दोलखामा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ। बिगु गाउँपालिका–२ ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो तामाकोशी नदीमा माछा मार्न गएको तामाङको पहिरोमा पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय सिङगटीले जनाएको छ। उनी गए राति माछा मार्न तामाकोशी नदी जाँदै गर्दा बाटोमा पहिरोले पुरिएका हुन्। तामाङसँगै गएका अन्य तीन जनाले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ। केही दिनअघि गौरीशङ्कर गाउँपालिका–७ मा पहिरोबाट दुई जनाको ज्यान गएको थियो ।
बैतडी: महिनावारी (छाउ) हुँदा गोठमा सुतेकी १६ वर्षीया किशोरीको सर्पले टोक्दा मृत्यु भएको छ । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो । मृतक किशोरीको घर पञ्चेश्वर गाउँपालिका केन्द्र नजिकै रहेको छ । महिनावारी भएको बेला गोठमा सुतिरहेको अवस्थामा अनितालाई मङ्गलबार राति सर्पले टोकेको र बुधवार बिहान किशोरीको मृत्यु भएको पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताउनुभयो । अनिता जवलपुर मावि सैलोडामा कक्षा १० मा अध्ययनरत रहेको स्थानीय वीरेन्द्र चन्दले जानकारी दिनुभयो । किशोरीका बुवा रोजगारीका लागि भारतमा हुनुहुन्छ । छाउपडी कानुन कागजमै सीमित छाउपडी प्रथा उन्मूलन गर्न कानुन बने पनि सुदूरपश्चिममा उक्त कानुनबारे गाउँ समाज बेखबर रहेको पाइएको छ । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १० मा भेदभाव र अपमानजनक व्यवहारसम्बन्धी कसुर शीर्षकको दफा १६८ उपदफा ९३० मा महिलाको रजस्वला र सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमको भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन भनिएको छ । यस्तो कार्य गरेको ठहरिएमा ३ महिनासम्म कैद वा ३ हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था यस ऐनमा गरिएको छ । सार्वजनिक ओहदाको व्यक्तिले यस्तो विभेद गरेको ठहरिएमा अन्य व्यक्तिलाई हुने सजाय भन्दा दोब्बर सजाय हुने व्यवस्था गरिएको छ । सोही कानुनको दफा १६९ मा यस्तो कसुर गर्ने व्यक्तिबाट पीडितलाई पुगेको क्षति र पीडा बापत मनासिब क्षतिपूर्ति भराइदिनुपर्ने व्यवस्था छ ।
गण्डकी: गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स सेवाका लागि हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ । पैसा नलाग्ने नम्बर १०२ मा फोन गरेर जो–कोहीले सजिलै एम्बुलेन्स सेवा प्राप्त गर्न सक्नेछन् । प्रदेश स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले एम्बुलेन्स परिचालन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन मन्त्रालयमा स्थापित प्रेषण केन्द्रबाट मङ्गलबार सो सेवाको शुभारम्भ गर्नुभयो । सो अवसरमा उहाँले प्रदेशभरिका नागरिकले एम्बुलेन्स प्रेषण केन्द्रबाट लाभ लिने बताउनुभयो । नेपाल सरकारले ल्याएको राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ बमोजिम गण्डकी प्रदेशमा पनि एम्बुलेन्स सेवालाई व्यवस्थित गर्न सुरु गरिएको मन्त्रालयका उपसचिव उदयबहादुर पराजुलीले बताउनुभयो । प्रदेशभित्र सञ्चालित सबै एम्बुलेन्सलाई क्रमशः जिपीएस प्रणालीमा जोडेर एकद्वार सेवामा आबद्ध गरिने उहाँको भनाइ छ । “प्रेषण केन्द्र सञ्चालनमा आइसकेको छ, जुनसुकै बेला एम्बुलेन्स चाहिएमा १०२ मा फोन गरेर सेवा लिन सकिन्छ”, उहाँले भन्नुभयो, “प्रेषण केन्द्रमा भएका कर्मचारीले बिरामी र एम्बुलेन्स चालकबीच सहजीकरण गर्छन्, एकैछिनमा बिरामी भएकै ठाउँमा एम्बुलेन्स पुग्छ ।” बिरामीले फोन गरेर आफ्नो नाम र ठेगाना बताएपछि जिपीएसबाट हेरेर त्यस क्षेत्र नजिकमा रहेको एम्बुलेन्सलाई बिरामी भएको ठाउँसम्म पठाउने प्रबन्ध प्रेषण केन्द्रबाट हुने मन्त्रालयले जनाएको छ । प्रदेशभित्र हाल सञ्चालनमा रहेका एक सय २२ एम्बुलेन्समध्ये ३८ एम्बुलेन्समा मात्र जिपीएस जडान गरिएको छ । अहिले प्रदेशमा ‘क’ र ‘ख’ गरी दुई वर्गका बाँडेर एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । ‘क’ वर्गको एम्बुलेन्समा आइसीयू र ‘ख’ मा तालिमप्राप्त स्वास्थ्यकर्मीसहितको सेवा उपलब्ध छ । उपसचिव पराजुलीले जिपीएससहितको हटलाइन सेवाले एम्बुलेन्स परिचालनलाई व्यवस्थित र पारदर्शी बनाउने बताउनुभयो । “एम्बुलेन्सको भाडामा कसैले मनलाग्दी गर्न पनि मिल्दैन, सबै काम एकीकृत प्रणालीबाट हुन्छ, यसबाट नागरिकलाई पनि सहज र छिटो सेवा पुग्छ”, उहाँले भन्नुभयो, “अस्पताल जान एम्बुलेन्स नपाउने, समयमा नआउने अवस्थाको अन्त्यका लागि यो सेवा सञ्चालनमा ल्याइएको हो ।” प्रेषण केन्द्रमा थप जनशक्ति प्रबन्ध गरेर हटलाइन सेवालाई व्यवस्थित गर्दै लगिने मन्त्रालयले जनाएको छ । यो सेवालाई जिल्ला तहमा पनि विस्तार गर्ने योजना प्रदेश सरकारको छ ।
डोटी: डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन् । आदर्श गाउँपालिका–२ कारङेमा मङ्गलबार विषालु च्याउ खाएर उनीहरु बिरामी भएका हुन् । दिपायल–मेललेख सडकमा काम गर्ने मजदुर च्याउ खाएपछि बिरामी भएका इलाका प्रहरी कार्यालय आदर्शका प्रहरी वरिष्ठ नायब निरीक्षक केशव जोशीले जानकारी दिनुभयो । बिरामी पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिकाका–९ का दिलबहादुर राजी, वीरबहादुर थापा, पूर्णबहादुर थापा, रामबाहदुर थापा, धनबहादुर थापा, पदम सलामी, लालबहादुर आलेमगर, भीमबहादुर आलेमगर, लक्ष्मीराम पुलामीमगर, विशाल मगर, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का चक्र मल्ल र कैलालीको धनगढी उपमहानगरपालिका–१६ का हर्क रम्जाली छन् । बिरामी भएका सबैको आदर्श गाउँपालिाकामा रहेको मौवा स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी वरिष्ठ नायब निरीक्षक जोशीले बताउनुभयो ।
महोत्तरीको सोनमा गाउँपालिकामा खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन्। मरहा खोलाले मङ्गलबार साँझ बगाउँदा सोनम–१ का ३८ वर्षीय जाबिर अन्सारी बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार मरहा खोला तर्ने क्रममा जाबिरलाई बाढीले बगाएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उनको खोजी गरिरहेका छन् ।
काठमाडौं: अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘इन्डिजिनियस युथ एस अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो । नाराको अर्थ आफूले निर्धारण गरेअनुरुपको परविर्तनको संवाहक आदिवासी युवाहरू भन्ने हुन्छ । आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको नेपाल आदिवासी जनजाति महासङ्घले जनाएको छ । दिवसका अवसरमा आज बानेश्वरमा जनजाति आयोगले कार्यक्रमको आयोजना गरेको छ । त्यसैगरी आदिवासी जनजाति महासङ्घले दिउँसो नेपाल प्रज्ञा–प्रतिष्ठानमा पनि आयोजना आयोजना गरेको छ । सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो । संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो । उक्त दिवसका लागि संयुक्त राष्ट्रसङ्घको लोगोलाई बङ्गलादेशका कलाकार रिबन देवानले तयार पारेका हुन् । सो लोगोमा हरियो पातका दुई कानजस्तो आकृतिले पृथ्वीलाई दुईपट्टिबाट घेरेको देखिन्छ । सोही सन्दर्भ पारेर नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले पनि काठमाडौँमा कार्यक्रमको आयोजना गरेको छ
काठमाडौं: भुटानको लिग च्याम्पियन पारो एफसीमाथि कठिन जित निकाल्दै नेपालको मच्छिन्द्र क्लब एएफसी कप-२०२३ को दोस्रो चरणमा प्रवेश गरेको छ । दशरथ रंगशालामा मंगलबार साँझ भएको प्रारम्भिक चरणको खेलमा मच्छिन्द्रले पारो एफसीलाई ३-२ गोलले हरायो । मच्छिन्द्रले सुरुवातमा पछि परेको अवस्थालाई उल्टाएर पुनरागमन जित निकालेको हो । खेलको अन्तिम १५ मिनेट उत्कृष्ट प्रदर्शन गरेको पारोको बराबरी गोल फर्काउने प्रयास सफल भएन । पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको मच्छिन्द्रले दोस्रो हाफमा लय गुमाएको थियो । मच्छिन्द्रको जितम विमल घर्तीमगर, आयुष घलान र अोलावाले अफिजले गोल गरे । पारोका लागि काजुअो होमा र इभनास असान्तेले गोल गरे । पारोले सातौं मिनेटमै अग्रता काजुओले मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठको कमजोरीमा पोस्ट् नजिकबाट गोल गरेका थिए । तर पारोको अग्रता लामो समय टिकेन । १२औं मिनेटमा वीमल घर्तीमगरले उत्कृष्ट हेड गोल गर्दै खेललाई बराबरीमा ल्र्या । तीन मिनेट लगत्तै आयुश घलानले विमलको पासमा गोल गर्दै मच्छिन्द्रको अग्रता दोब्बर बनाए । त्यसपछि ओलावाले अफिजले ३८औं मिनेटमा उत्कृष्ट गोल गर्दै मच्छिन्द्रलाई ३–१ अग्रता दिलाए । पारोका इभनासले ७०औं मिनेटमा वान भर्सेस वानको अवस्थामा गोल गर्दै टोलीलाई पुनः खेलमा फर्काउने प्रयास गरे । चार हजार दर्शकको साथ पाएको मच्छिन्द्र अन्तिममा अग्रता जोगाउन अत्तालिएको थियो । अन्तिममा मच्छिन्द्रको पोस्ट्मा लगातार प्रहार गरेपनि पारोको बराबरी गोल र्फाउने प्रयास सफल भएन । मच्छिन्द्रले शहिद स्मारक ‘ए’ डिभिजन लिगको उपविजेताको रुपमा एएफसी कप खेलेको हो । नेपालको ‘ए’ डिभिजन लिग च्याम्पियन बनेपनि चर्च ब्वाइज युनाइटेडको एएफसी क्लब लाइसेन्स नहुँदा उपविजेता मच्छिन्द्रले मौका पाएको हो । मच्छिन्द्रले गतवर्ष पनि प्रारम्भिक चरणमा श्रीलङ्काको क्लब ब्लु स्टारसँग घरेलु मैदानमै एएफसी खेलेको थियो । तर मच्छिन्द्रको यात्रा दशरथ रङ्गशालाबाट अगाडि बढ्न सकेको थिएन । मच्छिन्द्रले अब दोस्रो चरणमा भारतको सुपर लिग टोली मोहन बगानसँग अगष्ट १६ तारिख खेल्नेछ ।
गोरखा: गोरखा नगरपालिका–७, सतिपिपलस्थित एक घरबाट बरामद गरी जिल्ला प्रहरी कार्यालय गोरखामा विशेष सुरक्षासहित राखिएको टल्कने ढुङ्गा परीक्षणका लागि खानी तथा भूगर्भ विभागको भूगर्भविद् सहितको टोली गोरखा आइपुगेको छ । स्थानीयसहित विभिन्न सङ्घ संस्थाले बरामद् गरेको उक्त टल्कने ढुङ्गा अन्यत्र नपठाउन अनुरोध गरेपछि ढुङ्गा परीक्षणका लागि भूगर्भविद् सहितको टोली गोरखामै झिकाइएको हो । टल्कने ढुङ्गा परीक्षणका लागि जियोलोजिष्ट डा। सुस्मिता भण्डारी र दुर्गा बोलाखे सोमबार गोरखा आइपुग्नुभएको गोरखाका साहायक प्रमुख जिल्ला अधिकारी पुस्कर रानाले जानकारी दिनुभयो । “ढुङ्गा बरामद गरेलगत्तै परीक्षणका लागि विज्ञ टोली पठाइदिन जिल्ला प्रशासन कार्यालयले भूगर्भ विभागलाई आग्रह गर्दै पत्राचार गरेको थियो”, उहाँले भन्नुभयो, “विभागले परीक्षण गर्न समस्या हुने भएकाले विभागमै ल्याउन भनेपनि लैजान समस्या भएपछि पुनः पत्राचार गरी विज्ञहरुको टोली जिल्लामै झिकाइएको हो ।” विभागले आवश्यक उपकरण सहितको विज्ञहरुको टोली पठाएको उहाँले बताउनुभयो । बराम्द गरिएको टल्कने ढुङ्गाको तौल ५४ केजी छ । एकातिरबाट लाइट बाल्दाभित्रैबाट अर्कोतिर उज्यालो बारपार हुने उक्त ढुङ्गा पुर्ख्यौली सम्पत्तिका रुपमा घरमै राखिएको पाइएको थियो । प्रहरीले बरामद् गरेलगत्तै पनि भूगर्भविद्लाई भिडियो कल गरेर देखाउँदा विज्ञहरुले उक्त टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ भएको हुनसक्न बताएका थिए । ‘क्वार्ज क्रिष्टल’ भए पनि कुन गुणस्तरको भन्ने कुराको परीक्षण गर्न विज्ञसहितको टोली नै गोरखा आएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । टल्कने ढुङ्गा वर्षौंदेखि घरमा पूजा गर्दै आएको पाइएपछि उक्त ढुङ्गा गोरखकाली मन्दिर या गोरखनाथ मन्दिर परिसरमा राख्न गोरखाका विभिन्न सङ्घ संस्थाले माग गर्दै आएका छन् । टल्कने ढुङ्गा ऐतिहासिक महत्वको भएको हुनसक्ने भन्दै उक्त शिला गोरखा दरबार परिसरमा प्रणप्रतिष्ठा गरी व्यवस्थापन गर्नुपर्नेमा सङ्घ संस्थाको जोड छ । पूजाआजा र धर्मकर्ममा प्रयोग गरिरहेको अलौकिक प्रकारको बल्ने शीला कुनै पनि बहानामा गोरखा जिल्ला बाहिर नपठाइ मूलधनीको ईच्छाअनुसार गोरखकाली र गोरखनाथको पवित्र भूमिमा राख्नुपर्ने माग स्थानीयको छ ।
काठमाडौं: निजी विद्यालय सञ्चालकहरूले शिक्षा विधेयकमा भएका केही प्रावधान खारेजीको माग गरेर आन्दोलनको घोषणा गरेका छन् । निजी विद्यालयले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संशोधन गर्नपर्ने मागसहित विद्यालय बन्दसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । आज मङ्गलवार काठमाडौं प्याब्सन, नेशनल प्याब्सन र हिसानले संयुक्त पत्रकार सम्मेलन गर्दै विधेयकमा राखिएका केही प्रावधान निजी लगानीका संस्थागत विद्यालयहरूप्रति पूर्वाग्रही मात्र नभएर संविधान विपरीत, अव्यावहारिक र अन्यायपूर्ण भएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । उनीहरूले भोली बुधवार पालिका, जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ, प्रदेश मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, पर्सि बिहीवार मस्यौदा विरोध प्रदर्शन गर्ने, साउन २६ गते सरोकारवाला पक्षबीच अन्तरक्रिया तथा छलफल गर्ने, साउन २७ गते आ–आफ्नो सङ्गठनमा समीक्षा गर्ने, साउन २८ गते अनिश्चितकालीन विद्यालय बन्द गर्ने र साउन २९ गते अनिश्चितकालीन विद्यालय बन्दसँगै विद्यालयका गाडी सार्वजनिक स्थलमा पार्किङ गर्ने घोषणा गरेका छन् । पाँच वर्षभित्रमा निजी लगानीका विद्यालयहरूले आफ्ना सम्पूर्ण दायित्व फर–फारक गरी शैक्षिक गुठीमा रूपान्तरित हुनुपर्ने, पालिकाले तोकेको सीमाभित्र रहेर शुल्क लिन पाउने, फेरि जिल्ला शिक्षा कार्यालय र शिक्षा विभाग बिउँताउनेलगायतका विधेयकमा भएका विषय संशोधन गर्न निजी विद्यालय सञ्चालकहरूले माग गरेका छन् । अहिले विधेयकमा भएका केही बाध्यात्मक प्रावधान संविधानको भावना विपरीत, अव्यावहारिक र दुराशययुक्त रहेकोले आन्दोलन गर्न बाध्य भएको उनीहरूको जिकिर छ ।