सुर्खेत: कर्णाली तथा सुदूरपश्चिमको लोकप्रिय खेलका रूपमा देउडा मानिन्छ । यसलाई डेउडा पनि भन्ने गरिन्छ । साँस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक मात्र होइन यहाँका नागरिकहरुको समग्र सवाललाई सरस, सरल र मर्मसहितको भाव व्यक्र गर्दछ । विगतमा ग्रामीण भेकमा मात्र गुञ्जिने देउडा अहिले व्यस्त सहरमा पनि त्यत्तिकै देख्न पाइन्छ । यसको लोकप्रियता पछिल्लो समयमा बढ्दै गएको छ । विगतमा माथिल्लो कर्णालीमा विशेषगरी चाडपर्व, मेलामालिका, विवाह, व्रतबन्ध, जन्मदिन र शुभसाइत खेलिने देउडाको विस्तार सहरसम्म हुँदै जाँदा देउडा खेल लगाउन अहिले औँसी वा पूर्णिमा कुनै तिथि, मिति र अवसर कुर्न पर्दैन तथापि कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा हरेक महिनाको १ र १५ गते देउडा सञ्चालन हुने गर्दछ । देउडा कार्यक्रम सञ्चालनमा संस्कृति संरक्षण र पुस्तान्तरण भइरहेकाले स्थानीय, प्रदेश तथा सङ्घ सरकार सबैले गर्व गर्नुपर्दछ । कुनै पनि कार्यक्रम तय गर्दा स्रोतसाधन र जनशक्रिको आवश्यक पर्दछ तर यसका लागि बजेट तर्जुमा अर्थात् जोहो र जनशक्रि प्रबन्ध गर्नुपर्दैन । शून्य बजेटमा हरेक महिनाको दुई दिन अनिवार्य देउडा गुञ्जिन्छ कर्णालीमा । मूलतः कार्यक्रममा गर्दा सामान्यतः बजेट अनिवार्य शर्त जस्तै हुन्छ भने यसका लागि आयोजक आवश्यक पर्दछ । कार्यक्रममा प्रयोग हुने सामग्री तथा उपकरण, समय व्यवस्थापन र आवश्यक जनशक्रि पनि नभई हुँदैन । खाना, खाजासाथै भत्ता नभए सहभागिता पनि घट्ने अवस्था हुन्छ र कार्यक्रम नै खल्लो भइदिन जान्छ । यद्यपि देउडा कार्यक्रम भने फरक विशेषताबाट सञ्चालन हुँदै आएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा हरेक महिनाको १ र १५ गते घण्टाघर नजिकको खुला मैदानमा देउडा पारखी, जानकार, शुभेच्छुक र जिज्ञासुहरू विना कुनै दबाव, तनाव र रोकतोक स्वतन्त्र तरिकाले हजारौँको सङ्ख्यामा खुला मैदानमा जम्मा हुन्छन् । यहाँ कोही आयोजक भएर प्रस्तुत हुँदैन । स्वतः तवरले मैदानमा जम्मा हुनेहरु समूहमा परिणत भएर सहभागीहरू आयोजकको स्वरुपमा सक्रिय बन्छन् । अनि एकपछि अर्को जोडिएर गोलो घेरा बनाउँछन् । यसमा दुई समूह भने अनिवार्य हुनुपर्छ । यो पुरुषपुरुष र महिलामहिला वा महिला पुरुष दुवैले समूह बनाए खेल्छन् । खेलमा दुवै समूहमा एक जना गीत भट्याउने हुन्छ जसले आफ्नो समूहको दरिलो नेतृत्व गरिरहेको हुन्छ । यसमा तर्क गर्ने र शीघ्राती सवाल जवाफ गर्नसक्नेले नेतृत्व गर्छ । खेलमा सधैँ एउटैले नेतृत्व गर्ने भन्ने हुँदैन । इच्छुक जोसुकैले आफ्नो सो समयमा प्रभाव राख्न सक्छ । खुट्टा अगाडि पछाडि एकबद्ध गर्दै विभिन्न भाकामा गीत मिलाएर खेलिने देउडा खेल्नेभन्दा हेर्नेले बढी मज्जा र मनोरञ्जन लिन्छन् । गीतमा मायापिरती, सुखदुःख, राजनीति, सामाजिक, सांस्कृतिक अवस्था, विद्यमान वा परिवर्तित परिवेशबारे व्यक्त गरिन्छ । सोमबार परेको १५ गतेलाई कर्णालीको खस भाषामा ‘पुसा पुन्वा’ पनि भन्ने गरिन्छ । कर्णालीवासीले सोमबारलाई लामो रातका रूपमा लिँदै मीठामीठा परिकार खाएर यसलाई अवसर मानी गाउँ खाने कथा हाल्ने वा देउडा खेलेर रमाइलो गरी मनाएका छन् । पुस १५ को महत्व र यसपछि बदलिने समय, रैथानेबाली, यसको संरक्षण, प्रवद्र्धन र बजारीकरणका बारेमा पनि देउडा गीत गाउने गरिन्छ । पोर आइथी पुसका पुन्न अहिले पनि आइगै । उमेर घटाई जोवन लैगै आफू फेरि बाइगै ।। रूपमा जस्तो देखिए पनि सारमा देउडाले यहाँका नागरिकहरूको जीवन बोल्ने गरेको जुम्ला निवासी देउडाकर्मी जीतबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “देउडामा समाज बोल्छ । यसमा सृष्टि, प्रकृति, विश्व जगत्देखि मायाप्रेम, हाँसो, रोदन, आवेग, रोष, व्यङ्ग्य, आलोचना, टिप्पणी, गुनासो, सुझावलगायत सबै कुराको समावेश छ । जसले खेल्नेलाई जोश जगाइरहेको हुन्छ भने हेर्नेलाई उत्साह र उमङ्ग दिन्छ ।” त्यस्तै, कालीकोट निवासी देउडा गायिका कमला धामीले देउडा सामाजिक र सांस्कृतिक पहिचान भएको बताउनुभयो । “देउडा भन्नेबित्तिकै कर्णाली या सुदूरपश्चिम भनेर चिनिन्छ । यो हाम्रो झल्किने पहिचान हो”, उहाँले भन्नुभयो, “मनोरञ्जन र सामाजिक, आर्थिक, राजनीतिक समस्यालाई सरल ढङ्गबाट सरोकारवाला निकायलाई सुनाउने र सम्बोधन गर्न लगाउने माध्यम एवं शैली हो ।” विभिन्न परम्परागत प्रथा, संस्कृति र संस्कार संरक्षणका लागि राज्यले करोडौँको खर्च गरिरहँदा देउडा संस्कृतिको संरक्षण एवं जगेर्नाका लागि भनेर ठूलो लगानी गरेको पाइँदैन । यसको निरन्तरता दिँदै पुस्तान्तरण गर्ने, कला संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका स्थानीयले आधुनिकतासँगै देउडाको मौलिकतालाई विस्तार गर्दै लगेका छन् । कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचायैले देउडा संस्कृति सिञ्जा सभ्यताको परिचय भएको बताउनुभयो । उहाँका अनुसार देउडाले सिञ्जा सभ्यता एवं कर्णालीको समुल कथा र मर्म बोल्दै आएकाले यसको जीवन्तता रहिआएको छ । कर्णाली प्रदेश सरकारले देउडा खेल र संस्कृतिको महत्व हृदयमगम गरी यसको संरक्षण एवं सम्वर्द्धन गर्ने उद्देश्यले हरेक वर्षको साउन १ गते ‘साउने सङ्क्राति अर्थात् देउडा पर्व’का रूपमा सार्वजनिक बिदा दिँदै आएको छ ।
बैतडी: बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बैतडीको सिगास गाउँपालिका–७ को न्वाघर केन्द्रबिन्दु भएर आज बिहान ७ः५४ बजे ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का महसुस बैतडीसहित, बझाङ, डडेल्धुरा, डोटीमा गरिएको छ । भूकम्पबाट के कति क्षति भयो भन्ने अहिलेसम्म जानकारी नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौं: कम्प्युटर एशोसिएसन अफ नेपाल महासङ्घ (क्यान महासङ्घ) मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । यही पुस १३ गतेदेखि सुरु भएको महासङ्घको १५औँ महाधिवेशनले सुनैना घिमिरे पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । क्यान महासङ्घले आफ्नो इतिहासमा पहिलो महिला अध्यक्ष पाएको छ । उहाँ सफ्टवेयर डेभलपमेन्ट कम्पनी जेनेरल टेक्नोलोजीकी प्रबन्ध निर्देशकसमेत हुनुहुन्छ । महासङ्घको १५औँ कार्यसमितिको उपाध्यक्षमा, हर्कबहादुर सेटी, चिरञ्जीवी अधिकारी, नवीन जोशी, शेखरनाथ दुलाल, सुभाष खड्का र सिर्जना श्रेष्ठ निर्वाचित हुनुभएको छ । महासचिवमा चन्द्रविलास भूर्तेल र कोषाध्यक्षमा विक्रमसिंह निर्वाचित हुनुभएको छ । सचिवहरूमा सरिता न्यौपाने, अग्मा मालाकार, दीपक साह, सरुना श्रेष्ठ, मनिराज पाण्डे, रामकिशोर रावल र कर्णराज पनेरु चयन हुनुभएको छ । त्यस्तै कार्यकारिणी सदस्यमा उमेश रघुवंशी, ध्रुवराज शर्मा, केशवप्रसाद भट्टराई, नारायणप्रसाद श्रेष्ठ, ठाकुरकुमार श्रेष्ठ, हेमपाल श्रेष्ठ, शिला कंसाकार कार्की, दीपेन्द्र पौडेल, राजु कट्टेल, चिन्तामणि बास्तोलालगायत निर्वाचित हुनुभएको छ । लेखासमितिको संयोजकमा भानुभक्त शर्मा र सदस्यहरूमा सन्तोष ढुङ्गाना र पूजा अग्रवाल चयन हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष पाण्डेले आफूलाई सर्वसम्मत बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै सूचना प्रविधि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सामूहिक प्रयत्न गरिने बताउनुभयो । उहाँले नेपाललाई सूचना प्रविधि ‘हब’का रूपमा विकास गर्दै अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा चिनाउन नीतिगत सुधारको खाँचो रहेको र यसका लागि आफूले विशेष पहल गर्ने बताउनुभयो । नवनिर्वाचित महासचिव भूर्तेलले क्यान महासङ्घको कार्यक्षेत्र विस्तार गर्न विशेष ध्यान दिने र संस्थागत सुधारका लागि ठोस रणनीति अपनाएर लक्ष्य हासिल गर्ने प्रतिबद्धता जनाउनुभयो । सन् १९९२ मा स्थापना भएको क्यान महासङ्घले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । सन् २०१५ मा महासङ्घमा रूपान्तरण भपछि यस सङ्गठनले सातै प्रदेश र ७४ जिल्लामा शाखा विस्तार गरिसकेको छ । क्यानले हरेक वर्ष आयोजना गर्ने ‘क्यान इन्फोटेक’ नेपालको ठूलो प्रविधिसम्बन्धी प्रदर्शनीका रूपमा मानिन्छ ।
दाङ: लुम्बिनी प्रदेशसभाको बैठक आजदेखि सुरु हुँदैछ । प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिइएको थियो । प्रदेश प्रमुख दुर्लभकुमार पुनले प्रदेशसभाको बैठक आज दिउँसो २ बजेदेखि बस्ने जानकारी दिनुभयो । उहाँका अनुसार सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने र दलको तर्फबाट शुभकामना मन्तव्य राख्ने संभावित कार्यसूची छ । हिउँदे अधिवेशनले प्रदेश चलचित्र विधेयकको अवधारणापत्रमा सैद्धान्तिक सहमति प्रदान गर्ने जनाइएको छ । चौथो अधिवेशन ३१ भदौमा अन्त्य भएको थियो ।
सर्लाही: नयारोड सडकखण्डमा उखु बोकेको ट्रयाक्टर र मोटरसाइकल गए राति आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बरहथवा नगरपालिका–९ शान्ति चोकमा उखु बोकेर हरिवनतर्फ आउँदै गरेको ज१त ९८७६ नम्बरको ट्रयाक्टर र नयाँरोडबाट बरहथवा जाँदै गरेको ज४प ३७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ । मृत्युहुनेमा मोटरसाइकल चालक बरहथवा–५, राजुचोकका हरिन्द्र महतो र सोही स्थानका पुरुषोत्तम दास रहेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । महतोको बरहथवास्थित एडभान्स सञ्जीवनी अस्पतालमा र दासको बयोधा अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । घटनामा संलग्न ट्रयाक्टर, चालक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्तरी: पछिल्ला दिनमा चिसो स्याँठ चल्न थालेपछि मधेसको जनजीवन प्रभावित बनेको छ । जलेश्वर नगरपालिका–८ का ८० वर्षीय बहादुर महरा केही दिनदेखि चिसो स्याँठ चल्न थालेको र चिसो बढेकोे बताउनुभयो । शीतलहर, बाक्लो कुहिराका कारण चौपाया, पशुपक्षी तथा बालीनालीलाई असर पु¥याएको छ । जलेश्वर–४ का किसान अनिल साहले शीतलहरले दैनिकीमा समस्या परेको गुनासो गर्नुभयो । चिसोकै कारण अहिले सदरमुकाम जलेश्वरसहित जिल्लाका सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ । जिल्लाको विभिन्न बजारमा बाक्लो कपडा बिक्री बढेको छभने चिसोकै कारण जिल्लाको हाटबजारमा मानिसको उपस्थिति न्यून भएको छ । चिसो बढेपछि चियाको व्यापार बढेको जलेश्वर–२ का चिया व्यापारी सुरेश साहले बताउनुभयो । चिसोकै कारण स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा विभिन्न किसिमका बिरामीको सङ्ख्यामा वृद्धि भएको चिकित्सक बताउँछन् । लगातार बढ्दै गएको चिसोले बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिला बढी प्रभावित हुने डा रवीन्द्र साहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चिसोका कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरीमा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको छ । ” दश नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लाका विभिन्न गाउँबस्तीमा जाडोबाट बच्न ठाउँठाउँमा स्थानीय तहले आगो बालेर ताप्ने व्यवस्था मिलाएका छन् । जलेश्वर –११ का किसान उमेश मण्डले चिसोबाट दलहन, तेलहन र तरकारी बालीमा प्रतिकूल असर परिरहेकोे गुनासो गर्नुभयो । उहाँले मसुरो, खेसारी, आलस, रहरलगायत दलहन र तेलहन बाली, काउली, गोलभेँडा, मटरलगायत तरकारी बाली प्रत्यक्ष रूपमा चिसोबाट प्रभावित भएको बताउनुभयो ।
पोखरा: पोखरामा सम्पन्न भएको दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’को उपाधिमा चिनियाँ खेलाडीले वर्चश्व कायम गरेका छन् । पोखराको फेवातालमा आज सम्पन्न दुई सय र पाँच सय मिटर दौडको फाइनलमा चीनको डोङग्वान लाओयु क्लबले दोहोरो उपाधि हात पारेको हो । दोहोरो उपाधिसँगै उसले १० हजार डलर पुरस्कार पायो । नेपाल र छिमेकी मुलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो । चीनकै युनान मिन्जु युनिभर्सिटी दोस्रो तथा लिआओचिङ युनिभर्सिटी तृतीय भयो । युनान प्रान्तको नर्मल विश्वविद्यालयले चौथो स्थान हासिल गर्न सफल भयो । यसैगरी निर्धारित पाँच सय मिटरको दौडमा लिआओ चेङ युनिभर्सिटी दोस्रो भयो । प्रतियोगितामा युहान युनिभर्सिटी तेस्रो भयो । प्रतियोगितामा पाँच सय सय र दुई सय मिटर दौडका विजेताले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित नगद पाँच हजार अमेरिकी डलर, उपविजेताले दुई हजार डलर र तृतीयले एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गरे । प्रतियोगितामा सहभागी टोलीलाई पाँच सय डलरका दरले पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । विजेता खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले पुरस्कार वितरण गरेका थिए । गण्डकी प्रदेश, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगितामा २० टोलीको सहभागिता थियो । प्रतियोगितामा चीनका आठ, सिङ्गापुरको एउटा तथा नेपालका ११ टोली सहभागी थिए । नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस–२०२४ सम्पन्न भएसँगै कार्यक्रमले नेपाल र छिमेकी चीनबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई बलियो बनाउन तथा नेपालको पर्यटन प्रवद्र्धन गर्न मद्दत पुगेको पोखरा महानगरका प्रमुख आचार्यले बताउनुभयो ।
काठमाडौं: गुरुङ समुदायले सुगा वर्षलाई बिदाइ गरी सर्प वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाएका छन् । परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई १२ जनावरको नामबाट गणना गरी नयाँ वर्षको नामकरण गरेको सङ्खुवासभा तमु समाजका महासचिव प्रभुराम गुरुङले जानकारी दिनुभयो । सुगा वर्गलाई कसैले भने गिद्ध वर्गअर्थात् वर्ष पनि भन्ने गरेका छन् । गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, मृग र मुसा गरी १२ जनावरका नामबाट वर्षको नामकरण गरिएको छ । नयाँ वर्ष सुरु भएको खुशियालीमा गुरुङ समुदायले देशभर विभिन्न कार्यक्रम आयोजना गरेका छन् । राजधानीको टुँडिखेलमा तीनदिन अघिदेखि ल्होसार महोत्सव आयोजना गरिएको छ । महोत्सव मङ्गलबारसम्म सञ्चालन हुने तमु ह्युला छोंज धीं राष्ट्रिय परिषद्ले जनाएको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । यसलाई कतिपयले उच्चारणका रुपमा तमु ल्होछार पनि भन्ने गर्छन् । यस दिन गुरुङ समुदायका मानिस परम्परागत भेषभुषामा सजिएर तमु ल्होसार कार्यक्रममा सहभागी हुन्छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा ती समुदायले यो पर्व मनाउने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको यस समुदायका अगुवाको भनाइ छ ।
पाँचथर: पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँले जितेको छ । पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेडले उपाधि उचालेको हो । निर्धारित खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा चर्च ब्वाइजका लागि एकराज बुढाथोकी, रोहन कार्की, विदेशी खेलाडी अबयोमी ओलुवासेन, छिरिङ लामा र सुजन डङ्गोलले गोल गरे । मछिन्द्रका लागि देवेन्द्र तामाङ, सनिश श्रेष्ठ, सौरभ सुब्बा र समिराज थोकरले गोल गरे पनि दयानन्द इलाङबाङको प्रहार चर्च ब्वाइजका गोलकिपर कृशल मोक्तानले रोकेका थिए । कृशलको त्यही बचाउ चर्च ब्वाइजलाई उपाधि दिलाउन पर्याप्त बन्यो । खेलको ४५औँ मिनेटमा मछिन्द्रका बिजु भुजेलले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । अठहत्तरऔँ मिनेटमा छिरिङ लामाले गोल गर्दै चर्च ब्वाइजलाई बराबरीमा ल्याए । खेलको ८८औँ मिनेटमा सनिश श्रेष्ठले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए । तर अतिरिक्त पाँच मिनेटको समयमा चर्च ब्वाइजका लागि समिर तामाङले गोल गर्दै खेललाई बराबरी गरे । दुई मिनेट आफ्नो अग्रता जोगाउन नसक्दा मछिन्द्र उपविजेतामै सीमित बन्यो । उपाधिसँगै चर्च ब्वाइजले रु १० लाख पाँच सय ५५ पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता मछिन्द्रले रु पाँच लाख पाँच सय ५५ पुरस्कार प्राप्त गरेको छ ।

