काठमाडौँ । आइसीसी टी–२० विश्वकप क्रिकेटमा युगान्डाले पहिलो जित निकालेको छ । समूह ‘सी’को पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको युगान्डाले बिहीबार भएको खेलमा भने पपुवा न्युगिनी (पीएनजी)लाई ३ विकेटले पराजित गरेको हो । पीएनजीको भने यो लगातार दोस्रो हार हो । पीएनजीले दिएको ७८ रनको लक्ष्य पूरा गर्नका लागि युगान्डालाई हम्मेहम्मे परेको थियो । युगान्डाले १८.२ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । १ रन हुँदा युगान्डाले रोजर मुकासालाई गुमाएको थियो । उनी खाता नखोल्दै आउट भएका थिए । दोस्रो विकेटको रुपमा १ रन बनाए रोविनसन ओबुया आउट भए । ६ रन हुँदा तेस्रो विकेटको रुपमा १ रन बनाएर सिमोन सेसाजी आउट भए । यसैगरी अल्पेस रमजानी टिमको स्कोर २५ रन हुँदा चौथो विकेटको रुपमा पभेलियन फर्किए । उनले १० बलमा ८ रन बनाएका थिए । गुगान्डाको ६.३ ओभरमा २६ रन हुँदा पाँचौं विकेट पतन भएको थियो । पाँचौं विकेटको रुपमा दिनेश नकर्नी आउट भए । त्यसपछि रियाजत अलि साह र जुमा मियागीले ३५ रनको साझेदारी गरेपछि युगान्डा लक्ष्य नजिक नजिक पुगेको थियो । १३.४ ओभरमा १३ रन बनाएका जुमा मियागी रन आउट भए । उनी आउट हुँदा युगान्डाको स्कोर ६–६१ भएको थियो । सातौँ विकेटको रुपमा सर्वाधिक रन बनाउने रियाजत आउट भए । उनले ५६ बलमा ३३ रनको पारि खेले । टिकेर खेलेका उनले एक चौका मात्रै प्रहार गरेका थिए । उनी १७.५ ओभरमा सातौँ विकेटको रुपमा पभेलियन फर्किएका हुन् । त्यसपछि केन्नेथ वासिवाले र कप्तान ब्रेन मासिवाले खेल जिताए । केन्नथले ७ रनको नटआउट पारि खेल्दा कप्तान ब्रेनले खाता नखोली साथ दिए । पीएनजीका लागि एली नाओ र नोर्मान भानुआले समान दुई –दुई विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गर्न आएको पीएनजीले १९.१ ओभरमा सवै विकेट गुमाएर ७७ रन बनाएको थियो । पीएनजीले खराब सुरुआत गरेको थियो । टप अर्डर नचल्दा मिडिल अर्डरले केही प्रयास गरे पनि सार्थक भएन । कप्तान असद भाला खाता नखोल्दै आउट भए भने अर्का ओपनर टोनी उराले १ रन बनाए । सेसे बाउले ५ रन बनाए । लिगा साइकाले १२ रन बनाउँदा हिरि हिरिले सर्वाधिक १५ रनको पारि खेले । चार्लेस अमिनिले ५रन बनाउँदा किप्लिन डरोगाले १२ रन जोेडे । त्यसैगरी, चाद सोपरले ४ रन बनाउँदा नोर्मान भानुआ र एलियो नाओले पाँच पाँच रन जोडे । युगान्डाका अलिपेस रमजानी, कसमम केयुटा, जुमान मियागी र फ्रांक नसबुगाले समान दुई दुई विकेट लिँदा बरिन मसाबाले एक विकेट लिए ।
पोखरा: तनहुँको भिमादमा आगामी शुक्रबार र शनिबार गण्डकी प्रदेशस्तरीय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ । यही जेठ २५ र २६गते प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा गण्डकी प्रदेश तेक्वान्दो संघको सह–आयोजनामा तनहुँको भिमादमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा ३६ स्वर्ण,३६ रजत र ७२ काश्य गरि १ सय ४४ पदकका लागि पुरुष स्पाईरिङ तर्फ २० देखि ८५ केजि तौल समुहमा प्रतिस्पर्धा हुने प्रदेश सदस्य तथा कार्यक्रम व्यवस्थापक विशाल बुढामगरले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा महिला तर्फ २० देखि ६५ केजि समुहमा प्रतिस्पर्धा हुने छ । त्यसैगरि महिला तथा पुरुष प्याट्रन तर्फ हरियो,निलो,रातो कलर वेल्ट तथा प्रथम,दोस्रो र तेस्रो डान समुहमा प्रतिस्पर्धा हुने छ । तनहुँ , बागलुङ , कास्की , पर्बत , स्याङ्जा , नवलपुर , लमजुङ लगाएत सात जिल्लाका खेलाडीहरुले सहभागिता जनाउदै छन् । प्रत्येक सहभागि जिल्लाबाट ३० जना खेलाडी र प्रशिक्षक तथा अफिसियल गरि २ सय ५० भन्दा बढीको सहभागिता हुने छ । प्रतियोगिताले ग्रामिण क्षेत्रमा खेलकुदको विकास र विस्तारले महत्वपुर्ण भुमिका खेल्ने प्रदेश उपाध्यक्ष आकाशचन्द्र घर्तीमगरले विश्वास व्यक्त गरे । उनले यो पटक भिमादमा हुने प्रदेश स्तरिय कार्यक्रमले यहाँका विभिन्न पर्यटकिय गन्तव्यहरुलाई खेलकुदका माध्यमबाट पर्यटनसंग जोड्ने बताए ।
पोखरा: यू–१५ विद्यालय खेलकुद प्रतियोगिता २०८० को तयारी पोखरामा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनमा यहि जेठ ३० र ३१ गते हुने प्रतियोगिताको तयारी सुरु भएको हो । तयारी स्वरुप गण्डकी प्रदेशको छनौट खेल बिहिबार पोखरामा हुने भएको छ । विद्यालय यू–१५ प्रतियोगिता अन्तर्गत विभिन्न ६ खेलहरुको छनौट खेल बिहिबार पोखरा रंगशालामा सम्पन्न गर्ने गरी तयारी गरिएको प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिएका छन् । प्रतियोगिता अन्तर्गत छात्ररछात्रा बास्केटबल, रग्बी, ब्याडमिन्टन, एथलेटिक्स, टेबुल टेनिस र बुद्धिचाल खेलका गण्डकी प्रदेशका ११ जिल्लाका ४१६ जना खेलाडी र ७१ जना प्रशिक्षक गरी ४८७ जना बुधबार पोखरा आइपुग्ने परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले बताए । बुधबार सञ्चालन हुने छनौटबाट विभिन्न ६ खेलका ७६ जना खेलाडी छनौट हुनेछन् । जस अन्तर्गत एथलेटिक्सतर्फ १०० मि, २०० मि, ४०० मि, ८०० मिटर दौड, सटपुट, लङ्गजम्प, र रिले दौडका लागि ६ छात्र र ६ जना छात्रा गरी १२ खेलाडी छनौट हुनेछन् । त्यसै गरी टेबुल टेनिसका लागि छात्ररछात्रा ४–४ जना गरी ८ खेलाडी छनौट हुनेछन् । जस अन्तर्गत छनौट भएका खेलाडीहरुले सिंगल्स, डबल्स, मिक्स डबल्समा प्रतिस्पर्धा गर्नेछन् । यस्तै व्याडमिन्टनका लागि ४–४ जना गरी ८ जना खेलाडीको छनौट हुनेछन् । ब्याडमिन्टनतर्फ सिंगल्स, डबल्स, मिक्स डबल्समा प्रतिस्पर्धा हुनेछ भने बुद्धिचालतर्फ सिंगल्स र टिम इभेन्टमा प्रतिस्पर्धा हुनेछ । बुद्धिचालतर्फ पनि छात्ररछात्रा गरी ८ खेलाडी छनौट हुनेछन् । त्यसै गरी रग्वी छात्ररछात्रातर्फ १०–१० जना र बास्केटबलतर्फ १०–१० खेलाडी छनौट हुने आयोजकले जनाएको छ । परिषदले छनौट हुने कुल ७६ जना खेलाडीहरुलाई २५ देखि २९ गते सम्म पोखरामा बन्द प्रशिक्षणमा राख्ने तयारी समेत गरेको छ । पहिलो पटक आयोजना हुन लागेको राष्ट्रिय यू–१५ प्रतियोगिताको उद्घाटन जेठ ३० गते हुनेछ । प्रतियोगिता अन्तर्गत हुने सबै खेलहरु पोखरा रंगशाला परिसरमा नै सञ्चालन हुने गरी तयारी भइरहेको परिषदले जनाएको छ । विद्यालय यू–१५ राष्ट्रिय प्रतियोगितामा सात प्रदेशका विभिन्न ६ खेलका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी ६३० जनाको सहभागिता हुनेछ ।
काठमाडौं: आईसिसी टी–२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ बलमा चार विकेटको क्षतिमा १०९ रन बनाउँदै पूरा गरेको हो । नेपालले सबै विकेट गुमाउँदै १९.२ ओभरमा १०६ रन बनाएको थियो । नेदरल्यान्डसका लागि म्याक्स अनवार्डले अर्धशतक बनाए । ४८ बलको सामना म्याक्सले एक छक्का र चार चौकाको मद्दतमा ५३ रन जोडे । उसका लागि विक्रमजीत सिंहले २२ रन बनाए । नेपालका लागि सोमपाल कामी, अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरीले समान एकएक विकेट लिए । सुरुमा ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३५ रन बनाए । ३७ बलको सामना गरेका पौडेलले ५ चौका प्रहार गरे । नेपालले ओपनर कुशल भुर्तेललाई ७ र आशिफ शेखलाई ४ रनमै गुमाएको थियो । अनिल शाह १२ बलमा ११ रन जोड्दै आउट भए । कुशल मल्ल ९ बलमा ९ रन बनाएर आउट हुँदा दीपेन्द्रसिंह ऐरीले ६ बलको सामना गर्दै मात्र १ रन जोडे । करन केसीले १२ बलमा १७ तथा गुल्सन झाले १५ बलमा १४ रनको योगदान दिए । नेपाललाई सस्तैमा समेट्न नेदरल्यान्ड्सका लागि टिम प्रिंगल र लोगन भान विकले तीनतीन विकेट लिए भने पाउल भान मेकरेन र बास डे लिडेले दुईदुई विकेट हात पारे ।
पोखरा: आइसिसी टि–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा आज नेपालले समूह चरणको पहिलो खेल नेदरल्याण्डसँग खेल्दैछ । उक्त खेल पोखरा महानगरपालिकाले पोखरा ९ लखनचोक (पृथ्वीचोक) स्थित ठुलो डिसप्लेमा देखाउने भएको मेयर धनराज आचार्यले फेसबुकमार्फत जानकारी दिएका छन्। उनका अनुसार पोखरा महानगरपालिकाको व्यवस्थापन तथा परिचय एड्भरटाइजिङ र एसकेसाउन्डसँगको सहकार्यमा उक्त खेल देखाइने छ । नेपाल र नेदरल्याण्डबीचको उक्त खेल राती ९ बजे बाट सुरु हुनेछ । यसअघि नेपाल सन् २०१४ मा टि–२० विश्वकप खेलेको थियो । पोखराको मुख्यचोक भएकाले सवारी आवागमनलाई अवरोध नहुने गरी खेल हेर्न मेयर आचार्यको आग्रह छ ।
काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकप २०२४ मा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा रहेको ९ स् १५ मा ग्राड प्रेरी क्रिकेट रंगशालामा सुरु हुनेछ । सुपर-८ को लक्ष्य राखेको नेपाललाई पहिलो खेलमा जित निकै आवश्यक छ । समूह डी मा नेपाल, नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन् । समूह डी को पहिलो खेलमा श्रीलंकालाई दक्षिण अफ्रिकाले ६ विकेटले हराएको छ । ग्राण्ड प्रेरीमा जारी टी(२० विश्वकपमा नेपाल र नेदरल्यान्ड्सबीच दोस्रो खेल हुँदैछ । यसअघि क्यानडा र अमेरिकाबीचको पहिलो खेल भएको थियो ।
पोखरा: चौथो संस्करणको अन्नपूर्ण म्याराथन २०८१ अन्तर्गत क्रमशः पुरुष र महिलातर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ र खोटाङकी निर्मला राईले उपाधि जितेका छन् । ‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ जुन ३ अर्थात् अन्नपूर्ण आरोहण दिवसको अवसर पारी अन्नपूर्ण सेन्चुरी पर्यटन समिति, घान्द्रुकको आयोजना तथा अन्नपूर्ण गाउँपालिकाको व्यवस्थापनमा अन्नपूर्ण पदमार्गमा सोमबार म्याराथन सम्पन्न भएको हो। पुरुषतर्फका विजेता श्रेष्ठले निर्धारित ४२.१९५ किलोमिटरको दूरी चार घण्टा १६ मिनेट २४ सेकेन्डमा पूरा गरे। श्रेष्ठ गत वर्षका उपविजेता हुन्। गत वर्ष सो दूरी उनले चार घण्टा १२ मिनेट ५१ सेकेन्डमा पूरा गरेका थिए। यसैगरी, दोस्रो भएका सोलुखुम्बुका अर्जुङ कुलुङले चार घण्टा ३५ मिनेट १५ सेकेन्डमा दूरी पूरा गरे। उनी पाँच दिनअघि सम्पन्न एभरेस्ट म्याराथनका विजेतासमेत हुन्। तेस्रो भएका जुम्लाका धीरबहादुर बुढाले चार घण्टा ४३ मिनेट ६ सेकेन्डमा दूरी पूरा गरे। बुढा गत वर्षका विजेता हुन्। गत वर्ष उनले चार घण्टा १० मिनेट ५१ सेकेन्डमा दूरी पार गरेका थिए। यसैगरी, महिलातर्फकी प्रथम राईले पाँच घण्टा ३७ मिनेट ४७ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन्। आर्मीकी सुनसरी रोका पाँच घण्टा ४५ मिनेट ३१ सेकेन्डमा दूरी पार गर्दै दोस्रो र ओखलढुंगाकी छोकी शर्पा पाँच घण्टा ५६ मिनेट ५९ सेकेन्डको दूरी पार गर्दै तेस्रो भए। शेर्पा गत वर्षसमेत तेस्रो भएकी थिइन्। चार हजार १३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरबाट सुरु म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, बाम्बो, सिनुवा, छोम्रोङ, तउल, घुजुङ चुइले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै एक हजार ९५५ मिटर उचाइमा रहेको घान्द्रुकमा आएर सम्पन्न भएको आयोजक समितिका अध्यक्ष संयोजक ललित गुरुङले जानकारी दिए। ३ जुन १९५० का दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी विश्वका आठ हजारभन्दा अग्लो हिमाल आरोहण गरी विश्व कीर्तिमान राखेको दिनलाई अन्नपूर्ण दिवसका रूपमा मनाइँदै आइएको छ। सोही दिनको अवसर पारी पदयात्रा मार्गमा म्याराथन आयोजना गर्दै आइएको अध्यक्ष गुरुङको भनाइ छ।
काठमाडौं: नामिबियाले आईसीसी टी–२० विश्वकप–२०२४ मा ओमानलाई सुपर ओभरमा हराउँदै विजयी सुरुवात गरेको छ । समूह बी को पहिलो खेलमा नामिबियाले ओमानलाई हराउँदै अंक तालिकामा दुई महत्वपूर्ण अंक जोडेको छ । सुपर ओभरमा खेल जित्न ओमानले २२ रन बनाउनु पर्नेमा ओमान १ विकेट गुमाउँदै १० रनमा समेटिएपछि खेल नामिवियाले जितेको हो । यस अघि ओमानले दिएको १ सय १० रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो । मेहरन खानको उत्कृष्ट बलिङपछि ओमानले टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नामिबियाविरुद्ध बराबरी गरेको थियो ।।
पोखरा: नेपालले केन्यालाई पराजित गर्दै बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशको ढाकामा जारी बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको दोस्रो सेमिफाइनलमा केन्यालाई पेनाल्टीमा ५९–५५ ले पराजित गर्दै नेपालले फाइनलमा स्थान पक्का गरेको हो । ४० मिनेटको निर्धारित समय नेपाल र केन्या ५०–५० अङ्कले बराबरी खेलेपछि खेल पेनाल्टी (५ रेडमा ) धकलिएको थियो । नेपालले पेनाल्टी (५ रेडमा) केन्यालाई ५९–५५ अङ्कले पराजित गरेको हो । उक्त खेलमा नेपालका कप्तान घनश्याम रोका मगर प्लेअर अफ दि म्याच घोषित भए । कप्तान रोकामगर जारी प्रतियोगितामा पाँचौ पटक प्लेयर अफ दि म्याच घोषित भएका छन् । नेपालको राष्ट्रिय कबड्डी टिममा गण्डकीका बिशाल थापामगर पनि रहेका छन् । यस्तै पहिलो सेमिफाइनलमा आयोजक बंगलादेशले थाइल्याण्डलाई ४१–१८ अङ्कले पराजित गर्दै फाइनल पुगीसकेको छ । बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् । नेपालले समूह चरणको ५ खेल मध्ये ४ खेलमा विजयी हुँदै समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । नेपालले समूह चरणमा मलेसिया, पोल्याण्ड, दक्षिण कोरिया, इन्डोनेसिया माथि जित निकालेको थियो । भने, बंगलादेशसँग पराजित भएको थियो ।