काठमाडौं: नेपालले एसिसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि जितेको छ । शनिबार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधिको रक्षा गरेको हो ।  नेपालले सन् २०२३ मा पनि यो कपक...

काठमाडौं:    भुटानको लिग च्याम्पियन पारो एफसीमाथि कठिन जित निकाल्दै नेपालको मच्छिन्द्र क्लब एएफसी कप-२०२३ को दोस्रो चरणमा प्रवेश गरेको छ । दशरथ रंगशालामा मंगलबार साँझ भएको प्रारम्भिक चरणको खेलमा मच्छिन्द्रले पारो एफसीलाई ३-२ गोलले हरायो । मच्छिन्द्रले सुरुवातमा पछि परेको अवस्थालाई उल्टाएर पुनरागमन जित निकालेको हो । खेलको अन्तिम १५ मिनेट उत्कृष्ट प्रदर्शन गरेको पारोको बराबरी गोल फर्काउने प्रयास सफल भएन । पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको मच्छिन्द्रले दोस्रो हाफमा लय गुमाएको थियो ।  मच्छिन्द्रको जितम विमल घर्तीमगर, आयुष घलान र अ‍ोलावाले अफिजले गोल गरे । पारोका लागि काजुअ‍ो होमा र इभनास असान्तेले गोल गरे । पारोले सातौं मिनेटमै अग्रता  काजुओले मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठको कमजोरीमा पोस्ट् नजिकबाट गोल गरेका थिए ।    तर पारोको अग्रता लामो समय टिकेन । १२औं मिनेटमा वीमल घर्तीमगरले उत्कृष्ट हेड गोल गर्दै खेललाई बराबरीमा ल्र्या । तीन मिनेट लगत्तै आयुश घलानले  विमलको पासमा गोल गर्दै मच्छिन्द्रको  अग्रता दोब्बर बनाए । त्यसपछि ओलावाले अफिजले ३८औं मिनेटमा उत्कृष्ट गोल गर्दै मच्छिन्द्रलाई ३–१ अग्रता दिलाए । पारोका इभनासले ७०औं मिनेटमा वान भर्सेस वानको अवस्थामा गोल गर्दै टोलीलाई पुनः खेलमा फर्काउने प्रयास गरे ।   चार हजार दर्शकको साथ पाएको मच्छिन्द्र अन्तिममा अग्रता जोगाउन अत्तालिएको थियो । अन्तिममा मच्छिन्द्रको पोस्ट्मा लगातार प्रहार गरेपनि पारोको बराबरी गोल र्फाउने प्रयास सफल भएन । मच्छिन्द्रले शहिद स्मारक ‘ए’ डिभिजन लिगको उपविजेताको रुपमा एएफसी कप खेलेको हो । नेपालको ‘ए’ डिभिजन लिग च्याम्पियन बनेपनि चर्च ब्वाइज युनाइटेडको एएफसी क्लब लाइसेन्स नहुँदा उपविजेता मच्छिन्द्रले मौका पाएको हो । मच्छिन्द्रले गतवर्ष पनि प्रारम्भिक चरणमा श्रीलङ्काको क्लब ब्लु स्टारसँग घरेलु मैदानमै एएफसी खेलेको थियो । तर मच्छिन्द्रको यात्रा दशरथ रङ्गशालाबाट अगाडि बढ्न सकेको थिएन । मच्छिन्द्रले अब दोस्रो चरणमा भारतको सुपर लिग टोली मोहन बगानसँग अगष्ट १६ तारिख खेल्नेछ ।

गोरखा:     गोरखा नगरपालिका–७, सतिपिपलस्थित एक घरबाट बरामद गरी जिल्ला प्रहरी कार्यालय गोरखामा विशेष सुरक्षासहित राखिएको टल्कने ढुङ्गा परीक्षणका लागि खानी तथा भूगर्भ विभागको भूगर्भविद् सहितको टोली गोरखा आइपुगेको छ । स्थानीयसहित विभिन्न सङ्घ संस्थाले बरामद् गरेको उक्त टल्कने ढुङ्गा अन्यत्र नपठाउन अनुरोध गरेपछि ढुङ्गा परीक्षणका लागि भूगर्भविद् सहितको टोली गोरखामै झिकाइएको हो । टल्कने ढुङ्गा परीक्षणका लागि जियोलोजिष्ट डा। सुस्मिता भण्डारी र दुर्गा बोलाखे सोमबार गोरखा आइपुग्नुभएको गोरखाका साहायक प्रमुख जिल्ला अधिकारी पुस्कर रानाले जानकारी दिनुभयो । “ढुङ्गा बरामद गरेलगत्तै परीक्षणका लागि विज्ञ टोली पठाइदिन जिल्ला प्रशासन कार्यालयले भूगर्भ विभागलाई आग्रह गर्दै पत्राचार गरेको थियो”, उहाँले भन्नुभयो, “विभागले परीक्षण गर्न समस्या हुने भएकाले विभागमै ल्याउन भनेपनि लैजान समस्या भएपछि पुनः पत्राचार गरी विज्ञहरुको टोली जिल्लामै झिकाइएको हो ।” विभागले आवश्यक उपकरण सहितको विज्ञहरुको टोली पठाएको उहाँले बताउनुभयो ।  बराम्द गरिएको टल्कने ढुङ्गाको तौल ५४ केजी छ । एकातिरबाट लाइट बाल्दाभित्रैबाट अर्कोतिर उज्यालो बारपार हुने उक्त ढुङ्गा पुर्ख्यौली सम्पत्तिका रुपमा  घरमै राखिएको पाइएको थियो । प्रहरीले बरामद् गरेलगत्तै पनि भूगर्भविद्लाई भिडियो कल गरेर देखाउँदा विज्ञहरुले उक्त टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ भएको हुनसक्न बताएका थिए । ‘क्वार्ज क्रिष्टल’ भए पनि कुन गुणस्तरको भन्ने कुराको परीक्षण गर्न विज्ञसहितको टोली नै गोरखा आएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक  रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । टल्कने ढुङ्गा वर्षौंदेखि घरमा पूजा गर्दै आएको पाइएपछि उक्त ढुङ्गा गोरखकाली मन्दिर या गोरखनाथ मन्दिर परिसरमा राख्न गोरखाका विभिन्न सङ्घ संस्थाले माग गर्दै आएका छन् । टल्कने ढुङ्गा ऐतिहासिक महत्वको भएको हुनसक्ने भन्दै उक्त शिला गोरखा दरबार परिसरमा प्रणप्रतिष्ठा गरी व्यवस्थापन गर्नुपर्नेमा सङ्घ संस्थाको जोड छ । पूजाआजा र धर्मकर्ममा प्रयोग गरिरहेको अलौकिक प्रकारको बल्ने शीला कुनै पनि बहानामा गोरखा जिल्ला बाहिर नपठाइ मूलधनीको ईच्छाअनुसार गोरखकाली र गोरखनाथको पवित्र भूमिमा राख्नुपर्ने माग स्थानीयको छ । 

काठमाडौं:     निजी विद्यालय सञ्चालकहरूले शिक्षा विधेयकमा भएका केही प्रावधान खारेजीको माग गरेर आन्दोलनको घोषणा गरेका छन् ।  निजी विद्यालयले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संशोधन गर्नपर्ने मागसहित विद्यालय बन्दसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । आज मङ्गलवार काठमाडौं प्याब्सन, नेशनल प्याब्सन र हिसानले संयुक्त पत्रकार सम्मेलन गर्दै विधेयकमा राखिएका केही प्रावधान निजी लगानीका संस्थागत विद्यालयहरूप्रति पूर्वाग्रही मात्र नभएर संविधान विपरीत, अव्यावहारिक र अन्यायपूर्ण भएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । उनीहरूले भोली बुधवार पालिका, जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ, प्रदेश मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, पर्सि बिहीवार मस्यौदा विरोध प्रदर्शन गर्ने, साउन २६ गते सरोकारवाला पक्षबीच अन्तरक्रिया तथा छलफल गर्ने, साउन २७ गते आ–आफ्नो सङ्गठनमा समीक्षा गर्ने, साउन २८ गते अनिश्चितकालीन विद्यालय बन्द गर्ने र साउन २९ गते अनिश्चितकालीन विद्यालय बन्दसँगै विद्यालयका गाडी सार्वजनिक स्थलमा पार्किङ गर्ने घोषणा गरेका छन् । पाँच वर्षभित्रमा निजी लगानीका विद्यालयहरूले आफ्ना सम्पूर्ण दायित्व फर–फारक गरी शैक्षिक गुठीमा रूपान्तरित हुनुपर्ने, पालिकाले तोकेको सीमाभित्र रहेर शुल्क लिन पाउने, फेरि जिल्ला शिक्षा कार्यालय र शिक्षा विभाग बिउँताउनेलगायतका विधेयकमा भएका विषय संशोधन गर्न निजी विद्यालय सञ्चालकहरूले माग गरेका छन् । अहिले विधेयकमा भएका केही बाध्यात्मक प्रावधान संविधानको भावना विपरीत, अव्यावहारिक र दुराशययुक्त रहेकोले आन्दोलन गर्न बाध्य भएको उनीहरूको जिकिर छ ।

काठमाडौं:     गृह मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई सरकारले दिएको विभूषण लिलामीमा नराख्न आग्रह गरेको छ । मन्त्रालयले पुनलाई एक जानकारी पत्र पठाएर नेपाल सरकारले दिएको मानपदवी उज्जवल कीर्तियम राष्ट्रदीप द्वितीय श्रेणी न्यूनतम मूल्यसमेत उल्लेख गरेर बिक्रीका लागि लिलामीमा राखिएको विषय सामाजिक सञ्जालमा सार्वजनिक भएकोले त्यसो नगर्न आग्रह गरेको हो । कुनै नेपाली र विदेशीलाई दिएको मानपदवी र विभूषण कसैलाई बिक्री गरेमा, बन्धकी राखेमा वा मर्यादा विपरीत हुने गरी प्रयोग गरेमा सरकारले विभूषण रद्द गर्ने विषय पनि स्मरण गराएको छ । यसरी विभूषण नै रद्द भएपछि पाउने व्यक्तिको नामसमेत रद्द गरेर सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशन हुने विषय पनि गृह मन्त्रालयले प्रष्ट पारेको छ । महावीर पुनजस्तो प्रतिष्ठित र सम्मानित व्यक्तिबाट कुनै गैरकानुनी कार्य नहुनेमा मन्त्रालय विश्वस्त रहेको पनि पत्रमा उल्लेख छ ।  

काठमाडौं:  प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । मङ्गलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेसँगै उहाँमाथि संसदीय सुनवाइ प्रक्रिया सुरु भएको हो ।   यही साउन १८ गते बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो । सोही सिफारिसमाथिको सुनुवाइ प्रक्रियाका लागि १० दिने उजुरी आह्वान गर्ने निर्णय गरिएको समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले जानकारी दिनुभयो ।   राणाले भन्नुभयो, ‘‘प्रस्तावित प्रधानन्यायाधीशको बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रस्तावित व्यक्ति प्रस्तावित पदका लागि अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले १० दिनभित्र प्रस्ट आधार खोली मर्यादित भाषामा समिति समक्ष सूचना वा उजुरी दिन सरकारी सञ्चार माध्यामहरुमार्फत् सूचना प्रकाशित गर्न प्रस्ताव गर्दछु । सुनुवाइका लागि समितिमा प्राप्त प्रस्तावित व्यक्तिको नियुक्तिको अनुपयुक्तताको सम्बन्धमा उजुरी माग गर्ने सम्बन्धमा सूचना प्रकाशन तथा प्रसारण गर्न समिति सचिवलाई निर्देशन दिन्छु ।’’   तत्कालीन प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेरहदका कारण साउन २० गते नै प्रधानन्यायाधीशबाट अवकाश पाएपछि नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठमाथि संसदीय सुनुवाइ प्रक्रिया सुरु गरिएको छ । 

पोखरा:  अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष टुकाभद्र हमालले महिलालाई ३३ प्रतिशतमा सीमित नराखी समान सहभागिता गराइनुपर्नेमा जोड दिएकी छन् । महिलाहरूको क्षमता अभिवृद्धि गरी राज्यका हरेक अंगमा समान सहभागिता नै अनेम संघको प्रमुख मुद्धा रहेको उनले बताइन् । अनेम संघ, गण्डकीको बैठक समापन र कमिटि सदस्यहरुलाई प्रशिक्षणपछि आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले नेपालमा ३३ प्रतिशत महिलाको सहभागिता रहने कानुनी व्यवस्था गरिएपनि यो सकारात्मक रहेको तर पूर्ण नरहेको बताइन् । जनसंख्याको आधा हिस्सा महिला छन् । आन्दोलनमा समान सहभागिता छ । त्यसैले ३३ प्रतिशत हैन, समान हुनुपर्छ । उनले भनिन्– ‘जनसंख्याको हिसाबले महिलाको संख्या ५० प्रतिशतभन्दा बढी भएको हुनाले हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व ५० प्रतिशतलाई अनिवार्य गरिनुपर्छ । अहिले गरिएको व्यवस्थालाई नफेर्ने हो भने महिला सहभागिता ३३ प्रतिशतमा सीमित रहनेछ । महिलाले आधा सत्ता चलाउने व्यवस्था गर्नुपर्छ ।’ उनले थपिन् – ‘महिलाका सन्दर्भमा आरक्षणको मात्र कुरा होइन, बराबरी प्रतिनिधित्वको कुरा हो । ३३ प्रतिशत सहभागितामा पनि नेतृत्वमा महिलालाई स्विकारिरहेको अवस्था छैन । अब महिलाहरुले क्षमता अभिवृद्धि गर्दै अघि बढ्नुको विकल्प छैन । यसकै लागि अनेम संघ क्रियाशील छ ।’  अनेम संघ गण्डकीकी अध्यक्ष हिराकुमारी गिरीले गत जेठ ३१ र ३२ गते पोखरामा भएको सम्मेलनले आफ्नो नेतृत्वमा ७१ सदस्यीय कमिटि निर्वाचित गरेपछि अहिले साउन २० र २१ गते बैठकका साथै सदस्यहरुलाई प्रशिक्षण सञ्चालन गरेको जानकारी दिइन् । प्रशिक्षणमा नेकपा एमालेको दशौं महाधिवेशनको कार्यदिशा बारेमा नेकपा एमालेका सचिव एवं गण्डकी प्रदेश ईञ्चार्ज गोकर्ण विष्ट, अनेम संघको आगामी कार्यभार विषयमा केन्द्रीय अध्यक्ष टुकाभद्र हमाल, अनेम संघको इतिहा र आन्दोलन विषयमा एमाले स्थायी कमिटि सदस्य थममाया थापा, संगठन निर्माण विधानबारे अनेम संघ महासचिव पेम्बा लामा, जबज र महिला विषयमा एमाले गण्डकी सचिव धनञ्जय दवाडी र संघको आगामी कार्ययोजना सम्बन्धमा अनेम संघ गण्डकीका अध्यक्ष हिराकुमारी गिरीले सहजीकरण गरे । अध्यक्ष गिरीका अनुसार अनेम संघ गण्डकीले जिल्ला कमिटिको बैठकहरु भदौ महिनाभित्र सम्पन्न गर्न निर्देश गरेको छ । यस्तै, अधिवेशन गर्न बाँकी जिल्लालाई असोज भित्र सक्न भनेको छ भने सदस्यहरुका लागि लेबीको निर्धारण पनि बैठकले गरेको छ ।  अनेम संघ गण्डकीले ९१ हजार बढीलाई सदस्यता वितरण गर्ने लक्ष्य लिएको छ । टोल स्तरसम्मै संगठन निर्माण गर्ने, प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरी प्रशिक्षकहरु तयार गर्ने, महिला सम्मान कार्यक्रम गर्ने, जहाँ विभेद त्यहाँ अनेमसंघ कार्यक्रम सञ्चालन गर्ने, प्रदेश सम्पर्क कमिटि गठन लगायतका कार्ययोजना बैठकले पारित गरेको छ ।   

पोखरा:   बागलुङको बडिगाड गाउँपालिका घर भएका भक्तबहादुर राना पोखरा २९ पटनेरीस्थित सेती नदीमा खस्दा बेपत्ता भएका छन् ।  पोखरा बागमाराबाट पटनेरीतर्फ साइकलमा आउँदै गरेका राना मंगलबार बिहान पोखरा २९ पटनेरीस्ति सेती नदीमा खसेर बेपत्ता भएको कास्की प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले साइकलमा यात्रा गरिरहेका बागलुङ घर भएका राना सेती नदीमा खसेको सूचनापछि नदीमा खोजिरहेको जानकारी दिए ।  उनका अनुसार बागलुङको बडिगाड गाउँपालिका ३ घर भएका ३५ वर्षीय राना मंगलबार बागमाराबाट पटनेरीतिरतर्फ आउँदै गर्दा सेती नदीमा खसेका हुन् । राना पोखरा महानगरपालिका ३३ बागमारामा बस्दै आएको प्रहरीले जनाएको छ ।   राना सेती नदीमा खसेको जानकारी पछि खोजी कार्यका लागि प्रहरी खटाइएको र खसेका हुन या हाम फालेका हुन भन्ने विषय अनुसन्धानमै रहेको प्रहरीले जनाएको छ । पुलको छेऊमा चप्पल भेटिएको र भक्तबहादुर नै खसेको भनेर परिवारले नै पहिचान गरेको प्रहरीको भनाइ छ ।  

पोखरा: नेकपा (एमाले) गण्डकी प्रदेशको पहिलो अधिवेशन आगामी असोजमा हुने भएको छ ।   सोमबार सम्पन्न प्रदेश कमिटीको पूर्ण बैठकले असोजको  १५ र १६ गते पोखरामा सो अधिबेशन गर्ने निर्णय गरेको एमाले गण्डकी प्रदेश कमिटीका उप सचिब एबम प्रचार तथा प्रकाशन बिभाग प्रमुख रश्मि आचार्यले जानकारी दिए। त्यसै गरि बैठकले जनबर्गिय संगठनका अधिबेशन सम्पन्न गर्ने , सदस्यता बिस्तार अभियान तिब्रताका साथ अगाडी बढाउने निर्णय भएको कार्यालय सचिब माधब बास्तोलाले जानकारी दिए। सो बैठकको एमाले महासचिव शंकर पोख्रेलले उद्घाटन गरेका थिए।  कार्यक्रममा महासचिब पोख्रेल सहित उप महासचिव पृथ्वीसुब्बा गुरुङ, सचिब एबम गण्डकीका इन्चार्ज गोकर्ण बिष्ट , स्थायी कमिटी सदस्य खगराज अधिकारी लगाएतका नेताहरूले एमालेको अब भाबी रणनीति र संगठन मजबुतिकरण अभियानका बारेमा प्रकाश पारेका थिए। गण्डकी प्रदेशका ११ वटा जिल्ला कमिटीका  रिपोर्टिङ सहित समिक्षा गर्दै  बैठक  अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न  भएको थियो भने स्वागत मोहन रेग्मी र संचालन सचिब धनन्जय दवाडीले गरेको पार्टी प्रचार तथा प्रकाशन बिभाग सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिए।

काठमाण्डौ​​: आज सर्लाही, रौतहट र सिन्धुलीमा बाढीको उच्च जोखिम छ । बाग्मती र यसका प्रमुख सहायक नदीमा जलसतह खतराको तहभन्दा माथि हुने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन र सुरक्षित रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।   त्यस्तै, झापा, इलाम, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, चितवन, मकवानपुर, धादिङ, नुवाकोट, नवलपरासी, तनहुँ, स्याङ्जा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र आसपासका क्षेत्रका नदी तथा साना खोलामा आज बाढीको जोखिम छ । त्यस्तै, काठमाण्डौ उपत्यकामा पनि जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।    बिहान ठूलो पानी परेको काठमाण्डौ उपत्यकामा अहिले पानी पर्न रोकिएको छ । तर आज दिनभरी नै झरीको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।