काठमाडौं: आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपाल थाइल्यान्डसँग ४६ रनले पराजित भएको छ । यो हारसँगै नेपाल विश्व कपको ग्लोबल टी–२० छनोटमा पुग्न असफल भएको छ । सन् २०२४ मा हुने ग्लोबल टी–२० छनोट हुँदै विश्व कप खेल्ने नेपालको लक्ष्य पूरा हुन सकेन । जितसँगै थाइल्यान्ड फाइनलमा पुगेको छ भने उसले ग्लोबल छनोटमा स्थान बनाएको छ । मलेसियाको बाङ्गीमा थाइल्यान्डले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर ३ बलमा ५९ रनमा अलआउट भयो । नेपालका कविता कुँवरले अविजित १७ रन बनाइन् । कविता जोशी र अप्सरी बेगमले समान १०/१० रन जोडे । अन्य नेपाली खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो । थाइल्यान्डका नानपाट खोन्चारोएनकाईले ६३ बलमा अविजित ५९ रनको अर्धशतकीय पारी खेलिन् । नट्थाकन चान्थम्ले ४५ बलमा ३१ रन बनाइन् । नेपालका कविता कुँवर र पूजा महतोले समान एक/एक विकेट लिए । आज भएको अर्को खेलमा यूएईले हङकङलाई ५७ रनले हराएर फाइनलमा पुगेको छ । प्रतियोगिताको उपाधिका लागि भोलि यूएई र थाइल्यान्डबीच खेल हुनेछ । यी दुवै टोली ग्लोबल टी–२० छनोटमा पुगेका छन् । सन् २०१३ देखि शुरु भएको ग्लोबल छनोटमा एसिया क्षेत्रबाट थाइल्यान्ड र यूएईले खेल्दै आएका छन् ।
पोखरा: विश्वकै अग्लो उचाइमा रहेको दाबी गरिएको मुस्ताङको लोवाथाङ मुस्ताङ गल्फ कोर्समा भदौं ३० गते दोस्रो संस्करणको गल्फ च्यालेन्ज हुने भएको छ । मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित मुस्ताङ लोवाथाङ मुस्ताङ गल्फ कोर्सलाई वल्र्ड रेकर्ड कायम गराउन भदौं ३० गते दोस्रो संस्करणको गल्फ च्यालेन्ज हुन लागेको जानकारी दिएको हो । खेलकुदलाई पर्यटनसँग जोड्नका लागि लोवाथाङमा मुस्ताङ गल्फ कोर्स निर्माण गरेर दोस्रो संस्करणको गल्फ च्यालेन्स आयोजना गरिएको पूर्व प्रदेश सांसद इन्द्रधारा विष्टले बताए । ‘वर्षायाममा पोखरा लगायत तल्लो क्षेत्रमा, असार देखि असोजसम्म गल्फको मौसम छैन, यसैलाई ध्यान केन्द्रीत गर्न मुस्ताङ पुग्ने पर्यटकलाई जोड्न पनि गल्फ कोर्स निर्माण गरेका हौं, विष्टले भने, ‘खेलकुदलाई पर्यटनसँग जोड्ने हाम्रो लक्ष्य छ त्यसैलाई पूरा गर्न दोस्रो संस्करणको गल्फ च्यालेन्ज आयोजना गर्दै छौं ।’ उनले दोस्रो संस्करणको गल्फ च्यालेन्स सम्पन्न भएपछि भारतको पूर्वी सिक्किममा रहेको याक गल्फ कोर्सको पूरानो किर्तिमानीलाई तोड्ने बताए । ‘लोवाथाङ स्थित मुस्ताङ गल्फ कोर्स समुन्द्र सहतबाट ४६४५(१५२३९.५ फिट) उचाईमा रहेको छ’, उनले भने, ‘यस कोर्समा दोस्रो संस्करणको गल्फ च्यालेन्स सम्पन्न भए, भारतको पूर्वी सिक्किमको कु–पुपमा रहेको (३९७०) याक गल्फ कोर्सको पूरानो किर्तिमानीलाई तोड्दै विश्वको उच्च उचाईमा रहेको गल्फ कोर्सको रुपमा दर्ज हुनेछ ।’ भारतको पूर्वी सिक्किमको याक गल्फ कोर्षलाई सर्वाधिक उचाईको गल्फ कोर्स मानिदै आएको छ । लोवथाङस्थित मुस्ताङ गल्फ कोर्समा दोस्रो संस्करणको गल्फ कोर्स सम्पन्न भए ‘मुस्ताङ गल्फ कोर्स’ विश्वकै सर्वाधिक उचाईमा दावी गर्दै ‘गिनिज बुक्स अफ वल्र्ड रेकर्ड’मा दर्ज गर्ने तयारी गरिएको छ । भदौं ३० गते हुने दोस्रो संस्करणको गल्फ च्यालेन्समा काठमाडौं, पोखरा धरान र बुटवल लगायतका ४० खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् जसमा ४ जना महिला रहेको आयोजकले जनाएको छ । इभेण्ट नौ होलमा ३÷४ ह्याण्डि क्यापको साथ स्थिर फोर्ड ढाँचामा खेलाइनेछ । प्रतियोगितामा ‘होल इन वन’को विजेतालाई घोडा वा सो बरावरको रु एक लाख नगद पुरस्कार प्रदान गरिने पूर्वसांसद विष्टले बताए ।
काठमाडौं: आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल समूह ‘ए’ बाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । मलेसियामा आज नेपाल र युएईबीच हुनुपर्ने खेल वर्षाका कारण रद्द भएसँगै नेपाल उपविजेता बन्यो । आजको खेलमा विजेता टोली समूह ‘ए’ को विजेता बन्ने समीकरण रहेको थियो । तर, खेल हुन नसकेपछि दुवै टोलीले एक/एक अंक बाँडेका छन् । दुई देशको समान ९/९ अंक भए पनि युएई नेटरन रेटमा अघि रहेकाले समूह विजेता भयो । यसअघि लगातार चार खेल जितेका दुवै टोली एक खेल अगावै सेमिफाइनलमा पुगिसकेका थिए । नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन, दोस्रो खेलमा बहराइनलाई १० विकेट, तेस्रो खेलमा भुटानलाई ३ विकेट र चौथो खेलमा कतारलाई ८ विकेट हराएको थियो । प्रतियोगितामा सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् । यो खेलको फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।
काठमाडौं: नेपालले एसिया कपमा विश्व क्रिकेटको पावर हाउस भारतलाई २ सय ३१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४८.२ ओभरमा २ सय ३० रनमा अल आउट भयो । नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेख ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रनको योगदान दिए । अर्का ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रनको आक्रामक इनिङ खेलेका थिए । सोमपाल कामीले ५६ बलमा १ चौका र २ छक्कासहित ४८ रनको महत्वपूर्ण योगदान दिए । नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै ड्रिम सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर शार्दुल ठाकुरको बलमा कुशल एज लाग्दै आउट हुन पुगे । त्यसपछि नेपालले राम्रो साझेदारी गर्न सकेन । त्यसअघि नेपाली ओपनरले तीन जीवनदान पाएका थिए । कुशल भुर्तेललाई दोस्रो ओभरमै श्रेयस ऐरले फस्ट स्लिपमा एक र ईशान किशनले ७ रनमा छाडेका थिए । त्यस्तै आसिफ शेखलाई एक रनमा विराट कोहलीले एक्स्ट्रा कभरमा क्याच छाड्दै जीवनदान दिएका थिए । सुरुवाती पाँच ओभरमा तीन जीवनदान पछि नेपाली ओपनरले आक्रामक ब्याटिङ थालेका थिए । स्पिनर रविन्द्र जडेजाको १६ औं ओभरको अन्तिम बलमा भीम सार्की इनसाइड एज लाग्दै ७ रनमा बोल्ड आउट हुन पुगे । स्पिनर रविन्द्र जडेजाको २० औं ओभरको अन्तिम बलमा रोहित पौडेल एज लागेर रोहित शर्माबाट क्याच आउट हुन पुगे । जडेजाको २२ औं ओभरको पाँचौं बलमा कुशल मल्ल ठूलो सट खेल्ने धुनमा मिडअफमा २ रनमा क्याच आउट भएका थिए । कुशल मल्ल आउट हुँदा नेपाल १०१–४ को अवस्थामा पुगेको थियो । ८८ बलमा अर्धशतक प्रहार गरेका आसिफ तीव्र गतिका बलर मोहम्मद शिराजको ३० औं ओभरको पाँचौं बलमा टप एज लागेको बल कोहलीले सर्ट कभरमा एक हातले क्याच लिन पुगे । गुलशन झा शिराजको बलमा २३ रनमा कट बिहाइन्ड हुन पुगे । गुलशनले ३५ बलमा ३ चौका प्रहार गरे । ३१.५ ओभरमा १४४–६ को अवस्थामा पुगेको नेपाललाई सातौं विकेटका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले ५० रनको साझेदारी गर्दै २ सय रनको आंकडा पार गराएका थिए । दीपेन्द्र २५ बलमा ३ चौकासहित २९ रनमा हार्दिक पान्ड्याको बलमा एलबीडब्लू आउट भए । सन्दीप लामिछाने ९ रनमा रन आउट भए । करण केसी २ रनमा नटआउट रहे । भारतका रविन्द्र जडेजाले १० ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । मोहम्मद शामीले ९ ओभरमा १ मेडनसहित ६० रन खर्चेर २ विकेट लिए । शार्दुल ठाकुर र मोहम्मद शामीले एक एक विकेट लिए । मोहम्मद शिराजले ९.२ ओभरमा १ मेडनसहित ६१ रन खर्चेर ३ विकेट लिए । शार्दुल ठाकुर, हार्दिक पान्ड्या र मोहम्मद शामीले एक एक विकेट लिए ।
काठमाडौं: एसिसी एसिया कपअन्तर्गत नेपाल र भारतबीच भइरहेको खेल वर्षाका कारण पुनः खेल रोकिएको छ । ३७.५ आभेरमा नेपाल १७८-६ को स्थितिमा छ । दीपेन्द्रसिंह ऐरी २७ रन र सोमपाल कामी ११ रन बनाएर क्रिजमा छन् । श्रीलंकाका पालेकेले रंगशालामा नेपालका ओपनर आसिफ शेख अर्धसतक बनाएर आउट भएका छन् । आसिफ ९७ बलमा ५८ जोडेर पेभिलियन फर्किएका हुन् । यसअघि आसिफले ८८ बलमा सात चौकासहित ५० रन बनाएका थिए । ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका थिए । पहिलो विकेटको लागि कुशल र आरिफबीच ५९ बलमा ६५ रनको साझेदारी भएको थियो । भिम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ र कुशल मल्ल २ रन, गुल्शन झा २३ रन बनाएर पेभिलियन फर्किएका छन् । भारतका रविन्द्र जडेजाले तीन तथा मोहम्मद रिजाले दुई विकेट लिएका छन् ।
काठमाडौं: नेपालका ओपनर आसिफ शेखले एसिया कपमा भारतविरुद्ध अर्धशतक प्रहार गरेका छन् । आसिफले ८८ बलमा आफ्नो ओडिआई करिअरको १० औं अर्धशतक प्रहार गरेका हुन् । आसिफ ८९ बलमा ८ चौकासहित ५५ रनमा क्रिजमा छन् । गुलशन झा २३ बलमा १ चौकासहित १२ रनमा क्रिजमा छन् । पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २८ ओभरमा ४ विकेट गुमाउँदै १ सय २३ रन बनाएको छ । ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रनमा आउट भए । पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले ९।५ ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई सानदार सुरुवात दिलाएका थिए । कुशल शार्दुल ठाकुरको दशौं ओभरको पाँचौं बलमा विकेटकिपर ईशान किशनबाट क्याच आउट हुन पुगे । त्यसपछि नेपालको रनको गतीमा कमी आएको थियो । नेपालका भीम सार्की ७, रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए । यी तीनै ब्याटर स्पिनर रविन्द्र जडेजाको बलमा आउट हुन पुगे ।
काठमाडौं: एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दै छ । खेल दिउँसो सवा ३ बजे श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा हुनेछ । आजको खेलको विजेता टोली सुपर फोरमा पुग्नेछ । यस्तै, खेल रद्द भएमा भारतले सुपर फोरमा स्थान बनाउने छ । नेपाल र भारत पहिलो पटक सिनियर टोलीमा आमनेसामने हुन लागेका हुन् । नेपालले सन् २०१७ मा भने भारतको १९ वर्षमुनिको टोलीसँग खेलेको थियो । समूह ‘ए’ मा रहेका नेपाल र भारतले समान एक–एक खेलका छन् । उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो भने भारत र पाकिस्तानको खेल वर्षाका कारण रद्द भएको थियो । समूह ‘ए’ मा पाकिस्तान शीर्ष स्थानमा छ । त्यस्तै, भारत दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ । पाकिस्तान सुपर फोरमा पुगिसकेको छ । भारतको एक खेलमा एक अङ्क छ । एक खेल खेलेको नेपाल अङ्कविहीन छ । यसैबीच, भारतीय तीव्र गतिका बलर जसप्रित बुमराहले एसिया कप अन्तर्गत आज नेपालसँगको खेल गुमाउने भएका छन् । बुमराह व्यक्तिगत कारणले श्रीलङ्काबाट भारत प्रस्थान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पोखरा: पोखरामा सम्पन्न पहिलो संस्करणको ढल्के जोवान ३५ प्लस भेट्रान्स सिक्स ए साइड फुटसल प्रतियोगितामा गार्डेन एफसी च्याम्पियन भएको छ । पोखरा ४ गणेशटोलस्थित स्पोर्टस् क्यासलमा शनिबार भएको फाइनल खेलमा फङ्की बिन्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै गार्डेन च्याम्पियन बनेको हो । गार्डेनको जीतमा सन्तोष कार्कीले ह्याट्रिक गरे भने विकास गुरुङले १ गोलको याेगदान दिएका थिए । गार्डेनको तर्फबाट १ आत्मघाती गोल भएको थियो । प्रतियोगिताको उपाधि जितेको गार्डेन एपफसीले नगद रु ५१ हजार ट्रफी र प्रमाण पत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको फङ्की बिन्सलाई नगद रु ३१ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको आयोजक संस्थाका संस्थापक गोविन थापाले जानकारी दिए । उनका अनुसार प्रतियोगिताबाट गार्डेन एफसीका विकास गुरुङ उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए भने सोही टिमकै विकास गुरुङ प्रतियोगिताकै उत्कृष्ट गोलकिपर घोषित भएका थिए । प्रतियोगितामा अनुशासित खेल प्रदर्शन गरेको गण्डकी स्पोर्टसले फेयर प्ले ट्रफी प्राप्त गर्याे । विजेता उपविजेता टिमका खेलाडीहरुलाई पोखरा महानगरपालिका ५ का वडाध्यक्ष विष्णुप्रसाद बराल तथा पुरस्कारदाताहरुले पुरस्कार वितरण गरेका थिए । फुटबलर गोविन थापाले आयोजना गरेको सो प्रतियोगिताको प्रथम पुरस्कार मोना एफसी हङकङले र दोस्रो पुरस्कार इलाइट मुआ थाइले प्रायोजन गरेको थियो ।
काठमाडौं: पाकिस्तान एसिया कपको सुपर फोरमा पुगेको छ । भारतसँगको खेल वर्षाको कारण रद्द भएसँगै पाकिस्तानले सुपर फोरमा स्थान पक्का गरेको हो । समूह चरणको खेलमा पाकिस्तानले जितको लागि २सय ६७ रनको विजयी लक्ष्य पाएको थियो । तर पाकिस्तानले दोस्रो इनिङमा वर्षाको कारण ब्याटिङ गर्न पाएन । दुबै टोलीले १/१ अंक बाँडेका छन् । त्यसैको कारण पाकिस्तान समूह ए मा ३ अंकका साथ सुपर फोरमा स्थान बनाएको छ । पाकिस्तानले पहिलो खेलमा नेपाललाई २ सय ३८ रनले हराएको थियो । अव सोमबार नेपाल र भारतबीच खेल हुनेछ । उक्त खेलको विजेता टोलीले सुपर फोरमा स्थान बनाउनेछ । यदि वर्षाको कारण अंक बाँडेको खण्डमा भने भारत सुपर फोरमा पुग्नेछ । यदि नेपालले जादुमयी प्रदर्शनका साथ भारतलाई हराए सुपर फोरमा स्थान बनाउनेछ । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । त्यसअघि पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ४८.५ ओभरमा २ सय ६६ रनमा अल आउट भएको थियो ।