पोखरा: पोखरा महानगरपालिकाले स्थानीयको अवरोधकाबीच १२ दिनपछि ३० वटा गाडीमा राखिएको फोहोर अस्थायी ल्याण्डफिल साइटमा फालेको छ । पोखरा महानगरपालिका ३२ लामेआहालमा रहेको अस्थायी रुपमा रहेको ल्याण्डफिल साइटमा आज महानगरले ३० गाडी फोहोर फालिएको महानगरले जनाएको छ । पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सीनाले अस्थायी ल्याण्डफिल साइटमा फोहोर फाल्नका लागि स्थानीयसँगसमन्वय भइरहेको र सर्वोच्च अदालतले पनि कानूनी बाटो खुल्ला गरेकाले फोहोर फालिएको बताए । ‘लामेआहालमा रहेको अस्थायी रुपमा रहेको ल्याण्डफिल साइटमा फोहोर फाल्न स्थानीयले केहीदिन यता अवरोध गरेका थिए, त्यसमा सर्वोच्च अदालतमा पनि मुद्धा प¥यो’, तिम्सीनाले भने, ‘स्थानीयको माग पूरा गर्न छलफलमा गरिरहेका छौं, अदालतले पनि कानूनी बाटो खुल्ला गरेकाले आज फोहोर फालेका हौं ।’ यस्तै पोखरा महानगरापालिकाका सरसफाई शाखा प्रमुख कल्पना बरालले सोमबार पोखराको विभिन्न स्थानबाट उठाइएका फोहोर आज अस्थायी ल्याण्डफिल्ड साइडमा फालिएको जानकारी दिइन् । उनले सोमबार उठेको फोहोर आज फालेकाले अब नियमित रुपमा फोहोर उठ्ने बताएकी छिन् । सोमबार जिल्ला प्रशासन कार्यालय कास्कीमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले लामेआहालमै फोहोर फाल्ने निर्णय गरेको थियो । स्थानीयले अवरोध गर्नसक्ने अवस्थालाई ध्यानमा राखेर सुरक्षाकमी परिचालन गरिएपनि विना अवरोध फोहोर अस्थायी ल्याण्डफिल्डमा फालिएको महानगरले जनाएको छ । पोखरा महानगरपालिकाले अस्थायी ल्याण्डफिल साइट निर्माण गर्दा स्थानीयसँग गरिएको १६ बुँदे माग कार्यान्वयन गर्ने बताउँदै आएको छ ।
मकवानपुरको बागमती गाउँपालिका- ५ सिग्रे देभानमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित छ जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बागमती–५ सिग्रे देभानका अक्कलबहादुर स्याङतानको घर पहिराले पुरिएको हो। पहिरामा परी ज्यान गुमाउनेमा अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमाया स्याङतान रहेको प्रहरीले जनाएको छ। अक्कलबहादुर, उनका छोरी शिला स्याङतान, ज्वाइँ जीवन पहरी,नाति चार वर्षीय मिलन पहरी, डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना सिन्धुली हरिहरपुरका १६ वर्षीया पासाङ पहिरामा पुरिएर बेपत्ता भएको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी पुगेर उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले बताए। रासस
ललितपुरको च्यासलमा रहेको नेकपा (एमाले) को केन्द्रीय कार्यालयमा बाढी पसेको छ। काठमाडौंको पूर्वी भेग भएर आउने मनोहरा नदीको जल सतह बढ्दा मंगलबार बिहान पार्टी कार्यालय डुबानमा परेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए। च्यासल जोड्ने पुलमुनिबाट पानी पास हुन नसक्दा ठोक्किएर पार्टी कार्यालयतिर फर्किएको र कम्पाउन्ड डुबेको उनको भनाइ छ। ‘पुलमुनिबाट पानी पास हुन नसक्दा फर्कियो। अहिले कम्पाउन्ड पूरै डुबेको छ। अरू क्षति छैन,’ उनले भने। एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानको घर भाडामा लिएर पार्टी कार्यालय सञ्चालन गरिरहेको छ। सरकारले च्यासलको जग्गा तुलसीलाल स्मृति प्रतिष्ठानलाई भोगाधिकार दिएको छ। नदी किनार त्यो पनि होचो स्थानमा भएकाले त्यो ठाउँ जहिल्यै डुबानको चपेटामा पर्छ। सोमबार राति देखिको अविरल वर्षाका कारण काठमाडौंका अरू क्षेत्र पनि बाढी र डुबानमा परेका छन्। सामाखुसी, अनामनगर, टोखा, गोंगबु नयाँ बसपार्कलगायत ठाउँमा डुबान भएको छ। बागमती, बिष्णुमतीलगायत नदीहरूमा जल सतह निकै बढेको छ।
बेनी: बेनी–जोमसोम सडकको राहुघाट–तातोपानी खण्डमा रातमा सवारी आवागमन बन्द गरिएको छ । यस खण्डको बैसरीलगायतका क्षेत्रमा पहिरो गई बारम्बार यातायात अवरुद्ध हुन थालेपछि रातको समयमा सवारी आवागमन बन्द गरिएको हो । सोमबार जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षतामा बसेको सर्वपक्षीय समन्वय बैठकले ठाउँठाउँमा पहिराको कारण दैनिकजसो सडक आवागमन अवरुद्ध हुने गरेको र जनधनको समेत क्षति हुने जोखिम रहेकाले वर्षायामभरि रातिको समयमा यातायात आवागमन नगर्न अनुरोध गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो । रघुगङ्गा गाउँपालिका–२ बैसरीको अँधेरीखोलामा निरन्तर पहिरो खस्न नरोकिएको र पहिरो खसेर सडक अवरुद्ध हुँदा धेरै सर्वसाधारण र यात्रु अलपत्र पर्ने समस्या आउन थालेपछि रातको समयमा सवारी आवागमनलाई रोक्ने निर्णय गरिएको उहाँले बताउनुभयो । रातको समयमा अत्यावश्यक यात्रा गर्नुपरेमा सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिलाई खबर गरेरमात्रै आवातजावत गर्नसमेत आग्रह गरिएको छ । त्यसैगरी बैसरी पहिरो रोकथामका लागि पहिरो खस्न सुरु भएकै ठाउँमा एक्साभेटर मेसिन प्रयोग गेरेर संरक्षण र रोकथामका संरचना निर्माण गर्न कालीगण्डकी करिडोर ९बेनी–जोमसोम–कोरला सडक योजना०लाई अनुरोध गर्ने र सो कार्यका लागि जिल्ला समन्वय समिति, जिल्लास्थित सुरक्षा निकाय, रघुगङ्गा गाउँपालिका, डिभिजन वन कार्यालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने निर्णयसमेत भएको जिसस प्रमुख राजकुमार थापाले बताउनुभयो । बैसरीको अँधेरीखोलामा निरन्तर पहिरो खस्न थालेपछि गत शनिबारदेखि बेनी–जोमसोम सडकखण्डमा सिधा सवारी अवरुद्ध बनेको छ । सडकमाथिको डाँडा र पाखाबाट निरन्तर पहिरो खस्न थालेपछि सडक अवरुद्ध भएकाले सडकमा सयौँ सवारीसाधन लाम लागेका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले भूमिगत पानी र भिरमाथिको पाखोबाट सडकमा पहिरो खसिरहने भएकाले सडक सञ्चालन गराउन समस्या भएको जानकारी दिनुभयो । बेनी–जोमसोम सडकमा सिधा सवारी अवरुद्ध बनेसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका र सिङ्गो मुस्ताङवासीलाई सास्ती भएको छ भने मुस्ताङको भ्रमणमा आएका पर्यटक र मुक्तिनाथको दर्शनका लागि आएका तीर्थयात्रीसमेत बीच बाटैमा अलपत्र परेका छन् । गत वर्षदेखि अँधेरीखोलाको भिरबाट पहिरो खस्न थालेको थियो । यस क्षेत्रमा यसअघि पहिरो खस्दा गुडिरहेका सवारीसाधनमा क्षति पुर्याउनुका साथै र यात्रुलाई समेत चोटपटक लागेको थियो ।
चितवन: कालीखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ मा पर्ने कालीखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार बिहान सवा ५ बजेतिर लेदोसहितको ठूलो पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो पन्छाउन तयारी भइरहे पनि ठूलो पानी परिरहेकाले कठिनाइ भएको छ । पहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् । पहिरो हटाउन समय लाग्न सक्ने भएकाले यो सडक भएर सकेसम्म यात्रा नगर्न प्रहरीको अनुरोध छ । नारायणगढ–मुग्लिन सडक खण्डमा पानी पर्नासाथ पहिरो जाने गरेको छ । यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।
पोखरा: स्थानीयको अवरोधले १२ दिनदेखि रोकिएको पोखरा महानगरको फोहोर आजदेखि उठाइने भएको छ । पोखरा ३२, लामेआहालका स्थानीयको अवरोध भएपछि फोहोर सडकमै थुप्रिएको थियो । अस्थायी ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापनका क्रममा फेरि पनि अवरोध सिर्जना भए बल प्रयोग गर्ने महानगरको तयारी छ । सोमबार जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकले मंगलबारदेखि फोहोर व्यवस्थापन लामेआहालमा लगेर व्यवस्थापन गर्ने निर्णय गरेको थियो । पोखरा महानगर प्रवक्ता नम्बर मोतीलाल तिमिल्सिनाले अन्तिम समयसम्म स्थानीयसँग समन्वय भइरहेकाले बल प्रयोग गर्ने स्थिति नआउने जिकिर गरे । पोखरा महानगरले पोखरा ३२, लामेआहालमा भएको अस्थायी ल्यान्डफिल साइट बनाएर फोहोर व्यवस्थापन गर्दै आएको छ । महानगरले यसअघि पोखरा १४, बच्छीबडुवामा फोहोर फाल्दै आएको थियो । तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै लामेआहालमा अस्थायी ल्यान्डफिल साइट तोकेर ६ महिनाअघिबाट फोहोर फाल्न सुरु गरिएको हो । ल्यान्डफिल साइटमा उड्ने चराचुरुंगीका कारण विमान दुर्घटनाको जोखिम हुनसक्ने भएकाले ल्यान्डफिल साइट स्थानान्तरण गरिएको थियो । लामेआहालमा अस्थायी ल्यान्डफिल साइट बनाउन स्थानीयसँग महानगरले विभिन्न १६ बुँदे सहमति गरेको थियो। उक्त सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर फाल्न रोकेका थिए । महानगरले सहमति अनुसार काम नगरेको, ल्यान्डफिल साइटका कारण स्वास्थ्यमा प्रतिकूल असर परेकाले तत्काल फोहोर विर्सजन रोक्न बिहीबार महानगरविरुद्ध स्थानीय रविन केसी, जितेन्द्र केसी र ब्रजेश गुरुङले उच्च अदालत पोखरामा रिट दायर गरेका थिए । तर, अदालतले आइतबार निवेदकको मागबमोजिम अन्तरिम आदेश दिनु नपर्ने परमादेश दिएपछि महानगरपालिकालाई लामेआहालमा फोहोर व्यवस्थापन गर्ने कानुनी बाटो खुला भएको हो । साभार अनलाइनखबर
स्याङ्जा: स्याङ्जाको भिरकोट नगरपालिका –४ छङछाङ्दीमा माइक्रो बस र भारतीय नम्बरको बस एकापसमा ठोकिँदा १३ जना घाइते भएका छन् । काठमाडौँबाट स्याङ्जाको वालिङतर्फ जादैगरेको बा ३ प १००३ नम्बरको माइक्रो बस र सुनौलीबाट पोखरा जाँदै गरेको भारतीय पर्यटक चढेको जीजे ०५ बीएक्स २३२३ नम्बरको बस सोमवार साँझ ६ बजे एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । घाइतेमध्ये दुई जनालाई उपचारका लागि पोखरा पठाइएको छ । उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । माइक्रो चालक गल्याङ नगरपालिकामा बस्ने ४० बर्षीय पूरन बोहोरा र परिचय नखुलेका माइक्रो सहचालकलाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीको भनाइ छ । दुर्घटनामा परी स्याङजा वालिङ २ का पबित्रा सोनाम, वालिङ ९ का दुर्गा ब।गुरुङ, वडा नं. २ का मुना गुरुङ, वडा १३ का मन्जु एस्के, वडा ८ का सरिता रेग्मी, भिरकोट घर भई वालिङ १ बस्ने मनसुभा नेपाली, चापाकोट ३ का बेद ब. थापा, चापाकोट ४ का मिन ब. सारु, पर्बतको बिहादी गाउँपालिका ४ का रुकमागत भुसाल, बिहादी ६ का टेक ब. बस्याल, वालिङ २ का सुमित्रा थापा मगर रहेका छन् । सबैको गह्रौ प्राथमिक अस्पताल वालिङमा उपचार भइरहेको प्रहरीले बताएको छ । भारतीय बसमा सवार ४८ जना सबै सकुशल रहेको प्रबक्ता सुवेदीले जानकारी दिनुभयो । दुबै सवारी साधन र भारतीय बस चालक प्रहरी नियन्त्रणमा रहेको उहाँले बताउनुभयो ।
काठमाडौं: प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । संसदको अवरोध खोल्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति नजुटेपछि सूचना टाँसेर स्थगित भएको हो । संघीय संसद सचिवालयले सूचना टाँसेर प्रतिनिधिसभाको बैठक २३ साउनको दिउँसो ३ बजे बस्ने जानकारी दिएको छ ।
पाल्पा: पाल्पामा डेङ्गु सङ्क्रमित महिलाको मृत्यु भएको छ । डेङ्गु संक्रमित तानसेन–६, बर्तुङ्की ६९ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । तानसेनस्थित मिसन अस्पतालमा उपचारको क्रममा साउन २१ गते साँझ मृत्यु भएको हो । मृतक महिलामा एकसाताअघि डेङ्गु संक्रमणको पुष्टि भएको मिसन अस्पतालले जनाएको छ । पाल्पामा पछिल्लो समय डेङ्गु संक्रमण बढ्दै गएको छ । पछिल्लो एक महिनायता पाल्पामा १५ भन्दा बढी मानिसमा डेङ्गु संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराइले जानकारी दिनुभयो ।