भाेजपुरः आगमी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सत्ता साझेदार दलले जिल्लाका सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेका छन् । केन्द्रको निर्णयबमोजिम शनिबार यहाँ बसेको स्थानीय पाँच दलको बैठकले जिल्ला समन्वय समिति, नौ स्थानीय तह र ८१ वटैमा वडामा तालमेल गरेर अघि बढ्ने निर्णय संयुक्त विज्ञप्तिमार्फत सार्वजनिक गरेका हुन् । बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजङ्ग रायमाझी, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य अजम्बर काङमाङ राई, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा सङ्घीय सांसद सुदन किराँती, कांग्रेस भोजपुरका सभापति विनोद बान्तावा, नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य रमेश शाक्यको उपस्थिति थियो । त्यस्तै जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य रामसिंह राई, एकीकृत समाजवादी भोजपुरका अध्यक्ष वीरजङ्ग राई र जनता समाजवादी पार्टी नेपाल भोजपुरका अध्यक्ष आशकुमार राईलगायतको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
काठमाण्डौंः निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि शुक्रबार मध्यरातदेखि आचारसंहिता लागु गर्ने भएको छ । आचारसंहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलको हस्ताक्षर गराइसकेको आयोगले मतदानको दिनसम्म आचारसंहिता कार्यान्वयन गर्न लागेको हो । आचारसंहिता सरकार, निजी क्षेत्र, संवैधानिक निकाय, राजनीतिक दल, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चार माध्यम, गैरसरकारी संस्था, विद्यालय, विश्वविद्यालय, शिक्षक, कर्मचारी तथा मतदातालाई लागू हुने आयोगले जनाएको छ । आचारसंहिता लागु भएपछि कुनै पनि दल वा उम्मेदवारको पक्षमा भड्किलो प्रचार प्रसार गर्न पाइँदैन । योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण लगायतका काम गर्न पनि पाइँदैन । यसै गरी कुनै कर्मचारी नियुक्ति, सरुवा, पदस्थापन लगायतका काम गर्न पनि पाइँदैन, गर्नै परे निर्वाचन आयोगको अनुमति लिनुपर्छ । निर्वाचन प्रचारप्रसारको काम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइन्छ । यसपटक स्थानीय तहको निर्वाचनको प्रचार प्रसारका लागि हेलिकप्टर प्रयोग गर्न पाइने छ भने साइकल, रिक्सा, ठेलागाडा, बयलगाडा, टाँगालगायतका सवारी साधन प्रयोग गर्न नपाइने निर्वाचन आचारसंहितामा उल्लेख छ ।
कास्कीः गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपाली जनताको स्वतन्त्रता एवं हितका लागि विसं २००७ यता विभिन्न समयमा भएका आन्दोलनका उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभएको छ । गण्डकी प्रदेश प्रमुखको कार्यालयद्वारा नव वर्ष २०७९ का अवसरमा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उहाँले बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त लोकतन्त्रको रक्षा एवं संविधानको कार्यान्वयन सबैको साझा कर्तव्य भएको बताउनुभयो । नव वर्ष २०७९ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गर्दै प्रदेश प्रमुख गुरुङले नयाँ वर्षमा नेपाली समाजको विविधताबीचको एकता कायम हुने धारणा पनि व्यक्त गर्नुभयो । यसैगरी मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नयाँ वर्ष २०७९ उत्साहको वर्ष हुने अपेक्षा गर्दै आसन्न निर्वाचन भयरहितरूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयोे । उहाँले दलहरूबीचको एकता आगामी वर्षमा अझै बलियो बन्ने विश्वास व्यक्त गर्नुभयो । शुभकामना आदानप्रदानले सत्तपक्ष तथा प्रतिपक्ष सबैलाई एक ठाउँमा ल्याउने र आपसी सद्भाव एवं भाइचारा अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले नयाँ वर्ष राजनीतिक उत्सवको वर्ष बन्ने र संविधानप्रदत्त अधिकारको कार्यान्वयनका लागि पनि यो वर्ष सफल हुने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा प्रदेश सरकारमा मन्त्रीहरू तथा प्रदेशसभा सदस्यले नयाँ वर्षले सबैमा उमङ्ग ल्याउने अपेक्षा गर्नुभयो ।
काठमाण्डाैः राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा गोविन्दप्रसाद शर्मा कोइरालालाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा, ७८ को उपाधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई मन्त्री नियुक्त गर्नुभएको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्दै आउनुभएका मन्त्री दिलेन्द्रप्रसाद बडूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्ति एवं कार्यभार तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।