कास्की: कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १२ लिपेयानीमा यतिखेर बाँदर देखिएका छैनन् । स्थानीय गिरेन्द्र गुरुङले आफैले बनाएका बन्दुक पड्काएपछि त्यस क्षेत्रमा बाँदर देखिन छाडेका हुन् । ‘रुखमा आएको बाँदर नियन्त्रणका लागि बन्दुक फड्काउदा लागेको गुच्चाको गोलीले एउटा बाँदर घाइते भएको थियो, गुरुङले भने, ‘घाइते बाँदरसहित सम्पूर्ण बथान कराउँदै भागे त्यसपछि यस क्षेत्रमै देखा परेका छैनन् ।’ लामो समयदेखि बाँदरले खेतबारी मात्र हैन घर भित्र पसेर भण्डारण गरेको अन्नसमेत खाने, महिला एवम् बालबालिकालाई आक्रमण गर्न लागेपछि विकल्पका रुपमा दुई महिनाअघि बन्दुक बनाएको गुरुङले सुनाए । उनका अनुसार हाते पम्प, ग्यास लाइटको कक, काठ, युपिभिसी पाईप, लगायतका सामानबाट निर्माण भएको बन्दुकको नालमा एउटा गुच्चा राखेर बीच भागमा रहेको प्वालमा सेनिटाईजरको सहायताले आगो लगाएर बन्दुक पड्काउँदा ३० देखि ४० मिटरसम्म निसाना लाग्छ । चलाउन सुरक्षित रहेको बन्दुकको मुल्य ७ देखि ८ हजारसम्म पर्ने उनले बताए । गुलेली र डेढ बर्षअघि बनाएको ठूलो आवाज आउने बन्दुकलाई बाँदरले नटेरेपछि युटुबको सहायताले गुच्चाको गोली लाग्ने यन्त्र निर्माण गरेको उनले सुनाए । ‘अहिले त मलाई र बन्दुक देखेपछि बाँदर टाडैबाट भाग्छ । यसअघि घर नजिकै रहेको बन्तरीको फल पाकेपछि रुखै भरि बाँदर हुन्थ्ये अहिले फल पाकेर कुहिने अवस्थामा पुग्दा पनि बाँदर देखिएको छैन ।’ उनले अहिले बन्दुक मात्र हैन हाते ट्याक्टर, मोटरसाइकल मर्मतदेखि खिर्रोको काठको सारङ्गी समेत बनाउने काम गरिरहेका छन् ।
पोखरा: काठमाडौंबाट बेनी जाँदै गरेको बस कास्कीको लेवाडेमा दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट बेनी जाँदै गरेको बा ५ ख २८५ नम्बरको बस कास्कीको अन्नपूर्ण गाउँपालिका–१ लेवाडेमा आज बिहान अन्दाजी ३:४० बजेको समयमा दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका हुन् । बस दुर्घटना हुँदा बसमा सवार १३ जना यात्रु मध्ये ७ जना यात्रु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । घाइते ७ जनाको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बस दुर्घटना हुँदा बसका चालक पर्वतको जलजला गाउँपालिका–८ बस्ने ३६वर्षीय बलबहादुर फगामीमगर, म्याग्दीको मालिका गाउँपालिका घर भएका ३९ वर्षीय टकबहादुर कामीघाइते भएका छन् । यस्तै मंगला गाउँपालिका घर भएका ४५ वर्षीय प्रेम पुन, ५७ वर्षीय तिलक शर्मा, म्याग्दी घरका रञ्जना हमाल, मालिका दर्बाङ घर भएका १५ वर्षीय सबिता हमाल, ५७ वर्षीय हरी केसी म्याग्दीको मालिका गाउँपालिका–६दर्वाङ बस्ने १७ वर्षीय भिमसेन अधिकारी घाइते भएका छन् ।
पोखरा: पोखरामा गएराति मोटरसाइकल दुर्घटना हुँदा बागलुङका गणेश आचार्यको मृत्यु भएको छ । गएराति बागलुङ बसपार्कबाट जिरोकिलोमिटरतर्फ जाँदै गरेको बा ४८ प ९५७९ नम्बरको मोटरसाइकल पिर्केपुल नजिक सडकको बीच भाग रहेको डिभाइडरमा अनियन्त्रित भई ठोक्किदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । मोटरसाइकल दुर्घटना हुँदा गम्भिर घाइते भएका बागलुङ नगरपालिका–१२ अमलाचौरका अन्दाजी ४१ वर्षीय गणेश आचार्यको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको कास्की ट्राफिक कार्यालयले जनाएको छ । दुर्घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेशका न्यायप्रेमी प्रगतिशील युवाले गणतन्त्र दिवसको अवसरमा नेपाल स्काउटलाई ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रन्जितलाई सम्बोधन गर्दै नेपाल स्काउट रास्ट्रिय परिषद् सदस्य शिवबहादुर भण्डारीमार्फत ध्यानाकर्षण पत्र बुझाएको हो । नेपाल स्काउटमा पछिल्लो समय राजनीति हाबी हुदै गइरहेको ठहर गर्दै राजनैतिक कार्यकर्ताको भर्ती केन्द्र नबनाउन प्रगतिशील युवा समूहको माग छ । सो समूहले बुझाएको पत्रमा भनिएको छ, ‘पछिल्लो समय नेपाल स्काउटमा निर्वाचित पदाधिकारी, आयुक्तहरुमा विभिन्न राजनैतिक दलमा आवद्ध रही राजनैतिक गतिविधीमासमेत सकृय रहेको कुरा प्रष्ट देख्न सकिन्छ । जुन कुरा नेपाल स्काउटको मुल मर्म विपरित रहेको छ । त्यसैले समयमै यसलाई नियन्त्रण गर्न नसके नेपाल स्काउट कुनै दलको भातृ संगठन नहोला भन्न सकिन्न ।’ नेपाल स्काउट ऐन ,२०५० को दफा १८ (क) उपदफा (१) (ख) (ग)मा नेपाल स्काउटको सदस्यको योग्यता सम्बन्धि व्यवस्थामा नेपाल स्काउटको सदस्यले कुनै राजनितिक दलको सदस्य नलिएको र राजनैतिक दलको सदस्य रहेको भए तत्काल सदस्यता त्यागी राजनैतिक गतिविधिमा संलग्न नरहेको स्वघोषणा गर्नुपर्ने व्यवस्था छ । युवा तथा खेलकुद मन्त्रालयले प्रचलित ऐन कार्यान्वयन गराउन गत वैशाख ३१ गते विज्ञप्ती नै जारी गरेको थियो ।
पोखरा: पोखरा महानगरपालिका वडा नं.२५ मा सञ्चालित वडा नागरिक आरोग्य कार्यक्रमको पहिलो चरण समापन भएको छ । ३० वैशाख २०८१ देखि जेठ १२ गतेसम्म सञ्चालन गरिएको उक्त कार्यक्रमको पहिलो चरण समापन गरिएको वडा अध्यक्ष मोतीलाल तिम्सिनाले जानकारी दिनुभयो । पहिलो चरणमा १ हजार १८४ ज्येष्ठ नागरिक, अशक्त र दिर्घरोगीहरुको स्वास्थ्य परीक्षण गरिएको अध्यक्ष तिम्सिनाले बताउनुभयो । ‘हामीले पहिलो चरणमा ज्येष्ठ नागरिक, अशक्त र दिर्घरोगीहरुको स्वास्थ्य परीक्षण गरेका छौँ, अध्यक्ष तिम्सिनाले भन्नुभयो, यस क्रममा वडामा रहेका यी वर्गहरूको वास्तविक स्वास्थ्य अवस्था बुझ्ने अवसर मिलेको छ, हामी आगामी दिनमा थप तयारीका साथ प्रभावकारी ढङ्गले कार्यक्रमको दोस्रो चरण सञ्चालन गर्नेछौँ ।’ अभियानका क्रममा ज्येष्ठ नागरिकहरूको ब्लड प्रेसर, सुगर, अक्जिनको मात्रा, शारीरिक तथा मानसिक अवस्था, औषधी सेवन गरिरहेकाहरूको हकमा औषधीको मात्रा र नियमितता लगायत विषयहरूमा चासोका साथ परीक्षण गरिएको उहाँले बताउनुभयो । अभियानको समापन गर्दै पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवि गुरुङले कार्यक्रम निकै प्रभावकारी भएको बताउनुभयो । कार्यक्रमको प्रभावकारिताले आफूहरूलाई यस प्रकारका लोककल्याणकारी कार्यक्रमहरू सञ्चालनमा थप हौसला मिल्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमलाई महानगरभरि नै विस्तार गरी सबै नागरिकहरूको पहुँचमा विस्तार गर्ने उहाँले विश्वास समेत दिलाउनुभयो । पोखरा महानगरपालिका वडा नं.२ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले नागरिकहरूको स्वास्थ्य प्रति जनप्रतिनिधिहरू संवेदनशील रहेको बताउनुभयो । पोखरा १७ की वडा अध्यक्ष राधिका कुमारी शाही योगीले उमेर र अवस्थाका कारण अस्पतालसम्म पुगेर उपचार गर्न नसक्नेहरूका लागि यस प्रकारको कार्यक्रम निकै फलदायी र प्रभावकारी हुने बताउनुभयो । पोखरा १ का वडा अध्यक्ष साहारा प्रधानले एउटा आवश्यकताको सुरुवात पोखरा २५ ले गरेको भन्दै यसलाई शिक्षाको रूपमा लिनु पर्ने बताउनुभयो । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले स्वास्थ्य सम्बन्धी जागरण नागरिक स्तरमा आवश्यक रहेको बताउनुभयो । स्वास्थ्यकर्मीहरूको एकल प्रयासले मात्र नागरिक सचेतना अभिवृद्धि सम्भव नरहेको उल्लेख गर्दै उहाँले आमसरोकारवालाहरु हातेमालो गरेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । स्वस्थ महानगर निर्माणका लागि सबै नागरिकहरूमा स्वास्थ्य सचेतना र सेवाको पहुँच आवश्यक रहेको उहाँले बताउनुभयो । दीर्घ रोगी र ज्येष्ठ नागरिकहरूलाई घर मै स्वास्थ्य सेवाको पहुँच, उनीहरूको जीवनलाई सुखी र खुसी सहित तनावमुक्त बनाई थप उपचारको आवश्यकता देखिएका ज्येष्ठ नागरिकहरूलाई सुविधा सम्पन्न सेवा क्षेत्रमा प्रेषण गर्ने उद्देश्यले यस प्रकारको कार्यक्रम गरिएको हेमजा स्वास्थ्य चौकीका प्रमुख सिनियर अहेव कुश्मराज सुवेदीले बताउनुभयो । मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नारालाई सार्थक बनाउन प्रभावकारी कदमहरू चाल्न आवश्यक रहेको उहाँले बताउनुभयो । वडा कार्यालयको अभियान प्रति ज्येष्ठ नागरिक समाजले खुसी व्यक्त गरेको छ । कार्यक्रम सञ्चालन पूर्व घरधुरी सर्वेक्षण गरिएको थियो । दीर्घ रोगी तथा ज्येष्ठ नागरिकहरूको अवस्था, उनीहरूको स्वास्थ्य, औषधी सेवनमा नियमितता लगायतका विषयहरूमा वडाबाट खटिएका स्वास्थ्यकर्मीहरुद्धारा जानकारी लिने र आवश्यक परामर्श दिइएको वडा कार्यालयले जनाएको छ । उनीहरूलाई एक महिनाका लागि आवश्यक पर्ने औषधी समेत निःशुल्क प्रदान गरिएको थियो । तीन वटा क्लस्टर बनाएर सञ्चालन गरिएको कार्यक्रम प्रत्येक तीन तीन महिनामा अभियानका रूपमा सञ्चालन गर्ने तयारी वडा कार्यालयको छ । यसअघि २०८१ वैशाख ३० मा अभियानको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पाइलट प्रोजेक्टको रूपमा वडा नं।२५ बाट सुरु गरिएको कार्यक्रमलाई क्रमशः महानगरका अन्य वडाहरूमा समेत विस्तार गर्दै लैजाने बताउनुभएको थियो । ‘हामी आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेटको तयारीमा छौँ, स्वास्थ्य महानगरको पहिलो प्राथमिकतामा छ ।’ उहाँले भन्नुभयो ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ९ सैतीघट्टामा मंगलबार स्वास्थ्य शिविरको आयोजना गरिएको छ । रेष्टुरेन्ट एण्ड वार एशोसियसन (रेवान)पोखराको आयोजनामा सैतीघट्टा स्थित गोरीशंकर मनिलाल माविमा भएको स्वास्थ्य शिविरमा ५ सय भन्दा बढीले स्वास्थ्य चेकजाँच गराएको रेवानका अध्यक्ष नरेश भट्टराईले जानकारी दिए । शिविरमा स्वाथ्य जाँच गराएपछि औषधी पनि उपलब्ध गराइएको थियो । स्वाथ्य शिविरमा नाक, कान, घाँटी, आँखा, महिला तथा प्रस्तुति रोग, छाला तथा यौन रोग, हाडजोर्नी तथा नशा रोग, बाल रोग, जनरल मेडिसिन सेवा उपलब्ध गराइएको थियो । प्रत्येक वर्ष कास्कीका दुर्गम गाउँका नागरिकलाई सेवा दिन स्वास्थ्य शिविर गर्दै आएको आयोजक संस्थाका रेवानका अध्यक्ष भट्टराईले जानकारी दिए । न्युन आए भएकाहरुलाई उपचारको क्रममा जटील समस्या रहेको पाइएमा मनिपाल शिक्षण अस्पताल संग सहकार्य गरेर थप उपचारमा सहयोग गर्ने पनि उनले अध्यक्ष भट्टराईले बताए । रेवान पोखराले अंग्रेजी नयाँ वर्षको अवसरमा प्रत्येक वर्ष सडक महोत्सव आयोजना गर्दै आएको छ । महोत्सवमा वचत भएको केही रकम र संस्थाका सदस्यहरु समेतको आर्थिक सहयोगमा सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर गर्दै आएको रेवान पोखराका महासचिव भिष्मराज पोडेलले बताए । स्वास्थ्य शिविरमा मनिपाल अस्पताल पोखराका चिकित्सकहरुले बिभिन्न रोगको चेकजाँच गरेका थिए । रेवान पोखराका सचिव विकास भट्टराईले दुर्गम गाउँमा प्रत्येक वर्ष निरन्तर रुपमा स्वास्थ्य शिविरको आयोजना गर्ने बताए । पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष गणेश बहादुर भट्टराईले पोखराको खानेपानीको मुख्य स्रोत मर्दीखोलाको मुहान क्षेत्रका स्थानीय माझ स्वास्थ्य शिविर आयोजना गरेर स्वास्थ्य चेकजाँच हुनु प्रशंसा योग्य काम भएको बताउँदै निरन्तरता दिनु पर्ने बताए । आर्थिक अभावका कारण थप उपचारमा समस्या आए रेवानले उपचारमा सघाउने पनि उनले बताए । माछापुच्छ्रे गाउँपालिका ९ का वडा अध्यक्ष हरिबहादुर क्षेत्रीले दुर्गम गाउँमा स्वास्थ्य शिविर आयोजना गरेर स्थानीय जनताले स्वास्थ्य लाभ लिन पाएको बताए । दुर्गम गाउँका स्थानीय नियमीत स्वास्थ्य जाँच गराउन सहर जान नसक्ने भएकोले यस्ता कार्यक्रम निरन्तर दिन पनि उनले सुझाए । कास्कीको सिदीङबाट ३ घण्टा हिडेर आएका ७७ वर्षीय हरिलाल अधिकारीले गाउँमा स्वास्थ्य सेवा दिएकोले उपचारकालागि सहर जान नपर्दा खुशी लागेको सुनाए । आँखा कम देख्ने र घुँडाको समस्या भएकोले स्वास्थ्य शिविर हुँदै छ भन्ने थाहा पाएर बिहानै हिडेर उपचारकालागि आएको पनि उनले बताए । सैतीघट्टाकी सिता गुरुङ पाठेघरको समस्या,मसिना अक्षर नदेख्ने गरी आँखाको समस्या भएकोले स्वास्थ्य शिविरमा उपचार गराउन गएको सुनाइन् । आँखाको चेकजाँचपछि शिविरमा चस्मपनि उपलब्ध गराएको सुनाइन् । स्थानीय तथा गोरीशंकर मनिलाल माविका शिक्षक भोलानाथ अधिकारीले विकट गाउँमा स्वास्थ्य शिविर आयोजना गरेर स्वास्थ्य सेवा उपलब्ध गराएकोमा धेरै खुशी लागेको बताए । स्वास्थ्य उपचार आएकहरु मध्ये ४० वर्ष भन्दा कम उमेरका मान्छेहरुमा पनि चिनीरोग, उच्चरक्तचाप, मृगौला रोग र मुटु रोग देखिएको मनिपाल शिक्षण अस्पतालका फिजिसीयन डाक्टर अनमोल पौडेलले बताए । यस्ता रोगहरु आहारबिहारमा ध्यान नदिदा हुने उनले बताए । यस्तो समस्या देखिएका बिरामीले आफ्नो आहारविहारमा विशेष ध्यान दिनु पर्ने उनले सुझाए । खानामा नुनको मात्र कम्तीमा तीन ग्राम भन्दा कम, रातो मासुको मात्र कम, प्रशस्तमात्रामा शारिरिक व्यायम नियमीत रुपमा गर्न डा पौडेलले सुझाए । कार्यक्रममा स्थानीय समाजसेवी टेकबहादुर श्रेष्ठले उपचार खर्चको अभावमा उपचार गर्न सहर जान नसक्ने अवस्था समेत रहेको गाउँमा स्वास्थ्य शिविर आयोजना गरेर रेवान पोखराले धेरै सहयोग गरेको बताए । मनिपाल शिक्षण अस्पताल पोखराका लियाजेन अफिसर कृष्णमोहन श्रेष्ठले अस्पतालले स्वास्थ्य शिविरमा उपचार गराउनु भएका स्थानीयलाई अस्पतालले बिभिन्न उपचारमा छुटको व्यवस्था गर्ने पनि बताए ।
पोखराः पोखरामा सम्पन्न दोहोरी साँझस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि निरमाया दोहोरी साँझले जितेको छ । पोखरा कलाकार खेलकुद संघको आयोजनामा फुलबारीस्थित ग्रीन गार्डन स्पोर्टस् हबमा भएको फाइनल खेलमा बाराही दोहोरी साँझलाई हराउदै निरमायाले उपाधि जितेको हो । उपाधिसँगै निरमायाले पुरस्कार स्वरुप खसी प्राप्त गर्याे । सो प्रतियोगितामा आयोजक संस्था तेस्रो बन्यो । प्रतियोगिताबाट निरमाया दोहोरीकै सीता काउचा मगर उत्कृष्ट खेलाडी घोषित हुँदै नगद पुरस्कारसहित भलिबल हात पारिन् । भलिबलसँगै रस्साकस्सी र म्युजिकल चियर (निरुता थापामगर) प्रतियोगितामासमेत निरमाया साँझले नै जितेको थियो । विजेता बनेको निरमायाको भलिबल टिममा सिता मगर, इन्दिरा पुन मगर, निरुता थापा मगर, माया पुन मगर, एलिना पुन मगर, सुष्मा पुन मगर, सुनिमा गुरुङ, लक्ष्मी गुरुङ थिए । उक्त प्रतियोगितामा पोखरामा संचालित ८ वटा महिला समुहको सहभागिता रहेको थियो । प्रतियोगिताको समापन समारोहमा बोल्दै पोखरा दोहोरी साँझ रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष तथा निरमाया दोहोरी साँझका संचालकसमेत रहेका जीवन गुरुङले सो प्रतियोगिताले भाइचाराको सम्बन्ध स्थापित गर्न सहयोग पुगेको बताए । उनले आगामी दिनमासमेत विभिन्न खालका खेलकुद तथा रचनात्मक प्रतियोगिताहरु निरन्तर हुनुपर्ने धारणा राखेका थिए । यस्तै निरमाया दोहोरी साँझका अर्का संचालक सुरेन्द्र गुरुङले दोहोरीका कलाकार खेलमासमेत उत्कृष्ट भएको देख्न पाउँदा खुशी लागेको उल्लेख गरे । उनले निरमाया दोहोरी साँझ पारिवारिकमैत्री दोहोरी साँझ भएकाले लोक संस्कृतिको जगेर्ना गर्र्दै आएको बताएका थिए । विगत २१ वर्षदेखि पारिवारिकमैत्री वातावारणमा लोक संस्कृतिको क्षेत्रमा योगदान र सेवा दिदैं आएको निरमाया दोहोरी साँझ रुपाहिल दोहोरी साँझले बिफिट फुटसल जोनमा आयोजना गरेको फुटसल प्रतियोगितामा पनि च्याम्पियन बनेको थियो ।
पोखरा: पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । महानगर क्षेत्रमा रहेका जन्मदेखि ५९ महिनासम्मका २९ हजार ३११ बालबालिकालाई घर मै पुगेर पूर्ण खोप लगाएको सुनिश्चित गरेपछि नगरप्रमुख धनराज आचार्यले मङ्गलवार एक कार्यक्रमका बिच उक्त घोषणा गर्नुभएको हो । स्वास्थ्य सेवा विभाग अन्तरगतको स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीका अनुसार पोखरा महानगरपालिका भित्रका जन्मदेखि ११ महिनासम्ममा ५ हजार ९१३ बालबालिकाहरूलाई पेन्टा पहिलो र ९५ प्रतिशत बालबालिकाले दादुरा रुवेला दोस्रो खोप प्राप्त गरेका छन् । जन्मदेखि ५९ महिनासम्मका २९ हजार ३११ बालबालिकालाई घर मै पुगेर पूर्ण खोप लगाएको सुनिश्चित गरिएको छ । यस क्रममा खोपको कुनै पनि मात्रा प्राप्त नगरेका ४ जना र १३२ जना आंशिक खोप प्राप्त गरेका बालबालिकाहरू समेत नियमित खोप सेसन र आकस्मिक खोप सेसनमा समावेश गरी पूर्ण खोप प्रदान गरिएको छ । पोखरा महानगरपालिकालाई पूर्ण खोप घोषणा गर्नु अघि ३३ वटै वडामा पूर्ण खोप सुनिश्चितता गरिएको थियो । ८९० जना स्वास्थ्यकर्मी र ६५२ जना महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुलाई घरधुरी सर्वेक्षण देखी खोप लगाउने कार्यसम्म परिचालन गरिएको स्वास्थ्य महाशाखाले जनाएको छ । घोषणा सभामा नगर प्रमुख आचार्यले बालबालिकाहरूको स्वास्थ्यका लागि खोप आवश्यक रहेको तथ्यलाई मनन गर्न जरुरी रहेको बताउनुभयो । ‘आफ्ना बालबालिबाहरुलाई लगाउनु पर्ने सबै प्रकारका खोपहरू नियमित लगाउने विषयमा सबै जनाकार हुन जरुरी छ, प्रमुख आचार्यले भन्नुभयो, खोप केवल औपचारिकता मात्र नभई यो बालबालिकाको सुरक्षित भविष्यसँग जोडिएको विषय हो ।’ खोपले बालबालिकाहरूलाई शारीरिक र मानसिक रूपमा तन्दुरुस्ती प्रदान गर्ने र भविष्यमा आउन सक्ने स्वास्थ्य जटिलताबाट जोगाउने उहाँले बताउनुभयो । पोखरा महानगरपालिका बालबालिकाहरूलाई आवश्यक सबै खोपहरू प्रदान गर्ने कार्यमा प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताउनुभयो । एक जना बालबालिकालाई १३ प्रकारका खोपहरू प्रदान गर्दा ६० हजार बराबर लगानी हुने गरेको उल्लेख गर्दै उहाँले यसको महत्वलाई बुझ्न आवश्यक रहेको बताउनुभयो । उहाँले खोप लगाउन छुटेका बालबालिकाहरूलाई पत्ता लगाउने स्वास्थ्यकर्मी र स्वयमसेविकाहरुलाई प्रति बच्चा रु।२ हजार पुरस्कार दिने घोषणा समेत गर्नुभयो । खोप अभियानका क्रममा अहोरात्र खटिएर महत्त्वपूर्ण योगदान पुर्याउनु भएका स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुको समस्या प्रति आफू जानकार रहेको उहाँले बताउनुभयो । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले पूर्वाधार जत्तिकै गुणस्तरीय शिक्षा र स्वास्थ्यको विकास पनि वास्तविक विकास हुने भन्दै विकास प्रतिको दृष्टिकोणमा व्यापकता आवश्यक रहेको बताउनुभयो । मानव स्वास्थ्य र संसाधन दुवै सामाजिक विकासका आधार स्तम्भहरू भएको उहाँले बताउनुभयो । सरकारका विभिन्न आवधिक योजनाहरूमा यसलाई महत्वका साथ उल्लेख गरेको पाइए पनि स्रोत र साधनको अभावमा कार्यान्वयनको पाटो कमजोर देखिएको उहाँले बताउनुभयो । पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले पुर्णखोप सुनिश्चितता स्वास्थ्य सम्बन्धी बालबालिकाहरूको संवैधानिक अधिकारको प्रत्याभूति भएको उल्लेख गर्नुभयो । महानगरका सबै बालबालिकाहरूलाई खोप प्रदान गर्नु आफूहरूको जिम्मेवारी रहेको बताउँदै उहाँले यसका लागि महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । पोखरा महानगरपालिका वडा नं.२ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले बालबालिकाहरूलाई खोप लगाउने अभियानमा हातेमालो गर्न आह्वान गर्नुभयो । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खिम बहादुर खड्का, स्वास्थ्य कार्यालय कास्कीका प्रमुख राम बहादुर नेपाली, महिला स्वास्थ्य स्वयंसेविका सञ्जाल पोखराकी संयोजक भीमा पौडेल, महानगरपालिकाका जनस्वास्थ्य अधिकृत फुलदेव तिमिल्सीना र जनस्वास्थ्य निरीक्षक एवं खोप अधिकृत तेजाखर लम्साल लगायतले बाल स्वास्थ्य र खोपको प्रभावकारिताका विषयमा बोल्नु भएको थियो ।
पोखरा: पोखरा महानगरपालिका–८ जाल्पा रोडमा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ । कास्की प्रहरीका अनुसार सोमबार मन्ध्यान्ह करिब पौने १ बजे नारायण पौडेलको घरको ढोकामा नवजात शिशु भेटिएको हो । घटनाबारे प्रहरीलाई सूचना प्राप्त भएपछि नवजात शिशु (बालक)को उद्धारपश्चात उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल ) राखिएको छ । नवजात शिशुलाई बेवारिसे अवस्थामा कसले छाड्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।