पाल्पाः बगनासकाली गाउँपालिका ५ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेसबाट धिरज गाहा मगरले उम्मेदवारी दिएका छन् । आम नागरिकलाई सातै दिन सेवा प्रवाह गराउने एजेण्डा सहित युवा नेता धिरज गाहामगर चुुनावी मैदानमा होमिएका हुन् । ‘वडाबाट दिईने सेवाहरु सातै दिन दिने मेरो पहिलो एजेण्डा हो, गाहामगरले सुनगाभा न्यूजसँग कुरा गर्दै भने, ‘किनभने सेवाग्राहीले चाँहेजस्तो सेवा लिन नपाएको विगत छ । त्यसैले मैले जितेको खण्डमा सातै दिन सेवा दिने प्रण गर्दछु । हुनत अहिले विकासको कुरा गर्नु औचित्य देखिदैन । त्यो दास्रो कुरा हो ।’ उनले वडामा हुने बेथितीको विरुद्धमा नागरिकमैत्री काम गर्नको लागि आफ्नो उम्मेदवारी दिएको समेत बताए । ‘अब नेतृत्वमा युवाहरु पनि आउँनुपर्छ भन्ने सबैको मान्यता छ । हामीहरु बेथितीको विरुद्धमा जहिल्यै उभिएका छौ । त्यसैले सबै अस्तव्यस्त कुराहरुलाई ठीक पार्न र आम नागरिकलाई समान किसिमको सेवा प्रवाह गर्न नै मेरो नेतृत्वमा टिम अगाडी बढेका छौ ।’ उनले चुनावी प्रचारप्रसार अभियान तिन चरणमा गर्ने जानकारी दिए । गाहामगरका अनुसार पहिलो चरणमा स्थानीय क्षेत्रमा सामान्य रुपमा भेटघाट हुनेछ । दास्रो चरणमा वडा सभापति, स्थानीय नेताहरुको उपस्थितिमा उम्मेदवारी टोलीले एजेण्डा सहित घरदैलोमा गर्नेछ । भने अन्तिम चरणमा जिल्ला र प्रदेश स्तरीय नेताको उपस्थितिमा निश्चित स्थानमा चुनावी सभा आयोजना हुनेछ । अध्यक्ष पदमा उम्मेदवारी दिएका गाहा मगर पेशाले शिक्षक हुन् । उदीयमान युवा नेताको रुपमा रहेका ३० वर्षिया उनलाई भोट दिन स्थानियको पनि आग्रह छ । ‘अब नेतृत्वमा युवाहरु नै आउँनुपर्छ । पुरातन सोच भएकाहरुले विकास र नागरिकमैत्री सेवा दिन सक्दैनन्, स्थानीय मनबहादुर गाहामगर भन्छन्, ‘पंखा मुनी बस्दा निमोनिया लाग्नेहरुले वडाको विकास गर्न सक्दैनन् । त्यसैले नेतृत्वमा युवाको बाहेक अरुको विकल्प छैन । त्यसैले युवाहरुलाई नै भोट दिनुुहुन मेरो अपिल छ ।’ उक्त वडाको अध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी एमोलेबाट ओमप्रकाश गैरे र नेशनल मंगोल अर्गनाइजेशनबाट दिपक खाम्चामगरले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विसं २०७४ को स्थानीय निर्वाचनदेखि अहिलेसम्म खेर गएको पाँच वर्षको जिम्मेवारी तत्कालीन समयको नेतृत्वले बताउनुभएको छ । नेपाली कांग्रेस काठमाडौँ जिल्ला सम्पर्क समन्वय समितिले आज यहाँ आयोजना गरेको ‘स्थानीय तह निर्वाचनमा जिल्ला सम्पर्क समितिहरूको भूमिका’ विषयक कार्यक्रममा उहाँले पाँच वर्षको नेतृत्व गरेको दलले गन्तव्यमा नलगी बीचमा छोड्दा देश र जनताको समय खेर गएको बताउनुभयो । “यसैले अबको पाँच वर्ष कांग्रेसले काम गर्ने जिम्मेवारी प्राप्तिका लागि सङ्कल्प पत्र लिएर जनतामा आएका छौँ, अबको पाँच वर्षमा हामीले पनि जिम्मेवारी पूरा नगरे तल झार्नुस्, अबको पाँच वर्ष स्थानीय तहमा कांग्रेसले असल शासन, जवाफदेहिता, पारदर्शिताजस्ता विषयलाई पूर्णरुपमा पालना गराउनेछ”, महामन्त्री थापाले भन्नुभयो । पैसा खर्च गरेर चुनाव जिती स्थानीय सरकारबाट उठाउने चाहना नराख्न पनि उहाँले पार्टीका तर्फबाट चुनाव लड्न लागेका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । स्थानीय तह निर्वाचनमा जित्ने जनप्रतिनिधिलाई राखेर घोषणापत्रमा उल्लेख भएअनुसार काम गराउन कार्यशाला गोष्ठी गरी जिम्मेवारी दिने गरी प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा कार्यक्रम बनिसकेको जानकारी पनि महामन्त्री थापाले गराउनुभयो । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको टिप्पणीप्रति भन्नुभयो, “घोषणापत्रमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीका झुटलाई चुनौती दिइएको छ ।” एमाले अध्यक्ष ओलीलाई प्रशंसामात्र सुन्ने बानी परेकाले सत्य पचाउन गाह्रो भएको उहाँको टिप्पणी थियो । ओलीका झुटको पर्दाफास घोषणा पत्रमा गरिएकाले रिसाएको बताउनुहुँदै थापाले वृद्ध शरीरको ख्याल गर्न सल्लाह दिनुभयो । पूर्वप्रधानमन्त्री ओलीको समृद्धिमा भ्युटावरको अहङ्कार रहेको उल्लेख गर्नुहुँदै कांग्रेसले अघि सारेको समुन्नतिमा भुँइबाट देश प्रेमको भावना रहेको घोषणापत्र निर्माण समिति संयोजकसमेत रहनुभएका उहाँको भनाइ थियो ।
पाेखराः पोखरा महानरपालिका वडा नम्बर २१ मा यस पटकको स्थानिय चुनावमा पनि विगत जस्तै नेकपा एमालेले भारी मतान्तरले जित्ने नेकपा एमाले जिल्ला कमिटि कास्कीका सदस्य तथा पोखरा–२१ ईन्चार्ज अर्जुन गिरीले बताएका छन् । गत स्थानिय तह चुनावमा एमालेले विजय हात पारेर वडामा उल्लेखनीय विकासको काम गरेकाले यस पटक अझै धैरै मतान्तरले एमाले विजय हुने ईन्चार्ज गिरीले बताएका हुन् । ‘गत स्थानीय चुनावमा हामीले वडा अध्यक्षको हकमा १६ सय भन्दा बढि मतान्तर र मेयरको हकमा २ हजार बढि मतान्तरले विजय भएका थियौं,’ इन्चार्ज गिरीले भने, ‘यस पटक वडाध्यक्षको हकमा २ हजार बढि मतान्तर र मेयरमा २५ सय मतान्तरले विजय हुने पक्का छ ।’ वडामा भएका विकासका काममा एमालेले नै नेतृत्व गर्दै आएको गिरीले सुनाए । ‘एमाले मात्र एउटा यस्तो पार्टी हो जसले पोखरा–२१ मा विगत र वर्तमानमा विकासको निम्ती अतुलनीय योगदान दिदै आएको छ,’ उनले त्यहाँ भएको कामको बारेमा जानकारी दिँदै भने, ‘विगत र वर्तमानमा गरेको कामकै मुल्याङ्कन गर्दै त्यहाँका जनताले यसपटक भारी मत अन्तरले एमालेलाई स्थान दिने छ ।’ शिक्षा, स्वास्थ्य, खेलकुद,यातायात लागयतका क्षेत्रमा भएको आमुल परिवर्तन नै एमालेको जित्ने मुल आधार रहेको गिरीले सु्नाए । ‘गत चुनावमा एमालेको तर्फबाट जितेका वडाध्यक्ष खगराज आचार्य र सदस्यहरुले नै राम्रो काम गरेका छन्, जुन विकास पोखरा–२१ मा आएपछि छर्लङ्ग देख्न सकिन्छ,’ उनले थपे,‘हाम्रो एमालेको उम्मेदवार चुनावको बेलासम्म मात्र हाम्रो हुन्छन् , चुनाव जितेपछि जनताको साझा व्यक्तित्व हुन्छन् । एमालेको उम्मेदवारलाई हामीले स्पष्ट भनेको हुन्छौँ कि जनताको काम नै पार्टीको साझा काम हो ।’ एमालेका उम्मेदवारलाई जिताउन ११ सय २१ सदस्य निर्वाचन परिचालन कमिटि सबै लागि परेको नेकपा एमाले पोखरा–२१ कमिटिका अध्यक्ष राजेन्द्र थापाले बताए । ‘हाम्रो पार्टी भाषणमा भन्दा काममा विश्वास राख्छ,’ अध्यक्ष थापाले भने, ‘त्यही कामको आधारमा हामी घरदैलो गर्दै छौं ।’ चुनावमा मात्र नभएर अरु बेलामा जनताको समस्य र गुनासो सुन्न बेला बेलामा टोलटोलमा पुग्ने गरेको नेकपा एमाले पोखरा–२१ कमिटिका सचिव रोशन भट्टराईले बताए । ‘हामीले हाम्रो वडामा धेरै काम गरेको छौ,’ उनले भने, ‘केही काम बाँकी छन, त्यसलाई पनि पुरा गर्छौँ ।’
पोखराः विप्लव समर्थित नेमाल कम्युनिष्ट पार्टीको बाह्रौं पूर्ण बैठकले एकमतले पारित गरेको निर्णय विपरित पार्टीका केही नेता लागेको विषयले नेकपा विभाजन हुने अवस्थामा पुगेको छ । पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले पार्टीको हितविपरीत गतिविधि गरेको भन्दै पार्टी सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई पार्टीबाट निष्कासन गरेसँगै विभाजन भएको सन्देश बाहिरिएको छ । निर्वाचनमा सहभागी हुने बिषयमा केही महिनाअघि सम्पन्न नेकपाको कन्द्रीय समितिमा विवाद भएको थियो। महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड निर्वाचनको पक्षमा उभिँदा ओली र बास्तोला भने संसदीय व्यवस्था स्वीकार गरेर निर्वाचनमा सहभागी हुन नसक्ने अडानमा रहेका थिए । ‘सुदर्शन र कञ्चनकै अराजकतावादी, अवसरवादी, विचलनवादी गतिविधिकोकारण यो निर्णय लिनुपर्ने अवस्था श्रृजना भएको छ’ महासचिव विप्लवले विज्ञप्तीमा भनेका छन् । पार्टीको विचार, राजनीति र मान्यता विपरित लागेपछि निष्काशन गर्नुपर्ने मान्यता रहेको विप्लवले प्रष्ट्याएका छन् ।
मनाङ- बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय तह निर्वाचनको लागि मनोनयन पनि दर्ता भइसकेको छ । संविधानले दिएको अधिकार र अवसर सत्तारुढ गठबन्धनका कारण महिलाहरु खोसिएको भन्दै केही स्थानमा महिलाहरु रुष्ट भइरहेको अवस्था छ । कहीँ भने महिला उम्मेदवार पाउनै मुस्किल छ । हो मनाङमा संविधानद्वारा प्रदत्त अधिकार र अवसर पूर्ति हुन सकेको छैन । मनाङमा महिलाका लागि नै तोकिएको सङ्ख्या पूर्ति समेत हुन सकेको छैन । मनाङमा सबैभन्दा बढी मतदाता नै महिलाको छ । तर, उम्मेदवार बन्न भने चाहने देखिएका छैनन् । मनोनयन दर्ताको समय सकिएको छ तर पनि महिलाकै लागि तोकिएको गाउँपालिका, वडाहरुमा आवश्यक सङ्ख्या पुर्याउनै मुस्किल भएको छ । हालसम्म पनि सडक सञ्जालसँग नजोडिएको नार्पाभूमि गाउँपालिकाका पाँच वटा वडामा निर्वाचनका लागि दलित महिला सदस्यको उम्मेदवारी नै परेको छैन । दलित महिला सदस्यका लागि वडाहरुमा उम्मेदवारी मनोनयन नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नार्पाभूमि गाउँपालिकाका पाँच वडामा दलित सहित गरी महिला सदस्य १० जनाको सिट सुनिश्चित छ । तर, गाउँपालिकामा चार जनाको मात्रै उम्मेदवारी परेको निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकारी पुष्पराज आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार दलित महिलाको उम्मेदवारी नै दर्ता भएको छैन भने महिला सदस्यमा चार जनाको उम्मेदवारी परेको छ । स्थानीय तह निर्वाचनमा मनाङका ५६ महिला सदस्यको सिट सुनिश्चित छ । नार्पाभूमिमा १० जना आवश्यक भएकोमा आवश्यकता पूर्ति भएको छैन भने अन्य पालिकामा पनि महिला उम्मेदवार पाउनै मुस्किल हुँदा कुनै पनि राजनीतिक दलले उम्मेदवार तयार गर्न सकेका छैनन् । मनाङ ङिस्याङ गाउँपालिकाका विभिन्न वडामा १८ महिला सदस्यको सिट सुनिश्चित छ । यहाँ दलित महिला सदस्य सहित गरी कुल १६ महिला सदस्यको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार महिला सदस्यमा नौ र दलित महिला सदस्यमा सात जनाको उम्मेदवारी दर्ता भएको छ । मनाङ ङिस्याङ गाउँपालिकामा पनि सुनिश्चित सिट पूर्ण भएको छैन । त्यस्तै सदरमुकाम चामे गाउँपालिकामा पनि सुनिश्चित सिटमा महिलाहरुको उम्मेदवारी परेको छैन । चामेका विभिन्न वडामा गरी १८ महिलाहरुको सिट सुनिश्चित छ । तर, महिला महिला सदस्यमा सात र दलित महिला सदस्यमा सात जनाको मात्रै उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यसैगरी नासों गाउँपालिकामा भने केही महिला सदस्यहरु बीच प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ सत्तारुढ गठबन्धन र एमालेबाट उम्मेदवारी दर्ता भएको छ । नासोंको विभिन्न वडामा महिलाका लागि १८ सिट रहेकामा १४ महिला सदस्य र आठ दलित महिला सदस्यको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मनाङमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टी लगायतका दल दर्ता भएका छन् । मनाङका केही स्थानको चुनावमा कांग्रेस र एमाले बीच नै गठबन्धन भएको जस्तो देखिएको छ । भागबण्डा लगाएर कांग्रेसले वडा अध्यक्षको उम्मेदवारी दिएको स्थानमा एमालेतर्फबाट उम्मेदवारी परेको छैन भने एमालेले उम्मेदवारी दर्ता गराएको स्थानमा कांग्रेसले उम्मेदवार तयार गरेको छैन । चामे गाउँपालिका–३ मा एकिकृत समाजवादी पार्टीकी महिला सदस्यमा सर्वसम्मत हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले उहाँ सर्वसम्मत भएको सार्वजनिक गर्न बाँकी रहेको छ । मनाङमा महिला नेतृत्व बृद्धिका लागि न ठूला राजनीतिक दलले ध्यान दिन सके न त साना दलले नै । सबै राजनीतिक दलले महिला सहभागितालाई प्राथमिकता दिनुपर्ने घोषणापत्र र दस्तावेजमा राखेपनि मनाङको हकमा पुरा भएको देखिएको छैन । महिलाको नेतृत्व कम रहेको मनाङमा पहिलो पटक एक गाउँपालिकाको अध्यक्षमा भने महिला चुनावी प्रतिस्पर्धामा उत्रिनु भएको छ । मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षका लागि नेपाली कांग्रेसबाट ओङमा घले गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको छ । लामो समयदेखि सामाजिक सेवा र पार्टीमा आवद्ध हुँदै आउनुभएकी गुरुङ गत चुनावमा पनि प्रतिस्पर्धामा उत्रिनु भएको थियो । नवीन लामिछाने, मनाङ/रासस
पाल्पा- पाल्पामा दुई जना महिला उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचमा नेकपा एमालेको तर्फबाट सदस्य पदमा उम्मेदवारी दर्ता गरेका पूर्वखोला गाउँपालिका वडा नं. २ जल्पाकी भिमीसरा आले र वडा नं. ५ बिरकोटबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी पार्वती हिताङ्ग निर्विरोध निर्वाचित हुनु भएको हो । पूर्वखोला गाउँपालिकाका निर्वाचन अधिकृत मधु अर्याल खनालले दिएको जानकारी अनुसार दुवैको एकल उम्मेदवारी परेका कारण उनीहरु निर्विरोध निर्वाचत भएका हुन् । यसैबीच निर्वाचन अधिकृतको कार्यालय पूर्वखोलाले दुवै जना उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ । पूर्वखोलामा गाउँपालिकाको अध्यक्षमा ४ जना र उपाध्यक्षमा २ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । नेकपा एमालेबाट नुनबहादुर थापा, गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मिनप्रसाद गिरी, मंगोल नेशनल अर्गनाइजेशनका मोहन सिं सारु, जनता समाजवादी नेपालका विपिनकुमार सारुले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उपाध्यक्षमा नेकपा एमालेबाट भागीरथी भट्टराई र गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका विष्णु कुमारी आचार्यले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालय पूर्वखोलाले जनाएको छ ।-
काठमाडौँ, १३ वैशाख (रासस) : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पत्रकारहरु पनि प्रतिस्पर्धामा छन् । देशैभरिका ७५३ वटै स्थानीय तहमध्ये नगरपालिका, गाउँपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदमा पत्रकारिता पेसा गर्दै आएकाले पनि प्रतिस्पर्धामा छन् । मेघा टेलिभिजनका समाचार प्रमुख रोशन दानीले काठमाडौँको चन्द्रागिरि नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । राष्ट्रिय जनमोर्चामा आबद्ध दानीले पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएको हो । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शान्ता आङबुहाङले महासङ्घको केन्द्रीय सदस्यबाट राजीनामा दिएर ताप्लेजुङको आठराई त्रिवेशी गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । अर्घाखाँचीको सूर्याेदय एफएममा कार्यरत पत्रकार अयान विकले अर्घाखाँचीको शीतगङ्गा–१० को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । सुदूरपश्चिमबाट कैलालीको जानकी गाउँपालिकाको उपाध्यक्षमा गीता चौधरीले उम्मेदवारी दिनुभएको छ । रेडियो नेपाल सुदूरपश्चिम प्रदेश प्रसारण केन्द्र दीपायलमा विगत लामो समयदेखि कार्यरत पत्रकार सुनिता रावलले डोटीको शिखर नगरपालिकाकाको उपप्रमुख पदमा उम्मेदवारी दिनुभएको छ । उहाँले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिनुभएको हो । प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष तथा नेपाल पत्रकार महासङ्घ रुपन्देहीका पूर्वअध्यक्ष मोहन चापागाईंले रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिनुभएको छ । उहाँले महासङ्घको साधारण सदस्यता त्यागेर उम्मेदवार बन्नुभएको हो । चौतारीका पूर्वउपाध्यक्ष वीरबहादुर गिरीले जाजरकोटको बारेकोट गाउँपालिकाको अध्यक्ष पदमा, म्याग्दीका संस्थापक सुरत केसी, बेनी नगरपालिकाको प्रमुख, काभ्रे जिल्लाका पूर्वाध्यक्ष कञ्चन अधिकारी पाँचखाल नगरपालिकाको प्रमुख, बाजुराका संस्थापक सदस्य अमर खड्का बाजुराको बढीमालिका नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिनुभएको छ । त्यसैगरी बाजुराकी पत्रकार नन्दा थापा उपप्रमुखमा, मोरङका पत्रकार भक्त राई सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको अध्यक्ष, गायत्री आचार्य मेलुङ गाउँपालिकाको उपाध्यक्ष र सकिल खान डुडुवा गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ । सप्तरी जिल्लाका चारजना पत्रकार पनि स्थानीय तहको निर्वाचनान होमिएका छन् । पत्रकार महासङ्घ मधेस प्रदेशका सचिव भोला पासवान जनता समाजवादी पार्टी नेपालका तर्फबाट सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकाको प्रमुख पदमा उम्मेदवार हुनुहुन्छ । महासङ्घका कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्यहरू उम्मेदवार बनेमा महासङ्घको विधानको मर्म र व्यवस्थाअनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वतः मुक्त हुने महासङ्घले जनाएको छ । तिलाठी कोइलाडी गाउँपालिकाको उपाध्यक्षमा जनता प्रगतिशील पार्टीका तर्फबाट पत्रकार हेमशङ्कर सिंह, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट राजविराज–८ को वडाध्यक्षमा पत्रकार शतिश दत्त, पत्रकार महासङ्घ सप्तरीका सहसचिव चन्दनकुमार यादवले नेकपा (माओवादी केन्द्र) का तर्फबाट सोमवार उम्मेदवारी दिनुभएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्न महासङ्घका महासचिव रोशन पुरीले आह्वान गर्नुभएको थियो । यसैगरी नेकपा (माओवादी केन्द्र)का तर्फबाट कमलेश मण्डल महोत्तरीको मटिहानी नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिनुभएको छ । त्यस्तै वीरगञ्ज महानगरपालिकाको प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गिरिश गिरीले उम्मेदवारी दर्ता गराउनुभएको । यीलगायत विभिन्न जिल्लामा थुप्रै पत्रकारले विभिन्न पदमा उम्मेदवारी दर्ता गराउनुभएको बताइएको छ । महासङ्घको सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले निर्वाचनमा उम्मेदवार बन्न चाहेमा महासङ्घको गरिमा, साख र साझा चरित्रको ख्याल गर्दै सदस्यता परित्याग गरेर मात्रै उम्मेदवार बन्न सबै सदस्यहरूलाई निर्वाचन आचारसंहिता २०७८ को प्रतिकूल काम नगर्नसमेत आह्वान गरिसकेको छ । महासङ्घले निर्वाचन आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक म्यासेन्जर, ट्विटर, युट्युब र इन्स्टाग्राम जस्ता विद्युतीय माध्यमको प्रयोग गरी कुनै पनि सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने जनाउँदै आएको छ । प्रेस काउन्सिल नेपालले जारी सामाजिक न्याय र सद्भावमा प्रतिकूल असर पार्न नहुने, समाचारको गोप्य स्रोत खोल्न नहुने, निजी स्वार्थपूर्तिका लागि प्रयोग गर्न नहुने र विज्ञापनलाई समाचारका रुपमा प्रस्तुत गर्न नहुनेलगायत १५ बुँदा पत्रकारले गर्न नहुने भनिएको छ ।
पोखराः कृष्ण थापा (कृष्णबहादुर थापा) जन्मेको सालसम्म मुलुकमा प्रजातान्त्रिक व्यवस्था विद्यमान थियो । त्यसको एक वर्षपछि हो देशमा निर्दलीय पञ्चायती व्यवस्थाको सुत्रपात भएको । अर्थात् थापाको जन्म २०१६ साल हो । कास्कीको बाटुलेचौरमा जन्मिएका थापाले ०४१ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । त्यसो त राजनीतितर्फको आकर्षण ०३६ सालको विद्यार्थी आन्दोलनबाटै सुरु भएको हो । त्यो त्यही आन्दोलन थियो, जसले मुलुकमा पहिलोपटक बहूदल र निर्दलको छनौट गर्न जनमत संग्रह नै गर्नुपरेको थियो । २०३५–०३६ सालको विद्यार्थी आन्दोलनबाट उनी राजनीतितर्फ तानिएका थिए । २०३७ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको सदस्य भएपछि उनको राजनीतिक यात्रा सुरु भएको हो । २०३९ देखि एक वर्ष चिकित्सा शास्त्र अध्ययन संस्थान, सुर्खेतको स्ववियु सहसचिव भएका थिए । २०४०मा अखिल नेपाल चिकित्सा सहायक संघको संस्थापक सचिव भएका थापा २०४१ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियुमा सदस्य निर्वाचित भएका थिए । २०४१ साल २९ भदौमा तत्कालीन नेकपा (माले)बाट कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । २०४१ सालमा अनेरास्ववियु कास्कीको छैठौं जिल्ला कमिटीको अधिवेशनबाट जिल्ला कमिटी अध्यक्ष चुनिए । २०४३ को जनपक्षीय चुनाव परिचालन कमिटीको संयोजकको जिम्मा उनले सम्हालेका थिए । थापा २०४३ मंसिरदेखि २०४६ पुससम्म जेल जीवन बिताए । तत्कालीन पञ्चायत राजकाज मुद्धामा पोखरा, दमौली र गोरखा गरी २९ महिना जेल जीवन बिताएका थिए । उनी २०४६ सालको जन–आन्दोलनमा वाममोर्चा गण्डकीको सदस्य भए । २०४६ सालदेखि दुई वर्ष अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य बने । २०४९ सालमा नेकपा एमाले जिल्ला कमिटी कास्कीको सचिवालय सदस्य बनेका उनी २०५२ सालमा नेकपा एमालेको प्रथम नगर अधिवेशनबाट सचिव निर्वाचित भएका थिए । त्यसको दुई वर्षपछि अर्थात् ०५४ सालमा भएको चुनावमा उनी तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर भए । २०६५ सालमा नेकपा एमाले कास्कीको सचिव भएका थापा २०७० सालमा नवौं कास्की जिल्ला कमिटीको अधिवेशनबाट अध्यक्ष निर्वाचित भए । थापा २०५१ सालमा उपत्यका नगर विकासको अध्यक्ष, २०७१ मा राष्ट्रिय ताल समिती सदस्य भएका थिए । २०५५–०७३ सम्म नेपाल नगरपालिका संघको केन्द्रीय सचिवालय सदस्य भएका काम गरेका थिए । २०७४ सालको प्रदेश सभा निर्वाचनमा थापा कास्की २ (क)बाट निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसका गुरुप्रसाद बराललाई ७ हजार ४ मतले हराएका थिए । थापाले १५ हजार ३२९ मत पाउँदा बरालले ८ हजार ३२५ मत ल्याएका थिए । शिक्षामा स्नातक गरेका थापा स्वास्थ्यका पनि विद्यार्थी हुन् । थापाले चिकित्साशास्त्र विज्ञान संस्थान, सुर्खेतबाट सिएमए (कम्युनिटी मेडिकल असिस्टेन्ट) पढाइ पुरा गरेका छन् । महानगरको मेयरमा उम्मेदवारी दर्ता गराएपछि थापाले सार्वजनिकरुपमा यसपटकको निर्वाचननै आफ्नो लागि अन्तिम भएको बताउँदै भोटको अपील गरेका छन् ।
काठमाडौं, वैशाख १३ गते । आसन्न बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष तथा वडा अध्यक्ष पदमा सबैभन्दा बढी उम्मेदवारी नेकपा (एमाले) बाट परेको छ । निर्वाचन आयोगको उम्मेदवारी लगत विवरणअनुसार अन्य दलभन्दा एमालेबाट उम्मेदवारी दर्ताको संख्या बढी देखिएको हो । निर्वाचन आयोगको लगतअनुसार प्रमुख पदमा एमालेबाट २८१ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, अध्यक्ष पदमा ४४३ जनाको उम्मेदवारी दर्ता भएको देखिएको छ । सो दलबाट उपप्रमुख र उपाध्यक्षमा क्रमशः २७६ र ३५७ उम्मेदवारी परेको छ । त्यस्तै एमालेबाट वडा अध्यक्ष पदमा ६ हजार २३४ जनाको उम्मेदवारी दर्ता भएको आयोगको तथ्याङ्क छ । त्यस्तै, सत्तारुढ दल नेपाली काँग्रेसबाट प्रमुख पदमा २५७ र अध्यक्षमा ३८० जनाको उम्मेदवारी परेको आयोगको लगत देखिन्छ । सोहीअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख पदमा २४१ जनाको उम्मेदवारी परेको छ । नेकपा (माओवादी केन्द्र) बाट अध्यक्ष पदका लागि २८७ जनाको उम्मेदवारी परेको छ । स्वतन्त्रबाट प्रमुख पदमा १३१७ र अध्यक्ष पदमा १००६ जनाको उम्मेदवारी परेको आयोगको लगत देखिन्छ । उपप्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्तारुढ दल नेपाली काँग्रेसलाई उम्मेदवारी दर्तामा उछिनेको छ । उपप्रमुखमा राप्रपाबाट २२१ उम्मेदवारी परेको छ भने काँग्रेसबाट २०४ उम्मेदवारी परेको देखिएको छ । सोहीअनुसार उपाध्यक्ष पदका लागि काँग्रेसबाट ३५४ जनाको उम्मेदवारी परेको छ भने माओवादी केन्द्रबाट सोही पदमा ३०६ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै, वडा अध्यक्षमा एमालेबाट ६२४५, काँग्रेसबाट ५८५३, माओवादी केन्द्रबाट ४१९२ र स्वतन्त्रबाट ५६०२ जनाको उम्मेदवारी परेको छ । सोहीअनुसार महिला सदस्यका लागि एमालेबाट ६०३३, काँग्रेसबाट ५६९९, माओवादी केन्द्रबाट ३८६८, राप्रपाबाट १९८२ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै, दलित महिला सदस्यका लागि एमालेबाट ५८६४, काँग्रेसबाट ५४४६, माओवादी केन्द्रबाट ३६२५, राप्रपाबाट १५६७ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । त्यस्तै, सदस्य खुलाका लागि एमालेबाट १२ हजार १५७, काँग्रेसबाट ११ हजार ३२५, माओवादी केन्द्रबाट ८ हजार ९८ र राप्रपाबाट ४ हजार ४७४ जनाको उम्मेदवारी दर्ता भएको छ ।