्पदा हुन् । काठ, ढुङ्गा, माटोले बनेका गुम्बाभित्र कलात्मक थाङ्का र मूर्तिहरू छन् ।
विसं २०८१ को वैशाखदेखि भदौसम्म दुई हजार ११ जना विदेशी पर्यटकले लोमान्थाङ समेटिएको उपल्लो मुस्ताङको भ्रमण गरेका ९एक्याप० लोमान्थाङको तथ्याङ्क छ । सन् २०२३ मा ७० देशका तीन हजार चार सय ८४ जना विदेशी नागरिक उपल्लो मुस्ताङ घुमेका थिए ।
सन् २०२२ मा तीन हजार ११२, सन् २०२१ मा ३३२, सन् २०२० मा ६२ र सन् २०१९ मा तीन हजार ९१८ जना विदेशी उपल्लो मुस्ताङ पुगेका थिए । सन् २०१७ मा हालसम्मकै बढी चार हजार ११५ जना विदेशी नागरिकले उपल्लो मुस्ताङको भ्रमण गरेका थिए ।
सरकारले सन् १९९२ देखि उपल्लो मुस्ताङलाई विदेशी नागरिकलाई अनुमति र शुल्क तिरेर निश्चित समयसम्म घुम्न पाउने व्यवस्था मिलाएको थियो ।
लोमान्थाङ, लोघेकर दामोदरकुण्डको सबै र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को साबिक छुसाङ गाविस र वडा नं ५ को साङ्तालाई सरकारले निषेधित क्षेत्र तोकेको छ ।
उपल्लो मुस्ताङ भ्रमण गर्न नेपाली बाहेकले अध्यागमन विभागलाई पाँच सय अमेरिकी डलर शुल्क तिरेर १० दिनका लागि विशेष किसिमको अनुमति लिनुपर्ने नियम छ । दस दिनभन्दा बढी भ्रमण गर्न प्रतिदिन ५० डलरका दरले शुल्क तिर्नुपर्ने नियम छ ।
पोखरा । सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको सहकार्यमा ‘सञ्चारमा वेलनेस हिलिङको महत्व’ विषयक एकदिने अन्तरक्रिया तथा...
वर्षा हुने क्रम बढेसँगै देशका विभिन्न स्थानमा बाढी-पहिरोको जोखिम हुने सम्भावना पनि बढेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) काठमाडौँसहित देशका ३७ जिल्ला र त्यसआसपासका खोला/...
पोखरा । पोखरामा सम्पन्न फाइभ ए साइड एमेच्योर फुटसल प्रतियोगितामा एन डलर एफसी च्याम्पियन बनेको छ । रानीपौवा स्पोर्टस् सेन्टरमा शनिबार भएको फाइनल खेलमा मित्रबन्धु एक्स गेम हाउसलाई...

