तनहुँ:  तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

अछाम:    कुखुराको मासु खाँदा अछाममा एकजनाको मृत्यु भएको छ । तीन जना बिरामी परेका छन् ।       कमलबजार नगरपालिका–३ बयलाका १५ वर्षीय कमल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले जानकारी दिनुभयो ।  बयलास्थित तुलासिहं विकको घरमा ल्याएको ब्वायलर कुखुराको मासु खाएर उनकै छोरा कमलको मृत्यु भएको हो ।      मासु खाँदा विकको घरमा थप तीनजना बिरामी भएका छन् । बिरामीको जिल्ला अस्पताल मङ्गलसेनमा उपचार भइरहेको छ ।  मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल मङ्गलसेनमा राखिएको छ । के कती कारणले मृत्यु भएको तथा बिरामी भएको भन्नेबारे शव परीक्षणपछि मात्र थाहा हुने प्रहरी नायव उपरीक्षक भण्डारीले बताउनुभयो ।

पोखरा:   पोखरा लेकसाईडमा रहेको होटल पौवाले अंग्रेजी नयाँ वर्षको अवसरमा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । अंग्रेजी नयाँ वर्ष २०२५ को शुभारम्भका अवसरमा होटलले पुस १६ साँझ ७ बजेदेखि १२ बजेसम्म बृहत सांस्कृतिक कार्यक्रम गर्ने होटल पौवा पोखराका प्रबन्धक केशव भण्डारी जानकारी दिए ।  कार्यक्रममा गायक सुरज थापा एण्ड ब्याण्डको साँगितिक प्रस्तुति रहने उनले बताए । गायक थापासँगै रितु केसी, तबला मादल बादक रिसु नेपाली, गितारिस्ट प्रविन श्रेष्ठ र विजय बज्राचार्यका साथमा बाँसुरी बादक किरण बरालको सहभागिता रहने उनको भनाइ थियो । कार्यक्रममा प्रवेश निःशुल्क रहेको होटलले जानकारी दिएको छ । नयाँ वर्षको अवसरमा होटल पौवाका अन्य शाखामा पनि साँस्कृतिक कार्यक्रम आयोजना हुने होटल पौवा प्रालिका प्रमुख सञ्चालन अधिकृत कृष्ण गौतमले जानकारी दिए ।    पोखरासँगै रुपन्देही भैरहवा, दाङको भालुवाङ, दाङकै घोराही र नवरपुरको गैडाकोटमा रहेका शाखामा पनि १६ गते नै सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए । ‘जहाँबाट आतिथ्यताको सुरुवात हुन्छ’ भन्ने मूल नारासहित नेपाली आतिथ्य सहितको सेवा दिने उद्देश्यले देशभर शाखा विस्तारमा तिब्रता दिएको प्रमुख संचालन अधिकृत गौतमले बताए ।  निकट भविष्यमै १०० शाखा बनाउने लक्ष्य लिएको होटल पौवाको अहिले देशभर १७ शाखा रहेको उनले जानकारी दिए । होटल पौवाको शाखाहरु कर्णाली प्रदेशको जुम्ला, सुदूरपश्चिमको धनगढी, लुम्बिनी प्रदेशमा दाङको भालुवाङ, घोराही र लमही, कपिलवस्तुको गोरुसिंगे, रुपन्देहीको योगीकुटी, भैरहवाको चिल्ड्रेन पार्क, पाल्पाको तानसेन, गुल्मीको रेसुंगामा रहेको छ ।  गण्डकी प्रदेशको पोखरा र नवलपुरमा होटलले शाखा विस्तार गरिसकेको छ । बागमती प्रदेशमा काठमाडौंको गौशाला, सिन्धुलीको मुलकोट र चितवनको भरतपुरमा पौवाको शाखा छ । कोशी प्रदेशमा खोटाङको हलेसीमा यसले सेवा विस्तार गरेको छ । छिट्टै बाँकेको नेपालगन्जमा पाँच तारे स्तरको होटल पौवा सञ्चालनको तयारीमा रहेको अधिकृत गौतमले बताए ।   होटल पौवाले नेपाल मै रोजगारी सिर्जना गरी युवा जनशक्ति पलायन रोक्ने लक्ष्य लिएर अघि बढेको अधिकृत गौतमले सुनाए । होटलको अर्को उद्देश्य भनेको रैथाने खाना र नेपाली मौलिक परम्परा जोगाउनु रहेको उनले बताए । सोही अनुरुप होटलले नेपालीहरुले परम्परादेखि मनाउँदै आएको चाडपर्वमा विशेष कार्यक्रम गर्दै आएको छ ।

पोखरा:      कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ देउपुजेमा सुविधासम्पन्न आवासीय ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण गरिएको छ । स्वीजरल्याण्डका किसानहरुको संस्था एहमान फाउण्डेसनको रु पाँच करोड आर्थिक सहयोगमा बनेको ‘नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण गरिएको हो ।  नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो केन्द्रको उद्घाटन गर्नुभएको छ । दाताहरुको सहयोगबाट बनेको सेवा केन्द्र भवन आमा स्मृति प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ । सेवा केन्द्रको सञ्चालन अब प्रतिष्ठानले गर्ने  प्रतिष्ठानका संस्थापक अध्यक्ष वसन्तराज दवाडीले बताउनुभयो ।  सेवा केन्द्रका चार वटा भवन छन् । प्रतिष्ठानको पहलमा स्वीजरल्याण्डका दाताबाट सो सहयोग रकम प्राप्त भएको थियो ।  सेवा केन्द्रमा ६५ वर्ष उमेर माथिका असहाय, गरीब तथा विपन्न नागरिकहरुलाई आवासीय सुविधा सहित राखिने प्रतिष्ठानका संस्थापक दवाडीले बताउनुभयो ।  सेवा केन्द्रमा महिला तथा पुरुषका लागि छुट्टाछुट्टै भवन रहेका छन् । त्यसैगरी एउटा कर्मचारी र किचन तथा अर्को भवनमा क्लिनिक तथा पाहुनाका लागि व्यवस्था गरिएको छ । गरीव, विपन्न र असहायः वृद्धवृद्धाका लागि लक्ष्य गरिएपनि सेवा केन्द्रलाई आत्मनिर्भर बनाउनका लागि शुल्क तिरेरपनि वृद्धवृद्धा राख्न सकिने दवाडीले बताउनुभयो । सेवा केन्द्र सञ्चालनका लागि सुरुआती तीन वर्षको सम्पूर्ण खर्च इहमान फाउण्डेशनलेनै बेर्होने बताइन्छ ।  दवाडीले भन्नुभयो,“हामीले गरीव तथा असहाय र दिनदुखीका लागिनै आवासीय सेवा केन्द्र सञ्चालनमा ल्याएका हौँ । यसका साथै कसैले शुल्क तिरेर सेवा केन्द्रमा राख्न चाहनुहुन्छ भने पनि राख्न सकिन्छ । सेवा केन्द्रलाई आत्मनिर्भर बनाउन यसबाट मद्धत पुग्नेछ । नहुनेलाई सहयोग गर्ने र पैसा हुनेले तिरेर बस्ने हो । ” सेवा केन्द्रमा आश्रित ज्येष्ठ नागरिकहरुलाई क्लिनिक र फार्मेसी सहितको  नर्सिङ सेवा, परामर्श सुविधा,  पुस्तकालयको सुविधा रहेको छ । यसैगरी  अडियो–भिजुअल ल्याब, योग र ध्यान कार्यक्रम तथा एकल, डबल वा साझा कोठा, स्नान गृहको व्यवस्था गरिएको प्रतिष्ठानका सचिव सुवासचन्द्र लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार अबको तीन महिनाभित्रमा सेवा केन्द्र पूर्ण रुपमा सञ्चालनमा आउनेछ । “भवन पूर्ण रुपमा तयार भइसकेको छ । केहीमा झ्याल ढोकाको काम बाँकी छ भने किचनका सामानहरु किन्नुपर्ने र ज्येष्ठ नागरिक राख्नका लागि प्रक्रिया पूरा गर्दा सञ्चालनमा आउन तीन महिना समय लाग्छ ।” लम्सालले भन्नुभयो । सेवा केन्द्र निर्माणका लागि नाना गुरुङ र मोहन गुरुङको स्मृतिमा उहाँका परिवारजन कर्र्णबहादुर गुरुङ, दुर्गाबहादुर गुरुङ, बरबहादुर गुरुङ र  छोरी शुकमाया गुरुङले चार रोपनी जमिन दान गर्नुभएको थियो । कार्यक्रममा जग्गादाता तथा एहमान फाउण्डेसनका प्रतिनिधि माथियाज मारिया डोल्डलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष दिननाथ लम्साल, प्रमुख संरक्षक रविलाल पोखरेल, सल्लाहकार सूर्यप्रसाद लम्साल लगायतले सेवा केन्द्रबाट ज्येष्ठ नागरिकले लाभ लिने बताउनुभएको थियो । आमा स्मृति प्रतिष्ठानले घाचोकमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गरिरहेको छ। जसमा विहान १० बजेदेखि अपराह्न ५ बजेसम्म वृद्धवृद्धाहरु आएर बस्ने गरेका छन् । 

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने आफूहरुको साझा उद्देश्य भएको बताउनुभएको छ ।      नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष ओलीले विभिन्न पेसा व्यवसायमा रहेका व्यक्तिहरुको रुचि फरक फरक हुने भए पनि साझा उद्देश्य समृद्ध नेपाल नै भएको बताउनुभयो ।       “एमाले एउटा नदी हो, यसमा सबै खोला मिसिन्छिन् । मौरीको सङ्गत लागेर मौरीको पछिपछि लागेमा फूलबारीमा पुगिन्छ । झिँगाको सङ्गत गरेर उसको पछिपछि लागेमा फोहोरको डङ्गुरमा पुगिन्छ । तपाईंहरुको एमालेमा आउने छनोट सही छ । तपाईंहरु नमूना हुनुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “प्रवेशका माध्यममा पार्टीमा समाहित भएकाहरु सबै मिलेर हामी साझा उद्देश्यका परिवार भएका छौँ । हामीले नेपाल प्रतिभाहरुको देश हो भन्ने कुरा स्थापित गर्नुपर्छ । हरेक पुराना रेकर्डहरु ब्रेक गर्नुछ र नयाँ नयाँ कीर्तिमान कायम गर्दै जानुपर्छ । युवाहरुलाई भड्काउने अनेक जालझेलबाट बच्नुपर्छ ।”      प्रधानमन्त्री ओलीले आफूहरुलाई प्रभाव छोड्नपर्ने नभई कामको नतिजा निकाल्नुपर्ने भएकाले साँचो र यथार्थपरक जीवनयापन गर्न आग्रह गर्नुभयो ।       कार्यक्रममा नेपाल जेसिजका निवर्तमान राष्ट्रिय अध्यक्ष रविन पोखरेललगायत युवाहरु एमालेमा प्रवेश गर्नुभएको थियो । सो क्रममा ‘मिसेज हेरिटेज इन्टरनेसनल’का विजेता बिभा बस्नेत, युवाहरु शिवानी गौतम, गायत्री बिसीलगायत एमालेमा प्रवेश गर्नुभएको थियो ।  पोखरेल र बस्नेतले दूरदर्शी सोच भएका अध्यक्ष ओली नेतृत्वको पार्टीले देश बनाउने सङ्कल्प बोकेकाले यस अभियानमा आफूहरु सारथि बन्ने उल्लेख गर्नुभयो ।      कार्यक्रममा एमाले उपमहासचिव विष्णुप्रसाद रिमाल, सङ्गठन विभाग प्रमुख काशिनाथ अधिकारी, जनसङ्गठन संयन्त्र इञ्चार्ज भानुभक्त ढकाललगायत उपस्थित हुनुहुन्थ्यो ।

काठमाडौं:     दक्षिण कोरियाको दक्षिणपश्चिमी प्रान्त मुआनमा दुर्घटनाग्रस्त जेजु एयरको यात्रुवाहक विमान दुर्घटना हुनुभन्दा छ मिनेटअघि विमानस्थलको कन्ट्रोल टावरले चरा ठोक्किन सक्ने चेतावनी दिएको थियो । सियोलबाट २८८ किलोमिटर दक्षिणपश्चिममा रहेको दक्षिण जिओला प्रान्तको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएर आइतबार बिहान दुर्घटना भएको थियोे ।  हवाई सुरक्षाको रेखदेख गर्ने भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको प्रेस ब्रिफिङ अनुसार कन्ट्रोल टावरले बिहान ८ः५७ बजे चेतावनी जारी गरेको हो । विमान चालकले चेतावनीपछि सङ्कटकालीन अवस्थाको घोषणा बिहान ८ः५९ मा गरेको मन्त्रालयले जनाएको छ । त्यसपछि चालकले बिहान ९ बजे अवतरणको प्रयास गरेपनि तीन मिनेटपछि बिहान ९ बजेर ३ मिनेटमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त भएको थियो । “धावनमार्ग नम्बर १ मा अवतरण गर्ने क्रममा कन्ट्रोल टावरले चरा ठोक्किनसक्ने अवस्थाको (बर्ड स्ट्राइक) को चेतावनी जारी गरेको थियो र त्यसको केही समयपछि चालकले आपतकालीन अवस्था (मे डे) को घोषणा गरेका थिए,” मन्त्रालयले भनेको छ। अधिकारीहरुका अनुसार कन्ट्रोल टावरले धावन मार्गमा विपरीत दिशामा अवतरणका लागि अनुमति दिएको थियो, त्यसपछि पाइलटले रनवेमा ठोक्किएर भित्तामा नठोक्किँदासम्म अवतरणलाई सुरक्षित गर्ने प्रयास गरेका थिए । मन्त्रालयले मुआन विमानस्थलको धावनमार्ग तुलनात्मक रुपमा छोटो भएका कारण दुर्घटना भएको भन्ने धारणालाई अस्वीकार गरेको छ । धावनमार्ग दुई हजार ८०० मिटर लामो भए पनि निर्माण कार्य जारी रहेकाले अहिले वास्तविक लम्बाइ करिब दुई हजार ५०० मिटर रहेको छ । “आज दुर्घटनाग्रस्त भएको बोइङ ७३७–८०० विमान एक हजा् ५०० मिटरदेखि एक हजार ६०० मिटर लामो धावनमार्गमा अवतरण गर्न सक्छ,” मन्त्रालयका एक अधिकारीले भने ।  उनले भने, “धावनमार्गको लम्बाइका कारण दुर्घटना भएको भन्न गाह्रो छ किनभने अन्य विमानहरू कुनै समस्या बिना अवतरण गरिरहेका छन्।” कोरिया एयरपोर्ट कर्पोरेशन (क्याक) को तथ्याङ्कअनुसार मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१९ देखि यस वर्षको अगष्टसम्म १० वटा चरा ठोक्किएका घटना (बर्ड स्ट्राइक) भएका छन् । क्याकका अनुसार विमानस्थलहरूले चराहरूलाई टाढा राख्न ध्वनिक निवारक र अन्य उपायहरू प्रयोग गरेका छन्। यातायात मन्त्रालयले आफ्नो ‘एभिएसन एन्ड रेलवे एक्सिडेन्ट इन्भेस्टिगेसन बोर्ड’का सदस्यहरूलाई आइतबार दिउँसो मुआन विमानस्थलमा पठाएको छ। उनीहरूले विमानबाट फ्लाइट डाटा रेकर्डर (ब्लाक बक्स) निकालेका छन् भने ककपिट भ्वाइस रेकर्डर सुरक्षित गरिरहेका छन् ।  दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन लामो समय लाग्ने अधिकारीहरूले बताएका छन् । विमानमा सवार १७५ यात्रु र चालक दलका छ सदस्यगरी १८१ जनामध्ये १७६ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका थिए । चालक दलका दुई सदस्यलाई जीवितै  उद्धार गरिएको छ । मुआन दुर्घटना दक्षिण कोरियामा अहिलेसम्मकै तेस्रो सबैभन्दा घातक हवाई दुर्घटना हो । सन् १९८३ मा सोभियत लडाकु विमानले रूसी आकाशमा उडेको कोरिययन एयरको विमान खसाल्दा विमानमा सवार सबै २६९ जनाको मृत्यु भएको थियो भने सन् १९९७ मा गुआममा कोरियन एयरको विमान दुर्घटना हुँदा २२५ जनाको मृत्यु भएको थियो । 

चितवन:    गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१३ की ३२ वर्षीया मेन्दोमाया भण्डारी रहेकी छन् ।        भण्डारीलाई कुमरोज मध्यवर्ती सामुदायिक वनमा गैँडाले आक्रमण गरेको हो ।  निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आज बिहान ११ बजे घाँस काट्न गएकी भण्डारीको गैँडाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो ।       भण्डारीको शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ । 

काठमाडौं:     चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अगावै काठमाडौँ महानगरपालिकाले बजेट संशोधन प्रक्रिया सुरु गरेको छ ।  काठमाडौँ महानगरपालिका नगरसभाको १६ औँ अधिवेशनमा उपप्रमुख सुनिता डङ्गोलले चालु आवको बजेटको कार्यक्रम तथा बजेटको संशोधन प्रस्ताव पेस गर्नुभएको छ ।       “महानगरपालिकाको वार्षिक खरिद योजना र चौमासिक प्रगति विवरणअनुसार चालु आर्थिक वर्षको स्वीकृत नीति तथा कार्यक्रम अनुसार लक्ष्य हासिल गर्न केही कार्यक्रमहरु हेरफेर गर्न जरुरी देखिएको छ”, उपप्रमुख डंगोलले भन्नुभयो, “विनियोजित बजेटमा कुनै योजना सञ्चालन गर्न नसकिने, कतिपय आर्थिक कार्यविधिअनुसार समय लाग्ने, कतिपय बहुवर्षिय योजनाअन्तर्गत सञ्चालन गर्नुपर्ने भएकाले विनियोजित रकममध्ये कुनैमा बचत हुने र कुनैमा नपुग हुने देखिएका र केही अत्यावश्यक योजना तथा कार्यक्रमका लागि बजेट विनियोजन गर्नुपर्ने देखिएकाले यो संशोधन प्रस्ताव पेश गर्नुपरेको हो ।”      संशोधन बजेट प्रस्ताव गर्दा विषय विज्ञ, महानगरपालिकाका विषयगत समिति एवं अन्य विभिन्न समितिहरुमा छलफल तथा विश्लेषण गरी बजेट तथा कार्यक्रम तर्जुमा समिति र कार्यपालिका बैठकबाट सर्वसम्मत रुपमा पास गरी नगरसभामा पेस गरिएको उपप्रमुख डङ्गोलले बताउनुभयो ।  आर्थिक वर्षका लागि विनियोजित कूल बजेट रकम, चालुगत तथा पुँजीगत खर्च रकममा कुनै थपघट नगरी क्रियाकलापमा मात्र संशोधनको प्रस्ताव पेस गरेको नगरसभामा उहाँले स्पष्ट पार्नुभयो ।      संशोधित प्रस्ताव अनुसार आर्थिक विकासको क्षेत्रमा बजेट घटाएर रू ७२ करोड ४३ लाख ७१ हजार बजेट कायम गर्न लागिएको छ । सो क्षेत्रमा यस अघि रू ७२ करोड ९९ लाख ७१ हजार विनियोजन भएको थियो ।      कार्यालय सञ्चालन तथा प्रशासनीक क्षेत्रमा रू तीन अर्ब ७० करोड ५३ लाख ८ हजार विनियोजन भएकोमा त्यसलाई बढाएर रू तीन अर्ब ७२ करोड ६८ लाख ४२ हजार कायम गर्ने प्रस्ताव गरिएको छ ।        त्यस्तै, पूर्वाधार विकासको क्षेत्रमा रू १२ अर्ब एक करोड ९३ लाख ९१ हजार पाँच सय बराबर वार्षिक विनियोजन रहेकोमा त्यसलाई घटाएर रू ११ अर्ब ८७ करोड ५१ लाख ३८ हजार ५ सय कायम गर्ने प्रस्ताव गरिएको छ ।      सामाजिक विकासका क्षेत्रमा यसअघि रू पाँच अर्ब ४८ करोड ८६ लाख ६९ हजार पाँच सय विनियोजन भएकोमा त्यसलाई घटाएर रू पाँच अर्ब ३५ करोड ३३ लाख ८८ हजार ५ सय कायम गर्ने प्रस्ताव गरिएको छ ।      त्यसैगरी, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा चालु आर्थिक वर्षका लागि रू दुई अर्ब २२ करोड ६५ लाख ८५ हजार बराबर बजेट कायम गर्ने प्रस्ताव महानगरले गरेको छ । उक्त क्षेत्रमा यस अघि रू दुई अर्ब ९६ करोड २९ लाख ८५ हजार विनियोजन भएको थियो । पाँच महिनामा १६ प्रतिशत बजेट खर्च        महानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको बजेट खर्च कार्यान्वयनमा भने कमजोर देखिएको छ । चालु आर्थिक वर्षका लागि महानगरपालिकाले रू २५ अर्ब ७० करोड ६३ लाख २५ हजार बराबरको बजेट ल्याएकोमा पुस ११ गतेसम्म रू चार अर्ब एक करोड चार लाख ५६ हजार बराबर खर्च भएको उपप्रमुख डङ्गोलले नगरसभालाई जानकारी गराउनुभयो । हालसम्मको बजेट खर्च कूल विनियोजनको १६ दशमलव १० प्रतिशत हो ।       महानगरपालिकाले हालसम्म चालु शीर्षकमा २३ दशमलव ५८ प्रतिशत र पुँजीगत खर्च १० दशमलव ९२ प्रतिशत खर्च भएको छ ।      “हालसम्म पूर्वाधार विकासमा १२ दशमलव १३ प्रतिशत, आर्थिक विकासमा २४ दशमलव १८ प्रतिशत, सामाजिक विकासमा १२ दशमलव २३ प्रतिशत खर्च भएको छ”, उपप्रमुख डङ्गोलले भन्नुभयो, “त्यसैगरी सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ सात दशमलव ९२ प्रतिशत खर्च भएको देखिएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा भने सबैभन्दा वढी ३६ दशमलव ५४ प्रतिशत खर्च भएको देखिन्छ ।”      महानगरपालिकाले चालु आर्थिक वर्षमा रू १२ अर्ब ९० करोड ६३ लाख २५ हजार बराबर राजस्व उठाउने लक्ष्य राखेको थियो । यही पुस ११ गतेसम्म कुल रू चार अर्ब नौ करोड ८९ लाख ३६ हजार बराबर राजस्व प्राप्त भएको महानगरपालिकाले जनाएको छ ।  जसमा आन्तरिक राजस्वतर्फ कुल रू दुई अर्ब ६१ करोड ५५ लाख ४३ हजार सङ्कलन भएको छ भने राजस्व बाँडफाँडबाट रू ५९ करोड ८९ लाख ४१ हजार र सङ्घ तथा प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान रू ८८ करोड ४४ लाख ५१ हजार रहेको छ । हालसम्मको कुल राजश्व सङ्कलन वार्षिक लक्ष्यको ३१ दशमलव ०७ प्रतिशत हुन आउँछ भने आन्तरिकतर्फ कुल लक्ष्यको ३२ दशमलव ५५ प्रतिशत प्रगति भएको देखिन्छ ।      स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको प्रारम्भिक नतिजामा काठमाडौँ महानगरपालिकाले ८२ दशमलव ७५ अङ्क प्राप्त गरेको पनि उपप्रमुख डङ्गोलले बताउनुभयो । यो अङ्क काठमाडौँ महानगरपालिकाले पाएको हालसम्मकै उच्च अङ्क हो ।  

पर्सा:    प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक क्रान्ति भइसकेकाले अब जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यक भएको बताउनुभएको छ ।      नेकपा (एमाले)को पर्सा जिल्ला कमिटीले आज सखुवा प्रसौँनीमा आयोजना गरेको बृहत् पार्टी प्रवेश र जनसभालाई सम्बोधन गर्दै एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले अहिलेको सरकारले देशको विकास र जनताको जीवनमा सकारात्मक परिवर्तनका लागि कटिबद्ध रहेको बताउनुभयो ।      “हामी क्रान्तिकारी हौँ । क्रान्तिमा लाग्नु भनेको तोडफोड र जुलुश गर्नु होइन, अब नागरिकको जीवनमा परिवर्तन ल्याउने क्रान्ति गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “मधेसका केन्द्रित राजनीतिक दलका नेताले संविधानकै धाराको राजनीतिमा जनतालाई अलमल्याउने काम गरे । हामी त्यस्तो गर्दैनौँ ।”      मान्छेलाई अधिकारसहित सम्पन्न बनाउन उत्पादन र उद्यमशीलतालाई आफूहरुले जोड दिएको उहाँको भनाइ थियो ।  “यो सरकारले समृद्धि र सुशासनका लागि काम गर्नेमा ढुक्क हुनुहोस्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब तर्क गरिहनु आवश्यक छैन । व्यवहारबाट पुष्टि भइएसकेको छ  । देश बनाउने पार्टी एमाले नै हो र एमाले मात्रै हो । त्यसकारण म अरु पार्टीमा रहेका साथीहरुलाई पनि एमालेमा आउन आग्रह गर्दछु । मलाई विश्वास छ मधेस प्रदेशको आठै जिल्लामा प्रवेशको लहर फैलिनेछ ।”      प्रधानमन्त्री ओलीले हुलाकी राजमार्गमा १३ आधुनिक सहर निर्माण, सुनकोसी मरिन डाइभर्सन, उद्यमशीलता, कृषि उत्पादन र आय बढाउने जस्ता काममा विगतमा आफू सरकारमा हुँदा महत्व दिएको र अब पुनः ती कामले गति लिने बताउनुभयो ।       उहाँले स्थानीयको मागबमोजिम पर्साको पोखरियाको नगर अस्पताललाई स्तरोन्नति गरिएको र नापी तथा मालपोत कार्यालयको सेवा केन्द्र स्थापना गरिएको बताउँदै चाँडै इलाका प्रशासन कार्यालय स्थापना गरिने विश्वास दिलाउनुभयो ।      प्रधानमन्त्री ओलीले बालबालिका र ज्येष्ठ नागरिकलाई सम्मान गर्न तथा महिला दिदीबहिनीहरुलाई सामाजिक र राजनीतिकरुपमा अगाडि बढाउन सहयोग गर्न आग्रह गर्दै महिला र युवालाई अत्यधिकरुपमा परिचालन नगरेसम्म जनतामा भिजेको बलियो पार्टी बनाउन नसकिने भएकाले त्यस अनुसार काम गर्न स्थानीय पार्टी नेतृत्वलाई सुझाव दिनुभयो ।      कार्यक्रममा सो गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवाललगायत विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्नुभएको थियो । 

काठमाडौं:   दक्षिण कोरियाको यातायात मन्त्रालयले आइतबार आफ्नो अनुसन्धान एकाइले दुर्घटनाग्रस्त यात्रुवाहक विमानबाट दुवै ‘ब्ल्याक बक्स’ सुरक्षित निकालेको जनाएको छ ।  ‘ब्ल्याक बक्स’ विमान उडानका समय भएका गतिविधिहरूको रेकर्ड गर्ने उपकरण हो ।  भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले स्थानीय टेलिभिजनलाई दिएको जानकारीमा ‘दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन उडानसम्बन्धी तथ्याङ्क (डाटा) र भ्वाइस रेकर्डर दुवै भेटिएका’ बताउनुभएको छ ।  विमानमा १७३ दक्षिण कोरियाली र दुई थाइल्याण्डका नागरिकसहित १७५ यात्रु रहेका थिए भने छ जना चालक दलका सदस्य थिए ।  दुर्घटनाग्रस्त विमान राजधानी सियोलबाट करिब २९० किलोमिटर दक्षिणपश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा स्थानीय समयअनुसार आइतबार बिहान ९ः०७ बजे दुर्घटनाग्रस्त भएको थियो । थाइल्याण्डको बैङ्ककबाट उडेको जेजु एयरको विमान ७सी२२१६ रनवेबाट चिप्लिँदा धावनमार्गको बाहिरी भित्तामा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो ।  विमानमा सवार १८१ जनामध्ये ३३ र २५ वर्षका दुई जना चालक दलका सदस्यबाहेक सबैको मृत्यु भएको अनुमान गरिएको छ । हराइरहेका यात्रुको खोजी कार्य जारी छ ।  अग्नि नियन्त्रक अधिकारीहरूले चराको आक्रमणका कारण विमान दुर्घटना भएको हुनसक्ने अनुमान गरेका छन्।  पहिलो अवतरण प्रयासपछि, विमान अवतरण गियरको अनुमानित खराबीको कारण विमानले पुनः आकाशमा फर्किएकोे र दोस्रो अवतरण प्रयास ‘बेली–ल्यान्डिंग’को साथ गरिएको थियो ।  स्थानीय टेलीभिजनले प्रशारण गरेको एउटा फुटेजमा बोइङ ७३७–८०० विमानबाट कालो धुवाँको मुस्लो निस्केको देखिएको छ । अर्को फुटेजमा विमानको दायाँ पखेटामा रहेको इन्जिनमा अवतरण गर्नुअघि आगोको ज्वालासहितको धुवाँ निस्किरहेको देखिएको छ ।  यातायात मन्त्रालयले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन समय लाग्न सक्ने बताएको छ ।