पोखरा: नेपाल परिवार नियोजन संघ कास्की शाखाले शुक्रबार पोखरा महानगरपालिका वडा नं २ स्थित विन्ध्यवासिनी माविमा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान संचालन गरेको छ । संघले किशोर किशोरी तथा युवालाई लक्षित...

पोखरा:   पोखरामा आज दिउँसो बसको ठक्करबाट एकजनाको मृत्यु  भएको छ ।    पोखरा १८ ग्यारजातीस्थित बिन्ध्यवासिनीचोकबाट सराकोटतर्फ जाँदै गरेको ग १ ख ४१५६ नम्बरको बसले ठक्कर दिँदा ७२ वर्षीय ललिता थापाको मृत्यु  भएको हो ।      सोही बसमा सवार थापा ओर्लिएर हिड्ने  क्रममा बसले ठक्कर दिँदा गम्भिर घाइते भएकी थिईन् । बसको ठक्करबाट गम्भिर घाइते भएकी थापाको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

पोखरा:      गण्डकी प्रज्ञा–प्रतिष्ठानले चालु आर्थिक वर्ष  ०८०/०८१ मा तय गरेका सबै कार्यक्रम सम्पन्न गरेको दावी गरेको छ । यसरी सम्पन्न कार्यक्रमको असार २१ र २२ गते प्राज्ञ सभाको सातौं पूर्ण बैठक मार्फत समीक्षा गरिएको सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयो । पूर्ण बैठकले आगामी आर्थिक वर्ष गर्ने कार्यक्रम लगायतबारे विभिन्न महत्वपूर्ण निर्णय गरेको उहाँले सुनाउनुभयो । ‘विशेषत आर्थिक वर्ष ०८०/०८१ को हामीले सम्पन्न गरेको कार्यक्रमको बारेमा समीक्षा गर्ने काम भयो । हामीले आर्थिक वर्ष ०८०/०८१ मा ५४ वटा महत्वपूर्ण कार्यक्रम प्रस्ताव गरेका थियौं । ५४ वटै कार्यक्रम सम्पन्न गरेका छौं’ उहाँले भन्नुभयो ।   आगामी आर्थिक वर्षमा प्रतिष्ठानमा चालु आर्थिक वर्षको तुलनामा ५८ लाख रुपैयाँ बजेट थप भएको छ । चालु आर्थिक वर्षमा १ करोड ७९ लाख ९८ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो । आर्थिक वर्ष ०७९/०८० मा भन्दा कम बजेट विनियोजन हुँदा केही कार्यक्रम प्रभावित भएको भएपनि आगामी आर्थिक वर्ष भने त्यसमा सहज हुने भएको सदस्य सचिव श्रेष्ठको भनाई छ ।  आर्थिक वर्ष ०७९/०८० मा ३ करोड २८ लाख बजेट विनियोजन भएको थियो । ‘चालु आर्थिक वर्षमा सत प्रतिशत कार्यक्रम सम्पन्न भए पश्चात मन्त्रालयले दुईवटा कार्यक्रम थपिदिएको थियो । जसअनुसार स्याङजाको फेदिखोलामा तमु भाषाको एक महिने प्रशिक्षण र तनहुँको दुलेगौडामा एक महिने धिमे बाजा प्रशिक्षण कार्यक्रम समेत गर्‍यौं’ श्रेष्ठले भन्नुभयो । आर्थिक वर्ष ०८०/०८१ मा ८७ वटा वाङमयिक संस्थाहरूसँग सहकार्य गरेको प्रतिष्ठानले नयाँ आर्थिक वर्षमा अन्य के–के कार्यक्रम गर्न सकिन्छ भन्ने बारेमा वाङमयिक संस्थाहरूसँग कार्यक्रमको प्रस्ताव माग्ने निर्णय गरेका छ । आगामी आर्थिक वर्षमा कम्तीमा २५ वटा जातीको भाषाको दुई–दुई महिनाका कक्षाहरू सञ्चालन गर्ने, २० वटा बाजाका दुई–दुई महिनाका तालिमहरू सञ्चालन गर्ने, १० वटा जातीको बारेमा अध्ययन अनुसन्धान गर्ने निर्णय पूर्ण बैठकबाट भएको छ । स्रष्टाहरूको योगदानलाई आत्मसाथ गर्दै उनीहरूका श्रव्य दृश्य निर्माण गर्ने कार्यक्रमलाई निरन्तरता दिदै आगामी आर्थिक वर्ष कम्तीमा १५ जना स्रष्टाको श्रव्य दृश्य निर्माण गर्ने प्रतिष्ठानले जनाएको छ । २ सय जना स्रष्टाको स्वास्थ्य बिमालाई निरन्तरता दिने तथा हरेक वर्ष स्थापना दिवसमा सम्मान गर्दै आइरहेको गण्डकी प्रज्ञा नारी सम्मानको पुरस्कारको राशी ५० हजार बाट बढाएर १ लाख रुपैयाँ पुर्‍याउने निर्णय बैठकले गरेको सदस्य सचिव श्रेष्ठले जानकारी दिनुभयो ।   आगामी साउन मसान्तसम्ममा हरेक जिल्लामा दुई–दुईवटा कार्यक्रम पर्ने गरेर प्रस्ताव माग गर्ने निर्णय पूर्ण बैठकबाट गरिएको बताइएको छ । प्रतिष्ठानको भानु सभाहलमा २ सय थान कुर्सी थप गर्ने तथा सो हलको मर्मत सम्भारको काम गरेर पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी प्रतिष्ठानले गरेको छ ।   प्रतिष्ठानको कार्यालय परिसरमा रहेको स्रष्टा स्मृति पार्कमा दिवंगत स्रष्टाहरुको अर्धकदको प्रतिमा बनाएर राख्ने तथा वर्षमा एकपटक पार्कमा कार्यक्रम गरी स्रष्टाहरूको सम्मानमा दीप प्रज्वलन गर्ने कार्यक्रम गर्ने निर्णय बैठकले गरेको छ ।   यस अगाडि सातौं पूर्ण बैठकको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा प्रस्तुत गरिएको प्रतिष्ठानका तीनवर्षिय गतिविधि अवलोकन पश्चात भएको कार्य प्रगतिप्रति उहाँले सन्तुष्टी व्यक्त गर्नुभयो ।  ‘तीन वर्षिय कार्यप्रगति उल्लेखनीय रहेको छ, छोटो समयमा नै आफ्नो क्षमता प्रदर्शन गर्नुभयो’ मन्त्री थापाले भन्नुभयो । कला संस्कृति देशको पहिचान भएको भन्दै प्रतिष्ठानले गर्ने कार्यमा आफ्नो साथ सहयोग रहने प्रतिवद्धता उहाँले जनाउनुभयो ।   नयाँ पुस्तालाई आफ्नो भाषा, वेषभूषा तथा संस्कृति हस्तान्तरण गर्ने कार्यमा सहयोग गर्दै यसको जगेर्ना गर्ने काममा प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेलेको प्रतिष्ठानको संरक्षक समेत रहनुभएका मन्त्री थापाले बताउनुभयो । प्रतिष्ठानले वार्षिक रुपमा गर्दै आएको स्रष्टालाई सम्मान गर्ने कार्यक्रमको समेत उहाँले प्रशंसा गर्नुभयो । देशको कला संस्कृति पर्यटनसँग जोड्ने माध्यम भएको समेत उहाँले उल्लेख गर्नुभयो ।   प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव प्रकाश पौडेल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष प्राज्ञ प्रजापति पराजुली, प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ र सदस्य सचिव मनकुमार श्रेष्ठले बोल्नुभएको थियो ।   प्रतिष्ठानले पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्न हरेक दिन यहाँको कला संस्कृति देखाउने कार्यक्रम गर्ने सपना देखेको सदस्य सचिव श्रेष्ठले खुलाउनुभयो । अग्रज स्रष्टाको सम्मानमा भत्ता वितरण, स्रष्टाको परिचयपत्र वितरण लगायतका कार्यक्रम समेत प्रतिष्ठानले गर्ने तयारी गरेको उहाँको भनाई थियो । प्रतिष्ठानको स्थापना २०७८ साल बैशाख १५ गते भएको थियो ।  

पोखरा:    गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका २१ खेलाडीलाई प्रोत्साहन सहित सम्मान गरेको छ ।  विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भई पदक जितेका खेलाडीलाई शुक्रबार मन्त्रालयमा नै एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।  नगद, माला र सम्मान पत्र सहित सम्मान गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले प्रदेश सरकारले खेलाडीलाई उत्साह थप्ने काम गरेको उल्लेख गर्नुभयो । खेलबाट भविष्य बनाउने बाटो खुुलेको र प्रदेश सरकारले पनि खेलकुदमा थुुप्रै लगानी गरेको भनाई उहाँको छ ।  मन्त्रालयका सचिव प्रकाश पौडेलले प्रोत्साहन तथा सम्मानका लागि सबै सेक्टरका खेलाडीहरुलाई समेट्ने प्रयास गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा मन्त्रालयले मोडालिटी परिवर्तन गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो । खेलकुद प्रतियोगितालाई व्यवस्थित बनाउन प्रदेश सरकार लागि परेको भनाई उहाँको छ ।  प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले पिडा बोकेर खेलाडीले जिविकोपार्जन गर्ने अवस्थाको सिर्जना नहुने गरी नै काम भइरहेको बताउनुभयो । आकस्मिक बिमाको सुरुवात गर्दै खेलाडीलाई प्रोत्साहन थप्ने काम भएको भनाई उहाँको छ ।    मन्त्रालयले सम्मान गरेका खेलाडी बिनिता सार्की–मोर्डन पेन्टाथलन विशाल बस्नेत–ह्याण्डबल राजेश बास्कोटा–जिम्न्याष्टिक पवित्रा गुरुङ–हक्की योगेन्द्र थापा–उशु रेखमायाँ गुरुङ– तेक्वान्दो संदिप बराल–फेन्सिङ प्रियाङ्का बर्मा–बक्सिङ विवेक हमाल–बडीविल्डङ्ग प्रदिप रेग्मी– मेन्स स्पोर्टस फिजिक मोनिका राना मगर–आर्चरी रिता श्रेष्ठ थापा–प्याराग्लाइडिङ विजय महतो–सेपाक ताक्रो मनोज श्रेष्ठ–कराते सुरज सुनार–आइटिएफ तेक्वान्दो ऋषीसरा थापा– एथलेटिक्स चित्र बहादुर थापा–खोखो पुनम गुरुङ–व्याडमिन्टन रुपक नेपाली–फुल कन्ट्याक्ट कराते मुना थापा–टेबुल टेनिस

पोखरा:    पोखरा महानगरपालिका–१४ का स्थानीयहरुले मणिपाल शिक्षण अस्पतालमा स्वास्थ्य उपचार गर्दा छुट पाउने भएका छन् ।  मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविल र पोखरा महानगरपालिका–१४ का वडाध्यक्ष बोधबहादुर कार्कीले स्थानीयले अस्पतालमा छुट पाउने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।  पोखरा–१४ का वडाध्यक्ष कार्कीले वडा बासीका नागरिकको स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्धेश्यले अस्पतालसँग ५ शिर्षकमा सम्झौता गरेको बताए ।  ‘ वडाबासीको स्वास्थ्य उपचारमा सहज र कम खर्चिलो होस भन्ने उद्धेश्यले आज एक कार्यक्रमका बीच मणिपाल अस्पतालसँगै विभिन्न शिर्षकमा सम्झौता गरेका छौं’, वडाध्यक्ष कार्कील भने ।  पोखरा–१४ का स्थानीयले मणिपाल अस्पतालमा उपचार गर्दा ओपिडी दर्तामा १०० प्रतिशत, बेड शुल्कमा २५ प्रतिशत, नियमित जाँचका ल्याब टेस्टमा १५ प्रतिशत, न्यूरोसर्जरी तथा अति विशिष्ट सेवा बाहेक अन्य शल्यचिकित्सकमा १० प्रतिशत, विशेष अनुसन्धानमा १० प्रतिशत छुट दिने सम्झौता भएको वडाध्यक्ष कार्कीले बताए ।  उनले पोखरा–१४ का स्थानीयहरुले मणिपाल अस्पतालमा उपचार गर्न जाँदा पोखरा–१४ उल्लेख भएको नागरिकताको प्रतिलिपि, बसाईसराई गरी बसोबास गर्ने वडावासीको हकमा बसाईसराईको कागजको प्रतिलिपि र नागरिकताको प्रतिलिपि पेश गर्नुपर्ने उल्लेख गरे ।   

पोखरा:      पोखरा महानगरपालिका–२ मिरुवा स्थित सेतीमदी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो स्थापना दिवसका अवसरमा आयोजना गरेको रक्तदानमा ५१ युनिट रगत संकलन भएको छ । आफ्नो १४ औ स्थापना दिवस सगै १०२ औ अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा शुक्रबार कार्यालय परिसरमा रक्त संचार केन्द्र पोखराको प्राविधिक सहयोगमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा शेयर सदस्य, कर्मचारीसँगै सर्वसाधारणले रक्तदान गरेका सहकारी संचालक समिति सदस्य कविता गुरुङले जानकारी दिईन । यस अघि कार्यक्रमको उद्घाटन पोखरा महानगर सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले कार्यक्रम संयोजक प्रेम बहादुर गुरुङलाई व्लड ब्याग हस्तान्तरण गरेर गरेका थिए ।  उद्घाटन पछि तिवारीले सहकारीहरुले आर्थिक र सामाजिक क्षेत्रमा धेरै काम गरेको बताएका थिए । सामाजीक उत्तरदायी अन्र्तगत आजको यो रक्तदान रहेको भनाई उनको थियो । तर पनि केही सहकारीले आर्थिक र वित्तिय अनुशासन कायम नगर्दा समस्या आएको उनले बताए । महानगर अन्र्तगत हाल तीन सय ६३ सहकारी रहेकोमा तीन सहकारीमा समस्या रहेको भनाई उनको थियो ।       रक्त संचार केन्द्र पोखराका वरिष्ठ प्राविधिक महेन्द्र केसीले प्रत्येक मानिसको शरिरमा ७५ मिलिलिटर रगत रहने र त्यो मध्ये ५० मिलिलिटर मात्र शरिरका लागि आवश्य रहने बताएका थिए । स्वस्थ मानिसले प्रत्येक तीन तीन महिनामा रक्तदान गर्न सक्ने भनाई उनको थियो । यसै विच ए एण्ड बि इन्टरनेश्नल हस्पिटलले सहकारी संग सहकार्य गदै हस्पिटलले प्रदान गर्ने सेवामा सहकारीका सदस्यहरुलाई छुट दिने भएको छ । कार्यक्रममा हस्पिटलल चिकित्सक डा राम अधिकारीले हस्पिटलले प्रदान गर्ने ल्याव, ओपिडी, औषधी लगायत अन्य सेवामा सहकारीका शेयर सदस्यहरुलाई छुट दिने जानकारी दिएका थिए । सहकारी संचालक समितिका अध्यक्ष जयलाल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका संस्थापक एंव निवर्तमन अध्यक्ष विश्व बहादुर गुरुङ, उपाध्यक्ष गंगा बहादुर गुरुङ, सल्लाहकार राम प्रसाद अधिकारी, सहकारीका सचिव शिवराज अधिकारी, रक्तदान कार्यक्रम संयोजक प्रेम बहादुर गुरुङ लगायतले सहकारीले गरेका विभिन्न सामाजिक सगै अन्य कामका बारेमा भनाई राखेका थिए ।  

पोखरा:   सहारा आधारभूत विद्यालयलाई सहारा क्लब पोखरका पूर्व अध्यक्षको संयोजकत्वमा फर्निचरका समाग्री प्रदान गरिएको छ ।   पोखरा–९, बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयलाई सहारा क्लबका पूर्व अध्यक्ष तथा जिल्ला खेलकुद समिति कास्कीका कार्यवहाक अध्यक्ष केशव बहादुर थापाको संयोजकत्वमा रु. १ लाख ४ हजार बराबरको  समाग्री सहयोग गरिएको हो ।   उक्त विद्यालयलाई पोखरा महानगरपालिका ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी तथा केशव थापामगर लगायत सहयोगी दाताहरुले १२ सेट डेक्स बेन्च र १ सेट कुर्ची टेबल हस्तान्तरण गरे ।    विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीका अनुसार सो विद्यालयमा हाल २ सय ७० बालबालिकाहरु अध्यनरत छन् ।   क्लबका पूर्व अध्यक्ष थापामगरले क्यानाडा, अष्ट्रेलियामा, अमेरिका, पोल्याण्ड, भारत, दक्षिण कोरिया लगायतका देशहरुमा रहेका सहयोगी दाताहरुबाट आर्थिक संकलन गरेका थिए ।  

पोखरा:    कास्की  जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । यस अगाडि जिल्लाका पाँचवटै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको थियो ।         जिल्लास्तरीय खोप समन्वय समिति र स्वास्थ्य कार्यालयद्वारा बिहिबार  आयोजित कार्यक्रममा १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप जिल्ला घोषणा गरिएको हो  ।        कार्यक्रममा गण्डकी प्रदेश सरकारका   सामाजिक  बिकास तथा स्वास्थ्य मन्त्री बिन्दु कुमार थापाले उक्त घोषणा गर्दै सरकारले लिएको स्वस्थ नागरिक सम्बृदीको महत्वपूर्ण आधार भएको र खोपले बालबालिकाहरूलाई विभिन्न रोगबाट सुरक्षित रहन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।  थापाले गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोसणा हुने र छिट्टै गण्डकी  पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा हुने उल्लेख गरे।  सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्लास्तरीय खोप समन्वय समितिका संयोजक लिलाधर पौडेलले  खोप सुनिश्चिततालाई दिगोपना राख्नुपर्ने बताए ।  कास्की जिल्लाले पहिलो पटक २०७५ असार २७ गते  जिल्ला पूर्ण खोप घोषणा गरे पश्चात नयाँ जन्मने तथा अन्यत्रवाट कास्की जिल्ला भित्र आई वसोवास गर्ने सवै वालवालिकाले पाउनु पर्ने सवै खोप पाएको सुनिश्चत गर्ने गरिएको पौडेलले बताए । स्वास्थ्य कार्यालय कास्कीका  प्रमुख राम बहादुर नेपालीले खोप लगाउन छुटेका सबै बालबालिकाको तथ्याङ्क सङ्कलन गरी खोप लगाइएको जानकारी दिए ।      कास्की जिल्लाका पाँचवटै पालिकाका कूल  ७२ वटा वडाका कुल ३००७४ बालबालिकाले पूर्णरुपमा खोप पाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालयका  अधिकृत बद्री आचार्यले जानकारी दिए।  आचार्यका अनुसार घर धुरी सर्वेक्षणका क्रममा भेटिएका खोप पुरा नगरेका १४० जना वालवालिकाहरुलाई खोप लगाउने व्यवस्था समेत मिलाईएको थियो ।  १५ महिनासम्मका ७२२७ जना  बालबालिकालाई पनि खोप लगाइएको उनको भनाइ छ ।  त्यस्तै १६ महिनादेखि पाँच वर्षसम्मका २२८४७ जनाबालबालिकालाई सबै खोपको पहुँचमा ल्याइएको जानकारी दिए । कास्की जिल्लामा पाँचवटै स्थानीय तहहरुमा रहेका स्वास्थ्य संस्था तथा वाह्य २३०  खोप केन्द्रहरु मार्फत नियमित खोप सेवा प्रदान हुदै आएको छ।  जिल्ला समन्वय समिति कास्कीका प्रमुख एवं जिल्लास्तरीय खोप समन्वय समितिका संयोजक लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न घोषणा कार्यक्रममा गण्डकी प्रदेश सरकारका स्वास्थ्य सचिब बिनोद बिन्दु शर्मा , कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे ,कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल,गाउँपालिका राष्ट्रिय महासंघ गण्डकी प्रदेशका अध्यक्ष तथा रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा,स्वास्थ्य स्वयम् सेविकाहरूको संजालका अध्यक्ष भीमा पौडेल  सहितले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा पोखरा म न पा तथा मादि गाउ पालिकाका  ६० बर्ष माथिका  महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानजनक विदाई समेत गरिएको थियो ।

कास्की:  पोखराको नागढुंगामा एकाबिहानै बेनेली मोटरसाइकल दुर्घटनामा हुँदा गम्भीर घाइते भएका युवक रसियन नागरिक रहेको खुलेको छ ।   जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माका अनुसार घाइते हुनेमा २६ वर्षीय रसियन नागरिक पिड्नेड भेनी रहेका छन् ।   उनको अहिले फेवासिटी अस्पतालमा (आइसियु कक्षमा) उपचार भइरहेको इन्सेक्टर शर्माले जानकारी दिए । ‘पर्यटक प्रहरीको समन्वयमा रसियन नागरिक भएको खुल्न आएको छ, इन्सपेक्टर शर्माले सुनगाभा न्यूजसँग भने, ‘फेवासिटीको आइसियुमा उपचार भइरहेको छ । बिहान गम्भीर भनिएपनि अहिले खतरामुक्त (मध्यम अवस्था) भन्ने खबर छ ।’   प्रहरीलाई अस्पतालबाट प्राप्त जानकारी अनुसार भेनीको टाउकोमा रगत जमेको छ ।   यो पनि पढ्नुहोस   पोखरामा मोटरसाइकल दुर्घटना हुँदा विदेशी नागरिक गम्भीर घाइते   घाइते भेनी पुरै होसमा आएपछि मात्रै घटनाको बास्तविकता खुल्ने इन्सपेक्टर शर्माले बताए ।    प्रारम्भिक अनुसन्धानको क्रममा उनले बिना हेलमेट मोटरसाइकल चलाएको बताइएको छ । ‘प्रारम्भिक अनुसन्धानको क्रममा हेलमेट नलगाएको बैदाम प्रहरीले देखेपछि भागेको भन्ने बुझिएको छ, उनले भने, ‘त्योसँगै अन्य कुराहरुपनि सेवन गरे कि भन्ने कुरा छ । त्यसको मेडिकल रिपोर्ट आउँन बाँकी छ ।’   इन्सपेक्टर शमाले उक्त मोटरसाइकल भाडामा प्रयोग गरिएको हुन सक्ने संकेत गरे ।   उनका अनुसार सो मोटरसाइकल काठमाडौं महानगरपालिका ४ बालुवाटारका सौगात सामबाँनियाको नाममा दर्ता छ ।   ‘मोटरसाइकल भाडामै चलाएको जस्तो देखिएको छ । बागमतीको नम्बर प्लेट भएकाले उता समन्वय गर्दा सौगात सामबाँनियाको नाममा दर्ता देखिएको छ, उनले भने, ‘अहिलेसम्म सवारी धनि भने सम्पर्कमा आउनुभएको छैन ।’   बिहान नागढुङ्गामा बा ९० प ५८३९ नम्बरको बेनेली मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।  

पोखरा:    पोखरामा आज बिहान बेनेली मोटरसाइकल दुर्घटना हुँदा एक विदेशी नागरिक गम्भीर घाइते भएका छन् ।  मुस्ताङचोकबाट पृथ्वीचोकतर्फ आउँदै गरेको बा ९० प ५८३९ नम्बरको मोटरसाइकल नागढुङ्गाको उकालोमा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी वरिष्ठ नायव निरिक्षक मिन बहादुर खड्काले जानकारी दिए ।  मोटरसाइकल दुर्घटना हुँदा विदेशी नागरिक (चालक) गम्भीर घाइते भएको उनले बताए ।  ‘मुस्ताङचोकबाट पृथ्वीचोकतर्फ आउँदै गरेको मोटसाइकल नागढुङ्गाको उकालोमा अनियन्त्रित भई दुर्घटना हुँदा विदेशी नागरिक गम्भीर घाइते भएका छन्’, खड्काले भने, ‘दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि फेवासिटी अस्पतालमा लगेका छौं, अहिले उपचार भइरहेको छ ।’ उनका अनुसार दुर्घटनामा गम्भिर घाइते भएका विदेशी नागरिकको परिचय खुलेको छैन । सो घटनाबारे थप अनुसन्धान भइरहेको ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।